पुस १५, २०७६ मंगलबार |
प्रेमको प्राण पर्यो । प्रेमकी एकल भाउजू मीराका हातगोडा गले । उपचार गर्न नसकेपछि मरेका देवरलाई घाट त लानु प¥यो । तर, लाने कसरी ? देवर बिरामी भएपछि ज्यालादारी छुट्यो । ज्यालादारी छुटेपछि खानेकुरा र पैसा छुटे । पैसा छुटेपछि केले किन्नु कात्रो ?
बैतडी सदरमुकाम शाहीलेक बजारमा घाट लान ‘चन्दा’ उठ्यो । जम्मा भयो, दुईहजार पाँचसय २५ रुपैयाँ । चन्दाले कात्रो किने । प्रेमलाई महाकाली किनारनजिक शेरामा सेलाए । र, दुनियाँबाट प्रेम विदा भए । सदरमुकामको बाडीलेक हलिया बस्तीको हलिया परिवारका अविवाहित ३९ वर्षीय प्रेम । बजारमा भारी बोक्थे । भारीले बोकेको पैसाले खाना खान्थे । रक्सी पनि खान्थे ।
हलिया दाजु राम १३ वर्षअघि पे्रमजसरी उपचार नपाएरै बाटो लागिसकेका थिए ।
बस्न नमिल्नेगरी घर भत्केकाले मृतकका १५ वर्षीय भतिज निरज छिमेकी घरमा किरिया बसे । अत्यावश्यक किरिया खर्चपर्च छैन । देवर प्रेम विरामी भएपछि भाउजू मीराले ज्यालादारी काम गर्न पाइनन् । फलस्वरुप घरमा अन्नको नाममा पाँच किलो पिठो मात्र छ ।
पुसको दोस्रो शुक्रबार बाडीलेकबाट बिदावारी गरेका प्रेम–विदा समाचार सार थियो यो । सार सुनाएथे, स्थानीय पत्रकार गोकर्ण दयालले । दयालले सुनाएपछि फरक्क बाडीलेक फर्किएँ । दयालले तीन वर्षअघि भुलबस्ती अर्थात् बाडीलेक पु¥याएका थिए । भेटेथेँ, पुरन, दीपा, अन्जली, कुन्ती, लक्ष्मी, लिला भुलहरु । तिनका अनन्त तिर्खाएका अनुहार आँखामा आए । सदरमुकामको भित्ताइलोमा भित्तिएको, बाडीलेक । तिनै भित्तामा अडिसिएका थिए, बाडीलेके झुप्रा । केही पक्की जस्ता त केही कच्ची घर । झुप्रा कति भत्केका थिए त कति भत्कन (हावाको सानो झोक्का सही, पर्खौ भनेर) साइत कुरिरहेका थिए । महिला, केटाकेटी र केही बृद्धबृद्धा फाट्टफुट्ट भित्रबाहिरभित्र गर्थे । भित्ताइलोमा पनि अलिकति सम्म र खाली भागमा ससाना भुरा धुलाम्यै भएर खेल्दैथिए ।
बैतडी सदरमुकाम बजारछेवैको हलिया बस्ती पुगेपछि भेट भयो, ३५ वर्षीय पुरनराम भुलसित । कुमाउ विश्वविद्यालय, नैनीतालबाट २००७ मा समाजशास्त्रमा एमए पास । एकमात्र भुल, एमए पास । उनका तीन बच्चाबच्ची घरी तल घरी माथि गर्थे । तिनै चिचिलाहरुलाई उनकी एसएलसी पास पत्नी हेमाले पछ्याउँथिन् । छोटो अवधि पुरनले एउटा एनजीओको ‘सहजकर्ता’ जागिर गरे । परिवारको सुखदुःखसँग हातेमालो गर्दै गाउँमै बस्न मिल्ला कि भनी धाउनु धाए । न नेता न नाता न त सत्तासँग उनको गोरु बेचेको कुनै साइनो ! खुट्टा टेक्ने कतै ठाउँ नपाएपछि कालापारे भए । गुजरातस्थित केन इनर्जी कम्पनीमा मासिक १४ हजार रुपैयाँमा सिसिटीभी हेर्ने काममा लागे । एक बर्ष काम गरेर घर छुट्टिमा आएका पुरनलाई फर्कन हतार थियो ।
पुरनसँग कुराकानी गर्दै पत्रकार गोकर्ण दयालसँगै पुग्यौँ, एकतले पक्की घरको छतमा कोही कानमा इयरफोन घुसारेर मोबाइल गीत सुनिरहेका त कोही एकअर्काका कपाल बातिरहेका महिला र केटाकेटीहरुकहाँ । १७ वर्षीया दीपा भुल । सुनाएकी थिइन् नर्स सपना । सरकारी स्कुलमा कक्षा १० अध्ययनरत उनको कक्षामा दोस्रो स्थान थियो । दीपा दिदीले एसएलसी दिएकी थिइन् भने उनका बाले आठ कक्षा पढेका । पाँच पास उनका दाजुले छाला जुत्ता सिलाउँथे । ‘नर्स बन्ने मन त छ तर पैसा छैन,’ दीपाले भनेकी थिइन् । दीपाका गैरदलित साथी पनि थिए । तर, साथ स्कुलसम्म थियो । ‘मलाई पनि उनीहरुले(गैरदलित) आफ्नो घरमा बोलाउँदैनन्, मैले पनि बोलाएकी छैनँ,’ उनले भनिन् । कति उनका आफन्तले गैरदलितसँग प्रेम गरे । कति आफन्तले बिहे गरे । अलपत्र पारिएका आफ्ना आफन्त देखेर ‘आफ्नै जातको सँग बिहे गर्ने’ मनसुवा सुनाइन् । मोबाइल गीत सुनिरहेकी अर्की १५ वर्षीया अन्जली भुल आठ कक्षामा पढ्थिन् । उनले पुलिस बन्ने सपना सजाएकी थिइन् । उनको कक्षाकी पहिलो विद्यार्थी अर्थात १४ वर्षीया कुन्ती भुलको नर्स बन्ने चाह थियो ।
तिनका छेवैमा ससाना भुराभुरीसाथ टोलाइरहेकी थिइन्, तीस वर्षीया लक्ष्मी भुल । अठार वर्षको उमेरमा बिहे गरेकी लक्ष्मीका चार छोरी एक छोरा थिए । निरक्षर लक्ष्मीपति दिनगन्ती मजदुरी गर्थे । काम पाइएको दिन पाँच सय कमाउँथे । हलियामुक्त हुनुअघि लक्ष्मीपतिले मालिकको हलो जोत्थे । लक्ष्मी जोतेको र जोत्न बाँकी बारी कोदालोले खन्थिन् । मालिकले मानामुठी दिन्थे । त्यसैबाट दिन धकेल्थे । ‘हामीले न सरकारबाट पायौँ न साहुबाट । यता पनि छुट्यो, उता सरकारबाट पनि केही मिलेन । गरिबको त कोही छैन, न सरकार न साहु,’ हलिया मुक्त भएपछिको अवस्था लक्ष्मीले देखाउँदैथिइन् । पाँच बर्षमुनिका दलित बच्चालाई दिने मासिक दुई सय भत्ताले असजिला उनका समय सम्हाल्न भरथेग गर्थे । उनको हातमा हलिया परिचयपत्र परेको थिएन । पर्खाइमा उनका आँखा पहेलिइसकेका थिए ।
‘होला कि भनी माओवादीलाई पनि भोट हाल्यौँ । तर हामी जहाँको तहीँ रह्यौँ,’ आधारभूत आवश्यकता टार्ने समस्या पनि कसरी सपनामा परिणत भए भनेर सुनाउँदैथिइन्, ‘काम पाए छोराछोरीका भविष्य त बन्थ्यो कि ? आफ्नो त यस्तै गयो गयो ।’ लक्ष्मीसँगै थिइन्, बच्चाबच्चीका घेराबन्दीमा बसेकी चालीस वर्षीया लिला भुल । सात बच्चाबच्चीका पिता अर्थात लिलापतिलाई केही वर्षअघि नै तीनपाने बाढीले बगाइसकेको थियो । लिला गिट्टी कुट्थिन् । पाएको दिन ज्याला मजदुरी गर्थिन् । ‘म बिरामी भए छोराछोरी भोकै हुन्छन्,’ लिलाले भन्दैथिइन् । हलिया परिचयपत्र लिला हातमा पनि परेको थिएन । जसोतसो दिन ढल्थे । रात ढल्थे । बर्खा लागे भने बज्नु बाह्र बज्थ्यो । भत्कन साइत गरेको आफ्नो झुप्रो देखाउँदै लिलाले भनेकी थिइन्, ‘बर्खामा चुहिन्छ । हातले वापेर पानी फाल्छु । नसकेपछि नजिकका आफन्तकहाँ जान्छु ।’
‘आफन्तले ओत नदिए कहाँ जानुहुन्छ त ?’
लिलासँग यसको जबाफ थिएन ।
‘माओवादीले जुलुस उठाएपछि हामीलाई गर्ने हेलाहोचो अलि कम भयो,’ लक्ष्मीले तुलना गर्दैथिइन्, ‘माओवादी पनि खाओवादी भएपछि पुरानै जुग फेरि फरक्क फक्र्यो । उस्तै हेलाहोचो छ । छुवाछुत उस्तै छ ।’ बाडीलेके झुप्राहरुमा न बिजुली थियो न पानी । सञ्चारकर्मी गोकर्ण दयाल भन्दैथिए, ‘शुल्क तिर्न नसकेर भुल बस्तीका अधिकांश घरहरुमा धारोमा पानी पुगेको छैन ।’ भोक, रोग, गरिबी, असमानता र जातीय छुवाछूत सकिएला कि भनेर बाडीलेक ‘कम्युनिष्ट’ पनि भयो । तर, गाउँको अनुहार फेरिएन । उस्तै थियो, जस्तो कांग्रेसलाई भोट हाल्दा थियो । जस्तो एमालेलाई भोट हाल्दा थियो । जस्तो राप्रपालाई भोट हाल्दा थियो । जस्तो थियो, माओवादीलाई भोट हालेपछि पनि ।
स्थानीय चुनावमा दशरथ चन्द नगरपालिका वडा नं. ४ बाट बाडीलेक भुलबस्तीकी पार्वती भुल थिइन्, दलित महिला जनप्रतिनिधि ।
पत्रकार गोकर्ण दयालका अनुसार बाडीलेक जनसंख्या करिब चारसय । अधिकांशका जग्गा जमिन र बस्ने घर थिएन । भुलहरुले मालिकको हलो जोत्थे । भारी बोक्थे । हलियागिरी गर्थे । अर्थात हलिया थिए । २०६५ भदौ २१ गते ‘हलिया मुक्त राष्ट्र’ घोषणा गर्दाखेरि सरकारले बैतडी दशरथ चन्द नगरपालिका –४, बाडीलेक गाउँलाई मुक्त हलिया गाउँ भन्यो । सरकारसित हलिया मुक्त राष्ट्र घोषणामा बाडीलेक भुल वस्तीकै हलिया राजुराम भुलले हस्ताक्षर गरे । त्यसपछि के भयो ? मुक्त हलियालाई सरकारले परिचयपत्र बाँड्यो । तर, सबैलाई बाँडेन । बाडीलेकका करिब ९० जनाले परिचयपत्र नपाएको गुनासो गरे । हलिया मुक्त भएको एक दशक लागे पनि हलिया मुक्त भएका थिएनन् । हलिया हुँदा र हलिया मुक्त हुँदाको बाडीलेक बान्कीमा बदलाव आएको थिएन । हलिया मुक्ति समाज महासघंका पूर्व अध्यक्ष राजुराम भुलका अनुसार बैतडीमा दुईहजार २२ जना हलिया प्रमाणीकरण भए पनि एक हजार छसय हलियाले मात्र परिचयपत्र पाए । सरकारी तथ्यांकले भन्थ्यो– सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, अछाम, बाजुरा, डोटी, कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र हुम्ला गरी १२ जिल्लामा १६ हजार हलिया थिए ।
रुकुम (पश्चिम) गोतामकोटका वृद्धहरुले गएको बैशाखमा भन्दैथिए, ‘भुलवश’ गैरदलितले दलितले छोएको खाए वा माया लाए वा बिहे गरे ‘भुल’ हुन्छ । त्यही कुरा ‘जानाजान’ गरे भने ‘बितालु’ । रुकुम गोतमकोटको मिग्री, जाजरकोटको घरंगा, कुदुजहारी र जक्तिपुर भुलबस्ती नै थिए । अछामको कुइका, लाची, हिच्मा, बयलपाटा भुल बस्ती थिए । संचारकर्मी केशव भुलका अनुसार सुदूरपश्चिमका सबै जिल्लामाका स्थानीय तहमा र मध्यपश्चिममा केही जिल्लामा भुल बस्ती थिए । हीरा बिक र यामबहादुर किसानका अनुसार आफ्नो थर, गोत्र र बाटो भुलेकाले ‘भुल’ भनिएको थियो । सञ्चारकर्मी केशवका अनुसार, भुल समुदायकै कतिले सार्की पनि लेख्छन् । सार्कीको जस्तो छालाको काम गर्ने पुख्र्यौली पेशा भने भुलको छैन । ‘नेपालमा भुल जनसंख्या कति छ ? खोजबिन भएको छैन,’ भुल समुदायबाट पत्रकारितामा आएका केशव सुनाउँदैथिए । जनसंख्याबारे नै खोजबिन नभएपछि भुलका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्थाबारे कसरी थाहा हुनु !
तीन बर्षअघि बाडीलेक पुग्दा सिंगो भुलबस्तीमा एकजना नरेश जुनियर इन्जीनियर थिए । चारजना नेपाली सेना । बाँकी ठूलो संख्या कालापार भासिएको थियो । त्यसपछि पखेटा लाउने अवसर जुरेका जति अरब उडेका थिए । बचेका बाँकी हलिया बस्तीका भुल ज्यालादारी गर्थे । उपचार नपाएर मरेका प्रेम भुलको मृत्यु र मृत्युपछि कात्रो पनि किन्न नसकेको, किरिया बस्न छिमेकी घरमा पुगेको सुनेपछि आँखामा फरक्क फर्किए, बाडीलेकको भुल बस्ती र भेटिएका अनुहारहरु ।
एमए पास पुरन कहाँ होलान् हँ अचेल ? जन्मथलो फर्के कि फर्केनन् ? कति पुरनहरुले एमए पास गरे होलान् ? कति नरेश जुनियर होइन, सिनियर इन्जीनियर भए होलान् ? मन खसखसायो, कहाँ होलान् दीपा, कुन्ती, अन्जली, लिला र लक्ष्मी भुलहरु ? दीपा र कुन्तीले नर्स पढे कि पढेनन् ? अन्जली पुलिस भइन् कि भइनन् ? दीपा, कुन्ती र अन्जलीका सपना पूरा भएको भए कति खुशी होलान्, यतिखेर ? लक्ष्मी र लिलाका छोराछोरी के गर्दै होलान् ? अझै पनि ज्यालादारी काम गर्दै होलान्, लिला र लक्ष्मीहरुले ? तिनका समाचार सुन्न मन लाग्यो ।
खसखसबीच मनमा एउटै आशले घर ग¥यो, ‘कुनै दिन पत्रकार दयालले लेख्लान् र थाहा पाम्ला ।’ तर, लेख्छन् कहिले ? मन आत्तियो । दयाल भन्दैथिए, हलियाले चुनावमा आफ्नै मालिकलाई भोट हाल्थे । अर्थात् जसको हलो जोत्थे उनैलाई भोट हाल्थे । हलो जोत्ने मालिक फेरिदै पञ्च भए । तिनै पञ्च पछि कति कांग्रेस भए कति एमाले । तिनै कति एमाले माओवादी भए । माओवादी एमालेर भएर डबल नेकपा । बाडीलेकका हलिया भने हली नै रहे । बाडीलेकका भुल भने भुल नै रहे । दलित र गरिबका जिन्दगीमा राजनीतिक परिवर्तनले घाम नल्याएको तथ्य देउडा गीतको गेडा भएर उनिएको थियो ।
‘समाजवाद’तिर मुख फर्काएको संविधान । समृद्धि र समाजवाद रटानरत ओली सरकार । यस्तो घडीमा प्रेमहरुले प्रेमपूर्वक जिउन त पाएनन् पाएनन्, ‘माथि’ जाने टिकट अर्थात् कात्रो किन्नसमेत बजारमा चन्दा उठाउनुपर्ने बाध्यता । सजिलोगरी ‘मर्न’समेत नपाउने ‘दलित गरीबी’बाट ‘समाजवाद’वाल सरकारले कहिले मुक्ति दिने हो ? ‘सरकारी समृद्धि’ अजय सुमार्गीहरुका लागिमात्र हो ? अब तपाईं नै भन्नुस्, बाडीलेकका किरी भुलहरुले कहिलेसम्म गाउने हुन् यस्तो देउडाः
मालिकका मालिकै छन्, गुसाईंका गुसाईं(दलितले ठकुरी पुरुषलाई सम्बोधन गर्ने शव्द) छन् । जसाई तन्त्र आया लै, मेरा दुःख उसाई छन् ।।
No comments:
Post a Comment