Saturday, September 18, 2021

माधव नेपालको पार्टीले गरिखाला?

 

नवीन विभास 

२०७८ असोज १ गते १७:२८
माधव नेपालको पार्टीले गरिखाला?
फाइल तस्वीर
माधव नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को पार्टी मुख्यालय राजधानीस्थित मीनभवनमा खुल्यो।
अध्यक्ष नेपालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै आफ्नो दल नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदाएको दाबी गरे। भने, ‘नयाँ आशा र विश्वास जनमानसमा सृष्टि गर्नेछ। सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ।’ आफ्नो दलले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्ने तर्क पनि गरे।
नेता नेपालले दाबी गरेजस्तै साँच्चै नयाँ दल ताराजस्तै चम्केला त ?

सोम सम्धी सन्दर्भ

पाल्पा सदरमुकाम तानसेन छिमेकी मदनपोखराका हुन्, नेता तथा सांसद सोमप्रसाद पाण्डे। पूर्वमन्त्री पाण्डे पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालका सम्धी पनि हुन्। सम्धी हात भने नेता नेपाल नेतृत्व दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने लिस्टमा सही गर्न थरर्र काँप्यो। सम्धी साइनो सनासोले समातेर होला, सनाखत गर्न भने आयोग पुगे।
पाण्डे पाल्पा क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित संघीय संसद्का सांसद हुन्। जुन जिल्लाको स्थानीय तहको १० मध्ये छ एमाले जित्यो। जित्ने जति ओली पोल्टामा छन्।
“म पाल्पाबाट पाँच पटक एउटै चुनाव क्षेत्रबाट लडेको मान्छे हुँ। जितिराखेको छु। एक्लै जित्छु ? हिजो पार्टी थियो। कार्यकर्ताको एकता थियो। त्यसैले पो जितेको हो त,” एउटा टेलिभिजन शोमा पाण्डेले भन्दै थिए।
विश्लेषक झलक सुवेदीको ठम्याइमा सोमप्रसाद पाण्डेको अन्योलका दुई कारण छन्। “एक, पार्टीभित्र सुरक्षा। अर्को चुनावमा टिकट पाएर पनि जित्नुपर्ने सुरक्षा”, सुवेदी भन्छन्।
सम्धी नेतृत्व दलमा जान सम्धी नै अलमलिएपछि अरू किन नअलमलिऊन्। अलमलिनेमध्ये थिए, नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशी।  नेपाल खेमाबाटै निर्वाचन जितेका जोशी लामो समयसम्म दोधारमा परे।
जोशीले भनेका थिए, “नेता र कार्यकर्ताले आफ्नो राजनीतिक सुरक्षा खोज्नु स्वाभाविक हो। सुरक्षाका कारण नै नयाँ दलमा जाने कि पुरानोमा रहने ? दुविधा छ। मेरो हकमा एमालेमा जाँदा मैले लोकतान्त्रिक स्पेस पाउँछु, पाउँदिनँ भन्नेले दुबिधा बढाएको हो। पुरानै शैली रहे त गाह्रो छ नि।”
विगतमा विभाजित भएर गएका दल पनि पुरानै पार्टी मिल्न आएका अनुभवहरूले पनि आफू अलमलमा परेको उनले बताएका थिए।
“ओलीसँग जान चाहेको त होइन तर नयाँ दलको भविष्य के हुन्छ ? भनेर पनि अलि समय हेरिरहेको छु”, जोशीले भने।
सम्धी नेतृत्व दलमा जान सम्धी नै अलमलिएपछि अरू किन नअलमलिउन्। अलमलिनेमध्ये थिए, डडेलधुराका सांसद डा. तारा जोशी पनि।

गरिखाला त ?

नेपालको पहाडी समाजमा कसैले नयाँ घरजम सुरु गरे उसको क्षमताबारे चर्चा गर्ने क्रममा भनिन्छ– ‘फलानोले गरिखाला त ?’
घर, परिवार र व्यक्तिको चालचलन, आनीबानी, विचार र विगतको विविध आयामबाट समीक्षा हुन्छ। हिजो के गरेको थियो ? आज के गरिरहेको छ ? भन्ने आंकलनबाट उसको नयाँ भविष्यको अनुमान गरिन्छ।
त्यस क्रममा घरमूलीको पनि समीक्षा हुन्थ्यो। ‘फलानोले घर मिलाउन जानेन। जान्दो हो त किन मानो माग्दो हो’ भन्दै घरमूली नेतृत्व क्षमतामाथि प्रश्न गरिन्छ।
ठिक त्यसरी नै सोध्न थालिएको छ, ‘माधव नेपाल नेतृत्वको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गरी खाला ?’
यस विषयमा मन्थन गर्नुअघि नेपाली राजनीतिक दलका निकट–विगत नियालौँ।
२००७ को आन्दोलनले नेपाली कांग्रेस स्थापित भयो भने २०४६ को आन्दोलनले एमाले। २०१५ को चुनावको चार सिट जितेको नेपाल कम्युनिस्ट पार्टी ०४८ सालको निर्वाचनसम्म आइपुग्दा अनेकौँ घटकमा विभाजित भए पनि ६९ वटा निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भएको थियो। जसमध्ये नौ सिट जितेर संयुक्त जनमोर्चा नेपाल तेस्रो दल बनेको थियो।
१० वर्षसम्म जारी माओवादी सशस्त्र संघर्षले माओवादी पार्टी स्थापित भयो भने संघर्षपूर्ण मधेस आन्दोलनले मधेसवादी दल। यसरी नेपालमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल कठोरपूर्ण आन्दोलनबाट नै उदाएको इतिहास छ।
तर यही बिचमा पनि विभाजित भएर बनेका नयाँ दललाई स्थापित हुन अप्ठेरो। २०५४ सालमा नेकपा (एमाले) बाट विभाजन भएर नेकपा (माले) बनाएका बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनमा एउटा पनि सिट जित्न नसकेपछि माउ पार्टीमै फर्किएका थिए। नेपाली कांग्रेसबाट विभाजित भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका शेरबहादुर देउवा पनि माउ पार्टीमै फर्किए। फुटेका राप्रपा र मधेसवादी दलको नियति पनि उस्तै रह्यो। उनीहरु जति चिरा परे पनि अन्ततः मूल पार्टीमा मिल्न आइपुगेका छन्।
“खासमा नेपाल र ओलीबीच के फरक छ र ? हेर्दाखेरि नेपाल शालीन छन् भने ओली निरङ्कुश चरित्रको। बाँकी सब एउटै हो।”
डा. जोशी भन्छन्, “हत्तपत्त नयाँ संगठनलाई विश्वास गर्दैनन्। समर्थक, मतदातालाई सैद्धान्तिक आधार त्यति मतलब हुँदैन। नाम र चुनाव चिन्हलाई नै पार्टी र परिचयको रुपमा लिएका हुन्छन्। पार्टी चिन्हलाई परिचयको रुपमा ग्रहण गरेका हुन्छन्। अहिले हेर्दा धेरै त झगडा गरेको घटना पनि छन्। परिचयकै कारणले त लडाइँ भएको हो नि। हो, मतदाताको त्यो इमोसनलाई बाहिर निकालेर नयाँ दलमा लानु धेरै गाह्रो कुरा हो। सूर्य चिन्हलाई नै पार्टी बनाएकालाई त नयाँ दलमा लाग्न गाह्रो छ।”
शंका भोटमा मात्र छैन। आम कार्यकर्ता तहमा ओली र नेपाल दुवैलाई हेर्ने दृष्टिकोण एउटै छ। दुवैको पार्टी शासन भोगेका एक एमाले कार्यकर्ता नाम नखुलाई दिने आग्रह गर्दै भन्छन्, “खासमा नेपाल र ओलीबीच के फरक छ र ? हेर्दाखेरि नेपाल शालीन छन् भने ओली निरङ्कुश चरित्रको। बाँकी सब एउटै हो।”

ओलीप्रति आक्रोश जुटाउने प्रयास

निर्वाचन आयोगमा आफ्नो दल दर्ता भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओलीपीडित एमाले नेता÷कार्यकर्तालाई आफ्नो दलमा समाहित हुन आह्वान गरे, “एमालेमा पीडित भएका मेचीदेखि महाकाली, तराईदेखि हिमालसम्मको ठुलो पंक्तिले ओलीबाट विद्रोह गरेको छ।”
यसरी नयाँ दल बनाउनुको औचित्य पुष्टि गर्न पनि खोजे। उनले त कम्युनिस्ट आन्दोलन पुनर्गठनको अभियानसँगसमेत आफ्नो दल बनेको भनेर जिकिर पनि गरे, “कम्युनिस्ट पार्टी गठन अभियानकै सन्दर्भमा नयाँ पार्टी बनाएको हो। नेपाल कम्युनिस्ट पार्टी छाड्दैनौँ। नेपालमा कम्युनिस्ट पार्टी र आन्दोलन लोकप्रिय छ। नेपालमा जनताले जीवन समर्पण गरेका छन्। त्यसैले कम्युनिस्ट पार्टी नाम छाड्न सक्दैनौँ।”
थप, नेपाल नेतृत्व दलको देशभर संगठन छ। नेकपा र नेकपा (एमाले)मा हुँदा नै अभ्यास गरेको समानान्तर संगठन नै देशभर छ। त्यसैले जिल्लाहरूमा संगठन पनि छ।
एक राजनीतिक विश्लेषकका अनुसार, “देशभरको यो संगठन जित्न नसक्ला तर ओली एमाले हराउन काफी हो। प्रत्यक्ष जित्न अन्य दलसँग तालमेल गर्नैपरे पनि यो नयाँ दलसँग समानुपातिक सांसद सुनिश्चितता छ।”
जनमनमा नेपालप्रति आस देखिन्न। पहिल्यै परीक्षित नेता नेपालले अब नयाँ केही गर्लान् भन्ने आशा कतै पनि देखिन्न।

छैन आशा

चुनाव चिन्ह र नामबाट अलि अघि बढेर दलको समर्थन वा विरोध गर्नेहरूले सैद्धान्तिक आधार पहिल्याउन खोज्छन्।  प्रश्न हो, अहिले ओली एमाले र नेपालको समाजवादीको सैद्धान्तिक फरक खोज्ने हो। एमाले उभिएको भन्दा कहाँ फरक जमिनमा उभिएको छ ? के फरक छ त ? वैचारिक हिसाबले किन नयाँ दल बनेको हो ?  सैद्धान्तिक आधार हेर्दा दुवै पार्टी एकै देखिन्छन्।
त्यस्तै नेतृत्व पनि अर्को चासोको विषय हो। माधवकुमार नेपाल १५ वर्ष एमालेको नेतृत्वमा रहे। प्रधानमन्त्री पनि भए। उनको पार्टी र सरकार नेतृत्व हुँदा नेपाली जनताले के पाए ? पार्टीका इमानदार कार्यकर्ता र शुभचिन्तकले के पाए ? नेपाल नेतृत्वको पार्टी र सरकारले नेपाललाई के दियो ? सर्वसाधारणले समेत सम्झने चिज के होलान् ? तिनका मनमा अब माधव नेपालले नयाँ दलले के गर्ला ? उनको नेतृत्वले के चमत्कार गर्ला ?  जनमनमा नेपालप्रति आस देखिन्न। पहिल्यै परीक्षित नेता नेपालले अब नयाँ केही गर्लान् भन्ने आशा कतै पनि देखिन्न।
एमालेको पछिल्लो महाधिवेशनमा ओलीसँग नेपालले अध्यक्ष पदको प्रतिस्पर्धामा हारेका थिए। पार्टीभित्रको भागबन्डामा पनि ओली पक्षमा ५५ र नेपाल ४५ देखियो। उनले त्यही ४५ पनि जोगाएको देखिएन। जति बच्यो, टिकाउने र परिचालन गर्ने टिम देखिन्न। कार्यकर्तासम्म पुग्ने र जनता र पार्टीलाई जोड्ने विभिन्न अवयवहरू प्रस्ट देखिन्नन्। अहिले जति छ, भएको संगठन हाँक्न सक्ने टिम देखिन्न। तल र माथि जोड्ने पुल देखिन्न। नेतृत्व छ तर त्यसको कुरा तल लाने जनाधारयुक्त नेता देखिन्नन्।
एमालेमा लामो समय काम गरेका एकथरी नेता र कार्यकर्ता भन्छन्, ‘जिन्दगीको उत्तरार्द्धमा नयाँ पार्टी बनाएर के गरी खालान् ? भूगोलमा जनमत भएको मानिस छैन। राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने मानिस छैन। राजनीतिमा नाटकीय रोल खेल्न सक्लान् भन्ने भरोसा नै छैन। पार्टी छ र नेता छन् भन्ने त होला। अरू त के होला र।’
ओलीप्रति खुलेरै असन्तुष्टि व्यक्त गर्ने एमालेकी युवा नेता उषाकिरण तिम्सिना भन्छिन्, ‘सन्तान सबलांग वा विकलांग जन्म्यो भन्ने होला। यो (नेपाल नेतृत्वको पार्टी) त जन्मँदै विकलांग छ। गरी खाला भन्ने विश्वास छैन। २०३२ सालमा पार्टी खुल्दा पनि अध्यक्ष माधव नेपाल र झन्डै पाँच दशकपछि ७८ सालमा पनि उनै त कसरी हुन सक्छ ? विरोध गर्दा ओलीको भन्छन्। हेर्नुस् त, पार्टी समावेशी छैन। युवा छैनन्। ओलीलाई गाली गर्ने मात्र भएर हुन्छ र ? ”
गफ होइन, हामीले काम गरेर देखाउँछौँ। भोलि देख्नुहोला। हामी त समाजवादको यात्रामा निक्लिसक्यौँ नि।
उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘ओली अपराधी हुन्, माधव नेपाल कमजोर।’ तिम्सिनाका अनुसार त माधव नेपालले जिन्दगीमा जे जे कमजोरी गरे, त्यही कमजोरी नयाँ पार्टी खोल्दासमेत दोहोर्‍याए। अष्टलक्ष्मी शाक्य, घनश्याम भुसालजस्ता किन नयाँ दलमा लागेनन् ? यसको अलिकति पनि समीक्षा नगरेको तिम्सिनाको गुनासो छ।
“तल रामकुमारी झाँक्री देखिए पनि नीति बनाउनेतिर त बेदुराम भुसाल र माधव नेपाल नै छन्। जसले नयाँ कुरा के दिन सक्छन् ?,” राजनीतिक विश्लेषक झलक सुवेदीको प्रश्न छ।
“लेफ्ट स्पेस त खाली न छ। दाहाल नेपालले खुकुलो मोर्चा बनाएर गए पनि नेपालको राजनीति राम्रै देखिन्छ,” सुवेदी भन्छन्, “अलिकति मात्र पनि देब्रे ढल्के भने गरी खाने वर्ग र विविधता समाउला। नत्र त भाइ एमाले बन्ने हो। वाम ग्राउन्डमा एउटा गोडाले मात्र टेकेर उभिन सके नि यो पो हो वाम त भनेर मान्नुपर्न अवस्था छ।”
नेता वेदराम भुसाल भने नयाँ दलले के गरी खाला भन्नेहरूलाई गरी खाएर देखाउने दाबी गर्छन्। भुसाल भन्छन्, “गफ होइन, हामीले काम गरेर देखाउँछौँ। भोलि देख्नुहोला। हामी त समाजवादको यात्रामा निक्लिसक्यौँ नि। एमाले पुँजीवादबाटै मुक्त हुन सकेन। यही त हो, एमाले र हाम्रो दलबिचको आधारभूत भिन्नता।”
from Nepalviews

1 comment: