Friday, June 5, 2020

नवराज : सांस्कृतिक र हतियार दुवै हिंसाले मारिए

सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता 
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन् 
जनतन्त्र हो यो जनतन्त्र 
अब आँसु खसाउनु पर्दैन 
रगत बगाउनु पर्दैन । 

प्रस्तुत पद्यांश मजदुर दिवसको बिहान साढे दुई बजे मुलुकको कार्यकारी निवास बालुवाटारमा फुरेको कविताको हो । उनै कविवर एवं मुलुकको कार्यकारी प्रमुख केपी ओलीको गणतन्त्र दिवसमा जारी प्रेस विज्ञप्तिसँगै शासक खलक सामाजिक सञ्जालमा सञ्जालिँदा जाजरकोट रानागाउँमा भेरी सुसाइ सुर्ताउने गरी रुवावासी चलिरहेको हुन्छ । घरघरमा दियो बाल्न सरकारी आदेश झर्दा कपिलवस्तु देवदहस्थित पासी, सप्तरी रामपुरको सदा परिवारमा ‘रुदाली भेरी’ बगिरहेको हुन्छ । 

तपाईंलाई लाग्ला, कपिलवस्तु, सप्तरी र जाजरकोटसम्म सरकारी ‘समाजवाद’दृष्टि कसरी पुग्छ ? तर, समाजवाद आँखा राजधानीको कीर्तिपुरमै कहाँ रहेछ र ? नत्र ‘पहुँचवाला मानिस अनि भाटभटेनी र सुपरमार्केट’लाई नलाग्ने ‘कोरोना लकडाउन’मा नाम्लो छातीमा राखी कसरी धादिङे वयोवृद्ध भरिया सूर्यबहादुर तामाङ बिदा हुन्छन् ?

तामाङ गोडा खाली छ । जिउमा कालो पुरानो हाप्पेन्ट र कालै बण्डी । रातो पुरानो ज्याकेट । बायाँ हात पेटमा छ । दायाँ हात भुइँमा । छातीमा नाम्लो छ । सडकमा उत्तानो परी न घर न डेराका तामाङ भोकसँग हार्छन् ।
के तपाईंलाई थाहा छ, प्रधानमन्त्री ओलीको भाषणपिच्छे झर्ने ‘अब नेपालमा कोही भोकै मर्दैन’ वाक्यलाई कहिले लाज लाग्छ ? 
चार दिन चुलो नबलेपछि खाद्यान्न खोजीमा निक्लन्छन्, मलर सदा मुसहर । खाना जोहो गर्न कोदालो लिएर बाटो लागेका सप्तरी पथरीका मुसहर खेतमै ढल्छन् । टोलवासीले उठाएको एक हजार पाँच सय रुपैयाँले मुसहर परिवारले अन्तिम संस्कार गर्छ । 

‘किरियामा बसेको नातिलाई लगाउन एउटा गन्जी छैन, पुरानै कपडा लगाएको छ,’ पत्रकार अवधेशकुमार झा सदापत्नी जलेश्वरीलाई उद्धृत गर्छन् ।

रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरले बलात्कार गर्छन् । अगुवा भेलाले पासीलाई ‘वीरेन्द्र पत्नी’ बनाएर घर पठाउँछ । दलितपुत्रीलाई बुहारी नमान्ने भन्दै भर परिवार पासीमाथि खनिन्छ । पासी त्यसै दिन दिउँसो रूखमा झुन्डिएकी (?) हुन्छिन् । 

भेरी नदीको पश्चिम जाजरकोट रानागाउँका नवराज विक र भेरी पूर्व रुकुम सोतीकी मल्ल मनमा माया मौलाउँछ । मल्ललाई भिœयाउन भन्दै विक १७ साथीसहित सोती पुग्छन् । सोतीवासी बाह्र युवालाई पुलिसको जिम्मा लगाउँछन् भने नवराजसहित ६ जना भेरी नदीलाई । 

शंका नै छैन, सदा, पासी, विक र तामाङ, ‘जात’ र ‘गरिबी’ कारण मारिएका हुन् । मरेका हुन् । तिनलाई न नेपालको अहिलेको राज्यसत्ताले चिन्छ, न तिनलाई ‘मान्छे’ मान्छ । 

जात व्यवस्थावाल नेपालको राज्यसत्ताका नजरमा सूर्यबहादुर ‘मासिन्या मतवाली’ हुन् । नवराज दलित हुन् । मलर र अंगिरा ‘मधेसी दलित’ । भलै, चारैजनाले मुलुकको कार्यकारी प्रमुखको ‘कविता–मर्म’ मारेका किन नहोऊन् । समाजवादोन्मुख संविधान र समृद्धि नारावाल सरकारले कोरोनाविरुद्ध तैनाथ गरेको ‘लकडाउन’लाई लंगौटी लगाइदिएका किन नहोऊन् । 

के तपाईंलाई थाहा छ, प्रधानमन्त्री ओलीको भाषणपिच्छे झर्ने ‘अब नेपालमा कोही भोकै मर्दैन’ वाक्यलाई कहिले लाज लाग्छ ? 

रुकुम सोती र जाजरकोट खलंगा 

भेरी नदीको वारिपारि तारा थापेजस्तै छन्, जाजरकोट सदरमुकाम खलंगा रानागाउँ र रुकुम सोती । नदीको जाजरकोटतिर भागमा जाजरकोट–डोल्पा सडक छ भने रुकुमतिरको भागमा मध्यपहाडी लोकमार्ग । स्थानीयका अनुसार रानागाउँ र सोती हिँडेर दुई घन्टा र मोटरसाइकलमा आधा घन्टा लाग्छ ।

करिब अढाइ दर्जन घरवाल सोती मल्ल ठकुरी बस्ती हो भने जाजरकोट जिल्ला प्रहरी कार्यालयछेउको रानागाउँ दलितसहितको मिश्रित बस्ती । 

संयोग ! रानागाउँ र सोती दुवै बस्तीमा भुरेटाकुरे ठकुरी राजाले राज गरेका हुन् । रानागाउँमा जाजरकोटे र सोतीमा जहारीकोटे राजा । 

साविकको रुकुम जिल्लाका भुरेटाकुरे राजथलो छवटा कोत (रुकुमकोट, मुसीकोट, बाफीकोट, आठबीसकोट, गोतामकोट)मध्ये जहारीकोट एक हो । रुकुमकोट अहिले रुकुम पूर्वको सदरमुकाम । 

जाजरकोटी राजा आफूलाई ठूलो ठान्छन् त जहारीकोटे राजाले आफूलाई ठूलो । तिनका ‘सामन्ती अहम्’ एक–आपसमा टकराउँदा वारिपारिका सर्वसाधारणका सम्बन्ध पनि प्रभावित हुन्छन्, जो अहिलेसम्म पनि कहीँकतै देखापर्छ । जस्तो- विभिन्न तिथिमा लाग्ने मेला-जात्रामा लाठी हानाहान हुन्छ । कुटाकुट हुन्छ । सोती र खलंगा सम्बन्धमा भेरीछालजस्तै उतारचढाव हुन्छ । तिनै उतारचढाबीच पनि दुई बस्ती कुटुम्ब पनि जोड्छन् । भेरी वारिपारि छोट्टी बस्ने चलन चल्छ । छोट्टी बस्नु, कुटुम्ब लाग्ने जवान युवायुवती भेट हुनु, गीत गाउनु, गीतमै माया लाउनु हो । कति माया त घरजममै परिणत हुन्छन् । र, वेलावेलामा सामन्ती ‘मनु’वादी समाज संरचनामा ‘संरचनागत हिंसा’का सिकार नवराजहरू हुन्छन् । जुन समाचार भएर राजधानीसम्म बिरलै पुग्छन् ।

०००

सोती र सोतीमास्तिरका मगर र दलित बस्तीवाल गेस्मा जनयुद्धकालीन माओवादी ‘सेल्टर’ हुन् । माओवादी बैठक, सम्मेलन र भेलाथलोसमेत । सोतीका रैथाने वडाध्यक्ष डम्बर मल्ल पूर्वमाओवादी हुन् । 

२०४९ को स्थानीय चुनावमा तत्कालीन संयुक्त जनमोर्चा नेपालका भक्तबहादुर शाह जाजरकोट सदरमुकाम खलंगा गाविस अध्यक्ष बन्छन् भने जाजरकोट जिल्ला विकास समिति सदस्य कालीबहादुर मल्ल । २०६४ को चुनावमा शाह र मल्ल दुवै माओवादीका प्रत्यक्षतर्फका सभासद् बन्छन् । 

जाजरकोट र रुकुम दुवै जिल्ला भुरेटाकुरे ठकुरी राजथलो हुन् । पञ्चायतकाले जाजरकोट तेजविक्रम शाहले एक्लै कब्जा जमाउँछन् भने रुकुममा धु्रवविक्रम शाह र गोपालजीजंग शाहले पालैपालो । 

२०६४ को पहिलो संविधानसभा चुनावमा जनार्दन शर्माले गोपालजीजंग शाहलाई पछारेर २०४८ को हार बदला लिन्छन् । त्यसवेला शर्मा संयुक्त जनमोर्चा नेपाल उम्मेदवार हुन् ।शर्माले हारे पनि रुकुम १ बाट भने जनमोर्चाकै खड्गबहादुर बुढामगरले जितेका हुन् । जुन चुनावमा रोल्पाबाट बर्मन बुढामगर र कृष्णबहादुर महराले चुनाव जितेका हुन् । 

पहिलो संविधानसभा चुनावयता सोतीवाल रुकुम रजाइँरत शर्माले ‘लोडसेडिङ’ हटाउने ऊर्जामन्त्रीको पदवी पनि पाएका छन् । 

शर्माको छिमेकी जिल्ला जाजरकोट अर्थात् नवराज विकको रानागाउँ छिमेकी कालेगाउँका वनमन्त्री शक्तिबहादुर बस्नेत २०७० देखि जाजरकोट सत्तामा छन् । जनयुद्ध थालनीताका पश्चिम नेपालका माओवादी प्रभाव जिल्लामा रोल्पासँगै रुकुम पनि हो । जनयुद्ध उकालिएपछि भने माओवादी आधार क्षेत्रमा जाजरकोट पनि थपिन्छ । 

जनार्दन-शक्ति संघर्ष

कुनै वेला बस्नेत र शर्मा माओवादी ‘युथ ग्याङ’मा हुन्छन् । अन्तमा, नेत्रविक्रम चन्द विप्लव एक्लै हुन्छन् । ग्याङबाट छुटेर बस्नेत पुष्पकमल दाहाल स्वकीय सचिवसमेत बन्छन् । संयोग ! आआफ्ना जिल्ला सदरमुकामका रैथाने बस्नेत र शर्मा दुवै गृहमन्त्रीसमेत बन्छन् । 

पीडित र पीडक जाजरकोट र रुकुमका दुई बस्तीबाट संघीय संसद्मा प्रनिनिधित्व गर्ने यी दुईबीच चर्को ‘शक्ति संघर्ष’ छ । भलै दुवै दाहाल खलक हुन् । जानकारहरू दुवै नेताले आफ्नो राजनीतिक प्रतिष्ठाको रूपमा नवराज प्रकरणलाई लिए भने ‘प्रभाव’ पर्ला कि भन्ने आशंका गर्छन् । जसका कारण छन् : 

एक- भोट बैंक जोगाउन ।
दुई- जनप्रतिनिधि र जिल्लाको प्रतिष्ठा ।

पीडित र पीडक दुवैतिरका सरकारी नेकपा कार्यकर्ता हुन् । यति हुँदाहुँदै राज्यसत्तावाल ‘जात’ संस्कृति पनि जोगाउनु छ, दलित मुद्दा पनि जोगाएर चुनाव पनि जित्नु छ । किनकि, नवराज घटना दुई परिवारको झगडा होइन । 

तीन- ‘मनु’वाल ‘वाहुनवादी’ संस्कृति संरक्षण । शासक खलकीय शासक सामाजिक सांस्कृतिक मोहमुक्त नहुँदासम्म नवराजतिर कोल्टिन आनाकानी गर्नेछन् । र, कैयौँ अन्तरविरोधबीच पनि सांस्कृतिक सामाजिक राज्यसत्ता र सम्बन्धले दुवै नेतालाई एकै ठाउँमा उभ्याउने छ । यसको मूल कारण हो, राज्यसत्ता त जात व्यवस्थामै अडिएको छ । भलै नाम लोकतन्त्र या गणतन्त्र नै किन नहोस् । राज्यसत्ता उभिएको धर्ती जाततन्त्र हो । 

चार-नाता-सम्बन्ध । नेता शर्माका भाइ अनिलपत्नी र शर्मा नातेदार एवं चौरजहारी नगरप्रमुख विशाल शर्मापत्नी मनसरा मल्ल सोती मल्ल चेली हुन् । 

किन नवराज मारिए ?

स्थानीय चुनावको मुखैमा जाजरकोट खलंगा, चौरजहारी, खोलागाउँ, खहरे पुगेको छु भने अघिल्लो वैशाखमा रुकुमकोट, मुसीकोट, बाफीकोट, आठबीसकोट र गोतामकोट ।जनयुद्ध नथाल्दै माओवादीले मारेका कांग्रेस नेता गणेश शाह खोलागाउँका हुन् भने जनयुद्धपछि मारेका कांग्रेस नेता एवं रुकुम जिल्ला विकास समिति सभापति हरिभक्त ओली खहरेका । माओवादीबाट मारिएका एमाले नेता यदु गौतम चौरजहारीका । 

खहरेका माओवादी नेता शान्तबहादुर पुन कमरेड गोरे सभापति ओलीका मीतसमेत हुन् । पुनसँगै बेपत्ता पारिएका अर्का माओवादी नेता पूर्णप्रसाद शर्मा सोतीछेउ कोटजहारीका हुन् । 

माओवादीले नेता ओलीलाई उनकै मीत पुन र शर्मालाई बेपत्ता पारेको आरोप लगाउँदै हत्या गरेको थियो । अहिले सोतीसहित खोलागाउँ, खहरे, चौरजहारी एउटै नगर अर्थात् चौरजहारी नगरपालिकामा पर्छन् । 

संयोग ! डुल्ने क्रममा ती ठाउँका सबै समुदायकासँग कुराकानी गर्ने साइत जुरेको हो । भुइँमान्छेका जिउमा गणतन्त्र घाम लागेको छ कि छैन भनेर हेर्न जाँदा विविध स्वर सुनेर दिलखुस भएको हो । 

जातीय विभेद प्रसंगमा शासक खलकीय गैरदलित र दलितका कुरा एक–आपसमा बाझेको भेट्छु । शासकवाल गैरदलित भन्छन्, ‘सँगै हिँडेका छौँ । बसेका छौँ । खाएका छौँ । भेदभाव कहाँ छ ? हेर्नुस्, जसले विभेद बाँकी नै छ भन्छ, त्यो सामाजिक सद्भाव भत्काउने तत्व हो ।’ वरपर दलित रहेछन् भने सोधिहाल्छन्, ‘ए फलानो, तँ भन् त, विभेद ग-या छम् त ?’ एक्लैदुक्लै भेटिने दलित भन्छन्, ‘नापेपछि भेदभाव थोरै घटेको त होला । तर छ ।’ 

आठबीसकोट रारिजिउला पुग्दा स्थानीय चुनावको चर्को गर्मी हुन्छ । रातो कामीले मेयर दाबी गरेपछि गर्मी झन् बढ्छ । आखिरमा उम्मेदवार छान्ने जिम्मा जिल्लालाई जान्छ । जिल्लाबाट पनि कामी मेयर नाम मेटिन्छ । 

बाफीकोटस्थित स्यार्पुदहमास्तिर खारखोलावासी चन्द्रबहादुर विकसँग लामो कुराकानी हुन्छ । विक भन्छन्, ‘माओवादीकालमा त ठीकै थियो । अहिले त पुरानै फर्किगो ।’ विकको भनाइले पुष्टि गर्छ, ‘माओवादी बन्दुक ‘डर’ वा ‘भर’ले जातीय भेदभाव घटेको थियो, तर अहिले फेरि उस्तै भयो ।’ 

सबैखाले विभेद मास्ने माओवादी नारामा नारिएर दलित जनयुद्धमा लाम लागेका हुन् । र, संयोगले जनयुद्धमा मारिने पहिलो व्यक्ति गोर्खाली दिलबहादुर रम्तेल पनि दलित नै हुन् । 

जनयुद्धकालमा माओवादीले अन्तर्जातीय बिहे र पुनः बिहेलाई प्रोत्साहित गरेको हो । फलस्वरूप कार्यकर्तामाझ अन्तर्जातीय बिहे लहर नै चलेको हो । भलै, युद्धकालमा पनि माओवादी नेताले आफ्ना परिवार सदस्यहरूमा (दलित र गैरदलित) बिहे गराएका छैनन् । 

तत्कालीन ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा (एक मात्र दलित खड्गबहादुर विश्वकर्मा) कुनै पनि गैरदलित केन्द्रीय नेताका छोराछोरीको दलितसँग बिहेबारी भएको छैन । केन्द्रीय नेतामा रुकुमबाट लोकेन्द्र विष्टमगर, जनार्दन शर्मा र हेमन्तप्रकाश ओली हुन् भने जाजरकोटबाट शक्तिबहादुर बस्नेत । 

समाजको अनुहार नफेरेरै (शासक मात्र फेरेर) जनयुद्ध सम्झौतामा टुंगिएलगत्तै जनयुद्धकालीन अन्तर्जातीय बिहे भत्कन थाल्छन् । भलै, नेपालमा भएका राजनीतिक आन्दोलनमध्ये सबभन्दा बढी नेपाली समाजको अंगअंग हल्लाएको माओवादी जनयुद्धले नै हो । विडम्बना ! आजसम्मका नेपाली राजनीतिक आन्दोलन र परिवर्तन ‘बाहुनवाद’देखि ‘बाहुनवाद’सम्म सीमित भन्दै कांग्रेस नेता प्रदीप गिरि तर्कन्छन्, ‘कांग्रेसदेखि माओवादीसम्म बाहुनवाद छ ।’ हिन्दू जातप्रथाको राज्यसत्ता गोडाले उभिएको समाज र राज्यसत्तामा फेरिएको भनेको पात्र र राजनीतिक व्यवस्था हो, राज्यसत्ता होइन । जसको स्वरूप जाति व्यवस्थामा आधारित छ ।

हिन्दू वर्णाश्रमवाल पुरानै समाजमा फर्केपछि जनवादी अन्तर्जातीय बिहे भत्कनु अस्वाभाविक होइन । पुरानो समाजको टाउकोमा घनले हानेर हिँडेका माओवादी युवायुवती उही समाज शरणमा फर्केपछि दुईखाले परिणाम निक्लेका छन् :

एक– अन्तर्जातीय बिहे गरेका जोडी आफ्नो थातथलोभन्दा टाढा बसेर घरजम जोगाउने । 

दुई– पुरानो समाजसित हार खाएर पारपाचुके वा अलपत्र पर्ने । 

आफ्नै थातथलोमा सहीसलामत जनवादी अन्तर्जातीय बिहे गरेका जोडी भेट्न दिउँसै टर्च बाल्नुपर्छ । बचेका पनि ‘पुरुष गैरदलित’ भए सबैजसो बिहे भत्केका छन् । भत्केर अझ पुरानै ठाउँमा फर्केका घटना पनि छन्, जसमध्ये एउटा सुन्नुस् है-जनमुक्ति सेनाका एक बाहुन कमरेड र एक दलित कमरेडबीच जनवादी प्रेम बस्छ । प्रेम जनवादी बिहेमा परिणत हुन्छ । नफेरी फर्केको पुरानै समाजमा बाहुन कमरेड बाहुनी पत्नी खोज्न थाल्छन् । आखिरमा बाहुनी बिहे गर्छन् । 

अनि ? पछि दलित युवती कमरेडले पनि दलित युवकसँग बिहे गर्छिन् । अब के गर्ने ? नवराज विक नभई नवराज शर्मा वा नवराज शाही भए, मल्ल सोतीवासीले बुझाउँदा हुन् त भेरी नदीलाई ? बिल्कुल अहँ ।

 नवराज र अंगिरा प्रकरणले ‘नेपालमा सामाजिक सांस्कृतिक अन्तर्घुलन भएकै छैन’ भन्ने आहुती तर्कलाई बल दिन्छ । नवराजका आमाबाले ‘ठूला जातकी छोरी बिहे गर्न हुन्न’ भनेको कुराले झन् ग्राम्सी तर्कजसरी दलितले पनि शोषक र शासक जातिले बनाएको ‘न्यारेटिभ’ आत्मसात् गरेको पनि देखाउँछ । 

ग्राम्सीका अनुसार हतियार हिंसाभन्दा पनि सांस्कृतिक हिंसा ठूलो हो । नवराज सांस्कृतिक र हतियार दुवै हिंसाले मारिएका छन् । भोकमरी र कुपोषण अर्को हिंसा हो । जुन हिंसाले मरेका छन्, सदा र तामाङ । ठीक यसैवेला प्रधानमन्त्री ओली उद्घोष छ, ‘दलितयुक्त’ होइन, ‘दलितमुक्त’ देश बनाउने ।’ 

विक, पासी, सदा र तामाङले जात र वर्गमा आधारित नेपाली समाज र राज्यसत्ताको ‘असली’ अनुहार देखाइदिएका हुन् । जस्तो– हाम्रो समाज कहाँ छ ? राज्य कहाँ छ ? पार्टी, आन्दोलन र चेतना कहाँ छ ? राज्य पुनर्संरचना किन र कति आवश्यक छ ? 

चर्को जनदबाबले भर्खरै लिपुलेकसहितको नेपालको नक्सा आएको छ । भूगोलभन्दा अझ जरुरी छ, अर्को नक्सा । जुन नक्सामा सदा, पासी, विक र तामाङहरू आत्मसम्मानपूर्वक बाँच्छन् । होइन भने नेपालमा पासीहरू मारिइरहनेछन् र अमेरिकामा जर्ज फ्लोइडहरू । विक र मल्ल प्रेम बगिरहनेछन् भेरीमा । मरिरहनेछन्, सदा र तामाङहरू । 

मानिस मस्तिष्क र मनमा ‘जात’ र ‘रङ’ भेद रहेसम्म सुन्दर समाज सम्भव कसरी हुन्छ ? समाज जुगैदेखि दुई कित्तामा विभाजित छ । एक, जब्बर जात राज्यसत्तावाल । दुई, नवराज, अंगिरा, मलर, सूर्यबहादुरवाल । तपाईंलाई लाग्ला, नवराज कित्ताको ‘गला घाँस्सिएको’ छ । मसिनै सही, नवराज कित्ता ‘मानिस’को पक्षमा छ । सुन्दर समाजको पक्षमा छ । तपार्ईं कुन कित्ताको गलामा गला ‘गाँस्ने’ ?

कोरोना भाइरसभन्दा हजारगुना ज्यानमारा विभेदवाल ‘जात भाइरस’वाला ‘अनर किलिङ’ कित्ताको कि मानिस र मानिसबीचको प्रेमको (जस्तो- नवराजलाई साथ दिने गणेश बुढामगर र गोविन्द शाही पनि मारिएका छन् ।) पक्षवाल कित्ताको ? कारण, अवतार सिंह पाशको ‘तुम्हारे बगैर मैं होता ही नहीं’ कविताको एक लाइन भन्छ, ‘बीच का रास्ता कहीँ नहीँ होता ।’ सायद जात व्यवस्था वा जाततन्त्र नभत्काई, जात, वर्ग र रङभेद रहँदासम्म सुन्दर समाज सम्भव नभएरै पाशको अर्को कविता ‘और हम लडेंगे साथी’ले भन्छ-

हम लडेंगे
कि लडे बगैर कुछ नहीँ मिलता
हम लडेंगे
कि अब तक लडे क्यों नहीं

हम लडेंगे
अपनी सजा कबुलने के लिए
लड्ते हुए जो मर गए
उनकी याद जिन्दा रखने के लिए
हम लडेंगे
from nayapatrika

No comments:

Post a Comment