Tuesday, October 16, 2012

प्रधानमन्त्रीको स्वागतमा ६ हजार ऋण

रवीन्द्र उप्रेती- प्रधानमन्त्री भट्टराई छोरी मानुषीका साथ महोत्तरीको फुलकहा ६, मनहरवास्थित बिसुनी सदाको घरमा केराको पातमा घोङी -शंखेकिरा) को तरकारी, गँगटाको अचारसित शनिबार रातिको खाना खाँदै । तस्बिर: रवीन्द्र/कान्तिपुर प्रधानमन्
महोत्तरी, आश्विन २९ - फुलकहा ६, मनहरवाका ६३ वर्षीय बिसुनी सदालाई असोज २७ गते अविस्मरणीय दिन रह्यो ।

त्यो दिन उनका लागि मात्र नभएर मनहरवा गाउँलगायत सम्पूर्ण मुसहर र दलित समुदायका लागि ऐतिहासिक हुन सक्छ किनभने पहिलोपटक प्रधानमन्त्री बाबुराम भट्टराई छोरी मानुषी र दलबलसहित आर्थिक, सामाजिक रूपले अति दयनीय बिसुनी सदाजस्ता मुसहरको घरमा बास बस्न पुगे । प्रधानमन्त्रीले मुसहर समुदायले खाने घुङी (शंखेकिरा) को तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार रमाइलो मानी खाइदिए । पर्याप्त थालसमेत नरहेको उनको घरमा केराको पातमा पस्केको भोजन आँगनमा बसेर प्रधानमन्त्रीले खुसीपूर्वक खाइदिँदा बिसुनी र उनका परिवार मात्र नभई सिंगो दलित समुदायले शिर ठाडो भएको अनुभूति सुनाए ।
यो दृश्यले बुढापाका रामायणकालीन सबरी र भगवान् रामबीचको जुठो बयरलाई सम्झिरेहका थिए भने युवा पुस्ता सामाजिक परिवर्तनको अनुभूति गरिरहेका थिए । प्रधानमन्त्रीको यो कदमले छुवाछूतविरुद्ध सन्देश दिएको स्थानीय बुद्धिजीवीको प्रतिक्रिया थियो ।
आफ्नो घरमा प्रधानमन्त्रीलाई स्वागत गर्दा गदगद बिसुनीको मन अर्को कुराले भने भतभत पोलिरहेको थियो । त्यो थियो— प्रधानमन्त्रीको स्वागत गर्न चर्को ब्याजमा लिएको ऋण कसरी तिर्ने भन्ने पिरलो 'प्रधानमन्त्री आउँदा खुसी त लागेको छ,' उनले भने, 'तर यसैका लागि मैले ब्याजमा ऋण लिनुपर्‍यो । यो ब्याज कसरी तिर्ने भन्ने चिन्ता पनि बढेको छ ।' उनले छिमेकी मगरथानाका साहु देवेन्द्र चौरसियासँग महँगो ब्याजमा ६ हजार ऋण लिएको बताए । ऋण काढेको पैसा प्रधानमन्त्रीलाई ख्वाउने सीधा सामल, तेल, मसला खरिद गर्न सबै खर्च भएको उनले सुनाए । 'देशकै प्रधानमन्त्री गरिबको घरमा आउने भएपछि ज्यान बेचेर भए पनि स्वागत त गर्नै पर्‍यो,' उनले भने, 'छोरा पन्जाव कमाउन गएका छन्, उनीहरूसँग माग्छु, बनिबुतो गरेर पनि ऋण त तिर्ने सोचेको छु ।'
प्रधानमन्त्री आउने भएपछि कार्यकर्ता र हेर्न आउनेलाई बिसुनीको घरदेखि केही पर अर्को घरमा विशाल भोज थियो । त्यहाँका भान्से सुरज रायका अनुसार भोजमा ४ क्विन्टल चामल, ६० किलो दाल, ६ मन (२ सय ४० किलो) आलु, परबल र ४० किलो प्याजको तरकारी र अचारको भोज बनाइएको थियो । हजार जनाभन्दा बढीले त्यो खाएका थिए । त्यसको खर्चपर्च भने माओवादी कार्यकर्ताले व्यवस्था मिलाएका थिए । प्रधानमन्त्रीले बिसुनीको घरमा पाइला राख्नुअघि २ कक्षाभन्दा माथि नपढेका त्यहाँका १ सय ५० घर मुसहर समुदायको आयआर्जनका लागि २० लाख सहयोग दिने, सबैको घरमा शौचालय बनाइदिने र प्रतिपरिवार एक कम्बल र एक थान झुल दिने घोषणा गरेका थिए । 'जुन नेता आए पनि भाषणमा यो दिन्छु र ऊ दिन्छु भन्छन्,' स्थानीयहरूले भने, 'प्रधानमन्त्रीले पनि दिने कुरा त गरे तर नदिउन्जेल कसरी विश्वास गर्ने ?' उनीहरूका अनुसार सय वर्षभन्दा बढीदेखि बसोबास गर्दै आएका सबै मुसहरको २२ कठ्ठा १२ धुर जमिन ४२ वर्षअघि सोनफी राय नामक व्यक्तिले आफ्नो नाममा लालपुर्जा निकाली बेचबिखन गरी दिएकाले सबैभन्दा ठूलो समस्या थातथलोको छ । 'प्रधानमन्त्रीले सबैभन्दा पहिले हाम्रा पुर्खादेखि बसोबास गर्दै आएको थलोको लालपुर्जा दिलाइदिऊन्,' उनीहरूले एकै स्वरमा भने, 'त्यसपछि अरू कुरो लिँदै गरुँला ।'
'मुसहर बस्तीको यथार्थ थाहा पाएनन्'
महिनाको अन्तिम दिन गरिब बस्तीमा बिताउने कार्यक्रमअन्तर्गत महोत्तरीको फुलकहा ६, मनहरवास्थित बिसुनी सदा मुसहरको घरमा आएका प्रधानमन्त्रीले मुसहर समुदायको वास्तविक अनुभूति भने गर्न पाएनन् ।
मुसहर तराईको अति पिछडिएको समुदायमध्ये पर्छ । आधारभूत आवश्यकताबाट वञ्चित यो समुदायको बस्ती राति अन्धकारप्रायः रहन्छ । कसैका घरमा पनि सिरक, डस्ना हुँदैन । जीउमा लगाएको बाहेक लत्ताकपडा रहँदैन । यो गरिबी हेर्न प्रधानमन्त्रीले नपाएको स्थानीय कुटलीदेवी सदाले बताइन् । प्रधानमन्त्री छोरीका साथ पुग्दा उनलाई असुविधा नहोस् भनेर मुसहर बस्तीमा कार्यकर्ताले पहिलोपटक जेनेरेटर लगाएर झिलिमिली बत्ती बालिदिएका थिए । उनी पुगेको ठाउूमा ठूलाठूला पंखा जडान गरिएका थिए । टेन्ट हाउसबाट विस्तरा ल्याई झुलसहित तकिया र सुविधाजनक ओछ्याउने व्यवस्था गरिएको थियो । पिउने पानीका लागि मिनरल वाटर पनि थियो । 'हामी मुसहरको ओढ्ने भने पनि ओछ्याउने भने पनि एउटा चटाई (गुन्द्री) हो,' सुकमरिया सदाले प्रश्न गरिन्, 'मुसहरको छानोमुनि सुते पनि सुख सुविधा त धनीमानीको भन्दा कम भएन । प्रधानमन्त्रीले कसरी थाहा पाए होलान् र हाम्रो दुःख ?'
from Kantipur 

5 comments:

  1. Rabina Naral महिने पिच्छे गरीबको झुपडी नधाउदा नै माथि हुन्थियो
    दल बल शहित आउनु भन्दा त्यो खर्च हामीलाई दिए जाती हुन्थियो

    ReplyDelete
  2. प्रधानमन्त्रीले आफ्नो तलबबाट दश हजार बिसुनीलाइ पठाएको कुरा पनि लेखिदिएको भए राम्रै हुन्थ्यो ।

    ReplyDelete
  3. प्रधानमन्त्री, पैसा तिरेर भात खाइदेऊ ! आश्विन ३० -गरिबको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर, दया राखी मलाई अझ दुःख दे ।
    माथिका हरफ बालकृष्ण समले 'मुकुन्द-इन्दिरा' मा लेखेका हुन् । गरिबको घरमा ईश्वरको बास हुन्छ-हुँदैन, मलाई थाहा छैन । तर नेपालका गरिबको घरमा महिनैपिच्छे एकजना 'भीआईपी' बास बस्न थालेका छन् ।
    जनताको पीरमर्का बुझ्न महिनैपिच्छे राज्यकोषको पैसाले गाउँ धाउने भीआईपीको नाम डाक्टर बाबुराम भट्टराई हो । यिनी गोर्खाको खोप्लाङमा जन्मेका हुन् । एसएलसी पास गरुन्जेलसम्म यिनले न पाइन्ट देखेका थिए, न चप्पल ।
    राजा, महाराजा र राणा गरिबी बुझ्दैनथे । गरिबी के हो भनेर बुझ्न तिनीहरु विगतमा सवारी क्याम्प हालेर गाउँ-गाउँ बस्थे । सानातिना निकासा-पुकासा दिन्थे, विन्तीपत्र लिन्थे । जनता राजा देखेर दंग पर्थे, राजा जनता देखेर । तर यतिबेला महिनैपिच्छे जनताको पीरमर्का बुझ्न बडेमाको झुन्ड बोकेर हिँड्ने भीआईपी विगतमा गाउँपाखामै बाख्रा चराएर हिँडेका सामान्य मान्छे हुन् । 'जनताको मुक्तिका लागि जनयुद्ध लडेको' ध्वाँस दिने भट्टराईले ७५ जिल्ल्ााका धेरैजसो ठाउँ घुमिसकेका छन् अरे । एकाध वर्षअघि दार्चुलामा पुगेपछि आफूले पचहत्तरै जिल्ला टेकेको बताएका थिए ।
    गाउँमा पीर छ । तारेभीर छ । मर्का छ । भोकमरी छ । अभाव छ । गरिबी र त्यसको ताण्डवनृत्य भरपुर छ । गाउँले धनी छन् । दुःखका उत्पात धनी । यो तमासा डाक्टर भट्टराई राम्ररी बुझ्छन् । तैपनि मंगलग्रहमा जन्मेझै गरी गाउँको गरिबी हेर्न र 'केस स्टडी गर्न' महिनैपिच्छे डुलिराख्छन् ।
    गरिबको दशा हेर्ने काम बाबुरामले काठमाडौको झोरमहांकालबाट थालेका थिए । उनी अहिलेसम्म जयराम लामिछाने, रामलाल नेवाथोकी, चाउरी र मानसिङ सार्की तथा विसुनी सदाको घरमा बास बसिसके । खबरमा आएअनुसार मिनिटाटा चलाउने झोरमहांकालका जयराम लामिछाने गरिब
    छैनन् । उनले सजिलै प्रधानमन्त्री टोलीको भतेर उम्काए । भक्तपुर ताथलीका रामलाल नेवाथोकीलाई पनि प्रधानमन्त्री पाल्न उतिसारो कष्ट परेन । जुम्लाको राँकागाउँ पुगेर मानसिङ र चाउरी दम्पतीको घरमा भात खाइरहेको फोटो देखेपछि भने मेरो चित्त चिमोटियो । मार्सीभातको उरुङ र धेरै परिकारको दर्शन गर्न पाइएको थियो । मानसिङ दम्पती असाध्यै गरिब भएको र बाबुरामको जनयुद्धले उनीहरुको छोरी सम्झना सार्कीलाई खाइदिएको खबर पत्रिकामा छापिएको थियो । पकाउने र जुठा भाँडा माझ्ने चटारोले प्रधानमन्त्रीसँग पीरमर्का बिसाउन नपाएको दुखेसो उनीहरुले पत्रकारसँग पोखेका थिए ।
    प्रधानमन्त्रीको भतेर उम्काउँदा मानसिङ र चाउरीलाई कति रिन लाग्यो, उनीहरुको कति महिना खाने अन्न मासियो, हिसाब-किताब पढ्न पाइएन । तर प्रधानमन्त्री मार्सीभात खान जाँदा राज्यकोषबाट पन्ध्र लाखजति खर्च भएको हिसाबचाहिं छापामा आयो । प्रधानमन्त्रीले चाउरी दम्पतीलाई भातभान्सा र सहयोगबापत एक पैसो दिएको खबर कतै पढ्न र सुन्न पाइएन । बाबुरामलाई प्रचार मनपर्छ । सय रुपैयाँमात्रै दिएको भए पनि पत्रकारलाई फोटो खिच्न लगाएर मात्रै
    दिन्थे । त्यसैले मानसिङ दम्पतीले सास्तीबाहेक केही पाएन भन्ने मेरो एकलकाँटे ठम्याइ छ ।
    जुम्लाको राँकागाउँपछि प्रधानमन्त्री महोत्तरीको मुसहर वस्तीमा पुगे । त्यहाँ फुलकहा—६, मनहरवाका ६३ वषर्ीय विसुनी सदाको घरमा बास बसे । सदा परिवारले प्रधानमन्त्रीको जम्बोरीलाई कोदाको रोटी, माछा, घुङी, सिद्राको चटनी, गंगटा र ढिकीमा कुटेको चामलको भात खुवाए । मगरथानाका साहु देवेन्द्र चौरासिया कहाँबाट ६ हजार रुपैयाँ महंँगो ब्याजमा लिएर उनले त्यत्रो बडा कार्जे उम्काएका रहेछन् । प्रधानमन्त्री बास बसेका घरमध्ये सबैभन्दा गरिबको घर यही रहेछ । प्रधानमन्त्री आएर खाइदिएकोमा गौरवान्वित भए पनि ६ हजार रुपैयाँको रिनले आफ्नो जायजेथा गुम्ने डरले उनी भात न पानी भएका छन् रे । तर प्रधानमन्त्रीले उक्त समाचार छापामा आएपछि ऋण तिरिदिएको पाइयो ।
    प्रधानमन्त्री गरिबलाई दुःख दिन हैन, दुःख हेर्न गाउँ गएको भन्छन् । विसुनी सदाको घर हेरे होलान् । झिटीझाम्टो हेरे होलान् । थाल नपुगेर केराको पातमा खाएको सम्झे होलान् । तर यत्रो भतेर कसरी उम्कायो भनेर आफ्ना आसेपासे र स्थानीयलाई सोधेनन् ? आफ्नै अन्तरमनलाई सोधेनन् ? उनका गुरु माओले जनताको घरबाट सियोसमेत नलिन उर्दी गरेका थिए रे । कार्यकर्ताले भेट्नोबाट फर्सी चँुडाइदियो भनेर नोट झुन्ड्याइदिएका थिए रे । यी त गरिबको फाली बोकेर हिँड्न थालेका छन् । प्रधानमन्त्री, अरु पीरमर्का बिस्तारै भनुँला, अहिलेलाई आफ्नो टोलीले भात खाएको पैसा खुरुखुरु बिसुनी सदाको झैं चाउरी सार्कीहरूलाई पनि रिनमुक्त गरिदेऊ ।
    - मिलन बगाले

    ReplyDelete
  4. प्रधानमन्त्रीलाई पत्र
    मेरो अनुरोध के हो भने धेरै भाषण गरेर केही काम नगर्नुभन्दा थोरै बोलेर सानै कामबाट सुरु गर्न सक्यो भने यसले आमूूल परिवर्तनका लागि आधारशिलाको काम गर्न सक्छ । मुसहर समुदायलाई ठूलो सपना देखाएर भ्रममा राख्नुुभन्दा तिनका बालबालिकाको शिक्षामा राज्यले केही लगानी गरेर उनीहरुलाई शिक्षा दिने वातावरण बनाइदियो भने उनीहरुको आउने पिँढीले गरिबीको दुष्चक्रबाट बाहिर आउने सम्भावनाको ढोका खोल्ने थियो । त्यसैले तपाईको कार्यकालमा कम्तीमा तराईका दलितभित्र पनि सबैभन्दा पछाडि परेको मुसहर र डोम समुुदायका बालबालिकको शिक्षा प्राप्तिको अधिकारको सुनिश्चितता गरिदिनुुभयो भने अवश्य तपाईको भ्रमणको सार्थकता रहनेछ । अनिवार्य र छात्रवृत्तिसहितको शिक्षा प्राप्त गर्ने वातावरण बनाइदिनुभयो भने पक्कै पनि मुसहर समुदायको आशिर्वादले तपाईको उचाइ सधै माथि रहनेछ ।
    अर्को, तपाई अर्थमन्त्री हुँदा ज्येष्ठ नागरिक भत्ता वितरणको प्रक्रियालाई परिवर्तन गरी अन्य नागरिकलाई उमेरको हदबन्दी ७० वर्ष राख्नुभएको थियो भने दलितको उमेरको हदबन्दी ६० राखेर दलितलाई ठूलो गुन लगाउनुभएको थियो । त्यही सन्दर्भमा हामी तपाईलाई बधाई दिन तपाईको कार्यकक्षमा पुगेका थियौ र मुसहरको औसत आयुु ४२ वर्षमात्र भएकोले दलितका लागि अवलम्बन गरिएको नीतिसमेत मुसहरको सन्दर्भमा लागु नहुुने हँुदा उनीहरुलाई ५० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता वितरण गरियोस् भन्ने मागसमेत राखेका थियौं । तर त्यतिबेला यो मागलाई पूरा गर्न नसकिने भनेर पन्छिनुभएको थियो । तर आज तपाई त्यही दलित बस्तीमा बास बसेर आउनुभएको छ । त्यसैले मलाई के आशा पलाएको छ भने अब मुसहरले ५० वर्ष पुग्ने बित्तिकै ज्येष्ठ नागरिक भत्ता पाउनेछन् । तपाईले त्यहाँ सायदै ५० वर्षभन्दा माथिका मुुसहर ज्येष्ठ नागरिक देख्नुभयो होला । प्रधानमन्त्रीज्यूू, धेरै ठूूलो विकासको पोका बाँड्ने परिकल्पना गरेर समाज र राष्ट्रलाई अल्मलाइरहनुभन्दा सानै भए पनि दीर्घकालीन असर पर्ने काम गरियो भने त्यसको प्रभावकारिता बढी हुन्छ ।
    - कमला हेमचुरी


    ReplyDelete
  5. Prajwal Shrestha -16 lakh sakkera karnali , aba khi lakh sakera musar , dalit yestai 6 baru tyo paisale musar ka 6ora 6ori ko sichhya ma lagani garna diya bhaye hunthyo ni , uni pm nahudai 75 jilla dulera des banaune sapana dekhya man6e pm bhaye p6i andha bhaye 6n kyera ra dulya holan ni

    ReplyDelete