Thursday, March 5, 2015

कुशको लाश

केहीबेरपछि धनकुमारी अर्थात् ठूली कोर्न हप्तौं भइसकेको कपाल र पाकेको टमाटरझैं आँखाको साथमा हातमा अम्खोरा लिएर निक्लिइन् । सरासर जुठ्यानमा गइन् । पखाल्नुपर्ने बन्चरोमा आँसु खन्याउन थाल्थिन् –अम्खोरा हातैमा राखेर । बाहिर आकाश पनि मलाम आएको थियो, समवेदनाको पानी खन्याउँदै ।

छानो फेर्न अबेर भइसकेको खरले छाएको ठूलीको एकतले घरसँगै जोडिएको थियो गोठ । आकाशको सिमसिमे आँसु घरको परेलीमा नअल्झिई सिधै झरिरहेथ्यो । तर कोरलगाउँका पाका लोग्नेमान्छे र स्वास्नीमान्छेका ‘खसखस’ भने भयले अड्किईअड्किई झरिरहेथ्यो –‘बरै नि ! ...फेरि यसपालि नि हिँबाट ...!’
ठूली ‘भरेभोलि भएको’ पेट असजिलोगरी सुम्सुम्याउँदै एकोहोरिई । बूढीहरुले ठूलीको छेवैमा बसी गुन्यूको फेरले आँसु पुछे । आकाशको आँसुले भिज्न थाले, आँगनमा, ‘आफन्तसँगका विछोड÷भयले निथु्रक्क भिजेका’ मलामी ।
पिँढीअगिल्तिर आँगनमा राखिएका थिए, छ÷सातवटा टपरी । दाहसंस्कारका सामान –छातीमा राख्ने मानो चामल, दूध, फूल, अक्षेता, धजा, धागो, धूप–बत्ती, कात्रो, जौ–कुश ...। हरियो बाँसका टुक्रासहित दाउरा ।



सिमसिमे पानी तन्नेरी हुने क्रमसँगै घरभित्र रुवाबासी चक्र्यो ।
‘छिट् गरम्, ऐली कर्फु लाइजान्छ ।’
‘...लाश पाए एक झल्को हेरेर चित्त बुझाउँथे होला !’
‘कि ज्यान खरा कि च्याँन खरा’ नभन्दै यो गति भने के गति ?’
‘हाम्ता डरै डरको घर भइम् ।’
बाहिर मलामीले सुस्तरी विवशता÷निरीहता मिसाए –सर्जामका सामानमा । भित्र बूढीहरुले ‘सुकेको कर्कलाको डाँठ’जस्ता हातले ठूलीलाई थुम्थुम्याउन कोशिस गरे आँसु पनि मिसाउँदै ।
‘दुन्ने  हेरी मन बुझा, ठूली...!’
जूनमायाको बाँकी कुरा घाँटीमै अड्क्यो –‘तम्रो ठूलेको ता ‘मरु सनिस  आयो’ तर मेरो लालेको ? ...धमिनीको नातिनीसत बिहेको कुरा चलाया थे ...। ‘मरो–बाँचो’ था छैन ।’
‘रुपकला ? आउँछे कि भनी ‘बाटो’ हेर्छु । ...‘निजो सोर’  पाए मन्ता  हुँकानाहम्  !’
यति भनेर झक्रिनीले थर्कोटको धुरी हेरिन् । बादलले ढाकेर केही देखिएन ।
‘दुर्गे सौलई  चुक्ता गर्छु’ भन्थो । कालापार पुगेन गरे !’ ठूलीलाई सम्झाउनुको बदला आफ्नै कथाले जैसिनीको मन बहकियो । थाम्न नसकी उठिन् – ‘...बरु घर्जानलई  नि गुली  हाने एकसासे जाँनाहम् !’
बेपत्ता परिवारका उजाड चेहरा ‘मरे–बाँचेको’ खवरको तिर्खा’ले चर्केका थिए । छानोबाट झन छिटो झर्न थाल्यो, अल्झिएका आकाशको आँसु । तिनले चिन्न सकेनन् झरेको आँसु र अवोध गाउँलेका जिन्दगी ! छुटेका ‘याद’ र प्रजातन्त्र !
‘आफ्नो मानो खादै आफ्नो बाटो हिँनेका गौलेहर्का के हराउबिराउ थो र ?’ पानीसँगै झरेका अनुत्तरीत प्रश्नले झन भिजे र एकअर्कालाई पुलुक्क हेरे ।
‘कुशको लाश’लाई बाहुनले मनमनै गने –रुपे, राता, पिरमलाल, लिलानाथ, ...।
दिन ‘अधबैशे’ भइसकेको लख काट्दै बाहुनले घडी हेरे –पौने तीन !
‘अब रीतिथितिको कुरा नगर ।’
यता मलामीका मुखबाट आँगनमा खसिरह्यो भने उता बाहुनको मुखबाट विधिको झ¥यो –‘आगोले खाए, खोलाले बगाए र लास नपाइए कुशको पुत्ला बनाएर ‘सत्गत्’ गर्ने रीति ।’
‘सौको  रिनले कालापार चाँरिएका  कालापारेहर्लई किन ‘सोत्तर पारो’  ?’ बोली खोसिएका गाउँले बक्क परेर आ–आफूलाई हेरे ।
भारतको शिमला हिँडेका ठूलेलगायतका ११ जना १० दिनअघि मारिएको खबर हिजो मात्र पाएका थिए । कसले मा¥यो ? सुनेका थिए तर भन्न हुँदैनथ्यो । के कसुरमा मारिए कमाउन हिंडेका गाउँले ? जबाफ पनि पाएनन् । लास र सास नपाए पनि मान्नु थियो तिनलाई खायो आगोले या पानीले ।
‘...ठूलेहर्को ता मरु भए नि खवर आयो तर मेरो लालुको ...! न मरु खवर न बाँचेको ....,’ ढोसे माइलाले रामसिंहको कानमा मुख जोडेर खुसखुसाए, ‘राजाका र बनकाले दुवैले गरिप्गुर्बालई ता देखे र ।’
हेरिनसक्नुका भए अवोध गाउँले । रोल्पा रुकुमबाट उहिल्यै झरेका ती गाउँलेलाई भेला नहुनु, जम्मा नहुनु भनिएको थियो । घोराहीछेवैका ती गाउँलेले थररर काँप्दै जति सक्यो छिटो सतिगतिका काम सकाउन चाहन्थे ।
.... .... ....
कुशको ‘मान्छे’ तयार भयो । मन्त्र जप्दै कात्रोले बेरे । पुत्लाको ‘हातखुट्टा धुन’ भने –जौ, तील, अक्षेता, रातो फूल र अविरले पूजा गर्दै ।
‘सेते ! काँध लाउने !’ काँध छुवाए, हरियो बाँसमा बेरिएको पुत्लालाई !
वातावरण झन असहज बन्यो –ठूली, ठूलेकी आमा, गाउँका बूढी आँगनमा निस्केपछि । ‘झरेको मन थाम्न’ तिम्लाबोटेनी बोईले कोशिस गरिन्, ‘ठूली ! एकबारको चोलामा एकबार हामी जम्मै जानैपर्छ । भग्ग्वान्को नउ जप् ।’
त्यसपछि पुत्ला बोके । दाउरा बोके । ठूलेका लुगा (शिमलाको लिलामी कोट, कालापारे पाइजामा, ...) बोके । ‘मलामबाट फिर्न पाइन्छ या नाई’ दोमनदोमन मलामी सिस्नेखोलातिर लागे ।

‘कति बज्ला ?’ बाहुनअनुसार घाटमा चिता बनाउँदै हतास मुद्रामा कर्णबहादुर, आफैलाई सोधे, ‘ऐली कर्फु लाइजान्छ’ ।
‘कस्तो रुन्चे लागेको यो सर्ग लाई !’
नजानिदोगरी, घाटमा पनि अनुत्तरीत प्रश्नले नाराजुलुस गरे, ‘सास त खाए खाए लाश पनि किन खाए ?’
खोलाको रङ झन गाढा हुँदैथियो । बगिरहेका आफ्नै सपना, विपना, रहर, सिन्दूर ...हेर्न नसकी मलामी झन असहज भए ।
बाहुनले मन्त्र जपे ।
बेरेको कात्रो ‘उठाउन’ भने । फूल चढाए –‘टाउको उत्तरपट्टि छ’ भन्ठान । मुख सम्झ । मुखमा बत्ती देऊ !’
थाहा छ, ठूलेको शव होइन, यो । तर ‘मान्नु’ थियो !
हेर्दाहेर्दै जल्यो –कुशको लाश । तर लाशको छातीमा राखेको ‘मानो चामल’ र लुगा जल्न आकाशको आँसुले समय थप्यो ।
... ... ...
वारिपारि खेतका गरासित मन पनि बगाउँदै गरेको सिस्नेखोलामा मलामीले हातमुख धोए ।
‘सात बजे कर्फु लाइजान्छ ।’
घडी हेरे ।
‘भोलि भेट हुन्छ, हुन्न ?!’
मलामी अनुहारबाट झरेका ‘अन्यौल’ प्रश्नको पछिपछि मलामी हतारहतारमा बाटो लागे । ठूलीको घर नपुग्दै मलामी फेरि अर्को छाँगाबाट खसे –बर्गद्दीमा धान दाइरहेका थारु खलिहानमै मारिएको समाचारले ।
‘कुश सक्किएपछि ?’
सुकमती बज्यैले ठूलीलाई बस्ने ठाउँ देखाइन् –‘ठूली ! उः कुनामा बस् । चलिआएको रीतिभाती !’
कुनातिर जाँदाजाँदै अँध्यारोमा ठूलीलाई एकाएक हजार प्रश्नले घेरा हाले । कुनातिर नपुग्दै गमिन्, ‘अब ...?’
आँखामै आए, बेकसुर मारिएका परिवार÷आफन्तका अनुहार । र, आए –लाशलाई एक झल्को हेरेर रुन पनि नपाएका ! कुशको लाश घाट झारेका ! आए, आफूजस्तै –मीना, लालमती, लता, पानकुमारी, निरमाया, ...। मनजत्तिकै तिनका उजाडिएका घर । र, ‘कुशको चिता’ बनाइरहेका निरीह गाउँले !
मौन !
साइलेन्स कल्चर !
जुरुक्क उठिन् ।
‘कुश छैन !’
भर्खरै थपिएका नाउँ थपे –नरे, रामप्रसाद, हरे, जुक्तिराम, पुने, नसे, गन्जे...!
कुशको लाश बनाएर घाट लानुपर्ने आफन्तका नाउँ नसिकदै ठूली अँध्यारो कुनाबाट निस्किइन् । सेतो लुगा फुकालिन् । दहमा ढुंगा फाल्दा भएको ‘असहज’ पानीझैं भयो ‘साइलेन्स कल्चर’को तलाउमा सेतो लुगा खस्दा !
झन असहज भइन् ।
‘यसरी चुप बसे यी चिचिला  काँ जालान् ? के होला भोलि ?’
प्रश्नको कठघरामा पहिलोपालि उभिएर भनिन्, ‘कुश नै सकिएपछि !?’
घोराही र घोराही आसपासको त्यो गाउँमा पनि कफ्र्यू लाग्यो । तर, आवाज चर्कदैथियो, ‘चुपचाप ‘कुशको लाश’ बनाइरहने कि के गर्ने ?’

No comments:

Post a Comment