रहर, तिर्सना र सपना अनसनमा छन् । आफ्ना माग पूरा गराउन लामो समयदेखि अनसनमा ।
थाहा छैन, कहिले तोड्छन् अनसन । र, सुमधुर सम्बन्ध होला मसित ।
रहर नलाग्दो हो त हुँदो मान्छे कस्तो ? मान्छेका जम्मै तिर्सना पूरा हुँदा हुन् त कति इखलाग्दो हुँदो हो मान्छेको जिन्दगी ?
कहिलेकाहीँ बक्क पर्छु ।
छेपारो रहेछ रहर । भेष बदल्दै आउने । रंग बदल्दै आउने ।
चरा रहेछ तिर्सना । पखेटा हाल्दै कहाँ हो कहाँ उड्ने । नजानिदो रहेछ, रहरको गन्तव्य । थाहा हुँदो हो त मान्छेको जात किन रहरको पछिपछि लागेर एकछाँगे भीरमा जाँक्किदो हो र है ?
रुख रहेछ रहर । हाँगाबिंगा हाल्दै लहरिने । र, लहरिदैजाँदा रहर र रहरबीच नै टक्कर पर्दोरहेछ । कहिलेकाहीँ त दोहोरो भिडन्तमै पुग्ने । धावक रहेछ तिर्सना । कहिले कुन रहर अघि लाग्ने त कहिले कुन रहर । ठेलमठेल गर्दै रहर कुद्दारहेछन् ।
भाँतीभाँतीका रहर र सपनाका चालढाल देखेर आफै हलाक् पर्छु ।