‘यी स्हिडिया औल्याल । पुलिस र सेना हाकिम औल्याल । खाद्या हाकिम औल्याल । कांग्रेस, एमाले, माउवादी नेता औल्याल । कोइ नाइ आफ्ना भन्या ।’
हुम्ला सदरमुकाम सिमकोटस्थित खाद्य गोदामअगाडि पाँच घण्टा लाइनमा कुरेर रित्तै फर्केको रिस अझै मरेको थिएन । त्यसैले फुसफुस हिउँसँगै उनको रिस पनि बाजी लाग्दै खसिरहेको थियो भुइँमा ।
फेरि जानुछ भोलि सखारै खाद्य गोदामअगाडि फेरि लाइनमा उभिन ।
हिउँ खसिरहेथ्यो ।
घरछेउमा गाडेको चोंटो र आलु कुटोले खनी निकालिन् । दिसा गर्दाजसरी बसिन् । त्यसपछि गुन्यूको फुर्काे मास्तिर दोबारिन् । फुर्कोलाई दुबै हातले अड्याएर दोबारेको भागमा चोंटो राखिन् । त्यसपछि आलु ।
खस्ला कि भनी सतर्कहुँदै कुप्रो परी लिस्नो चढिन् । त्यसबेलासम्म उनले ओढेको बर्कीबाट कति हिउँ भीरबाट घाँसको मुठा झरेजसरी झरिसके भने कतिचाहिँ बर्कीमै अल्झिए ।
घरछेउको खाली जमिनमा गाउँबाट काठ लिएर सदरमुकाम सिमकोट आएका दुईवटा झोपा उभिएका थिए । अलि परचाहिँ चारवटा गधा । त्यसमध्ये दुईवटा गधाचाहिँ उग्राइरहेका थिए भने बाँकी भने आँखा चिम्म गरी डल्लो परेका थिए ।
लिस्नो उक्लेर तलामाथि पुगेपछि केही छुटेजसरी फर्केर हेरिन् । उनको आँखा बिजुलीको तारमा बल्झियो । बिजुलीको पोल उनको घरको गारोसित टाँसिएर उभिएको थियो भने तार घरको सिरानीमा । तर बिजुलीको तार उनको घरभित्र नपसी अग्ला घरभित्र मात्र पसेको थियो ।
हिउँमा खेल्दै एउटा काग घरी बिजुली तारमा पिङ खेल्थ्यो घरी बिजुली पोलमा उभिन्थ्यो । हिउँको फुसफुस संगीतमा हुम्लाको कैलाश एफएम १०३.४ मेगाहर्जमा देउडा गीत बज्योः
कुलो नाइ मुलो नाइ क्या गरी खान्या हो
बसौं भन्या बाँचिन्या नाइ जाउँ प काँ जान्या हो
आफूले नै गाएजसरी गीतमा अल्झिएर एकछिन उनी मूर्तिवत् भइन् ।
माटो पिटेर छाएको एक तले घरमा एउटा मात्र कोठा थियो । कुनामा बूढी आमा हिउँको जाडोविरुद्ध फाटेको पुरानो बर्कीले प्रतिकार गरिरहेकी थिइन् ।
उनले चोंटो र आलु निकालिरहँदा लिस्नोछेउमा उभिएर बच्चीले बोलाइरहेकी थिइन् । अलि पर अलि ठूला तर विभिन्न साइजका बच्चा एकअर्कासित खापिएर बस्न खोज्थे, हिउँको चिसोविरुद्ध जुध्न । निस्कदानिस्कदै तिनका नाकको घिउ बाटोमै जमेको देखिन्थ्यो ।
लिस्नो चढेर उक्लेपछि बच्चीले आमाको गुन्युको पछिल्तिरको भाग समाइन् । पुच्छरजस्तै भएर आमासित भित्र पसिन् । चोंटो र आलु खाटमा फिजिन् । खाटचाहिँ ढुंगामाथि राखेर फल्याक ओछ्याएर बनाइएको थियो । आठवटा गाठागुठी भएका डल्ले मुला र मध्यम आकारका पन्ध्रबीसवटा आलु थिए ।
छेउतिर चामल सकिएपछि खाली भएको सेतो रङको कट्ठामा दाउरा थियो । कट्ठामा काठका चपेरा थिए केही ससाना झिंजा ।
चपेरासमेत मिसाएर उनले चुलोमा आगो सल्काइन् । ठीक त्यसैबेला छोरी लडिन् जो पुच्छर भएर आमाको पछिपछि आएकी थिइन्, गुन्यु समाएर । कठै भन्दै काखमा लिइन् । छोरीलाई छातीमा चपक्क पारिन् । चुलोमा आगोको लाप्कासित धुँवा पनि उड्न थालेपछि बिभिन्न आकारका केटाकेटी आएर चुलो घेरे ।
चुलोदेखि एक मिटरजति माथि सानो झ्याल थियो । त्यै झ्यालबाट हिउँले दुब्लाएको उज्यालो मुश्किलले भित्र छिरेको थियो ।
उनको फरिया, चोलो, कपाले र बर्कीमा दुईभन्दा बढी टालो खापिएका थिए । ती टालो केही काला थिए त केही राता । र, सबैभन्दा बाक्लो टालो थियो दाया हातको कुहिनामा ।
कर्मचारीले रक्सी खाने होटलवालासहित सभासद्, एलडिओ, सिडिओ, हाकिम, दलका नेता, हुनेखानेका सिफारिसवालालाई चामल दिएपछि आज पनि खाद्य गोदाम बन्द भएको थियो । खार्पू, श्रीनगर, दार्म, मेलछाम, रादेउबाट चारपाँच दिन पैदल हिंडेर सिमकोट पुगेका देखि सिमकोटनजिक फयाबाट खाद्य गोदाममा दिनभर लाइन लागेका सर्वसाधारणले खाद्य कर्मचारीलाई धारेहात लाए आज पनि । नारा लाए आज पनि ।
‘खाली लइनै । खाद्या चावल लिन्या लइनै । नुन लिन्या लइनै । ...हामी झनाझुल्टालइ नदिन्या । हेप्नेचेप्ने । प्रहरी लाउन्या र हान्ने । अलानो गन्र्या । ठूलालाई दिन्या । हामीकन नदिन्या’ भनी धारे हात लाउँदै फुसफुस परिरहेको हिउँसँग लुकामारी खेल्दै सर्वसाधारण सिमकोटमा अलप भएका थिए, चामल बोक्ने रित्ता थैलासित । सरकारी प्रावधान छः सर्वसाधारणले महिनामा तीस किलो चामल लिन सक्छन् । त्यसरी रित्तै फर्कनेमध्येकी उनी पनि एक थिइन् । आलु र मुला राखेको छेउमै थियो दिनभर खाद्यअगाडि बोकेको त्यो रित्तो थैलो । र, त्यो थैलो हिउँले भिजेको थियो । रित्तो थैलोछेवैमा थियो पिस्न बाँकी चार मानाजति फापर ।
चुलो घेरेका बच्चाबच्चीले घरी हेर्थे उनको अनुहार घरी रित्ता थैला.त घरी मुला र आलु ।
उनको घरछेवैमा पक्की ट्वाइलेट थियो । त्यो ट्वाइलेटको छानोमाथि हिउँ आएर बस्दैथिए । घरचाहिँ माटो पिटेर छानो हालेको एकतले । एउटा एनजीओसित मिसिएर आएको सरकारले ट्वाइलेट बनाइदिएको थियो । यस्ता एजनीओका साइनबोर्ड सिमकोटका अग्ला घरैपिच्छे देखिन्थे ।
ती एनजीओ काठमाडौंबाट उडेर दलित बस्तीमा गएथे । ट्वाइलेटमा दिसा गर्न सुझाएथे । तालिम भनेथे । फोटो खिचेथे । भिडियो बनाएथे । रिपोर्ट बनाएथे । र, बनाएथे तिनले छुवाछुत, अभाव र गरिबीले खाएका अनुहारलाई लौरु भैसी । स्वास्थ्य, रोजगार, शिक्षा, अधिकार र मान्छेको जिन्दगी जिउने ठेगाना भने तिनले कहिल्यै देखाएनन् । फोटो खिच्दाखिच्दा मिच्छिएर होला, काठमाडौंले माया मारेका हुम्ली अनुहार क्यामेराफोयिबा भइसकेका थिए ।
चुलोमा आगो बल्न थालेपछि हिँउले झारेको सिंगानको सर्को तानेको साक्कसुक्क मत्थर भयो । ठीक त्यसैबेला
काठमाडौंबाट समाचारको तिर्खाले सिमकोट पुगेका एकजना पत्रकार उनको घरमा पसे ।
पत्रकार र उनीबीचको भलाकुरी यस्तो थियोः
‘नाउँ के हो ?’
‘स्हउरी ।’
‘हौरी ?’
‘स्हउरी के स्हउरी ।’
‘सउरी ? ए सउरी ।’
पत्रकार आफैले सदर गरे । उनले त्यही आएपछि थाहा पाए कि हुम्लाको सदरमुकामको नाउँ स्हिमकोट रहेछ । ‘सिमीकोट’ बनाएको रहेछ काठमाडौंले आफ्नै मर्जीअनुसार । खासमा काठमाडौंबाट सिमकोट पुगेका पत्रकारको जिब्रोमा ‘स्ह’ थिएन भने उनको जिब्रोमा ‘स’ ।
‘सउरी के ?’
पत्रकारको अनुहारमा हेरिन् । भन्ने कि नभन्ने बीचमा अल्झेजसरी वरपर हेरिन् ।
‘हामीकन हेर । हाम्मा घर हेर । हाम्मा अनुहार हेर । हाम्मा लुगा हेर । ...’
पत्रकारले उनलाई हेरे ।
के अनुमान लगाए कुन्नि ?
‘खै कति भयाँ, था नाइ । तुमी भनन कति भयाँ,’ पत्रकारले सोधेको उमेर उनले पत्रकारलाई नै फिर्ता गरिन् । उनको अनुहार पचासको घरमा पुगेजस्तो देखिए नि पत्रकारको अनुमानभन्दा कम्तिमा पनि एघार बर्ष कम थियो ।
अलिकति पर सारिन्, पानी राखेका प्लाष्टिकका भाँडा । कति भाँडामा आधाआधी पानी थिए भने कति खाली ।
‘स्हप्पै पइल्या कुरा हुन थालिगो । माउवादी युद्धकालमा माउवादी डरले हो कि करले, याँका बाउन, बाउसाप र हुन्याखान्याले हाम्लाई हेप्न कम भया छियो । अहिले त फेरि हेप्न थाल्या छन्, हामी दलितलई । हामी दुखी दाल्द कन हुने केइ नाइ । माउवादी फरक हुन्छ भन्या सोच्याका छियौं तर यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो,’ एकै सासमा आफ्ना कुरा राखिन् । त्यसपछि उनले सिमकोटमा गधा र झोपाले उबारेका काम दिनगन्ती मजदुरी गरेर गुजारा चलाएको जानकारी गराइन् ।
‘यसपालि पाँचमा जाने हो तर गन । माष्टर भन्दाछन्ः तिम्मो घर बत्ती नाइ । यो पढ्दैन भनी फेल गर्याछन् । दलित र दाल्दलई उँभो लाग्न्या ठाउँ रनछ । फेल बनाइदिया ।’
दलितका छोराछोरीलाई फेल गराएको भन्दै स्कुलमा रिपोर्ट गर्न गएपछि उनलाई घरमा बिजुली हाल्न सुझाएका थिए ।
एकछिनपछि डेक्चीमा आलु पकाउन थालिन् । खाद्यले चामल नदिएपछि आलु मात्र थियो बिकल्प । आजलाई त आलु र मुलाले धकेल्लान् तर भोलि ? उनले घरी हेरिन्, बूढी सासूलाई घरी देउरानीलाई घरी नन्द, देवर र आफ्ना विभिन्न साइजका बच्चालाई ।
सातमध्ये अलि फरक अनुहारलाई उनले नन्दका बच्चा हो भनिन् । एकजना औल्याल सरकारी सुरक्षा फौजले भुँडी बोकाएर भागेका थिए । त्यसको बदला लिन भनेर उनकी नन्द माओवादीमा लागेकी थिइन् ।
‘याँका हुन्याखान्या लाइग्या रुख पार्टीमा । अलिअलि पुग्न्या घाम पार्टीमा । खानलाउन नपुग्न्याजति हामी माओवादीमा,’ उनले भनिन् ।
बालबच्चालाई पेटभर खुवाउन पाए हुँदो हो । हिउँ परेको बेला जिउभर लुगा भए हुँदो हो । हाँस्न मन लागेको बेला हाँस्न पाए हुँदो हो । रुन मन लागेको बेला रुन पाए हुँदो हो । बस्, यस्तै तिर्सना थिए उनका ।
‘हुन्न अब औल्यालका भर परेर,’ उनले यति भनेर मारिएका नन्दलाई सम्झिइन् । श्रीमान्लाई सम्झिइन् । र, युद्धकालभर जनयुद्धमा जोतिएर अहिले शिमला पुगेका देवरलाई सम्झिइन् । शान्तिप्रक्रियापछि देवर शिमलामा कुल्ली काम गर्न गएका थिए । उनका श्रीमान् र नन्द भने ढाडमा टेकेर टाउकोमा हान्ने नारा बोकेको गण्डक अभियानमा गएथे । उनका श्रीमान् र नन्द गण्डकबाट फर्केनन् ।
पत्रकारले उनको श्रीमान् र नन्दको फोटो मागे । भएजति फोटो सहिदका फोटो छाप्न भनेर माओवादीले नै लगेका थिए । न छापिएको किताब पुग्यो उनको हातमा न त फोटो लाने कमरेड नै भेटिए त्यसपछि । छोराछोरीले कस्ता थिए भनेर हेर्न खोजे के भन्ने हुन् उनले ? थाहा छैन ।
के सम्झेर कुन्नि ? उनने भोट हालेर पठाएका केही नाउँ भनिन् । जो नेपाल (काठमाडौं) पुगेर औल्याल भएका थिए ।
‘कोही हाम्मा भएनन् । हामी डुमका डुम रह्यौँ । तमी पत्रकार भन्छौ ? तमी पनि औल्याल त हौ,’ काठमाडौंप्रतिको जम्मै रिस पोखिन्, ‘हेर हाम्मा अनुहार । हेर न हाम्मा चुला । हाम्मा घर । ...हामीकन देखेर उः डुम भनी मन्टो फर्काउँदा छन् । लोकतन्त्र र गणतन्त्र भन्ने के जात हो ? जान्दौन । याँ यस्तै छ । देखिग्यौ त तुमीले ।’
चुलो घेरेर बसेका केटाकेटीका आँखा डेक्चीमा पाकिरहेको आलुमा अल्झेका थिए ।
पत्रकारले क्यामेराको बिर्को खोले । नसोधिकनै क्यामेरा सोझ्याएँ ।
‘स्हक्छौ भने हाम्मा दुख स्हप्पै लग । लग र खाऊ हाम्मा दुख पनि । स्हक्छौ ? स्हक्दौन । स्हक्दौन भने हाम्मा फोटो नखिच । हामी जस्ता छम् निका छम । तुमीले हाम्मा फोटो खिचिलिन्या । डलर खान्या । हामीकन हुन्या केइ नाइ,’ बोलीको भोल्यूम बढाउँदै उनले दाया हातले छेकिन्, क्यामेराको मुख ।
उनको हत्केला खडेरीको खेतजस्तै थियो ।
पत्रकार चुपचाप भए ।
पत्रकारिताको इथिक्स थियो या थिएन ? अनायास उनले भने, ‘तपाईंको फोटो ठूलो बनाएर पठाइदिम्ला ।’
हिउँ परिरहेको बेला झ्यालबाट झरेको उज्यालो उज्यालो नै होइनजस्तो भयो । सरकारी कार्यालय, एनजीओ कार्यालय, राजनीतिक दलका कार्यालय र ठूला घरमा बिजुली बत्ती बले ।
‘फोटोकन हामी के गद्दा हौ र ? न खान्या न लाउन्या ।’
‘छाती दुख्छ । मन दुख्छ । मुटु दुख्छ । कि ओक्ताँ टाटा ल्याऊ कि बन्दुकाँ । नखिच हाम्मा फोटा । यसै मन्र्या उसै मन्र्या । ...ड्याम्मै पार्या एकैचोटि मरिदो हो । कस्तो हुँदो हो नदुखिकनै मर्दा,’ नरोकिइन बोल्न थालिन् ।
त्यसपछि क्यामेराको बिर्को बन्द नगरी पत्रकार बाटो लागे । ती पत्रकार जति पर पुगे उति नै उनको बोलीले हिउँलाई पछ्याउँदै झरिरह्यो, ‘उई स्हइना देखिकन बाँच्या छौँ । हामी दाल्द दलित पुगे केइ हुँदो छियो कि भन्न्या स्हइनाले । त्यै स्हइनामा अल्झेर त बाँच्या छौं हिउँमा पनि । हेर, औल्याल हामी कसरी बाँच्या छौं ? नआऊ कठै भनिदिन मात्र । हामी आफै गर्छौं । स्हके गरौँला । स्हके लडौला । नस्हके मरौंला ।’
No comments:
Post a Comment