Monday, July 29, 2019

जोख, चमार, कुल, लिला र मदन

नवीन विभास 
रोल्पा सदरमुकाम लिबाङको बालकल्याण माध्यमिक विद्यालयका चार सहपाठी(चमारसिङ घर्तीमगर, कुलबहादुर डाँगी, लिला आचार्य र मदनमणि आचार्य) र तिनका चार ब्याचपछिका जोखबहादुर विश्वकर्माका संचोबेसंचो हो यो ।
लिबाङबाट १५ किलोमिटर पश्चिम कोटगाउँका गरिब परिवारका (कक्षा प्रथम) हुन्, जोख–चमार । 
चमार अचेल प्राथमिक विद्यालयमा माष्टरी गर्छन् भने जोख पुलिस छन् । 
सदरमुकाम लिबाङका मध्यम परिवारका लिला, कुल र मदन । कुल (कक्षा दोस्रो) रोल्पा जिल्ला अस्पतालमा अधिकृत छन्, १० कक्षामा दोस्रो भएकी लिला प्रावि शिक्षिका । चमार, कुल र लिला प्रतिष्पर्धी मदन इन्जीनियर छन् ।
करिब २५० बर्षदेखि अभ्यासरत ‘काष्ट’, ‘क्लास’ र ‘पुरुष(जेण्डर)’मा आधारित नेपालको राज्य संरचनाले तिनलाई कसरी र कहाँ राखेको छ ? र, नेपालमा राज्य पुनर्संरचना किन जरुरिएको हो ? 
जोख, चमार, कुल, मदन र लिला आँखीझ्याल हुन् ।  

चमारसिङ घर्तीमगर 
जैसीले साइत हेरेको दिन एउटा परिवार ‘देश’ जान्छ । 
एक हल गोरु, चारवटा गाई, एउटा बाच्छी र सातवटा बाख्रा धपाउँदा गोंसा मनले पनि बेमन्जुरी जनाउँदैछ । कहिल्यै नफर्कनेगरी आफू बसेको घर र गाउँ फर्कीफर्की हेर्दा तिनका पाइला यसैयसै लर्बराउँछन् । उखेलेको किला र दाम्लोसँग मुठा पारिएका चार फुर्का तीतेपाती र एक दर्जन दुबो सरा समाएका हात बेलुकीपख बेस्सरी बतास चल्दा टाकुरामा उभिएको लाँकुरी हाँगाजसरी हल्लदैछ । 
विदा गर्न भेला भएका गाउँले आँखा ‘साउने सिरुगातिना’मा परिणत भएको छ भने तिनका बोली ‘ब्याट्री सकिएको बेला सुनिने रेडियो’मा । 
‘चा(चिया) खाए है,’ भिजेका गाउँले बोली झर्दैछ, ‘पाइला फर्काए है । जन्मेको ठाउँ र हाम्लई माय नमारे ।’ 
सुखदुःख साटेका कुलका दाजुभाइ÷दिदीबहिनी र इष्टमित्रमध्ये कसैलाई ढिडो पकाउने खोप्पे दिदैछन् त कसैलाई तिहुन पकाउने कसौरी, ‘लौ राख, हाम्रो चिनो । साँचे है !’ 
गाउँमा आफ्ना ‘चिनो’ छाड्छन् भने गाउँछेउको कुइनेटोमा उभिएको लाँकुरी बोट उभिएको चौपारीमा पुगेर ‘सम्झना’ ।
त्यो हो, रोल्पा करेटीको सिरुगातिना, २०२७ । 
रोल्पातिर बसाइँ सर्नुलाई ‘देश जाने’ भन्छन् । 
सिरुगातिनाबाट देश जाने मनवीर घर्तीमगर परिवार हो । र, बसाइ सर्दैछ, दुई÷तीन घण्टाको पैदल पश्चिम जङ्घा नामक गाउँमा । 
बसाइसराइको सहज कारण हो, अवसर खोजीमा दुर्गमबाट सुगममा सर्नु । दोस्रो कारण हो, बाध्यता । जुन दुर्गमबाट सुगम पनि हुन्छ भने सुगमबाट दुर्गम पनि । 
मनवीर परिवार दोस्रो कारणले जङ्घा सर्दैछ, ‘छोरा–तिर्खा’ मेट्न । 
छोरा नपाई जोवन जान लाग्यो भनी हतारिएको दम्पतीलाई सिरुगातिनाका जैसी, झाँक्री÷धामी र गाउँका ‘जानभान’ले सुझाउँछन्ः
दुई काम गरे छोरा हुन्छ । एक– काक्सीबोक्सी, सेउरे, राक्सबोक्साले यो ठाउँमा छोरा हुन दिन्नन् । जन्मे पनि बाँच्दैनन् । त्यसैले ‘देश’ जाऊ ।
दुई– जोगीसित मित लाऊ ।
मनवीर जेठीपत्नीका पाँच छोरी । कान्छीपत्नी कमाले छोरा त पाइन् तर, बाँचेनन् । 
जानभान सुझाव स्विकार्छन् । तर, जाने कहाँ ? हिसाबकिताब गर्छन् । ‘तलमाथि’ हुँदा कोही न कोही त चाहियो । त्यसैले बसाइ सर्न कान्छीपत्नी कमाको माइती गाउँ रिम्सकछेउको जङ्घा रोज्छन् ।  
संयोगले खेवासेका गिरी कोटगाउँ सर्छन् । उनै जोगीसित मनवीर मित लाउँछन् । 
मनवीरका बाजे घाडभुरा हुन् । मगर परम्परागत शासकीय स्वरुपअनुसार ‘पञ्च’(पाँचजना)मा ‘मुक्खे’ कार्यकारी पद हो भने घाडभुरा सल्लाहकार । राणाकालमा ‘गैरमगर’ पनि पंच हुने नियम बनेपछि सोझा मगरका ‘पंच’ गैरमगरले खोस्छन् । २०१७ सालमा ‘पंच’ खोस्छन्, राजा महेन्द्रले ।
आगलागीले धन र अन्न जलेपछि घाडभुरा परिवार आर्थिकरुपले ओरालिन्छ । घर धान्न मनवीरले सुँगुर जग्गर(रौं) नेपालगञ्ज लगेर बेच्छन् । खेतीपाती र कालापार त छँदैछ । 
रोल्पातिर भारतका हिमाचल प्रदेशका शिमला र उत्तराखण्डका गढवालमा काम गर्न जानुलाई कालापार जाने भन्छन् । अचेल त भारतको जुन ठाउँ पुगे पनि कालापार भन्छन् । 
संयोग ! सिरुगातिनाबाट सरेको एक बर्षपछि कमा छोरा जन्माउँछिन् । गाउँले भनाइ पछ्याउँदै कमा परिवार दलित परिवारमा पुग्छ । छुवाउँछ । कामीले फलामको बाला बनाएर हात–गोडामा लगाइदिन्छन् । सार्कीले छालाको बन्धनले बाँध्छन् । तिनले भन्छन्, ‘हाम्रो काखमा बन्धन प¥यो ।’
नवजात शिशुलाई ‘दलित’ले बाँध्छन् ‘काल’ले लान्न भनेर । नामसमेत राखिदिन्छन्, ‘चमार’ । 
‘मनु’वादी संरचनाले नेपाली समाजको मनोविज्ञान नै कति ‘मनु’ग्रस्त बनाएको छ भन्ने दृष्टान्त हो यो । 
हेर्न त जैसीले पनि हेर्छन् । भन्छन्, सिंह राशी । ‘म’ अक्षरबाट नाउँ सुझाए । जैसीले राखिदिन्छन्, मनु ।
ज्योतिष काम गर्नेलाई रोल्पातिर जैसी भन्छन् । ती जैसी दलित पनि हुन सक्छन् भने आदिवासी मगर पनि । 
त्यो बन्धन कक्षा तीन पुगेपछि फुक्छ । चमार परिवारले रक्सी, रोटी र भाले पाहुर दिएपछि बाँध्ने दलितले ‘हाम्रो बन्धनबाट फुक्यो’ भन्छन् । 
‘एकजना सुनारको छोरा थिए । उनलाई गाउँले भन्थे– नफुकाएकाले हिँड्ने बेला ढाङढाङढुङढुङ गर्छ,’ चमारले फुकाउनुको कारण खुलाउँछन् ।  
त्यसबेला चमार १०÷११ बर्षका हुन्छन् । गाउँका दाइ पछ्याउँदै झण्डै एक घण्टा पैदल दुरीमा रहेको कोटगाउँ स्कुल पुग्छन् । सिङ पनि थपिएर स्कुल रजिष्टरमा उनको नाउँ लेखिन्छ, ‘चमारसिङ घर्ती मगर ।’ 
नियमीत स्कुल जान्छन् । जाँच दिन्छन् । चमार कक्षा प्रथम हुन्छन् । कक्षा उकालिँदै जाँदा स्कुल प्रथमसमेत हुन्छन् । 
आठ कक्षा पढ्न सदरमुकाम लिबाङ जान्छन् । आठ कक्षाको रिजल्ट हुन्छ । कक्षा प्रथम हुन्छन् । 
रोल्पामा क्याम्पस छैन । त्यसैले सदरमुकामको बालकल्याण मावि नै ‘मुक्खे’ शैक्षिक संस्था हो । सायद, यसैले होला, कहिलीकसो प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारी पनि पुग्छन् । 
त्यसबेला विद्यालय संचालक समिति अध्यक्ष हुन्छन्, एकदेव आचार्य । लिबाङका रैथाने आचार्य खलककै हातमा ‘सदरमुकाम सत्ता’ छ । गाउँपंचायत हुँदा प्रधानपन्च र गाविस भएपछि अध्यक्ष आचार्य नै । 
लिबाङ बजारको चिहानडाँरा(अहिले पिपलचौतारा)लाई आचार्य खलकको ‘नयाँ मुक्खेडेरा’ भन्छन् । यसैगरी, चिहानडाँरादेखि टुँडीखेल–पश्चिमका आचार्य बस्तीलाई ‘जिम्मलडेरा’ त टँुडीखेल वरपर र त्यस पूर्व बस्ने आचार्य बस्तीलाई ‘पुरानो मुक्खेडेरा’ । 
एक दिन तिनै अध्यक्ष आचार्य ९ कक्षा कोठामा पस्छन् । त्यसबेला शिक्षक हुन्छन्– कृष्णबहादुर महरा, शेषकान्त पराजुली, कुलचन्द्र आचार्य, वासुदेव आचार्य, देवेन्द्र रिजाल, विष्णुप्रसाद पोखरेल आदि ।
आचार्य आँखा विद्यार्थी अनुहारमा सरर्र डुल्छ । के सम्झेर कुन्नि ? अध्यक्षलाई कक्षा प्रथम चिन्न मन लाग्छ । 
शिक्षकः यो हो अध्यक्षज्यू, प्रथम केटो । 
शिक्षकले आकाशे रङको झाङे(हाप्पेन्ट) र चप्पल लगाएका होचाहोचा, चिम्सा आँखा भएको किशोरलाई देखाउँछन् । 
अध्यक्ष आचार्य आँखा अन्कनाउँछ ।
अध्यक्षः होइन होला ! 
शिक्षकः हो । कोटगाउँ जङ्घाको चमारसिङ घर्तीमगर ।  
आचार्य आँखा जुरुक्क उठेर मदनमणि आचार्यमा बस्छ । आफ्नै खलकीय सदरमुकामका मदन प्रथम भएका छैनन् । 
केही सीप नचले पनि उनका आचार्य आँखा न मदनमणिबाट कुलबहादुर डाँगीमा सर्छ न त लिला आचार्यमा । 
सदरमुकामकै डाँगी दोस्रो हुन् भने पहिलो चारजनाभित्रैकी हुन्, लिला । आचार्य नै भए पनि लिला असली आचार्य होइनन् । उनी त ‘महिला आचार्य’ हुन् । 
प्रथममा आफ्नो अनुहार नदेखेपछि अध्यक्ष आचार्य अत्तालिन्छन् । आत्तिएको अध्यक्ष आचार्य ‘आखर’ अक्कासिन्छ, ‘राङाको टाउको खानेले जित्ने कि खसीको ?’ 
चमार किशोर छातीमा ‘आचार्य आखर’ भीरबाट पल्टदै झरेको ठूलो ढुंगा  बज्रेर अचेटेजस्तो लाग्छ । चमार चक्राउँछन् । 
‘जातको कुरा निकालेर पक्षपात गरेजस्तो लाग्यो । मलाई अपमान गरेजस्तो लाग्यो,’ ३० बर्ष पुरानो चमार याद बल्झन्छ, ‘त्यसबेला दुखेको मन अझै निको भएको छैन ।’
‘मनु’ पुरुष ‘माइण्डसेट’अनुसार आचार्य बोली फुट्ट ओर्लेको हो । आचार्य आशय हो, ‘राङा टाउको खानेले पढ्न त हुँदैन भने जित्न हुन्छ ?’ 
शिक्षक कृष्णबहादुर महराले एक दिन चमारलाई नाउँ फेर्न सुझाउँछन् । पटकपटक उप्रधानमन्त्री, मन्त्री र सभामुख उनै महरा हुन्, जिल्लामा नामुद विज्ञान शिक्षक । 
‘मनु–मनोविज्ञान’ले गिजोलेको चमार–मन ‘मनु राखे त मर्छु’ जस्तो लाग्छ । तर, महराले सुझाउनुअघि नै चमारले नागरिकता बनाइसकेका हुन्छन् ।
‘दलित’लाई कालले पनि लान हिच्किचाउँछ भनेर चमार नाउँ दिइएको हो । 
जति माथ्लो कक्षा उक्लन्छन् उति ‘स्कुले ज्ञान’ले चमारलाई संकुचित बनाउन थाल्छ । समाजिक संरचना र उनलाई दिएको शिक्षा न जीवनवादी छ न वस्तुवादी । ‘काष्ट’ र ‘क्लास’मा आधारित ‘सरकारी संस्कृति’ले चमार घाँटी कस्न थाल्छ । 
घरमा आमा ‘खाम’ बोल्छिन्, बा ‘खस’ । चमार न खाम राम्ररी बोल्छन् न त खस । न यताको न उताको भएपछि न उनको ‘खस’ शुद्ध हुन्छ न ‘खाम’ । चमार बोली ‘ट र त, ड र द, ठ र थ’ भेद खुलाउन नसक्दा सरकारी संरचनाका सबै अंगले गिज्याउँछन् । 
चमार पाइला यसै काफ्रिन्छन् । 
खत्निसमाथि थप्निस भने झैं चमार ९ कक्षामा हुुुँदा सदाका लागि आमा हिँड्छिन् भने १० कक्षामा पुग्दा बा । 
२०४७ मा एसएलसी पास गर्छन् । 
परम्परागत खेतीले बर्ष दिन धकेल्न पनि मुस्किल । आम्दानी स्रोत केही पनि छैन । पढ्दा र बिहे गर्दा थपिएका रिनले पखेटा लाएको हुन्छ । उमेरसँगै गरिबी पनि बढ्छ । 
एसएलसी सर्टिफिकेट बोकेर कहिले कहाँ पुग्छन् त कहिले कहाँ । तर, चमार जिन्दगी जिउने मौसम चमार‘मैत्री’ हुन्न । त्यसैले पाइला पाइलामा ठेस लाग्छ । राज्यको हर संयन्त्रमा न चमारका आमातिरका छन् न त मामातिरका । तिनीहरुसँग न चमार भाका मिल्छ न भाषा न त हेर्ने आँखा । 
चमार सहपाठी त स्कुल छाडी कहिले व्यापारीका भारी बोक्न घोराही पुग्छन् कतै बीचमै छाडेर कालापार । सयौं चमार सहपाठी त दुईचार कक्षादेखि कालापार, लाहुरिन्छन् । 
मङ्सिरमा बार्षिक परीक्षा हुन्छ । त्यसपछि स्कुले विद्यार्थी कालापारमा ‘छोटू’ हुन जान्छन् । त्यसपछि गद्दे(भारतीय नागरिक)को घरमा काम गर्छन् भने उमेर पुगेका ‘गोर्खे’ भएर दिनगन्ती काम । 
(हिमाचलमा काम गर्ने सानालाई ‘छोटू’ र ठूलालाई ‘गोर्खे’ भन्छन् ।)
कालापार पुगेपछि नांगा पाउ प्लाष्टिक जुत्ताले ढाक्छ भने गोडा कालापारे पाइजामाले । 
गद्दे टिभीमा सलमान, शाहरुख खान आउँछन् । कालापारे किशोर मन बलिउडे हावामा कावा खाँदै कालापारमै बतासिन्छ । 
कसले सुन्नु र भन्दिनु, ‘कालापारबाट फर्केर भए पनि पढ्नु पर्छ ।’ 
यसरी कालापारबाट फर्केर पढ्ने सिला भेटिएजसरी एक÷दुई भेटिन्छन् । 
एसएलसी गरेका चमार जङ्घा गाउँकै पहिलो हुन् । तर, त्यो पहिलो सर्टिफिकेट ‘सीप’ चले पो ! ज्यानले हार खान्छ । कालापारिनै पर्ने हुन्छ । पत्नीसहित कालापार जान ठीक्क पर्छन् । ठीक त्यसैबेला नाइके(इँटा बनाउन काठमाडौं लाने मान्छे) भेटिन्छन् । 
त्यस भेगबाट सूर्खेतमा बाटो खन्न जाने र काठमाडौंमा इँटा बनाउन जाने लहर चलेको बेला हो त्यो । लाहुर(बेलायत र भारत) र कालापार त छँदैछ । 
एसएलसी सर्टिफिकेट चमारले टिनको बाकसमा राख्छन् । त्यसपछि इँटा बोक्न राजधानी पस्छन् । पहिलो बर्ष इँटा बोक्छन् भने दोस्रो बर्ष बनाउँछन् ।
२०५३ मा गाउँमै बाल÷प्रौढ शिक्षा पढाउने माष्टरी काम हात लाग्छ । महिनाको आठ सय । 
संयोग, एक बर्षपछि गाउँमै स्कुल खुल्छ । निजी स्रोतबाट तलब खानेगरी मास्टर हुन्छन् ।
२०६३ मा बल्ल स्थायी हुन्छन् ।
औपचारिक पढाइ निरन्तरतामा बिराम लाग्छ । एसएलसी गरेको २१ बर्षपछि (बालकल्याण उच्च मावि) चमारले २०६८ मा १२ पास गर्छन् । 
जोखबहादुर विश्वकर्मा
चमार पढेको कोटगाउँ स्कुलछेउका हुन्, जोखबहादुर विश्वकर्मा । उनकै ब्याचका भने होइनन् । चार÷पाँच ब्याचपछिका हुन् अर्थात् मेरो सहपाठी । 
जोख कोटगाउँबाट सात कक्षा प्रथम भएर लिबाङ पुगेका हुन् भने म वागमाराबाट । त्यसताका आठ कक्षाको अर्धबार्षिक परीक्षाको रिजल्ट नहुँदासम्म ‘खसखस’ बढ्छ । कारण, जिल्लाका कुनाकुनाबाट आठ कक्षा पढ्न लिबाङ पुगेका विद्यार्थीमा पहिलो भएर गएका नै कम्तिमा आधा दर्जन हुन्छन् । तिनीहरुमा को प्रथम हुने हो ? खुल्दुली यसै बढ्छ । 
संयोग ! त्यसबेला अन्य स्कुलका प्रथम भन्दा वागमाराबाट पहिलो हुनेको ‘भाउ’ हुन्छ । कारण, वागमाराबाट पहिलो भएर लिबाङ पुगेका देउकुमार ओली सदरमुकाम स्कुलमा पनि प्रथम भएका हुन्छन् । 
कालापारिएर फर्केपछि देउकुमारले पढाइ निरन्तरता दिएका हुन् । अचेल रोल्पामै माष्टरी गर्ने देउकुमारको कारण मेरो भाउ यसै बढ्छ । 
फल्लेडारास्थित फट्टिहोटलको तल्लो तलामा डेरा । पूर्वतिरको सानो कोठामा पोखराडाँरा मुक्खेपुत्र विष्णुकुमार घर्तीमगर र म बस्छाँै भने पश्चिमतिरको अलि ठूलो कोठामा केवरीका बेगम चन्द र उनका भाइ धरम, तारक चन्द र उनका भाइ गोविन्द । 
जेठान साइनो लाग्ने विष्णुका जेठा दिलबहादुर नेपाली सेना । त्यसैले पनि होला, उनलाई लाहुरे सपनाले यसरी लखेट्छ कि, लखेट्दै कालापार पु¥याउँछ भने त्यसपछि अरब ।
छिमेकी तारा र गोविन्द नेत्रविक्रम चन्द विप्लवका काकापुत्र हुन् । संयोगले, घोराहीमा महेन्द्र क्याम्पस पढ्ने बेला गोविन्द मेरो रुममेट हुन्छन् भने काठमाडौं पढ्ने बेला उनका कान्छा भाइ सुवर्ण ।
ढाङ्सीखोलानेर काफल खान जाँदा बेगमको गोडा भाँचिन्छ । टेष्ट पास उनी घर र कालापार गर्दागर्दै कालापारमै बित्छन् । धरम घर कालापार गर्छन् । गोविन्द वागमारामा औषधी व्यवसाय गर्छन् भने तारक अरब÷घर गर्छन् । समाजशास्त्रमा स्नातकोत्तर सुवर्ण नेपालगञ्जतिर जागिरे छन् । 
नौ कक्षा पढ्ने बेला विष्णु कालापारिन्छन् । रुममेट हुन्छन्, बजेनीका श्यामकुमार बुढामगर । नाताले भदा । मौरीबसे माइला साहुका छोरा श्यामलाई लाहुरे सपनाले खुबै कुदाउँछ । श्याम, तारक र गोविन्द छाती नपाउन कहिले रोल्पा खुङ्री पुग्छन् त कहिले रुकुम महत । 
लाहुरे सपना जति पछ्याए पनि ती मेरा साथी कोही पनि लाहुरिएका छैनन् । 
फट्टिहोटलनेरको अर्को होटल बन्द हुन्छ । डेरा सर्छु, श्यामसँग । तल्लो तलामा बस्छन्, माडीचौरका चक्रबहादुर बुढामगर, समन बुढामगर र ह्वामाका एकजना । दुःखको कुरा, उनको नाउँ भुलिसकेछु । 
कपाल लर्काउन र पढ्न खुबै मेहनती चक्र अंग्रेजीमा माष्टर गरी राङ्सीमा माष्टरी गर्छन् । चक्र अघिल्ला ब्याचका हुन् ।
स्कुले समयमा हाम्रो डेरानेर विद्यार्थी हुल लाग्छ । हुन पनि हाम्रो डेरानेरको बाटो नै पश्चिम भेगबाट लिबाङ पस्ने मुख्य नाका हो । 
त्यसरी स्कुले हुलमा कल्साउँरा र पातला एकजना छन् । तिनै हुन्, जोख । कोटगाउँबाट सात कक्षा पहिलो भएर लिबाङ पुगेका उनको ‘बिश्वकर्मा’ थर थाहा पाए कि ठाउँको ठाउँ जोखबहादुरबाट ‘जोखे’ हुन्छन् । नाउँ त जोखबहादुर हो । 
जोखपिता फलाम र तामाको परम्परागत काम गर्छन् । तर, त्यो काम प्यारालाइसिसले समाएपछि छुट्छ । घरमुली नै थलिएपछि घरको अवस्था नाजुकिन्छ । 
यति हुँदाहुँदै पनि जोख दुई कक्षामा पहिलो हुन्छन् । त्यसपछि स्कुल पहिलो । 
पाँच कक्षामा पहिलो भएर पुरस्कार थापेपछि कालापारिने गाडीमा बे्रक लाग्छ । 
‘६ कक्षामा मासिक १८ रुपैयाँ फिस तिर्नपथ्र्यो । तर, माइला दाइसित १५ रुपैयाँमात्र थियो । तीन रुपैयाँ पुगेन । म रोएको देखेर आफन्तले तीन रुपैयाँ थपिदिए,’ कालापार र अरब गएका साथीहरुलाई सम्झेर जोख भावुकिन्छन्, ‘तीन रुपैयाँले अल्झाएको भए अहिले कहाँ हुन्थेँ हुला हँ ?’  
जेठा दाजु कालापार जान्छन् । कालापारिएकै बेला पंजाब पुलिसमा भर्ती । दाजुको पुलिस जागिरले जोख परिवारलाई भरथेग गर्छ ।  
जोखसँगै पढ्ने आठ कक्षाको ‘सेक्सन ए’मा दलसुर बिक, प्रसाद बिक र मनप्रसाद बिक पनि हुन्छन् । 
त्यसबेला गाउँबाट सहर पढ्न गएका विद्यार्थी पछिल्लो बेच्नमा बस्छन् भने बजारका अघिल्ला बेन्चमा । त्यसैमाथि दलित भए त सक्किगो’ नि ! 
‘मसहित दुई बिकले नेपाली विषयको परीक्षामा राम्रो गरेछौँ । त्यसपछि झक्कु सर(पहिलो संविधानसभा चुनावमा माधव नेपाललाई काठमाडौं –२ बाट हराउने झक्कुप्रसाद सुवेदी)ले अगाडिको बेन्चमा बस भन्नुभयो,’ स्कुले दिन जोख सम्झिन्छन् । 
आठ कक्षा परीक्षा दिएपछि जोख बेपत्ता हुन्छन् । 
कहाँ हराए ? थाहा भएन । 
लाग्छ, जोख पनि कालापारिए । किनकि, बार्षिक परीक्षापछि यसरी नै विद्यार्थी हराउँछन् । 
अढाई दसकपछि जोख सुनाउँछन्– आठ कक्षाको परीक्षा दिएर कालापार गएँ । पंजाबी पुलिसरत दाजुले पढ्न लगाए । पढेँ । र, म्याट्रिक पास गरी नेपाल फर्केँ । 
फर्कन त फर्कन्छन् तर गर्ने के ? जोखलाई त झन नेपालको राज्यसंयन्त्र र ‘सरकारी समाज’ चमारलाई भन्दा पनि प्रतिकुल छ । 
त्यसैले कालापार नै बिकल्प बन्छ । 
पढेर फर्केपछि फेरि कालापारिन्छन् । 
कालापार जान्छन् । फर्कन्छन् । जान्छन् । फर्कन्छन् । ‘सिसिफस’यात्रा चल्छ । 
संयोग ! एकपालि घर फर्केकोे बेला कसैले सुनाउँछन्, ‘कोटगाउँ स्कुलमा माष्टर गर्ने ठाउँ खाली छ ।’ 
महिनामा १५ सयमा पढाउने माष्टर हुन्छन् ।
रोल्पातिर शिक्षकलाई माष्टर भन्छन् । 
‘जनयुद्ध’को ‘आधार क्षेत्र’ मानिने रोल्पामा लडाइँ चर्कन थाल्छ । सरकारले पुलिस भर्ती खोल्छ । २०५४ मा लिबाङबाट नै जोख पुलिस बन्छन् । 
जागिरिदै उनले लिबाङस्थित जलजला क्याम्पसबाट स्नातक गर्छन् । 
कुलबहादुर डाँगी 
पहरा चिरेर उभिएका ठूलाठूला चिउरी बोटमुनिबाट ठूलो धारोको बाटो भएर पानी बाहिरिन्छ । त्यो धारोबाट पानी सायदै ‘निकोमन’ले सुसाउँदै ढाङ्सीखोला पुग्छ । पानी कि गाग्रीमा घरघर पुग्छ भने कि साबुन वा रिठासाथ मैलिएर रुँदै ढाङ्सीखोला । 
त्यै मूलपानी धारोमा फट्टिहोटलको तल्लो तलामा रहेको डेराबाट बिहान बेलुकी पानी लिन जान्छु । जाँदाखेरि प्लाष्टिकको रित्तो जर्किन बजाउँदै जान्छु । त्यसरी बजाउने धुन पैसरीको दमाहा हुन्छ । मुखले दौरी, मादल र झ्याली बजाउँछु । बेगम, धरम, गोविन्द र तारकले खुबै जिस्काउँछन् । पश्चिमबाट जानेमा सबैभन्दा फुच्चे म नै हुन्छु । 
यसरी पानी लिन जाँदा पाक्ने यामअनुसार कालो पहिरा वरपरका चिउरी, काफल र तिजुका बोट नै पानीपधेरा हुन्छन् ।   
मूलपानीको त्यो ठूलो धारोदेखि सय मिटर मास्तिर छ, कुलबहादुर डाँगीको घर । लिबाङ बजारबाट दुई किलोमिटर पश्चिम । कुलपिता हीराबहादुर जिल्ला अदालतका विचारी । 
पानी लिन जाँदा खाने चिउरी बोट कुलका पनि हुन् । 
कुल त चमारका सहपाठी हुन् । र, चमार पहिलो हुँदा उनी दोस्रो ।
एसएलसीपछि रोल्पाबाट पाँचमा छानिएर सूर्खेत पुग्छन् । पढ्छन्, अहेव ।
‘करार जागिरे’ बन्छन् । 
२०५१ मा आयोग लड्छन् । स्थायी भएर दुई बर्ष सल्यानमा काम गर्छन् । त्यसपछि रोल्पा । 
अचेल कुल रेउघास्थित जिल्ला अस्पतालमा अधिकृत छन् ।

मदनमणि आचार्य 
लिबाङ रोल्पाको सबैभन्दा ठूलो बजार । जिल्लाभरको राजनीति रस्साकस्सी थलो । 
चमार र कुलका सहपाठी मदनमणि आचार्यको घर त्यही लिबाङ बजारमा छ । 
मदनपिता गिरिराज जिल्ला हुलाकमा सुब्बा । 
मदन र कुल पाइन्ट लगाएर स्कुल जान्छन् । तिनका टाउकोमा ‘क्याप’ हुन्छ भने गोडामा जुत्ता । 
मदन इन्जीनियर पढ्छन् । 
इन्जीनियर मदन अचेल आइएनजिओमा काम गर्छन् । 
लिला आचार्य 
आफ्ना सहपाठी चमार, कुल र मदनसँग लिला आचार्यको भेट हुन्छ, नयाँ पत्रिकाको ‘कुइनेटो’मा । कहिले सहकार्य त कहिले प्रतिष्पर्धा गरेका सहपाठीसँग आफूलाई नपाएपछि लिला मन लिला हुन्छ । झोंक चल्छ । र, कुइनेटोवाललाई सोध्छिन्, ‘कसरी छुटेँ म ?’ 
लिला गुनासो सोहै्रआना मनासिब हो । जिज्ञासा जरुर जरुरी हो– चमार, कुल र मदन सहपाठी लिला कहाँ के गर्दैछिन् ? पुरुष प्रधान नेपाली समाजले उनलाई कहाँ लगेर राखेको छ ?
...
छोरी पढाउने चलन चलिसकेको हुन्न । तैपनि कलिला लिला गोडालाई स्कुल पुग्न धेरै उकालो उक्लन भने पर्दैन । आधा दर्जन दिदीबहिनीमा उनका जेठी र माहिलीले भने स्कुल जाने अवसर पाएका छैनन् । 
‘जजमानी’ गर्ने परिवारमा पढ्ने वातावरण पाउँछिन् । त्यसैले पनि कक्षा तीनमा त स्कुल पहिलो हुन्छिन् भने पाँच कक्षामा जिल्ला दोस्रो । 
लिला त पढाइ अलावा हाजिरी जबाफ, बक्तृत्वकला, निबन्धका साथै खेलकुदमा एथ्लेटिक्समा नि अब्बल । गाउने र नाच्ने कला पनि । 
स्कुलमा उनका दिदीबहिनी केटा र केटी भएर नाच्छन् । 
एक दिन भने नाच्न रोक लाग्छ । त्यो दिन हो, जुन दिन कक्षा ६ मा पुगेको बेला केटासँग नाच्न पर्ने भयो । 
आमाले मरेकाटे नाच्न दिए पो !
गाउन र नाच्न नपाएकोमा रुन्छिन् । बाझ्छिन् ।
९ कक्षामा पुग्दा लिलाको पोल्टामा जापान जाने अवसर पनि जुर्छ । तर, ‘तरुनी छोरीलाई कहाँ र कोसँग पठाउने’ भनेर जान पाउँदिनन् । 
१० बर्षको उमेरमै बिहे गरेकी प्युठानीपुत्री उनकी ‘परम्परागत आमा’ले ‘छोरी इज्जत’ राख्ने भन्दै ‘घरभित्रको काममा पोख्त हुनुपर्छ’ भन्छिन् । 
परिवारमा एकमात्र छोरा । उनका दाजु । ती एक्ला छोरालाई मनमौजी हुन्छ लेखपढ गर्न । मनको विषय र ठाउँमा पढ्न ।
उनका बा दधिराम जजमानी गर्छन् । यसरी जजमानी गर्ने उनी त लिबाङ गाउँ पंचायत उपप्रधान पनि हुन् । 
लिबाङी आचार्य कांग्रेस, माओवादी, एमाले र राप्रपामा बिभाजित छ । आचार्य खलककै लेखनाथ कांग्रेसबाट सांसद पनि हुन्छन् । 
‘बिभिन्न दलमा बिभाजित भए पनि भाइ–बगाल सल्लाह गरी भोट हाल्ने चलन छ,’ जुन दलबाट उठे पनि आचार्य खलकलाई भोट हाल्ने खलकीय परिपाटी लिला सुनाउँछिन् । 
१० कक्षामा ५५ जना विद्यार्थीमा १० जना केटी । टेष्ट परीक्षामा स्कुल दोस्रो भएकी उनी एसएलसी दोस्रो डिभिजनमा पास हुन्छिन् ।
एसएलसीपछि उनको बिहे हुन्छ, दाङ डुरुवाका राजेश धितालसँग । धिताल माष्टरी गर्छन् । लिलाले पतिलाई पछ्याउँदै माष्टरी गर्छिन् । २०५० को शिक्षक आयोगबाट स्थायी हुन्छिन् । माइती घरमा एसएलसीसम्म पढेकी उनको औपचारिक पढाइ त स्कुल, डेरा, बालबच्चालाई खुवाऊ, हुर्काऊ, स्कुल पठाऊ, तिनका लालनपालनमै सीमितिन्छ । 
बुटवलमा शिक्षक तालिम हुन्छ । उनले तालिम ‘टप’ गर्छिन् । 
परिचयक्रममा कोहीले स्नातक गरेको भन्छन् त कोहीले स्नातकोत्तर । उनको एसएलसी । 
नपढेकोमा पछुतो लाग्छ ।
त्यसबेला छोराछोरी हुर्किसकेका हुन्छन् । पतिको पढाइमै चित्त बुझाएकी उनले एसएलसी पास गरेको १४ बर्षपछि आइएड गर्छिन् । लगत्तै बीएड । 
विद्यार्थी हुँदा एमाले अखिलको रोल्पा कोषाध्यक्ष हुन् । एमाले महिलाको पनि रोल्पा जिल्ला नेता । शिक्षक भएपछि शिक्षक संगठनको दुई कार्यकाल जिल्ला उपाध्यक्ष हुन्छिन् भने एक कार्यकाल अध्यक्ष । अहिले केन्द्रीय सदस्य छिन् । 
‘महिला भनेर कहिल्यै पनि कार्यकारी पद दिन कन्जुस्याइ भयो । महिलालाई त मात्रै ‘सह’वाला दिने,’ आफूले सङालेका अनुभव सुनाउँछिन्, लिलाले ।
खलक एक, आर्थिक र सामाजिक हैसियत उही, पढाइ उस्तै हो, मदन र लिलाको । सब उस्तै । तर, मदन इन्जीनियर छन् भने लिला पिताराज आधारभूत प्रावि, रेउघा(लिबाङ)को शिक्षिका । 
...
चमार र जोख पढ्न सदरमुकाम लिबाङ पुग्नु नै सानतिनो ‘मल्लयुद्ध’ जितेसरह हो । र, सदरमुकाम स्कुलको पहिलो विद्यार्थी चमार धन्न प्रावि शिक्षक छन् भने जोख पुलिस । पढाइमा अब्बल लिला प्रावि शिक्षक । 
नेपालको सन्दर्भमा उपेक्षित पेशा हुन्, शिक्षक र पुलिस । पहिलो रोजाइका डाक्टर, इन्जीनियर ।
जोखका पाइलापाइलामा ‘काष्ट’ र ‘क्लास’ नामक अग्ला पर्खाल एकसाथ उभिन्छन् । जोख थचक्क बस्छन् । छक्कापन्जावाल भए त ‘क्लास’ पर्खाल तोड्न सक्छन् । तर, काष्ट त जन्मजात हो । समाज, शिक्षा, जीवनशैली र त्यसकै जगमा उभिएको राज्य व्यवस्था रहँदासम्म जोखको कुनै जोग हुन्न । ठीक त्यसरी नै चमारको पनि नो चान्स । 
ठीक त्यसरी नै लिलाको लागि भाषा मिल्छ । जात मिल्छ । तर, एकथोकले उनलाई थचक्क बसाल्छ । त्यो हो, महिला । 
नेपालको पुरुष राज्य संरचनामा महिला त मान्छे नै होइन, महिला हो । दोस्रो दर्जाको हो । जस्तो, दलित र आदिवासी हुन् । 
सदरमुकाम लिबाङकी पूर्व उपप्रधान र जजमानकी छोरी भनेर के गर्नु ? महिला भनेपछि लिलाको नम्बर ह्वाट्टै घट्छ ।
जोख, चमार र लिलालाई भन्दा कुललाई मौसम अलि ‘कुल’ छ । 
जस्तोः 
सरकारी भाका मिल्छ । सरकारी लवाइखुवाइ र सरकारी अनुहार ‘थोरबहुत’ मिल्छ । 
राज्य संरचना त कुललाई भन्दा पनि मदनलाई झन ‘अनुकुल’ हुन्छ । राज्यका कुनै न कुनै अंगमा कोही न कोही भेटिन्छन् । नभेटिए नि, ‘सरकारी’ धर्म र संस्कृति ‘¥याङको थ्याङ’ मिल्छ– आँखा मिल्छ । भाका मिल्छ । भाषा मिल्छ । 
तुलनात्मकरुपले जोख, चमार, कुल र लिलामध्ये सबभन्दा बढ्ता ‘संरचनागत लाभांश’ मदनलाई उपलब्ध छ । फलस्वरुप मदनलाई लेखपढ गर्नमात्र होइन, जागिरिन र आफ्नो स्पेश बनाउन चारजना जति पापड नपेले पनि पुग्छ । २५० बर्षदेखि अभ्यासरत नेपालको राजनीतिक, सांस्कृतिक र आर्थिक, सामाजिक संरचना मदन‘मैत्री’ छ । 
एक दिन कथाकार श्याम साह मधेसमा काष्ट, क्लास र जेण्डरमा आधारित राज्य संरचना असर सुनाउँछन्, ‘म त उछिट्टिएर आएको राजधानीसम्म ।’ 
सरकारी अधिकृत साहका तल्लो कक्षामा प्रथम हुने सहपाठीहरु सदा, पासवानहरुका नाउँ लिन्छन् । तीमध्ये धेरैले त सानैमा बिहे गर्छन् । परिवारको काँध थाम्न कति कालापारिन्छन् कति कहाँ । र, अन्तमा कतै बिलाउँछन् । 
लिला, चमार र जोख पनि उछिट्टिएर प्रावि शिक्षक र पुलिस भएका हुन् । बाँकी लिला, चमार र जोखहरु त कि गृहिणी छन् कि कालापार छन् कि अरब । 
एकछिन कल्पनुस् त, चमारसिङ घर्तीमगरको ठाउँमा चमारसिङ चमार भए, जोखबहादुर विश्वकर्माको ठाउँमा रामप्रित राम भए, लिला आचार्यको ठाउँमा कबुतरी मोची र भुलुनदेवी सदा भए, यतिबेला ती कहाँ हुँदा हुन् ? 
वर्गमा गरिब, जातमा दलित र लिंगमा महिला एकसाथ ‘खपुटा’ भएपछि सक्केन्त ? सक्किगो’ नि । 
दलितमा गरिबी पनि मिसिएर दलसुर बिकहरु कुन ‘ब्ल्याकहोल’मा बिलाएका छन् ? दलसुरहरु पनि ‘मान्छे’ हुन् भनेर ‘राज्य’ले नचिनिकनै ‘समतामूलक’ समाज बन्छ त ? ‘समृद्धि’ आउँछ त ? 
from nayapatrika

No comments:

Post a Comment