Tuesday, June 30, 2015

असार

असार १
असारमा किसान खेत जाने विषयमा गैरीगाउँमा भुइँचालो गएको छ । एकै चुलोबाट फाटेका खोपीराम, नोखीराम र गोपीरामबीच चर्केको बहस हात हालाहालसम्म पुगेको छ ।
असारमा जाने ठाउँ खेत होइन भन्दै कोही मुक्खेसित कुम जोड्दै हिँडेका छन् भने कोही असार लागेकै छैन भन्दै तर्कदैछन् । कोही भने असार हो कि सार भन्दै खेत झरिरहेका छन् ।
‘गोपे ! एकबारको चोला हो’, गलबन्दीको फुर्कोले स्वाट्ट सिँगान पुछेर नोखीरामले गोफ्ले टोपी मिलाए । पुरानो डिजाइनको पावरवाला चस्माको धुलो पुछे । बूढो जिउ बिस्तारै मर्काए । थपे, ‘ए गाठ्यौ ! असार जप्दै कपाल फुलाएँ ।’

यति भनेर खेतमा काम गरिरहेका किसानलाई हेरे । अनि लामो सास फेरे । कतैबाट जवाफ नआएपछि भने, ‘मुक्खेको त्यत्रा सिपाही देखिनस् ? एके फोर्टी सेभेन भन्ने पनि छ । बम छ । तोप छ । तँलाई त एकैघान पार्छ ।’
नसुनेजसरी गोपीराम किसानसित खेत खनिरहे । कहिले बायाँ हातले पसिना पुछ्दै त कहिले दायाँ हातले ।
‘तँैले जल्दी खाऊँ जल्दी मरौँको उग्रउग्र ग¥याछस् । खेती अन्दुलनमा छेती पुराइस् । जे भए नि म त जुग खाएको मान्छ हुम् । तँ आलोकाँचो’, यति भनेपछि नोखीरामको बोलीको भोल्युम बढ्यो, ‘चैते मकै फल्दैन, रक्सी नखाई मान्छी ढल्दैन ।’

त्यसपछि भने बोल्नै पर्छ भन्ठानेर होला, गोपीरामले थोरै टाउको उठाए । भने, ‘त्याँति बस्कन अथलको कुरा नगर । तात्पानीले घर जल्दैन । अर्ले ग¥या पनि देख्न नसक्ने, आफू पनि नगर्ने कप्टी बड्डा हौ तम्ता ।’
त्यसपछि गोपीरामले पनि भोल्युम बढाए, ‘असारमा सुत्ने किसानले कहिले फलायो ? बरु आऊ खेतमा । छिटो होला । आखिर तमी किसान भए झर खेतमा ।’
गोपीरामको प्रस्ताव सुनेर नोखीरामलाई झनक्क रिस उठ्यो । उनले भने, ‘पाजी, दर्शन खाया छस् ? खेती र हावापानी पढ्या’छस् ? किर्खि पढ्या’छस् ?’
बूढा जुरुक्कै उठेर बाङ्गेबाङ्गे तेर्सो बाटो लागे ।
‘पढेर र भाषणले फल्ने भए ता उहिल्यै गैरीगाउँ स्वर्ग बन्थो । यो मान्नामै अर्कै हुन्थो । आलीमा बसिर जिम्दारले यसो गर, उसो गर भनेजस्तो होइन । मुखले र किताबले हुने भए यो दशा हुँनो हो ?’
उनले सुने कि सुनेनन् तर नोखीराम एकपालि फरक्क फर्केर हान्ने राँगाले जसरी गोपीरामलाई हेरे ।
अनि ?
थुके, पिच्च ।
.... .... ....
जिलाधुरीको कुममा घाम उक्ले । गाई घर फर्कन थालेको कोलोका धुन टाँठियो । आठ महिना पुग्दै गरेको गर्भवती महिलालाई टक्कर दिने भुँडीवाल खोपीराम बेतको लट्ठी टेक्दै आइपुगे ।
‘सा न कुसा पिरालुको टुसा’, खोपीरामले पिच्च थुके र भने, ‘ए गोपे, तँ बौलाइस् कि क्या हो ? बिनासोरै उग्र गर्ने ? भाषणले फल्ने याममा थुक्क बुद्धि !’
यति भन्दै हातमा मल्न थाले लामपाते लाखरखोले सुर्ती । ख्वाप्प मुखमा हाले । र, हरियो रस मिसिएको थुकसहित एक पाथी रिस पनि फाले ।
‘तँसँग के छ र ? हेर्, मेरा अघिपछि ...’, आफूले चुनावमा पाएको भोट औँलामा गन्दै फेरि जोडे, ‘बलै गरेर हुन्छ ? मुखले उमार्ने बेला । तो मुक्खेको सिपाहीले तँलाई त एकै छाक पार्छ । ...तैँले गाउँ भाँडिस् । भाँजो हालिस् । दुनियाँ काँ चुक्ली लाइस् । खेतीमा ‘नयाँ प्रयोग’ को कुरा छ ।’
केही प्रतिक्रिया नदिएपछि एकपल्ट बेतको लट्ठी फनक्क घुमाए । र, फर्केर नहेरी ओरालो झरे, जिम्मल गाउँतिर ।
‘तमी चुपो लागिर जाऊ । सबभन्दा बिगारा तमी हौ ! चिल्ला कुरा लाइर गाउँ भाँडेउ ! तम्लाई अब कुकुरले हार छो¥याजस्तो छोर्छन् । तमीसित गोरु बेचेको साइनो पनि छैन ।’
पारि पुगेपछि खोपीरामले भर्पाइ दिएर आजै माइतमा फर्कदै गरेकी चेलीले एकपालि फरक्क फर्केर छाडेको श्रीमान्को घर हेरेझैँ गोपीरामलाई हेरे ।
नोखीराम र खोपीरामले जति सरापे पनि गोपीराम खेतमै झरे । मुक्खेका सिपाही आए पनि गैरीगाउँको रातो माटोमा किसानले जोतिरहे । बाली हल्क्यो । बिस्तारै वारिपारिका किसान पनि खेत झर्न थाले । असारे गीतको तालमा खेतको मेलो स¥यो । जोताइको सियोबाट नयाँनयाँ गीत फुले । सुदूर गाउँमा समेत नयाँ गीत गुन्जिए । बन्दबन्द ओठले असारे गीत गाउन थाले । रुखका पातमा पनि असारका नारा फुले ।
गुन्यू सिमल्दै बच्चा पिठ्युँमा बोकेर आइमाई पनि खेतमा झरे ।
वारिपारिका टोलबाट अबेर नगरौं भन्दै डाकाडाक गरेः
‘असार लागिस’को । हुन्न है सुतिर । असारमा खेत नझरी कसरी फल्छ मङ्सिरमा ?’
‘ऐ साइँला ! कच्छामा मुतेर जम्मै बात रेल्लेको हो ! उठम् । हिनम् ।’
‘गरे हुन्छ, छरे फल्छ ।’
... .... ...
‘यखो घर्मा चिर्कोघरन पर्ने गोपेले गाउँ भाँडो । हग्यामुत्याले समेत टेर्न छारे । बेलीसम्म मेरो एक वचन सुन्नेबित्तिकै कच्छामा छुलुक्कै मुत्ने डुमराहर्ले समेत छिप्याछिप्या कुरा गरे’, कुट्टे लौरो छानोमा कोचेर सन्तवीरसित पहेलाघरे मुक्खे घरभित्र पसे ।
‘ए गाठ्यौ, जुगै उल्टो भो कि क्या हो, बर्बर मुख प फर्कायो तो ग्वाम्जे दमैले । तो ओसे लान्ले पनि चो¥र्याचो¥र्या कुरा गरो । खुप्रिदुङबाट सुनेँ । हान्न के कस्सिएँ, जाबो कामी गाभोको पातजस्तै लल्याकलुलुक होला भन्या ता जुरुक्क उठो । भनो, ‘बिल अस्तिजस्तो हातमा दही जम्या छैन । घन पिटेका हात गालामा छाप लाग्न सक्छ ।’ झन् बिजेट होला भनेर रिसलाई पाइतालामुनि अचटेँ ।’
कुराको फेरो मार्दासम्म मुक्खेले कम्मरमा बाँधेको सोह्र हाते पटुकी पनि फुकाले । त्यसपछि काम्लोको बिछ्यौनामा अलिकति सुस्ताए । एकछिनपछि हुक्का तान्न थाले— ‘कोटोऽऽऽ कोटोटोऽऽ’
‘साइसेना र पुलिस लाएर तोरीको फूल देखाइदिन्छु । बर्ता गरे उपल्नु मान्नाम पु¥याइदिन्छु । काँ छार्दाम् र ! जा ओसे, तुरुन्त बोला’र ले । मुल्कका कान फुकेर भन्नुपरो र, गोपेले गाउँ भाँडो । चुक्ली हाली यल्लई तातो गुली नख्वाए मेरो मुखमा हक्दिनू । यस्का शाका–सन्तानका गैरी नपठाए तारे मुक्खेको छोरा अठन्नीको छेपारीनाथको कान काटेर कुकुरको गुमा गार्दिनू’, मुक्खे राँक्किए । त्यसपछि मुक्खेको चम्चा ओसे ‘हस् हजुर’ भनेर हिँडे ।
मुक्खे हिँडेको केही दिनपछि गैरीगाउँ घेरे । खेत घेरे । बेलाबखत बूढापाकाले भन्ने गरेको ‘गोर्खा प¥यो’ । बिनाबादलको असिना प¥यो । खेत गएका धेरै किसान मारिए । तर बँचेकाले खेत जोतिरहे । न छाडे हलो न त छाडे खेत । बरु भिजिरहे ।
... ... ...
गोपीरामले खेतमै बैठक डाके । किसानले मन खोले । कार्यक्रमको माझमाझमा पुग्दा घारीघरे मैते भनेर चिनिने मैतबहादुर जुरुक्क उठे । बोले, ‘एउटै पीडामा दुख्नेहरू मिल्न पर्छ ।’
त्यसपछि जुम्ली बस्ने टीकाराम साइँला खोपीराम र नोखीरामले पनि सुनून् भनेर कड्किए, ‘ऐ जैरेहरू ! भोट र भाषणले हुने भए यत्रो दस कम तीन बीसतक के भयो ? आब व्यवहार चाइयो ।’ यति भनेर टोपीले पसिना पुछे । झन् उत्तेजित भए, ‘बाटो हिन्नेहरूलाई छार । बाटो हिन्नेहर्को हो । होइन छेर्नेको ।’
बोल्नेक्रम फेरिँदै गयो क्रमशः ।
‘तो छेपारे, हाम्रो रगतपसिना खाइर जम्मै धन लगेर अड्डामा लगेर थुपारो । त्याँबाट तो ठूलो अड्डा जाला । त्याँबाट अल् ठूलो अड्डाँ भाग्ला । त्याँबाट काँ ? यँका बाको च्यान् ?’
तरुनी नभई विधवा भएकी पानसरीले हातमा लिएको आँसी फन्काइन् ।
‘तो मु...मुक्खेले दुहुनो भैंसा फुकायो । उठिबास लायो । मेरो यो गति बनायो । मलई बन्नुक देऊ । मर्नुअघि तोलाई एकसासे पारेर मात्रै मर्न परोस् ।’
सोर्ने कामी भनेर चिनिने सोर्नबहादुर कामी जङ्गिए । फलाम पिट्दा कालो भएको हात हावामा फन्न फन्काए । र, हात खुकुरीको दापमा पु¥याए ।
‘जुत्ताको माला लाइर घुमाउनुपर्छ । बगाले मुड्की लाउन पर्छ । तोले पनि काँ पुग्छ ? तोलाई मै बड्डोले गुली हान्ने हुँ ।’
एकशव्द बोल्दा पनि केराको पातझैँ काँप्ने गाउँलेले भाषण गरे ।
‘अँ ! तो छेपारेले जिल्ला लबाकेर आफूलई पर्जान्तर प भन्छ । राताघरे माइला काँ म¥या’ छ ? तो पाजीले हाम्रो भोट खाएर काँ गया’छ ? असार लागे पनि खेतमा नजाऊ प भन्छ । त्याँबाट म पाला ‘ल पाजी’ भनेर ल्वाँपे ख्वाइदिएँ । ‘गाडपारि नाच्ने एकखुट्टे धामी, तेई धामीलाई हेर्ने आँखा फुट्या हामी’ भएर गल्त भो ।’
ट्याम्के बोई बल्ल–बल्ल थामिइन् । छोरा गुमाएकी, त्यसभन्दा अघिको आन्दोलनमा छोरी गुमाएकी बोईको अनुहार छेपारे मुक्खे र खोपीरामप्रतिको घृणाले राँक्किएको थियो । आफूलाई थाम्न नसकेर जुरुक्क उठिन् फेरि दुई शब्द बोल्न भन्दै समय मागिन् ।
‘त्यो पाजी खोपे मेरो छोरा बिर्खेको खुन, पसिना र सपनाले कुर्चीमा बस्या छ । मुल्कका जोई राँरी पारेर, छोराछोरी टुँरा पारेर मस्ती ग¥या छ । आज हामी माखा हाक्छम् । मेरा छोरा र मुल्कका छोराछोरीका रगतले बाटो देने छैन । खोपेले धोका दिए पनि मेरो छोरा बिर्खेको घित्करो तमेर्ले पू...’, बोल्दाबोल्दै उनको गला भिज्यो । आफूलाई थाम्न नसकेर ढलिन् ।
केहीबेर सन्नाटा छायो ।
‘बोईले भन्या कुरा सोरै आना ठीक हो’, सन्नाटालाई चिर्दै खोरबारे जगजीत दमाईले थपे, ‘नोखीराम पनि हौवा भैगेछ । खोपीरामको घानमा गइछ ।’
‘असिना र पानी नपरेको पनि असार हुन्छ ? ऐ खोपे र नोखे, जेईको दूध खाया भे आऊ खेतमा’, जोखबहादुर चमार जोसिएर बोले ।
‘कुन असार छ पानी नपरेको ? असिना नपरेको ? असारमा पसिना नपरी मङ्सिर आउँछ ? हरेक किसानको कर्बते  हो, आफू झरेर’नि असारमा धान फलाउनु’, गोपीरामले छोटकरीमा बिट मारे ।
‘एउटा कुरा भनम् कि भनम् भया’ छ’, चोटाबारी आइते भनेर चिनिने आइतराम कामीले गलबन्दीको फुर्को स्वाट्ट पछिल्तिर फालेर थोरै मुन्टो हल्लाए । बोल्न धक लाग्दा आएको खोकीलाई थामेर फेरि ‘ख्वाक्क’ खोके । भने, ‘आरनमा फलाम रातोपीरो भएसि मार्तै फलामलाई आफूले चाहेको आकार दिन सकिन्छ । मैले बुझ्या कुरा इत्ति हो । कम्रेट नोखीराम र खोपीरामको बाटो ओरालो परिगो, आँक्ख्यौ–आँक्ख्यौ छेपारे मुक्खेको बाटो । हामी त उकालो लाग्ने हो । अब तिनका नउँ लिँदा पनि बिटुलो हुन्छ ।’
‘आइते दाजुले भन्या कुरामा मेरो मतो मिलो’, चुत्रोबोटे करवीर टोमटाले थपे ।
‘किसानका मनसित कहिल्यै नचुँडिने डोराले बानेमा मुक्खेका सिपाही आए’ नि तिनका बाजे अम्रिकाने आए’ नि रौंसमेत हल्लाउन सक्तैन ।’
‘एकदम ठीक हो, करवीर कान्छाको कुरा । त्यसमा मैले एउटा थपे कसो होला ?’, मुसुमुसु हाँस्दै गने पनि गन्न सकिने जुँगा मुसार्दै सन्तवीरले भने, ‘कुर्चीका लागि तल्लो डेराको जिम्मलले मर्न जा भने’ नि जाने मुक्खे र खोपेलाई बढार्नुपर्छ ।’
बैठक जारी रहेकै बेला असिना र पानी पर्न थाल्यो । तर, खेतमा थपिने, मारिने र भाग्नेक्रम जारी छ ।

असार २
‘तमी पनि गोपीरामजस्तै हुन्नौ भन्ने के ग्यारेन्टी छ ? अर्को गोपीराम जन्माउन बाली लाउने ?’
जीवनका घामपानी असारमा चढाएर धोती न टोपी भएका किसानले मोतिरामको सातो खाए ।
‘गोपेले मङ्सिर आउनै लागेको बेला हाम्रा सपना, बलिदान र रहर कहाँ लगेर बुझायो ? फेरि दोहोरिन्न भन्ने ग्यारेन्टी नहुँदासम्म हलो–कोदालो बोक्ने त कुरै नगरम्’, सोर्ने कामी भनेर चिनिने सोर्नबहादुर कामीले रोकिई रोकिई भने ।
१० वर्षसम्मको उथलपुथलमय असारमा जोतखनको नेतृत्व गरेका गोपीरामको दायाबाया हातमध्ये एक थिए, मोतिराम । मोतिरामले भने कि गोपीरामले मङ्सिर नआउँदै हलो–कोदालोसहित बालीनाली बुझाए । जसको विरोधमा किसानले रगत, सपना र पसिना बगाए, तिनैलाई आखिरमा सबथोक बुझाए ।
‘असार रोपेका सपना, रहर र प्रतिबद्धताप्रति गोपीरामले किसानलाई धोका दिए,’ मोतिरामले भने ।
‘गोपीराम पनि नोखीरामकै घानमा गयो । उही ड्याङको मूला रै’छन् नि’, किसानसामु मोतिरामले भने ।
‘हेर्नुस्, कहाँनेर लाग्छ तपार्इंलाई फेरि उस्तै हुन्छौँ भन्ने ?’
‘तम्रो त्याग र इमानदारीमाथि खोट लाउने ठाउँ छैन । तर तम्रा पछि लागेका र गोपीरामका पछि लागेकाका बीच के फरक छ ? खानपान उस्तै छ । खाइए न पत्याइए’, चोटाबारी आइते भनेर चिनिने आइतराम कामीले भने ।
‘हामीले रातदिन नभनी लगाएको बाली र दसौं हजार किसानले गरेको बलिदानको मूल्य दुई जनालाई बालुवाटार पठाउन हो ?’, घारीघरे मैते भनेर चिनिने मैतबहादुरले लाटोरिस पोखे । उनका अनुसार गैरीगाउँमा नर्जित दमाई र ओसबहादुर सार्की शीर उठाएर अधिकार खोज्दै हिंड्थे । असारको उथलपुथल सकिएपछि विष्टौ भन्दै शीर निहुराएर हिंड्न बाध्य भएका छन् ।
मोतिराम बक्क परे किसानका गुनासा सुनेर ।
‘आउला फेरि गोपे । अझै चंरङ्गै उत्तानो पर्न बाँकी छ । भाषणमा त अझै चोर्याचोर्या कुरा गर्छ’, असारमा हातखुट्टा गुमाएका चुत्रोबोटे करवीर टोमटाले भने ।
आश्चर्य । हिजो गोपीरामलाई खोपीरामले जेजे भने त्यैत्यै आज गोपीरामले मोतिरामलाई भने । गोपीरामले खोपीरामलाई जे जे भने, त्यैत्यै मोतिरामले गोपीरामलाई ।

खोपीराम, गोपीराम, मोतिराम र नोखीराम आफूलाई असल्ली किसान दाबी गरिरहेका थिए । असारकै कुरा गरिरहेका थिए ।
‘तँ मोते फुर्फुर नगर । एै मोते, बलै नगर । तँ मोतेलाई एकछाकमै स्वाहा पार्छ’, १० वर्षअघि खोपीरामले गोपीरामलाई भनेको कुरा सापटी लिएर गोपीरामले मोतिरामलाई भने ।
‘तँ मोतेले मेरा खोटजति छताछुल्ल पारिस् । माटो सुहाउँदो खेतीको कुरा छ ।’
यति भनेर १० वर्षअघि बेतको लट्ठी फन्काएर कमरेड नोखीराम जसरी फर्की नहेरी जिम्मलगाउँ झरेका थिए, उसैगरी गोपीराम बाटो लागे ।
‘सबभन्दा बिगारा तमी बड्डा हौ । तम्लाई ता आब कुकुरले हार छो¥याजस्तो छोर्छन् । इतिहासले माफ दिने छैन’, १० वर्षअघि गोपीरामले खोपीरामलाई भनेको कुरा उधारो लिएर मोतिरामले गोपीरामलाई भने ।

परिवेशचाहिँ फरक थियो । अघिल्लो असारमा त किसान खेतमा झरेका थिए, झरीमा भिज्दै । के बालक, के महिला सब सामेल भएर किसान खेतमै समीक्षा गरेथे । दिल खोलेर आफ्ना तर्क राखेथे । कहिल्यै नबोल्ने ओठ फरर खुलेथे । र, भनेथे, ‘भोट र भाषणले फल्ने भए किन यत्रो दस कम तीन बीसतक केही भएन ? भन पाजीहरू ।’
यसपालि गैरीगाउँ काम गर्ने कालु मकै खाने भालु भन्ने भ्रमको तुँवालोले ढाकिएको छ । किसानलाई न भोटको कुरा गर्न मन छ न त असारमा झर्ने खेतको । गैरीगाउँबाट गोपीराम काठमाडौं पसेपछि असारमा परिवारका सदस्य गुमाएका, शरीरका अङ्ग गुमाएका र जीवनका हराभरा याम चढाएका किसान आफ्नै तालले बोले ः
‘तो गोपे ! हाम्रो रगतपसिनाले ठूलो अड्डाँ गयो । त्याँबाट काँ जाला ? यँका बाको च्यान’, गोपीरामको अनुहारमा आफ्नै आँखाले शाह र राणाको अवतार देखेपछि आगो भएका किसानका बगाले स्वर झरे । असारमा चोसे न मोसे भएका किसानले गैरीगाउँको सामन्तलाई सराप्ने सराप गोपीराममाथि सारे ।
‘मेरो यो गति बनाउनेलई एकसासे पारेर मात्रै मर्न परोस्’, असारमा खुट्टा गुमाएका खोरबारे जगजीत दमाईले भने ।
‘तो गोपे मेरो छोराको खुन र पसिना खाएर बालुवाटार पसो । मुल्कका जोई राँरी पारेर र छोराछोरी टुँरा पारेर आज मोज ग¥या छ । हामी याँ माखा हाक्छम्’, असारमा छोरा गुमाएका सन्तवीरले धारेहात लाउँदै गोपीरामलाई सरापे । र, भने, ‘तमी मोतिराम पनि उही ड्याङका मूला त हौ नि । तिम्रो जात, आँखा, मुख र नाक अनि चालचलन उस्तै त छ । तमी के गतिला हौला र । अहिले साँक्कै पल्टेर लोकाचार नपार । हिजो गोपीराम पनि यस्तै गथ्र्यो ।’
किसानका आँखामा आए असारको खेतको अनुहार । तिनका आँखामा आए, दसौं हजार किसानका रगत र पसिनाको मल हालेर हलल हल्केको बाली । सप्रेको बाली देखेर किसानका नयाँ दिन आउने भयो, लागेका किसानका लर्को पनि आँखामा आए ।
बालीमा गबारो लाग्यो । धाइरे लाग्यो । लाही लाग्यो । किसानले तिनलाई ठहरै पारेका पनि सम्झिए । बारी बगाउन आउने बाढीलाई बाँध बाँधेको याद गरे । मङ्सिरको नाउँमा आफ्ना रहर, पसिना र रगत जम्मै बुझाएको सम्झना गरे ।
बस्, तिनले बुझाएका थिए, गरिबको मंसिर आउला भनेर मंसिरको नाउँमा जिन्दगी । गरिब किसानका दिन आउँछ र सब समान भएर बाँच्ने मङ्सिर आउँछ भनेर कोदालो किन्न नाक र कानका गहना पनि बुझाएका थिए । कीरा मार्ने औषधि किन्न भनेर मनका जम्मै रहर बुझाएका थिए ।
बालीमा लाग्ने रोग, बाढीपहिरो र खडेरीसित किसान लडेका थिए । र, त बाली हलक्क हल्केको थियो ।
‘जब मङ्सिर आउलाजस्तो हुँदैथियो, दिनभर बारेको बार मुक्खेको भालेले भत्कायो । सबथोक सुम्पेका किसानजति चङ्रङ्ग परिम् जब अगुवा नै बाटो हगुवा भए ।’
असारको समीक्षा गर्दै किसानले मोतिरामलाई फेरि हकारे ।
‘हाम्रो मङ्सिर कसरी बुझाइयो ? म जबाफदेही छैन’, मोतिरामले भने ।
किसानले प्रतिवाद गरे, ‘तमी त्याँति बस्कन पानीमाथिको ओभानो नबन ।’
‘मेरो भागमा परेको हिस्सा मैले नि लिन्छु ।’
सन्नाटा छायो ।
‘गैरीगाउँको कर्र्मै यस्तो हो कि के हो ?’, राता सुनारले भने, ‘अब त मंसिर आउला कि भन्यो फेरि उस्तै । गोपीराम पनि उस्तै निक्लियो ।’
इतिहास कोट्याए ।
अब आउला नि गरिब किसानका दिन भन्यो अगुवाले सम्झौता गरे, आफू र केही थानलाई सत्तामा लग्न । बस्, गोपीरामले पछ्याए अहिले पनि जोसित लड्यो उहीसित सम्झौता गरेका पाइला ।
‘मोतिराम अब कसरी बाली लाउँछौ ? खै हलो र कोदालो ? यसअघि जस्तै कि नयाँ ढङ्गले ?’
‘कपाली तमसुक गर्नुप¥यो ?’
‘धोती लाउने तमसुकको के काम ? गोपीरामले पनि ७ बुँदे तमुसुक गरेकै हो ।’
‘उसो भए के गरम् त ?’, खेत जाने आह्वान गर्न किसानकहाँ पुगेका मोतिराम अक्क न बक्क परेर किसानलाई सोधिरहेछन् ।
असारको लहराउँदो विकास र यसको दुखद् अवसान दुवैका साक्षी ती किसानलाई बुझाउन मोतिरामलाई बज्नु बाह्र बजेको छ । भन्न त भन्छन् –असारमा खेती नझरे किसानको मंसिर कसरी आउँछ र ?

No comments:

Post a Comment