Sunday, May 26, 2019

तिलसरी आमाका तिलदाने सपना

२०७६ बैशाख २१ शनिबार ०७:४७:०० | काठमाडाैं


घरअगाडि नचिरेको बाँसलाई तेर्सो पारेर बारेको बार । सुकुटी सुकाएजसरी ससाना मुठा पारिएका डाँठसहितको गहुँ बार बाँसमा झुन्डिएका थिए । खाली भागमा भर्र्भर (नव)का युवा बसेका थिए भने बाँस बारमा अडिसिएका थिए, एक बूढो । 
टाबेलले टाउको कसक्क गुथेकी एउटी कल्साउँरी बूढी घरको पेटीमा बसेकी थिइन् । गलामा पहेँलो पोतेजस्तो माला थियो भने आङमा रातो भुइँमा लामा धर्सा तानिएको चोलो । कानमा बाली र नाकमा फुली । हातमा चुरा । पाँच फिट अग्ली बूढी अनुहारमा मुजैमुजा थिए । र, तिनको काखमा एक डेढ वर्षको बालक थिए । अलि ठूला बच्चा हातमा आँसी लिएर घरी यता त घरी उता गरिरहेका थिए । 
छेउमै थिइन्, काखमा बच्ची लिएकी एउटी अधबैँसे युवती । तिनले घरी बूढाको अनुहारमा त घरी बूढीको अनुहार घरी युवाको अनुहार हेर्थिन् । त्यसपछि उनको अनुहार साउने आकाश हुन्थ्यो । भर्भरकी युवती भने घरको पेटीबाट सीधै भित्र पस्न सकिने भान्सामा भान्सापात गर्दै थिइन् । 
घरछेउबाट सानीभेरी उसैगरी हतारिँदै ठूली भेरी भेट्न दौडिरहेको थियो । फरक यत्ति थियो, त्यसवेला पोखरा पुग्ने मोटरबाटो थिएन । क्षेत्री, सन्यासी, मगर, दलित बस्तीको जिपु यति घना थिएन ।
भर्खरका युवा, अधबैँसे युवती र बूढाबूढीका अनुहारमा आँसु तथा आक्रोश एकसाथ फर्के, जब तिनीहरू २१ वर्ष पुरानो मेलगैरी उक्लेर 
जिपु ओर्ले ।
मेलगैरीमा ढलेका खत्री बन्धु
पुलिस आयो भन्नेबित्तिकै जिपु गाउँ तरंगित भयो । युवायुवती चेचेमेमे बोकेर उकालिए, ‘घरले जा र वनले आ’ यामका तिलसरी खत्री दम्पतीबाहेक ।
करिब एक घन्टा पैदल ठाडै उकालिएर होचा खरछाने घरले बनेको पातलो गाउँ पुगेँ । गाउँ थियो, मेलगैरी ।
पानी परिरहेको थियो । सेतु जैसीको घरबाट धुँवा पुत्ताइरहेको थियो । जैसीका छोराबुहारी आलु रोप्न मेलगैरी उक्लिएका थिए ।
घरमा मान्छे भए/नभएको पत्ता लाउने गाउँले उपाय धुँवा थियो । ज्यान जोगाउन हिँडेका गाउँले जैसी घरमा ओतिन गए ।
गहुँ खान आउने चरा हाँक्न गएकी खलकुमारी र उनका दाजु कलबहादुर जैसी घरमा भेट भए । खलकुमारी १३ वर्षकी थिइन् भने कलबहादुर २५ ।
त्रसित गाउँले खासखुसमै रात काटे । पुलिस उकालियो कि भनी रातभर चनाखिए ।
भुइँ उज्यालो बस्यो । कलबहादुर घर बनाउने कामको चटारोले हतारिए । त्यसवेला घरको एकतला मात्र छोपिएको थियो ।
कोही चिच्याए, ‘सेइडी !’
स्थानीय कांग्रेसलाई ‘सिआइडी’ भनेका थिए । लगत्तै कसैले भन्यो, ढोका बन्द गर ।
पुलिसले ढोकाको चरबाट राइफलको नाल छिरायो । लगत्तै सिटी बज्यो । त्यसवेलासम्म त पुलिसले जैसी घर घेरिसकेको थियो ।
राइफलको नालबाट कासन पनि घरभित्र छि-यो, ‘मा...आतंककारी ! बाहिर निस्कन्छस् कि घरमा आगो लाइदिम् ?’
दाजु कता छन् भनी खलकुमारीले सोच्न नभ्याउँदै कलबहादुरलाई कुनाबाट उठाए । एक कुनामा कलबहादुर थिए भने अर्को कुनामा मनबहादुर ।
खट्केरा(ढुंगा÷माटोको भ-याङ)मा ओराले । कलबहादुरको धरा फुकाले । धराले कलबहादुर र मनबहादुरलाई कम्मरमा बाँधे । त्यसपछि दुवैलाई भैँसी बाँध्ने किलोमा ।
एकजना कांग्रेस कार्यकर्ताले मोटो लाठी हातमा उठाए । जोडले कलबहादुरको दायाँ काँधमा हाने । ऐना  भन्दै चिच्याए । फेरि थपे अर्को काँधमा । दुईचारपालि पिठ्यँुमा हाने । त्यसपछि दुई हातले मच्चिएर टाउकोमा । टाउकोबाट रगतको छिर्का छिर्र बाहिरियो । कलबहादुर
बङ्रङ्ग ढले ।
‘मेरो सास परानी राख । बरु, तिम्रो हलो जोतुँला । तिम्रो गु पोछुँला’ भनेर बिलौना गर्दै पानी मागे ।
‘हाइ, तेरा बाले ह्याँ पानी गाग्रो राख्द्याउँछइ’ भन्दै कलबहादुरको मुखमा पिसाब फेरे ।
‘दाजुका चेत छन्जी दाजुले मलाई च्याउँछन्, मैले दाजुलाई च्याउँछु,’ छोरी काखमा राखेर बसिरहेकी उनै युवतीले २१ वर्ष पुरानो सम्झनामा बल्झिइन् । त्यसपछि भक्कानिइन् ।
बूढाबूढी र भर्खरका युवकलाई हेर्दै कालोनीलो हुने तिनै युवती तिलसरी खत्रीकी कान्छीपुत्री खलकुमारी थिइन् । र, ती बूढी तिलसरी ।
‘मुखमा पिसाब फेर्देर नि तिनलाई चित्त बुझेन । घट्टमा पिसेको पिठो थैलोमा कोचेजसरी दाजुको मुखमा लाठी कोचे । दाजुका दुईवटा दाँत झरे,’ खलकुमारी यति भन्दाभन्दै रोकिइन् ।
‘उठे गोली हान्ला भनी ढलेका छन् जस्तो लाग्थ्यो,’ उनले भनिन् । मारिसकेको कुरा तब थाहा पाइन् जब मरिसकेका कलबहादुर र मनबहादुरलाई पुलिसले एकेकपालि गोली हान्यो । पुलिसले चारजनालाई भने पहिले नै मारिसकेको थियो ।
रोल्पा÷रुकुममा विद्रोही माओवादी र सत्ताधारी कांग्रेस समर्थक कार्यकर्ताबीच पानी बाराबार थियो । एकअर्काका जन्त र
मलामसमेत जाँदैनथे ।
केही दिनअघि मात्र माओवादीले स्थानीय कांग्रेस नेता नरजित बस्नेतको हात काटेको थियो ।
०००
तिलसरी पुत्र कलबहादुरसहित ६ वटा मुर्दा मेलगैरीबाट पुलिसले जिपु ओराल्यो । मुर्दा पछिपछि खलकुमारी थिइन्, हात बाँधिएका पाँच महिला र दुई पुरुषसहित ।
तिलसरी–पति दलवीर खत्री हातमा टोपी लिएर गहुँबारीमा बामे सर्दै गए । उभिएर हिँडे पुलिसले मार्छ भन्ने डर थियो । पुलिसले देख्यो । धन्न गोली चलाएन ।
‘ऐ बूढा, किन लत्रिन्छस् ? उभ्भी । उठेर हिँड् ।’
वरपर नियाल्दै पुलिसले फेरि सोध्यो, ‘काँ आइस्, बूढो ?’
‘मेरो छोरालई हेर्न आएँ सर’, वाक्य टुंगिनेबित्तिकै दलवीरको बोली भोल्युम बढाए, ‘बोल् मेरो छोरा काँ छइ ?’
‘तेरो छोराको नाउँ के हो ?’
‘कलबहादुर हो सर ।’
पुलिसले भन्यो, ‘मरेको नि बोल्छ कहीँ ?’ 
०००
‘रोटाकला लगेर गएँ, छोराछोरीले खालान् भनी,’ भोकाए होलान् भनी रोटी लगेर भेट्न गएको सम्झँदै काखमा पनाति राखेर बसेकी तिलसरी भनिन्, ‘बलै !’
पिठ्यँुमा नाति बोकेर ढल्दैउठ्दै तिलसरी चिउरी बोटनेर पुगिन् ।
रोए त पुलिसले मार्छ रे भन्ने सुनेकी थिइन् । त्यसैले बाटो लागेको आँसुलाई आधा बाटोबाट नै रोकिन् ।
पुलिस र स्थानीय कांग्रेस ठिंग उभिएका थिए ।
‘मेरो छोरो काँ छ,’ तिलसरी बोली झ-यो ।
पिठ्युँमा बोकेको नातिले भने, ‘उः ऊनको बर्को ओ-याछन्, बाबाले । चिनेनौ बई
(हजुरआमा)?’
थाम्न सकिनन् तिलसरीले ।
कलबहादुर हात बाँधिएकै थियो ।
‘ढाकेको बर्को पुगेनछ । पैतला देखेँ । सुन्निएको थियो । हरियो भेस्ट र सेतो सर्के कमेज लगाएको छोरोको छाती देखेँ,’ एक झल्को छोरोलाई हेरेको झझल्कोमा झझल्किँदै तिलसरीले भनिन् ।
‘धित मारेर हेर्न नि दिएन,’ भन्दाभन्दै फेरि तिलसरी भक्कानिइन् ।
छोरोलाई मारेर र छोरीलाई बाँधेर खलंगा लगेको हेर्न नसकी तिलसरी लर्बराउँदै घर फर्किन् । घरमा भैँसी कराउँदै थियो । भैँसी दुहिन् । गाबुमा दूध लिएर फर्कंदा नातिले चिच्याउँदै भने, ‘बईले भैँसी दुइले बाबा, दूध खान आऊ ।’
ती भर्खरका युवकले तिलसरी अनुहारमा पुलक्क हेरे । नाति तिनै नवीन गौतम थिए ।
पहिले कसैले खत्री त कसैले केसी लेख्थे । नयाँ पिँढीले भने आफ्नो थर गौतम लेख्न थालेका थिए ।
बस्तुभाउका सास पनि धान्न भोलिपल्ट बिहानैबुहारी मनकुमारी लिएर तिलसरी मेलगैरी गइन् । नल्ठा(मकैको डाँठ) ल्याएर बस्तुभाउलाई खुवाइन् ।
नल्ठा ल्याएको भोलिपल्ट गाउँका दुईजना घरको ओँतामा बसेका थिए । भने, ‘बेल नल्ठा ल्याउन गइथ्यौ गरे । के गरी गयौ । हामीले ल्याइदेन्नायौ ।’
यताउति हेर्दै भनेथे, ‘ह्याँ अलि बसे तिम्लई नि मा¥याल्छ, हाम्लई नि मा¥याल्छ । गइगिम् ।’
छोरो मारिएपछि उनको घर पुग्नेती दुईजना नै पहिलो र अन्तिम थिए ।
‘अर्लेता यतालग च्याउँदै च्याएनन्,’ अरूले उनको घरतिर पनि नजर नलाएको बताउँदै
तिलसरीले भनिन् । 
०००
‘ए फुच्ची ! तेरो दाइको लास बोक्छस् कि तँलाई मारेर भेरीमा फालम्,’ अँध्यारोमा सुसाइरहेको सानी भेरीतिर देखाउँदै पुलिस बोलीमा स्थानीय कांग्रेसले लोली मिलाए ।
‘मेरो दाइलाई आफैँ बोक्छु सर,’ नसके पनि खलकुमारी जबाफ सुसाइरहेको भेरीसँग बग्यो ।
एकछिन बोकिन् । कलिला गोडा चलेनन् ।
छिङको बाटो माओवादी छन् भनेर गारको बाटो लागे । पुल तरी पाल्लोपट्टि पुग्दा कलबहादुरलाई बोकेको सल्लाको भाँटा भाँचियो । बाँसको
भाँटा बनाए ।
खलकुमारीसँगै थिए, सेतु जैसी, सेतुपत्नी, सेतुबुहारी, सेतुका दाजुका बुहारी गरी जम्मा
सात सर्वसाधारण ।
सेतुको घरबाट पुलिसले कुटो, कोदालो, घन र बन्चरो पनि बोकाएर लगेको थियो । जो ‘दोहोरो भिडन्तमा ६ आतंककारी मृत्यु’ भन्नलाई प्रमाण थिए ।
सदरमुकाम मुसिकोटनजिक पुगेपछि लास लिएर पुलिस र स्थानीय कांग्रेस सल्लेतिर लागे भने सातजना पुलिस थानामा । 
०००
तिलसरीले दुई माना चामल र मार्किन कपडा पनि झोलामा कुटुरो पारिन् । चामल छोराको सामल थियो । भनिन्, ‘खलंगामा छोरीलाई हे¥या । छोरालाई फाल्याई ।’ परम्पराअनुसार त्यो सामल छोराको छातीमा राख्नुपर्ने । तर, खत्री दम्पतीले त्यस्तो मौका नै कहाँ पाए र ?
दलवीर खलंगा जाँदा साथी कोही गएनन् । तिलसरी मन जगगजगीले हल्लियो, ‘अब बड्डालाई नि मार्ने भयो । कोई साते(साथी) भए आर मान्ने
ता हुँनो ।’
दलवीर एक्लै खलंगा पुगे । पीपल रूखनेर बसे । त्यसैवेला पुलिस र स्थानीय कांग्रेस शवसहित पुगे । उनी अघिबाट गन्दै तेस्रो शवको पछि लागे ।
‘ऐ बूढा काँ जाने,’ पुलिसले हकारे ।
‘मेरो छोरो झाँटी जान्छ, त्यही जानेऊँ ।’
सय पाइला फालेपछि पसले भेटिए । उनले भने, ‘बा, नजानुस् । तपाईंलाई नि यिनले
खोल्सामा फाल्छन् ।’
पसलेले दलवीरलाई बिडीको ठुटो हात पारे । दलवीरले सल्काए ।
लास बोकेकालाई सल्ले एयरपोर्ट नजिकको खोल्सानेर पुगेको हेरिरहे । पहराको फेदमा ठूलो खोल्सा थियो । लास त्यही खोल्सामा फाले ।
‘घज्याङज्याउँ घार्लाङर्घुर्लुङ’ आवाज सुने । छोरालाई फाल्दा फेरि रोएँ,’ पुत्र वियोगको घाउ सम्झँदै दलवीर भक्कानिए ।
हिउँदे सिस्ने हिमाल भएको टाउकोमा सेतै टोपी थियो । सेतो भोटोमा बाह्र हाते जुम्ली पटुका कसक्क कसेका थिए । कट्टुको बदला धोती लाउने जमाना नछाडेका ८२ वर्षीय उनै बूढा थिए, आफ्नो घरअगाडि बाँसको बारमा अडेसिएका । पाँच फिट जति अग्ला कल्साउँरा दलवीर पनातिलाई काखमा लिएर २१ वर्ष पुरानो कुरा कोट्याउँदै थिए ।
छोरो खोल्सामा फालेको देखेपछि फरक्क फर्के । फर्कंदा सामलको रूपमा लगेको चामल बाटोमा धारो लाउँदै फर्के । सामल सकिएको ठाउँमा बाँधेको कुटुरो र मार्किन फाले । जुन तिलसरीले छोराको नाउँमा पठाएकी थिइन् । 
०००
दाजुलाई सल्ले खोल्सामा फाले भने खलकुमारी पुलिस थानामा । माओवादीबारे नानाभाँती सोध्दै उनको गोडामा बाँसका दुईवटा भाटा राखे । भाटामा दुई पुलिस बसे । र, पेले ।
‘थला पर्नेगरी यातना दियो । अहिले नि आङ दुख्छ,’ सात दिने खलंगा पुलिस यातना सम्झँदै खलकुमारीले भनिन् ।
दुई पुरुषलाई जेल पठायो भने खलकुमारीसहित बाँकी महिलालाई घर ।
छोरोविनाका तिलसरीका दिन
किरिया बसेनन् । नुन बारेनन् । मुसिकोट खलंगा पुलिस थानाबाट फर्केकी खलकुमारीले दशौँ दिनमा गहुत खुवाइन् ।
एक तला छोपेको निर्माणाधीन घर अलपत्र थियो । छोरोविना कसरी गारो लाउने र छानो हाल्ने ? बनाउने छोरो नभए पनि बस्नलाई त घर चाहियो ।
छोरा मारिएको १२औँ दिनमा घर बनाउन सुरु भयो । घर छाउने खर जोहो गरे । निगालो ल्याए । ढुंगा बोके । गारो लाए । गाउँभन्दा माथि काटेको सल्लाको मुड्के ल्याए । डल्लेन ल्याए । ढुंगा, माटो र काठ सासूबुहारीले नै जम्मा गरे ।
‘गाउँलेले रामचाए,’ गाउँघरले नहेरेको गुनासो गर्दै तिलसरीले भनिन् ।
किन आएनन् गाउँले ?
कारण थिए ।
पहिलो, घर बनाउन सहयोग गरे पुलिसले मार्छ भन्ने डर । त्यसवेला पुलिसका लागि जिपु गाउँ पानीपधेरो थियो । मार्ला कि भन्ने चर्को आतंक थियो ।
दोस्रो, गाउँलेलाई लाग्यो कि, बूढाबूढीलाई घर आवश्यक छैन ।
गाउँलेले सुझाए, ‘बूढाबूढी अब माझ(जंगलको नाउँ) ओराल(ओडार)मा बस । जिपालको भुङ सोरी बस । घर बनाउने त अब प्वारी हो ।’
यसो भन्नुको गाउँले तर्क थियो, ‘छोरोलाई पुलिसले मार्रिलो । अब बुहारी पोइल जान्छे । यो नाति मरिजान्छ । बड्डाबड्डीलाई किन चाइयो घर ? भुराभुरीले दुःख नगर । बसेर खाऊ । किन
दुःख गर्छौ ?’
‘किन जाने ओरालमा ? नाति छ । दुई छोरी छन् । बुहारी छिन् । कहिलेकाहीँ ज्वाइँ आलान् । मलाई के भएको छ र ओरालमा बस्ने ? किन भुङमा बस्ने,’ दलवीरले प्रतिवाद गरे ।
जसोतसो घर उभियो ।
मारिने ६ खत्री बन्धु थिए– कलबहादुर खत्री, मनबहादुर खत्री, दलबहादुर खत्री, खड्ग खत्री, पशुपति खत्री र लालबहादुर खत्री । मारिएका सबै चालीसमुनिका थिए । खड्ग सबैभन्दा कान्छा (१५ वर्ष) थिए ।
‘एक मिनेटले मात्र बचेको हुँ म । विवेक(जयपुरी घर्तीपति कविराम केसी)जी र मसँगै थियौँ,’ मेलगैरी सम्झँदै त्यसवेलाका माओवादी रुकुम सेक्रेटरी गणेशमान पुनले भने ।
गाउँले लेकतिर उकालिए पनि पुन र विवेक भने गाउँकै एक किसान घरमा सेल्टर लिएथे । त्यस गाउँमा १४ दिनअघि (२०५२ फागुन १ गते) जनयुद्ध थाल्दा आक्रमण गरेको आठबीसकोट रारीजिउला पुलिसचौकीबाट ल्याएका सामान पनि थिए ।
संयोगले पुलिसबाट बचे ।
सानीभेरी किनारको जिपु गाउँसहित पीपल दिव्यविक्रम शाहको बिर्ता थियो । शाहको जग्गा जनयुद्ध सुरु भएपछि माओवादीले कब्जा
गरेको थियो ।
खत्री बन्धु मारिँदा माओवादीले जनयुद्ध थालेको दुई हप्ता पुगेको थियो भने अघिल्लो दिन मात्र गोर्खाका विद्यार्थी दिलबहादुर रम्तेल मारिएथे । मेलगैरी १० वर्ष लामो जनयुद्ध क्रममा भएको पहिलो सामूहिक हत्या काण्ड थियो ।
हत्या गरिएका खड्गका सहोदर भाइ एवं पत्रकार हरि गौतमका अनुसार मारिने कोही पनि माओवादी थिएनन्, नैतिक समर्थन गर्ने सर्वसाधारण थिए । 
०००
कलबहादुर मारिएपछि बचे– तिलसरी दम्पती, बुहारी, डेढ वर्षको नाति र कान्छी छोरी ।
जेठी छोरीको बिहे भइसकेको थियो । केही महिनापछि कान्छी खलकुमारीको पनि ।
तिलसरीपुत्र कलबहादुर मारिँदा नवीन डेढ वर्षका थिए भने बिरामी भएर बुहारी मर्दा आठ ।
जीवन लयमा बग्न हम्मे परिरह्यो, तिलसरी परिवारलाई । गाउँलेले सुझाए, ‘छोरालई दुस्मनले मा¥यालो । बुहारीलाई दैवले । यो नातिको ठेगान छैन, मरिजान्छ । तिम्रा दुःख गार जाने हुन् कि भिर ? यस्तै दुःख गर्ने भए, अर्की बिहे गर ।’
तिलसरीपति दुई वर्षअघि ८२ लागेका थिए ।
‘जत्नै परे पनि नखाई नहुने रैछ, नबोली नहुने रैछ । नगरी नहुने रैछ । हामी त सबै सहीकन बस्या बुराबुरी । ...ओरालो लागेको मृगलाई नै ग¥यो मुल्कले,’ बलेको आगो ताप्ने नेपाली समाजप्रति गुनासिँदै तिलसरीले भनिन् ।
माओवादी नेताले आक्कलझुक्कल भाषणमा मेलगैरी सम्झन्थे । कवि कृष्ण सेन इच्छुकले एउटा कविता लेखे, सेतु जैसीको घर ।
‘गाउँलेले जति भन्थे झन् परान लागे । हामीले छा-या भए यस्तो हुँनो त,’ घरबारी र नातिलाई देखाउँदै तिलसरीले भनिन्, ‘झन् ठूला मन ठूला पन भयो ।’
तिलसरी दम्पतीलाई काम गर्न दम दिने कारण नाति नै थिए । त्यो अंश र वंशसँग जोडिएको थियो । नाति हुर्केला । बिहे गर्ला । सन्तान फैलेलान् । यस्तो धारणाले न तिलसरी दम्पतीलाई जाँगर जागेको थियो । अंश र वंशले ठूलो अर्थ राख्थ्यो, सामन्ती पुँजीवादी नेपाली समाजमा ।
‘अरूले दुईपाला ल्याएपछि बल्ल छोरोको राहत पाएँ । धेरै ढिलो,’ तिलसरीले भनिन् ।
गाउँले भन्थे, ‘छोरोलाई पुलिसले मार्रिलो । अब बुहारी पोइल जान्छे । यो नाति मरिजान्छ । बड्डाबड्डीलाई किन चाइयो
घर ? भुराभुरीले दुःख नगर । बसेर खाऊ । किन दुःख गर्छौ ?’ दलवीर प्रतिवाद गर्थे, ‘किन जाने ओरालमा ? नाति छ । दुई छोरी छन् । बुहारी छिन् । कहिलेकाहीँ ज्वाइँ आलान् । मलाई के भएको छ र ओरालमा बस्ने ? किन भुङमा बस्ने ?’ 
तिलसरी खुसी
नातिनीबुहारी ल्याएको सुनेर तिलसरीका गोडा भुइँमा अडिएनन् ।
‘मैतालु ल्यायो भन्ने सुनेर मेरो मन त खुसीले दाङ भयो । गज्जले ह-याऔँ र ? दगुर्दै आएँ,’ वनमै घाँस छाडेर नातिनीबुहारी भेट्न घर फर्केको सुनाइन्, तिलसरीले ।
घर पुग्दा कोही अनचिनार युवती खट्केरामा बसेकी थिइन् ।
तिलसरीले सोधिन्, ‘ह्याँलाई ता चिन्न हे । ह्ँयाको घर काँ हो ?’
नाति नवीनले भने, ‘ह्याँको घर हीँ हो बई ।’
मुसुमुसु हाँस्दै तिलसरीले भनिन्, ‘हाई । हीँ
हो घर ?’
नवीन त्यसवेला १८ वर्षका थिए ।
छोटो समयमै पनाति देखिन् ।
‘पनाति काखमा हाल्दा ता जिउँदै स्वर्ग पुगेँ । खुसीमा खुसी । आत्मा झन् बढ्यो । अर्को पनाति भइगो । झन खुसी,’ कसरी तिलसरी खुसी थपिए
भनेर सुनाइन् ।
१२ पढेका नवीनले गाउँको स्वास्थ्यचौकीमा जागिर पाए । तिलसरी झन् खुसी भइन् ।
‘दुई पनातिले मैतालु लिए कति खुसी हुँदाहम्,’ उनले थपिन् । उनले यति भन्दाखेरि घरछेउको बाँसघारीमा ‘घँु घँुघती’ भन्दै घुँघुँती बासिरहेका थिए । 
हजारौँ छोरा कहाँ गए ?
एक दिन माओवादी आए । नाति मागे । तिलसरीले ठाडै अस्वीकार गरिन्, ‘छोराबुहारी छैनन् । यै नातिको मुख हेरी बसेका छौँ? कोखा मुख
हेरी बाँच्ने ?’
आठ कक्षा पढेकी नातिनीबुहारी दिलसरीले बिहेपछि पढाइलाई निरन्तरता दिन पाइनन् । नातिको जागिर र खेतीपातीले तिलसरी घरबार चलेको थियो ।
कुनै एक दिन तिलसरी घरमा माओवादी पुगे । तिनले भने, ‘आमा काम नगर्नुस् । नरुनुस् । हामी हजारौँ छोरा छौँ । बलिदान गर्ने सहिदका आमाबा तपाईंहरू त कुर्सीमा बसेर खाने हो ।’
तिनका कुरा एउटा कानले सुन्दै अर्को कानले उडाउँदैे तिलसरीले भनिन्, ‘तर, हामीले
दुःख गरिरह्यौँ ।’
एकछिन थामिइन् । यताउता हेरिन् । उनका आँखा फुर्र उडेरबाँसघारी गएका दुईचारवटा सारीमा परे । त्यसपछि चिउरी बोटमा कराइरहेको न्याउली आवाजतिर उनले कान थापिन् ।
‘अहिले हजारौँ छोराछोरी कता गए ?’
वरपर हेरिन् । अलि टाढासम्म आँखा पसारिन् । कोही थिएनन् । छेउमा नाति नवीन थिए । दुई पनाति थिए । नातिनी बुहारी थिइन् । र, उनका पति दलवीर ।
न कुर्सी थियो न त बस्ने चकट्टी नै ।
‘हामीले बनाइदिएको कुर्सीमा नेता बसे । हेर्नु त, जागिर कसले पायो ? कसले कुर्सी पाए,’ तिलसरी भुइँमा बस्दै वरपर फेरि हेरिन्, ‘हामीलाई त बस्ने चकट्टी नै छैन ।’
तिलसरी बोली थामिएन–
‘चाप पर्ने वेला अहिले त च्याउँदै च्याउन्न । कुर्सीमा बस्ने भन्थ्यो, चकट्टीमा पनि बसालेन । छोराको बलिदानले नेता मालिक भए । अहिले त गल्लीका कुकुर भयौँ, हामी । ...माओवादीले पनि के उपति लायो त ? ...बाउन्न साल फागुन १५ गते ‘गोर्खा ढाल’
(पृथ्वीनारायण शाहको आक्रमणलाई लिएर लडाइँलाई अहिले पनि गोर्खा परेको भन्छन्) त पहिला सुर हीँ भएको हो नि ।’
लडाइँ सकिएको १३ वर्ष भयो । तर, तिलसरी आमा आँखा ओभाएका थिएनन् ।
०००
सेतु जैसी (७२) पटुकामा हँसिया कोचेर खेत जाँदै थिए । मेलगैरीस्थित उनको घरमा मारिएका खत्री बन्धुका नाउँसहित पीपल गाविसका सहिदका नाउँ भएको सहिद पार्कमा भेटिँदा सेतु अनुहारको मुजा र टोपीको रेसा उस्तै थिए । भन्दै थिए, ‘थानामा कुटेर कान सुन्दैनँ । जिउ दुख्छ । ...खै जे पाए नेताले पाए, हामीले त के पायौँ र ?’
तिलसरी घरबाट सहिदपार्क पाँच मिनेट पैदल दूरीमा थियो ।
जिपुमा कांग्रेस र माओवादी समर्थक छन् । कार्यकर्ता छन् । कतिपयसँग तिलसरीका बोलचाल छैन । बोलचाल हुने र नहुनेले नि तिलसरीलाई हेर्दै खिसिट्युरी गर्छन्, ‘तीतीनपालि माओवादी सरकार बन्यो, खै के पायौ ? सहिद उठेर आए त ?’
तिलसरी निरुत्तर बाटो लाग्छिन् । 
तिलसरी तिल सपना
‘१०/१२ वर्ष बाँच्न पाए, यी पनातिहरू हातपात लाग्दा हुन् । मलाई ता धोका त्यतापाइ पो छ,’ फुट्रुफुट्रु हिँडिरहेका ठूलो पनातिलाई हेर्दै तिलसरीले भनिन्, ‘पनातिले मैतालु ल्याउँदासम्म बाँच्न पाए हुन्थ्यो भन्ने भित्र हृदयभित्रै लाग्याउँछ ।’
भएको एउटा छोरो पनि पुलिसले मारेपछि तिलसरीलाई आफ्ना छोराछोरी थोरै भएकोमा थकथक थियो ।
‘योलई माइलो भन्छु म त अजेल । मस्तै बनाऊ भन्छु । पाँच भाइ पनाति र एउटी नातिनी होऊन् भन्छु,’ काखको पनातिलाई म्वाइ खाएर तिलसरीले
भनिन्, ‘एउटो छोरो । त्यो पनि दुस्मनले मार्दिलो । ...चेतेको नि ।’
तिलसरीका दुई छोरी र एक छोरा थिए । जेठी र कान्छी छोरीका ६/६ छोराछोरी थिए । ३७ वर्षीया खलकुमारीबाट पनि तिलसरीले पनातिनी
देखिसकेकी थिइन् ।
‘तीन बीस ग्यार भैगेँ,’ दुई वर्षअघि आफू ७१ पुगेको सम्झदै तिलसरीले भनेकी थिइन् ।
गाउँले र माओवादीले भनेअनुसार हिँडेको भए के हुन्थ्यो होला ? कहिलीकसो तिलसरी गम्थिन् ।
‘ललहबिलह हुन्थ्यो नि,’ तिलसरीले भनिन्, ‘मान्छका सल्लाह पछि होइन, दैवको सल्लाह पछि हुर्नुपर्छ भन्थे । म आत्मको सल्लाह पछि हरेँ । कर्म नछार्नुपर्नेरहेछ । हिक्मत नहार्नु रहेछ ।’
छ त उनको नाम तिल दानाजत्रो एउटा सपना । त्यो हो, भएको एउटा छोरोलाई पनि यातना दिई मार्ने र अनाहकमा छोरीलाई यातना दिनेलाई सजाय ।
सरकार, दल (सरकारी र विपक्षी) नेता पनि पानीजहाज र रेल समृद्धि सवार भएको वेला पूरा होला त, तिलसरीको तिलसरी सपना ? 
from Nayapatrika

No comments:

Post a Comment