Tuesday, February 25, 2020

हिउँफूल कि हुम्ला ?

कुइनेटो

नवीन विभास

२०७६ माघ ११ शनिबार ०८:२४:००
हेर्दाहेर्दै हुम्ला हिउँफूल भयो ।
हेर्दाहेर्दै हिउँफूल हुम्ला । 
हिउँफूल कि हुम्ला ? हुम्ला कि हिउँफूल ? अलमलबीच क्यामेरा बोकी हुम्ला सदरमुकाम सिमकोटबजार निक्लिएँ । त्यसवेला आकाशबाट हिउँफूल र साना घरबाट खाद्य चामल र नुन नपाएको हुम्ली झोंक झरझर झर्दै थे, ‘यी स्हिडिया औल्याल । पुलिस र सेना हाकिम औल्याल । खाद्या हाकिम औल्याल । काङ्रेस, एमाले, माउभादी औल्याल । तिनका नेता औल्याल । कोइ नाइ आफ्ना भन्या ।’ 


कर्णाली तिर्सना जगाउने ज्यान भीमार्जुन आचार्यकृत कर्णाली कथा थियो । गिटारसित गला गाँस्दै आचार्य उनै जुगमा मुगु पुगे रे । बोर्डिङ स्कुल प्रिन्सिपल भए रे । ‘पिरम’मा पनि परे रे । कर्णाली किनारमा उपन्यास लेखे रे । आदिआदि सुनाउँदै अर्जुनमिलन नाउँमा गायनगिरी गर्ने भीमार्जुन भन्थे, ‘कर्णाली नदेखी नेपाल देखिँदैन ।’
नेपाल देख्ने तिर्खा मेट्न भने धेरै कुर्नुपर्‍यो । अर्थात् भोटेलामा स्वायत्त राज्य घोषणा सभालाई सम्बोधन गर्ने विप्लव साइत पारेर ‘नाफाको जिन्दगी’वाल दीपेन्द्र रोकायाले चाँजोपाँजो मिलाए । जहाज गोडाले (२०६६ मंसिर मसान्त) हुम्ला टेक्दा हातको छेको लाएर हेरिरहेका हुम्ली अनुहार धुलोले अनचिनार भए । जुन अनुहार सरकारी सौतेलो कुकर्ममा परी ‘बैँसमै चाउरिएका’ थिए ।
हुम्ला टेक्नेबित्तिकै सपना देख्न अझै नअघाएका तिर्खालु हुम्ली आँखाले हँसिया देखाएः नुन ल्यायौ ? चामल ल्यायौ ? सपना ल्यायौ ? रहर फुल्ने गमला ल्यायौ ? नफुल्दै झरेको मायालु याद ल्यायौ ? गणतन्त्रवाल ‘लोकतन्त्र’ ल्यायौ ?
सिमकोट बजारढिकबाट केही चिज खसे सीधै ‘हुम्ला कर्णाली’ पुग्थ्यो । त्यही ढिकमा बसेको ब्यारेकभित्र ठिंग उभिएको मन्दिरले भन्थ्यो, ‘नाउँबाट शाही हटाएर के नाप्यौ ? विष्णु अवतार नागार्जुन सर्दैमा हुन्छ ? अदालत हेर । निजामती कर्मचारी हेर । शाहीविनाका है कोही, माइकालाल ?’ सिमकोटबाट दक्षिण हेर्दा हिमाल पो ठिंग उभिएका थिए । ‘दक्षिणमा हिमाल’ देखेर ‘औल्याल आँखा’ यसै छक्क परे । ती आँखा झन् तीनछक्क परे जब तब्लिङला, सेल्मोकाङ र बोङरिखारले बादल–बर्को ओढे । र, लगत्तै हुम्ला हिउँफूल भयो भने हिउँफूल हुम्ला । 
हिउँमा विप्लव नाचे छमछमी 
भोटे र ब्यासी आदिवासी सांस्कृतिक झाँकी तालमा बिहानपख हिउँ पनि हुम्ला जिल्ला विकास समिति प्रांगणमा ओर्लियो । भोटे भेषमा विप्लव नेत्रविक्रम चन्द निम्बा बाह्र थपाले आदिवासी ‘क्हार’ नाचे । त्यसपछि ब्यासी ‘फुर्कु’ । विप्लव तालमा ताल मिलाए, हुम्ली सभासद्द्वय कर्णजित बुढाथोकी र छिमी लामाले । जाजरकोटी सभासद्द्वय कालीबहादुर मल्ल र मायाप्रसाद शर्माले । जनमुक्ति सेना छैटौँ डिभिजन कमान्डर महेन्द्रबहादुर शाही (अहिले कर्णाली प्रदेश मुख्यमन्त्री)ले । मुगाली गुरु लामा, गोर्खाली कपिल लामा, निमा लामा, नोर्बु घले, विश्व त नाच्ने नै भए । ‘कमरेड’हरू आदिवासी नाच छमछम नाचेपछि गणेश हिमाल पश्चिम हिमाली भेग ‘भोटेलामा स्वायत्त राज्य’ घोषणा भयो । मुख्यमन्त्री भए, छिरिङ डम्डुल लामा । 

माओवादी काठमाडौं पसेपछि, सायद, पहिलोपालि ठूला काँटी नेता हुम्ला पुगेका थिए ।  नेतालाई हिउँको बाउले पनि हल्लाउनेवाला थिएन । कारण थियो, तागतदार लुगामाथि भोटे लुगा लगाएर मञ्चमा गजक्क बसेका थिए । बाह्र त कार्यकर्ता र सर्वसाधारणलाई पो बज्यो । कांग्रेस, एमाले नेताजस्तै मञ्चासीन माओवादी नेता मालिकजस्ता देखिन्थे भने कार्यकर्ता र सर्वसाधारण रैती ।
माओवादी कार्यकर्ता, सर्वसाधारण लगलग काँप्दै विप्लव भाषण र हिउँफूल एकसाथ थापिरहेका थिए । तीमध्ये पिठ्युँमा बच्चा बोकेकी करिब पाँच फिट अग्ली र पातली युवती पनि थिइन् । आङमा पातलो रातो सुरुवाल लगाएकी उनले बच्चा र आफूले एउटा बर्को ओढेकी थिइन् । पिठ्युँमा बच्चा घरी रुन्थ्यो घरी दूध खान ओर्लन खोज्थ्यो । छेवैमा उभिएथे, उनी जति अग्ला, दुब्ला र सावँला अनुहारे युवा । तिनले पातलो रातोरङे ट्राकसुट र गलामा खैरो गलबन्दी भिरेर काँप्दै भाषण सुन्दै थिए । 
चिनजान भयोः नम्रता शाही । उमेर २० । ११ पास । सदरमुकाम सिमकोटबाट एक दिन पैदल दूरीमा पर्ने पिउस माइत । छेवैमा उभिएर भाषण सुन्ने ट्राकसुटे युवा नम्रतापति मदन परियार थिए । नम्रतादम्पती स्कुल जाने उमेरमै माओवादी भएछन् । कहिले सेना र कहिले कलाकार भएर काम गरेछन् । कुर्कुरे याममा माया लाएछन् । माओवादीले जनवादी बिहे गरिदिएछ । तर, शाही परिवारले दमाईपुत्र मदनलाई ज्वाइँ स्विकारेनछ । के गर्ने त ? नम्रतादम्पती सदरमुकाम सिमकोटमै डेरा गरी बसेको रहेछ । 
हाम्रो फोटो नखिच
हिउँफूलले भोलिपल्ट पनि हुम्ला छाडेन । उही हिउँफूल सिउरेर क्यामेरासहित एउटा एकतले घरनेर पुगेँ । घरछेवै आँगनमा गाडेको चोँटो र आलु ती युवतीले कुटोले खनेर निकाल्दै थिइन् । गुन्यू फुर्काे मास्तिर दोबारेको भागमा चोँटो राखिन् । त्यसपछि आलु । खस्ला कि भनी सतर्क हुँदै कुप्रो परी लिस्नो चढिन् ।त्यसवेलासम्म उनले ओढेको बर्कीबाट कति हिउँ भिरबाट घाँसको मुठा झरेजसरी झरेथ्यो भने कतिचाहिँ बर्कीमै अल्झिएथ्यो । 
घरभन्दा अलि पर गाउँबाट काठ लिएर सिमकोट पुगेका दुईवटा झोपा उभिएका थिए । नजिकै चारवटा गधा । लिस्नो उक्लेर फर्की हेर्दा उनका आँखा बिजुली तारमा अल्झिए । तार घरको गारोसित उभिए पनि उनको घरभित्र पसेको थिएन । त्यसवेला हिउँसँग छिल्लिदै एउटा काग घरी बिजुली तारमा पिङ खेल्थ्यो त घरी बिजुली खम्बामा । 
माटो पिटेर छाएको एकतले घरमा सिङ्गै एउटा कोठा थियो । कुनामा बुढीआमा फाटेको पुरानो बर्कोले हिउँको प्रतिकार गरिरहेकी थिइन् । खाटमा फिँजाइन्– आठवटा चोँटो र मध्यम आकारका १५–२० वटा आलु । दाउराको नाउँमा काठका चपेरा थिए । चुलोमा तिनै चपेरा बालिन् । आगोको लाप्कासित धुवाँ पनि उड्न थाल्यो । विभिन्न आकारका केटाकेटीले चुलो घेरे । चुलोदेखि एक मिटरजति माथि सानो झ्याल थियो । त्यै झ्यालबाट हिउँले दुब्लाएको उज्यालोले भित्र नियालिरहेको थियो । 
युवती फरिया र चोलोमा दुईभन्दा बढी टालो खापिएका थिए । ती टाला केही काला थिए त केही राता । र, सबैभन्दा बाक्लो टालो थियो, दायाँ हातको कुहिनोमा । 
दिनभर खाद्य कार्यालयमा लाइन लाग्नेमध्ये ती युवती पनि थिइन् । रक्सी खाने होटेलवालासहित सांसद्, सिडिओ, एलडिओ, कार्यालय हाकिम, दल नेता, हुनेखानेका सिफारिसवालालाई चामल दिएपछि गोदाम घर बन्द भएथ्यो । खार्पू, श्रीनगर, दार्म, मेलछाम, राहदेउबाट चार–पाँच दिन पैदल हिँडेर सिमकोट पुगेका सर्वसाधारण दिनभर लाइन लागेर रित्तै फर्कंदा धारेहात लाएथे, ‘खाली लइनै । खाद्या चावल लिन्या लइनै । नुन लिन्या लइनै । ...हामी झनाझुल्टालई नदिन्या । हेप्नेचेप्ने । पुलिस लाउन्या र हान्या । अलानो गन्र्या । ठूलालाई दिन्या । हामीकन नदिन्या ।’ 
सरकारी नियम थियो– सर्वसाधारणले महिनामा ३० किलो चामल ‘किन्न’ पाउँछन् । चुलो घेरेका आधादर्जन बच्चाबच्चीले घरी हेर्थे युवती अनुहार त घरी रित्ता थैला त घरी चोँटो र आलु । चुलोमा आगो बलेको केही समयपछि हिउँले झारेको साक्कसुक्क मत्थर भयो । त्यसपछि ती युवतीले बच्चालाई दुध चुसाउँदै हुम्ली दलित दुःख बिसाइन्, ‘माउभादी फरक हुन्छ भन्या सोच्याका छियौँ । तर, यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो । ...यसपालि पाँचमा जाने हो । तर, गन । दलित र दाल्दलई उँभो लाग्न्या ठाउँ नाइ । फइल बनाइदिया । ...कोही हाम्मा भएनन् । हामी डुमका डुम रह्यौँ । ...हेर हाम्मा अनुहार । हेर न हाम्मा चुला । हाम्मा घर । लोकतन्तर र गनतन्तर भन्या के जात छियो ? जान्दौन । याँ यइथै छ । देखिग्यौ त तुमीले ।’
हुम्ला टेक्नेबित्तिकै सपना देख्न अझै नअघाएका तिर्खालु हुम्ली आँखाले हँसिया देखाएः नुन ल्यायौ ? चामल ल्यायौ ? सपना ल्यायौ ? रहर फुल्ने गमला ल्यायौ ? नफुल्दै झरेको मायालु याद ल्यायौ ? गणतन्त्रवाल ‘लोकतन्त्र’ ल्यायौ ?
युवतीको आक्रोश बाहिर झरिरहेको हिउँसँग घरभित्र झर्दा चुलो घेरेका भुराभुरी आँखा डेक्चीमा पाकिरहेको आलुमा अल्झेका थिए । पढालेखा दलितले दलित भएकैले जागिर नपाएको गुनासो पनि सुनाइन् । गरिबीमाथि ‘चर्को छुवाछुत’ पनि छ भनिन् ।  ‘स्हक्छौ भने हाम्मा दुःख स्हप्पै लग । तुमीले हाम्मा फोटो खिचिलिन्या । डलर खान्या । हामीकन हुन्या केई नाइ,’ खडेरी खेतजस्तो हातले क्यामेरा छेक्दै फोटो नखिच्न भनेपछि उनको गुनासोभोलुम अझ चर्को भयो, ‘लग्ने भए हाम्रा दुःख लग, हाम्रो फोटो नलग ।’ एउटी शाही महिला, सिमकोटे एकजना बुढा बा र दाउरा बोकेर फर्किरहेका एक हुल चेलीले पनि फोटो खिच्न मनाही गरेथे । 
तिनका आक्रोशले संकेत गथ्र्यो, ‘हुम्लामा सरकारी र गैरसरकारी चर्को ‘आतंक’ले चर्को ‘आक्रोश’ जन्माएको छ ।’ खेतीवाल ती संस्थाले हुम्लीलाई के सोधे होलान् ? कति फोटो खिचे होलान् ? तपाईंले सहजै अनुमान लाउन सक्नु हुन्छ । कतिपालि खिचेपछि हुम्ली सर्वसाधारण क्यामेराफोबिया भए ? कति धेरै फोटो खिचेपछि, कतिपालि के–के सोधेपछि हुम्ली अनुहार यसरी मिच्छिए ? 
प्रश्न अनुत्तरित थियो । आफ्नो त काम नै सुख–दुःख, सम्झना र सपनाका कुरा सोध्ने, फोटो खिच्ने र लेख्ने थियो । त्यसवेला रिपब्लिका अंग्रेजी दैनिकमा ‘राजनीतिक बिट’मा रिपोर्टिङ गर्थें । सिमकोट बजारका घरहरूमा झुन्डिएका साइनबोर्ड एकाधबाहेक जम्मैजसो कुनै न कुनै कर्णाली कहर पसलका थिए । कति पसल सरकारी त कति गैरसरकारी थिए । हुम्ली फोटो खिच्ने र सोध्ने ती संस्थाले त्यसपछि के गरे ? त्यो त भन्नै परेन ।
भोलिपल्ट पनि हिउँफूलमा हुम्ला फुल्यो । हिउँफूल सिउरेर लामो टाकुमा भेडा ऊन कातिरहेका पाका स्थानीय हुम्लीले पनि गुनासो गरे, ‘सिम’लाई ‘सिमी’ बनाइदिए । औल्यालले सिमकोटलाई सिमीकोट लेखिदिए ।’ ठाउँ मात्र होइन, ‘एक भाषा, एक संस्कृति’वाल सरकारी काठमाडौंले त छवानलाई छक्कबहादुर बनाएको थियो । २०४८ का सांसद् उनै छक्कबहादुर लामा त थिए, यसपालि स्वतन्त्रबाट सांसद चुनिने । 
हुम्ली जनजीवन र हिउँको मितेरीलाई लिएर छक्कले हुम्ली हिउँ किस्सा कहँदै थिए, ‘पुसको हिउँ शीला, अरू हिउँ बिला ।’ हिउँसँग फुल्दै दीपेन्द्र रोकायाले हुम्ला पुलिसथाना लगे । मलाई राखिएको ‘यहाँनेर’ भन्दै फोटो खिचे । कोठा र आँगन हेर्दै नोस्टाल्जिक भए । बाजुरा कोल्टी विमानस्थलमा २०५५ माघ २२ गते ‘विप्लव आउँदै छ’ भन्ने सुइँको पाएका पुलिसले विप्लव ठानी दीपेन्द्रलाई समाएथ्यो । संयोग ! १० वर्षपछि उनै विप्लवसित दीपेन्द्र गृहजिल्लाको पुलिसथाना पुगेथे ।

सिमकोटदेखि झन्डै एकघन्टा पैदल पूर्वोउत्तर बुराउसेस्थित सभासद् छिमी लामाको घर पुग्दा हिउँफूलमै भैलेरी भैलो खेल्दै थिए । तीनतले घर भित्रभित्र हुँदै भर्‍याङबाट ओर्लेर छिमीआमाले भैलेरीलाई चामल र तेल दिइन् । ल्होसारलाई स्वागत गर्दै भैलो खेलिरहेका १०/१५ उमेरका भोटे चेली त हिउँफूललाई टक्कर दिनेगरी फुलेका थिए । हिमाली आदिवासी भोटे उनै जुगमा त सम्पन्न थिए । ‘भोटे कुकुर, भोटे नुन र भोटे ताल्चा’ व्यापार चल्दासम्म तिनलाई कसले छुन सक्नु ! हुम्ली सांसद छक्क सुनाउँदै थिए, ‘जहाजले कर्णालीमा नुन बोक्न थालेपछि सिंगो हिमाली भेग भोको भयो ।’ अर्थात् भारतीय बजारले खर्लप्प खाएपछि हिमाली भेग पनि 
चक्रक्क सुक्यो । 
हिमाली भेगका भोटे कति बसाइँ सरे त कति आफ्नै थलोमा । छिमीमाताले भैलेरी बिदा गरेपछि माटेछानोमा उक्लियौँ । हिल्डुमाको शाही गाउँ, लेख र मझाका क्षेत्री बस्ती हेर्‍यौँ । नुनचिया पिएपछि छिमीकी दिदीले हुम्ली स्याउ दिइन् । सरकारी हिन्दू संस्कृतिको चर्को चेपाइमा रैथाने संस्कृति थियो । छिमीमाता चिन्तिदै थिइन्, ‘राम्राराम्रा हाम्रा चलन पनि हराए ।’ 

तेस्रो दिन दोमन–दोमन टिकट हातमा लिएर यात्रु लाम लाग्दा मलाई भने जहाज आए ‘रारा जाने योजना’ तुहिन्छ कि भन्ने चिन्ता चहराइरहेथ्यो ।  पाल्पाली सिडिओले पखेटा हालेका थिए । स्थानीय भन्दै थिए, ‘अब दुई–चार दिनमै हुम्लाको सिडिओ त कार्यालय सहायक हुन्छ ।’ सभासद् कर्णजित बुढाथोकी ‘...किलो नुन, ...किलो चामल दिनु होला’ भनेर फोन गर्दै थिए । तिनै पाल्पाली सिडिओ र सभासद्सँग एसएलसी दिएर फर्कने छैटौँ डिभिजनका छापामार हुल थियो । स्कुले झोलाको साटो बन्दुक भिरेर जनयुद्धमा होमिएका ती छापामार उही पुरानो झोला बोकेर हुम्ला पुगेथे, एसएलसी जाँच दिन । बुर्जुवा शिक्षाको बदला छातीमा ‘वार भेट्रान’ नभनेको भए र तिनका सपना बालुवाटारको टिकट नबनाएको भए के हुन्थ्यो होला ? छापामार अनुहारमा प्रश्नैप्रश्न थिए । 
चुलिँदो कर्णाली कहरसँगै कक्रक्क हुम्ली हिमाल र हुम्ला कर्णाली क्रुद्ध थिए । हुम्ला हिउँ, हुम्ला कर्णाली, हुम्ला हिमाल, जडीबुटी, कर्णाली कल्चर, हिमाली जनजीवनजस्ता हुम्ला सुन्दरता तल कहाँ हो कहाँ पिँधमा अलप थिए । तिनलाई फुलाउने र फलाउने न सरकारी योजना थिए न सरकारी चासो ।  कर्णाली सिरानी हुम्लाबाट हिल्सा पुग्ने सडक खन्दाखन्दै अलपत्र थियो । सिमकोट सिरानीमा पुगेर हिल्सा देखिन्छ कि भनी डाँडाले नछेकुन्जेल हेर्‍यौँ । निर्माणाधीन हुम्ला–हिल्सा सडक हुँदै दाउरा बोकेर सिमकोट ओर्लिरहेका स्थानीय भन्दै थिए, ‘भारतले बनाउन नदिएर रोकियो भन्छन् । बाटो अलपत्र छ ।’ 
हुम्ला सुन्दरता जति छोपिएको देखेर कमरेड बादल रामबहादुर थापा भाषण बल्झियो । माओवादी वार्ताटोलीका सदस्य हुँदा बादलले खुलामञ्चमा रसिया किस्सा सुनाउँदा भनेथे, ‘फूलैफूलको देश हो, नेपाल । तर, फूल गोबरले ढाकेको छ । रसियाबाट त्यही गोबर सोहर्न आएँ ।’ त्यसवेला बादलले ‘आधा गोबर सोहोरिसकेको’ दाबी गरेका थिए । दुईपालि मन्त्री भए । कति गोबर सोहोरे वा गोबरमय भए वा आफैँ गोबर भए ? बहस हुँदै जाला । तर, हुम्ला सुन्दरता र हुम्ला सबलतालाई अभाव र सरकारी उपेक्षा नामक गोबरले छपक्क छोपेको थियो । 

जलवायु परिवर्तनले हुम्लामा कहिले धेरै हिउँफूल फुल्छ त कहिले थोरै । त्यति मात्र होइन, असमयमा फुल्न थालेको छ । यसपालि अर्थात् १० वर्षपछि पनि हुम्ला त हिउँफूल भयो । हिउँफूल नै हुम्ला भयो । उसैगरी, हुम्ली चिचिला ल्होसारे भैलो खेले । तर, हिउँमा भोटे भेषमा छमछम नाच्ने कमरेड विप्लव थिएनन् । विप्लव त आफ्नै पूर्वसुप्रिमोको सरकारले जंगल खेदेर बेपत्ता थिए । भोटेलामा स्वायत्त राज्य पनि बेपत्ता थियो । 
यसपालि पनि हुम्लामा हिउँफूल फुलेको खबरले मन यसै खसखसायो– लगलग काँप्दै भाषण सुनिरहेका नर्मता–मदन दम्पतीले हुम्ला हिउँमा यसपालि के सुने होलान् ? नम्रता जोडीलाई सञ्चै छ ? शाही परिवारले छोरीज्वाइँलाई टीका लगाएर आशीर्वाद दियो कि दिएन ? अन्तरजातीय जनवादी बिहे भकाभक भत्किरहेको वेला नम्रताको घरबार सहीसलामत होला ? खाद्य कार्यालयमा उसैगरी हुम्ली लाइन छ कि छैन अचेल ? के अहिले पनि फोटो खिच्दै होलान्, उमेर नपुग्दै चर्केको हुम्ली अनुहार ? के हुम्ली आक्रोशले अझै सीमा नाघेको छैन ? 
हुम्लाबाट फर्केपछि मनको कुनामा टुसुक्क बसेको एउटा तिर्सना सोधेर अझै थाकेको छैन, ‘कहिले क्लिक्कक्लिक्क पार्ने दिन आउला, हुम्लीले फलाएका हुम्ली स्याउजस्तै हुम्ली अनुहार ? हिउँफूलजस्तै हुम्ली अनुहार ? के त्यसवेला पनि हुम्लीले ‘हाम्रा फोटो नखिच’ भन्लान् ?’

No comments:

Post a Comment