सबैभन्दा खतरनाक हुन्छ
मुर्दाशान्तिले भरिनु
कुनै छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर र्फकनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु !
दलहरूबीच १५ कात्तिकमा शान्तिप्रक्रिया टुंग्याउनेगरी भएको सातबुँदे सहमतिले राजनीतिक वृत्तमा जति धेरै तरंग ल्यायो, त्योभन्दा कम तरंग ल्याएको छैन शिविरमा बसेका लडाकुहरूको मनमा । उनीहरू कसैसँग भविष्यको ठोस योजना छैन, घर र्फकन चाहनेसँग गाउँ गएर दिने जवाफ छैन । धेरैमा त हिजोको क्रान्तिको सपना के हुने भन्ने टुंगो छैन । शान्तिप्रक्रिया टुंगोमा पुगोस् भन्ने कामना उनीहरूले पनि गरेका छन् । तर, कवि पाशले भनेजस्तो त्यो खतरनाक 'मुर्दाशान्ति' हुने हो कि भन्ने शंका एकातिर छ भने अर्कोतिर समाज रूपान्तरण गर्ने सपनाहरूको 'खतरनाक' मृत्यु पो हुने हो कि भन्ने त्रास ! यस्तै चिन्तामा छन् लडाकुहरू अर्थात् माओवादी जनमुक्ति सेनाका योद्धाहरू । केन्द्रीय राजनीति उनीहरूकै नाममा भएको छ तर, उनीहरूले आफ्ना कुरा भने राख्न पाएका छैनन् ।
समाजमा गएर कसरी पुनस्र्थापन हुने, अबको जिन्दगी कसरी बिताउने, पुनस्र्थापन हुँदा आउने चार-पाँच लाख रुपैयाँले के गर्ने, भविष्य राजनीतिमा लगाउने वा अरू केही गर्ने ? यस्तै-यस्तै प्रश्न मनमा खेलाएर बसेका छन् लडाकुहरू । हरेकसँग प्रश्नै-प्रश्न छन्, उत्तर कसैसँग छैन । चेन अफ कमान्डको नाममा लडाकुहरूले कतिपय कुरामा स्वतन्त्र निर्णय लिन सकेका छैनन् । तै पनि बहसमा उनीहरू निरन्तर सहभागी छन् ।
पुनर्वर्गीकरणको दिन जतिजति नजिकिँदै छ, झन्डै पाँच वर्षदेखि शिविरमा बस्दै आएका लडाकुको मन पनि उति-उति भावुक बन्दै छ । लामो समयदेखि सामूहिक बसाइ र सैन्य फर्मेसनमा बसेका लडाकुहरू विभाजित हुनुपर्ने भएपछि भावुक बनेका छन् । कमान्डरदेखि सदस्यसम्म सबैका मनमा अनेकौँ प्रश्न उठेका छन् । तर, हाँसोखुसी छैन, एउटा दुःखद् घटनाले उत्पन्न गराएको सन्नाटाजस्तो छ शिविरमा । दुई-चारजना जम्मा भए कि दलहरूबीच भएको सहमति, आफूहरूको नाममा पार्टीहरूले गरेको राजनीति र गणतन्त्रका लागि लडे पनि उचित सम्मान नपाएको गुनासोसहितका कुरा मात्र सुनिन्छन् । विगत पाँच वर्षदेखि कष्टकर जीवन बिताएको शिविर बसाइको समीक्षा पनि भइरहेको छ अपासमा । आसैआसमा बितेका पाँच वर्षको सबै कोणबाट समीक्षा पनि भइरहेको छ ।
भावुकता कस्तोसम्म हुँदै छ भने समायोजनमा जाने लडाकुले पूर्ववत् आफ्नो कार्यतालिकाअनुसार दैनिक गतिवधि पनि गर्न छोडेका छन् । बिहानका पिटी-परेड होस् वा साँझको रोलकल शिविरका सबै लडाकु सहभागी हुन छोडेका छन् । स्वेच्छिक अवकाश वा पुनस्र्थापन रोज्न खोज्नेले नियमित कार्यतालिका पनि कायम राखेका छैनन् । 'साथीहरूको भावना कस्तो छ हेरेका छौँ, स्वेच्छिक अवकाश वा पुनस्र्थापन प्याकेजमा बाहिर जान चाहने साथीहरूलाई हामीले दैनिक रुटिङमा आउनुपर्छ पनि भनेका छैनौँ,' माओवादी सेनाको चौथो डिभिजनअन्तर्गत कृष्णसेन स्मृति बि्रगेडकी बि्रगेड कमान्डर कमला नहर्की सपनाले भनिन्, 'अब हामी केही दबाब दिँदनौँ, स्वेच्छिक अवकाश वा पुनस्र्थापनमा जाने साथीहरू आफ्नै ढंगले सोच्दै हुनुहुन्छ ।'
शान्तिप्रक्रियालाई टुंग्याउन दलहरूले गरेको सातबुँदे सहमतिअनुसार यसै सातादेखि लडाकुहरूको पुनवर्गीकरण सुरु हुँदै छ । तर, एक साता समय नरहँदा पनि आफूले कुन क्षेत्र रोज्ने भन्ने अन्तिम निर्णय गर्न सकेका छैनन् लडाकुले । घर-परिवार, राजनीतिकर्मी र आफ्नै सहकर्मीसित परामर्श गरिरहेका छन् । कुन क्षेत्र रोज्दा आफूलाई राम्रो होला भन्ने एक-आसपमा कुरा गरिरहेका छन् । फरक-फरक पृष्ठभूमि र सोचले पुनर्वर्गीकरण प्रभावित बन्ने पक्कापक्की जस्तै देखिन्छ । 'लामो समय शिविरमा बन्धक भयौँ, अब सातबुँदे सहमतिअनुसार समायोजनका काम हुँदै छन्, समायोजनमा जाने मुडमा छैन, स्वेच्छि अवकाशमा जाने भएपछि किन दैनिक काममा जानु,' एक लडाकुले सुनाए, 'पाँच वर्ष शिविरमा तालिम गरेर नै बिते, अब पुग्यो ।' मेसमा सामान्य खाना खाइरहेकाहरूबीच पनि छलफलको एजेन्डा समायोजन, पुनस्र्थापन र स्वेच्छिक अवकाश नै बनेको देखियो ।
शिविरमा ठूलो संख्यामा श्रीमान्-श्रीमती दुवै छन् । युद्धमोर्चादेखि हरेक दुःखकष्ठमा सँगै बस्दै आएका श्रीमान्-श्रीमती पनि फरक-फरक रोजेर फरक बसाइँ गर्दै छन् । श्रीमान् समायोजनमा र श्रीमती स्वेच्छिक अवकाशमा जान चाहेका लडाकु धेरै भेटिए । पुनर्वर्गीकरणपछि समायोजन, स्वेच्छिक अवकाश वा पुनस्र्थापन प्याकेज जुनसुकै क्षेत्र रोजे पनि लडाकुहरू फरक-फरक हुनेछन् । पार्टीभित्रको अन्तरविरोधकैबीच शिविरबाट बिदाइ हुनुपर्ने दिन आएपछि लडाकुहरूले आफ्नो दैनिक कार्यतालिकासमेत फेर्न थालेका छन् । यो बि्रगेडमा ७० दम्पतीले शिविरबाहिर कोठा लिएर बसेका रहेछन् ।
हिजो मृत्यु वा मुक्ति भन्दै विद्रोहमा सामेल भएका लडाकुहरू अधुरा सपना लिएर कसरी गाउँ र्फकने भन्नेमा पनि गम्भीर देखिए । 'देशको आमूल परिवर्तन गर्न भनेर युद्धमा हिँडेको थिएँ, घर गएर के जवाफ दिने ? न जितेर गयौँ न हारेर गयाँै । सहिद, बेपत्ता परिवारलाई दिने जवाफ त हामीसँग छैन नै,' कृष्णसेन स्मृृति बि्रगेडका कमान्डर अरविन्द्र शर्माले भने, 'के गर्ने कसो गर्ने कुनै पत्तो छैन, साथीहरूसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्छु । तर, अन्योलमा परेको छु ।' हिजो नेताहरूले जे भनेर युद्धमा सामेल गराएका थिए, आजसम्म आउँदा थोरै मात्र लक्ष्य पूरा भएको ती लडाकुले बताए ।
माओवादी लडाकु रेखदेख, समायोजन र पुनस्र्थापनसम्बन्धी विशेष समितिले समायोजन र पुनस्र्थापनको समयबद्ध कार्यतालिका तयार पारिसकेको छ । कार्यतालिकाअनुसार २७ कात्तिकभित्र सर्भेक्षण टोलीलाई लडाकुको सातवटै मुख्य शिविरमा पुर्याइसक्ने, २९ र ३० कात्तिकबाट पुनर्वर्गीकरण थाल्ने र ७ मंसिरभित्र सम्पन्न गरिनेछ । टोलीले ८ मंसिरमा विशेष समितिमा प्रतिवेदन बुझाउने निर्णय छ । कस्तो प्रतिवेदन आउने हो त्यो आधार लडाकु नै हुन् । शान्तिप्रक्रिया अगाडि त बढ्ला तर लडाकुको मनमा रहेको अन्योल र भावुकता झनै बढाउनेछ त्यो प्रतिवेदनले, शिविरमा देखिएका दृश्यले गर्ने संकेत यही हो ।
सहमतिअनुसार पुनर्वर्गीकरणको टोली शिविर पुगेपछि आफ्नो रोजाइअनुसारको फारम भर्ने लडाकुको योजना छ । कैयौँ लडाकुले अवकाश र सेनाम जाने भन्दै घरमा सल्लाह मागे पनि आपन्तबाट कुनै ठो्स जवाफ आएको छैन । 'हामीलाई सोधेर तिमी युद्धमा गएका थिएनौ, अहिले पनि जे मन लाग्छ त्यही गर,' आफ्ना बुबाले भनेको कुरा उद्धृत गर्दै एक लडाकुले भने, 'घरबाट केही सल्लाह नै पाउन सकिनँ ।' महेन्द्र राजमार्गबाट नजिकै रहेको यो शिविर जंगलबीचमा छ । सुरु हुँदै गरेको चिसो मौसमले शिविरका बच्चा र सुत्केरी आमालाई समस्या पार्दै छ । तर, नजिकै आएको पुर्नवर्गीकरणले यो समस्या ओझेलमा परेको छ ।
प्रमुख दलहरूले १५ कात्तिकमा गरेको सातबुँदे सहमतिअनुसार पुनस्र्थापनमा जान चाहने लडाकुलाई ६ देखि ९ लाखबराबरको प्याकेज र स्वेच्छिक अवकाशमा जान चाहनेलाई पाँचदेखि आठ लाख रकम दुई किस्तामा दिइनेछ । पुनस्र्थापित हुन चाहेका लडाकुका लागि तयार भएको विकल्पमा शिक्षा, वैदेशिक रोजगार, कृषि, सीपमूलक तालिम, स्वरोजगारका अन्य विकल्प समेटिएको छ । तर, रकम सानो भएको लडाकुहरूको गुनासो छ । '१४-१५ वर्ष पार्टीका लागि बितायौँ, यो समयमा केही गरेको भए पनि ८-१० लाख कमाउन सकिन्थ्यो होला,' लडाकुहरूले सुनाएका थिए ।
समायोजन, पुनस्र्थापना र स्वेच्छिक अवकाश केमा जाने भन्दै शिविरमा आन्तरिक फाराम भर्दै थिए बिहीबार र शुक्रबार । पद मिलान स्पष्ट नभएपछि कमान्डरहरू अन्योलमा थिए । फाराम भरेकाहरूले स्वेच्छिक अवकाशलाई रोजाइमा पारेका थिए । बच्चा भएका कारण महिलालाई समायोजनमा जान समस्या परेको छ । व्यक्तिगत रूपमा समायोजन गर्ने मापदण्डप्रति लडाकुको कडा आपत्ति देखियो । दिइने प्याकेज रकम पनि कम भएको गुनासो छ लडाकुको । तर, सातबुँदे सहमतिले देशले निकास पाएको उनीहरूको भनाइ छ । शिविरका घरहरू पुराना भइसकेका छन् ।
प्रमुख राजनीतिक दलबीच शान्तिप्रक्रियालाई टुंग्याउने विषयमा सहमति भएपछि जनसेनाका शिविरमा चहलपहल अहिले बढेको थियो । समायोजन, पुनस्र्थापन वा स्वेच्छिक अवकाश केमा जाने भन्ने विषयमा लडाकुहरूबीच औपचारिक/अनौपचारिक छलफल भइरहेको थियो । सेना समायोजनको प्रक्रिया अगाडि बढाउने विषयमा दलहरूबीच सहमति भएलगत्तै तिहार तथा अन्य बिदामा घर गएका सबै लडाकु शिविर फर्केका छन् । समायोजन, पुनस्र्थापन र स्वेच्छिक अवकाशमा जाँदा हुने फाइदा-बेफाइदाका लेखाजोखा गर्दै छन् लडाकुका कमान्डर र सदस्यहरू । अर्कोतिर सातबुँदेका विषयमा माओवादीभित्र देखापरेको अन्तर्संघर्षको बहस पनि शिविरमा देखापरेको छ । कतिपय लडाकुले 'नेपाली क्रान्ति सकिएको' भन्दै चिन्ता व्यक्त गरेका छन् ।
माओवादी सेनाको चौथो डिभिजनअन्तर्गत कृष्णसेन स्मृति बि्रगेडमा शारीरिक मापदण्ड पूरा हुन सक्ने धेरैजसो लडाकु समायोजनमा जान इच्छुक देखिएका छन् । तर, संख्याको सीमितता र बीचका कमान्डरहरूको पद मिलानबारे अन्तिम टंुगो नलागेकाले समायोजनमा जानेको संख्या कति हुन्छ भन्ने यकिन भएको छैन । यो बि्रगेडमा दोस्रो चरणको प्रमाणीकरणमा करिब सात सय सदस्य लडाकु प्रमाणीकरणमा परेका थिए । तीमध्ये एक सय १० जना महिला छन्, तीमध्ये ७० जनाजति बच्चासहितका महिला छन् । शिविरमा बसेका महिला समायोजनमा जान नपाएकोमा उत्तिकै चिन्तित देखिए । 'महिला साथीहरू युद्धमोर्चामा खटे, शान्तिप्रक्रियामा आएपछि विवाह भयो, अहिले बालबच्चा छन्, शारीरिक मापदण्डका कारण समायोजनमा जान सक्ने अवस्था रहेन,' कमान्डर सपनाले सुनाइन् । युद्धकालमा झन्डै ४० प्रतिशतको हाराहारीमा महिला सदस्य थिए लडाकु । तर, शान्तिप्रक्रिया सुरु भएपछि क्रमशः यो संख्या घट्दै गयो । माओवादी लडाकुको मुख्यालयले एउटा बि्रगेडबाट तीन सय लडाकु समायोजनमा पठाउने योजना बनाएको छ । सात मुख्य र २१ सहायक शिविरमा लडाकु बसेका छन् ।
'सैन्य जीवन रोज्ने, राजनीति गर्ने वा निजी जीवन जिउने- तीव्र बहस छ । लामो समय युद्धमा रहेका हाम्रा सदस्यबीच छलफल भइरहेको छ,' जनसेनाको चौथो डिभिजनअन्तर्गत कृष्णसेन स्मृति बि्रगेडका कमान्डर कमला नहर्की सपना भन्छिन्, 'राष्ट्रिय सेनामा जाने कुरा एउटा अवसर हो, यसलाई उपयोग गर्नुपर्छ भन्ने धेरै साथीको धारणा छ ।' तर, उनका अनुसार शारीरिक मापदण्डले धेरै महिला समायोजनबाट वञ्चित हुने खतरा छ । 'धेरैजसो महिला बच्चासहित हुनुहुन्छ, उहाँहरू युद्धमा लामो समय लागेर पनि अहिले बच्चाका कारण समायोजनमा जान नसक्ने अवस्था देखिन्छ,' कमान्डर सपनाले भनिन्, 'केही समय बिदा दिएर उहाँहरूलाई ल्याउन पाए हुन्थ्यो भन्ने धेरैको अपेक्षा छ ।'
लडाकुहरूमा मापदण्डका विषयमा भएको सहमतिप्रति असन्तुष्टि देखियो । 'त्यति ठूलो युद्ध लडेर आयौँ, फेरि छाती नापेर भर्ना हुनेजस्तो कुरा चित्तबुझ्दा छैनन्,' लडाकुहरूले सामूहिक रूपमा सुनाए । 'समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्नेछ । तर, उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइनेछ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन वर्षसम्मको बढी उमेरमा लचकता अपनाइनेछ,' मापदण्डबारे प्रमुख दलहरूबीच भएको सहमतिमा भनिएको छ ।
तर, एकातिर पार्टीभित्रको विवाद, अर्कोतिर भष्यिको अन्योल । सुन्दर संसारको सपना देखेर युद्धमा होमिएका यी कम्युनिस्ट कार्यकर्ताका सपना के हुने हुन् ? यो प्रश्नको उत्तर पनि अहिले द्विविधाकै घेरामा छ ।
सबैभन्दा उच्च महिला कमान्डरको इच्छा
'राजनीतिमा जान्छु'
कमला नहर्की 'सपना’
बि्रगेड कमान्डर
अहिले जनसेनाभित्रको महिलामध्येको सबैभन्दा उच्च तहमा पुगेकी कमान्डर हुन् उनी । जनमुक्ति सेनामा लागेदेखि नै उनको चाहना थियोे राजनीति गर्ने । संगठनको योजनाअनुसार सैन्य फाँटको जिम्मा लिइन् उनले । माओवादी सेनाका कमान्डरहरूले के गर्ने भन्ने तय हुन बाँकी छ । तर, उनको इच्छा राजनीतिकर्मी बन्ने नै छ । सेनामा जानेले राजनीति गर्ने कुरा हुँदैन भन्ने उनले बुझेकी छिन् । रिटायर्ड लाइफ मात्र हो राजनीति भन्ने उनलाई थाहा छ । राजनीतिलाई निरन्तरता दिँदा राम्रो हुन्छ भन्ने उनले सोचेकी छिन् । संगठनको आवश्यकताअनुसार चल्ने कुरा उनले मानेकी छिन् । ०५७ मा गोरखा जेल ब्रेक गर्ने ६ महिलामध्ये एक हुन् सपना । गोरखाको देउराली गाविसमा जन्मिएकी सपना ०५४ देखि नै राजनीतिमा लागेकी थिइन् । उनी संगठनमा आउँदा नै सुरक्षा टिममा थिइन् । त्यसपछि महिला, विद्यार्थी, किसान हुँदै काम गरिन् । जेल बे्रकपछि ०५८ देखि सैन्य मोर्चामा लागेकी थिइन् । उनको परिवारका तीनजना माओवादी सेनामा छन् । भाइ सागर, बहिनी सरस्वती पनि माओवादी सेनामै छन् । उनीहरू दुवै तेस्रो डिभिजनमा कार्यरत छन् । १७ भदौ ०६६ मा तेस्रो डिभिजनमा कार्यक्षेत्र रुकुम हँुदा हुकाम घर भएका संगम रोकासँग विवाह भएको थियो । संगम र सपना एउटै बि्रगेडमा छन् । सपना ०६६ को पारिजात संघर्षशील पुरस्कारबाट पनि सम्मानित भइसकेकी छिन् ।
from Naya Patrika
No comments:
Post a Comment