Monday, December 5, 2011

अधुरै रह्‍यो नेपाली कथाको सिक्वेल

Photo: Rajesh KC
गिरीश गिरी, काठमाडौं, मंसिर १९- नेपाललाई धेरैले नचिनेको बेला यो सुन्दर मुलुकको कथा रचेर फराकिलो घेरामा पुर्‍याउने अभिनेता देव आनन्दको निधन भएको छ। उपचाररत लन्डनमा रहेका बेला उनले आफू बसेको होटलमै अन्तिम सास फेरेका थिए। बाँचुन्जेल कहिल्यै आराम नलिएका यी ८८ वर्षेलाई हृदयगति बन्द भएको कारण देखाउदै शनिबार राति दस बजे (नेपालमा आइतबार बिहान पौने चार बजे) चिकित्सकले मृत घोषित गरेका हुन्।
उनको जीवनकै सफल सिनेमाको सूचीमा पर्ने 'हरे रामा हरे कृष्णा' ले देव आनन्दलाई नेपालसँग जोडेको हो। भर्खर बाँकी विश्वका निम्ति खुलेको नेपाललाई चिनाउने कुनै सामग्री नरहेको त्यो बेला सन् १९७१ मा बनेको यो सिनेमाले काठमाडौं उपत्यका र यहाँको जनजीवनलाई कथानक बनाएको थियो। निर्माण प्रक्रिया पनि कम्ती रोचक थिएन।
नायकका रूपमा भारतीय फिल्म उद्योगको शिखर टेकिसकेका देव आनन्दले पहिलोपटक निर्देशक बनेर सन् १९७०मा 'प्रेम पुजारी' तयार पारेका थिए। चीन र पाकिस्तानसँग लडाईंको दृश्य समेटिएको उक्त सिनेमा तत्कालीन भारतमा अत्यन्तै विवादास्पद भयो। कोलकातालगायत सहरमा रिल जलाइए। तनावग्रस्त देव आनन्द त्यतिबेलै नेपाल आएका थिए। राजपरिवारको पाहुना बनेर आएका उनलाई सोल्टी होटलमा राखिएको थियो।
चार वर्षअघि प्रकाशित उनको जीवनी 'रोमान्सिङ विथ लाइफ'का अनुसार त्यतिबेलै उनले स्वयम्भूतिर घुम्न जाँदा अनौठो दृश्य देखे। हिप्पीको जगजगी रहेको तत्कालीन काठमाडौंमा एक भारतीय युवती त्यो हुलमा मिसिएर गाँजा तानिरहेकी थिइन्। यसले देव आनन्दलाई बेचैन बनायो। उनले होटलमा फर्किएर ती युवतीबारे पत्ता लगाउने प्रयास गरे। अन्त्यमा सोल्टीकै एक कर्मचारीले उनलाई युवतीसँग नजिक्याइदिए। भारतीय मूलकी ती क्यानेडेली युवती आमाबाबुको सम्बन्ध विच्छेदले संसारदेखि दिक्क भएकी रहिछन्। त्यसपछि हिप्पीको संगतमा लागेर उनीहरूको चर्चित रुट 'नेपाल' आइछन्। पूर्वेली समाजमा पनि पश्चिमको प्रभाव भित्रँदै गर्दा सम्बन्ध विच्छेद र सन्तानको विबचल्ली यताको कथा पनि बन्न थालिसकेको थियो। त्यसबाहेक लागूऔषधलाई कुनै 'अभियान' र 'धर्म' सँग जोड्दा त्यसको दुष्प्रभाव आँकलन गरेका देव आनन्दले यो सारा विषयवस्तु समेटेर सिनेमा बनाउने योजना बुने। उनलाई मनोरञ्जनका साथमा सिनेमा सन्देशमूलक होस् भन्ने पनि थियो।
देव आनन्दको मनशाय थाहा पाउने बित्तिकै तत्कालीन राजा महेन्द्रले उनलाई एकजना इन्स्पेक्टर साथ लगाएर पोखरा पठाए। शाही अतिथिकै रूपमा उनले पोखराको फिस्टेल लजमा बसेर लेखेको कथा लगत्तै सिनेमाको रुपमा आएको जानकारी पुस्तकमा छ।
नेपालसँग आफूलाई भावनात्मक रूपले नजिक देखाउने देव आनन्द त्यसपछि पटकपटक यहाँ आए। पछिल्लो भ्रमणका बेला उनले यस संवाददातालाई समकालीन नेपाललाई दर्साउने राम्रो कथा भेटिए फेरि सिनेमा बनाउने इच्छा रहेको बताएका थिए। यसैबीच उनले गत सेप्टेम्बरमा पुरानै सिनेमाको सिक्वेलका रूपमा 'हरे रामा हरे कृष्णा आज' बनाउने घोषणै गरेका थिए। तर, भर्खरै तयार पारेको सिनेमा 'चार्जसिट' रिलिज गर्न नपाउँदै उनले संसारबाट बिदा लिएका छन्।

एक महान 'अदाकार'को अन्त्य
अहिले पाकिस्तानमा मिसिएको तत्कालीन पन्जाब राज्यमा जन्मेका धर्मदेव पिसोरीमल आनन्दले लाहौरबाट अंग्रेजी साहित्यमा स्नातक गरेका थिए। पढाइ सकेपछि उनी जागिर खोज्दै मुम्बई पुगे र सधंैका निम्ति त्यसै सहरका बने। मुम्बई पुग्नेबित्तिकै उनको काम युद्धमैदानमा लडिरहेका सेनाले लेखेका चिठी उनीहरूको परिवारलाई सुनाउनु थियो। तलब महिनाको १ सय ६० रुपैयाँ।
केही समयमै थिएटरको काममा आवद्ध दाइ चेतन आनन्दको साथ लागेर उनले नाममात्र होइन, पेसा पनि फेरे। सन् १९४६ मा बनेको 'हम एक हैँ' उनको पहिलो सिनेमा थियो। केही समयमै उनको संगत तत्कालीन भारतीय फिल्म उद्योगका अर्का व्यक्तित्व गुरु दत्तसँग भयो। पुनामा एउटा सिनेमा सुटिङकै क्रममा भेटिएका गुरु दत्त पहिलोपटक जब देव आनन्दको सामुन्ने थिए, त्यतिबेला उनले लगाएको सर्ट गुरु दत्तकै थियो। गतिलो लुगा किन्न पैसा नभएकाले देव आनन्द धोबीको संगतमा राम्रा पोसाकको बन्दोबस्त गर्थे। गुरु दत्तसँग रोचक परिस्थितिमा मित्रता गाँसेका उनीहरू पछि यति नजिक भए, दुई हरदम एकअर्काको निम्ति काम गर्न तयार हुन्थे नै, एक अगाडि बढे अर्कोलाई पनि तान्ने आपसी सहमति पनि बनाए।
कसैलाई नटेरेर आफ्नै पारामा अनौठो गरी डाइलग बोल्ने, गाढा आँखा चम्काउने, निधार खुम्च्याउने र आँखीभौँ चौडा पार्ने यी 'विचित्र मानव' को हिँडाइ पनि बेग्लै हुन्थ्यो। अभिनयमा तत्कालीन हलिउड अभिनेता ग्रेगरी पेकसँग मिल्दोजुल्दो शैली विकास गरेका उनको कपालमा पनि पेककै प्रभाव थियो। 'सुरुमा कसैको प्रभाव अनुकरण गरेको हुनसक्ने भए पनि मलाई मन पराउने दर्शक बढेपछि यी प्रभाव अरुको भन्न मिल्दैन,' उनी भन्थे, 'त्यसैले यो म आफैंले विकास गरेको देव आनन्दकै शैली हो।'
आफ्ना यिनै गुणका कारण पहिलो सिनेमा खेलेको एक वर्ष नबित्दै उनी भारतीय फिल्म उद्योगका 'सुपरस्टार' बनिसकेका थिए। ६५ वर्षे फिल्मी जीवनमा उनले करिब १ सय १० वटा सिनेमा दिएका छन्।
१९६१ तिर देव आनन्द 'हम दोनो' का नायक थिए। त्यसको एउटा गीत थियो, 'मैं जिन्दगीका साथ निभाता चला गया, हर फिक्रको धुँवे में उडाता चला गया, बर्बादियोँका फिक्र मनाना फजुल था, बर्बादियोँका जश्न मनाता चला गया।' दर्शनमा आधारित यो गीतलाई पछि देव आनन्दले आफ्नै जीवनमा ढाले। उनले बाँचुन्जेल 'फिक्र' लाई धुँवामै उडाएर बिताए।
नत्र एक समय गायिका एवम् नायिका सुरैयासँग नजिकिएका देव आनन्दको प्रेम असफल भएपछि फेरि सहज जीवनमा आउनु कठिन थियो। उता सुरैया देव आनन्दमै समर्पित भएर आजीवन अविवाहित रहिन्। मुसलमान नातिनीलाई हिन्दु देव आनन्दसँग बिहे गराउन नदिने हजुरआमाका कारण उनीहरूको सम्बन्ध तोडिएको थियो।
जिनत अमान, टिना मुनिम, मुमताजदेखि अहिलेको तब्बुसम्मलाई भारतीय फिल्म उद्योगमा प्रवेश गराउने देव आनन्दले उनकै एक सिनेमाकी नायिका मोना सिंह(कल्पना कार्त्तिक) सँग बिहे गरे। उनीहरूका एक छोरा सुनील र छोरी देविना छन्।
पिताको मृत्यु हुँदा छोरा सुनील साथै थिए भने लन्डनमै आयोजना हुने अन्त्येष्टिका निम्ति श्रीमती र छोरी जाने भएका छन्।
१९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल जारी गर्दा फिल्मी हस्तीको ठूलै समूह बनाएर विरोध गर्दै सडकमा उत्रिएका देव आनन्द एकताका राजनीतिबाट पनि अछुतो थिएनन्। तर, उनले पछि आफूलाई सिनेमामै केन्द्रित गरे।
'एउटा युगको अन्त्य भएको छ,' उनको निधनपछि अमिताभ बच्चनले टि्वट गरेका छन्, 'देव आनन्दले जुन शून्यता छाडेर गएका छन्, त्यो अब कहिल्यै पुरिने छैन।' बच्चनले आफ्नो धारणाबाट कहिल्यै नडग्ने र जीवनलाई सदैव उमंगका साथ बाँच्ने अग्रज अभिनेताका विशेषताको पनि प्रशंसा गरेका छन्।


 

देव आनन्द र कालो सुट केही वर्षअघि देव आनन्द नेपाल आएका बेला मैले उनीसँग भेट्ने मौका पाएको थिएँ। संवाददाताका हैसियतले प्रश्नहरू सोधियो र उत्तर पनि पाएँ। साथमै रहेका फोटो पत्रकार मित्र विकास रौनियारले क्यामरा रोकेर देव आनन्दलाई केही जिज्ञासा राखे।
'हामी केटाकेटी हुँदा मेरी हजुरआमाले तपाईंबारे धेरै कुरा सुनाउनुभएको थियो। त्यो बेला तपाईं कालो सुट लगाएर हिँड्दा युवतीहरु कौसीबाटै हाम्फाल्थे रे। त्यही भएकाले तन्नेरी उमेरमा तपाईंलाई कालो सुट लगाउनै प्रतिबन्ध लगाइएको थियो रे। हजुरआमाको भनाइ कत्तिको सत्य थियो?'
अचानक माहौल चुपचाप बन्यो। प्रश्न सुनेर एकछिन मौन बसेका देव आनन्द मन्द मन्द मुस्काए। झुक्दै गरेको टाउकोमा हत्केलाले समाते। फिस्स हाँसे र भने, 'तपाईंले जुन समय र सन्दर्भको कुरा गरिरहनुभएको छ, त्यो बेला मैले पनि कतिपय यस्ता अनौठा कुरा सुनेको थिएँ, तर, आजसम्म मलाई कसैले कुनै लुगा नलगाऊ भनेको जानकारी पाएको छैन।'
उनले तन्नेरी वयमा आफूलाई थुप्रै युवतीले मन पराउने र त्यसै कुरामा आधारित गरेर धेरै हल्ला फैलाइएको प्रष्ट पारेका थिए।
त्यस दिन मैले फोटो पत्रकार रौनियारकै प्रश्नलाई 'लिड' बनाएर समाचार लेखेँ। म पनि हजुरआमाहरूबाट त्यस्तै चर्चा सुनेर हुर्केको दक्षिण एसियाली पुस्ताकै एउटा प्रतिनिधि थिएँ।
from http://nagariknews.com/ent/movies/33901-2011-12-05-08-25-39.html
 

No comments:

Post a Comment