Saturday, March 7, 2015

जेईबाबैका मनका कुरा

Jei n Babai [Dal Bahadur Pun, 80, Dilsari Pun, 80]
केही भोगेका केही सुनेका कति काम सकिए पुरा 
कति बाँकी रहे अधुरा, अनुभवका कुरा  
मनका कुरा मनका कुरा 


नमस्ते । सम्पूर्ण दर्शक वृन्दलाई मनका कुरामा हार्दिक स्वागत तथा अभिवादन । 
दर्शक वृन्द नेपालको भूबनोटबारे मैले भनिराख्नुपर्दैन । उकालीओराली समतल मैदान र त्यहाँ बसोबास गर्ने मानिसका जीवन कति सरल र कति कष्टकर छ ? त्यो त त्यहाँ बसोबास गर्नेलाई सोधेर मात्र थाहा पाउन सकिन्छ । कष्टकर जीवन कस्तो हुन्छ ? यो जान्नलाई यो जीवन भोगिसकेकालाई सोध्दा राम्रो होला । आज मनको कुरामा हाम्रो स्टुडियोमा धेरै टाढा विकट र दुर्गम भनेर चिनिने रोल्पाबाट आउनुभएका श्री दलबहादुर पुन र उहाँकी अर्धांगिनी दिलसरी पुन हुनुहुन्छ । दुवैजना सत्तरी बर्षको हुनुहुन्छ । आउनुस् उहाँहरु दुवैजनालाई स्वागत गरौं हाम्रो कार्यक्रममा । 
कार्यक्रम मनका कुरामा धेरैधरै स्वागत छ । रोल्पाबाट आउनुभयो त्यसको लागि धन्यवाद पनि छ । 
तपाईहरु कहिले काठमाडौं आउनुभयो ?
पुसमा आया हम ।
पुस माघ फागुन चैत । तीन महिना भइसक्यो है । 
अनि कस्तो छ रोल्पामा अहिले ? 
रोल्पामा ठीकै छ हजुर । बाटो खन्ने के के गर्ने भन्छन् के र । माउवादीको काम त भैगो ।
अरु के गर्नु ।
खेती किसान गर्ने । किसानका छोरा त हम हजुर हामी त । अरु त थाहा छैन । किसान गर्ने ।
सत्तरी बर्ष हुनुभयो । आमा पनि सत्तरी हुनुभयो । कस्तो लागिराछ यो उमेरमा आइपुग्दाखेरि ? यतिखेर कस्तो लागिरहेको ?
छोरानातिले यही पढ्छन् । भेट हुन आया हम, जाम तो भनेर । आयम् बसेको बस्यै भइयो । अपरेसन गर्न लागियो । चार महिना भैगो बसेको हजुर ।
(दिलसरी) छोराको माया लाग्यो । नातिको माया लाग्यो । परान नभए पनि चारपाउ टेक्दै आइम् ब ।
पहिले पनि आउनुभएको थियो आमा काठमाडौमा ?
एक साल आया थिम घुम्न । यै सित (कान्छो छोरो) । ह्वाबट ता ऐली हो ब ।
यहाँ आउनुभएको छ । सबै त रोल्पामै छ । फर्केर जानुहुन्छ ? अचेल उता कसले हेर्छ ?
जाने हो । माहिली बुहारी र नातिनीले हेरेका छन् । बिहे गरेर गएको नातिनीलाई पनि हामी नआउँदासम्म घर हेर्दिनू भन्या छम । कता गए खोइ ? माहिला बहराइन गएको छ । छोरानाति यता छन् । कोही छैनन् ।
छिटो दाँत हालेपछि घर जाने भन्या ता ...।
काठमाडौंमा गाडीमा चढ्नुहन्छ । रोल्पाको जनजीवन कस्तो छ ?
उता त सबै पैदल हो । दुई दिन पैदल हरेपछि बल्ल गाडीमा चढ्ने हो । टिलबाट गाडी चढेर दांग अनि काठमाडौं आउने हो ।
रोल्पामा त मान्छे र गाडी पनि छैन । यहाँ त भीडैभीड छ । कस्तो लागिरहेको छ ?
यहाँ त साइड काट्न पनि जान्दैनम हजुर । लखेले (छोरो) यस्तोगरी दगुर्ने होइन भन्छ । जाने प हजुर ।
पहिलोचोटि काठ्माडौं आएको सम्झना छ ?
हरिसिद्धिलगागतका ठाउँमा घुमेको हुँ । इँटा बनाउन आया बेला । भुलियो हजुर ।
कस्तो लागेको थियो ? सम्झना छ ?
राम्रै लागेको थियो ।
अहिलेत छोरानातिलाई भेट्न आया हम् ब । दांगबाट फोन गर्दा यतै आऊ घुम्नेफिर्ने पनि गरौला भनेपछि यता (काठमाडांै) बोलाए । यहाँ आइयो ।
केके हेर्नुभयो ?
कुकनाकानी सब घुमायो छोराले । घुमाइराछ ।
पहाडजस्तो छैन भन्नुहुन्छ आमाले त ।
(दिलसरी) काठमुन्नु हेर्किन हाम्रो पहार त के छ र भन्छु तो । बनजंगल र डाराकारा मात्र छ हाम्रो पहारमा ता ।
यहाँ त घरैघर है ?
अँ ह्याँ ता घरैघर । जता पनि ।
कताजित बनमा भए रतुवा बाघ हुनन् । नत्र यस्तो कहाँ होला । पातलैपातल दमारै दमार ।
भर्ती जाने चलन थियो । तपाईं जानुभएन ?
पिन्सिंगे लाहुरेले भर्ती जाम त भन्थे । कोइलाबास नुन लिन जाने बेला नापजाप गर्न जान पर्छ भन्थे । गइनँ । रहर पनि लागेन । हाम्रा बा जानुभएको थियो (बृटिस लाहुरे) । सात महिनापछि आँखाको कमजोरी भनेर फर्कनुभएछ । हाम्रो पर्याललाई राजाको नुनपानी शुभ्दैन, मरिरहोस् भनेर गइनँ हजुर । घरमै बसियो ।
अनि नुन बोकी खाने । खेती किसान गर्ने । यस्तै गरियो ।
पढ्नुभएको छ ?
अलिअलि ।
आमाले नि ?
अहँ ।
अक्षर चिन्नुहुन्छ ?
(दिलसरी) नाइ । हाम्रो जमानामा त यस्तो थिएन । यिनीहरुले (श्रीमान्) पात्रो हेर्न जैसी पढे । हामी आइमाइले धागो कात्ने, बोल्ला बुुन्ने । पढ्ने त मालिम नै गरिनम् बा ।
स्कुल जानुभएन ?
काँ स्कुल थिए र ? आफ्नो इच्छाले पढे भो । नत्र सक्को । हामीले त लहरले (रहर)ले साथीसाथी मिलेर अलिअलि पढेको हो ।
आफ्नो पालामा के के गरेर समय बिताउनुहुन्थ्यो ?
खेतीगर्ने । ग्वाला लाग्ने । घाँस काट्ने । बर्षदिनको एकफेरा नुन बोक्न कोइलाबास जानुपथ्र्यो । नबोके के खाने र ?
नुन ल्याउन कहाँ जानुपथ्र्यो ? 
हामीभन्दा पहिलेका जुम्ला जान्थे गरे । त्यसपछि नेपालगन्जदेखि पर बादुरगन्जमा बजार थियो गरे । त्यहाँ जान्थे गरे । पछि मचाहिँ नेपालगन्ज र कोइलाबास गएँ ।
एकपालि जाँदा कति बोक्नुहुन्थ्यो ?
बीसपच्चीस धार्नी । कैली दस पन्ध्र धार्नी हो पनि । हेरीहेरीहो ।
एक बर्षलाई पुग्थ्यो ?
धाने धान्यै भयो । नभए ऐचोपैचो गरेर खाने हो । अरु त उपाय नै थिएन ।
नुन बोक्न जानेलाई हाट जाने भन्नुहुन्थ्यो होइन ? जाँदा रमाइलो हुन्थ्यो ?
वारिपारि गाउँका बीसभन्दा उभै जम्मा हुनुपर्ने हजुर गाउँका । एकैदिन सल्लाह गरी फलानो दिन निक्लने भनी कहाँ ठकान छ, त्यही गएर बस्यो अनि भेला भएर जाने हो । नत्र चोरको डर हुन्थ्यो । कहीँ ओडारमा बस्ने कहीँ रुखका बोटमुनि त कहीँ यस्तै खुला चौरमा । जहाँ पानी छ त्यही बास बस्ने हो । सानो बगाल भए चोरले लच्छबिच्छ पार्छ भनेर ठूलो बगाल बनाएर मात्र हाट जान्थिम् ।
घरबाट निक्लेपछि हामी तार्केबांग आउँथ्यौं । हाम्रो घर त रापती नदीको शीर हो । चुनबांग र कुरेली गार छ दुईखोली । त्यहाँबाट उँधो लागेपछि त डोकोको पुच्छर पनि भिजाउने । कपडामा पनि भिजाउने । बयालीस जंगार तरी बास बस्नुपथ्र्यो, तार्केबांगमा । न बाटो न पुल । खोला तरेको तर्यै नि ।
नुन भिज्थ्यो होला त ।
भिज्थ्यो नि । कोइलाबासबाट ल्याएको नुन कहिली त त्यही फालछाडेर रित्तै घर जाने हो । भिजेपछि के गर्ने र ?
पग्लेर जान्थ्यो होला त ?
हो त । खोलाबाट उतार्न नसके त पग्लने नि ।
पुलपुलेसा थिएनन् ?
पानीपानी हर्नुपर्ने । न बाटो न पुल । खेलैखोल हिर्ने हो ।
कोइलाबास पुग्न कति दिन लाग्थ्यो त ?
पहिलो बास तार्केबांग, त्यसपछि टिला अनि टिलाबाट भांगोबारीमा बास बस्ने हो । त्यसपछि बास दांगको घारी तोसखोलामा हो । त्यहाँबाट कुइरेपानी, कुलमोर, बलामपुर घाडबोट, चेम्नेघाट पुगेपछि बल्ल कोइलाबास पुग्थिम् ।
कति दिन ?
ठूलो बगाल र बढी भारी भए अलि ढिलो हुन्थ्यो । सामान्यतः पच्चीस तीस दिन लाथ्यो ।
आमाले कालो चश्मा किन लाउनुभएको ?
(दिलसरी) अपरेशन गरेकाले हो । आँखा देख्दिनँ नाम्ररी । मोती (मोतिया बिन्दु) आया छ भनेर अपरेशन गरेको यो आँखाचाहिँ । घर जाने तौतौ (छटपटी) भैगो । यो साल एउटा आँखा मात्र अपरेसन भयो । कान पनि नाम्रोगरी सुन्दैन बा ।
आँखा अपरिसन गरिकन । दाँत पनि किराले खाएको थियो । दाँत पनि फालेको छु ।
त्यतिखेर रोल्पामा महिलाको अवस्था कस्तो थियो ? 
धागो कात्ने बोल्ला बुन्ने । घाँस सोत्तर गर्थे । अहिले त गर्दैनन् । काम नगर्नेले त अघिको रेवाजा हामीले छाडेका छ्र्रैनम् ।
माइत छाडेपछि कस्तो भयो ?
माइत छोड्नेस त लाग्दैनथ्यो ब । बिहेपछि फेरि घरमा पनि माइतमा काम पनि गर्थियौ । घरमा पनि माइतमा मले –धेरै) जहान (परिवारका सदस्य) थिनन् ।
माइतमा सुख कि घरमा ?
छोरीको जातलाई कहीँ पनि दुख । माइत पनि दुख काट्नुपर्ने । थर घरमा पनि दुखै काट्नुपर्ने ।
पढाउने कुरै भएन ?
हाम्रो पालमा त पर्छु भन्ने नै थिएन । यिनको पालमा हाम्रो पालमा पर्ने कुरै थिएन । घाँससोत्तर र खेतीपाती गरिम् । छोरी छैनन् ब मेरा । तीन भाइ छोरा मात्र हुन् । छोरा र नातिलाई त पराइम् ब । ट्याम परे । रपा परे । अल्लि ठूला भएपछि टारटारा भए । लिबांग परो । रुकुम पनि परो । त्यस्तो गर्दैगर्दै अल्ता हिँ (काठमाडौं) पुइगो ब ।
छोरा भएर पो काठमाडौं घुम्न पाउनु भयो ।
घुम्न पाइम् ब छोरा पढाएकाले ।
रीतिरिवाज जस्तो तपाईंको आफ्नो पालामा थियो नि, अहिले फेरियो कि के भयो ? बिहे कसरी हुन्थ्यो ? अहिले चलन त्यै छ कि ?
गर्ने कोहीले त अघिको जस्तै पनि गरेका छन् ।
रोजेर हुन्थ्यो कि बाआमाले गरिदिन्थे बिहे ?
केटाले मन लागेपछि घरभित्रबाट झिक्कन लग्ने । केटी चिराटबिराट गरे नि के लागो र ? केटीको मन नभए पनि के लागो र । केटाले उसको घर लगेर टीकाटालो गर्थे । कोही छुटे पछि रुप्पे तिर्ने हो । करले बस्नुपर्ने ब । उइले उस्तो थो जुगजमाना । लाजघिन सम्झनेजति करले रोएर पनि बसे । नसम्झेनेले रुप्पे खटिए अनि निक्लिए ब । यस्तो जामाना थो बा । उइला जमाना ।
आमाले लगाएकोलाई भांग्रा भन्छ होइन ?
गादा भन्छ । भाग्राको बोल्ला र भुक्ता गुन्नी हुन्थ्यो हाम्रो पालामा । अल तम्ले देख्दै देखेका छैनौ ब । अल त नइय आया छ ।
मसिना सिन्का डोबेजस्ता पेला गरेको गुनी र जीनका चोला लाने गर्थिम् ।
त्यतिखेर एउटा भांग्रा बनाउन कति खर्च लाग्थ्यो ? 
कठै बा, तिनौटा मोर, दुईटा मोर । दस रुप्पेले त थान गुन्ने आन्थो । मेरो पालमा बीस हाते लग्या हम ब । बोल्लाको त भौ जान्नथो ब । ती पनि कुरुमकुरुम बोक्या हुन्थिम ब । यो त खांग्रा भनेर सक्क फाल्दिने कोइलाबासमा बान्ने –ब्यापारी) ले । अर्कोले उता फाल्दिने ब । फेरि डोकामा हाल्थिम ।
उइलको जमानामा तिता भन्छु, दांग देउखुरीनु यो तल पाइतला खुन लाल पर्ने । हर्न सके प  भन्नु । दाजु नानाले सहयोग गर्थे । बास बसेका ठाउँमा मौवाको रक्सी र सालको पातले सेक्थिम । अनि दिनभर खोट्यांग खोट्यांग गरेर हर्थिम ब ।
अहिले पनि लगाउँछन् ?
भांग्रा लाउन छोर्या छन् । महिलाले पनि अहिले त हीँको जस्तो सिर्वाल प लाउँछन् ।
उइल त देउखरीकाले घाग्री कत्नाम्रा फरर परेका लाया हुन्थे । फेरि दागकाले त ठेट्वाको गुनी लाएका अनि पछेतबाट चोलाको तना भानेका हुन्थे । तिख्रामा (तिघ्रा)लेखेका हुन्थे । हामी त के गरेका भनेर हेर्थिम किउ ।
बालाई सोध्छु । नुन बोक्न जाँदा बर्षमा कतिपालि जानुहुन्थ्यो ? 
सालको एक फेरा ।
त्यसबेलाका सम्झने केही कुरा छ ?
बिर्सियो । केही त होला मनमा ।
घरबाट आउने बेलामा पनि  भारी बोक्नुपर्ने हजुर । जरीबुटी, पद्मे, चुल्ठे, पास, तिते, दालचिनी, अत्तिस खरिद गरी ल्याउने पर्वतबाट । त्यसमाथि खाजा र पिठोको भारी हुन्थ्यो । बेच्नलाई सोमा दालचिनी लग्थिम् । बेच्थिम् । महाजनले राख्थ्यो । नगद दिन्थ्यो ।
कति रुपैयाँ भएपछि नुनको भारी पुग्थ्यो ?
नुन त पाँच रुप्पेले भारीले पुग्थ्यो ।
जरीबुटी ?
अत्तिस लिने त पैसा धेरै बनाउँथे । तिते र पास जस्ता बेचेर त ठीक्क नुन किन्न हुन्थ्यो । भांग्रा जम्मा एक रुप्पे जान्थ्यो (एक रुपैयाँमा बेच्ने) । ऊ जमानाको के कुरा ?
जरीबुटी ल्याएपछि के के लग्नु हुन्थ्यो ?
एक भारी नुन, लुगाफाटो । घिउवाला र जरीबुटीवालाले अलि पैसा बनाउँथे ।
बाली के हुन्छ रोल्पामा ?
मकै हुन्छ । अवलतिर धान पनि । भट्ट, मास सबै हुन्छ । हिउँदे बालीमा कल्ला, मसुरा र गहुँ, जौ हो  ।
दुवैजना सत्तरी । एउटै उमेर भयो । केटाको उमेर बढी र केटीको उमेर कम हेरिदैनथ्यो र बिहे गर्दा ?
त्यतिखेर बराबर उमेर हेर्ने चलन थियो ।
किन ?
केटा बढी भए बड्डो भन्ने केटी बढी उमेरकी भए बड्डी भन्ने । त्यै भएर बराबर उमेर हेर्ने चलन थियो ।
उमेर सोधेर थाहा हुन्थ्यो ? 
होइन नजिकका त थाहा भइहाल्छ नि हजुर, कैल जम्र्याको भन्ने । मैले त मागेर फकाएर ल्याहम् । दसौटा रुप्पे साइ लाएर ।
दस रुपैयाँ दिनुभयो ?
पछि वापस द्याल्छन् हजुर । मेरो साइ राख भनेर केटीलाई दिनुपर्छ । समाए भने मानो भन्ने भयो । बिहे हुने भयो । नसमाएपछि ता केटा फर्किआयो रित्तै । फेरि अर्को ठौमा अर्को केटी हेर्न जाने भैगो ।
त्यस्तो चलन थियो ।
रोल्पालाई बिकट भन्छन् । तपाईंहरुले बाँचेको जीवन सजिलो थियो कि अप्ठेरो ?
चरन खेलन त ठीकठीकै छ ।
सरल छ कि दुख छ ?
दुख त दुख हजुर । जसले दुख गर्यो उसैले केही गर्ने हो ।
मैले त घरगोठ पनि बनाएँ । अरुका घरका भान्ना (गारो)  पनि लाएँ । घर बनाएँ । खयर काट्न पनि गएँ ।
रोल्पामा खयर पाउँछ ?
खयर काट्न त भारत जानुपथ्र्यो । दुईफेरा खयर काटेँ । एकफेरा राँगाले तान्नेवाला र अर्कोफेरा मान्छेले बोक्नेवाला । खानीमा पनि काम गरेँ ।
रोल्पामा खानी पनि छ होइन ?
पहिला मटि खन्दै जाने हो, ढुंगा हरेको बाटो पछ्याउँदै । चारेको रेखा खन्दै गएर जाने हो । ढुंगाको बीचमा मात्र फलाम हुन्छ ।
त्यो धौ खनेपछि बिलाउन पर्छ । काठ काटेर ल्याएपछि गोलमा बिलाउने हो ।
एकथरी गोल बनाउँछन् । ल्याएर आउँछन् । बिलाउने काम चाहिँ तारेले गर्छ । लेकतिरका मान्छेले गोल लिएर आउँथे धौ लाउने ठाउँमा ।
खानी अहिले पनि छ ?
बन्द छन् ।
धौ भन्थिम्, फला निक्लने ढुंगालाई । जम्मा गरी धौलाई बिहान हुनेबित्तिकै पोल्न थाल्थे रातको एक बजेसम्म त्यो धौ बिलाएर फलाम बन्थ्यो । तीनजना बस्ने तीनजना उठ्ने गरी धौबाट फलाम बनाउने हो । त्यस्तो दुख गरेर बनाएको फलाम बाँड्ने बेला बीसपच्ची किलो मात्र हुन्थ्यो । दुख थियो ।
त्यत्रो दुख गरेर पनि पैसा थोरै ?
अँ, दुई जना गोलवाला र धौवालाले बाँड्ने हो जति आयो त्यसलाई । थोरै हुन्थ्यो ।
दुख काट्नु भयो । छोरा नाति काठमाडौमा छन् । यहाँ बसेका पनि देख्नुभयो । रोल्पाको दुखको कष्टकर जीवन पनि भोग्नुभयो । बाँकी जीवन कसरी बिताउन चाहनुहुन्छ ?
अब त जीवन बितिसक्यो नि हजुर (हाँस्दै) । के छ र अब ? साठी पुगे बाँच्नु कति भाले बासे सुत्नु कति भनेर भुराहरुले उखान हाल्छन् ।
काठमाडौमा बस्न चाहनुहुन्छ ?
हामी त कैल जाम भन्ने भया छम् हजुर । गाईभौसी चल्ला कुख्रा लाइलछच्मि कता गए ? जिउँदा छन् कि मरे ?
जन्मेको ठाउँको माया लाग्छ ।
घरको माया लाग्छ हजुर । छोराहरु जान्छन् कि के गर्ने हुन् ? तर हामी त त्यही बिताउने त होला । यहाँ बस्दा पनि यिनका केही छैन कि जस्तो छ । वहाँ हाम्रो सम्पत्ति छ हजुर । के गर्ने ? पाँच छवटा घर छन् । तीन भाइ छोरालाई एक एकवटा ढुंगे र एकएक वटा छाने घर बनाइदेन्छु भनेको थिएँ । पाँचवटा त बनाएँ । किन बनाउँछौ भन्यो कान्छो छोराले । अनि त्यसै रह्या छ । फेरि भौदल पनि आयो (माओवादी जनयुद्ध) अनि त्यसै रह्या छ ।
रमाइलो कुराकानी भयो । रोल्पाको कुरा बताउनुभयो । खुसी लाग्यो । धेरैधेरै धन्यवाद । 
(नेपाल टिभीबाट प्रसारण हुने मनका कुराका निर्माता तथा प्रस्तोता जयप्रकाश चौधरीले मेरा जेईबाबैसित २०६२ चैतमा यो कुराकानी प्रसारण गरेका थिए । त्यसलगत्तै जेईबाबैले रोल्पाका पुराना गीतका संगालो बरै अल्बम रेकर्ड गरे । सत्तरी बर्षको उमेरमा दम्पतिले नै गीत रेकर्ड गर्ने सायदै नेपालमा होलान् । 
चौधरी जण्डिस रोगले अल्पायुमै २०६६ मा बिते । उनले नेपाल टिभीमा आर्थिक समाचार पढ्थे भने थारु भाषाका फिल्म पनि निर्देशन गरेका थिए।) 

No comments:

Post a Comment