Wednesday, March 9, 2011

बाबुरामसँग पन्ध्रदिने सम्झना

झेम्नेटा, थबाङ (रोल्पा)
सानो दुईतले घर। जता हेर्‍यो चर्किएको, मक्किएको र धस्सिएको भित्तोमात्र देखिन्छ। लामो समयदेखि यहाँ कसैको बास छैन। घरसँगै जोडिएको सुंगुर खोर पनि रित्तो छ। आलु रोप्न पानी पर्खेको बाँझो बारी घर अघिल्तिर र पछिल्तिर लम्पसार छ।
 माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईलाई राखिएको झेम्नेटास्थित समुद्रको घर

यो त्यही घर हो, जहाँ माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई पार्टीभित्र कारबाहीमा परेका बेला पत्नी हिसिला यमीसहित राखिएको थियो।
त्यसअघि पनि रित्तै थियो रे यो घर, अहिलेजस्तै।
'हिउँदतिर आउनुभएको थियो उहाँहरू,' स्थानीय माओवादी नेता वरप्रसाद घर्ती मगरकी पत्नी पाहुनीले बाबुराम र हिसिलाको बसाइ सम्झँदै भनिन्, '१५ दिनजति बस्नुभयो। त्यसपछि अन्तै लगे।'
राजासँग मिलेर भारतविरुद्ध लड्ने कि संसदवादी दलसँग मिलेर राजाविरुद्ध आन्दोलन गर्ने भन्ने पार्टीभित्रको विवादमा भट्टराईले पछिल्लो लाइन लिएका थिए। रोल्पाको थबाङ र रुकुमको महतको सीमाक्षेत्रमा रहेको गाउँ लाबाङ बैठकले भट्टराईलाई चार बुँदे र १३ बुँदे असहमति राखेकोमा 'अनुशासन कारबाही' गरेको थियो। यमीमाथि भट्टराईलाई उक्साएको भन्दै कारबाही गरिएको थियो।
चुनवाङ बैठकले बाबुरामकै लाइन पारित गर्दै उनीहरूमाथिको कारबाही फुकुवा गर्‍यो।
...

'आइपुगियो, हाम्रो चिङकाङसान (चिनियाँ पहाडको नाम)।'
माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसी झेम्नेटाको नेटैमा बनेको बिसौनीमा थचक्क बसे। बाटो देखाउँदै आएका स्थानीय नेता 'लोकल कमरेड' वरप्रसाद घर्ती मगर द्वन्द्वताका झेम्नेटा लेक वरपर सेनापुलिससित खेलेको लुकामारी र अध्यक्ष पुष्पकमल दाहाललाई यताउता लैजाँदाका कथा सुनाउन थाले। थबाङ यात्रा सुरु भएपछि सजिलै उकालो चढ्नेलाई 'लोकल कमरेड' र राजधानी वा सहरमा बसेर उकालो हिँड्न नसक्नेलाई 'ब्रोइलर कमरेड' भन्ने गरिन्छ।
बिसौनीमा पुगेपछि माओवादीले द्वन्द्वताका चलाएको 'जनगणतन्त्र रेडियो' स्टेसन राखिएको ठाउँ पुग्न अब दुई घन्टा उकालिनुपर्ने जानकारी गराउँदै केसीले बायाँ हातको चोर औंला तेर्स्याए, 'ऊ मा...थि हो।'
त्यतिखेरसम्म छेउछाउकै मान्छेसमेत ठम्याउन गाह्रो पर्लाजस्तो झमक्क रात परिसकेको थियो।
झेम्नेटाको गुरुङ बस्तीमा पाइला हाल्नेबित्तिकै वरप्रसादको घर पुगियो। द्वन्द्वकालमा कुलप्रसादले यहीँ सेल्टर लिएका रहेछन्। मकै र भटमास भुटेको खाजा र उसिनेको आलु मुखमा घान हाल्दै सँगै आइपुगेको टोली तीनतिर बाँडियो।
म भने केही साथीहरूसित एकजना पूर्व भारतीय सैनिक शुभ गुरुङ, ६५, (गाउँमा 'लाहुरेबा'का नामले चिनिन्छन्) को घरतिर लागेँ। ती लाहुरेबा वरप्रसादका जेठान रहेछन्।
हामी पुग्दा फापरको रोटी पाक्दै थियो। घरबेटी आमैले पिसेको नुन र टिमुरसित रोटी दिइन्। लाहुरेबाले गाउँदेखि पारि जंगलमा 'जनमुक्ति सेना'ले तालिम गरेको र त्यसको केही समयपछि नेपाली सेना हुरहुर्ती आएको आँखैले देखेको कथा सुनाए। अनि के सम्झे कुन्नि, प्रसंगबिनै प्वाक्क भने, 'बाबुराम पनि यै गाउँमा बसेका हुन् नि।'
'ए हो र!' हाम्रा कान चनाखा भए।
'कमरेडहरू (बाबुराम र हिसिला) ले टिनको बाकस यहीँ ल्याएर राख्नुभएको थियोे,' लाहुरेबाले भने।
'के थियो त बाकसमा?' साथीहरूका जिब्रो पनि चलाख भए।
'खोल्या भए पो थाहा हुन्थ्यो त,' उनले भने।
हामी खिसि्रक्क पर्‍यौं।
'एक थान टिनको कुर्सी र केही किताब पनि थिए। १५ दिनपछि कमरेडहरूलाई अर्को गाउँ सारियो,' उनले सुनाए, 'गाउँ सारेको एक साता जतिपछि त्यो बाकस पनि लिएर गए।'
बाबुरामका सामान लिन आउनुअघि यही गाउँबाट चारपाँचजना रातिराति मिरुलको लाटाबाङ गएको उनले सम्झे।
...

'कुनचाहिँ घर हो, बाबुराम कमरेडलाई राखिएको?'
लाहुरेबासँग अघिल्लो रात भएको कुराकानी सुनाउँदै बिहानै वरप्रसादलाई हामीले सोध्यौं।
'ऊ त्यै घर हो,' यताउति हेर्दै उनले भने।
उनको घरबाट सय मिटरजति मात्र टाढा रहेछ त्यो घर। उही सानो दुईतले घर। जता हेर्‍यो चर्किएको, मक्किएको र धस्सिएको भित्तोमात्र देखिने।
बाबुराम र हिसिलालाई कारबाही गरी राखिएको त्यो घर स्थानीय समुद्र बुढा मगरको रहेछ। समुद्र त्यसबेला माओवादी लडाकुमा सामेल थिए। अहिलेे रोजगारका लागि अरब गएका छन्।
बाबुरामको प्रसंग चलिरहेका बेला दुईजना स्थानीय माओवादी कार्यकर्ता आइपुगे। 'उहाँ ईश्वर गुरुङ, बाबुराम कमरेडको खानपिनको व्यवस्थापन उहाँले नै गर्नुभएको थियो,' वरप्रसादले एक अधवैंसे कार्यकर्तासँग चिनजान गराउँदै भने।
ईश्वरले बाबुरामलाई हतियार भिरेका लडाकुका साथमा कहिल्यै नदेखेको बताए। 'डाक्टरजी भाग्लान् कि भन्ने नजर त हुन्थ्यो होला। तर, हतियार बोकेका जनमुक्ति सेना घरको भित्रबाहिर कतै देखिनँ,' बाबुरामलाई 'डाक्टरजी' भन्दै उनी विगततिर फर्किए।
 बायाँबाट क्रमशः पाहुनी, कमरेड इन्कार (वरप्रसाद घर्ती मगर) र माओवादी नेता कमरेड कुलप्रसाद केसी 'सोनाम' 
 


उनका अनुसार बाबुरामलाई राखिएको छेउछाउका घरमा १०/१२ लडाकु थिए। त्यसमध्ये एकजना महिला औषधिमूलो गर्ने डाक्टर थिइन्। बाबुरामले गाउँले भेला पारेर सामूहिक कुराकानी गरेको उनले कहिल्यै देखेनन्। व्यवस्थापनका बाहेक अन्य नेताकार्यकर्तासित भेटेको र भेटको चाँजोपाँजो मिलाएको पनि उनले देखेनन्।
एकदिन भने गाउँका सबै पार्टी सदस्यलाई बाबुरामकहाँ जाने भन्ने खबर आएछ। 'खबर आएपछि हामी गयौं,' बाबुरामलाई राखिएको घरको छेवैमा रहेका चोयाको झाङतिर ढुंगा फाल्दै ईश्वरले भने, 'गएको त हिसिलाले आज बाबुराम बिजी छ फर्के हुन्छ भनेपछि फरक्क फर्कियौैं।'
कुराकानी एकछिन रोकेर हामी घरभित्र छिर्‍यौं।
मुलढोकामा ताल्चा थिएन। उनी साङ्लो खोलेर भित्र पसे। एकछिन यताउति हेरेर भने, 'डाक्टरजी यहीँ भित्र हिसिलाजीसित बस्नुभयो। एउटा सानो खाटमा बिस्तरा लगाइदिएका थियौं।'
त्यतिखेर खानपिनको व्यवस्थापनमा खटिएका ईश्वर पार्टीको सबभन्दा तल्लो निकाय सेल कमिटीका सेक्रेटरी थिए। बाबुरामका लागि खाना पकाउने जिम्मा मिरुल गाउँकी एक महिला लडाकुलाई दिइएको थियो। बस्ने घरभन्दा पल्लोमा खाना पाक्थ्यो।
बाबुराम जहिल्यै कागजपत्र र किताबको बीचमा रहने गरेको ईश्वरले सुनाए। 'डाक्टरजी कोठामै बसिरहनुहुन्थ्यो। कागजपत्रबाहेक अरू सामान देखिनँ,' उनले भने।
१५ दिन सँगसँगै रहँदा उनलाई बाबुराम नेताजस्तै लागेन रे। आफूजस्तै सामान्य। अनुहारमा कारबाहीमा परेको छनक पनि उनले कहिल्यै देखेनन्।
'डाक्टरजीले आफ्नै दाजुभाइसँग जस्तो व्यवहार गर्नुहन्थ्यो। हाँसीहाँसी बोल्ने डाक्टरजीको अनुहार र व्यवहारमा 'कारबाहीमा परेको' छनक कहिल्यै देखिनँ,' बाबुरामको सरल जीवनशैलीको प्रशंसा गर्दै उनले भने, 'नेताजस्तो त लाग्दै लागेन, हामीजस्तै सामान्य मान्छे लाग्यो।'
उनले पार्टीका कमरेडहरूबाट कारबाहीको जानकारी पाएका थिए। उनलाई कहिलेकाहीँ लाग्थ्यो रे, 'यस्ता मान्छेले अनुशासन मानेनन् होला र?'
एकदिन दिउँसो उनलाई बाबुरामले सोधेछन्, 'यसअघि मलाई देख्नुभएको थियो?'
उनले जवाफ दिएछन्, 'वार्ताकालमा टिभीमा देखेको थिएँ। त्यसैले सजिलै चिनेँ।'
त्यसपछि बाबुराम मज्जाले हाँसेछन्। र, भनेछन्, 'पत्रिकामा छापिएको फोटोले त त्यति फरक पार्दैन। तर टिभीमा दुरुस्तै देखिने हुनाले अप्ठेरो पर्छ।' भूमिगत अवस्थामा धेरैले चिन्दा अप्ठेरो परेको बाबुरामको भनाइ उनले सम्झे।
थबाङ गाविसको सात नम्बर वडामा रहेको झेम्नेटामा राखिएपछि उनलाई त्यसै वडाको अर्को गाउँ कन्धेमा सारिएको उनले जानकारी दिए। झेम्नेटाबाट कन्धे गाउँमा अड्डासार गर्दाको सम्झना गर्दै उनले भने, 'अघिअघि जनमुक्ति सेनाको लाम थियो, बीचमा उहाँ।'
बाबुराम घरभित्रबाट बाहिर निस्केको पाहुनीलाई पनि याद छैन। हिसिला भने गाउँका महिलासँग गफ गर्थिन्। तिनका सुखदुःखमा सहभागी हुन खोज्थिन्। हिसिला प्रायः कुर्ता सुरुवालमा हुन्थिन्।
'हामी त लाज मान्थिम् नेपाली बोल्न। नेपाली हामीलाई बोल्न आउँदैन,' हिसिलासँग बिताएका दिन सम्झँदै पाहुनीले भनिन्, 'तर हिसिलाले भन्थिन्, लाज त मलाई पो लाग्नुपर्ने। यति धेरै यहाँ बसेर पनि खाम भाषा बोल्न आउँदैन।'
पाहुनीले धेरैपछि मात्र मेलापात जाँदा साथीसंगीहरूको खासखुसबाट बाबुराम र हिसिला भनेर चिनेकी थिइन्। संयोग कस्तो भने, त्यसबीच सेना पुलिस आएनछ। बाबुराम अर्थमन्त्री र हिसिला भौतिक, योजना र पर्यटन मन्त्री भएको उनलाई थाहा छैन। उनलाई पुष्पकमल दाहाल प्रधानमन्त्री भएकोचाहिँ जानकारी छ।
'पार्टी कार्यकर्तालाई त थाहा हुने कुरा भइहाल्यो तर सर्वसाधारणलाई बाबुराम र हिसिला भन्ने जानकारी नै थिएन। उनीहरू गएपछि मात्र ए भनेर थाहा पाए कतिले!' वरप्रसादले भने, 'उहाँहरूको सुरक्षाकै कारण त्यसो गरिएको थियो।
 कमरेड जादू (ईश्वर गुरुङ) कारबाहीलगत्तैका केही दिन सँगसँगै बसेका रोल्पा राङ्कोटका मोहवीर बिकले लावाङ बैठकपछिका बाबुरामलाई सम्भि्कए। उनी अध्यक्ष दाहालका लागि खानपिनको व्यवस्था गर्थे।
'पेस्तोल, स्याटलाइट फोन सेकुरिटीले खोसे,' उनले भने, '२/३ दिन त उहाँ लाबाङमै बस्नुभयो। त्यसपछि कहाँ लगियो, के गरियो थाहा छैन।'
कारबाहीपछि अध्यक्ष दाहालसित उनको भेट भएनभएको उनलाई याद छैन। तर कारबाहीको केही दिनमै अध्यक्ष दाहाल मण्डलीमा एउटा हल्ला चल्यो रे — 'बाबुरामले भारतमा फोन गरे रे। त्यसको अनुसन्धान गर्नुपर्‍यो। फोन सेट कहाँबाट उनीकहाँ आयो? यसले पार्टीभित्र खैलाबैला मच्चियो।'
त्यसपछि के भयो, उनलाई थाहा छैन।
...

'नेताहरू मन्तरीसन्तरी भए पनि हाम्रा दिन फेरिएनन्,' पाहुनीले भनिन्, 'कारबाही परेका बाबुराम र हिसिलालाई एकपालि यै गाउँमा फेरि देख्ने मन छ।'
थबाङको फुन्टीबाङ बैठकमा भाग लिन जाँदा पत्नी सीतासहित अध्यक्ष दाहाल उनकै घरमा बसेका थिए। त्यसैले एकचोटि दाहाललाई पनि उनी भेट्न चाहन्छिन्।
टिभी र पत्रिका नभएका झेम्नेटामा उनीहरूले सोधे, 'बाबुरामको दारी, जुँगा उस्तै छ? मोटाएका छन् कि उस्तै दुब्ला?'
'फोन नम्बर त छैन। माया त लाग्छ, सँगसँगै बसेको। कस्ता भए होलान्? मोटाएका होलान् या दुब्लाएका,' टिभी र पत्रिका नपुग्ने झेम्नेटामा बाबुराम र हिसिलाको पुरानै अनुहार उनेर बसेकी पाहुनीले अनकनाउँदै भनिन्, 'एकपालि यो गाउँमा पाइला फर्काउन भन्दिनू है प्रचन्न र बाबुरामलई।'
नेताबारे थोरबहुत जानकारी राखेका ईश्वरले सोधे, 'हाम्रा नेता पनि काठमाडौं गएपछि फेरिए भन्छन्। डाक्टरजी अचेल पनि दाल, भात, साग र रोटी खानुहुन्छ कि?'
काठमाडौं गएपछि आफूलाई चिन्छन् या चिन्दैनन्, उनी पनि दुविधामा छन्। वस्तुभाउका लागि घाँस काट्न वन जान तयार उनले हँसिया र बर्रे उठाउँदै भने, 'डाक्टरजीले भुलिसक्नुभयो होला।'
राजधानी पसेपछि झेम्नेटा न दाहाल फर्केका छन्, न त बाबुराम। उनीहरूले  पाहुनी र ईश्वरका कुरा सुन्नेछन् र एकपालि भए पनि गाउँ जानेछन् भन्ने कुरा तपसिलमै छ। तर विदावारीपछि कुनै जरुरी चिज छुटेजसरी पाहुनीले भनिन्, 'भन्दिनू है, उताबाट माया मारे पनि यताबाट हामीले माया मारेका छैनम्।'

5 comments:

  1. सारै लामो रछ। पछि पढेर कमेन्छ गरुँला है हटारु दाजु।

    ReplyDelete
  2. Saral Sunsar
    nice 0ne

    ReplyDelete
  3. Aruna Rayamajhi
    I like Nabin sir

    ReplyDelete
  4. Suraj Pun
    hello
    bro so nice realy thanx bro
    ahile baburam ra parchand ji le ti din haru lai yad garnu parchha all ways

    ReplyDelete
  5. Jp Anjan
    khai yad gare pani kehi garlan jasto chhaina...everybody going to hopelesss now a days.
    17 hours ago · Like

    ReplyDelete