Sunday, February 14, 2021

‘ट्रेजेडी’मा टुंगिएको अन्तर्जातीय बिहे



नवीन विभास
२०७७ फाल्गुण १ शनिबार ०९:११:००

त्यस दिन पनि महाकाली आफ्नै गीतिलयमा बग्छ, जसको तालमा लडागाउँले दैनिकी थाल्छ । ठीक त्यसैवेला ६ किशोरीका गोडा गाउँले आँखा छल्दै पेउला जंगल पस्न उकालोमा सुइँसुइँ सुइँकिन्छन् । जात व्यवस्थामा आधारित सामन्ती समाजले ‘अछुत’ भनेर दुत्कारेका तिनका मन ‘समाज बदल्न बन्दुक’ बोक्ने खसखसले यति खुलदुलिएका छन् कि राजा ज्ञानेन्द्रको ‘प्रतिगमन कफ्र्यु’ नै तोडेर नाराजुलुस गर्लान्जसरी ! 

कक्षा ८ की १४ वर्षीया ती किशोरीसाथ आधा दर्जन युवती लडागाउँ सिरानको पेउलामा पस्छन् । बैतडी सदरमुकाम गोठालापानीबाट एक दिन पैदल दूरीको सो जंगलमा ‘कमरेड’हरूले टाउकोभन्दा माथि–माथि मुठी उठाउँदै सनासोले चेपेजसरी हात मिलाउँछन् । पाँच सहेलीसाथ अघि लागेकी किशोरी स्वेता बिसी बन्छिन्, कमरेड सहारा । मन्जु बिसी बन्छिन् कमरेड महिमा । रमा बिसी हुन्छिन्, कमरेड रेस्मा । कस्तुरी बिसीले नाम राख्छिन्, कमरेड प्रतिभा भने लक्ष्मी बिसीले कमरेड भावना । र, झम्पा बिसी बन्छिन् कमरेड असिना । 

 

‘महिला र दलित भनेर विभेद भएन,’ कमरेड सहारा १७ वर्षअघिको माघ ४ गते आपूm जनयुद्धमा होमिएको सम्झना सुनाउँछिन्, ‘किशोरवयको जोसले हो कि क्रान्तिकारी स्पिरिटले हो, कुन्नि ? भोकभोकै रातारात हिँडेका र मृत्युसँग लुकामारी खेलेका अप्ठ्यारासमेत लागेनन् ।’ जिन्दगीका सिरीखुरी नै बुझाएको जनयुद्ध फागुन १ गते २५ वर्ष पुगेको सम्झेर कमरेड सहारा थप नोस्टाल्जिक हुन्छिन् । 

 

                      ०००

 

कमरेड सहाराका पाँचै सहेली जनमुक्ति सेना बन्छन् । उनलाई भने माओवादीले संगठनमा राख्छ । विभिन्न भेगमा काम गर्दै जाँदा पार्टीले पुर्चौडी पठाउँछ । पुर्चौडी त हो, सुदूरपश्चिमको आधार क्षेत्र । हो, उही पुर्चौँडीस्थित एरिया कमिटी सदस्य हुन्छिन् । जुन एरियाको इन्चार्ज हुन्छन्, कमरेड आदित्य । पिथौरागढ (भारत) पढ्न गएका उनै प्रेमप्रकाश भट्ट त हुन्, कमरेड आदित्य भएर २०५७ सालमा नेपाल फर्केका ।

 

सदरमुकामबाट एक दिनको पैदल दूरीमा अवस्थित महाकालीकिनार लडागाउँकी हुन् सहारा । सदरमुकामबाट १८ किलोमिटर  (अहिले सुर्नैया गाउँपालिका) दूरीमा छ, कमरेड आदित्यको घर । देखभेट र कुराकानी हुँदाहुँदै कमरेड आदित्य दिल कमरेड सहारामा सर्छ । 

 

‘प्रेमपत्र आफैँले हात पार्नुभयो । परिपक्व भएकी छैन भनेर फिर्ता गरेँ,’ सहारा सम्झन्छिन् । चिठी पुनः हात पार्दै आदित्यले तर्क पेस्छन्, ‘समाज बदल्ने भनेर शिरमा लाल कफन बाँधेर हिँडेका योद्धा हौैँ । हामीले नबदले कसले बदल्छ, यो समाज अनि यो देश ?’

 

पुष्पकमल दाहाल, मोहन वैद्य, बाबुराम भट्टराईसहितका नेताका छोराछोरी वा परिवार सदस्यले दलित समुदायका नेता वा कार्यकर्तासँग बिहे गरेका छैनन् । तपाईंलाई फेरि लाग्ला, बिहे त मन मिल्नेसित गर्ने कुरा हो । तिनका दिल कुनै दलित नेता वा कार्यकर्तासँग बसेन त जबर्जस्त बिहे हुन्छ ?

 

लामो छलफलपछि सहाराले प्रेमप्रस्ताव स्विकार्छिन् । ‘रूपान्तरण आफूबाट थाल्नुपर्छ भन्ने बुझाइ थियो । आफूले नथाली सुन्दर समाज कसरी बन्ला भन्ने लाग्थ्यो,’ आदित्य भन्छन् ।

 

जातको जगमा उभिएको छ, नेपालको समाज । त्यसैमाथि सुदूरपश्चिमको बैतडीमा बाहुनपुत्र र दलितपुत्रीबीच बिहे ! ‘मन मिलेपछि पार्टीमा निवेदन दियाैँ । निवेदन स्वीकृतपछि पार्टीले नै बिहे गरिदियो,’ भारतमा दिनगन्ती मजदुरी गर्ने मजदुरपुत्री सहारा भन्छिन् । प्रेम भएको आठ महिनापछि (२०६२ भदौ ३० गते) पुर्चौडी क्याम्पसमा आयोजित किसान जिल्ला भेलामा जनवादी बिहे हुन्छ । 

 

बिहेसम्बन्धी माओवादी नियम भन्छ, ‘प्रेमजोडीले पार्टीमा निवेदन दिएको मितिले कम्तीमा छ महिना ‘परीक्षणकाल’ हुन्छ । त्यसपछि ? पार्टीले बिहे अनुमति दिन पनि सक्छ, परीक्षणकाल लम्ब्याउन पनि ।’ सहारासँगै ‘कमरेड’ बनेकी असिनाले पनि बाहुन भट्टसँग बिहे गर्छिन् भने महिमाले क्षेत्री विष्टसँग । 

 

आदित्यपिता प्राथमिक विद्यालयका हेडसर हुन् । भट्ट सरको परिवारले छोराबुहारीलाई घरमै बोलाउँछ । बिहे गरेको एक महिनापछि घर पुग्दा खसी काटेर भोजभतेर चल्छ ।

 

‘बच्चा जन्मेका वेला दुई महिना घरमा बसेँ । दुवैजना पार्टी जिम्मेवारीले गर्दा लामो समय बसेका छैनौँ,’ सहारा सुनाउँछिन्, ‘परिवारको समस्याले घरमा नबसेको भने होइन, पार्टी काम र छोराको पढाइको कारणले हो ।’ १३ वर्षीय सहारापुत्र अखिल आठ कक्षामा पढ्छन् । ‘भट्ट परिवार’मा समस्या नदेखिए पनि ‘भट्ट समाज’मा भने ‘चर्को’ समस्या देखिन्छ । सहारा भन्छिन्, ‘सामाजिक रूपमा परिवारलाई टेन्सन हुने नै भयो ।’

 

डढेलधुराका जोशी बाहुनपुत्री र सल्यानका सार्कीपुत्रको पनि बिहे भएको हो, २०५९ जेठ १९ गते । बाहुनपुत्री कुन्ती जोशी (कमरेड रेखा) र सल्यान चाँदेका सार्कीपुत्र संघर्ष सल्यानी । रेखाको संघर्ष प्रेम त्यसवेला टुसाएर बिहेमा परिणत हुन्छ, जुनवेला संघर्ष माओवादी रोप्न सल्यानबाट डढेलधुरा पुगेका हुन्छन् । रेखा भन्छिन्, ‘त्यसवेला जातको मतलब नै थिएन ।’

 

                                                ०००

 

समतामूलक समाजमा रूपान्तरण गर्ने भन्दै माओवादीले जनयुद्धकालमा नेता, कार्यकर्ता र शुभचिन्तकलाई पुनः बिहे र अन्तरजातीय बिहे प्रोत्साहित गर्छ । दलित र गैरदलितबीचको बिहेलाई ‘थप’ बल गर्छ ।

 

पुनः बिहेलाई प्रोत्साहित गर्नुको कारण हो, लडाइँमा सयौँले जीवनसाथी गुमाएका हुन्छन् । जसमा प्रायः युवा हुन्छन् । १० वर्ष लामो लडाइँमा जीवनसाथी गुमाउने सयौँले पुनः बिहे गर्छन् । युद्धको क्रममा युवायुवती टाढाका भूगोल पुग्छन् । टाढा–टाढाका कमरेडहरूसँग सहकार्य गर्छन् । त्यसैवेला माया बस्छ । बिहे गर्छन् । माओवादी आधारक्षेत्र रोल्पाका दर्जनौँ युवायुवतीले पूर्व–सुदूरपूर्व ताप्लेजुङ तथा सुदूरपश्चिम बाजुरासम्म बिहे गरेका छन् । जनयुद्धकालमा, नगन्य संख्या नै सही, मधेसी र पहाडीबीच पनि बिहे भएको छ । 

 

जनयुद्ध उकालिँदा एउटै विवाह मण्डपमा दर्जनभन्दा बढी जोडीले बन्दुक साटासाट गरी बिहे गरेका छन् । जनयुद्ध थाल्नुअघि रोल्पा जंकोटमा वर्षमान पुन–ओनसरी घर्तीमगर, कुलप्रसाद केसी–तारा घर्तीमगर र रणबहादुर केसी–आशा पुन गरी तीन जोडीले सामूहिक बिहे गरेका हुन् । त्यसपछि रुकुम पुर्तिमकाँडामा सूर्यप्रकाश पुन–परम्परा गौतम, तेजबहादुर ओली–जुनकुमारी रोकामगर, कलबहादुर नाथ–पवित्रा बिएम र नरबहादुर बोहरा–निर्मला महतरा गरी चार जोडीले । 
बिहे मन मिल्नेसित गर्ने विषय हो । जातसित होइन । तर, मानिस सबै समान हुन् भन्नलाई माओवादीले अन्तर्जातीय बिहेमा बल गर्छ । दुनियाँ बदल्न पहिले आफूबाट थाल्नुपर्छ भनेर सहारा–आदित्यहरूका बिहे लहर नै चल्छ । 

 

जनयुद्धकालमा कति छन् हँ, सहारा–आदित्यहरू ? कति छन्, पुनः बिहे गर्नेहरू ? माओवादीसँग आँकडा छैन । ठ्याक्कै संख्या भन्न नसके पनि, गैरदलितबीचको अन्तर्जातीय बिहे गर्ने संख्या उल्लेख्य छ । दलित र गैरदलितबीचको बिहे र पुनः बिहे गर्ने संख्या पनि धेरै सानो त छैन । 

 

तपाईंलाई खसखस लाग्ला, नेता परिवारमा पनि बिहे भएका छन् त ? यहाँ, नेता भन्नाले पार्टी केन्द्रीय समितिका भन्ने बुझौँ है त । तत्कालीन माओवादी ३५ सदस्यीय केन्द्रीय समितिमा दलित समुदायका खड्गबहादुर विश्वकर्मा मात्र हुन् । पुष्पकमल दाहाल, मोहन वैद्य, बाबुराम भट्टराईसहितका बाँकी चौतिसजना नेताका छोराछोरी वा परिवारका सदस्यले दलित समुदायका नेता वा कार्यकर्तासँग बिहे गरेका छैनन् । तपाईंलाई फेरि लाग्ला, बिहे त मन मिल्नेसित गर्ने कुरा हो । तिनका दिल कुनै दलित नेता वा कार्यकर्तासँग बसेन त जबर्जस्त बिहे हुन्छ ? कुरो मनासिब ठान्दै यै भनेर चित्त बुझाउनुपर्ने स्थिति छ । कसोकसो एक नेताले दलितसँग बिहे गर्ने स्थिति बनेपछि बिहे भत्काएको किस्सा भने कार्यकर्तामाझ पोखिन्छ । 

 

जुन किस्सा यस्तो छः
बाहुन समुदायका केन्द्रीय नेता । नेता परिवार सदस्यको दिल दलित कमरेडमा बस्छ । हुन्न भनुँ, कमरेड बनेर भाषण ठोकिएको छ, हो भनुँ त ‘परम्परागत बाहुन’ले माने पो ! बुटी निकाल्छन्, ‘क्रान्तिले माग्यो ।’ त्यसवेला क्रान्तिले माग्यो भन्दै नेताले आफ्नो मनको कुरा गरेका हुन् । हो, उनले पनि ‘क्रान्तिले माग्यो’ भन्दै सरुवा गरिदिन्छन् । सरुवालगत्तै गैरदलित कमरेडसँग बिहे । किस्सा खत्तम । 

 

                                         ०००

 

माओवादी आन्दोलनको ‘दु:खान्त’लगत्तै कमरेड सहारा–आदित्यहरू स्वेता–प्रेमप्रकाश भएर पुरानो समाजमा फर्कन्छन् । फर्केका उनीहरू सकुशल छन् ? जवाफ सहाराले दिन्छिन्, ‘हामी त दुवैजना राजनीतिक रूपमा परिपक्व छौँ । जुधेका छौँ । तर, धेरै सामान्य कार्यकर्ता र शुभचिन्तकका बिहे भत्किसके । धेरै दिदीबहिनी र तिनका बच्चाबच्चीको बिचल्ली छ ।’

 

सहारा–आदित्यहरूले आजको मितिसम्म ‘बिहे’ बचाएका छन् । भलै उनी घरभन्दाबाहिरै छन् । सहारा पार्टीको जिल्ला सचिवालय सदस्य छिन् भने भट्ट सुदूरपश्चिम प्रदेश सांसद । प्रदेशका सांसद कुन्ती जोशी उर्फ कमरेड रेखाको बिहे भत्किसकेको छ । अन्तर्जातीय बिहे भत्कनुका कारण जान्न नेपालको राजनीतिक आन्दोलन र समाज हेर्नुपर्छ । 

 

००७ को आन्दोलनदेखि जनयुद्धसम्मका राजनीतिक आन्दोलनले राजनीतिक व्यवस्था मात्र फेरेका छन् । जात व्यवस्थामा आधारित सामन्तवादी समाज होइन । जनयुद्धले न पुरानो भत्काइसकेको हुन्छ न त विकल्पमा नयाँ बनाइसकेको । फलस्वरूप चोखो मनले माओवादी बनेका र इमान्दार कार्यकर्ता पुरानो समाजमा फर्केपछि खक्रक्क पर्छन् । अन्तरजातीय (प्रायः दलित र गैरदलित) बिहे गरेका जोडी सायदै आफ्ना घर फर्कन्छन् । उसो भए छन् त ? घरदेखि टाढा । टाढा हुँदा जातको सानातिनो झरी त ओतिएको छ । तर, जहाँबाट भए पनि कदम–कदममा पुरानो समाजसित टक्कर पर्छ । ‘टक्कर’लाई ‘ठक्कर’ दिन नसक्ने धेरैले पुरानो समाजका रुढी मूल्यसामु आत्मसमर्पण गर्छन् । परिणाम ? घरबार भत्कन्छ । ती प्रायः दलित, आदिवासी, मधेसी, महिला, कर्णालीजस्ता क्षेत्रीय, जातीय, लिंगीय विभेद खलास पार्ने बुटी नै जनयुद्ध सम्झेर स्कुलेझोला स्कुलमै छाडी माओवादी भएका हुन्छन् ।

 

पत्रकार अरुणा रायमाझी भन्छिन्, ‘पार्टी काम र सुरक्षाका कारण महिनौँ टाढा बस्नुपर्दा पनि सम्बन्ध प्रेम र विश्वासमा टिक्थे । तर, पछि लालाबालाले घेरिँदै पुरानो समाजमा फर्केका तिनले कठोर जातीय, आर्थिक र क्षेत्रीय यथार्थहरूको सामना गरे ।’ अरुणाको तर्कलाई पूर्वमाओवादी नेता जयपुरी घर्तीमगरले उकेरा लाउँछिन्, ‘जातीय, क्षेत्रीय आदि रहन–सहनका कारणले अन्तर्जातीय बिहे भत्कनेक्रम बढ्छ ।’ 

 

माओवादी युवायुवतीले त पुरानै समाजमा फर्कनुपर्ला र यस्ता विपत्ति व्यहोर्नुपर्ला भनी कल्पेका पनि हुन्नन् । माओवादी नेतृत्वले भने पुरानै समाजमा फर्काएपछि ती जात नामक कोभिड–१९ले थला पर्छन् । अन्ततः बिहे भत्कन्छ । अन्तरजातीय बिहे (दलित र गैरदलित, यसमा पनि पत्नी दलित र पति गैरदलित जोडी) ‘लगभग’ सबै भत्केका छन् । 

 

‘प्रतिक्रान्ति भएर न सबका सब भत्के । अन्तरजातीय बिहे मात्र होइन, त्यसवेलाका सामान्य बिहे पनि भत्के । एउटाले मेचीबाट बिहे गरेको छ, अर्कोले महाकालीबाट । पुरानो समाजमा फर्केपछि संस्कार मिलेन भने । चेहरा मिलेन भने । व्यहोरा मिलेन भने । आर्थिक अवस्था मिलेन भने । अन्तमा बिहे भत्के,’ पूर्वविधायक सीता विक उर्फ कमरेड सम्झना समझ छ । सम्झनापति दाङका हीरालाल चौधरी उर्फ कमरेड जलन रुकुम खाराको दोस्रो आक्रमणमा मारिएका हुन् । उनले जनमुक्ति सेना बिग्रेड भाइस–कमान्डर सल्यानका बालकृष्ण शर्मा उर्फ कमरेड सविनसँग पुनः बिहे गरेकी छिन् ।

 

सहारा–आदित्य बिहे साइतसमेत जुराएको जनयुद्ध फागुन १ गते २५ वर्ष पुगेको छ । जुन जनयुद्धले गरिब, दलित, आदिवासी, महिला, मधेसी, कर्णालीजस्ता उपेक्षित समुदाय र क्षेत्रका मनलाई ‘राजनीतिक चेतना’ फुलाएको छ । (नामकै सही) समावेशी लोकतन्त्र, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता पनि ‘जनयुद्ध–गोडा’ले नै उभिएको छ । जनयुद्धमा सिरीखुरी बुझाएका इमान्दार कार्यकर्ता, शुभचिन्तक र भुइँमान्छेलाई हेर्न भने तपाईंले मन दह्रो बनाउनुपर्छ । कारण ? जनयुद्धझरीले निथु्रक्क वनपाखाका आँखा अझै भिजेकै छन् । जनयुद्धमा गोडा गुमाएका अनि जोडा गुमाएका, लडाइँमा हात गुमाएका अनि साथ गुमाएकाका हालचाल सुनिनसक्नु छ । अनि सुनिनसक्नु छन्, इँटाभट्टा र खाडीरत जनयुद्धका योद्धाहरूका कसला–कथा ।

 

सन्जोगजस्तो के भयो भने, सहारासँग कुराकानीकै बीचमा झुपु नेपाली उर्फ कमरेड सुनील रुकुम चुनबाङबाट फोन गर्छन् । कोरोनाकालमा अरबबाट फर्काइएका पूर्व जनमुक्ति सेना सुनिलले सनिस सुनाउँछन्, ‘छोरो अरब उड्ने पखेँटा लाउन काठमाडौं आएको छ ।’ माओवादी उही चुनबाङ बैठकबाट त ‘संसद् साइत’ गरेको हो ।

जनयुद्धको झरीले निथु्रक्क वनपाखाका आँखा अझै भिजेकै छन् । जनयुद्धमा गोडा गुमाएका अनि जोडा गुमाएका, लडाइँमा हात गुमाएका अनि साथ गुमाएकाका हालचाल सुनिनसक्नु छ ।

 

सन्चो–बिसन्चोसँगै सुनीलले जनकलाकार मोहित श्रेष्ठको फेसबुके समाचार सम्झन्छन् । रोल्पाका मोहितको फेसबुक स्टाटस भन्छ, ‘म रोटीका लागि भौँतारिरहेको छु । बालबच्चा बोकेर आज सहर पसेको छु र यतै हराएको छु । म तपाईंहरूको प्रिय मित्र हुँ भने चौकीदारको जागिर खोजेर सहयोग गर्नुस् न । फेरि दशकौँ सडकमा नाचोस् र भिखारी बनेर सबैको अन्त्य होस् भन्ने चाहनुहुन्छ भने मलाई तपाईंहरूदेखि डर लाग्छ ।’

 

सुप्रिम कमान्डर दुईपटक र बाबुराम भट्टराई एकपटक बालुवाटारवासी हुँदासमेत मोहितको ‘बाडुली’ नलाग्ने तर सडकमा गीत गाउन ‘सम्झे’पछि यस्तो स्टाटस लेखेका हुन् । ‘कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन’ गाउने यिनै मोहित त हुन् । सायद जनयुद्धकालमा सबभन्दा बढी सुनिएको र गाइएको गीत हो यो । 

 

मोहितको स्टाटसमाथि पूर्वमाओवादी कलाकार र जनमुक्ति सेनाका प्रतिक्रिया लहर चल्दा पूर्वमाओवादी सुप्रिमो केपी ओली छाडेर माधव नेपालकहाँ छन् त बाबुराम भट्टराई उपेन्द्र यादवकहाँ । सुप्रिमोसहित दुई÷चारजना नेता ‘राजा/राणा’ जिन्दगीरत छन् । गैरसंसदीय कम्युनिस्ट भाषामा भन्ने हो भने, तिनका ‘व्यक्तिगत जिन्दगी’मा ‘साम्यवाद’ सवार छ । उनै सुप्रिमोपछिका दोस्रो नम्बरवाल मोहन वैद्य किरण भने ‘क्रान्तिकारी माओवादी’मा ओत लागेर टोलाउँदै छन् । जनयुद्धको उत्तराद्र्धतिर माओवादी आधारभूमि रोल्पामा सुप्रिमोले आफ्नो साथमा बसालेका नेत्रविक्रम चन्द विप्लव ‘वनवासी’ बनाइएका छन् । विप्लवले ‘अलपत्र क्रान्तिको झन्डा उठाउँछु’ उच्चारण गरेपछि उनका आफ्नै पूर्वसुप्रिमो ओलीकहाँ छँदै सरकारले वनवास पठाएको हो ।

 

माओवादी आन्दोलन ‘ट्रेजेडी’मा टुंगिएपछि स्वाभाविक रूपमा माओवादी पार्टी पनि विभिन्न टुक्रामा टुक्रिएको छ । जनयुद्ध २५ वर्षमा लाग्दा, माओवादी आन्दोलनको लहरमा लहरिएको अन्तर्जातीय बिहे भत्केका मात्रै छैनन्, कतिपय त ‘प्रतिगमन’ नै भएको छ । आफ्नै जातमा फर्कने प्रतिगमन । ‘प्रतिगमन’ देखेर समतामूलक समाज सजाउन आतुर तपाईंको मन मरक्क मर्किए पनि अहिल्यै नआत्तिऔँ । कारण हो, तपाईंको मन राख्न नै सही, सहारा–आदित्य अनि सम्झना–सविनहरूका अन्तर्जातीय बिहे बाँचेका छन् ।

from nayapatrika

No comments:

Post a Comment