Thursday, September 10, 2015

अफलाइनमा कमरेड

ब्यारेकअगाडि सेनाले भेरिलाइट बाल्दा देखेँ, कोहीका हात थिएनन्, कोहीका टाउका । छेउछाउमा फुत्रुकफुत्रुक गरिरहेका थिए ।
भाद्र २०, २०७२- फेसबुक लग इन गरेँ ।
हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर ।
रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन ।
उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ भए पनि सन्चै होऊन् भन्ने कामना गरेँ ।

Tuesday, June 30, 2015

असार

असार १
असारमा किसान खेत जाने विषयमा गैरीगाउँमा भुइँचालो गएको छ । एकै चुलोबाट फाटेका खोपीराम, नोखीराम र गोपीरामबीच चर्केको बहस हात हालाहालसम्म पुगेको छ ।
असारमा जाने ठाउँ खेत होइन भन्दै कोही मुक्खेसित कुम जोड्दै हिँडेका छन् भने कोही असार लागेकै छैन भन्दै तर्कदैछन् । कोही भने असार हो कि सार भन्दै खेत झरिरहेका छन् ।
‘गोपे ! एकबारको चोला हो’, गलबन्दीको फुर्कोले स्वाट्ट सिँगान पुछेर नोखीरामले गोफ्ले टोपी मिलाए । पुरानो डिजाइनको पावरवाला चस्माको धुलो पुछे । बूढो जिउ बिस्तारै मर्काए । थपे, ‘ए गाठ्यौ ! असार जप्दै कपाल फुलाएँ ।’

यति भनेर खेतमा काम गरिरहेका किसानलाई हेरे । अनि लामो सास फेरे । कतैबाट जवाफ नआएपछि भने, ‘मुक्खेको त्यत्रा सिपाही देखिनस् ? एके फोर्टी सेभेन भन्ने पनि छ । बम छ । तोप छ । तँलाई त एकैघान पार्छ ।’
नसुनेजसरी गोपीराम किसानसित खेत खनिरहे । कहिले बायाँ हातले पसिना पुछ्दै त कहिले दायाँ हातले ।
‘तँैले जल्दी खाऊँ जल्दी मरौँको उग्रउग्र ग¥याछस् । खेती अन्दुलनमा छेती पुराइस् । जे भए नि म त जुग खाएको मान्छ हुम् । तँ आलोकाँचो’, यति भनेपछि नोखीरामको बोलीको भोल्युम बढ्यो, ‘चैते मकै फल्दैन, रक्सी नखाई मान्छी ढल्दैन ।’

Tuesday, June 9, 2015

औल्याल

‘यी स्हिडिया  औल्याल  । पुलिस र सेना हाकिम औल्याल । खाद्या हाकिम औल्याल । कांग्रेस, एमाले, माउवादी नेता औल्याल । कोइ नाइ आफ्ना भन्या ।’

हुम्ला सदरमुकाम सिमकोटस्थित खाद्य गोदामअगाडि पाँच घण्टा लाइनमा कुरेर रित्तै फर्केको रिस अझै मरेको थिएन । त्यसैले फुसफुस हिउँसँगै उनको रिस पनि बाजी लाग्दै खसिरहेको थियो भुइँमा ।

फेरि जानुछ भोलि सखारै खाद्य गोदामअगाडि फेरि लाइनमा उभिन ।

हिउँ खसिरहेथ्यो ।
घरछेउमा गाडेको चोंटो  र आलु कुटोले खनी निकालिन् । दिसा गर्दाजसरी बसिन् । त्यसपछि गुन्यूको फुर्काे मास्तिर दोबारिन् । फुर्कोलाई दुबै हातले अड्याएर दोबारेको भागमा चोंटो राखिन् । त्यसपछि आलु ।

खस्ला कि भनी सतर्कहुँदै कुप्रो परी लिस्नो चढिन् । त्यसबेलासम्म उनले ओढेको बर्कीबाट कति हिउँ भीरबाट घाँसको मुठा झरेजसरी झरिसके भने कतिचाहिँ बर्कीमै अल्झिए ।

कच्छा

‘लाले, ढेल टाले’ भन्छन् । सरले पनि नइय कच्छा लाएर मात्र स्कुल आएस भन्या छन् । मलई नइय कच्छा नभै हुन्न,’ आमासामु लालबहादुरले तुरुक्क आँसु झारेर जिद्दि गरिरहे । उनकी आमा दिलसरालाई नयाँ कच्छा किन्न त परै छ लालबहादुरलाई सम्झाउनसमेत बाह्र बजेको छ । सम्झाउँदासम्झाउँदै हुक्कीहार भएकी दिलसरा सुने पनि नसुनेजस्तो गरिरहिन् ।
‘अर्को दशैमा तेर्बाबै आएसि नइय कच्छा किनम्ला,’ उही बासी आश्वासनले सम्झाउन कोशिस गरिन् ।
चुलोछेउमा बसेका थिए, आमाछोरा । छेउतिर बाँधिएका थिए, तीनवटा गाई । एउटा गोरु थियो । एकतले घरमा बारेर एकातिर बस्तुभाउ थिए भने अर्कोतिर आमाछोरा ।
स्कुलमा सबले ‘सिंगाने लाले’ भनेर गिज्याएपछि लालबहादुरले आमालाई उजुरी गरेका थिए । ‘सिंगान नपुछेकाले सिंगाने लाले भनेका हुन् । नाक सफा गरेपछि कल्ले भन्ने रैछ मेर्छोरालाई सिंगाने’ भनेर दिलसराले भनेकी थिइन् । दिलसराले यस्तो भनेको भोलिपल्टदेखि लालबहादुरले सिंगान आउनेबित्तिकै पुछेथे । त्यसपछि कसैले पनि लालबहादुरलाई ‘सिंगाने लाले’ भनेन । सिंगाने लाले नाम हटाउने उपाय सुझाएकाले लाले ढेल टाले नाम हटाउने उपाय पनि आमासित छजस्तो लाग्यो । त्यसैले आमासित उनले नयाँ कच्छाको माग गरिरहे ।
‘सिंगान पुछेर नाक सफा राखेजसरी नयाँ कच्छा बनाउन सकिन्छ र ?’ लालबहादुर घरीघरी आमालाई हेर्थे ।

Tuesday, March 17, 2015

बेपत्ता ! कहिले फर्केलान् घर ?

बेपत्ताकी आमा, बाबा, श्रीमती, छोरा, छोरीलाई के भनम्ला ?
असहज यक्ष प्रश्नसाथ पसेको थिएँ, बागबजारस्थित बेपत्ता परिवारको कार्यालयमा ।
थाहा पनि छैन —कार्यालय उही ठाउँमा छ वा छैन वा कार्यालय नै छैन अचेल ?
पत्रकारिता नामक रोटीकारिता गर्नेक्रममा दुई/चारपालि देखेभेटेको छु —बेपत्ता परिवारलाई । जो बेलाबेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्छन् । प्रधानमन्त्री फेरिएलगत्तै भेट्छन् ।
मानवअधिकारवादी नेतालाई भेट्छन् । न ज्यान न चिहानको खबर पाएका ती बेपत्ता परिवारले अनुनय विनय बिसाउँछन् ।
संघर्षका कार्यक्रम पनि ल्याउँछन् । सिंहदरवार घेर्छन् । नारा जलुस गर्छन् । कि ज्यान कि च्यान थाहा पाम् भन्दै आक्रोश पोख्छन् । आफ्ना प्रियजनका यादमा दुख बिसाउँछन् ।

Saturday, March 7, 2015

पूर्णविराम दाइ

धेरै भो, ब्लग अपडेट नगरेको पनि । किन हो कुन्नि, मन पनि छैन । कहिलेकाहीँ अराजक भइदिन्छ आफ्नो भन्नलायक यो एउटा मन पनि ।
किन हँ ?
थाहा छैन ।
अँ, धेरै भो नलेखेको । रोटीकारितामा नअटेकालाई ब्लगमा भनेर यो चौपारी कल्पेथेँ । तर वचनको पक्का हुन सकिनँ । ‘हटारु’मा दुईचार थान रोटीकारिताकै पारेर अन्याय गरेको छु ।
सो सरी है, मेरा प्रियजन । माफ पाम् ।
पूर्णविराम दाइसित भेट नहुँदो हो त सायदै लेख्थेँहुला । र, भेट सायदै हुन्थ्यो ।
ठुस्सिएको यो अराजक मन एक तालले बग्दैन । बेलगाम छ । कहाँ खोजेको कहाँ बगिदिन्छ, बर्खामासको खहरेजसरी । त्यसलाई बाँध बाँधेर तह लाउने कला मसँग छैन ।

अँ, फागुनको अन्तिम आइतबार साँझपख ।
सुनधारानेर भीडमा पूर्णविराम दाइसँग अनायास भेट भो। दुवैजना आश्चर्यचकित। भेटघाट । फोनफान नै नभएको वषदिन पनि काटिसकेको हुँदो हो भन्छु।
रोल्पाका गाउँघरतिर एक चिलम कक्कर खाने बहानाजस्तै चियाको बहानामा बसियो। दुईचार बात मारियो, सुकमदुखमका।

बस फेरि गुड्न थाल्छ

‘फटाफट झर्नुस् ।’
खलासी र कण्डक्टरका आवाजसँगै यात्रु ओर्लन थाल्छन् । झोला, झिटीझ्याम्टा र कुम्लाकुटुरासहितका अनुहारका लाइन लम्बिन थाल्छ ।
अर्जुनखोला, भालुबाङ फेरि दोहोरिन थाल्छ ।
शाही डाक्टर आफ्नो जाँच्ने भाँडो बन्दुकले जाँच्न थाल्छन्ः
–मंगोल अनुहार । मुटुको धड्कन । अनुहार र शरीरका अंगमा खत । हात÷खुट्टा÷पाइताला÷कुहिना÷घुँडा गाँठा । मुलायम या कडा । झोला कुम्लाकुटुरा ।
संकटकालका डाक्टरले अस्पतालका सुइ लगाउने डाक्टरले जसरी सोधेका छैनन्ः
–खाना कत्तिको रुच्छ ? के दुख्छ ? के हुन्छ ? कतिखेर ज्वरो आउँछ ?
शाही डाक्टर सोध्न थाल्छन्– प्रचण्ड । बाबुराम । आतंककारी । कहाँ । को । कहिले । किन । कसरी ।
क्यै पनि सुनेका छैनन् । ‘बन्दुक’ झैं आफैं मात्र पड्किरहेछन ।
इमर्जेन्सी डाक्टरका आफ्नै भाषा छ । आफ्नै पारा छ । आफ्नै मर्जी । आफ्नै खुशी । आफ्नै मन ।