Sunday, May 26, 2019

थबाङमा थरीथरी नाम

२०७६ जेठ ४ शनिबार ०८:००:०० | काठमाडाैं
गाउँमा खुबै नाउँ चलेका साहु थिए । नाउँ थियो, दुब्ले । ‘साहु कता जानुभयो’ भनी सोध्दा साहु परिवार ‘गज्ज’ पर्दै ‘फलानो ठाउँ’ भन्थे । साहुका काउबाउले भने ‘दुब्ले साहु कता गयो हँ’ भन्थे । यसरी ‘दुब्ले’ थपेर सोध्दा भने परिवार सदस्यलाई पर्नु पिर पथ्र्यो । एक दिन त्यस्तो पिरमुक्तिको ‘आखिरी उपाय’ निक्ल्यो । त्यो उपाय थियो– नाउँ बदल्न दुब्ले कासी जाने । 

केही दिनभित्रै दुब्ले कासी बाटो लागे । जाँदाजाँदै एउटा गाउँमा पुगे । एउटी महिला धान खला खुर्कंदै थिइन् । कुराकानीपछि महिलाको नाउँ जान्न दुब्ले मन खसखसायो । ‘नानीको नाउँ के हो ?’‘लक्षिमा (लक्ष्मी) ।’ दुब्ले अलि पर पुगे । एउटा जोगीसित भेट भयो । कुराकानीकै क्रममा जोगीलाई नि नाउँ सोधे । जोगीले भने, ‘धनपति ।’ बाटो अब बगरतिर बाटो लाग्यो । दुई–चार किलोमिटर हिँडेपछि मलामी देखे । गाई चराइरहेको ग्वालालाई सोधे, ‘को मरेछन् ?’ 
ग्वालाले जवाफ दिए, ‘उः त्यो गाउँका अजम्मरी हुन् ।’ सुनेर दुब्ले झल्यास्सिए । लगत्तै उनलाई ‘नाउँ फेर्न कासी जानु’ बेकार लाग्यो । ‘लक्षिमा खलो भराली खान्छे, धनपति माग्छ भिख, अजम्मरी मर्न प-यो, मेरो दुब्ले नाउँ ठीकको ठीक’ भन्दै कासी नपुगी दुब्ले फर्के ।
दुब्ले साहु सिलुक स्यार्पू तालछेउमा बसी भीमे दाहाल (७९) ले गएको साता सुनाएथे । सिलुक सुनाएर आफ्नो ज्यान हेर्दै मज्जाले हाँसेथे । लगत्तै उनका आँखा स्यार्पूमा ओर्लेथे । २०६० मा बालुवा, ढुंगा र गेगरको ठूलो संख्या स्यार्पू तालमा बास बसेपछि स्यार्पू उनीजस्तै दुब्लो थियो । ‘तपाईंको नाउँ ‘भीम’ नभएर कसरी‘भीमे’ भयो ?’
आफ्नो नाउँ उच्चारण गर्दै जवाफ दिएथे, ‘भैँसी चराउँदै लेकलेक डुलियो । स्कुल मुख देख्न पाइएन । ‘गाउँमा बोलाउँदा भीमे भन्थे, नागरिकतामा पनि ।’सिलुकमा जस्तो नाउँको अर्थले ‘अर्थ’ नबोके पनि भीमको ‘म’मा लागेको ‘एकार’ले उनको (तात्कालीन) आर्थिक–सामाजिक ‘हैसियत’ भन्थ्यो ।
उनले स्कुलमा कखरा मथ्ने यामदेखि ऊर्जाशील जिन्दगी जंगलमै जीवन–दही मथेथे । जिन्दगीभर भैँसी जिउका रौँ गन्ने गणित पढेथे । फलस्वरूप स्कुले अक्षरसित उनको चिनजान हुन पाएन । सबैभन्दा बढ्ता ‘एकारे’ नाम दलित(नेपाली समाजको सबभन्दा पिँधमा खाँदिएको समुदाय)का थिए । त्यसपछि जनजाति । त्यसपछि मात्र कुनाका ‘भीमे दाहाल’हरू थिए ।  
(पहिले–पहिले त नामले नै जात खुल्थ्यो । जस्तो– नामको पछाडि प्रसाद, राज, नाथ, दत्त आदि फुर्को लागेका भए बाहुन ।) खासमा एकार नलागी भीममा फुर्को जोडिनुपर्ने । जस्तो, भीमपछि लाग्ने फुर्काहरू– राज, नाथ, प्रसाद, बहादुर, स्वर, सिंह, सेन, दत्त, कान्त, लाल आदि । सिलुकमा जस्तो नाउँले मान्छेको ‘कर्म’सँग मेल नखाए नि उही नामले भने समाज, संस्कृति, अर्थ–राजनीति भने बोक्थ्यो । सायद वयोवृद्ध दाहाल आफ्नो नाउँ र जिउबीचको विरोधाभास उही ‘मिथ’को खाइलाग्दो भीम सम्झेर हाँसेका थिए ।
०००
चेम्ने टोपी (अठार मगरातका खाम भाषी मगर बच्चाबच्चीले लगाउने परम्परागत टोपी)मा चाँदीका झिलझिल घाममा टल्किरहेका थिए । टोपी लगाएकी नौमहिने बच्ची गिजाको अघिल्लो भागमा चौपारीमा वर–पीपलजसरी दुइटा दाँत टुसुक्क उभिएका थिए । ‘चेम्ने टोपीवाल नानीको नाउँ के हो ?’
बच्चीलाई काखमा लिएर थबाङमा घाम तापिरहेकी युवतीले जवाफ दिइन्, ‘दिलखुसी रोका मगर ।’ ‘दिलखुसी !’ यो जमानामा पनि बच्चाको नाउँ दिलखुसी सुन्नु अनौठो थियो । यस्ता नाउँ त मगरगाउँबाट बाटो लागिसकेका थिए । दिलखुसी अठार मगरातको मौलिक नाउँ थियो । मगर समुदायमा प्रचलित परम्परागत नाउँ ।
थबाङको ठूलो गाउँमा स्थायी बसोवास गर्ने एक घर ठकुरी र सानो संख्यामा दलित थिए । त्यसबाहेक बाँकी खामभाषी मगर रोका, बुढा, पुन र झाँक्री थिए । ‘दिलखुसी’ सुनेर स्थानीय शिक्षकद्वय धनबहादुर रोका मगर र उदय घर्ती मगरसहित अमिट घर्ती मगर र विनप्रसाद पुनले थबाङमा अहिलेसम्म चलेका नाउँ केलाए । जुन थबाङको बाहिरी रूपजस्तै फेरिँदै थियो । 
यो थियो, दाहालले सिलुक सुनाउनुभन्दा एक साताअघिको कुरा । ती थबाङी तन्नेरीले थबाङका विभिन्न कालखण्डका नाम सम्झँदै एक, दुई, तीन भन्दै भाग लगाए । एक– ‘सेलेब्रिटी’का नाउँबाट लिइएका नाम । पछिल्लो समय थबाङमा विभिन्न क्षेत्रका सेलिब्रेटीका नाउँबाट नाम राख्ने चलन पनि चल्दै थियो । त्यस्ता धेरै नाम त फिल्म क्षेत्रका पनि थिए । स्कुले विद्यार्थीका नाम सम्झँदै शिक्षकद्वय धनबहादुर र उदयले धेरै सेलेब्रिटीका नाम सुनाए । त्यसमध्ये एउटा नाम सुनाए, इमरान झाँक्री मगर । दुई– अंग्रेजी नाम ।
 पछिल्लो समयमा थबाङमा अंग्रेजी भाषाका नाम राख्ने क्रम बढ्दो थियो । तिनले त्यस्ता थुप्रै नाम सुनाए । जसमध्ये केही नाम थिए– एलेक्स, मेडिसिन घर्ती मगर, ज्याक, युगल, मेरी, युसेफ, जेम्स आदि । तीन– मगर समाजका मौलिक नाउँ । यस्ता नाम हिन्दू संस्कृति, खस नेपाली भाषा र माओवादी थबाङ पस्नुअघिका थिए । त्यस्ता केही नाम सुनाए– दिलबसी झाँक्री मगर, भुला रोका मगर, तुलसरी, लालधन, धनमया, भागिन्त रोका मगर, भागिमया(भाग्यले माया गरेको), मूलजिता, राजधन, दयाधन, मूलधन, सिङारी, सुनमाला, सङखली, आइती आदि । बढी प्रचलित महिलाका नाउँ दिल, धन र मन थिए । र, तिनका पछि मया, सरी, सरा, राखी, कुमारीमध्ये एउटा न एउटा फुर्को लाग्थे ।
२०४८ सालका सांसद् बर्मन बुढा मगरको नाउँ वरमान थियो । वरमानको अर्थ वर मागेर जन्मेको भन्ने अर्थ लाग्थ्यो । वरमान त नागरिकता बनाउँदा बर्मन भयो ।चार, माओवादी नाम । ‘जनयुद्ध’ले नेपाली समाजका सबै अंगलाई हल्लायो । प्रभावित पा-यो । मान्छेका नाउँ पनि कसरी अछुतो रहन्थ्यो र ? त्यसमाथि थबाङ त ‘माओवादी मक्का’ थियो । 
त्यसवेला माओवादीले आफ्नो वास्तविक परिचय लुकाउन(सुरक्षाका लागि) अलग्गै नाम राख्ने चलन चलाएको थियो । यसरी अलग्गै नाउँ राखिने पार्टीनाउँलाई माओवादीले ‘टेक नाम’ भन्थ्यो । यसरी राखिने नाउँ माओवादी आन्दोलन र विचारसँग अन्तरसम्बन्धित थिए । रोल्पाली गाउँमा जनयुद्धताका त हँसीमजाक पनि गर्थे– माओवादीले नाउँ राख्दा रूखपात, डाँडाकाँडा र हावाले पनि सुख पाएनन् । 
‘दिलखुसी’ सुनेर स्थानीय शिक्षकद्वय धनबहादुर रोका मगर र उदय घर्ती मगरसहित अमिट घर्ती मगर र विनप्रसाद पुनले थबाङमा अहिलेसम्म चलेका नाउँ केलाए । जुन थबाङको बाहिरी रूपजस्तै फेरिँदै थियो ।
‘जनयुद्ध’ जरो थबाङमा राखिएका माओवादी नाउँ सम्झिए– अजयक्रान्ति, युद्ध, संघर्ष, विजय, जनमुक्ति, ज्वाला, प्रतिरोध, विस्फोट, चट्याङ, सेउला, हुरी, असिना, बादल, आँधी आदि । थबाङमा एकजनाको नाउँ थियो, संकट बुढा मगर । संकटकालमा जन्मेकाले यस्तो नाउँ राखिएकोे थियो । २०१३ मा मोहनविक्रम सिंह र खगुलाल गुरुङ थबाङ पुगे । त्यसैवेला कम्युनिस्ट पार्टी गठन गरे । वयोवृद्ध नेता कमरेड गोरे (पूर्णबहादुर रोका मगर)ले आफ्नो छोराको नाउँ राखिदिए– अनेरा । थबाङमा पहिलोपालि ‘कम्युनिस्ट नाम’ सायद अनेरा थियो । पाँच, हिन्दू नाम ।
 एक भाषा र एक संस्कृति सरकारी नीतिबाट अठार मगरातको थबाङ हिन्दूकरणबाट जोगिनु कसरी ! खामभाषी थबाङमा राखिएका हिन्दू नाउँ सुनाए– रामबहादुर, कृष्णबहादुर आदि । थबाङी युवाले नाम विस्तार लाउँदै मन्थन पनि गरे । तिरो बुझाउन प्युठान खलंगामा गएका वेला मगर मुक्खेलाई भानुभक्तकृत रामायण नबोकाएको भए र मगर गाउँमा शिक्षक भएर गएका खस–बाहुन शिक्षकले खस नेपाली ‘हिन्दू’ नाम नराखिदिएको भए कसरी हुन्थे होला, मगरका नाम पनि राम, सीता, भरत ? ५, खाम नाम । 
पाखा पारिएका क्षेत्र र समुदायलाई आफ्नो ‘स्पेस’ खोज्न ‘जनयुद्ध’ले सिकायो । मगरले पनि आफ्नो खामभाषा र संस्कृतिबाट नाम राखे । खामबाट राखिएका थबाङका थुप्रै नाउँ सुनाए– गिन(हामी दुई), साङ(छाया), गिन युङ (हामी दुईको मुटु), मिनचाउ(राम्रो मान्छे), युङ्का(मनको, केटीको नाउँ), जुङ सान (हाम्रो भाग), मिली चिन(मिल्नु, केटीको नाउँ) ।
नाउँबारे कुरो त भीमे दाहाल र थबाङको भयो । तर, नाउँ र नाउँमा समय, राजनीति र परिवेशले कसरी प्रभाव पार्छ भन्ने कुरा थबाङ र भीमे दाहालको मात्र थिएन । यसले त कुनाकुनाका गाउँ र भीमे दाहालहरूको झल्को नि दिन्थ्यो । 
जस्तो कि, बर्दियाकी बतसिया थारू । उनी थिइन्, ‘जनयुद्ध’मा दुई छोरा बेपत्ता पारिएकी आमा । बतास चलेका वेला जन्मिएकीले उनको नाउँ राखिएथ्यो, बतसिया । कतिपय समुदायमा जन्मेको बारको आधारमा पनि नाउँ राख्ने चलन जो छ ! 
यसमा विवाद नै छैन कि, हुने त कामले हो । नामले होइन । यति हुँदाहुँदै पनि नाम पनि त परिवेशसँगै फेरिँदो रहेछ । नामको रूप बदल्दो रहेछ– समय, परिवेश, राजनीति र समाजले । अब आउने नाउँका अनुहार कस्ता होलान् हँ ? तपाईंले नि कल्पनुस् त !
from Nayapatrika 

1 comment:

  1. Real Therapy & beauty point isan oldest and biggest complete day Spa in Nepal.,serving reasonable spa & various beauty parlor services to the interested client & promote them healthy, beauty & happy long lifestyle.
    massage in nepal
    massage in kathmandu
    beauty point in nepal

    ReplyDelete