मंसिर १४
२ बजे उठ्छन्। मोटरसाइकलमा एउटा घन, ग्यास सिलिन्डर र कट्ठा राखेपछि उनीजत्तिकै ७० किलोका सहयोगी बस्छन्। त्यसपछि उनले मोटरसाइकल भुर्रर पार्छन्। कहिले पुग्छन् लमही त कहिले घोराही आसपासका गाउँ। दाङ सदरमुकाम घोराहीस्थित जलजला फ्रेस हाउसमा मासु बोकेर पुग्दा ‘मान्छे चिन्न सकिने’ उज्यालो हुन्छ। मासु बेच्दाबेच्दै पत्नीलाई छाडेर उनी सिस्नेखोला (झण्डै १० किलोमिटर टाढा) किनारको जलजला फार्ममा जान्छन्। त्यहीँ बंगुरसित लडीबडी गर्दागर्दै रातको ११ बज्छ।
६ वर्षयता कमरेड पारस उर्फ पूर्णप्रकाश घर्ती मगर र पत्नी कमरेड उर्मिलाको दिनचर्या यसरी हतारमै बित्छ।
‘रिक्सा गति’ मोटर साइकलमा सरेको तीन वर्ष मात्र भयो। गति बढेपछि ५० किलो मासु बेच्न रात कुर्ने पारस अहिले उज्यालोमै क्विन्टल बेच्छन्।
उनलाई लाग्न थालेको छ, मोटरसाइकलबिना उनको जीवन गति रुक्छ। अपसोच त यो भइदियो कि गतिसँगै उनको पेटसित गाँसिन आएको मोटरसाइकलसँग जोड्ने साइनो भने छैन। त्यै साइनाको तिर्सनाले उनी थला परेका छन्। तनमनसँगै भए पनि बिहेदर्ता नभएको घरबारजस्तो भएको छ, उनको र मोटरसाइकलबीचको सम्बन्ध।
के हो त्यो चिज?
लाइसेन्स।
मोटरसाइकल उनको आवश्यकता हुँदै बाध्यतामा पुगे पनि ‘बाध्यता’ र ‘कानुन’बीच चिनजान नहुँदा मर्कामा छन् उनी। फलस्वरुप चलाउने सीप हुँदाहुँदै पनि ‘जरुरी’ लाइसेन्स उनीसित छैन।
दाङ पुलिसले जिल्लाभर गुड्न भनेको छ। तर, कहिलेसम्म? केही दिनअघि मात्र पुलिसले लगेको ब्लुबुक फिर्ता पाएका छैनन्।
केही महिनाअघि लाइसेन्स लिने सबै प्रक्रिया पार गरे। तर, अन्तमा आँखामा गएर लाइसेन्स रोकियो।
‘आँखा खोज्न जाने भनेको छु,’ आँखाकै कारणले लाइसेन्स नपाएको कारण खुलाउँदै उनले भने, ‘मैले बायाँ आँखा गुमाएँ। बायाँ हात पनि घाइते भयो।’
कुनै दुर्घटनामा उनले आँखा गुमाएका होइनन्। उनले त माओवादी 'जनयुद्ध'मा गुमाएका थिए। त्यो पनि डिएसपी ठूले राईलाई कब्जा गरेको रुकुमको महतको लडाइँमा। राई माओवादी नेता देव गुरुङसित साटिएर रिहा भएका थिए।
अहिले पारसको बायाँ आँखा प्लास्टिकको छ। नफेरेकै १३ वर्ष भयो। आँखाको आकार र रंग पनि फेरिएको छ।
‘आँखा माग्न सिएम प्रचन्नकहाँ जाने भनेको छु,’ प्रचण्डले भन्दिए पेटसित गाँसिएको गाँठो फुक्थ्यो कि भन्ने आशसहित पारसले भने।
बंगुरलाई दाना दिएर घाम ताप्दै थकाइ मारिरहेकी पत्नी उर्मिलाले ‘नहौसिन’ भनेर प्वाक्क थपिन्, ‘दिन्छन् अब!’
...
प्लास्टिकको आँखाले देख्छ त?
त्यसपछि उनी फेरि भावुक भए।
‘यत्रो विश्वमा कुनै ठाउँमा त होला नि,’ उनले एकपालि चारैतिर नजर डुलाएर भने, ‘भए पनि किन्न सकिएला र?’ एकछिन थामिएर भने।
फेरि यताउति हेर्दै टोलाए।
उनले प्रचण्ड आफ्नो सुप्रिम कमान्डर भएकैले आँखा माग्न जान खोजेका भने होइनन्। उसो भए केले उनको मन खसखसायो त?
कारण हो, उनले प्रचण्डसित एक वर्षजति रोल्पाका खोलानाला र उकालीओरालीमा सँगै सुखदुःख भोग गर्नु। त्यो जनयुद्ध थालनीका सबैभन्दा अप्ठेरा याममा । उनले त अहिले पनि प्रचण्डसित उनको भावनात्मक सम्बन्ध छ भन्ठान्छन्। अहिले पनि सुखदुःखमा सम्झन्छन्। एकतर्फी सही, प्रेम गर्छन्। (काठमाडौंको दरवारमा बसेर प्रचण्डले उनलाई भुले, त्यो तपसिलमा छ।)
बस्, एक वर्षसम्म प्रचण्डको बडीगार्ड भएकाले आँखा खोज्न बालुवाटार जाने योजना बुनेका हुन्। आँखा पाए लाइसेन्स मिल्ला कि भन्ने ‘आश’ले प्रचण्डलाई भेट्न खोजेका हुन्।
त्यो त थाहा छ, उनका लागि बालुवाटार टाढा छ। तर, देखे नि नापेका छैनन् कि कति छ, उनको बंगुर फार्म र बालुवाटारबीचको दुरी? रोल्पा जंकोटको उनको पुर्ख्यौली घर र लाजिम्पाटको दुरी कति छ?
यतिबेला उनीसित बालुवाटार जाने बाटो एउटै छ। त्यो हो, सभामुख ओनसरी घर्ती मगर र उनका पति वर्षमान पुन।
पारस पुन दम्पतीका छिमेकी हुन्। र, उनी पनि पुन दम्पतीकै ‘सरकारी’ माओवादीमा छन्।
यो बाटो हुँदै बालुवाटार पुग्छन् कि पुग्दैनन्? उनले अहिले नै त्यति पर सोचेका छैनन्।
‘प्रचण्डलाई लाइसेन्सबारे पनि कुरा राख्छु,’ व्यवसाय चलाउने आफूजस्ताले लाइसेन्स पाउनुपर्ने जिकीर गर्दै उनले भने।
पारसले मोटरसाइकल ‘निकोमन’ले किनेका होइनन्।
उनले रातको एक बजे रिक्सा तान्दै पुगेर बंगुर काटीवरी पसल पुग्दा घाम लागिसकेको हुन्थ्यो। छिमेकका मासु पसले पल्सरमा भुर्रर पार्दै आउजाउ गर्थे। स्वास्थ्यमा असर पर्न थालेपछि बाध्य भई मोटरसाइकल किने।
उनलाई त अहिले पनि प्रचण्डले ‘क्षितिज’जी भनी बोलाएको याद छ। त्यसबेला पारसको नाउँ कमरेड क्षितिज थियो।
‘सिएम बड्डाले क्षितिजजी भन्थे,’ बितेका ती दिन सम्झँदै उनले भने, ‘अहिले त चिन्छन् कि चिन्दैनन् कुन्नि? भुले होला। के चिन्थे बड्डाले।’
बालुवाटारमा प्रचण्ड सरकारी बडीगार्डसँग मस्तराम दिन बिताइरहेका बेला अप्ठेरोका उनका बडीगार्ड पारस भने सिस्नेखोला किनारमा बंगुरसित लडीबडी गरिरहेछन्। तैपनि रोजीरोटीसित जोडिएको मोटर साइकलको लाइसेन्स दिलाउन प्रचण्डले आँखा दिन्छन् कि भन्ने आशमा छन्, पारस। होला न होला, तर एकपालि प्रचण्डलाई भेट्न मन छ। भेटेरै ‘इमान्दार र बलिदान गरेकालाई यसरी चटक्क माया नमार्न’ भन्न पनि मन छ।
‘लामो समय भयो भेट नभएको। रोल्पा, रुकुम र सल्यानमा डुलेका उनले भुलेका छैनन् भने ‘भावनात्मक कुरा पनि गर्न मन छ,’ उनले आँखा माग्न मात्र नभई भेटलाई भावनासित जोडिएको तर्क गरे।
उनले यो पनि बुझेका छन् (भेट्ने मौका पाए) कि प्रचण्डले मुखमा त ‘चिप्लो लगाएर लरक्कै’ पार्ने छन्। तर, उनी चिप्लोमा नलर्कने मुडमा छन्।
भेटका मुद्दा उनका व्यक्तिगत भए पनि आफूजस्ता अपांग र व्यवसायीलाई लाभ पुर्याउने उनको तर्क छ।
‘हामी अपांगका परिचयपत्र छैन। त्यसको व्यवस्था गर्नुपर्ने कुरा पनि राख्छुु,’ उनले थपे।
भेटको तेस्रो बुँदा भने उनको समाज र व्यवसायसित सम्बन्धित पनि छ।
उनको बंगुर फार्म राखिएको खोलाकिनारको शान्तिनगर टोलका उनी अध्यक्ष छन्। त्यसैले खोलाबाट बस्ती बचाउन तटबन्ध लगाउनु छ। त्यसका लागि पनि भेट्न खोजेका छन्।
‘बड्डाको छोरा (प्रकाश)को पनि बंगुर फार्म छ भन्ने सुन्छु। कसरी चलाया छन्, सेयर गर्न पनि हो,’ उनले भने।
उनले कृषकले पाउने अनुदानबारे सुनेका छन्। ‘नक्कली’ बंगुर पालक बन्दै पहुँचवालाले कुम्ल्याएको त आँखैले देखेका छन्। उनले यो पनि सुनेका छन् कि प्रोपोजल लेखिदिने/अनुदान दिलाउने अनि आधाभन्दा बढी पैसा खाने। कतै पनि उनको पहुँच छैन।
आफ्नै बलमा उनले बंगुर फार्मसित जोडेर गोबर ग्याँस निकाल्ने र माछा पाल्ने सोचमा छन्। त्यसका लागि खोलाकिनारको असुरक्षित ठाउँमा तीन कट्ठा जग्गा किनेका छन्। पानी पनि भएको, सस्तो पनि र बंगुर फार्म खोल्न दिएकाले यस्तो ठाउँमा किनेका हुन्। एक्लै नसकिने देखेपछि उनी आफूजस्तै बंगुर व्यवसायीको समूह बनाउने ध्याउन्नमा पनि छन्।
मानवजाति समान हुने समाज बनाउने सपना नफुले पनि आफूले विद्रोह गरेर हिँडेको पुरानै समाजमा उनी अचेल सफल उद्यमीका रुपमा चिनिन थालेका छन्। घोराहीमा हुने सानातिना कार्यक्रममा उनले कसरी उद्यमीको रुपमा स्थापित हुँदैछु भन्ने कथा सुनाउँछन्।
‘६ वर्षअघि एक लाखको लागतबाट थालेको बंगुर फार्म अहिले ३०/३५ लाख पुग्यो भने डेढ लाखबाट थालेको फ्रेस हाउस पाँच लाख,’ गरे हुन्छ भन्ने आत्मविश्वाससाथ उनले भने।
उनको फार्ममा अहिले धराने कालो बंगुर, बँदेल, ल्यान्डेस, पाख्रीबास, रातो रंगको डिउरोप जातका ३० वटा छन्। ती सबै उत्पादनका लागि हुन्। मासुको लागि उनले रोल्पा, रुकुम, अर्घाखाँची, सल्यान र प्युठानबाट ल्याउँछन्।
उनको पसलमा अचेल बंगुर मासु किन्न आउने ३० प्रतिशत त बाहुन/क्षेत्री छन्।
...
गाउँको किराना पसल बेचेर उनी तीनवटा योजना बोकेर दाङ झरेका थिए।
...
गाउँको किराना पसल बेचेर उनी तीनवटा योजना बोकेर दाङ झरेका थिए।
एक, बंगुर फार्म र मासु पसल।
दुई, कुखरा फार्म र मासु पसल।
तीन, गाडी किनेर आफैँ हिँड्ने।
उनले एक नम्बरकै थाले।
‘जेठानले दिएको ५० हजार र श्रीमतीलाई माइतीले दिएको तीन तोला सुन बेचेर गाउँमा किराना पसल खोलेको थिएँ,’ उनका कवि जेठान दधिबन्धु घर्ती मगरलाई सम्झँदै भने। ब्रिटिस लाहुरे दधिले जंकोट डाँडाका सुसेली नामक कवितासंग्रह निकालेका छन्।
शान्ति प्रक्रिया सँगैसँगै आफन्तको हवालामा छाडेका दुई वर्षको छोरालाई दाङमा पढाउन थाले। छोरी पनि पढ्ने उमेर भएपछि ‘छोराछोरीमा विभेद गर्न हुन्न’ छोरी लिएर पारसदम्पती नै दाङ झर्यो।
अहिले १५ वर्षीय छोरा अजर ८ कक्षामा र ८ वर्षकी छोरी एन्जल २ कक्षामा छन्। एउटै स्कुलमा।
पत्नी उर्मीला कलाकार थिइन्। पार्टी एसिएम भइन्।
अहिले भने दम्पती नै पार्टी सदस्य मात्र छन्।
पारस ९ कक्षामा पढ्दापढ्दै १६ वर्षको उमेरमा भूमिगत भएका थिए। त्यो थियो, २०५२ चैत।
विद्यार्थी संगठनबाट राजनीति साइत गरेका पारस घाइते नहुँदासम्म सेनामै रहे।
छापामार दल, एक नम्बर प्लाटुन, केन्द्रले चलाउने टास्कफोर्स हुँदै महतमा घाइते भएका थिए। त्यो थियो, २०५६।
घाइते भएपछि केही समय सैन्य कार्यालयमा बसे। त्यसपछि संगठनको जिम्मा लिएर कहिले बाग्लुङ पुगे त कहिले अर्घाखाँची। पार्टीको आरबिएम तहसम्म पुगेका पारस स्थानीय नेता/कार्यकर्ता उमारेपछि बल्ल रोल्पा फर्केका थिए।
अहिले पारस ३९ वर्षका भए।
रोल्पाको दारबोटको जंगलमा भएको केन्द्रीय सैन्य प्रशिक्षणमा उनले भाग लिए। प्रचण्ड पनि उपस्थित उक्त प्रशिक्षण भारतका पिपुल्स वार ग्रुपले दिएको थियो।
तालिम दिँदा पिपुल्स वारका प्रशिक्षकले उनलाई नाम दिए, पावेल। त्यसबेला मात्र पावेल नामबारे थाहा पाए जब उनी घाइते हुँदा ‘अग्निदीक्षा’ पढे।
‘आफूलाई अग्निदीक्षाको पात्र पावेल भनेको थाहा पाएर छाती ढक्क फुल्यो,’ सम्झेर भावुक हुँदै उनले भने।
तालिमको बेला खिचेको सामूहिक फोटो अहिले पनि पत्रपत्रिकाले छाप्छन्। फोटोमा उनकै गाउँका ‘चर्चित लडाकु’ प्रभात पनि छन्।
‘नेताले तिनै हाम्रा फोटो देखाएर खाए। जनताले हाम्रै फोटो हेरेर भरोसा गरे,’ उनले लामो सास फेर्दै भने।
दारबोट जंगलमा तालिम गरेको केही समयपछि सरकारले अपरेसन गरेको थियो।
‘दुस्मनसामु हामी बम बनेर पड्क्यौँ। ... त्यसो नगरेको भए यस्तो अवस्था आउने थिएन,’ बलिदान दुई-चार नेतामा सीमित भएकोमा चुकचुकाउँदै भने।
लडाइँका उनका सुरुवाती दिन अनन्त र पासाङसितै बिते।
‘छक्कापन्जा नगर्ने इमान्दार भएर होला,’ प्रचण्डको बडीगार्ड छानिनुको प्रसंग उप्काउँदै उनले भने, ‘लुगा, खानपिन र पैसामा लोभ नगर्ने परियो आफू त।’
उनी २०५४ देखि २०५५ सम्म प्रचण्डका बडीगार्ड भए।
पारस त त्यसबेला प्रचण्डको बडीगार्ड भए जुनबेला न प्रचण्डको राजनीतिक भाउ ‘अक्कासिएको’ थियो न त ह्वाट्टै घटेको।
‘जनता, कार्यकर्ता र सहिद/बेपत्ताका सपनालाई बालुवाटार उक्लने भर्याङ बनाए’ भनेर त्यसबेला उनका आफ्नै सहयोद्धाले आरोप लगाएका थिएनन्। त्यस्तो बेलामा उनी बडीगार्ड भए जुनबेला जनयुद्ध भर्खर हिँड्न थालेको नयाँ जोशमा थियो।
‘म प्रचण्डको बडीगार्ड भएर रोल्पा, रुकुम र सल्यान गएँ। उनी भारत गएपछि म यतै बसेँ,’ उनले भने। प्रचण्डसित बस्दा उनले देश/विदेशका पत्रकारलाई देखे। विभिन्न देशका कम्युनिष्ट पार्टी नेतालाई भेटे।
‘म प्रचण्डको बडीगार्ड भएर रोल्पा, रुकुम र सल्यान गएँ। उनी भारत गएपछि म यतै बसेँ,’ उनले भने। प्रचण्डसित बस्दा उनले देश/विदेशका पत्रकारलाई देखे। विभिन्न देशका कम्युनिष्ट पार्टी नेतालाई भेटे।
‘अन्य नेता र कमान्डरले जसरी मलाई अध्यक्षले जुत्तामोजा धुन लगाएनन्। खानपिनमा पनि अलग गरेनन्,’ त्यसबेलाका प्रचण्ड र यसबेलाका प्रचण्ड हेर्दै र सम्झँदै उनले भने, ‘बड्डाले या त सकारात्मक प्रभाव पार्न गरे या त उनको विशेषता नै त्यस्तो हो। अहिले तौलन्छु।’
उनले त्यसबेला बाह्रबोर र राइफल बोकेर प्रचण्डको ड्युटी गर्थे। प्रचण्डको टोलीमा उनीसहित १४/१५ जना हुन्थे।
चलायमान भए पनि छापामार शैलीको सेनाको सैन्य योजना प्रचण्डले अनन्त र पासाङसित बसेर बुन्थे।
त्यतिखेर धेरैजसो राति हिँडे।
‘उकालोमा प्रचण्ड, अनन्त र पासाङले ठट्टा गर्थे। त्यस्तो बेलामा बाटो काटेको पत्तै हुन्नथ्यो,’ उनले ती दिन सम्झँदै भने।
पारसले त प्रचण्ड, अनन्त र पासाङसित सँगसँगै हिँडेको मात्र होइन, जनताले आफ्नो गाँस काटेर खुवाएको र आफ्नो ओछ्यान छाडेर न्यानोमा सुताएको पनि भुलेका छैनन्। तर, उनलाई सम्झने भने कोही छैनन्। त्यसैले कहिलेकाहीँ उनी एकदमै निराश हुन्छन्।
‘अचेल मलाई न अनन्तले सम्झन्छन् न त पासाङले। सहयोग त पल्नुढिक छ, हौसलासमेत नदिँदा दुःख लाग्छ,’ उनले भने।
पारस जसको बडीगार्ड भए, ती मान्छे नेपालको कार्यकारी प्रमुख छन्। त्यो पनि दोस्रोपालि। लडाइँका सँगसँगै घामपानीमा भिजेका पासाङ उपराष्ट्रपति छन् भने अनन्त पूर्वअर्थमन्त्री, माओवादीको चल्तापुर्जा नेताका साथै सभामुखपति।
‘त्यसबेला चिठी ओसार्नेले अहिले पोखरा र घोराहीमा घर बनाए। माओवादी नेताले तिनैलाई हेर्छन्। हिजो वर्ग दुस्मन भनेकासित घाँटी जोडेका छन्। हामी दुःख गरेका इमान्दारलाई त भुलिसके,’ उनले अमिलो पोखे।
उनीसित ज्यान फालेर लडेका कि सहिद भए कि उनीजस्तै अपांग। जति बँचेका छन्, ती सबै हातमुखको समस्याको भुमरीमा अल्झिएका छन्।
‘अगाडि जाने जति त सकिए। जो लडाइँमा डराउँथे र पछिपछि हुन्थे उनै बचे। उनै पो हाम्रा नेता भए। कमान्डर भए,’ उनको दुखेसो थियो, ‘पम्पुरोमा लेखेर ल्याउनुपर्छ भन्छन्। हो कि जस्तो पनि लाग्न थालेको छ।’
सहिद भएकाले नेता र कमान्डरका चर्तिकला देख्न पाएनन्। तर, उनीजस्ता घाइते भने चकित छन्। वलिदान खेर गएकोमा चुकचुकाउँछन्।
‘सम्झँदा कहिले रिस उठ्छ, कहिले हाँस पनि उठ्छ,’ उनले भने।
प्रचण्डकहाँ आँखा खोज्न जाने कुराको बिट नमार्दै फेरि दाना माग्दै बंगुर घुँघुँ गर्न थाले।
उनको बंगुर फार्म छेवैमा उभिएको यामानको घोराही सिमेन्ट उद्योगजस्ता ‘ठूला माछा’सामु आफ्नै पौरखले हिँडिरहेका उनी कति दिन यसरी हिँड्लान्? के उनको गतिलाई कायम राख्न र थप्न प्रचण्डले पारसलाई आँखा देलान्? तारजाली देलान्? लाइसेन्स दिलाउलान्?
त्यो त अझ पर नै छ।
के पारसले बालुवाटार टेक्लान्?
यी कुरा तपसिलमा रहे पनि उनीसित एउटा आशा भने अहिले पनि जीवित छ। त्यै आशाडोरीमा लहरिँदै पारस अहिलेसम्म हिँडिरहेछन्।
‘के सधैँ ठग र फटाहा मात्र पुरस्कृत हुने भइरहला र? भोलि त्यस्तो दिन पनि आला नि परिवर्तनका लागि वलिदान गरेका हामीलाई दोसल्ला ओढाउलान्,’ छेवैमा बगिरहेको सिस्नेखोलाको निरन्तर सुसाइसित गला मिलाउँदै, बंगुरलाई दान दिँदै पारसले कुराको बिट मारे, ‘त्यो आशा अझै पनि कताकता लाग्छ।’
from nepalkhbar
No comments:
Post a Comment