निभा शाह |
(ख्यालख्यालमा भेट भयो, निभा दिदी र राजकुमार कुँवरसित। भए, दुईचार बात, तन्दुरी रोटीको बहानामा। भए- केही गाउँका, केही सहरका कुरा । भए- केही नेताका केही कार्यकर्ताका।
भए, काठमाडौं छिरेपछि, हेर्दाहेर्दै, राणाजीलाई खर्लप्प पारेका माओवादी नेताका जीवनशैलीका। घाममा रिठा चाउरिएझंै चाउरिदैगएका माओवादी कार्यकर्ता र गाउँघरका। र, लाहुरेको पर्खाइमा हलाक् परेकी लाहुरेनीजस्तै बेचयन सहिद परिवार, बेपत्ता परिवार, घाइतेका कुरा पनि।
बागबजारस्थित जागरण बुक पसलमा दिदीको यो कविता आधाआधी बाटो लाग्दा मानुषीजी आइपुग्नुभयो। के सोचेर कुन्नि ? सुनाएपछि कतै पत्रिकामा 'दिन' कविता दिनुभो। 'अच्छा' लाग्यो। ब्लगमा राखेँ।
नसोधीकनै ब्लगमा राखेँ। दिदी, 'सरी' है। )
बेचिएका सपना
चालै नपाई
आफ्नै रगत
अरुले बेचेपछि
के थाहा,
आफ्नै रगतको
मूल्य कति थियो भनेर ?
चालै नपाई
आफ्नै सपना
अरुले बेचेपछि
के थाहा,
आफ्नै सपनाको
मूल्य कति थियो भनेर ?
चालै नपाई>
आफ्नै बैंस
अरुले बेचेपछि
के थाहा,
आफ्नै बैंसको
मूल्य कति थियो भनेर ?
हेर न-
चालै नपाई
आज बजार भएपछि
सोध्नुपरेको छ,
जून छुने तिनका इँटाहरुलाई-
मेरो रगतको
मूल्य कति थियो ?
आज सोध्नुपरेको छ,
ऐनाजस्तै टल्कने
तिनका जुत्ताहरुलाई
मेरो सपनाको
मूल्य कति थियो ?
आज सोध्नुपरेको छ
परीहरुलाई मात दिने
तिनका यौवनहरुलाई
मेरो बैंसको मूल्य कति थियो ?
त्यसैले त
भनिरहेछु,
खबरदार जनता !
सहिदको रगत
'रगती' बनाएर खाइरहेछन्-
नेताहरुले
तिम्रा देवताहरुले
No comments:
Post a Comment