Sunday, March 20, 2011

कांग्रेस नआए वाम ध्रुवीकरण



माओवादीले जनस्वयंसेवक ब्युरो गठन गरेको भोलिपल्ट बुधबार रिपब्लिकाका सहकर्मी पोष्टबहादुर बस्नेत र मैले ब्युरो इन्चार्ज नेत्रविक्रम चन्द 'विप्लव'सँग उनको निवास चावहिलमा कुराकानी गरेका थियौं। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको गृहमन्त्रीको प्रस्ताव अस्वीकारेका विप्लव ब्युरो गठनपछि चर्चामा छन्। रिपब्लिकामा कुराकानीको थोरै अंश मात्र छापिएपछि यसमा राखिएको छ। विप्लवसँग यो दोस्रोपटकको कुराकानी हो। यसअघि नागरिक पत्रिकाको लागि गरेको थिएँ भने यसपालि रिपब्लिका।
जनयुद्धकालमा वादल (रामबहादुर थापा) र पासाङ (नन्दकिशोर पुन) का बारेमा काठमाडौंमा यस्तो उस्तो भनेर फूलबुट्टा हालेर सुनाउँथे। माओवादी शान्तिप्रक्रियामा आएपछि सबै नेता बाहिर आए पनि संचार माध्यममा विप्लव युद्धकालको जस्तै छन्। माओवादीभित्र हार्ड लाइनरका नेताका रुपमा चिनिने मोहन बैद्य किरणका दाहिने हात मानिने विप्लव बैद्य र बाबुराम भट्टराईबीचको दूरी कम गर्ने काममा सक्रिय रहे। पार्टी जीवनमा पानी बाराबार जस्तै गरेका उपाध्यक्षद्वय किरण र भट्टराईलाई उनैले पहिलोपालि सँगै डिनर खुवाए जसलाई अध्यक्षले प्रचण्डले 'शक्ति हत्याउन खोजेको' भन्दै चर्को आलोचना गरे।

दुई वर्षअघि खरिपाटीमा सम्पन्न राष्टिय कार्यकर्ता भेलामा उनलाई अध्यक्ष दाहालले अबको बहस र द्वन्द विप्लवसित हुने बताएका थिए भने पालुङाटार विस्तारित बैठकमा वर्षमान पुन अनन्त र उनलाई अध्यक्षले उत्तराधिकारको रुपमा व्याख्या गरेका थिए।
२०२४ फागुन ११ मा रोल्पा जिल्लाको इरिबाङ गाविस६ केवरी गाउँमा जन्मेका विप्लवका २०५५ को पार्टी विस्तारित बैठकबाट उनीसहित अनन्त, हितमान शाक्य, शक्तिबहादुर बस्नेत, मणि थापा, रवीन्द्र श्रेष्ठ र चन्द्रप्रकाश खनाल वलदेव केन्द्रीय समितिमा पुगेका थिए। उनीसहित रोल्पाबाट अनन्त र कृष्णबहादुर महरा गरी तीन जना माओवादी स्थायी समितिमा छन् भने पोलिट्ब्युरोमा पासाङ, कुलप्रसाद केसी सोनाम छन्। केन्द्रीय समितिमा जयपुरी घर्ती मगर, झक्कुप्रसाद सुवेदी, ओनसरी घर्ती मगर, सन्तोष बुढा मगर, जोखबहादुर महरा, दीपेन्द्र पुन सिजल छन् भने महरा, अनन्त, झक्कु, सन्तोष, जयपुरी प्रत्यक्षबाट चुनिएका रोल्पाली सभासद् हुन् भने समानुपातिकबाट तारा घर्ती मगर, जोखबहादुर, ओनसरी र सन्तोषी बिक छन्। बाँकेबाट प्रत्यक्ष चुनाव जितेका माओवादी केन्द्रीय सदस्य तिलक परियार रोल्पाबाट बसाइ सरेका हुन् जसले माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई र हिसिला यमीलाई पार्टी सदस्यता दिएका थिए।
काठमाडौंस्थित ल क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका विप्लवका जेठा दाजु चन्द्रबहादुर संविधानसभा चुनावमा कपिलबस्तुबाट थोरै मतले हारेका थिए भने उनका माहिला दाजु जयन्द्र गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष छन्। जनमुक्ति सेनामा सुरक्षा दलहुँदै डिभिजन कमिसार र म्याग्दी सदरमुकाम बेनी आक्रमणको राजनीतिक कमिसार बनेका थिए। उनले लेखेका झण्डै एक दर्जन गीत रेकर्ड भएका छन्।



१.वाइसिएलजस्ता युवा संगठन हुँदाहुँदै किन आवश्यक पर्‍यो माओवादीलाई जनस्वयंसेवक गठनको ?

यसलाई हामीले संगठनात्मक क्षेत्रमा थपेको नयाँ आयाम भनेका छौं। माओवादीको नयाँ सगठनात्मक क्षेत्रको कदम, थपिएको इँटा भन्न सकिन्छ। अरू संगठन हुनु र नहुनुभन्दा पनि संगठनात्मक क्षेत्रमा माओवादीले दिएको नयाँ अवधारणा हो। यसबाहेक संक्रमणकालीन राजनीतिक परिस्थिति र जनताको सेवा गर्नुपर्छ भन्ने माओवादी दृष्टिकोणलाई जोडेर यसको गठन भएको हो।


२.शान्ति संविधान नभए जनविद्रोह गर्ने पार्टीको लाइन छ। जनविद्रोह र यसको गठन हुनुमा के तारतम्य छ?

–यो संगठन भनेको राजनीतिक चरित्रभन्दा पनि सेवामूलक चरित्रमा बढी आउँछ। विद्रोह राजनीतिक मामिला हो। त्यो आवश्यक पनि होला। तर त्यसलाई नेतृत्व गर्ने, परिचालित गर्ने संस्था पहिल्यै छ। पार्टी छ, सहायक संगठन छन्, एकप्रकारले जनमुक्ति सेना नै छ। यसका लागि जनस्वयंसेवकलाई संगठित गर्न खोजेको होइन। बरु के हो भने विद्रोह राजनीतिक मुद्दा हो, जो माओवादीले अघि सारेका कैयौं राजनीतिक प्रस्तावसँग सम्बन्धित विषय हो। जनस्वयंसेवक भनेको अहिले नेपालको सन्दर्भमा जनताको सेवा गर्नलाई संगठित गरिएको हो। त्यसैले यी दुईबीच प्रत्यक्ष सम्बन्ध अहिले छैन।

३.पछि त हुन सक्छ, होइन?
–राजनीतिक ढंगले यो स्वयंसेवकले सोच्दै सोच्दैन। नेपालको राजनीतिक मामिलामा मूकदर्शक हुन्छ भन्ने त होइन, तर विद्रोह संगठित गर्ने साधन स्वयंसेवक होइन।

४.सुरक्षा क्षेत्रमा काम गर्ने, अपराधीलाई कारबाही गर्ने भन्ने छ। यसले सरकारको क्षेत्राधिकारलाई असर गर्दैन?
–त्यो बुझाइको अस्पष्टता मात्र हो। नागरिक, समाज, राज्यको। सुरक्षाका दुइटा पक्ष छन्। एउटा औपचारिक ढंगले राज्यले गर्ने र अर्को आमनागरिकले आफ्नो सुरक्षा आफैंले गर्ने नैसर्गिक अधिकारसँग सम्बन्धित छ। अन्तर्राष्ट्रिय कानुन, नेपालकै कानुन हेर्दा पनि हर नागरिकले आफ्नो सुरक्षा आफैंले गर्ने अधिकार हुन्छ, छ। त्यसलाई हामीले अलि संस्थागत गर्न खोज्यौं। राज्यमा पहुँच नभएका नागरिकले योगदान गर्न सकिने क्षेत्र छन्, त्यस्ता ठाउँमा नागरिक समाजलाई सुरक्षा दिने कुरा अन्तरविरोध होइन पुरकमा रहनसक्छ। जुन क्षेत्रमा सेवा दिन सक्यौं, भनौं जुन ठाउँमा खाली छ, त्यहाँ हामीले थपिदियौं भने बरु राज्य र जनताबीच जुन 'ग्याप' छ त्यसलाई पुर्नसक्छ। त्यसरी हामीले बुझ्नुपर्छ। यदि सैद्धान्तिक र कानुनी हिसाबले हेर्नुभयो भने सुरक्षासम्बन्धी दृष्टिकोण अलिकति बदल्नु त पर्ला, तर राज्यसँग हामीले बनाएको धारणाले अन्तरविरोध राख्दैन।

५.जनसेवा, सुरक्षा गर्ने भन्नुभयो। जनयुद्धकालमा जड्याहा र जुवाडेलाई कारबाही गरिएको थियो। त्यस्तै हुन्छ कि अलि फरक हुन्छ?

–होइन। जनयुद्धमा जनसत्ताले गरेको प्रमुख काम जनताको दैनिक जीवनका चाहे आर्थिक, चाहे राजनीतिक चाहे सांस्कृतिक अधिकारका कुरा होऊन्, त्यो क्षेत्रमा आँच आउने समस्या हल गर्न जनसत्ताले गरेको थियो। जनताको अधिकार सुश्चित गर्‍यो, सुरक्षा दियो। सांस्कृतिक अधिकार संरक्षण गर्‍यो। त्यो त अहिले पनि हुन्छ। तर जहाँसम्म कानुनी ढंगले कानुनी कारबाही चलाउने कि नचलाउने, दन्ड सजाय दिने कि नदिने भन्ने कुरा छ, सजाय तोक्ने कि नतोक्ने भन्ने कुरा छ, त्यो दन्ड सजायको हदसम्म हुन्न। घटना हुने स्थिति आए, जनता र समाजलाई बचाउनेतिर हुन्छ।

६.तीन क्षेत्र छन् भनेको छ जनस्वयंसेवक ब्युरोले। कुन हो तत्कालको प्राथमिकता क्षेत्र? तत्काल केके गर्दैछ?

–जनसेवाका उत्पादन, पुननिर्माणनिर्माण र जनसुरक्षा छन्। हामी प्रवेश गर्दा पुनर्निर्माण र निर्माणबाट गर्दैछौं। पुननिर्माण भन्नाले जनयुद्धताका विध्वंस भएका गाउँबस्तीका पूर्वाधार निर्माण गर्ने हो। कतिपय प्राकृतिक प्रकोपबाट तहसनहस भएका छन्, तिनको पुनर्निर्माण हो। तिनलाई मद्दत पुर्‍याउने हो। निर्माण भन्नाले राज्य, दातृसंस्थासँग समन्वय गरेर जनताका अत्यावश्यक विषयलाई निर्माण गर्छौं। त्यसपछि क्रमशः उत्पादन र सुरक्षामा जान्छौं।

७.उत्पादनमा के हुन्छ?

–उत्पादनमा हामीले मूल रूपमा सहकारीलाई रोजेका छौं, सहकारी आन्दोलनलाई सहयोग पुर्‍याओस्। पलायन भएका, निराशातिर धकेलिएका युवा, खासगरी शिक्षित युवालाई संगठित गरेर तिनका सीप क्षमतालाई केन्द्रित गर्नेछौं। जनताबीच रहेका चलअचल सम्पत्तिलाई केन्द्रित गरेर परिचालन गर्ने छौं। त्यसलाई हामीले उत्पादन भनेका छौं। त्यसो गर्दा ठूलो क्षेत्र पनि आउला।


८.सामूहिक खेती' गर्ने जस्ता कुरा पनि पर्छ कि..

–सबै कुरा आउँछ। खेती प्रणालीबाट हेर्दा केही उत्पादन सहकारी भन्छौं, त्यो हुन्छ। चल पुँजीबाट हेर्‍यौं भने श्रम सहकारी होला। ठूलो मात्रामा हेर्‍यौं भने औद्योगिक सहकारी हुन्छ। सहकारीका विभिन्न रूप छन्, तिनलाई संगठित गर्छौं। त्योभन्दा एक तह माथि जाँदा अर्ध सामाजिक सहकारी पनि भनिन्छ। तर, अहिले हामीले सोचेको उत्पादन सहकारी र श्रम सहकारी बढी जरुरी छ भन्ने लागेको हो।

९.प्राथमिकता कसलाई हो?

–दुई तह राखेका छौं। पूर्णकालीन कार्यकर्ता जो जनयुद्धबाट आएका छन्, तिनलाई ध्यान दिएका छौं। दोस्रो बलिदान गर्ने परिवार सहिद, बेपत्ता, घाइते, कार्यकर्ता छन्। तेस्रोमा आमनागरिक, जो इच्छुक हुन्छन् भाग लिन। तिनलाई पनि मौका दिन्छौं। 

१०.ठाउँ?

–अहिले हामीले सामान्य अवधारणा मात्र बनाएका छौं। सामान्यतः उत्पादन सहकारी तराईमा होला। श्रम सहकारी पहाडमा पनि गर्न सकिन्छ। त्यसैगरी, त्योभन्दा अगाडि ठूलो मात्रामा औद्योगिक सहकारी जुनसुकै ठाउँमा पनि गर्न सकिन्छ।

११.जनसुरक्षामा नि?

–जनसुरक्षामा स्पष्ट गर्न खोजेका दुईतीनवटा कुरा छन्। एउटा हो, नागरिकका जिउधन सुरक्षा गर्ने। त्यसका लागि स्वयंसेवकले आश्वस्त पार्ने, विश्वस्त पार्ने र राज्यलाई सहयोग गर्ने हो। दोस्रो, समाजको सुरक्षा हो। ठुल्ठुला डकैती, लुटपाट, हमला जो भइरहेका छन् त्यसबाट सुरक्षा दिने। तेस्रोचाहिँ त्योभन्दा माथि गएर सिंगै नागरिकका जीवनपद्दतिलाई, राज्यको स्वाधीनतालाई केही हदसम्म संरक्षण र सुरक्षित गर्ने हो।

१२.पाँच लाखको लक्ष्य भन्ने सुनिन्छ। कति पुग्यो यसको संख्या? तपाईं भर्खरै सबै भागमा प्रशिक्षण दिएर फर्कनु पनि भयो।

–यसमा दुई पक्ष छन्। जो जनयुद्धकालका छन्, ती दीर्घकालीक पनि हुन्छन्। उनीहरूका योजनालाई मद्दत गर्नेगरी अंशकालीन पनि हुन्छन्, जो आवधिक स्वयंसेवक हुन सक्छन्। पूर्णकालीन संख्या थोरै हुन सक्छ। तिनका संख्या हजारसम्म हुन सक्छ। तर अंशकालीन दसौं लाख पुग्न सक्छ। हामीले रोल्पामा सहिदमार्ग खन्दा जनसेवा चलाउँदा पहिलोचोटि साढे पाँच लाख र अर्कोचोटि सात लाख परिचालन गरेका थियौं। त्यस्तै ठूलो संख्यामा सोच्दा यसको संख्या जति पनि बढ्न सक्छ।


१३.शान्ति प्रक्रिया र संविधान लेखनको ब्याक फोर्स' दाबी गर्नुभएको छ। कसरी?
–स्वयंसेवक आफैंमा युद्धकेन्द्रित संस्था होइन। यो त मानवीय, जनसेवा, समाजसेवा गर्ने संस्था हो। त्यसैले यसको भूमिका स्वतः शान्ति त भइहाल्छ नि। युवालाई उत्पादन र निर्माणमा परिचालित गरेपछि अग्रगमन र शान्ति प्रक्रियालाई सहयोग हुन्छ। निर्माण र पुनर्निर्माणमा नागरिकलाई सहभागी गराए शान्तिलाई नै सहयोग पुग्छ। यो सबैलाई एक ठाउँमा मिलाउने हो भने शान्ति र संविधान लेखनलाई प्रत्यक्ष सहयोगी हुन्छ भन्ने त स्वतः पुष्टि हुन्छ नि।

१४.जेठ १४ सम्म संविधान बन्ने स्थिति देखिन्न। जनविद्रोहमा जाने पार्टीले निर्णय गरिसकेको छ, नबनेपछि। अब जनविद्रोहको धार कसरी अघि बढ्छ?

–संविधान बन्छ, बन्दैन भनेर अहिले भन्नु अनुमान मात्र हुन्छ। पहिले, नबन्नेतिर नजाऔं। त्यसले जनतालई तनावमात्र दिन्छ। नबनेपछिको उत्तर अहिल्यै नखोजौं। अहिले हामी संविधान बनाउनतिर जानुपर्छ। म त संविधान नबन्ने दुईवटा कारणमात्र देख्छुएक हो, अग्रमन र प्रगतिलाई अस्वीकार गरे। दोस्रो हो, विगतका सम्झौताबाट दलहरू भागेपछि। यी दुईबाहेक अन्यथा सविधान नबन्ने त कहीँ पनि देखिँदैन। अहिले हामी बन्नेतिरबाट नै सोचौं।

१५.बनेन भने के गर्ने भनेर तयारी त गर्नुपर्ला नि?

(हाँस्दै) बनेन भने त्यसको जवाफ जेठमा खोजौंला। सामान्यतः हामीले भन्ने गर्छौं षड्यन्त्र भए विद्रोह। तपाईंले अपेक्षा गरेको उत्तर पनि यै होला। मेरो ख्यालमा त्यो जवाफ अहिले हतार हुन्छ। अर्को कुरा, संविधान बन्नेमात्र ठूलो कुरा होइन। राज्यको रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हो।

१६.अहिलेको राजनीतिक परिदृश्य सन्तोषजनक नै छ कि कस्तो छ?
–केही स्वाभाविक प्रतिविम्बन छ। केही नियोजित र दुर्नियतपूर्ण पनि। स्वाभाविक प्रतिविम्बन यस कारणले कि, यो संक्रमणकाल हो। संक्रमणकाल भनेको अस्थिरताको समय हो। यसबेला कुनै पनि मान्यताले स्थायित्व पाएको हुँदैन। त्यसैले त्यहाँ संघर्ष हुन्छ। टकराव हुन्छ। द्वन्द्व र प्रतिष्पर्धा चरमचुलीमा पुग्छ। त्यसको प्रतिविम्बन राजनीनिक पार्टीमा देखिनु, राजनीतिक क्षेत्रमा देखिनु र जनताबाट त्यसबाट आशंका, चिन्ता व्यक्त हुनुलाई स्वाभाविक रूपमा लिनुपर्छ। अर्को, सुनियोजित रूपले संक्रमणकाललाई पश्चगमनतिर बदल्ने साधनका रूपमा पनि प्रयोग गरिन थालिएको छ। यथास्थतिमा बदलेर जनताका अधिकार हनन गर्ने साधनका रूपमा खोज्ने प्रवृत्ति पनि छन्। सुनियोजित ढंगले देशलाई अन्धकारतिर धकेल्न सक्छ। यसमा हामी सतर्क हुनुपर्छ।

१७.अन्धकारमा जानबाट रोक्नलाई हो, कम्युनिस्ट ध्रुवीकरण भनेको? सम्भव छ?
–दुईवटा सम्भावना छ। एउटा, कांग्रेसले पुनर्विचार गर्नु र केही क्षेत्रीयतावादी, मधेसवादीले पनि पुनर्विचार गर्ने र सबै बसेर समीक्षा गरी देशलाई रूपान्तरण गरेर अगाडि बढाउने। त्यसो भयो भने ध्रुवीकरण तत्काल नै आवश्यक नहुन सक्छ। तर अग्रमनका लागि कांग्रेस तयार नहुने हो भने, राज्यलाई रूपान्तरण गर्न तयार नभए त्यसको विकल्पमा वाम ध्रुवीकरण महत्वपूर्ण पक्ष हो। अहिलको गतिविधिले देखाएको छ, कांग्रेस माओवादीसँगको सहकार्यमा आएर राज्यको अग्रमन गर्ने र निकास दिनेमा 'कम' देखिन्छ। त्यो स्थितिमा माओवादीले जो वाम ध्रुवीकरण कुरा गरेको छ, यो बाध्यकारी भन्नुस् या आवश्यकता भन्नुस्, त्यो, राज्यलाई रूपान्तरण गर्ने, परिणाम निकाल्नेसम्म पनि जान सक्छ। त्यहाँसम्म लिएर जान वाम ध्रुवीकरण हुन सक्छ।

१८.पार्टी अध्यक्ष प्रचण्डले त वाम मिले अहिलेकै संविधानबाट देशको सामाजिक र राजनीतिक रुपान्तरण गर्ने सविधान बन्ने दाबी गर्नुभएको छ। कसरी सम्भव छ?

–शान्तिप्रक्रियापछि हामीले एउटै कम्युनिस्ट बनाउने धारणा राख्दै आएका छौं। कम्युनिस्टका जनाधार एकै ठाउँमा छ। आधार एकै ठाउँमा छ। श्रमिक जनता, सर्वसाधारण नै यसका आधार हुन्। यसरी हेर्दा एउटै पार्टी बनाए फरक नपर्ने देखिन्छ। अर्कोतिर, राजनीतिक र सैद्धान्तिक बहसका रूपमा हेर्ने हो भने कम्युनिस्ट पार्टीबीच ठुल्ठुला अन्तर छन्। पछिल्ला समय तिनलाई कम गर्ने र एक ठाउँबाट हिँड्ने कुरा भइरहेको छ। त्यो सफलमा भए, क्रान्तिकरी सिद्धान्तअनुरुप कम्युनिस्ट घटकहरू रूपान्तरित भए एउटै बन्न सम्भव छ। तर त्यो सम्भावनाको कुरा हो। भर्खरै एमाले र अरू पार्टीसँग तत्कालै जान सकिने छैन।

१९.तपाईंलाई पार्टीभित्र र बाहिर 'र्‍याडिकल'का रुपमा चित्रण गरिन्छ, किन?

यसमा टिप्प्णी गर्ने कुरा केही छैन। र्‍याडिकललाई कसरी बुझ्ने? निष्ठा, आदर्श, सिद्धान्त विचार, लक्ष्य जो कुरा छन् यसलाई अगाडि बढाएको कारणले, यसको पक्षमा बहस सारेको कारणले त्यसो भनिएको भए आपत्ति छैन। ठोकेर भन्छु, हामी कम्युनिस्ट 'कन्सियसली' कम्युनिस्ट बनेका छौं। राजनीतिक मूल्य छ। आदर्श छ। मान्यता छ। कतैबाट पनि हस्तक्षेप हुँदा, स्खलन हुँदा, विघटन हुँदा स्वीकार्य हुन सक्तैन। बाँकी दुराशयपूर्ण ढंगले, कसैले स्वार्थ पुरा गर्न प्रचार गरेको हो भने त्यसमा केही भन्न सक्दिनँ। यतिमात्र भन्न सकिन्छ, त्यो पराजित मानसिकताको उपज मात्र हो। अन्यथा राजनीतिमा र्‍याडिकल, ननर्‍याडिकल भनेर टिप्पणी गर्ने विषय त हो तर मार्क्सवादी विज्ञानमा त्यस्तो हुँदैन। कुरा सही र गलत, सत्य र असत्य मात्र हुन्छ। कम्युनिस्ट पार्टी र समाजमा हुने बहस मूल्य मान्यताका बहस यस्ता कैयौं कुरा छन्। यसरी बुझ्नुपर्छ।

२०.अध्यक्ष प्रचण्डले मन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्नुभयो रे किन?

–सरकारमा जाने नीति पार्टीले बनाइसकेपछि, मैले समेत पनि त्यो ठिक हो भनेपछि मन्त्रीमा कोको जाने भन्ने विषयमा भएका चर्चा परिचर्चालाई अन्यथा लिने कुरा भएन। तर, हामी के निष्कर्षमा पुग्यौं भने एउटा टिम, जसमा मसहित जान त्यति जरुरी छैन भन्ने मात्र हो। जुन कुरा सभासद् भएका कमरेडले पुरा गर्न सक्नु हुन्छ। त्यहाँ म गएर नयाँ काम हुन्छ जस्तो लागेन।

२१.ट्रेड युनियन महासंघमा बद्री बजगार्इंलाई काखी च्यापेर फुटाएको आरोप छ। वाइसिएल पनि फुटाउन लागेको भन्दै तपाईंको नेतृत्व नस्वीकार्ने कुरा पनि सुनिँदैछ। के हो खास कुरा?

–कुरा त्यसो होइन। बुझाइमा अन्तर परेको मात्र हो। हाम्रा नवजवान साथीहरू, वाइसिएलका साथीहरूले जे जिज्ञासा पोख्नुभयो, ठिकै हो। बुझाइमा अन्तर पर्‍यो। स्वयंसेवकमा पार्टीले पठाउन लायकलाई पठाएको भन्यौं, तर उहाँहरूलाई वाइसिएलमात्र जम्मा गर्‍यो कि भन्ने परेछ। वाइसिएलमात्र केन्द्रित गरेको होइन। विद्यार्थी, मजदुरका पनि आउनुभएको छ। अलि धेरै वाइसिएलका पर्नुभएको छ। त्यो प्रसंगमा उठेको हो। तर ती प्रसंग सबै हल भइसक्यो। मेरो नेतृत्व मान्दैनौ भनेर पनि कतैबाट कुरा उठेन। अथवा उठ्न पनि सक्छ। त्यो ठूलो कुरा होइन। हिजो छलफलमा भने कसैले पनि उठाएन।
जनस्वयंसेवक गठन गरेकोप्रति सबै साथीहरू उत्साहित हुनुहुन्छ। मजदुको समस्या पनि हल हुन्छ।

२२.कहिले हुन्छ?
–स्थायी समिति बस्नेबित्तिकै।

२३.पार्टीमा देखिएको अन्तसंघर्ष नि? अब पार्टी कता जाँदैछ?
–अन्तरसंघर्षको चेप्टर पुरा भएको ठानेका छौं। जो प्रश्न उठाउनुभएको छ, हामीले लामो विश्लेषणपछि हल गरिसक्यौं। नेपालको राजनीतिक जटिलता कहाँनेर अडिएको छ भने पश्चगामी प्रवृत्ति कांग्रेस र एमालेको आत्मसमर्पणवादी प्रवृत्तिमा छ। त्यसलाई दिल्लीले उक्साएको छ। यहाँचाहिँ गठजोड भएको छ भन्ने निष्कर्ष सही छ पार्टीको। दोस्रो, त्यो गठजोडले बाटो छोडेन भने अन्ततः विद्रोह र प्रतिविद्रोह जन्माउँछ। त्यसलाई हल गर्नुपर्छ। तेस्रो, शान्ति र संविधानका लागि सबै मोर्चाबाट काम गर्नुपर्छसरकार,सडक र सदनबाट। त्यसको नेतृत्व पार्टीले गर्नुपर्छ। यो नै सही कार्यदिशा भन्ने भइसकेपछि पार्टी सही ठाउँमा जान्छ। यसलाई योजनामा ढालेर जाने, प्रयोग गर्ने कुरा मात्र हो। यस्तो गरे पार्टी घेराबन्दी, विघटनको खतराबाट बच्छ। पार्टी क्रान्तिकारी पार्टी, जनताका प्रतिनिधिको रूपमा जान्छ।

1 comment:

  1. Mgr Samjhana Gharti
    bipalap sirko antarbarta copy garer rakhdinu hai nabin

    ReplyDelete