नवीन विभास
२०७६ चैत २९ शनिबार ०९:५६:००
नवीन विभास
भन्छन्, विश्वको आधा जनसंख्या लकडाउनमा छ । खस नेपालीमा बन्दाबन्दीभन्दा कोरानावास पो सही हुन्छ कि ! कोरोनावास अर्थात् काराबास । फरक यत्ति हो, यो कोरोनावासमा बन्दुक बोकेका पुलिसको बदला कोरोना छ । कोरोनावास निहुँमा पारेर देशको सत्ता ‘करप्सन’लीन छ भने निम्न आयवाल मजदुर, गरिब, सुकुमबासी बस्तीका ‘सक्कली सुकुमबासी’ कोरोना कहरमा । विपन्न वर्ग एकसाथ दुई लडाइँरत छ–
एक, कोरोनासँग ।
दुई, भोकसँग ।
कोरोनाविरुद्ध लडाइँ जित्छन् या हार्छन् ? भन्न सकिन्न । तर, विपन्नका लागि कुनै राहत प्याकेजविनै थपिने कोरोनावासमा भोकविरुद्ध लडाइँ ?


फागुन पहिलो साता । घोराहीको सामान्य सिलाइ पसल । कुनै याममा फाटेको मान्छे मन सिलाउन ‘जनयुद्ध–आँधी’मा बत्तिएकी एउटी युवती कलमा कुर्ता सिलाइरहेकी छिन् । पाँच फिट अग्ली गहुँगोरी युवती ससाना छोरी संयोजना र दीपशिखासाथ कलको सियोमा घरि तिनका स्कुले कापीकलम नाठी हाल्छिन्, त घरि अरब उडेका अरब पतिको याद । 

