Sunday, January 8, 2017

माओवादी खोज्ने तीन युवाको कथा

नवीन विभास कार्तिक २७
बचेका छन् त उनी मात्र। सुरेश श्रेष्ठ। र, अहिले पनि उही काठमाडौंको माओवादी सम्हाली बसेका छन्। तर, ‘सरकारी’ माओवादी नभई ‘गैरसरकारी’ मोहन बैद्य उर्फ किरणको माओवादी। ‘दमकमा भक्तपुरे नेवार नभेटिदा हुन् त डण्डीफोरे याममा माओवादी खोज्दै हिँडेका काठमाडौंका ती नेवार युवा यतिबेला कहाँ हुन्थे होला हँ? १३ बर्षयता बेखबर सुचेन्द्र श्रेष्ठ र निश्चल नकर्मी पनि उनीसँगै पो हुन्थे कि?’
इन्द्रचोकको मन्दिर पछाडि टाउको निहुराएर हिँड्नुपर्ने पुरानो घरमा रहेको माओवादी कार्यालयमा एकछिन गहिरिएर कल्पदै सुरेशले गम खाए।

काठमाडौँका सम्पन्न नेवार परिवारका चार स्वप्निल युवामध्ये सुचेन्द्र र निश्चल कहाँ छन्? अझै थाहा छैन। क्रान्तिकारी बन्ने ‘साइत’ गर्दाखेरि नै कीर्तिपुरमै छुटेका कीर्तिपुरे सुरेन्द्र महर्जनको के कुरा।
एक्लै सही तर तन्नेरी सुरेशमा अझै पनि त्यसबेलाको जोश कायमै छ। छ, उस्तै उमंग। तर, घाइते छ उनको सपनाजस्तै।
सहिद, बेपत्ता र घाइतेका सपना तत्काल पुरा गर्ने विषय नै ‘तपसिल’मा पुगेपछि तिनका सपना ‘जोगाउ’ ध्याउन्नमा छन् उनी।
‘कहाँ हिँडेको कहाँ पुगियो?’

तीन नेवार युवा सँगै हिँडेको बाटो सम्झेर सुरेश बेलाबेलामा भावुक हुन्छन्।
तीनजना बसेर एकपालि समीक्षा गरौँ भनी गम्छन्। छन् कि भनी यताउति हेर्छन्।
न निश्चल छन् उनीसित न त सुचेन्द्र।
(उनका दुई साथीजस्तै तीन महिना त उनी पनि बेपत्तै थिए, तात्कालीन शाही सेनाको राजदल गणमा। संयोगले नक्खुजेल हुँदै उनी २०६० को वार्ताकालमा रिहा भए। त्यसपछि कमरेड सुशीला महर्जनसित जनवादी बिहे गरे।)
दुई साथीलाई नदेखेर पत्नी सुशीलालाई हेर्छन्। उनकै माओवादी काठमाडौं सचिवालय सदस्य सुशीलासित कहिलीकसो विमर्श गर्छन्। र, ११ बर्षीया छोरी लुनिभाका आँखामा हेर्छन्।
फेरि सुचेन्द्र र निश्चलका सबैभन्दा नजिकका ‘आफ्ना’सित विमर्श गरौँ जस्तो लाग्छ। तर तिनका आफन्त पनि माओवादी ओरालिएसँगै बनेका बिभिन्न खलकमा बाँडिएका छन्।
‘खलक’ नै फेरिएपछि हुने विमर्श कति फलदायी होला?
कहिलीकसो फेरि फर्काएर गम्छन्।
बेपत्ता सुचेन्द्रपत्नी रुपा महर्जन प्रचण्ड माओवादीमा छिन्। र, अचेल समानुपातिक सांसद्।
निश्चलपत्नी कमला थाम्सुहाङ उर्फ कमरेड रश्मी दोस्रो बिहे गरी माओवादी राजनीतिबाटै टाढिएकी छिन्। कमलाले माओवादी निकट प्रेस सेन्टरका निर्मल ज्ञवालीसित बिहे गरेकी छन्।
किन हो कुन्नि? अहिले पनि लागिरहन्छ कि सुचेन्द्र र निश्चल एक दिन आउने छन्। र, सुुरेशलाई भन्नेछन्, ‘पासा, नआत्ते। अब केही गर्नुपर्छ।’
पलप्रतिपल आँखामा आउनालो सुरेशले तिनका सपना र तिनका बाटो सर्लक्कै मोड्न सकेका छैनन्।
गएको बर्खाको एक मध्यान्ह टाउको गुम गरी माओवादी कार्यालयमा पुग्दा सुरेश दर्जन जति चकट्टीमाझ एक्लै पलेटी कसेर बसेका थिए।
त्यसपछि?
कहिले भावुक त कहिले उत्साहित हुँदै बाँचेथे ‘काठमाडौंका नेवार युवा माओवादी खोजमा भौतारिएको’ कथा।
...
उनी, सुचेन्द्र र निश्चलले एउटै कोठामा एसएलसीको तयारी गरेथे। र, २०५३ मा एसएलसी पास गरेथे।
निश्चल र सुचेन्द्र एलआरआईमा पढ्थे। भलै त्यसअघि सुचेन्द्रसित उनले सतुंगलको एउटै स्कुलमा पढेका थिए।
सुचेन्द्र उनीभन्दा पाँच महिना जेठा थिए भने निश्चल दुई बर्ष कान्छा। तर, तिनैैजना एउटै कक्षामा।
एसएलसी तयारीक्रममा मार्क्सवादी अध्ययनलाई तीब्र पारे।

नेवार युवालाई मार्क्सवादी अध्ययनको गोठमा पुर्याउने एउटै बाटो थियो, निश्चल पिताको पुस्तकालय।
तीन युवा निश्चलको घरमा जान्थे। पुस्तकालयका किताब चहार्थे। पढ्थे। छलफल गर्थे।
र, पढ्दापढ्दै माक्र्सवादी पुस्तकमा तिनका दिल बस्यो।
त्यसपछि?
मार्क्स, लेनिन, माओका थप किताब खोज्न तिनलाई बजारले तान्यो।
निश्चल पिता ‘वाम’ पृष्ठभूमिका थिए। त्यसैले उनका पुस्तकालयका किताब ‘बाया’ ढल्केका हुने नै भए। त्यसको ठीक विपरीत सुचेन्द्रको परिवारले राप्रपा भन्थ्यो भने सुरेशको परिवारले कांग्रेस। तिनका परिवार उत्तर–दक्षिण फर्के पनि तीन युवा भने एक ठाउँमा थिए।
तिनैजनाले एकैसाथ २०५३ मा एसएलसी पास गरे।
निश्चल र सुचेन्द्रलाई डाक्टर बनाउन चाहन्थे। सुचेन्द्रको परिवार त बंगलोर पठाउन ठीक्क परेको थियो। सुरेशचाहिँ सिए पढ्न चाहन्थे।
एकाएक हल्केको माक्र्सवादी अध्ययनले डाक्टर र सीएलाई साइड लगाउँदै तिनलाई ‘क्रान्तिकारी’ बन्ने बाटोतिर मोड्यो।
त्यसबेला पनि नेपालमा संसदीय दलकै दबदबा थियो। यद्यपि तिनीहरुप्रति आम जनतामा बितृष्णा बढ्दो थियो, बढ्दो भ्रष्टाचारसँगै।
त्यस्तो याममा तीन युवाले डाक्टर र सिएको बाटो साइत नै नगरी छाडे। त्यसपछि सुरेशले आरआरमा नाम लेखाए। निश्चल र सुचेन्द्रलाई बाआमाले सिद्धार्थ बनस्थलीमा भर्ना गरिदिए।
क्रान्तिकारी त हुने तर कसरी?
मायावी सपना पालेका युवा। युवा वयमा टेक्दै गरेको याममा कति बुझे होलान् माक्र्सवाद भन्ने जिनिस? तैपनि छलफल गर्थे।
क्रान्तिकारी बन्ने सपना बोकाउने किताबमा मात्र सीमित भने थिएनन्। उनीहरुले त्यो बाटोमा हिँड्नलाई चाहिने ‘सामा’ पनि गरे। जोरजाम कक्षा आठ पढ्ने बेलादेखि थाले।
सबैभन्दा आश्चर्यको कुरा त एसएलसी पास गर्दा सम्म पनि तिनलाई ‘माओवादी’ नामको पार्टी नेपालमा छ भन्ने नै थाहा थिएन।
‘रिभुलस्नरी लाइफ सुरु गर्नुपर्छ भन्ने कुरा हामीले आठ कक्षामा हुँदादेखि थाल्यौँ। त्यसको लागि हतियार किन्ने योजनासहित पैसा जम्मा ग¥यौँ,’ रोमान्टिक ती दिन सम्झदै पुरानो नेवारी अनुहारको घरमा रहेको माओवादी कार्यालयमा सुरेशले भने, ‘१० कक्षामा पुग्ने बेला त हामीले पाँच लाख जुटायौँ।’
कसरी जुट्यो त्यो रकम?
तीन परिवार नै सम्पन्न थिए।
सुरेशको दाइले सिसा पसल गर्थे। सतुंगलमै स्नुकर पनि चलाउँथे।
स्नुकर चलाएको र पसलमा सहयोग गरेवापत सुरेशले खर्चपर्च पाउँथे। त्यो रकम सुरेशले जोगाए।
सुचेन्द्रको सतुंगलमै ठूलो किराना पसल थियो। पसलबाट सुचेन्द्रले जोरजाम गरे।
निश्चल पिताको कुखुरा फार्म थियो भने बल्खुमा कोल्ड स्टोर। त्यहाँबाट निश्चलले पैसाको जोहो गरे।
‘हामीले किताब किन्यौँ। त्यसपछि ५५ हजार रुपैयाँको खुकुरी किन्यौँ,’ सम्झेर अहिले पनि रोमाञ्चित हुँदै सुरेशले भने।
किताब र खुुकुरीले क्रान्तिकारी जीवन थालियो त?
अहँ।
डण्डीफोरे यामका ती तन्नेरी अब भने साँच्ची गम्भीर भए। छलफल झन बाक्लियो।
‘पढेर र हतियार भेला गरेर’ मात्र पुग्दैन भन्ने लागिरहेको बेला एउटा बुटी भेटे। त्यो थियो, माओवादीको मुखपत्र ‘जनादेश’ पत्रिका।
क्रान्तिकारी बन्न कहाँ जाने भनी रुमल्लिएका तीन युवालाई जनादेशले ‘नेपालमा माओवादी छ र त्यसले दुई बर्षयता जनयुद्ध थालेको छ’ भन्दियो।
‘माओवादी’ थाहा पाएपछि तिनलाई मन बिसाउने ‘थलो’ भेटेजस्तो भयो।
अनि?
कीर्तिपुरे महर्जनसहित चार नेवार युवाले पटकपटक छलफल गरे।
त्यसपछि?
‘माओवादी खोज्ने टुंगोमा पुग्यौँ,’ माओवादी खोज्न कसरी हिँडे भन्ने कुराको भूमिका बाँध्दै सुरेशले भने।
तर, खोज्न पो कता जाने?
माओवादी काठमाडौँमै थिए÷थिएनन्? त्यतातिर तिनले सोच्दै सोचेनन्।
जनादेश पढेर रोल्पा÷रुकुममा माओवादी छन् भन्ने थाहा पाएका थिए। बस्। यत्ति थियो जानकारी।
चारजनाले निर्णय गरेः
–सुरेश र निश्चल माओवादी खोजमा निक्लने। माओवादी भेटेपछि सबै जाने।
२०५४ को भदौमा निश्चल र सुरेश निक्लिए। माओवादी खोजमा झापा पुगे।
‘खासमा हामी माओवादी खोज्न हिँडेको पश्चिमतिर हो। तर, माओवादीले नै पश्चिम बन्द गरेकाले झापा पुगेछौँ,’ सम्झेर मुसुमुसु हाँस्दै सुरेशले भने।
आजभोलि ती दिन सम्झेर सुरेश आफैँ अवाक् हुन्छन्।
पुगे झापा। तर, पुगेर मात्रै माओवादी भेटिने कुरो भएन।
तिनीहरुले छिनमै भेट्न सम्भव देखेनन्।
‘यस्तरी खोजेर त माओवादी भेट्न सक्तैनौँ होला। अब यतै कलेज जोइन गरौँ भन्ने टुंगोमा पुग्यौँ,’ उनले भने।
त्यसपछि दमकको मामाचोकस्थित एउटा घरमा डेरा लिए।
डेरा लिएको घर त भक्तपुरे नेवारको रहेछ। तिनले ठाडै शंका गरेर भने, ‘तिमीहरु भागेर आएका हौ।’
काठमाडौैका। त्यसमाथि नेवार युवा। काठमाडौंमा नपढी झापामा पढ्न जानु आफैँमा अनौठो थियो।
‘घरबेटीले फसाउँछ भन्ने लाग्यो। त्यसपछि दुईचार दिन पनि नबसी निक्लियौँ। र, माओवादी भेट्न पश्चिमतिर हान्नियाँै,’ उनले भने।
सुरेश र निश्चलका साथ तीनवटा सुटकेसभरि माक्र्सवादी किताब पनि थिए। र, गोजीमा डेढ लाख नगद।
निश्चल र सुरेश पूर्वबाट माओवादी खोजमा लागे पश्चिमतिर।
गाडी इटहरी नजिक के पुगेको थियो, पुलिसको चेक सुरु भयो। गाडीका लाम लाग्यो।
चेककै क्रममा निश्चलका दाइ चन्चल भेटिए।
‘दाइले च्याप्प समाइ हाल्नुभयो। त्यसपछि पक्रेर घर ल्याउनुभयो,’ सम्झेर भावुक हुँदै उनले भने।
त्यसपछि के भयो त?
निश्चल, सुचेन्द्र र सुरेशको भेटघाटमा परिवारले प्रतिबन्ध लगायो।
माओवादी खोज्न हिँडेका ती युवामा न राज्य व्यवस्थाप्रति कुनै रिस–राग थियो न त तिनले कुनै पीडा नै भोगेका थिए। यद्यपि त्यसबेला रोल्पा–रुकुममा प्रशासनको धरपकड चर्कदै थियो।
‘हामी त आइडोलोजिकल्ली कन्भिन्स भएर माओवादी खोजमा हिँडेका थियौँ। जनताको लागि केही त गर्ने चाहना पलाएर हिँडेका,’ सरकारबाट जनताले कुनै न्यानो अनुभूत गर्न नपाएको त्यसबेलाको प्रसंग उप्काउँदै सुरेशले भने, ‘व्यक्तिगत जीवनको लागि त हामीलाई समस्यै थिएन। परिवारले पढाइरहेकै थिए। राम्रो खानलाउन दिएकै थिए।’
माओवादी खोज्न हिँडेपछि तिनलाई लाग्यो कि ‘नेभर सेकेण्ड’ बाबुराम भट्टराई लागेको पार्टीमा त दिग्गजै दिग्गज होलान्। भट्टराईबाहेक अरु नाम त तिनले सुनेकै थिएनन्।
‘लाइफ’ र ‘बुक’को सम्बन्ध जोड्न मन लाग्यो। पछि त नेपालमा माओवादी मुभमेन्ट पनि चलिरहेको छ भन्ने थाहा भएपछि त हामीलाई पुगिगो नि,’ सुरेशले पढ्दापढ्दै मनमा क्रान्तिकारी बन्ने तिर्खा जागेको सन्दर्भ उप्काउँदै भने।
काठमाडौैंका दुई युवा माओवादी खोजमा घरबाट भागेको कुरा स्थानीय माओवादीकहाँ पुग्यो।
माओवादी त निश्चलकै आसपास थानकोटमा रहेछन्।
परिवारले भेटघाटमा लगाएको प्रतिबन्ध तिनले तोडे। प्रतिबन्धकै बीचमा तीनजनाको भेट भयो। छलफल भयो।
त्यसपछि?
‘स्थानीय माओवादी हामीलाई खोज्दै आए,’ भेट्न आएका माओवादी मिलन नेपालीलाई सम्झदै सुरेशले भने।
थानकोट क्षेत्रका इन्चार्ज मिलन राज्य पक्षबाट अझै बेपत्ता छन्।
त्यसपछि तीन युवा माओवादी पार्टीमा लागे। तर, निश्चल र सुरेश माओवादी खोजमा हिँडेपछि छुटेका कीर्तिपुरे सुरेन्द्र सम्पर्कविहीन रहे।
माओवादी खोजमा ५०÷६० हजार सकिइसकेको थियो। बाँकी तिनले माओवादीलाई बुझाए।
‘हामीसित भएको टोटल पैसा माओवादीलाई बुझायौँ। खुकुुरी बुझायौँ। र, हामीले बुझाएको किताबको भूमिगत पुस्तकालय खोल्यौँ, महादेवस्थान गाविसको किसीपिडी गाउँस्थित सुविन्द्र महर्जनको घरमा,’ सुरेशले त्यसबेला देखेका गजबका सपना निफन्दै भने।
...
२०५४ को घोडेजात्राको दिन मिलन नेपालीले भने, ‘कमरेडहरुलाई पहिलो काम आयो है।’
काम यस्तो थियोः
–घोडेजात्रामा राजा वीरेन्द्र सैनिक मन्चमा आउँछन्।
अनि?
राजा आएर बसेलगत्तै पर्चा छर्ने।
क्रान्तिकारी बन्ने मायावी रोमाञ्चकताले मन फुलेका तीन युवा जोसिए।
नभन्दै राजा वीरेन्द्र सैनिक मन्चमा पुगे। आसनग्रहण गरे।
त्यसपछि?
तिनले बतासको गतिमा पर्चा छरे।
अनि?
सम्पर्क दिइएको भुरुङखेलस्थित प्रेसमा पुगे।
त्यसपछि?
मिलनलाई भेटे।
‘राजाविरोधी माओवादी पर्चा छरेको त्यो नै हाम्रो पहिलो एक्सन थियो,’ १९ बर्ष पुरानो त्यो दिन फेरि सम्झेर भावुकहुँदै उनले भने।
तीन युवालाई माओवादीमा लागेर मात्र पुगेन। धितमरुन्जेल काम गर्न मन लाग्यो।
त्यसपछि?
तीनैजनाले ‘होलटाइमर’ कार्यकर्ता बन्न पाउँ भनी पार्टीमा निवेदन हाले।
तर, सुनुवाइ भएन।
माओवादीले आर्थिक अभियान नामक ‘चन्दा’ उठाउन थाल्यो। त्यसै सिलसिलामा नेता अनिल शर्मा विरहीसित निश्चल पनि पक्राउ परे।
त्यो थियो, २०५५।
विरही अहिले विप्लव माओवादीका केन्द्रीय नेता छन्।
रिहा भएको १५÷२० दिनमै निश्चल फेरि पक्राउ परे।
जेल परे। मुद्दा जिते। निश्चल ६ महिनापछि जेलमुक्त भए।
पक्राउ परेपछि बल्ल निश्चलको होलटाइमर बन्ने निवेदन स्वीकृत भयो। तर, सुरेश र सुचेन्द्रको पेण्डिङमै रह्यो।
होलटाइमर भएपछि निश्चल घर जान छाडे।
त्यसपछि?
सुरेश र सुचेन्द्रलाई माओवादीबाट छुटाउन परिवारबाट दबाब बढ्यो।
त्यसबेला माओवादी पाइने उपत्यकाका औँलामा गनिने निश्चित ठाउँ मात्र थिए।
जस्तोः
ललितपुरको बुङमती र सुनाकोठी।
भक्तपुरको ठिमी।
काठमाडौंँको पाँगा र थानकोट।
निश्चल होलटाइमर भएको केही समयपछि सुचेन्द्रको निवेदन स्वीकृत भयो। तर, सुरेशको भएन।
समाजसेवी भनी चिनिने सुचेन्द्रका बाजे भक्तबहादुर त जोगमेहर श्रेष्ठका साथी थिए। उनै बाजेले सुरेशकी आमाको कान फुके, ‘बिहे गरिदिए सुरेशले माओवादी छाड्छ।’
बिहेको दबाब बढ्यो।
‘घरबाट बिहेको दबाब बढ्यो’ भनी निवेदन स्वीकृत गर्न सुरेशले आग्रह गरे। तर, नेताले मानेनन्। त्यसको एउटै कारण थियो, ‘होलटाइमर’ भए सुरेशको घरमा बैठक बस्न सकिँदैन। किनकि कांग्रेसी भए पनि सुरेशको परिवार माओवादीप्रति सारो नकारात्मक थिएन। त्यसैले बेलाबेलामा माओवादीले सुरेशकै घरमा बैठक आयोजना गथ्र्यो।
२०५६ को अन्ततिर बल्ल सुरेशको ‘होलटाइमर’ निवेदन स्वीकृत भयो।
‘परिवारसितको अन्तर्संघर्ष र मुभमेन्टमा लाग्न सक्छौ कि सक्तैनौँ भन्ने आत्मसंघर्ष चर्कै चल्यो,’ माओवादी हुँदाका सुरुवाती दिन सम्झेर नोष्टाल्जिक हुँदै सुरेशले भने।
...
पढ्ने बेला एलआरआई स्कुलको स्टुडेन्ट काउन्सिलका सभापति थिए, निश्चल। उपभासपति थिइन्, कमला थाम्सुहाङ।
निश्चल माओवादी खोज्न हिँडेपछि कमला पढ्न लमजुङस्थित कृषि क्याम्पस पुगिन्।
माओवादीले पार्टीमा नयाँ मान्छेलाई तान्ने अभियान चलायो।
आफ्नै पहलमा सुरेशले सतुङ्गलमा अखिल क्रान्तिकारी गठन गरे। तर, सुरुमै प्रशासनको आक्रमणले माओवादी बनाउने बाटा बन्द भए।
तर, त्यसैबेला एलआरआइमा पढेका केही विद्यार्थी माओवादीमा लागे।
त्यसैक्रममा लमजुङबाट कमला काठमाडौं आइन्।
‘हामी त माओवादीमा लाग्ने भयौँ, तिम्रो के छ विचार’ भनी निश्चलले कमलालाई प्रस्ताव राखे।
प्रेम सम्बन्ध नै टुट्ने भएपछि कमला पनि माओवादी भइन्। त्यसपछि २०५५ को अन्तमा माओवादीको गढ मानिने पाँगामा निश्चल–कमलाको जनवादी बिहे भयो।
...
माओवादीले तिनैजनालाई वाइसीएल बनायो।
केही समयपछि काठमाडौंमा माओवादीले चारवटा स्क्वाट गठन ग¥यो।
त्यसपछि सेनामा बनेका निश्चल र सुचेन्द्र सेनामै रहे भने सुरेश संगठनमा सरुवा भए।
माओवादीको काठमाडौं सदस्य सुरेश ललितपुर लगिए।
२०५९ को भदौमा सुरेश सुनाकोठीबाट पक्राउ परे।
राजदल गणमा तीन महिना बेपत्ता पारिए। त्यसपछि नक्खु जेल लगियो।
वार्ताको क्रममा २०६० को बैशाख २ गते सुरेश जेलमुक्त भए।
माओवादी र सरकारको वार्ता भंग भएपछि काठमाडौंबाट माओवादी भकाभक पक्राउ पर्न थाले।
सरकारको उपस्थिति जिल्ला सदरमुकाममा मात्र सीमित भएपछि सरकारको सम्पूर्ण शक्ति सदरमुकाम र राजधानीमा ओइरिएको थियो।
राजधानीमा हिँड्दा माओवादीले पाइलापाइलामा फुक्दै हिँड्नुपर्ने स्थितिमा माओवादीभित्रको अन्तर्सघर्षसँगै ‘अन्तर्घात’ चुलियो। फलस्वरुप पक्राउ पर्ने संख्या बढेको बढ्यै भयो।
माओवादीले भ्याली खाली गरी ‘रिङ’मा जाने निर्णय ग¥यो। त्यसबेला भ्याली वरपरका जिल्लालाई माओवादीले ‘रिङ’ भन्थ्यो।
त्यसैक्रममा सुरेशले २०६० को भाइटीकाको दिन काठमाडौं भ्याली छाडे।
बगेरीमा निश्चल र उनको भेट भयो। काभ्रे, मकवानपुर र सिन्धुलीको सिमा बगेरीमा भ्यालीमा कार्यरत माओवादी नेता–कार्यकर्ताको समीक्षा बैठक थियो।
भेटमा निश्चलले सुरेशलाई ‘सम्भव त केही समय यही रहन्छौँ होला, भ्याली खाली गर्ने निर्णय भएको छ’ भने।
त्यसको केही समयपछि निश्चल पक्राउ परे। पक्राउ परेपछि कमला मकवानपुर गइन्। त्यसैबेला सुरेशले कमलालाई भेटे।
त्यतिखेर केही निश्चित ठाउँबाट मात्र मोबाइल लाग्थ्यो। धादिङको राउलडाँडामा गएर उनले सुचेन्द्रको घरमा फोन गरे। सुचेन्द्रकी आमाले ‘फोन नगर’ भनिन्।
त्यसपछि सुरेशले निश्चलको घरमा फोन गरे।
सुरेशको स्वर चिनेर निश्चलकी आमाले भूमिकै नबाँधी ‘निश्चललाई पक्रियो। फोन नगर, टेप गरेजस्तो छ’ भनेर फोन राखिन्।
सुरेशका अनुसार युवराज पारस र आर्मी चिफ प्यारजंग थापाबिरुद्ध ‘एक्सन’ गर्ने पार्टी योजना कार्यान्वयन गर्न निश्चल भ्याली फर्केका थिए।
त्यसबेला निश्चल भ्याली एसटीफ कमाण्डर थिए। र, भ्यालीका ठूला सैन्य कारबाही निश्चलकै कमाण्डमा भएका थिए।
२०५७ पछि सुरेश कृष्णध्वज खड्का र रेखा शर्माको स्टाफ भए। त्यसबेला खड्काले सरकारी अधिकारी र बिभिन्न दलका नेतासित छलफल गर्थे।
२०५९ मा खड्का दम्पती नै पक्राउ परे।
...
प्रधानमन्त्री थिए, शेरबहादुर देउवा। त्यसैबेला गिरिजाप्रसाद कोइरालाले भेट्न खोजेको कुरा माओवादीकहाँ पुग्यो।
डाक्टर सुशील शर्मा थिए, कोइरालाको भेटघाटको चाँजापाँजो मिलाउने।
कोइरालाले भेट्न खोजेको ‘पक्का’ भएपछि उनले पार्टीको भ्याली ब्युरो इन्चार्ज रामबहादुर थापा वादललाई जानकारी गराए।
वादलले ‘औपचारिक छलफल गरौँ’ भने। तर, ‘वादल पक्राउ परे त हाफ रिभुलुसन नै सकिन्छ’ भन्दै सुरेशले ‘नभेट्न’ सुझाए।
उसो भए कसले भेट्ने त कोइरालालाई? ‘राजनीतिक फिगर’ भएको नेता पनि चाहियो कोइरालालाई भेट्न।
अन्तमा, माओवादीले जनादेश सम्पादक तथा कवि भएकाले कोइरालासित भेट गर्ने कृष्ण सेन इच्छुकलाई उपयुक्त ठान्यो।
त्यसपछि सुरेशले वागवजारस्थित माउन्टेन ताज होटलमा कोइराला र सेनको भेट गराए।
तर, कोइराला र सेनबीच भेट भएको हप्ता÷दस दिनमै सेन पक्राउ परे। र, मारिए।
‘तपाईंको सेकुरिटीको सम्पूर्ण ग्यारेन्टी माओवादीले लिन्छ भन्दै मैले नै माओवादी नेतासित रोल्पामा भेट गर्ने प्रस्ताव कोइरालाकहाँ पु¥याएको हुँ,’ द्वन्दकालीन जटिल दिनका स्मरण गर्दै सुरेशले भने।
कहाँ छन् सुचेन्द्र र निश्चल?
सतुङ्गलका सुचेन्द्र २०६० मंसिर २१ गते काठमाडौंको ढोकाबहालबाट पक्राउ परे। थानकोटका निश्चल ठीक चार दिनअघि समातिए।
त्यसबेला निश्चल २३ बर्षका थिए भने सुचेन्द्र २५।
सुचेन्द्र पक्राउ पर्दाखेरि भ्यालीका प्राविधिक विभाग प्रमुख थिए।
बेपत्ता हुँदा चार महिनाकी सुचेन्द्रपुत्री पलिष्ठा १३ बर्षकी भइन्।
बेपत्ता हुँदा एक बर्षका निश्चलपुत्र पृथ्वी अहिले १४ बर्ष पुगे।
निश्चल आफू पक्राउ परेको पाँचौँ दिन आमालाई फोन गरेका थिए। तर, आफूलाई राखिएकोे ठाउँ थाहा नपाएको बताएका थिए।
‘निश्चलले आमालाई फोन गरी हामी बच्चैदेखि सँगै लागेको र पढेको साथीसित अहिले पनि सँगै छम्, चिन्ता नमान्नु भनेकाले सुचेन्द्र पनि सँगै थिए भन्ने अनुमान ग¥यौँ,’ सुचेन्द्र पत्नी रुपाले भनिन्।
यो नै निश्चलले परिवारसित गरेको पहिलो र अन्तिम फोन थियो।
रुपाका अनुसार निश्चल र सुचेन्द्र भैरवनाथ गणमै थिए। र, सुचेन्द्रको घाँटीमा समस्या आएको थियो भनी रिहा भएर फर्केका एक जना कमरेडले जानकारी गराएका थिए।
‘त्यसबाहेक के भयो? कहाँ छन्? कुनै जानकारी पाइएन,’ सत्तारुढ माओवादी सांसद् रुपाले भनिन्।
सुचेन्द्र र निश्चल बेपत्ता भएयता माओवादीले तीनपालि सरकार नेतृत्व ग¥यो। माओवादी सुप्रिमो प्रचण्ड नै दुईपालि प्रधानमन्त्री भए। अहिले पनि उनै छन्। तर, माओवादीले सरकारको नेतृत्व गर्दा पनि सुचेन्द्र र निश्चललाई खोज्ने प्रयास गरेनन् नै, बरु तिनलाई बेपत्ता पारेको भनी आरोपित भैरवनाथ गणका सैनिक अधिकारीलाई बढुवा गरी पुरस्कृत गरे।
...
सुचेन्द्र र निश्चलका सपनाले सुरेशलाई अझै पनि पछ्याउन छाडेका छैनन्।
‘अब क्रान्तिकारी बन्ने रहर र सपना पुग्यो त? खोज्दै हिँडेको माओवादी भेटेपछि सोचेकै क्रान्तिकारी भइयो त?’
सुरेशले एकछिन गम खाए।
त्यसपछि उनले माओवादी खोज्ने काठमाडौंका नेवार युवाका कथा बिट मार्दै भने, ‘नेतृत्वको धोकाधडीले माओवादी मुभमेन्टले धक्का खायो। तैपनि वर्ग रहँदासम्म संघर्ष चलिरहन्छ। ...जनताको असन्तुष्टि छ। त्यसैले आन्दोलन फेरि नयाँ शिराबाट उठ्छ। फरक यत्ति हो, नेतृत्व को र कुन पार्टीले गर्छ।’
काठमाडौैका नेवार युवाका ‘माओवादी खोज कथा’को बिट नमार्दै उनका कमरेडले बैठक हल भरिइसकेको थियो।
मुठी उठाएर सनासोले चेपेजसरी चपक्क हात मिलाउँदै कमरेडहरुलाई स्वागत गरिरहेका सुरेशले भने, ‘मलाई त अहिले पनि लागिरहन्छ कि सुचेन्द्र र निश्चल आउँछन् एक दिन जसरी पहिले हामी भेट हुन्थ्यौँ। छलफल गथ्र्यौँ।’
from nepalkhabar

No comments:

Post a Comment