Saturday, November 9, 2019

नयाँ घर पढेपछि सपना देख्न सिकें



नयाँ घर पढेपछि सपना देख्न सिकें
 नवीन विभासको मूल परिचय कथाकार हो । यसबाहेक अखबारी लेखन र पत्रकारिता उनको दोस्रो परिचय हो । ‘रोल्पा सुइना’ उनको पछिल्लो कथासंग्रह हो । अंग्रेजी साहित्य र पत्रकारितामा स्नात्तकोत्तर गरेका विभास समाजविज्ञान र द्वन्द्वको अध्ययनमा दख्खल राख्छन् । यसबाहेक साहित्य पढ्नु पनि उनको रुचिको विषय हो । उनै कथाकार विभासले आफूलाई जीवनका विभिन्न चरणमा मन परेका पाँच आख्यान/गैराख्यानबारे शिलापत्रसँग कुरा गरेका छन् ।
१. नयाँ घर
हाम्रो घर (रोल्पा, राङ्कोट, जैपा) माओवादी ‘सेल्टर’ थियो ।
पाहाबाङे भुरे माष्टर, नरजीत दमाई, थमे सुनार, हर्कबहादुर रोका मगर (कमरेड आकर्षण, ब्रिगेड कमाण्डर), पोष्टबहादुर बुढामगर (रणदीप, ब्रिगेड सहकमाण्डर), ओयाल झाँक्री (कमरेड लखन्ते, जो जनयुद्धकालमा मारिए) र पाछाबाङे भेना (नन्दबहादुर बुढामगर, कमरेड बेहोसी, अहिले विप्लव माओवादी नेता), भागमल पुन (कमरेड रक्तिम) का रासोबासो नै थियो । पाहुनाजसरी कहिलेकाहीँ पुग्थे रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन, जयपुरी घर्तीमगर, सन्तोष बुढामगरहरू पनि ।

जेईलाई मन पर्ने दुई जना थिए, पाछाबाङे भेना र ओयाल झाँक्री । कारण थियो, बुइँकलमा लुकेर बस्दा ती कमरेडले कुचो, दाम्लो र बर्रे बाट्थे । डोको बुन्थे ।
एक दिनको कुरा हो । बुइँकलमा खाना पु-याउन गएको बेला कमरेड बेहोसीले भने, ‘साला बड्डा ! यो किताब पढ्नुस् ।’
उनले हातमा थमाएको यामान किताब थियो, आहुतीको नयाँ घर ।
त्यसअघि हातमा कि रुसी किताब परेका थिए कि चिनियाँ कि भियतनामी । खस नेपाली भाषामा अनुदित ती किताबले देखाउने नाउँ, ठाउँ र परिवेश सात कोषपारिका ‘अनचिनार’ थिए ।
क्रान्ति, आन्दोलनकै विषयमा रैथाने किताब पहिलोपालि हात परेको थियो ।
पढेँ । घत प-यो । थप एक दुई जनालाई पनि पढ्न भनें ।
मन पर्नुको पहिलो कारण थियो, हात्तीवन इँटाभट्टामा काम गर्दा काठमाडौंलाई जान्ने हुटहुटी जागेको थियो । दोस्रो, स्कुले विद्यार्थी नेता भइटोपलेकाले, नयाँ घरका घटना, पात्र, परिवेश त नेताले ‘कान फुकेका’आफ्नैजस्ता लागे ।

तेस्रो, कम्युनिष्ट आन्दोलनकर्मी सिलसिला महर्जन, कमरेड क्षितिज, सूर्यजस्ता पात्र नाउँ र परिवेश जाने/सुने/देखेजस्ता लागे । चौथो, नेताले सुनाएका सपना किताबमा भेटें ।
पढेपछि नयाँ घरले सपना देखायो । सपना मात्र देखाएन, लेख्न नि लगायो । एसएलसी परीक्षा दिएपछि उपन्यास भनेर ठूलो नोटबुक भरें । पछि थाहा पाएँ, कुरा नयाँ घरका सिलसिला, क्षितिज, सूर्यका थिए । पात्रका नाउँ र ठाउँ मात्र रोल्पा, रुकुमका ।
जान्नेसुन्ने माओवादीले भन्छन्, ‘जनयुद्धकालमा धेरैले पढेका किताबमध्ये एक हो नयाँ घर ।’
नेपाली वाम आन्दोलनबारे पढेको पहिलो रैथाने राजनीतिक उपन्यास थियो नयाँ घर । शायद, किशोरवयमै पढेकाले हो कि, आहुतिसँग आक्कलझुक्कल भेट हुँदा नयाँ घर देख्छु ।
२. निसाः द लाइफ एण्ड वर्ड्स अफ ब कुङ वुमन
दोहो-याएर पढेका कोर्सबाहिरका किताबमध्ये एक हो, मेर्जोरी शोस्टककृत निसाः द लाइफ एण्ड वर्ड्स अफ ब कुङ वुमन ।
किताबले दक्षिण अफ्रिकी कलहारी मरुभूमिवासी कुङ आदिवासी महिलाको कथा भन्छ ।
आदिवासी भाषा संस्कृतिभन्दा बाह्र हात परकी गोरी महिलाले लेख्दा कति कुरा त छुटेका होलान् । तैपनि किताबले तान्दैतान्दै लगेर घरीघरी भावुक बनाउँछ । अफ्रिकी आदिवासी भूमिमा फनफनी घुमाउँछ ।
मानवशास्त्री शोष्टकले आफ्नो अध्ययनको सिलसिलामा गरेको फिल्ड वर्कलाई आधार बनाएर यो पुस्तक लेखेकी थिइन् ।
झण्डै नेपालका राउटेजस्तो समुदायकी निसाले आफू बच्चा हुँदा, किशोरी हुँदा, तरुनी हुँदा, प्रेममा पर्दा, बिहे गर्दा, आमा बन्दा, नजिककालाई छोड्नुपर्दा र बूढी हुँदासम्मको कथा कहँदै कुङ महिला सिलुक सुनाएकी छन् ।
३. आकाशको फल
सानो छँदा एकपालि मधेश पुगेथें । त्यो थियो, हाम्रो गाउँको स्कुलमा (रोल्पा राङ्कोट) पढाउने गुरु हरेन्द्रप्रसाद चौधरीको गाउँ, बारा, नरही, औनिया । अनौठो त के थियो भने, गुरुको नाउँसँग जोडिने प्रसाद भेटेजति सबैका थिए । यहाँसम्म कि एक जना लालबहादुर थिए । उनको पूरा नाउँ थियो लालबहादुर प्रसाद चौधरी ।
बाराली थारू र यादवगाउँ नै कलिलो क्यान्भासमा कोरिएको मधेश जीवनचित्र थियो ।
कसरी हो कुन्नि ? त्यही मधेश भेटले लागेथ्यो मधेश तिर्खा ।
एसएलसी सकेर आईए पढ्न रोल्पाबाट दाङको घोराही झरें । त्यसै बेला कसैले हात पारे, मनु ब्राजाकीकृत आकाशको फल । टीकाराम उदासी, उदय जीएम, गंगा बीसी, केएल पीडितमध्ये कोही थिए शायद ।
आकाशको फलभित्रका कथाले तान्दैतान्दै मधेश पु-यायो । सावँला रङे ससाना घटनाक्रम देखाउँदै मधेशका सामाजिक जीवनका जटिलता, सम्बन्ध र घामपानी भने । पढेपछि लाग्यो, कुर्कुरे बैंसमा पनि पुगें, बच्पनमा पुगेको मधेश । मधेश तिर्खा मेटेजस्तो लाग्यो । कुल मिलाएर आकाशको फल मीठो लाग्यो ।
मधेश फ्लेवरको अब्बा आगमनपछि, श्याम साहको आँखाबाट नियाल्दैछु, आकाशको फलहरूलाई पनि ।
४. एउटा चित्रमय सुरुवात
पारिजातीय संस्मरण संग्रह एउटा चित्रमय सुरुवातले खुब तान्यो । र, पढेर पहिलो पालि बोध गरें, वास्ता नगरेका कति धेरै मसिना चिज पनि महसुर कलमले उन्दोरहेछ ।
सहज र सरल ढंगले जीवनका जटिल याम र संघर्षमय समय चित्रण छ संस्मरणमा । जुन दर्शन, समाज र संस्कृति रङले रंगिएका छन् ।
५. शिरीषको फूल
नेर पढें, पारिजातकृत शिरीषको फूल । यो नै यसरी कनीकुथी पढेको कोर्सबाहिरको पहिलो किताब थियो । अग्रज र साथीभाइहरूलाई भनें, ‘मलाई त शिरीषको फूलले घोच्यो । केही नि बुझिनँ ।’
कविता कर्ममा लागेको केही समयपछि फेरि पढें । त्यसपालि अलिअलि फूलले चुमे ।
किताबारे साथीभाइले नि सोध्न थाले । एक वर्षको अन्तरालमा, साथीभाइलाई भनिटोपल्नलाई भए पनि तेस्रोपालि पढें ।
शब्दशब्द र वाक्यवाक्यमा अल्झिएँ । जादुगरी शब्द रङले फुलेको शिरीषको फूलमा अल्झिएको मन अझै घर फर्केको छैन ।
(कुराकानीमा आधारित)
from shilapatraप्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६, ०८:२३:००

No comments:

Post a Comment