Saturday, July 10, 2010

कमरेड



रोल्पा भन्छ-
'काठमाडौंलाई रोल्पा बनाउन गएको तँ,
तँ आफैं काठमाडौं भइस्,
काठमाडौं पसेर जात फेरिस् ।'

कहिलीकसो यसो गम्छु,
'राजा र राणाका जीवनशैलीसित 
मेरो जीवनशैलीले नि यसो मेल खायो भन्दैमा 
जात फेरेको भन्नु मनासिब हो र ?'

रोल्पा भन्छ-
'एक कल फोन त के
मिसकलसमेत गर्दैनस्
गरेको फोन पनि उठाउँदैनस् ।'

Wednesday, March 24, 2010

Saturday, March 6, 2010

बैतर्नी तर्न


एउटा याम। जुन याममा अंग्रेजीको नजानिदो तिर्खा बोकेर राजधानी छिरेको थिएँ।

तर राजधानी त्यस्तो थिएन जस्तो सपना उनेर आएको थिएँ। राजधानी सपनाको ठीs उल्टो थियो।

केन्द्रीय अंग्रेजी विभाग जलेको थियो। विद्यार्थी निराश थिए। तर निराशा जलेका कारणले होइन। मजस्ता सरकारी स्कुले 'तेस्रो डिभिजन मात्र हुन्छ। हाम्रो तागतले भ्याउँदैन। यहाँका शिक्षक घिउ र चिनजानमा नम्बर दिन्छन्। त्यसैले जिन्दगी भड्खालोमा जाँक्किन्छ' भनेर मजस्ता सरकारी विद्यार्थी निराश थिए।

निराशा थप्ने अर्को कारण पनि थियो 'जागिरको चर्को अभाव र जनयुद्धको नाउँमा विद्यार्थीलाई सेना पुलिसले ओरालो लागेको मृगलाई झैं खेद्ने प्रवृत्ति।'

खासगरी रोल्पाली रुकुमेलीका लागि राजधानी दिनानुदिन बिरानो हुँदैथियो। रोल्पाली भएकाले पनि हामी जगजगीको बतासमा घरी यता बतासिन्थ्यौं घरी उता। हाम्रा लागि रोल्पा घर हुनु नै अभिसाप थियो।

Monday, March 1, 2010

अनसनमा रहर


रहर, तिर्सना र सपना अनसनमा छन् । आफ्ना माग पूरा गराउन लामो समयदेखि अनसनमा ।  
थाहा छैन, कहिले तोड्छन् अनसन । र, सुमधुर सम्बन्ध होला मसित । 
रहर नलाग्दो हो त हुँदो मान्छे कस्तो ? मान्छेका जम्मै तिर्सना पूरा हुँदा हुन् त कति इखलाग्दो हुँदो हो मान्छेको जिन्दगी ? 
कहिलेकाहीँ बक्क पर्छु । 
छेपारो रहेछ रहर । भेष बदल्दै आउने । रंग बदल्दै आउने ।  
चरा रहेछ तिर्सना । पखेटा हाल्दै कहाँ हो कहाँ उड्ने । नजानिदो रहेछ, रहरको गन्तव्य । थाहा हुँदो हो त मान्छेको जात किन रहरको पछिपछि लागेर एकछाँगे भीरमा जाँक्किदो हो र है ? 
रुख रहेछ रहर । हाँगाबिंगा हाल्दै लहरिने । र, लहरिदैजाँदा रहर र रहरबीच नै टक्कर पर्दोरहेछ । कहिलेकाहीँ त दोहोरो भिडन्तमै पुग्ने । धावक रहेछ तिर्सना । कहिले कुन रहर अघि लाग्ने त कहिले कुन रहर । ठेलमठेल गर्दै रहर कुद्दारहेछन् । 
भाँतीभाँतीका रहर र सपनाका चालढाल देखेर आफै हलाक् पर्छु ।

Friday, February 26, 2010

प्रचण्ड उडेपछि


गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई लाल सलाम।

फागुन ११, आँबुखैरेनीबाट (गोर्खा लागेपछि) आरुघाट पुग्दासम्म प्रचण्डका नाउँमा बनाइएका झन्डै ४० वटा गेट भेटिए। दुई वर्षअघि गोर्खा जाँदा पनि यस्तै गेट, पानी गाग्रा बाटैभरि थिए। त्यसबेला अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा.बाबुराम भट्टराई गोर्खा दरवारलाई संग्रहालय बनाउन जाँदैथिए। क्षेत्रीय भ्रमणमा राजा निस्कदाखेरि र अहिले के फरक छ? भनी आफैलाई सोधेँ। सायद अरुलाई पनि सोध्नुपथ्र्यो।

यसपालि स्वागतका लागि खडा गरिएका यी गेटले प्रचण्डलाई स्वागत गर्न पाएनन्। कारण- गुडेर जाने भनेर प्रचारित प्रचण्ड उडेर जाने भएका थिए।

गोर्खा बजारबाट बिहानै आरुघाटतिर बाटो लागेपछि भेटिने गाउँ र ससाना बजारभरि गेट भेटिए। कतै भने हामी पुग्दा गेट निर्माणाधिन थिए। प्रचण्ड गुडेर नआउने थाहा पाएपछि उनीहरु आश्चर्यचकित भए। उनीहरुले गेट बनाइरहेको देखेपछि सूचना सम्प्रेषण नभएको सहजै थाहा भयो। गेट बनाइरहेका र बनाएर स्वागतका लागि कुरिरहेका गाउँलेले गुनासो पनि गरे।
माओवादी र कांग्रेसको पार्टी कार्यालय रहेको एउटा घर भेटियो। अचम्म ! कुकुर र विरालोजस्ता यी दुई पार्टी कार्यालयमा एउटै घरमा देखेर आश्चर्यचकित भए। गाडी रोकेर दुईचार पोज खिचियो। गाउँको नाउँ टिपेको डायरी धादिङको टारीबेसीमा छुटेपछि here लेख्न पाइएन।

अँ, कतै गेट केराका थामका थिए कतै बाँसका। हामी मिर्मिरे एमएफको गाडीमा थियौं, जनदिशा दैनिकका सम्पादक चन्द्रमान श्रेष्ठ, फोटो पत्रकार दिनेश श्रेष्ठ, जनदिशाकै अर्को साथी पनि। जब हामी साना बजार र गाउँमा पुग्थ्यौं तब उनीहरु हतारिदै हेर्न आउँथे। सायद गाडीभरि रातै अक्षरले रेडियो मिर्मिरे लेखेको गाडी देखेर माओवादी अध्यक्ष प्रचण्ड नै आएको ठान्थे।

'दाइ,निस्कनु पर् यो', हामीले भन्थ्यौं 'तपाईं पनि सीएम नै हो नि।' प्रचण्डलाई सीएम भनेर बोलाउने माओवादीमा चलन नै छ। प्रचण्डलाई बोलाउने सीएमको अर्थ, चेयर म्यान। र, चन्द्रमान दाइको लागि सीएमको अर्थ थियो, चन्द्रमान।

एक ठाउँमा ओर्लेर फोटो खिच्यौं जहाँबाट गणेश हिमाल र मनास्लु नाकैमा ठोकिएलाजस्तो लाग्थ्यो। त्यो ठाउँको नाउँ पनि डायरीमै गयो।

चन्द्रमान दाइको गाउँ रिठेपानी मास्तिर बगुवामा गाडी रोकियो। गेट थियो। प्रतीक्षालयमा जनयुद्धमा सहिद भएका त्यस गाविसका पाँचजनाको फोटोसहित परिचय दिइएको थियो। जसमध्ये चारजना एउटै गाउँका रहेछन्।

घ्याम्पेसाल, सिमलाफेदलगायतका मिनी बजारमा गेट थिए। ती ठाउँमा कतै त झन्डा पनि हतारहतारमा राख्दै थिए। ज्यानै फालेर बाटो सम्याउँदै गरेका डोजर पनि तीन ठाउँमा भेटिए।

बिहान यस्तै ८ बजेतिर पुगियो आरुघाट। धादिङतिरको आरुघाट बजार पुग्ने पुलछेवैमा ठूलो कपडा पसल रहेछ। उनको घरमा किनमेल गर्न आएका दुई सेनालाई माओवादीले मारेका रहेछन्। घटनामा पसलमा बसेकी दिदीसँग कुराकानी भयो। उनको नाउँ र कुराकानी गरेको डायरी नै गायब भएपछि बाँकी गीतबाट भनेजस्तो भयो। घटनापछि उनको श्रीमान्लाई सेनाले बेपत्ता पारेछ। परिवारका सदस्य सबैलाई लगेर गोद्नु गोदेछ।

चन्द्रमान दाइ र दिनेश श्रेष्ठसित छुटेपछि गोर्खातिरको आरुघाटतिर फर्किएँ। पुरानो नेवारी बस्ती रहेछ। बूढी गण्डकीसित मिसिने खोलाखोलाको नाउँ पनि डायरीमै छुट्यो. किनारमा एउटी आमै गाग्रोमा फूल राख्दैथिइन्। छेवैमा गेट थियो। उनको घरमा झन्डा पनि थियो।

मान्छे खान नपाएर मरिरहेका छन्। कार्यकर्ता भोकभोकै छन्। गेटमा खर्चने पैसा भोका कार्यकर्ता र नांगा कार्यकर्ताकालाई खर्चे कसो हुँदो हो? मनमा खसखस राख्न सकिनँ। चन्द्रमान दाइलाई भने 'किन दाइ यस्तो अनावश्यक खर्च?' दाइको जबाफ आएन। मलाई थाहा छ, दाइसँग पनि यसको जबाफ छैन।

आँखाभरि स्वागतका लागि उभिएका ती बेचयन गेटहरु आँखामा आइरहे। स्वागतसमेत गर्न नपाएर आफैसित गुनासो गरिरहेजस्ता पानीका गाग्रा र काम नै माया मारेर प्रचण्डलाई एक झल्को हेर्न आएका गाउँले आँखाभरि आइरहेछ।

थाहा छैन, किन हो कुन्नि? आरुघाटबाट काठमाडौंको बाटो लाग्दा पनि बाटैभरि कुरिरहेका गाउँले, पानीका गाग्रा र गेटहरुले रोल्पातिर गाइने पुरानो लोकगीत गाएजस्तो लागिरह्यो, 'म मायाले मर्ने, साइँ(मायालु) काँरा(काँडा)ले कोर्ने।'
(यसको अर्थ हो मैले माया गरेर मरिहत्ते गर्ने तर मायालुले भने वास्तै नगर्ने।)

प्रचण्डले आरुघाटमा नाचगान गरेका रहेछन्। गीत सिकाएका रहेछन्। साँच्ची प्रचण्डले यो गीत सुनेका छन् कि छैनन् होला हँ? यसो मौका मिले उनलाई सोधे कसो होला?








Tuesday, February 23, 2010

न्याय नपाए …


२००७ मा शाह शासन पुनस्थापना भयो। इतिहास शाहको गुनगानले भरिन थाले। क्रम जारी छ/थियो।

इतिहास जित्नेको भन्छन्। शाहको पक्षमा लेखिएको नेपालको इतिहासले भन्छ 'न्याय नपाए गोर्खा जानू।' राम शाह नाउँका ती राजाले खूबै न्याय दिएका थिए रे।

फेरि गोर्खा जाँदैछु। दुई वर्षअघि पुगेको थिएँ गोर्खा दरवार। जसबेला माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा.बाबुराम भट्टराईले गोर्खा दरवार पसेका थिए। त्यसै दिनदेखि गोर्खा दरवार संग्रहालय बनेका थियो।

नेताद्वयले उद्घोष गरेका थिए 'पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गरेको यै भूमिबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको थालनी भएको छ।'

जागिरका लागि नेताका पछि दगुर्नु मेरो नियति हो। आज फेरि प्रचण्ड गोर्खा जाँदैछन्। पूर्णकालीन राजनीतिमा लाग्नुअघि माष्टरी गरेको आरुघाटमा उनी जाँदैछन्।

थाहा छैन, उनले के भन्छन्? जे भनून\ मलाई मतलब छैन। जागिर पकाउनु छ। सदस्य थप्न केन्द्रीत केन्द्रीय समिति बैठकमा भएको रस्साकस्सीले थलिएका बूढाले के नै भन्लान् र?

थाहा छैन, गोर्खा कस्तो भएको छ. हेर्नु छ। दिनेशजी भन्दैछन् 'हामी सहिद गाउँ भएर जाँदैछौं। ती जनयुद्धका ऐतिहासिक ठाउँ हुन्।'

काठमाडौं खाल्डो sf6दा एक महिना हाइसन्चो हुन्छ। यसैगरी बूढाले महिना\महिनामा एकपालि खाल्डोबाट निस्कने कार्यक्रम बनाए मेरो त उद्धारै हुनेछ।

ती राम शाह नामका जिनिसले केको न्याय िदंदा हुन्! शाहको चम्चागिरी गर्नलाई लेखिदिए इतिहासकार नाउँका कलंकहरुले। यस्तै लेखेर उनीहरुले गोर्खा दक्षिण बाहु पड्काए होलान्।

जे होस् शाहले न्याय होइन अन्याय र शोषणको दरो जाल बुनेका थिए। त्यसैको विरोद्धमा गोर्खाली जनयुद्धमा होमिएका थिए। अन्याय नसहने गोर्खा हेर्न मन छ। न्याय नपाए गोर्खा जानू भन्ने लेख्ने भाट इतिहासकारका असली अनुहार उदाङ्गो पारिदिने गोर्खा हेर्न मन छ। साँच्ची समतामूलक नयाँ नेपाल बनाउने उद्घोषसाथ जनयुद्धको कमान्ड गरेका सर्वोच्च कमाण्डर प्रचण्डलाई गोर्खाले सोध्ने प्रश्न सुन्न मन छ।
साँच्ची कस्तो होला अचेल गोर्खा?







Sunday, February 14, 2010

तन्नेरीका नाउँमा



केही समययता नेपाली जीवनशैली पश्चिमीकरण हुने गतिमा तीब्रता आएको छ। खानपिन, लवाइखवाइ, उठबस चालचलन सबैसबैको अन्धानुकरण हुँदैछ।

पश्चिमी जीवनशैली अपनाउँदा आफूलाई बौद्धिक र सभ्य ठान्ने कुसंस्कृतिको प्रभाव चर्कंदोछ। तर पश्चिमा जीवनशैलीका राम्रा पक्ष सिला खोजे मुश्किलले भेटिएलान्, जसका कारण पश्चिमा विज्ञान र प्रविधिको क्षेत्रमा छलाङ मारे।

पश्चिमाका सकारात्मक पक्षलाई पछ्याएको भए नेपाल कहाँ हुँदो हो हँ यतिखेर ?

हामीले पश्चिमा समाजको नकारात्मक पक्षलाई मात्र अन्धानुकरण गरेका छौं। जसको सबैभन्दा बढ्ता सिकार तन्नेरी पुस्ता भएको छ। हाम्रो लागि योभन्दा अर्को दुखद् समाचार के हुन सक्छ ?

पश्चिमी जीवनशैली सिक्नु नेपालजस्तो तेस्रो विश्वका मुलुकका लागि आवश्यकता र बाध्यता दुवै होला। तर अन्धानुकरण गर्नुपर्छ भन्ने छैन। आफ्नो पहिचानलाई नै धरौटी राखेर पश्चिमा जीवनशैली अन्धानुकरण गर्नु गलत हो।

पश्चिमाले त पूर्वीया 'इमोस्नल' 'िहंसाप्रेमी' 'गरिब' 'अज्ञानी' भन्छ। आफ्नोबारेमा केही पनि गर्न नसक्ने 'लाचार'को संज्ञा दिन्छ। पश्चिमाले पढाएका र तिनका संचारमाध्यमले पस्केका दृष्टिकोणलाई अपनाइरहेका छौं। पूर्वलाई हेर्ने पश्चिमा दृष्टिकोणलाई आँखामा चिम्लेर पछि लागेका छौं। हाम्रा समाजका सकारात्मक पक्षलाई माया मारेर पश्चिमकै पछि दौडेका छौं।

थाहा छ, सबैथोक सधैंका लागि सान्दर्भिक हुँदैनन्। फेरिदैजान्छ। तर नेपाली समाजको पहिचानलाई जोखिममा राखेर अरुका गलत संस्कार अपनाउनुको अर्थ के होला र ? तन्नेरी साथीका लागि पश्चिमा जीवनशैली सबै राम्रा होलान् तर मेरा लागि सबै ta सही छैनन्।

पश्चिमा गलत जीवनशैली हाम्रा लागि भाइरस हुन्। जसलाई एन्टीभाइरस प्रयोग नगरेर आँखा चिम्म पारी पछि लागेका छौं।

पश्चिमा जीवनशैलीको भाइरसबाट सबैभन्दा बढी आदिवासी जनजातिका चोखा जीवनशैली धरापमा परे।

पश्चिमका जे पनि आँखा चिम्लेर अपनाउने प्रवृत्ति त्यागे कसो होला ?