Yubaraj Dulal "Sharad", Brigade Commander of PLA, who had command the attack against the police post at Thankot, the gate way of the capital Kathmandu, was security guard of party Chairman Prachand for last 7 years.What he says before leaving Kathmandu ....
अध्यक्ष कमरेड,
कुनै दिन तपाईंलाई देख्न पाउने सम्भावित खबरले ममा यस्तो अनुभूति भएको थियो, 'उद्देलनाले भरिएको छ, मन । एउटा आकांक्षा पनि साँचिएकै छ, राम्रै । महान् नेपाली जनयुद्ध प्रत्याक्रमणको चुनौतीपूर्ण यात्रा तय गर्दै अगाडि बढिरहेको छ । युद्धमा समाहित भएको सातौँ वर्षमा म नेपाली क्रान्तिको आधार क्षेत्र नेपाली ऐनान- रोल्पातर्फ उन्मुख यात्रामा समाहित छु । म त्यहाँ अध्यक्ष क. प्रचण्डलाई पहिलोपटक देख्नेछु, भेट्नेछु र दरिला हात मिलाउनेछु । सायद अध्यक्षसँग गर्वकासाथ आफ्नो परिचय दिनेछु । त्यसपछि मेरो बलिदान भएछ भने पनि अध्यक्ष कमरेड प्रचण्डलाई देख्ने सपना अधूरो रहने छैन ।' १६ भदौ २०६१, डायरीका पानाबाट ।
श्रद्धेय कमरेड, झन्डै सात वर्ष अघि यस्तो सोचेको मैले झन्डै पाँच वर्ष तपाईंसँगै बिताएँ । पश्चिम नेपालको रोल्पामा हुने भनिएको पार्टीको केन्द्रीय भेलामा जाँदै गर्दा (जुन कार्यक्रम रद्द भयो) यात्रामा गरिएको अनुभूति हो यो । तर आज मसँग तपाईंप्रतिको जिज्ञासा बदलिएको छ, -अब म अध्यक्ष कमरेडलाई सलाम गर्नेछु, दरिला हात मिलाउनेछु र कमरेड म आफ्नो कार्यक्षेत्रमा जाँदैछु, भन्दै बिदा हुनेछु । सायद, त्यो क्षण बहुत् असजिलो हुनेछ । आफ्नो वर्गको नेतृत्व, जसको सुरक्षाको लागि भनेर अहोरात्र खटियो, जो बाँचेमा मात्र आफ्नो वर्गको मुक्तिको ढोका उघारिने सम्भावना देखिएको छ र जसको जीवनमाथि धेरै खतराका घन्टीहरू बजिरहेका छन्, लाई छोडेर जानुपर्ने क्षण अत्यन्त पीडादायक बनिरहेको छ । उसै त पाँच दिनदेखि यहाँको वातावरण अलि भावुक बनेको छ, कसैले कसैको अनुहारमा सीधा हेर्न नसक्ने जस्तो, केही भन्न खोज्दा शब्द नफुट्ने जस्तो ।
५ मंसिर, २०६३ मा जनमुक्ति सेना, नेपाली जनताको घरबाट बिदा भएर जंगलमा प्रवेश गर्यो । हामीले चितवनको शक्तिखोरस्थित भुताहा खोलाको दोभानमा बालुवामाथि पराल बिच्छयाएर सेतो प्लास्टिकको छानामुनी रात काट्यौँ । उज्यालो भयो, हामी सबै जनसेना, अस्थायी शिविर निर्माणमा लाग्यौँ । अहोरात्र खटेर सुकुम्बासी बस्ती जस्तो एउटा संरचनाको आकार बन्दै थियो । दुई रात खोलाको दोभानमै बितायौँ । तेस्रो दिन बिहान डिभिजन कमान्डरले, अध्यक्ष कमरेड प्रचण्डको सेक्युरिटीको जिम्मेवारी लिएर काठमाडौँ जानुपर्ने निर्देशन गर्नुभयो । साथै पोलिटब्युरो सदस्य क.उत्तम र कमिसार क.सोनामले तपाईंको सुरक्षाको महत्त्व बताउँदै शुभकामना दिएर बिदा गर्नुभयो ।
हाय ! कहिले तपाईंलाई भेट्ने तीव्र लालसा थियो । अब सधैँ सँगै बस्न जानुपर्नेछ । तर सुरक्षा ! जसको टाउकाको मूल्य तोकिएको छ । जसले एउटा शक्तिशाली सत्तालाई ढाल्ने चुनौती दिएको छ । जोमाथि सारा विश्व खनिएको छ । त्यस्तो व्यक्तिको सुरक्षा गर्नु कुनै सामान्य कार्य त होइन । मन कतै खुसीले बहुलाए जस्तो, कतै चुनौतीको पहाडले थिचे जस्तो, कहिले सकिन्छ जस्तो, कहिले सकिँदैन कि जस्तो । यावत् अनुभूतिहरूले घेरिरहेको थियो । पार्टीको निर्देशनलाई शिरोपर गर्दै म तपाईंको सुरक्षामा आइपुगेँ ।
कमरेड अध्यक्ष,
जब मेरो मनमा तपाईंको सुरक्षाको जिम्मेवारी बोध भयो तब ममा विश्व कम्युनिस्ट आन्दोलनका र प्रगतिशील आन्दोलनका पनि नेताहरूको सुरक्षाको एकाएक स्मरण हुन थाल्यो । क.लेनिन, जसलाई आफ्नै पार्टीका कमरेडहरूले गोली हाने, क.माओ जसलाई अाफ्नै श्रीमतीले धोका दिइरहेकी थिइन् । फिडेल क्यास्ट्रोको हत्याका लागि कति योजना बनायो सिआइएले । अंगरक्षकले किन हाने गोली गान्धीलाई ? आफ्नै ड्राइभर -कमरेड)ले किन खसाले त्रिशूलीमा मदन भण्डारीलाई ? किन गरियो राजा वीरेन्द्रको वंशनास र कसरी ? जता हेर्यो, केही राम्रो, अझ भनौँ वर्गीय हिसाबले गरिखाने जनता र राष्ट्रियताको पक्षमा केही गर्न खोज्ने सबैमाथि भौतिकरूपमा नै आक्रमण गरेर मारिएको छ र मारिने प्रयत्नहरू भएका छन् । जसको कारण पनि यो पुष्टि हुन्छ तपाईंमाथि पनि विभिन्न प्रकृतिबाट र विभिन्न प्रवृत्तिले आक्रमण गर्ने योजना बनाएकै छन् । यस्तै सोचेँ मैंले र सोहीअनुसार सुरक्षा मिलाउनु पर्दछ भन्ने लाग्यो ।
जसै, अनेकन जिज्ञासाहरू उमार्दै म तपाईंको सुरक्षाका लागि आफ्नो फर्मेसनबाट बिदाइ भएर आएँ । सँगै मोर्चामा लडेका साथीहरूलाई जंगलको बासमा छाडेर हिंड्नु पर्दा मन अमिलो भइरहेको थियो । तर के गर्ने अध्यक्ष
कमरेडको सुरक्षाको जिम्मेवारी र कमान्डरको आदेश दुवै महत्त्वपूर्ण कुरा थिए । ८ गते बिहान, डिभिजनले बिदा गर्यो । तर मेरो हालत, हातले डिभिजनलाई बिदाइ गर्दै थियो । पाइला काठमाडौँतर्फ सर्दै थिए, तर मन कहाँ हो कहाँ ! यसरी २०६२ साल मंसिर ८, गते साँझ बौद्धस्थित एक होटलामा पुगेर अध्यक्षको सुरक्ष्ााको जिम्मा लिएँ र आज पर्यन्त रहेँ ।
झन्डै पाँच वर्ष लामो सुरक्षामा रहँदा, धेरै चुनौतीहरू झेलियो । धेरै हल्लाहरूले पछयाइरहे । कोही अध्यक्षलाई यो पक्षबाट खतरा छ भनेर आउँथे त कोही अर्को पक्षबाट खतरा छ भन्दै । ती सत्य पनि हुन्थे र भ्रम पनि । जबकी हामी -एउटा सर्वहारा वर्गको नेतृत्वलाई जीवन पर्यन्त सुरक्षाको चुनौती भइनै रहन्छ भन्ने कुरामा पूर्णरूपमा विश्वस्त थियौँ । हाम्रै आफ्नो आधिकारिक सूचनाहरूको आधारमा पनि हामी सुरक्षा संवेदनशीलताको विश्लेषण गरिरहेका हुन्थ्यौँ । र, आवश्यक सम्पूर्ण सतर्कता हाम्रोतर्फबाट भइनै रहन्थ्यो । निःसन्देह हामी नेपालमा नेतृत्वको सुरक्षामा एउटा विश्वासनीयता र सफलताप्राप्त गर्न चाहन्थ्यौँ । बिदाइ बैठकमा कमरेड अध्यक्षले हाम्रो कामको मूल्यांकन गर्दै -कम्तिमा तपाईंहरूको कार्यकालमा कुनै अपि्रय घटना हुन पाएन । यसअर्थमा पनि जनमुक्ति सेनाको सुरक्षा व्यवस्था सफल देखिएको छ । तपाईंहरूले जुनस्तरको सुरक्षा व्यवस्था मिलाउनु भएको छ, त्यसको कारणले पनि कसैले सजिलै हामीमाथि आक्रमणको सपना पनि देख्न सक्दैन, भन्नुभएको थियो । हुन पनि सुरक्षा भनेको त्यो हो, जहाँ दुश्मनले आक्रमणको योजना निर्माण गर्ने आँट गर्ने सम्भावना नै दिनुहुँदैन । सुरक्षाकर्मीहरूको चेतना सधैँ हामीभन्दा शत्रुहरू यो-यो अर्थमा शक्तिशाली हुन्छन् र हामीलाई यो तरिकाले आक्रमण गर्न सक्छन् भन्नु अगाडि नै सम्भावनाको विश्लेषण गर्न सक्नुपर्दछ । सायद हामीले यो पक्षमा विशेष ख्याल कायम गरेको थियौँ । हामीले यो कहिले सोचेनौँ की घटनापछि पहलकदमी लिने । बरु, हामीले त पहलकदमी कहिले गुम्न नदिने जसको कारण घटना नै हुन नपाओस् । हाम्रो यही बुझाइ र व्यवहारका कारण पनि कतिपय खतराहरू टरेका छन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा त विशिष्ट व्यक्तित्वको सुरक्षामा उ स्वयंको कार्यशैलीले प्रमुख भूमिका खेलेको हुन्छ । साथै पारिवारिक वातावरणले पनि । यसर्थमा तपाईं र तपाईंको सम्पूर्ण परिवार असाध्य सचेत र सक्षम थियो र छ । जो कुनै पनि विशिष्ट व्यक्तित्वको सुरक्षाको लागि धेरै नै अनुकूल वातावरण हो । यसर्थ पनि हामीलाई सुरक्षामा रहेर काम गर्न निकै सजिलो परेको थियो ।
अध्यक्ष कमरेड अत्यन्तै गतिशील हुनुहुन्छ । हामीलाई तपाईंको गतिअनुसार सुरक्षाको प्रबन्ध मिलाउन उत्तिकै सक्रिय भइरहनु पर्दथ्यो । तपाईं अहोरात्र खट्न सक्नुहुन्छ । लगातार २४ घन्टासम्म पनि एकैस्थलमा भोक निन्द्राको कुनै प्रवाह नगरिकन काम गर्न सक्नुहुन्छ । नेपालको इतिहास नै बदल्ने अभियानमा सफलता प्राप्त गर्दै अगाडि बढ्नु भएका नेता क.प्रचण्डको उपस्थितिपश्चात् नेपलामा धेरै अकल्पनीय कार्यहरू भएका छन् । राता-रात नसुतेर अन्तरिम संविधान जारी गर्ने कार्यदेखि अघिल्लो दिन बैठक सुरु गरेर भोलिपल्टसम्म लगातार बसेर कार्य सफल गर्ने प्रचलन 'प्रचण्ड कार्यशैली'का रूपमा स्थापित भएको छ । तपाईं जब भोक-भोकै बैठक बस्नुहुन्थ्यो हामीमा झनै ऊर्जा भरिएर आउँथ्यो । पूरा निद्रा सायदै कुनै दिन सुत्नु भएको होला । एकै दिनमा पचासौँ बैठकहरू भ्याउनुहुन्थ्यो । आफ्नो वर्गहितका लागि यति धेरै मेहनत गर्ने नेता पनि सायदै होलान् । यसर्थ पनि तपाईंको सुरक्षामा खटिरहँदा बडो आनन्दानुभूति हुन्छ ।
आज तपाईंमाथि सुनियोजित तवरले अविश्वासका चाङहरू ठडाइँदै गर्दा त्यसलाई पनि मलजल पुग्ने यो जोखिम तपाईंले उठाउनु भएको छ र त्यही भ्रमलाई चिर्नका लागि पनि मैले जाँदै गर्दा तपाईंको सम्बोधनमा यो अनुभूति बाँडिरहेको छु । यस्तो चुनौतीपूर्ण घडीमा तपाईं जस्तो व्यक्तित्वको सुरक्षाको जिम्मेवारी छोडेर जानुपर्दा मन अमिलो भएको छ । आँखा धमिलो भए जस्तो लागेको छ । मात्रै अन्तरदृष्टिले कतै बाटो देखेको हो कि जस्तो भइरहेको छ । सायद यो यथार्थ हो र त जबर्जस्त मन सम्हालेर र्फकंदै छु ।
कमरेड अध्यक्ष, अब हामीले भन्नै पर्दछ, क.प्रचण्डको सुरक्षा अब सिंगो नेपाली जनताको हो । यहाँका अरु सुरक्षा निकायले पनि गम्भीरतापूर्वक यो तथ्यलाई आत्मसात् गरिसकेकोे छ । हामीसँगै झन्डै तीन वर्ष सहकार्य पनि गर्यौँ, जसका कारणले पनि यो जिम्मेवारी सबैको साझा हो भन्ने बोध गराएको छ । निःसन्देह, सर्वहारा वर्गको नेताको सुरक्षा सदैव खतरामा नै हुन्छ । आज अध्यक्ष क.प्रचण्डले आफूलाई स्टेटम्यानसिपको भूमिकातर्फ धकेल्दै अगाडि बढ्ने र आफ्नो वर्गीय स्वार्थसहित राष्ट्रिय हितको पक्षमा अगाडि बढ्ने महान् जोखिम उठान गर्नुभएको छ । यो तपाईंको महान् उद्देश्य सफल हुनेछ । हाम्रो तपाईंप्रतिको बुझाइ सही हुनेछ र तपाईंको आफैँप्रतिको विश्वासको जित हुनेछ । भ्रमहरू ध्वस्त हुनेछन् र महान् विजयसँगै हामीसँगै हुनेछौँ । हाम्रा सेक्युरिटीका सबै कमरेडहरू पनि तपाईंलाई सुरक्षाप्रति विशेष सतर्क रहन सुझाव दिँदै संगठनको आदेशानुसार खुसीसाथ क्यान्टोनमेन्ट फर्किंएका छन् । तपाईं आफ्नो सेनाको हातको बन्दुक बुझाउन तयार हुनुभएन, बरु आफ्नो जीवनको जोखिम उठाएर आफू एक्लै पनि अगाडि बढ्ने साहस गर्नुभयो । बुझ्नेका लागि तपाईंको यो कार्य काफी छ । तपाईं राष्ट्रको प्रधानमन्त्री हुँदा बालुवाटारमा बलिदान दिन तयार भएको कुरा के मैले बिर्सन सक्छु र ! जो तपाईंको सुरक्षामा पूरै रात बालुवाटारमा अनिदो बसेको थियो । यो कुरा हामीलाई न थाहा छ । हवस्त कमरेड, म यसभन्दा बढी अहिले भन्न नसक्ने भएँ ।
Bharat Rodan
ReplyDeleteprachandko jimma sahi shenale