Wednesday, August 10, 2011

मोहनविक्रमजी आफ्नो अडान छोड्नुहुन्न



मोहनजी अहिले मलाई एमए दोस्रो वर्षको ट्युसन पढाइरहनुभएको छ ।
मैले सल्लाह दिएकी छु- नेता हुनुभन्दा लेखक हुनुस्, बाँकी उमेर लेखनमै बिताउनुस् ।
'जलजला' उपन्यास सक्न एक वर्षका लागि पार्टीबाट बिदा बस्नुभएको छ, बिदामा आत्मकथा पनि लेख्दै हुनुहुन्छ ।
वैचारिक मतभेद भएर होइन, कता गए नाफा हुन्छ भनेर बार्गेनिङ गर्दै साथीहरू फुट्छन् । यसमा मोहनविक्रमको के दोष ?
उहाँ उकालो चढिरहने मान्छे हो । उहाँजस्तो चिन्तकको विकास नेपालमा भइसकेको छैन ।
श्रीमतीका हिसाबले कहिलेकाहीँ भन्छु, 'अब त खुला हुने कि !' मेरो कुरा सुनेर उहाँ हाँसिरहनुहुन्छ मात्रै ।

जबर्जस्ती राजनीतिमा
म परिवारकी काइँली बहिनी हुँ । हामी पाँच बहिनी, पाँच भाइ छौँ । बाबा पश्चिमबंगालको स्टिल कम्पनीमा काम गर्नुहुन्थ्यो । कान्छो भाइबाहेक हामी सबै उतै कोलकातामा जन्म्यौँ । दाइ-दिदी सबैले उतै पढ्नुभयो । ठूल्दाइ, ठूल्दिदी र माइलीदिदीको बिहे पनि उतैबाट भयो । पुख्र्यौली घर प्यूठान भए पनि बुबा रिटायर्ड भएपछि हामी कपिलवस्तु बस्न थाल्यौँ । मैले पाँच कक्षादेखि यतै पढ्न थालेँ र राजनीतिक जीवन पनि पाँच कक्षामा पढ्ने समयदेखि नै सुरु भयो । 
साइँलो दाइ शिव पौडेलले मलाई राजनीतिमा क्रियाशील बनाउनुभयो । ०४१/४२ सालतिर पञ्चायतकालमा विद्यार्थी संगठनको बैठक शनिबार/शनिबार जंगलमा हुन्थ्यो, त्यसमा जान कोही पनि मान्दैनथे । तर, दाइले मलाई जबर्जस्ती लानुहुन्थ्यो । 'शनिबार नुहाइधुवाइ गर्छु, ड्रेस धुन्छु, बैठकमा जान्नँ दाइ' भन्थेँ तर 'फर्केर धोए हुन्छ' भन्दै दाइले मलाई लगिहाल्नुहुन्थ्यो । कार्यक्रम उभिन पनि नमिल्ने काँडैकाँडाको जंगलभित्र हुन्थ्यो । तिनै कार्यक्रम हेर्दै/सुन्दै गर्दा बिस्तारै राजनीतितिर मेरो रुचि बढ्यो । ०४४ सालतिर दाइले मलाई अनेरास्ववियु (छैटौँ) को जिल्ला समितिमा राखिदिनुभयो र केही समयपछि महिला संगठनको जिल्ला समितिमा राख्नुभयो । 
मेरा साथी कोही पनि राजनीतिमा थिएनन्, सुरुसुरुमा मलाई पनि रसै लाग्दैनथ्यो । आफ्ना साथी एकातिर, आफू अर्कोतिर जस्तो हुन्थ्यो । राजनीतिमा लाग्न साथीहरू डराउँथे । पुलिसले समातेर लग्छ, पिट्छ, यातना दिन्छ भन्थे साथीहरू । पुलिसले थुप्रै नेतालाई वारेन्ट गरेको थियो । मलाई पनि जान मन लाग्दैनथ्यो । दाइकै जबर्जस्तीले म राजनीतिमा हिँडेँ । बैठक/कार्यक्रमबाट घर फर्केपछि बुबाले 'कहाँ गयौ, के गर्‍यौ ?' भनेर सोध्नुहुन्थ्यो । म सबै बेलिविस्तार लगाउँथेँ । के बुझ्यौ भन्नुहुन्थ्यो, मलाई 'संगठन हाम्रो चाहिन्छ यहाँ फलामे किल्लाको, एकता दरो चाहिन्छ यहाँ भोका र नांगाको' भन्ने गीत खुव मीठो लागेको थियो । रामप्रसाद बेल्वासेले गाएको त्यो गीत मैले बुबालाई पनि सुनाएँ । मेरो कुरा सुनेर बुबाले 'हो, केही गर्नुपर्छ, खोला तर्ने आँट गरेपछि ढलमल गर्नुहुँदैन, तरेरै छाड्नुपर्छ' भन्नुहुन्थ्यो ।
बुबा राजनीतिकर्मी हुनुहुन्थेन, रुचि पनि गर्नुहुन्थेन । सोच भने उहाँको प्रगतिशील थियो । छोरीलाई नपढाउने, महिनावारी हुँदा अलग्गै राख्ने कहिल्यै गर्नुभएन । लाग्दालाग्दै ०४५ सालमा गोरखपुरमा सम्पन्न महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट म केन्द्रीय समितिमा चुनिएँ । त्यसपछि भारतका विभिन्न ठाउँमा रक्तिम परिवारको टिमसँगै हिँडेँ । त्यसयता ०६७ सालसम्म मैले महिला संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष भएर लगातार काम गरेँ । ०४५ सालदेखि बाइस वर्षसम्म म निरन्तर महिलाको केन्द्रमा रहेर काम गरेँ । 
सोरदगणमा पहिलो भेट
अखिल भारतीय नेपाली विद्यार्थी संघ (अभानेविसंघ) को सोरदगण (भारत) मा ०४५ सालमा भएको सम्मेलनमा म प्रतिनिधि भएर गएकी थिएँ । हाम्रो (मोहनविक्रम सिंह र मेरो) पहिलो भेट त्यहीँ भएको हो । अभानेविसंघको सम्मेलनमा उहाँ प्रशिक्षक हुनुहुन्थ्यो । प्रशिक्षणमा भेट त भयो तर खास चिनजान थिएन । उहाँका बारेमा मैले त्यसअघि धेरै सुनेकी थिएँ । उहाँलाई मिहिनेती, निस्वार्थी, घरपरिवार र बुबाको सम्पत्ति त्यागेर लागेको जोगीजस्तो नेता भन्थे । अहिले माओवादीमा हुनुभएका चन्द्र खनाल 'बलदेव' ले पनि उहाँबारे धेरै कुरा सुनाउनुभएको थियो । मोहनविक्रमबाट यस्तो-यस्तो कुरा सिक्न सकिन्छ भन्थे साथीहरू । एकपटक मोहनविक्रमलाई भेट्न पाए भन्ने लागिरहन्थ्यो । 
मोहनजी त्यतिबेला नेकपा (मसाल)को महामन्त्री हुनुहुन्थ्यो । पहिलो भेटमा उहाँ र मबीच संगठनका विषयमा कुरा भएको थियो । उहाँले 'तपाईंहरूलाई कस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ ?' भन्नुभयो । मैले भने, 'महिलाहरूको बृहत् प्रशिक्षण भइदिए महिलाहरूबीच काम गर्न सजिलो हुन्थ्यो ।' हाम्रै मागअनुसार ०४५ सालको अन्तिमतिर गोरखपुरमै ठूलो महिला प्रशिक्षण भयो । त्यसमा हाम्रो राम्रोसँग भेटघाट/कुराकानी भयो । पछि महिला संघको केन्द्रीय सदस्य चुनिएपछि मेरो संगठनको जिम्मेवारी भारतमै पर्‍यो, उहाँको कार्यक्षेत्र पनि उतै थियो । हाम्रो भेटघाट बाक्लै हुन थाल्यो । ०४५/४६ सालतिर संगठनका काममा रहँदा मैले उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ । 
विवाहपछि विवाद
लगातार भेट हुन थालेपछि मलाई लाग्यो, यो मान्छे कस्तो खटिरहन सकेको होला ? उहाँको सक्रियता देख्दा ममा उहाँलाई सहयोग गर्न पाए भन्ने भावना आउन थाल्यो । शान्तादिदी (जेठी श्रीमती) सँग ०३६/३७ सालतिरै सम्बन्धविच्छेद गरेर उहाँ भारतमा एक्लै बस्नुहुन्थ्यो, शान्तादिदी यता बर्दियामा एक्लै बस्नुहुन्थ्यो । छोराछोरीलाई मोहनजीले नै लखनउमै राखेर पढाउनुहुन्थ्यो ।
मोहनजीको र मेरो प्रेम ठ्याक्कै कहिले भयो, तिथिमिति त ख्याल छैन । संगठनका काम गर्दै जाँदा ०४६/४७ सालतिर मैले उहाँलाई माया गर्न थालेँ, उहाँले पनि माया गर्नुहुँदोरहेछ । मेरो माया सहयोगी भावनाको थियो । उहाँजस्तो मान्छेलाई सहयोग गरूँ भन्ने भावना बढ्दै जाँदा कतिखेर त्यो मायामा परिणत भइसकेछ । थाहै नपाई मैले उहाँलाई माया गर्न थालिसकेछु, उहाँले मलाई । एक-आपसमा हामी घनिष्ठ हुन थालेपछि साथीहरूले सुझाब दिए, 'मोहनजीलाई पनि परिवारको आवश्यकता छ, दुर्गाले पनि घोषित रूपमै सहयोग गर्न सजिलो हुन्छ, तपाईंहरू विवाह गर्नुस् ।' मलाई पनि लाग्यो, आफूले चाहेर पनि कतिपय कुरामा उहाँलाई सहयोग गर्न नमिल्ने हुन्थ्यो । त्यसपछि हाम्रो विवाहको प्रस्ताव नवराज सुवेदीलगायतले केन्द्रीय समितिमा राख्नुभयो र केन्द्रीय समितिको समर्थनमा ०५७ वैशाख २९ गते हाम्रो विवाह भयो । 
विवाहअघिको हाम्रो सम्बन्धबारे मान्छेहरूले अनेक चर्चा गरे, दुर्गा र मोहनजीले एक-अर्कालाई माया गर्छन् पनि भने । हाम्रो प्रेम-सम्बन्धलाई लिएर पार्टीले विवाहअघि त केही गरेन, विवाहपछि भने त्यो विषय विवादमा पर्‍यो । धेरै पहिले जलजलाजी सँगको प्रेमका विषयमा उहाँ कारबाहीमा परिसक्नुभएको थियो । हाम्रो विवाहलाई भने केही साथीले उमेरका हिसाबले बेमेल भयो भन्नुभयो । त्यो विषय पार्टीको तल्लो तहसम्म छलफलमा लगियो । पछि त्यही विषयमा भेला भयो । भेलामा विवाह उचित र अनुचित भन्ने दुवै पक्ष देखिए । दुर्गा वालिग हो, उसले आफ्नाबारेमा निर्णय गर्ने क्षमता राख्छे भन्ने साथीहरू पनि भए, उमेरको भिन्नता कानुनी रूपमा मिलेन भन्नेहरू पनि भए । उहाँको र मेरो उमेर ३० वर्षजति फरक थियो । उहाँ साठीभन्दा माथि हुनुहुन्थ्यो, म भर्खर ३० वर्षकी थिएँ ।
उहाँले यो सही छ भन्दै विवाहसम्बन्धी प्रस्ताव पेस गर्नुभयो । विवाह बेमेल छ भन्ने बहुमत भएपछि उहाँको प्रस्ताव फेल भयो । अनि उहाँले महामन्त्रीबाट राजीनामा दिनुभयो । राजीनामा हलले स्वीकृत गरेन । उहाँले यो अवस्थामा मैले नैतिक हिसाबले राजीनामा दिनुपर्छ, स्वीकार गर्नुस्, मेरोतर्फबाट सबै सहयोग हुन्छ भन्नुभयो । पछि पार्टीले उहाँको खाँचो महसुस गर्‍यो, अनि महामन्त्रीमा फेरि पुग्नुभयो । 

उकालो हिँड्ने मान्छे 
मोहनजीको जीवनको समग्र पाटाको मूल्यांकन गर्न मलाई गाह्रो पर्छ । मेरो सरदर बुझाइ र सामान्य हेराइका आधारमा उहाँ कुशल नेतृत्व गर्न सक्ने मान्छे हो । पार्टी र क्रान्तिप्रति त्यागी र लगनशील हुनुहुन्छ, विषयवस्तुलाई एकदमै गहिराइमा पुगेर हेर्नुहुन्छ । अध्ययनमा एकदमै गहिराइमा जाने क्षमता छ । एउटा विषयमा अध्ययन गर्दा उहाँलाई एउटै पुस्तकले पुग्दैन । आफ्नो तर्क पुष्टि गर्न निकै मिहिनेत गर्नुहुन्छ । व्यक्तिगत स्वार्थ केही छैन । क्षणिक घटना होइन, दूरगामी परिणामलाई हेरेर राजनीतिक विश्लेषण गर्न सक्ने खुवी छ । 
उहाँको सबैभन्दा ठूलो पाटो निम्नपुँजीवादी चिन्तनबाट अरूभन्दा धेरै मुक्त हुनुहुन्छ । निम्नपुँजीवादी चिन्तनबाट हाम्रो समाजका धेरै मान्छे ग्रसित छन् । पार्टी फुटाएर जानेहरू विचार र राजनीतिक लाइन नमिलेरभन्दा व्यक्तिगत फाइदाको हिसाब गरेर गएका छन् । सरकारमा जाने वा अरू फाइदा खोज्ने स्वार्थ मोहनविक्रमले पूरा गर्न सक्दैन । पार्टी फुट नेताहरूको निम्नपुँजीवादी चिन्तनले नै भएको हो । मोहनविक्रम निस्वार्थी र त्यागी मान्छे, कर्म गर फलको आशा नगर भन्ने मान्छे । कालान्तरमा कर्मको फल मिल्छ तर तत्कालै प्राप्तिको मोह नराख भन्ने मान्छे हो मोहनविक्रम । मान्छेहरू तत्कालै फाइदा खोज्छन्, मैले यति त्याग गरेबापत के पाएँ भन्छन् । त्यसको समाधान मोहनविक्रमसँग हुँदैन अनि उनीहरू कहाँ गए फाइदा हुन्छ भन्ने हिसाब गरेर हिँड्छन् । 
राजनीतिक/वैचारिक मतभेदले होइन, कहाँ गए नाफा हुन्छ भनेर बार्गेनिङ गर्दै साथीहरू जान्छन् । यसमा मोहनविक्रमको के दोष ? यस अर्थमा त पार्टी फुट्नु स्वाभाविक हो । मसालको माक्र्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारमा लगातार अडिग रहेर मोहनजीले जुन कठिन जीवनयापन गरिरहनुभएको छ, त्यो पाटो मान्छेले कम बुझेका छन् । ओरालो हुँदा सबै दगुर्ने, उकालो चढ्न सबैलाई गाह्रो हुने । उहाँ त्यही उकालो चढिरहने मान्छे हो । उहाँको स्तरको जागरुकता र त्यहीस्तरको चिन्तकको विकास नेपालमा भइसकेको छैन । सानातिना बाधा/
अड्चन सबै कम्युनिस्ट पार्टीमा आएको देखिन्छ । लेनिनको पार्टी बोल्सेभिक र मेन्सेभिक बनेर फुट्यो । चीन, भारत र विश्वका अरू कम्युनिस्ट पार्टीमा पनि त्यस्तो देखियो । टुटफुट सिद्धान्तका आधारमा हुन्छ भने त्यसलाई मान्ने र गल्तीको पुनर्मूल्यांकन गर्ने कुरा हुन्छ । व्यक्तिगत स्वार्थले टुटफुटमा जानेलाई के भन्नु र ?

अब लेखनमा लाग्नुस् 
मोहनजी आफ्नो रुचि र क्षमताका कारण राजनीतिमा सक्रिय हुनुहुन्छ । तर, उहाँले दर्शन, साहित्य र वैचारिक लेखनमा बढी योगदान दिन सक्नुहुन्छ जस्तो लाग्छ । दर्शन र साहित्यमा पूरै समय दिने हो भने अहिलेभन्दा कैयौँ गुणा राम्रो गर्न सक्नुहुन्थ्यो । राजनीतिक सक्रियताका कारण लेखनमा समय दिन सक्नुभएको छैन । आगामी समय लेखनमा दिनुभयो र हामीले समय मिलाइदिन सक्यौँ भने नयाँ पिँढीलाई उहाँले नयाँ बाटो दिन सक्नुहुन्थ्यो । व्यक्ति निश्चित उमेरसम्म बाँच्छ, लेखेको कुरा भने पुस्तौँपुस्तासम्म मान्छेले पढिरहन्छन् । 
नेपालीको सरदर आयु ६५ वर्ष छ, उहाँ ७८ वर्ष भइसक्नुभयो । उहाँको स्वास्थ्य र सक्रियता हेर्दा अझै दश/बीस वर्ष उहाँलाई केही हुँदैन । आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुहुन्छ, योगा गर्नुहुन्छ, औषधिहरू आयुर्वेदिक मात्रै प्रयोग गर्नुहुन्छ । मैले आउँदो आयु लेखनमै बिताउनुस् भनेर अनुरोध गरेकी छु । मेरो अनुरोध सुनेर उहाँले हाँस्दै भन्नुभयो, 'मेरो इच्छा पनि त्यही हो ।' लेखपढ गर्नै भनेर उहाँ एक वर्षका लागि पार्टीबाट बिदा बस्नुभएको छ । गत असारदेखि लागू हुने बिदाभित्र उहाँका दुई/तीनवटा पुस्तक आउनेछन् । पहिलो, 'जलजला' उपन्यास सक्नुहुनेछ । दोस्रो, साहित्यसम्बन्धी एउटा पुस्तक तयार गर्दै हुनुहुन्छ । तेस्रो, जलजलाजीले नेपालीमा अनुवाद गर्नुभएको माक्र्सको 'पुँजी' विश्लेषणात्मक भूमिकासहित प्रकाशन गर्ने योजना छ । समय रहे आत्मकथा लेख्ने योजना पनि बनाउनुभएको छ । एक वर्षको छुट्टीको रुटिन उहाँले बनाइसक्नुभएको छ । 
अहिले उहाँले मलाई पढाइरहनुभएको छ । म त्रिभुवन विश्वविद्यालयमा एमए दोस्रो वर्षमा अध्ययनरत छु । पहिलो वर्ष उहाँले नै पढाएर प्रथम श्रेणीमा पास भएँ । दोस्रो वर्षका लागि पनि उहाँले पढाउँदै हुनुहुन्छ । मेरा 
पाठ्यपुस्तक पहिले उहाँले पढ्नुहुन्छ, अनि मलाई पढाउनुहुन्छ । एसएलसीपछि मैले सबै तह प्राइभेट पढेँ र सबै तहमा उहाँले नै गाइड गर्नुभयो । एमएमा भर्ना रेगुलर छु तर एक दिन पनि क्याम्पस गएकी छैन । मोहनजीले सबै किताब बटुलिदिनुहुन्छ, आफूले गहिरो गरी पढ्नुहुन्छ र मलाई व्याख्या/विश्लेषणसहित पढाउनुहुन्छ । म त भर्ना हुने र जाँच दिने मात्रै हो । उहाँकै पढाइले यहाँसम्म आएकी हुँ । एमएमा मैले भर्ना हुन्नँ भनेकी थिएँ, परिवार, बच्चाबच्ची र राजनीतिक व्यस्तताले गर्दा त्यति रुचि पनि थिएन । तर, उहाँले बिस्तारै मलाई कन्भिन्स गर्नुभयो । 'राजनीतिशास्त्र तिम्रो विषय नै हो, डिग्री प्राप्त गर्न र सर्टिफिकेट लिन होइन, विषयको ज्ञान हुन्छ, विचार गर' भनेर सम्झाउनुभयो । धेरैचोटि आग्रह गरेपछि म पढ्ने निष्कर्षमा पुगेँ । 
पहिलो वर्षको जाँचमा एक/दुई विषय मात्रै दिउ जस्तो लागेको थियो । उहाँले पूरै विषय देऊ, म सघाउँछु भन्नुभयो । जाँचको वेलामा १० दिन पढाउनुभयो । उहाँले पढाएकै आधारमा जाँच दिएँ, फस्र्ट डिभिजन आयो । पास हुनेबित्तिकै मैले उहाँलाई भने, 'यो फस्र्ट डिभिजनको पहिलो बधाई तपाईंलाई ! तपाइर्ंकै मिहिनेतले म पास भएँ ।' मुस्कुराउँदै उहाँले भन्नुभयो, 'मलाई बहुत खुसी लागेको छ ।' मोहनजीलाई पिएचडी गर्ने ठूलो धोको थियो । अर्थशास्त्रमा एमए सकेपछि पिएचडी गर्ने तयारी गर्नुभएको थियो । तर, राजनीतिक व्यस्तताले अध्ययन अघि बढेन । कुमाउँ-गढवालको नेपाली बस्तीका विषयमा उहाँले अध्ययन गर्नुभएको थियो । 'जलजला' उपन्यासमा पनि त्यो बस्तीको कथा छ । उपन्यासको तयारीका क्रममा केही समयअघि म पनि त्यहाँ गएकी थिएँ । हामीले त्यहाँका महिलासँग कुराकानी गरेका थियौँ । पिएचडीका लागि उहाँले थुप्रै किताब जुटाउनुभएको थियो । लगत्तै जेल पर्नुभयो । जेल छुटिसक्दा किताब पनि कताकता छुटे अनि त्यत्तिकै भयो । तैपनि उहाँको अनौपचारिक अध्ययन रोकिएको छैन । ठूलो छोरो चारमा, सानो नर्सरी र म एमएमा औपचारिक कक्षा लिइरहेका छौँ, तर हामी सबैलाई उहाँले नै गाइड गर्नुभएको छ ।

अडान छोड्नुहुन्न
मोहनजी कुनै पनि विषय आफूलाई 'हो' भन्ने लाग्यो भने त्यो पुष्टि नहोउन्जेल छोड्नुहुन्न, अरूले 'यस कारणले होइन' भनेर पुष्टि गर्‍यो भने स्वीकार गर्नुहुन्छ, नत्र आफैं गहिराइमा पुगेर पुष्टि गरिछाड्नुहुन्छ । कुनै विचार राख्दा उहाँले सुरुमै धेरै कुरा ख्याल गर्नुहुन्छ र अरूले गलत भनेर पुष्टि नगरुन्जेल आफ्नो अडान एक्लो परे पनि छाड्नुहुन्न । सानोभन्दा सानो काम गर्दा पनि उहाँले परिवारभित्र सल्लाह गर्नुहुन्छ । पार्टीकै विषयमा पनि आफूले गर्न लागेको निर्णयबारे मलाई थाहा दिनुहुन्छ । 'म यस्तो गर्दै छु है सिर्जना -दुर्गाको अर्को नाम)' भन्नुहुन्छ र मेरो सल्लाह माग्नुहुन्छ । घरायसी काम त गर्नुहुन्न, लेखपढमा भने एकदमै सहयोग गर्नुहुन्छ । कुनै विषयमा मलाई जान्न मन लाग्यो भने किताबहरू खोजेर ल्याइदिनुहुन्छ । पढ्ने कुरामा उहाँले सधैंभरि प्रेरित गर्नुहुन्छ । 
उहाँ अरूलाई विश्वास धेरै गर्नुहुन्छ, त्यही कारण धेरै धोका पाउनुभएको छ । आफूले बोलेको पूरा गर्ने बानी छ, अरूलाई पनि त्यस्तै ठान्नुहुन्छ । बोलीमा पक्का हुनुहुन्छ, तर विश्वास गर्ने बानीले दुःख पाउनुभएको छ । विश्वास बढी गर्ने, शंका कम गर्ने भयो कि जस्तो लाग्छ । लवाइखवाइ र जीवनशैलीका सम्बन्धमा त हामीले उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्, हटाउनुपर्ने निकै कम । व्यावहारिक जीवनमा उहाँको कुनै पनि पक्ष कमजोर छ जस्तो लाग्दैन । यो उमेरमा पनि बिहान तीन बजे नै उठेर लेखपढ गर्नुहुन्छ । म ढिलोसम्म सुत्छु, मेरो कोर्सको पाठ पनि लेखेर तयार पारिदिनुहुन्छ । 

खुलै हिँड्न पाए...
म अहिले खुला मोर्चा राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष छु । उहाँ अर्धभूमिगत पार्टी नेकपा -मसाल) को महामन्त्री हुनुहुन्छ र अर्धभूमिगत जीवन नै बिताइरहनुभएको छ । वेलावेलामा मलाई साथीहरूले भन्नुहुन्छ, 'दुर्गाजी, मोहनजीलाई अब भूमिगत जीवन बिताउनुपर्दैन, खुला हुन भनिदिनुस् ।' तर, अर्धभूमिगत पार्टीले आफ्नो लक्ष्य/उद्देश्य पूरा भइसकेको छैन भन्ने विश्लेषणमा भूमिगत बस्ने निर्णय गरेको हो । अहिले त्यही विश्लेषण मानेर जानु ठीक हुन्छ । पार्टीको लक्ष्य/उद्देश्यअनुसार नयाँ जनवादी क्रान्तिलाई कसरी टेवा पुग्छ, त्यही गर्ने हो । मलाई पनि त्यही ठीक जस्तो लाग्छ । म खुला जीवनमा छु, मोहनजी भूमिगत हुनुहुन्छ । तैपनि हामी सँगै नै छौँ । मैले खासै ठूलो अप्ठ्यारो अनुभूति गरेकी छैन । कहिलेकाहीँ खुसीका वेलामा वा सार्वजनिक कार्यक्रममा जानुपर्दा सँगै हुन नपाएको अनुभूति त हुन्छ । पत्नीका हिसाबले आफ्नो श्रीमानसँगै हिँड्न पाए राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ । खुलेरै सँगै हिँड्न पाए माया र सहयोग पनि बढ्थ्यो होला । कतिपय खुसीका कार्यक्रममा श्रीमान् पनि साथै भइदिए हुन्थ्यो भन्ने लाग्छ । तर, आफू पनि जिम्मेवार नेताका हिसाबले सोच्दा त्यस्तो अनुभूति हुँदैन । कतिपय खुसीको मौकामा हामी सँगै हुने प्रयत्न पनि गर्छौं । 
परिस्थिति तयार भएर उहाँ खुला भइदिए धेरै सजिलो हुन्थ्यो भन्ने लाग्छ । खुला भएजस्तो सजिलो भूमिगत हुँदा हुँदैन नै । कहिलेकाहीँ पारिवारिक कुराकानी हुँदा मैले श्रीमतीका हिसाबले उहाँलाई भन्छु पनि, 'अब त खुला हुने कि !' मेरो कुरा सुनेर उहाँ हाँसिरहनुहुन्छ मात्रै, 'ए, तिमीलाई त्यस्तो लाग्छ' भनेर मुस्कुराउनुहुन्छ ।
प्रस्तुतिः याम संगीतsangeet.srota@gmail.com
तस्बिरः ज्ञानेन्द्र कार्की

No comments:

Post a Comment