Saturday, February 28, 2015

हिडिरहेका जेइबाबै

nabin bibhas

Nabin bibhas
छड्केधुरी उकालिदै गरेको एउटा बूढो जोडी । जस्तो कि मामाघर बजेनी जानलाई उकालिएका मेरा जेइबाबै । बस्, नबिसाई हिडिरहेका उकालोमा । देखेर तिनलाई खुशीले फुलेको एउटा युवक । जस्तो कि जेइबाबैको पछि–पछि हिडिरहेको म । खुशीले तन र मन झुलेको छ मेरो । जस्तो खुसी कि मैले पहिलो पाइला फाल्दा जेइबाबै यस्तै खुसी भए होलान् । तातेताते गरेको पहिलो दिनजस्तो ।
तौलन्छु, उस्तै खुसी म ।
हेर्छु, मन फुलेर रंगीन भएको छ ।

बस्, जेइबाबैसँगै खुसीले फुलेर हिडिरहेकै बेला ब्यूँझिएछु ।
हिडेको त सपनामा रहेछ ।
मन यसै बग्न थाल्छ, आँखाको चोर बाटो समातेर ।
सम्हालिन बत्ती बाल्न खोजेँ । थिएन । काठमाडौंमा बत्तीसित भेट हुनु मावली गएजस्तै हो । जस्तो मावली जाने साइत जहिल्यै कहाँ जुर्छ र ? कति बज्यो ? मोबाइलमा हेर्न खोजेँ । चार्जमा राखेको मोबाइल अफ नै थियो । सम्झिएँ, मोबाइलसितको भेटपछि घडीसित साइनो टुटेको पनि जुग भएछ ।
छिनछिनमा फेरिने जेइको अनुहार । उसैगरी रंग फेर्ने बुढ्यौली बाबैको अनुहार । कहिले युवा अवस्थामा जस्तै गोरो । कहिले अनुहारभर च्याउ उमे्रर कालो न कालो । छिनछिनमा अनुहार बदल्ने बर्खायामको आकाशजस्तो ।
आँखाभरि जेइबाबै देखेर छामेँ । आँखा डिल भत्काएर झरेको मनतातो मन गालाको बाटो हुँदै घाँटीनेर पुग्दा चिसिइसकेछ ।
‘सपना अलि लामो भएको भए कति जाती हुँदो हो,’ बल्झिएर मन फेरि बरालियोध्र बेतालले हिड्ने यो मनलाई थाम्नु कसरी ? आँखाको बाटो समातेको मनलाई थाम्न सकिनँ ।
बस्, ८० को संघार टेक्न हतारिएका जेइबाबैलाई भेट्न प्यारालाइसिस नआउँदो हो त कति हेर्दो हुँ हिडिरहेका जेइबाबै !
मन यसै कामना गरेर बग्न थाल्छ– सपनाजस्तै विपना भइदिए ? अनि गुनासो गर्छु आफ्नै विपनासित, ‘कहिले हुन्छस् हँ विपना तँ, सपनाजस्तो ?’
फेरि सपनामै फर्कने कोसिस गरेँ ।
त्यसपछि ?
झन गाह्रो भयो ।
कहिलीकसो किन आफ्नो भन्नलायक यो एउटा मन पनि निहुँ खोज्दै बाङ्गिएर हिड्छ हँ ?
आफ्नै मनसित गुनासो गर्छु ।
‘कस्तो लुक्री (नोकरी) हो तेरो । न तेरो फुर्सद छ न पैसा,’ जेइको आवाज कानमा ठोकियो । काठमाडौंको बेताल जिन्दगी देखेर वाक्क बाबैको आवाज पनि खापिएर आयो ।
‘तँसितकाले घर पनि बनाए । मोटरगाडी नि जोडे भन्छन् । तँ के नोकरी गर्छस् न घरबार जोडिस् न पैसा,’ जेइबाबैको जुम्ल्याहा स्वर कानमा बजिरहेछ ।
हेर्छु ।
हो त है ।
‘तँजस्तै सनिस लेख्ने (समाचार लेख्ने) पनि त कोही मोटरमा आउँछन् कोही मोटरसाइकलमा । रातदिन हिडेकै छस् । तर तँसित न मोटर छ न पैसा,’ मन नलागी–नलागी पनि कानमा बजिरहन्छ जेइबाबैको आवाज ।
हेर्छु ।
हो त है ।
न त मसँग जेइबाबैको उपचार गराउने पैसा छ न त काठमाडौंमा बस्नलाई नै । दुखजिलोसित साथीभाइको उधारो बोकेर कति दिन धानिएला ?
हेर्छु, हाम्रो समाजको अनुहार । हाम्रो समाजको सोंच ।
हाम्रो समाज भन्छ –ठूलो घर भएको राम्रो । चिल्लो गाडी चढेको राम्रो । काठमाडौंमा घर वा घडेरी भए राम्रो । हाम्रो समाजले सम्मान गर्छ जोसँग धन होस् । घर होस् । जमिन होस् । सम्पत्ति होस् । र, समाजले भन्छ, ‘वाह, फलानोले क्या प्रगति गरेछ ।’ तर हाम्रो समाजले कहिल्यै सोध्दैन– फलानोले जोडेका जिनिसको स्रोत के हो ? कमाएको कि लुटेको ? आफ्नै पसिनाको कि ठगीको ? कहिल्यै सोध्दैन, फलानोको नोकरीको चोखो कमाइ कति ?
कहिल्यै सोध्दैन ।
कहिलीकसो गम्छु– साँच्चि चोखो कमाइबाट घर र मोटर जोड्ने कति होलान् यो दुनियाँमा ? धेरै कि थोरै ?
गाउँको पाखापखेरामा जिन्दगी हालेका जेइबाबैलाई के थाहा नोकरीको चोखो कमाइ कति छ काठमाडौंमा ? के थाहा मोटर चढ्ने र घर बनाउनेका धन्दा ! र, तिनहरुको चोखो कमाइ ।
‘न काठमाडौंमा टेक्ने थलो छ न राम्ररी बस्न सक्ने तेरो स्थिति । गाउँको थातथलो बाँझो भो । हिड गाउँ,’ चुप्प लागेको देखेर जेइबाबैको आवाज झन् खापिएर आउँछ ।
मौन ।
जवाफ भए पो ।
न गाउँ फर्कने आँट, न त सहरमा टिक्ने ठाँट । यसो हेरेँ, न काठमाडौंलाई आफ्नो बनाउन सकेँ न गाउँलाई आफ्नो बनाइराख्न । साँच्चीको डायस्पोरा । न आफ्नो जन्मथलोको हुन सकेँ न बसेको ठाउँको ।
‘भोलि त छक्कालै गाउँ लैजा । बाख्रा कता गए । कुखुरा कता गए । भैंसीले घाँस खाए कि खाएन ? गाईलाई पानी खुवाए कि खुवाएनन्,’ काठमाडौंको एउटा अँध्यारो कोठामा कुँजिएर जेइबाबै यै भन्थे । जेइबाबै काठमाडौं छिरेको भोलिपल्टदेखि यो एकसूत्रीय माग दोहोरिन्थ्यो ।
यसो सम्झन्छु– कुन जेइबाबाको मन नहुँदो हो– घर होस् आफ्नै । (सानै किन नहोस् ।) जहाँ मन लागेको बेला ढोका खोल्न मिलोस् । मन लागेको बेला हाँस्न पाइयोस् । गाउन पाइयोस् । र, घामसँग भेट होस् । (काठमाडौंमा कत्रो तिर्खा है घामको । पानीको ।)
अनि ?
मन दुखेको बेला धितमरुन्जेल रुन मिलोस् ।
घर त भएन रे । फ्ल्याट नै सही ।
सिंगो फ्ल्याट होस् । छिमेकी किचकिचे नहोऊन् ।
अँध्यारो उसैमाथि साँघुरो कोठा । त्यै कोठा जेइबाबैका दिन कति नै फरक थिए र रातसित ।
चाह त हुँदो हो नि जेइबाबाको । जस्तो, यसो गाउँको जमघटमा कुरा गर्नलाई हुन्थ्यो– (घाम लाग्ने कोठा भए) घाम ताप्दै गफ गरेका कुरा । स–साना चिचिला चकचक गर्दै घरि यता घरि उता गरेका कुरा । जेइबाबैको मन हुँदो हो, गाडीमा काठमाडौं घुमाएको कुरा गाउँको जमघटमा गफको विषय बनोस् ।
घरिघरि बाबैको कुरा रि प्ले हुन्छ– कतिका घर टालेर पढाएँ तँलाई ! कतिलाई आङमा थुकाएर तेरो ठूल्दाइलाई पढाएँ ।
जिन्दगीका सारा रहर सन्तानको खुसीका लागि बन्धक राखेर डाँडामाथि पुगेका बूढाबूढी अनुहार ।
अँ, जेइबाबैको गुनासो छ, आफ्नो टेप बजाइदिने माइली भाउजूसित । गीता र पार्वतीसित ।
कान्छा, तँ आएको बेला हाम्रा गीत बजाइ दे । यिनले त बजाइदेऊ भन्दा पनि मान्दैनन् । आफ्नै गीत बजाउँछन् । साइली बरै लाइ दे टेपमा ।
जेइको आवाजसितै टेपमा क्यासिट राखिदिन्छु । बरै अल्बमबाट आफ्नै बुढ्यौली स्वर रोल्पाका पुराना लोकगीत भएर निस्कन्छ । आफ्नै गीत सुनेर धेरैपछि धेरै पुरानो साथीसित भएजसरी भावुक अनुहार घरि यता घरि उता गरिरहेका बुढ्यौली अनुहार । टेपको छेवैमा कान थापेर घरी सुक्क गरेका घरी उक्क गरेका जेइबाबै ।
तेरो भाउजू र भतिजीले हाम्रो गीत बजाइदिन्नन् । कहाँ फाल्दिए ।
जहिल्यै गुनासो जेइको ।
बिमाकुमारी दुरा र राजु परियारका गीत त के जीवन शर्मा, मोहित श्रेष्ठ र झन्कार मगरका क्यासेट पनि कुनामा फालेका छन् । पूर्खाका आँसु र हाँसोले मुछिएका जीवनदर्शन बोकेको रोल्पाली लोकगीतसित नयाँ पुस्ताको चिनजान नै कहाँ भयो र ? ती जीवनदर्शन अहिलेको पुस्तासित साइनो नलाई नेटोमा बिदाइको हात हल्लाइरहेको छ ।
अँ, जेइबाबैका पुराना गीत टेपमा बजेपछि सुन्छन् आफैले गाएका गीत अरुले नै गाएका जसरी, पहिलोपालि सुनेको नौलो आवाजजसरी । एकपालि होइन, पटकपटक । आफैले गाएका गीत सुनेर उही याममा पुग्छन् जहिले गाएर नै जीवन फुलाएका थिए । माया झुलाएका थिए । जिन्दगीका सुखम्दुखम् गीतमा उनेर रोएका थिए । हाँसेका थिए । जिन्दगी जिउने एउटा बहाना बनाएका थिए । तिनै गीत त थिए तिनका किताब । तिनका फिल्म । र, आफै थिए कार्ल माक्र्स आफै थिए आमिर खान, राजेश हमाल र आफै थिए काजोल ।
‘अचेल त कान पनि सुन्न छाडे,’ माइली भाउजू भन्दै थिइन् फोनमा ।
सायद अब जेइबाबैले भन्ने छैनन्, ‘कान्छा, काट्मन्नुमा (काठमाडौंमा) भरेको (रेकर्ड गरेको) गीत लाइदे तो टेप्रीकाटमा ।’
अब कसरी सुन्न पाम्ला मैले जेइबाबैको मुखबाट कि आफ्नै गीत सुन्नलाई अफर गरेको । र, कहिले देख्न पाम्ला आफ्नै गीत सुनेर जेइबाबै धर्धरी रोएको ।
कहिलीकसो लाग्छ, रोल्पाली पुरानो गीतको ‘यसोउसो’ गरौं । तर, आफ्नै जेइबाबैले गाएको गीतबारे यसोउसो गर्नलाई नैतिकताले बाटो नदिने रहेछ । सम्झन्छु, जेइबाबैले प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराइरहेको बेला फूलमान बल (कान्तिपुर) संयोगले नपुग्दा हुन् त कसरी थाहा पाउँदा हुन् दाहाल यज्ञनिधि, स्व.सुबि शाह र स्व.रामशरण दर्नालले । अनि त्यसपछि मिडियाले ।
आफैले गाएका गीत पनि सुन्न नपाउने गरी कानले माया मारेपछि जेइबाबाको मन कस्तो भएको होला यतिखेर ?
जेइबाबैका अनुहार आँखामा बल्झेर मन आफै अत्यासिन्छ ।
‘औषधि सकियो कि ?’
यसै मन अत्तालिन्छ ।
माइली भाउजू भन्दै थिइन् –औषधि खान बिर्सेर सकिएकै छैन ।
बाबैको मन त्यस्तो पिलपिले थिएन । तर, बुढ्यौलीसँगै मन पनि साँगुरिने रै’छ क्यार । अझ अर्काको सहारामा बाँच्ने भएपछि मन पनि ओरालिने रै’छ ।
‘कान्छा, गाउँ लैजा, गाउँमै मर्छु म त । अर्काको घरमा मर्दिनँ,’ काठमाडौं झरेपछि बाबैको एकसूत्रीय माग नै यै थियो ।
धेरै भयो फोन नगरेको । तर, कानमा गुञ्जिरहन्छ जेइबाबैको स्वर, ‘कस्तो लुक्री हो तेरो ? न छुट्टी छ न पैसा छ । तँजस्तै काम गर्नेले नि त कमाएका छन् भन्छन् । तँ के भइस् हँ कान्छा ?’
बक्क पर्छु ।
‘नोकरी गरेर नि कहीँ कमाइन्छ,’ भन्छन् कमाउन नसकेर थला परेका साथीहरु ।
ढाँट्ने, ठग्ने र चोर्ने तीनवटै कला नभएपछि जेइबाबैको कान्छो छोरो साँच्ची हुतिहारा भयो ।
गर्मी बढे पनि जाडो बढे पनि मौसमसित बाजी लागेर बढ्ने व्यथा जेइबाबैको ।
फोनमा साथीभाइ सोध्छन्, ‘घरमा फोन ग¥यौ ? कस्तो छ सन्चै ?’
भन्छु –फोन गरेँ । जेइबाबैलाई रोल्पामा सन्चै छ ।
धेरै भयो भतिजीहरु गीता, पार्वती र निरुले फोन नगरेको पनि । बिहेमा समेत नआउने कान्छा काकासित तिनका आफ्नै गुनासा छन् ।
फोन गर्ने आँट छैन मसित । कस्तो छ बाबैलाई ? कस्तो छ जेइलाई ? र, कस्तो छ गाउँ अनि गाउँघरका आफन्तलाई ?
चिठीको जमानामा समेत सायदै लेख्ने यो ज्यान फोनसित पनि जात्तिबित्ति हिमचिम छैन । माइली भाउजूको मोबाइलमा घरिघरि डायल गर्छु । अनि क्यान्सिल गर्छु, ज्वरोले च्यापेको खबर सुन्नुपर्ला भनेर । उसो त फोन पनि रोल्पामा फोनकै मर्जीमा चल्छ । बेलाबखतमा आउनेजाने फोन लाइनले हुन्छ भने कुराकानी हुन्छ हुन्न भने हुन्न । यसो डाँडामाथि उक्लेर ‘हलो’ गरे भेट हुन्छ नत्र हुँदैन ।
यतिखेर काठमाडौं निदाइसकेको छ । बेलाबखत आउने कुकुर र गाडीको आवाजबाहेक जम्मै निदाएका छन् ।
ल्यापटप अन् गरेँ । धन्न चार्ज रहेछ । डेरामा बिजुलीसित भेट हुन छाडेको धेरै भयो । ल्यापटपमा औला हिड्नुअघि नै जेइबाबै उभिए, हिडिरहेका जेइबाबै । पुरानो टेप जहाँ जेइबाबैको चर्को फर्माइसपछि माइली भाउजू र गीताले बरै अल्बमका जेइबाबैका गीत बजाइदिन्छन् । उही रोल्पाको जैपा गाउँ । पुराना पात झर्दै गएको घरसँगै उभिएको दुध्लाको बूढो रुख । र, छेवैमै बसेर स्वाँक्कस्वाँक्क गरिरहेका मेरा कान्छा काका ।
आँखामा फेरि उभिए ।
‘सपनामा देखेजस्तै जेइबाबै हिड्लान् ?’
कल्पेर नि मनभित्रै कहाँ हो कहाँबाट हुँडलिएर आयो ।
आँखामा जम्मा भएको नुनिलो मन ल्यापटपमा औंलाभन्दा पहिले दौडन थाल्छ । औंलाको साटो भिजेको मन चल्न थाल्छ ।
‘न पैसा न फुर्सद । कस्तो नुक्री हो तेरो,’ जेइबाबाको आवाजसँगै उभिएका छन् छिनमै गोरो हुने छिनमै कालो हुने बूढा अनुहार । र, तिनले चप्पल लगाएका छन् । जब कि जेइबाबैका औंलाले चप्पलको फितासित बोली बारेका छन् ।
स–साना रहरका पछि लाग्दै सन्तानका सुखकै लागि जिन्दगी बिताएका जेइबाबाका स–साना सपना । कति स–साना रहर । ती रहर र सपनाले नि माया मारेर जाँदा मन कति ठाउँमा भाँचिएको होला ? ती स–साना रहर र सपनालाई नि पूरा गर्न नसक्ने सन्तानप्रतिको गुनासोको मात्रा कति होला ?
सम्झेर ल्यापटपमा दौडिरहेको मनसित नै काठमाडौंमा थला पर्छु । न रोल्पा फर्कन सक्ने न काठमाडौंमा रम्न सक्ने मन ठाउँ–ठाउँमा नौचिरा हुन्छ ।
(मन थला परेको पैसा कमाउन नसकेकाले होइन । जेइबाबैलाई बुझाउन नसकेकाले झन् थला परेको छ मन । छक्कापञ्जा नजानेकाले बेचैन भएको होइन मन । कारण, सारोगारो जेहोस्, आफैले रोजेको बाटोमा छु । भन्छन् नि– रहरले बेसाएको दुःखसित के गुनासो गर्नु ! जानी नजानी रोजेको बाटो हिड्दा लागेका ठेस त अनुभव हुन् रे ।
अनि ?
सम्झेर आफैलाई थाम्न कोसिस गर्छु, ‘दाग लागेको मस्तीको जिन्दगीभन्दा अभावले पिरती लाएको बेताले जिन्दगी नौगुना जाती रे ।’
ल्यापटपमा औंलासित मन दौडिरहेको बेला कल्पिएँ, ‘साँच्ची जेइबाबै हिडेको विपनामा देख्न पाए कस्तो हुँदो हो मेरो मन ?’
बस्, ८० को संघार टेक्न हतारिएका जेइबाबैलाई भेट्न प्यारालाइसिस नआउँदो हो त कति हेर्दो हुँ हिडिरहेका जेइबाबै !
मन यसै कामना गरेर बग्न थाल्छ– सपनाजस्तै विपना भइदिए ? अनि गुनासो गर्छु आफ्नै विपनासित, ‘कहिले हुन्छस् हँ विपना तँ, सपनाजस्तो ?’
कल्पन्छु उही पुरानो यादमा बल्झिएर, उकालोमा अघि–अघि हिडिरहेका जेइबाबैलाई भनिरहेछु, ‘बाट् हेर (पर्ख), भोलि छक्कालै (बिहानै) जाम्ला ।’ र, अझ बच्पनमा फर्कन्छु जहाँ मेरी जेइ गुन्यूको बर्को बनाएर गलामा माला लगाएजसरी मलाई भिरेर पिठ्यूँमा सोत्तरको राँगे बोकेर उकालिरहेकी ।
सोध्छु, किन त्यै सपनाजस्तो हुँदैन हो विपना ?
भन्छु, सपना देखिरहूँ । उसैगरी हिडिरहूँ ।
या विपना भइदियोस् सपना ।
गुनासो गर्न थाल्छु, किन सपनाजस्तो हुँदैन मेरो विपना ?’
भन्नु त तपाईंलाई नि यस्तो भएको छ ?
from Saugat,  naya yugbodh
nabinbibhas@gmail.com

No comments:

Post a Comment