२१ फागुन, २०६७।
शनिबार मध्याह्न।
झापाको भद्रपुर विमानस्थलमा रुक्स्याक झोला बोकेको एउटा समूह टोलाएर बसिरहेको छ। समूहमा केही तन्नेरी छन्। केही बालक छन्। केही अधवैंसे र केही बूढाबूढी। घरबाट विदावारी भएर हिँडेका हुन् ती, टाढैको साइत पारेर। दसैंमा जस्तो निधारभरि रातो अक्षता लगाएका छन् कतिले। केहीले मालाधरी भिरेका छन्, भाइटिकाको झझल्को दिनेगरी।
समूहमा सबभन्दा अगाडि छन्, ह्विलचेयरमा बसेकी वृद्ध महिला। उनी फेरि कहिल्यै यो धर्ती टेक्न नपाइएला र कहिल्यै यो परिवेश देख्न नपाइएला जस्तोगरी घरि यता पुलुक्क हेर्छिन्, घरि उता। एकछिन आफ्नै पछिल्तिर लामबद्ध सन्तानहरूलाई नियाल्छिन्, अनि फेरि एकछिन विमानस्थलमा यताउति दगुरिरहेका अनुहारहरूलाई।