दुर्गालाल केसी
दाङ, माघ १३ -
बलबहादुर शाही गत वर्ष बाघमारे गाउँभरि मह खोज्दै हिँडे । एक धार्नी मह बोकेर बेलुकीपख जंगलतिर उकालो लागे । जंगलमा कन्दमूल र सिकार गरेर जीवन बिताइरहेका शाहीलाई किन महको चटारो पर्यो ? गाउँले अचम्म मान्दै थिए ।उनलाई भोलिपल्ट सम्धी मेलो गर्नुपर्ने रहेछ । छोराको बिहेका लागि केटीको घरमा 'पाहुर' लिएर जानुपर्ने चलन भएकाले उनी मह खोज्न भांैतारिएका हुन् । त्यसका लागि उनी मुखियासँग पाँच सय रुपैयाँ सापटी लिएर विवाहको सरसामान जुटाउने दौडधुपमा लागेका थिए ।
'मह दिएर खुसी पारेपछि बुहारी पाउने सम्भावना बढी हुन्छ । छोराले मन पराएको केटीको घरमा केही पाहुर लिएर जानुपर्ने चलन छ,' उनले भने, 'उपहार स्विकारेपछि छोरी दिनुपर्ने हुन्छ । विवाहको पक्कापक्कीजस्तो हुन्छ ।' बास सर्दै हिँड्ने राउटेहरू जंगलमा कसरी विवाह गर्छन् होला ? सबैलाई जिज्ञासा हुन सक्छ तर उनीहरूको विवाह संस्कारमा आम मानिसभन्दा त्यति भिन्नता छैन ।
केटाकेटी मन परेपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन
छ । भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन् । मासुका लागि जंगलमा सिकार खेल्छन् । सिकार नभेटिए रक्सी र भातमै चित्त बुझाउँछन् । विवाहका दिन नाचगान र रमाइलो गर्ने गरेको मुखिया मैनबहादुर शाहीले बताए ।
राउटे युवतीहरू फुपूका छोरासँग विवाह गर्ने गर्छन् । राउटेहरू सबै ठकुरी जातिका छन् । कल्याल र राजकोटी जातिका राउटेहरू धेरै छन् । कल्यालहरू राजकोटीका भान्जाभान्जीहरू रहेको राउटेबारे लामो अध्ययन गरेकी राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । 'मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । केटाकेटी मन परेपछि बाआमालाई भन्छन्,' उनले भनिन्, 'बाआमा बुहारी माग्न जान्छन् र प्रक्रिया अघि बढाउँछन् । प्रेम भए पनि मागेरै बिहे गर्ने चलन हुन्छ । आफैं भाग्ने हुँदैन ।'
'कुल सोधेर छोरी विवाह गर्नु, मूल सोधेर पानी खानु' भन्ने उखानका आधारमा विवाह हुने गरेको उनले
बताइन् । त्यसैले बुहारी हेर्दा आमाबाबु भएकी, राम्रो बानीबेहोरा भएकी केटी खोज्ने चलन छ । कतिपय युवाले ११/१२ वर्षमै केटी छान्ने गरेको अधिकारीले बताइन् । 'मन पर्यो भने यो मेरो हो भनेर रोजेर राख्ने गर्छन् । एउटाले रोजेकालाई अरूले हेर्न पाइँदैन । उसैले मात्र विवाह गर्न पाउँछ,' उनले भनिन्, 'रोजेकीमध्ये एक जनाको मृत्यु भएमा कतिपय त त्यसैका नाममा जीवनभर विधवा/विदुर भएर बस्ने चलन पनि छ ।'
महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्ने चलन रहेको राउटेका पूर्वमुखिया ऐनबहादुर शाहीले बताए । 'बच्चा पाउँदा धेरै महिलाको मृत्यु हुने हुँदा हाम्रो जातिमा महिलाहरू कम छन्,' उनले भने, 'बूढो उमेरसम्म पनि केटी नपाउनेहरू धेरै छन् । त्यस्तो अवस्थामा पाकाहरू पनि सानै उमेरका केटी रोज्न तम्सिन्छन् ।'
राउटेहरूमा बहुविवाह भने पूर्ण रूपमा प्रतिबन्धित छ । बहुविवाह गर्नेलाई मुखियाले कारबाही गर्ने भएकाले कसैले गर्दैनन् । विधवा/विदुर विवाह भने प्रचलनमा रहेको सहायक मुखिया धनबहादुर शाहीले बताए । 'एक्लो जीवन बिताउँदा दुःख भएकाले विधवा/विदुरलाई विवाह गर्न दिइन्छ,' उनले भने ।
विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिंगार्ने गरिन्छ । विवाहमा हाम्रो जस्तो सिन्दूर हाल्ने व्यवस्था हुँदैन । 'सधैं सिन्दूर लगाउन पाइँदैन । त्यसैले मुखियाले यिनीहरूको विवाह भयो भनेर जानकारी दिएपछि भोज गरेर विवाह भएको मानिन्छ,' सहायक मुखिया शाहीले भने, 'पानी पाइने ठाउँ भए केटाकेटी नुहाउँछन्, नभए त्यत्तिकै हो ।'
विवाहपछि सुहागरात कहाँ, कसरी मनाउँछन् त ? 'छुट्टै छाप्रो बनाएर
बस्छन् । जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छन्,' रामबहादुर शाहीले भने, 'केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन् । मुखियाले पनि केही काम लगाउँदैनन् ।' राउटेहरूले बाहिरी समुदायका केटाकेटीसँग विवाह गर्छन् कि गर्दैनन् त ? 'गर्दैनन्, हाम्रा छोरीहरू गाउँमा गएर खेतीपाती गर्न सक्दैनन् । गाउँको केटी यहाँ आएर जंगलमा घुम्न सक्दैनन्,' मुखिया शाहीले भने, 'त्यसैले हाम्रो जाति र संस्कार बचाउन पनि बाहिर विवाह हुँदैन ।'
from Kantipur daily newspaper
No comments:
Post a Comment