Saशस्त्र युद्धमा होमिनेहरूलाई मर्ने र मार्ने काम सामान्यजस्तो लाग्छ । मानौं कि उनीहरू युद्धमा 'मर्न र मार्न'कै लागि लागेका हुन् । युद्धकालमा 'दुश्मन'को नियन्त्रणमा पर्नु करिब-करिब जीवनलीला समाप्त हुनु हो । युद्धकालमा 'दुश्मन'का नियन्त्रणमा परेकाहरू अधिकांश मारिन्छन् ।
माओवादी जनयुद्धको समयमा तत्कालीन राज्यपक्षको सुरक्षाकर्मी र विद्रोही माओवादीका जनमुक्ति सेनाबीच भिडन्त हुनु सामान्यजस्तै थियो । दैनिकजसो साना-ठूला भिडन्त भइरहन्थे । कैयन 'दुश्मन'को नियन्त्रणमा पर्थे । तर, जनयुद्धका वेला 'दुश्मन'का नियन्त्रणमा परेका अधिकांश माओवादी नेता तथा कार्यकर्ता भाग्न सफल भए । कतिपय जेल तोडेर भागे, कतिपय सैनिक ब्यारेक र प्रहरी चौकीबाट । कतिपय त उपचार गराउँदा-गराउँदै अस्पतालबाट समेत भागेका थिए । माओवादी नेता तथा कार्यकर्ता 'दुश्मनको आँखा छलेर वा प्रतिरोध गरेर उनीहरूको घेरा तोडी बाहिर आउनु सामान्य होइन' भन्छन् । युद्धमा पक्राउ परेका सबैजसो बन्दीले जेल तोड्ने प्रयास गर्छन् । तर, कमै बन्दी मात्रै 'जेलब्रेक' गरेर दुश्मनको घेरबाहिर आउन सफल भएका छन् । जीवनमरणको संघर्षमा लाग्नेका लागि 'जेलब्रेक'को घटना सुखद इतिहास बन्ने गरेको छ । वाइसिएल अध्यक्ष गणेशमान पुन, वाइसिएल सह-संयोजक तथा सभासद् उमा भुजेल र जनसेनाका डिभिजन कमान्डर यामबहादुर अधिकारी प्रतीक्षालगायतले गरेका जेलब्रेकका घटना आज 'सुखद इतिहास' बनेका छन् । ०५८ मा माओवादी नेता झकबहादुर मल्लको नेतृत्वमा भएको सुर्खेत जेलबे्रकको घटना रोचक र चर्चित छ । यता, गजुरी ब्यारेकबाट ६ जना माओवादी कार्यकर्ताले घेरा तोडेर बाहिर आएको घटना पनि उत्तिकै रोचक छ । ती घटना अहिले रुचि र महत्त्वका साथ पढिन्छन् र सुनिन्छन् पनि ।
यस्ता छन् जेलब्रेकका कथा
जनयुद्धमा 'जेलब्रेक'का कतिपय घटना मिथकीय र नाटकीय छन् । यस्ता घटनामध्ये वाइसिएल अध्यक्ष पुन नेपालगन्जबाट ०५८ मा 'जेलब्रेक' गरेर खुला संसारमा निस्किएका थिए । पुनलाई गिरफ्तारीपछि नेपालगन्ज कारागारमा ल्याइयो र एपेन्डिक्सको अप्रेसनका लागि अस्पताल भर्ना गराइयो । प्रहरीलाई झुक्याउँदै अस्पतालको बेडबाटै उनी फिल्मी शैलीमा भागे । 'अस्पतालमा उपचार गरिरहेको वेला प्रहरीलाई झुक्याएर भागेँ । बिरामी भए पनि सकुशल पार्टी सम्पर्कमा पुगेँ,' पुनले जेलब्रेकको घटना सम्भिए । २३ असार ०५४ मा नेपालगन्जबाट गिरफ्तार भएका पुन ०५८ वैशाखमा पुनः पार्टीको काममा फर्किए । उनलेे गिरफ्तार भएदेखि उनकै शब्दमा 'शत्रु'को हातबाट फुत्किने धेरै प्रयास गरेका थिए । तर, सफल भएका थिएनन् । एकपटक नेपालगन्ज कारागारबाट रुकुममा सरुवा गर्न लागेको वेलामा सल्यानमा पुगेपछि उनी हतकडीसहित गाडीबाट हाम फाले । तर, सफल हुन सकेनन् । 'केही दूरी पार गरेको थिएँ । तर, इन्स्पेक्टरले आक्रमण गर्न भ्याइहाल्यो । त्यसपछि म पुनः गिरफ्तार परेँ,' उनले सम्भिए । तत्कालीन जनसेनाको डिभिजन कमान्डर पुनले 'ढाडमा टेकेर टाउकोमा हान्ने' पार्टीको फौजी रणनीति कार्यान्वयनका लागि गण्डकक्षेत्रको मोर्चा सम्हालिरहेका थिए । त्यतिवेला जनमुक्ति सेनाभित्र कुशल कमान्डर मानिन्थे उनी ।
गोरखाको महिला जेलब्रेक घटना पनि उत्तिकै चर्चित छ । १७ चैत ०५७ मा ६ जना महिलाले जेलब्रेक गरेका थिए । त्यतिवेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो- गोरखा जेलब्रेक । 'तत्कालीन शासकलाई दरिलो झापड दिन सफल यो घटना क्रान्तिकारी महिलाको साहस विश्वलाई देखाउन सफल भयो,' गोरखा जेलब्रेकका नेतृत्वकर्ता सभासद् उमा भुजेल भन्छिन्, 'त्यो एउटा ऐतिहासिक घटना थियो ।' तर, जेलब्रेकअघिको तयारी भने कम चुनौतीपूर्ण थिएन । 'सुरुङ खन्नलाई कुटो, कोदालो, साबेलजस्ता औजारको अभाव हुँदा पनि एउटा फलामको रड र काठको खन्तीले तीन महिनासम्म खनेर सुरुङ तयार पारेका थियौँ,' उमाले सम्भिmइन्, 'तीन महिनासम्मको तयारी एकदमै चुनौतीपूर्ण थियो ।' सही विचार, योजनाप्रतिको दृढता, गोपनीयता र एकताले नै जेल ब्रेक गर्न सफल भएको उमाको निष्कर्ष छ । तत्कालीन जनसेनाको चौथो डिभिजनअन्तर्गत परिवर्तन स्मृति नवौँ बिग्रेडकी कमिसार उमाले माओवादी शान्तिप्रक्रियामा आएपछि जनसेना छाडेर पार्टीको काम सुरु गरेकी थिइन् ।
जनसेनाको पहिलो डिभिजन कमान्डर यामबहादुर अधिकारी 'प्रतीक्षा' पनि सात वर्षअघि तत्कालीन शाही नेपाली सेनाको घेरा तोडेर भागेका लडाकु कमान्डर हुन् ।
यस्तै सुर्खेत जेलब्रेक पनि चर्चित छ । २ माघ ०५८ मा झकबहादुर मल्लको नेतृत्वमा सुर्खेत कारागारबाट १५ जना राजनीतिक बन्दीसहित ३० जनाले जेल तोडेका थिए । जेल ब्रेकरमध्येका विन्दमान विष्टका अनुसार फलामको रडले नियमित नौ दिनसम्म खनेर सुरुङ तयार भएको थियो । '२ पुसमा नै सुरुङ तयार भएको थियो । तर, सुरुङमाथि नै सुरक्षा पोस्ट भएको कारण अनुकूल अवस्थालाई पर्खन ठीक एक महिना कुर्नुपर्यो । २ माघको राति पानी परेको वेलामा सेन्ट्री त्यहाँ नबसेको मौकामा हामी जेल तोडेर निस्कियौँ,' उनी सम्भिन्छन् ।
यस्तै गजुरी ब्यारेकको घटना पनि राेचक छ । प्रकाश खनाल सैलेश, देवी ढकाल रवीन्द, बद्री खड्का विप्लव, कृष्ण पन्त सेवक, बुद्धि पाण्डे विगुल, राजु क्षेत्री र ठाकुरसिंह तामाङले गजुरी ब्यारेकको घेरा तोडेका थिए । उनीहरू ०६१ कात्तिक २९ को राति दुई थान एसएलआरलगायत अन्य युद्ध सामग्रीसहित तत्कालीन शाही सेनाको कब्जाबाट बाहिर आएका थिए । ०६० कात्तिकमा बेग्लाबेग्लै समय र स्थानबाट उनीहरूलाई सेनाले पोखराबाट गिरफ्तार गरेको थियो । १० महिनासम्म पोखराकै फूलबारी ब्यारेकमा राखेपछि उनीहरूलाई धादिङको गजुरी ब्यारेकमा सारिएको थियो ।१९ पुस ०५८ मा सेनाको कब्जामा परेका अधिकारीले २७ वैशाख ०५९ मा तत्कालीन शाही सेनाको घेरा तोडेका थिए । फिल्मका नायक जसरी उनी दर्जनौँ सेनाको बीचबाट भागेका थिए । कमान्डर प्रतीक्षा सम्भिन्छन्, 'धादिङको त्रिपुरेश्वर खहरेस्थित ब्यारेकबाट अन्यत्र सरुवा गर्न लाँदै गर्दा दर्जनौँशाही सेनाको घेरा तोडेर भागेँ । त्यो सामान्य घटना थिएन ।'
'हामीलाई हतकडी र खुट्टामा नेल लगाएर अँध्यारो कोठाभित्र थुनिएको थियो । हाम्रो निगरानीका लागि दुईजना सेना खटाइएको थियो,' गजुरी ब्यारेक घटनाबारे पत्रकार राजु क्षेत्री आफ्नो पुस्तकमा लेख्छन्, 'त्यस दिन एकजना छुट्टीमा घर गएको र दुईमध्ये एक किताब लिन अफिस कोठातिर गएको थियो । त्यहीबीचमा ६ जनामध्ये तीनजना ट्वाइलेट जाने बहानामा बाहिर निस्किए अनि बाँकीले एक सेनामाथि आक्रमण गरे । हाम्रो आक्रमणपश्चात् उसले तुरुन्तै आत्मसमर्पण गरिहाल्यो र उसबाट हतकडी र नेलको चाबी लिई सबैको हतकडी र नेल खोल्न सफल भयौँ ।' उनीहरूले घेरा तोड्दा ड्युटीमा भएको एक सेनालाई समेत सँगसँगै ल्याएर केही परसम्म लगेर छाडेका थिए । उनीहरूले सेनाका दुई थान एसएलआरसमेत लगेका थिए ।
०६१ भदौ २४ मा माओवादी कार्यकर्ता धीरजले पोखराको फूलबारी ब्यारेकबाट सेनाको घेरा तोडेको घटना पनि कम रोचक छैन । तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमान्डर धीरजले गिरफ्तार भएको १७ दिनपछि झ्यालको डन्डी खुट्टाले बंग्याएर भागेका थिए । माओवादीका पूर्व केन्द्रीय नेता रितबहादुर खड्काले समेत काठमाडौंबाटै प्रहरीको घेरा तोडेका थिए । उनी पछि युद्धकालमै राज्यपक्षबाट मारिए । यसबाहेक जनयुद्धकालका यस्ता कैयन घटना छन् । जेलब्रेकका यस्ता घटना र सहभागी पात्रहरू कतिपय चर्चामा आए पनि कतिपय गुमनाम नै छन् । युद्धकालमा जेल तोडेका वा ब्यारेकबाट भागेका कैयौँ माओवादी कार्यकर्ता पनि युद्धकै क्रममा मारिए । बाँचेकाहरूको दुःख छ, 'हामी सहिदको कोटामा पर्न सकेनौँ ।'
Netra Panthi/Naya Patrika
artenpanthi@gmail.com
No comments:
Post a Comment