Saturday, October 26, 2019

बर्कोले बारेको नाटकघरमा ‘पर्सन’


कुइनेटो


२०७६ असोज ११ शनिबार ०९:१६:००

तीन वर्षयता टिचिङ अस्पतालरत अजित मिजार(१७) जुरुक्क उठेर उभिए । त्यसपछि उनी सरासर अनामनगरस्थित मण्डला नाटकघर पुगे । र, मन्नु भण्डारीकृत् ‘महाभोज’मा सामेल भए ।  उनलाई पर्खिरहेका बिसुको गलामा गला गाँसे, ‘शव यसरी न्याय खोज्दै हिँड्दासमेत सास फेरिरहेका यी मान्छेलाई यसरी सुत्न लाज लाग्दैन ?’ विश्वेश्वर उर्फ बिसु विश्वको ‘सबभन्दा ठूलो लोकतान्त्रिक देश’ भारतको सरोहा गाउँका दलित युवा थिए भने अजित लोकतान्त्रिक गणतन्त्र नेपालको काभ्रे, पाँँचखालका ।

बिसु गाउँसरोहा दलित बस्तीमा आगजनी भयो । आगजनीमा नौजना मारिए । गाउँकै चेतनशील दलित युवा बिसुले हत्या प्रमाण जुटाए । लाग्यो, हत्याराको १२ बज्यो । तर, ‘नरहे बाँस नबजे बाँसुरी’ स्मरण गराउँदै एक दिन उनै बिसु पो मारिए । हो, उनै बिसुको शवमाथि लोकतान्त्रिक भारतीय सत्ताले ‘महाभोज’ गरेको थियो । 
‘महाभोज’ भारतमा मञ्चन हुँदा इन्दिरा गान्धी दोस्रोपालि (१४ जनवरी १९८० देखि ३१ अक्टुबर १९८४) प्रधानमन्त्री कुर्सीमा थिइन् भने महाभोज उपन्यासका रूपमा बजार निक्लँदा गान्धीको पहिलो कार्यकाल (२४ जनवरी, १९६६ देखि २४ मार्च १९७७) सकिएको एक वर्ष लागेको थियो । 
तपाईंलाई लाग्ला, त्यसताका नेपालमा के भएको थियो ? त्यसवेला नेपालमा भएको थियो, जनमतसंग्रह ।  भारतीय सत्ता ठेकेदार ‘कुल मिलाएर’ भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस छन् । ती दुई दलले दलित, आदिवासी र किसानलाई ‘भोट बैंक’का रूपमा प्रयोग गर्छन् । जस्तो नेपालमा ‘जिम्दार कमरेड’हरूको पार्टी डबल नेकपा र ‘जिम्दार’ दल नेपाली कांग्रेसले गर्छन् । 
अजित काभ्रेकै स्थानीय स्कुलमा कक्षा १२ मा पढ्थे । आफ्नै सहपाठी १८ वर्षीया बाहुन युवतीसितको प्रेम २५ असार ०७३ मा बिहेमा बदले । दुलही पक्षले ‘बालविवाह’ भनेर काभ्रे पुलिसमा उजुरी हाले । २८ असारमा सम्बन्धविच्छेद भएलगत्तै अजित बेपत्ता पारिए । परिवारले पुलिस गुहारे । ३० असारमा धादिङ, परेवाटारमा एक युवा झुन्डिएर मरेको भेटिए । सनाखत भएन भन्दै पुलिसले गाड्यो । 
मिजार परिवारले शंका ग-यो । त्यसपछि परिवार परेवाटार पुग्यो । नभन्दै गाडिएका युवा अजित थिए । परिवारले पोस्टमार्टम गर्न काठमाडौंस्थित टिचिङ हस्पिटलमा अजितलाई पु-याए । र, तीन वर्षदेखि मिजारको शव अस्पतालमै छ । 
न बिसुले न्याय पाए न अजितले । के हेरेका होलान्, आफूलाई लोकतान्त्रिक भन्ने यी राज्यले ? आहुतिले भन्दै थिए, ‘पिँधका जनताकहाँ राज्य त ट्याक्स उठाउन र सजाय दिन जान्छ । सुकुमबासी र आमगरिबलाई दमन गर्छ । तर, दलितलाई राज्यले ‘अतिरिक्त’ दमन गर्छ ।’
लोकतन्त्र र समृद्धि ‘रटान’रत नेपाल सरकार र प्रमुख प्रतिपक्ष कोहीले पनि अहिलेसम्म जवाफ खोजेका छैनन्, ‘४० वर्षअघिको भारतीय परिवेश र आजको नेपाली पोलिटिक्स, पुलिस, प्रेस र प्रशासनको भूमिकासँग कसरी -याङको ठ्याङ मिल्यो ?’
०००
गाउँमा पनि स्कुल खुले । नाटक पनि लाग्न थाले । र, आफ्नो गाउँको स्कुलमा नाटक पान गर्ने सायदै सही, गाउँलेलाई साइत जुरे । स्कुले चौरको एक कुनामा तीनतिर बर्कोले बार्थे । चौरतिर फर्केको भागतिर ‘पर्दा’ हुन्थ्यो । यसरी गाउँबाट भेला पारिएका बर्को गोडाले स्कुल चौरछेउमा नाटकघर उभिन्थ्यो । 
तयारी गर्ने अंग्रेजी ‘रिहर्सल’ शब्द गाउँमा पुग्दा ‘रेल्सन’ भएको थियो । रेल्सन गर्दाखेरि नदेखून् भनेर झ्यालढोका बन्द गर्थे । बन्द ढोका र झ्यालका ‘चर’मा गाउँले महिला, केटाकेटी र युवायुवतीले आँखा र कान थाप्थे ।
नाटक लाउने स्कुलले नाटकको मिति तय गरेर छिमेकी स्कुललाई निम्तो पठाउँथ्यो । आमन्त्रणपत्रमा ‘एउटा गीत÷नाच र एउटा भलिबल टिम’ छुट्दैनथ्यो । र, एकथान ‘पर्सन’ पनि ल्याउन अनुरोध थपिएको हुन्थ्यो । 
कुन स्कुलमा कहिले नाटक लाग्दै छ ? खडेरीमासको भिरमा लागेको आगोजसरी समाचार फैलिन्थ्यो । तरुनी/तन्नेरीले नाटक–थलोमा भेट हुने भन्दै चिठी हानाहान गर्थे । नाटक निहुँमा गाउँले मिलन हुन्थ्यो । 
इष्टमित्र सँगसँगै बसेर नाटक हेर्थे । सुख–दुःख साट्थे । कति युवायुवतीबीच प्रेम अंकुराउँथ्यो भने कति युवायुवतीले प्रेमलाई ‘भागी घरजम’मा परिणत गर्थे ।
चौरछेउतिर जुल्फी पाक्थे । गाउँ पुग्दा जेलेबी–जुल्फी भएको थियो । गाउँलेका लागि ती जुल्फी ‘खास’ हुुन्थे । जुल्फी नपाक्दो हो त आफ्ना ‘पिमा’हरूलाई ‘पोते तन्नेरी’हरूले के कोसेली दिन्थे होला ?
पाहुना स्कुलका शिक्षक र विद्यार्थीलाई रोटी खुवाउँथे । एक विद्यार्थीको कोटामा कम्तीमा पाँचवटा रोटी तोकिएको हुन्थ्यो । र, विद्यार्थीले ल्याएका रोटी डोकोमा हुन्थे । रोटीसँग खाने दाल भने नाटक–थलोछेउमा नै पाक्थ्यो । 
नाटकघर वरपर र तलमाथि भाङ र टर्चका झलाकझिलिक बढ्थ्यो । लगत्तै नाटकघरमा मइन्टोल बल्थ्यो । माइक ‘पापा पोपो पापा पोपो’ गर्न थाल्थ्यो ।
बलेको मइन्टोलवरपर गाउँका भुराभुरी झुम्मिन्थे । 
कुकुरको पुच्छर बांगो देखे नि हाँस्नेयामका किशोरकिशोरी मइन्टोलको उज्यालोबाट छलिँदै वरपर गर्थे । सिर्र सिटी बजेपछि पर्दा–तानकले पर्दा तान्थे । पर्दा खुलेपछि नाटक सुरु हुन्थ्यो, मइन्टोलको झललल्ल उज्यालोमा । चौरभरि छल्केका गाउँले ‘नाटक–पान’ गर्थे । कलाकार हाउभाउ गाउँले पाराकै हुन्थे । 
भिलेन अनुहार, लुगा र हाउभाउ गाउँले मुक्खेसँग मिल्थ्यो । अमरिस पुरी र डेनीसँग मिल्दैनथे । हिरो अनुहार, हाउभाउ र लुगा गाउँका तन्नेरीजस्ता हुन्थे । सलमान खानका जस्ता हुँदैनथे ।चिनेजानेका कलाकारका हाउभाउ र पोसाकले गाउँलेलाई ‘आफ्नै’जस्तो बोध गराउँथे । 
कलाकार हाउभाउ, पोसाक र तिनका गतिविधिलाई प्रभाव पार्ने ‘प्रकाश’को नाउँमा सिर्फ एउटा मइन्टोल हुन्थ्यो । त्यही मइन्टोलले पनि कहिलेकाहीँ नखरा पाथ्र्यो । त्यसपछि लालटिनले काम चलाउँथे । 
कहिले नाटकघरमा नाटक झर्दाझर्दै आकासे झरी झथ्र्यो । पानी परेपछि नाटक ठहरै पथ्र्यो । प्रायः पर्दा थोत्रा हुन्थे । पर्दा तानकले होसियारीका साथ बन्द गर्थे । जतनसाथ खोल्थे । कहिलेकाहीँ पर्दा बन्द गर्ने सिटी लागिसके पनि तान्दातान्दै पर्दा अड्कन्थ्यो । कहिले नाटक संवाद बोलिसक्दा पनि पर्दा मरेकाटे खुल्दैनथ्यो ।
त्यसैले, माइकमा वेला–वेलामा दोहोरिरहन्थ्यो, ‘पराविधिक कम्जुरी भयो । छेमापार्थी छम् ।’
बलिउडे फिल्ममा मसला मिसाएजसरी गीत र नाचका बीचमा ‘नाटक’ मिसिन्थे । ती नाटक नाउँका जिनिस नाटक नै थिए कि थिएनन् ? तिनमा नाटक जिनिस भरिपूर्ण थिए कि थिएनन् ? 
पर्दा जस्तो भए पनि पर्दा–तानक भने छोइनसक्नुका हुन्थे । त्यो काम पाउनु नाटकमूली हुनुजत्तिको थियो । त्यसैले पर्दा–तानक बन्न हानथाप हुन्थ्यो । मइन्टोलको झललल्लमा तिनले गच्छेअनुसारको लुगामा ठाँट्टिएर घरी यता लमक–लमक गर्थे त घरी उता । 
स्कुलछेउको नाटकघरमा लाग्ने नाटक स्कुले वार्षिकोत्सवका सांस्कृतिक कार्यक्रम थिए । सांस्कृतिक कार्यक्रमलाई गाउँमा ‘नाटक’ भन्थे । नाटकमा नाच हुन्थे । गीत हुन्थे । बलिउडे फिल्ममा मसला मिसाएजसरी गीत र नाचका बीचमा ‘नाटक’ मिसिन्थे । ती नाटक नाउँका जिनिस नाटक नै थिए कि थिएनन् ? तिनमा नाटक–जिनिस भरिपूर्ण थिए कि थिएनन् ? सब तपसिलका विषय थिए । 
गाउँमा नाटकलाई नाउँ दिइएको थियो, ‘पर्सन’ । सायद प्रहसन गाउँमा पुग्दा पर्सन भयो ।‘छोरी स्कुल पढाउने’, ‘धामी÷झाँक्रीजस्ता अन्धविश्वास नमान्ने’, ‘गाउँका शोषकले तमसुकमा जिरो थपेका’पर्सनका विषय हुन्थे । कति पर्सनमा स्कुले मास्टर नै कलाकार हुन्थे भने कति विद्यार्थी त कति गाउँले । गाउँमा नाटक रातमा लाग्थे ।
०००
नाटक सकिएको भोलिपल्ट बिहान गाउँले बर्को गारोले उभिएको नाटकघर फन्को लाउँदै कुकुरले स्वाँक्क–स्वाँक्क सँुघ्थे । पछिल्तिरको एउटा गोडा उचाल्थे । त्यसवेला नाटक देखाउने विद्यार्थी, मास्टर र गाउँले कलाकार आँखा मिचिरहेका हुन्थे । मेला भर्ने गाउँले हाइ काढिरहेका हुन्थे । र, नाटक हेरेर बस्तुभाउ सम्हाल्न हिँडेका गाउँले घरको दैलोमा पाइला राख्दै हुन्थे । 
बिहानपख ‘अलिकति जीउ बिउँताउने’ होला कि भनेर बुढीऔँला, चोरऔँला र साइलीऔँलाका कटौरो बनाउँदै तीनपाने घुर्लुक्क पारेजसरी नाटक ‘ह्याङ’ हटाउन गाउँलेले अर्को वर्ष कुर्थे । त्यसैले, नाटक सम्झनालाई फारु गरेर वर्षदिन धान्थे । 
मेलापात र पानी लिन जाँदा, अर्मपर्म गर्दा चल्ने कुराकानीमा स्कुलको चौरमा हेरेको पर्सनका प्रसंग निकाल्थे । कहिले पर्सनका पात्रबारे कुरा गर्थे त कहिले पर्सनका विषयवस्तु । यो थियो, गाउँमा बहुदल पुग्नुअघिको स्कुले ‘पर्सन’का कुरा ।
०००
समयले कोल्टे फे-यो । बहुदलपछि गाउँमा नाटक पनि लिएर राजनीतिक दल पुगे । दलका सांस्कृतिक विभागका काम नै गीत, नाच र नाटक बनाउने थियो । तिनका नाटकले दलका विचार भन्थे । चुनाव आएका वेला आफ्नो दलको चुनाव चिह्नमा भोट हाल्नसमेत आग्रह गर्थे ।
०५२ देखि माओवादीले ‘जनयुद्ध’ थाल्यो । गाउँ ‘माओवादी नाटकमय’ भए । राजनीतिक सिद्धान्त जनतालाई पिलाउन माओवादीले नाटक देखायो । शोषकले जनता सताएकोविरुद्ध बन्दुक बोकेको नाटकले देखाउँथे । माओवादी सिद्धान्त बुझेरभन्दा पनि नाटक र गीत देखेर धेरै गाउँले युवायुवतीले ‘जनयुद्ध’को बन्दुक बोके ।
०००
राजनीतिक दल पछिपछि विकासे संस्था पनि नाटक लिएर गाउँ पसे । पूर्वएमाले र कांग्रेस नेता, नेता परिवार र तिनका नातेदारले चलाउने विकासे संस्थाले गाउँमा नाटक देखाए । ती नाटक धेरैजसो सडक नाटक थिए । यसैगरी, गाउँमा सांस्कृतिक संस्था पनि खुले । क्लब पनि खुले । तिनले आफ्ना वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ नाटक पनि देखाए । स्कुलेनाटकसहित राजनीतिक दल, विकासे संस्था, स्थानीय सांस्कृतिक संस्था र स्थानीय क्लबका नाटक गाउँमा पुगे ।
०००
‘लोकतन्त्र’को पहिलो प्रयोग ‘थिएटर’मा भयो, भन्छन् । ग्रिकमा त नाटक हेर्न कैदी पनि मुक्त हुन्थे । राजारानी, पुलिस, चोर सबैले एकसाथ बसेर ‘ग्रिक थिएटर’मा नाटक हेर्थे । ती नाटक ‘ट्र्याजेडी’ थिए । राज्य र नागरिकको सम्बन्ध तिनै ‘ट्र्याजेडी’मार्फत अनुभूत गराउँथे ।
समय फेरियो । नाटक दरबार पसे । नेपाली नाटक त राजा र राणा दरबारमै सीमित भए । जनसंस्कृति र दरबारिया संस्कृतिबीचको गहिरो खाडलमा नेपाली नाटक भासियो । सायद यसैले होला, बर्तोल्त बे्रख्तले जनता ‘क्रान्तिकारी बनाउन’लाई ‘थिएटर परिवर्तनको साधन बन्न सक्छ’ भन्दै ‘एपिक थिएटर’ चलाए । 
‘कर्णाली दक्खिन बग्दो छ’ र ‘महाभोज’जस्ता जनसाधारण सरोकारधारी नाटक कहिले गाउँ–गाउँ पुग्लान् ? बिसु र अजित मिजारको शव जुरुक्क उठेर ‘इन्क्लाब जिन्दावाद’ नारा लाउँदै सरकारी कानका जाली नफुटाल्दासम्म कोही नउठ्ने नै हुन् त ? भन्नुस् त, आफ्नै गाउँको नाटकघरमा गाउँलेले आफ्ना सरोकारका नाटक हेर्न कहिले पाउलान् ?
from nayapatrika

No comments:

Post a Comment