:
म कसरी पक्राउ परेँ ? दिनभरि दिमाग चक्कराइरह्यो । मेरो बारेमा सबैभन्दा बढी थाहा हुने पार्टीको आन्तरिक पंक्तिलाई हो । तर, पार्टीको आन्तरिक पंक्तिमा शंका गर्ने कुरा पनि भएन । मैले त्यस्तो अनुमान गरिनँ । तर, यो प्रश्नले मलाई दिनभरि नै पिरोलिरह्यो ।
माओवादी उपाध्यक्ष मोहन वैद्य 'किरण' आँखाको उपचारका क्रममा ०६० जेठ १५ मा भारतको सिलगुडीमा पक्राउ परेका थिए । उनी जेलमै रहेका वेला माओवादीका दुई बहुचर्चित केन्द्रीय समिति बैठक फुन्टिवाङ र चुनवाङमा सम्पन्न भए । चुनवाङ बैठकले संसद्वादी दलसँग सहकार्य गर्दै संविधानसभा निर्वाचनमा जानेलगायतका निर्णय गरेको थियो । शान्तिप्रक्रिया सुरु भएपछि ०६३ मंसिर १५ गते उनी जेलबाट छुटेका थिए । प्रस्तुत छ किरणको सिलगुडी जेल संस्मरणः
०६० साल जेठ १५ गते । सिलगुढीको सेवक रोडको आँखा अस्पतालमा मेरो आँखा उपचार भइरहेको थियो । दाहिने आँखाको मोतीयाबिन्दुको अप्रेसन गरिसकेपछि त्यसदिन म अस्पतालबाट डिस्चार्ज हुँदै थिएँ । मसँगै अस्पतालमा मेरा सहयोगी नारायण प्रधान हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीनिकट अखिल भारतीय एकता समाजमा क्रियाशील हुनुहुन्थ्यो र हाम्रो पार्टीको समर्थक-शुभचिन्तक हुनुहुन्थ्यो । नाताले उहाँ पश्चिम बंगालका सांसद बद्रीविक्रम प्रधानका छोरा र हाम्रो अध्यक्ष कमरेड (प्रचण्ड) का ज्वाइँसमेत हुनुहुन्थ्यो ।
बिहान दस/साढे दसको समय थियो । अस्पतालले डिस्चार्ज गरेपछि म बाहिर निस्केँ । गेटबाहिर निस्कनासाथ सिभिल पोसाकका केही मान्छे मेरो नजिक आए । मलाई समातेर भने, 'हामी पुलिस हौँ, अब गाडीमा बस्नुस् ।' म आज अस्पतालबाट डिस्चार्ज हुँदैछु भन्ने थाहा पाएरै उनीहरू बाहिर कुरेर बसेका रहेछन् । मलाई गाडीमा राखेर उनीहरूले मेडिकल कलेज साइड हुँदै त्यहाँबाट सीधै उत्तरतिर लगे । काँकडभिट्टा आउने बाटोको उत्तरतिर एउटा सैनिक क्याम्प रहेछ, त्यहीँ पुर्याए । क्याम्पमा इन्टिलिजेन्ट्स ब्युरोको अधिकृतले मेरोबारेमा सोधपुछ गर्न थाल्यो । पक्राउ परिसकेपछि मैले आफ्नाबारेमा साँचो-साँचो बताएँ । मैले आफू नेपालको माओवादी पार्टीको नेता भएको र अहिले यहाँ उपचारका क्रममा सामान्य सेल्टर लिएर बसेको बताएँ ।
उनीहरूले मलाई 'नेपालको आन्दोलनका लागि भारतमा किन आएको त ?' भनेर पनि सोधेँ । मैले भनेँ, 'नेपालको राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्न हामीले आन्दोलन गरेका हौँ, गणतन्त्र स्थापनाका लागि लड्नेहरूले गणतन्त्र भएको छिमेकी देशमा आएर शरण लिनु स्वाभाविक हो । भारतीय नेताहरू पनि स्वतन्त्रताका लागि लड्दा नेपालमा सेल्टर लिएर बसेका उदाहरण छन् ।' मैले सप्तरीमा भारतीय स्वतन्त्रता संग्रामताका आएर बसेका नेताहरूको उदाहरण पनि सुनाएँ । ती नेताहरू जेल परेका थिए र जेल तोडेको एउटा ऐतिहासिक घटना छ । मलाई अहिले ती नेताहरूकै नाम ठयाक्कै सम्झना भएन ।
उसले हाम्रो पार्टी (नेकपा माओवादी) का कतिपय प्राविधिक कुरा पनि सोधेको थियो । त्यो मैले केही बताइनँ । मलाई त्यस्ता धेरै प्रश्न गरियो- पश्चिम बंगाल क्षेत्रका नेपालीभाषीहरूसँग तपाईंहरूको पार्टीको सम्बन्ध के हो ? तपाईंहरू नेपालमा हतियार निर्यात गर्न यहाँ बस्नुभएको भन्ने छ नि ? मैले सबै प्रश्नको स्वाभाविक जवाफ दिएँ । मेरो जवाफबाट उनीहरू सन्तुष्ट भएनछन् । त्यसपछि अलिकति बल प्रयोग गर्न पनि खोजे । ठूलै शारीरिक यातना त दिएनन्, तर इन्स्पेक्टरले मेरा हात समातेर मर्याकमुरुक पार्ने, शरीर झाक्कल-झुक्कल पार्ने गर्यो ।
मसँगै नारायण प्रधानलाई पनि लगेको थियो । उहाँलाई पनि सोधपुछ गर्यो । उहाँले पनि सामान्य जवाफ दिनुभयो । 'मेरो काका पर्नुहुन्छ, आँखाको उपचारमा आउनुभएको थाहा पाएर म भेट्न अस्पताल गएको हुँ' भन्नुभयो । क्याम्पमा पुर्याएपछि हामीलाई दिनभरि नै सोधपुछ मात्रै गरियो । राति पनि हामीलाई त्यही क्याम्पमा राख्यो । साँझ सामान्य खाना भात, तरकारी, दाल र रोटी दिएको थियो । दिनभरि पनि र रातभरि पनि हामी दुवैजनालाई निकै केरकार गर्यो । घरिघरि त्यही एउटै अफिसर आउँथ्यो र अनेक प्रश्न गथ्र्यो । रातैभरि हामी सुत्न पनि पाएनौँ । राति मलाई 'नेपाल सरकारलाई बुझाइदिउ“m कि यतै राखिदिउ“m ?' भनेर सोध्यो । मैले नेपाल सरकारलाई नबुझाइदिन आग्रह गरेँ ।
इन्टिलिजेन्ट्स ब्युरोले प्रहरीलाई बुझायो र प्रहरीले मलाई अदालतमा लगेपछि म जेल पठाइएँ । लोकतान्त्रिक भनिने मुलुकको जेलमा राम्रै व्यवस्था होला भन्ने सोचेको थिएँ । अझ पश्चिम बंगाल त कम्युनिस्टहरूको शासन भएको राज्य हो भनेर ममा आत्मीय भावना आएको थियो । त्यतिवेला पश्चिम बंगालमा माक्र्सवादी पार्टीका नेता बुद्धदेव भट्टाचार्य मुख्यमन्त्री थिए । जेल परेपछि राजबन्दी मान्लान्, लेखपढ गर्न पाइएला, सुविधा पनि राम्रै होला भन्ने कल्पना गरेको थिएँ । तर, जब जेल परेँ, मेरो भारतीय जेलप्रतिको पुरानो दृष्टिकोण पूरै बदलियो । खानपिनदेखि अन्य सुविधा पनि जेलमा अरु अपराध गरेर आएकालाई र मलाई एउटै हुन्थ्यो । हाम्रो नेपालको पञ्चायतकालीन जेलभन्दा पनि खत्तम रहेछ भारतीय जेल ।
परिवारबाहेक अरु कसैलाई भेट्न दिएन । नेपालबाट मानवअधिकारवादीहरू भेट्न आएका छन् भन्ने सुनेको थिएँ । मानवअधिकारवादीसँग पनि भेट्न दिएन । बाहिरबाट जाँचेर पुस्तक लैजान दिन्थ्यो, तर भित्रबाट पटक्कै केही पनि बाहिर लैजान नपाइने अवस्था थियो । झन्डै तीन वर्षको अवधिमा मैले सौन्दर्यचिन्तन र संस्कृतिसम्बन्धी एका-दुई फुटकर लेखबाहेक अरु लेखिनँ । बाहिर लैजानै नपाइने, पूरै जाँच्ने, केही फेला पारे कब्जा गर्ने भएपछि लेख्न मन हुँदाहुँदै पनि मलाई बेकारमा किन लेख्नुजस्तो लाग्यो । जेलभित्रको असुविधाबारे छुट्ने वेलामा मैले त्यहाँका सञ्चारमाध्यमलाई पनि भनेँ । जेलको अवस्था देखेरै मलाई भारत लोकतान्त्रिक होइन, एउटा तानाशाही मुलुक रहेछ भन्ने अनुभूति भयो । पश्चिम बंगालको माक्र्सवादी कम्युनिस्ट पार्टीप्रति पनि घृणा जागेर आयो । तिनीहरूको माक्र्सवाद र कम्युनिस्ट नाम बाहिर देखाउने ढोँग मात्रै रहेछ ।
सिलगुडी जेलमा रहँदा पार्टीसँग मेरो प्रत्यक्ष सम्पर्क हुन पाएन । परिवारको माध्यमबाट भने मैले सूचना पाउँथेँ र सन्देश पनि सम्प्रेषण गर्थें । पार्टीभित्र के हुँदैछ भन्नेबारे बढी जानकारी पाउन त एकदमै गाह्रो हुन्थ्यो । परिवारसँग भेटघाट हुँदा हामीसँगै सरकारी कर्मचारी पनि बस्थे, पार्टीका सबै कुरा गर्न कठिन थियो । धेरैजसो नेपालीभाषी प्रहरी हुन्थे । उनीहरूसँग अनौपचारिक कुरा हुन्थ्यो र उनीहरूले आत्मीयता प्रदर्शन पनि गर्थे । हाम्रो आन्दोलनप्रति सकारात्मक भाव पनि देखाउँथे । तर, नेपालीभाषी त्यहीँभित्र पनि हेपिएका हुन्थे । बंगाली प्रभुत्ववाद एकदमै हावी थियो । त्यसले गर्दा परिवारसँगै पनि मैले खुलेर कुरा गर्न पाउँदैनथेँ । बाहिर पार्टीको आन्तरिक जीवनमा भइरहेका घटनाबारे म झन्डै-झन्डै बेखबर जस्तो हुन्थेँ । आन्दोलन अगाडि बढिरहेको होला कि पछि हट्नुपर्ने अवस्था आयो होला भन्ने वेलावेलामा लागिरहन्थ्यो । त्यही वेला फुन्टिवाङ र चुनवाङमा केन्द्रीय समिति बैठक सम्पन्न भएछन् । पार्टीभित्रै कारबाहीका घटना पनि चलिरहेका रहेछन् । बाबुरामजी कारबाहीमा परिराखेकै वेला मैले त्यो खबर थाहा पाएँ । मैले परिवारकै माध्यमबाट 'पार्टी कुनै हालतमा पनि फुटाउनु हुँदैन' भन्ने सन्देश पठाएँ । केही समयपछिको मणि र रवीन्द्रजी -मणि थापा र रवीन्द्र श्रेष्ठ)को अवस्थाबारे पनि थाहा पाएको थिएँ । त्यतिवेला पनि मैले कुनै हालतमा पार्टीमा विभाजन आउन नदिनुहोला, त्यस्तो भयो भने ठूलो गल्ती हुन्छ भनेर खबर पठाएको थिएँ ।
दुर्घटनामा परे जस्तो भयो
म समातिएको सूचना पुगिदिए साथीहरू पनि सतर्क हुनुहुन्थ्यो भन्ने मनमा लागिरह्यो । तर, तत्कालै त्यहाँबाट कुनै सूचना पुग्ने/पुर्याउने कुरा असम्भव थियो ।
सिलगुडी डायरी...पञ्चायतकालमा म नेपालमै तीन पटकसम्म जेल परिसकेको थिएँ । पुलिसबाट पक्राउ परियो र जेल जानुपर्ने भयो भन्ने कोणबाट मलाई खासै नौलो केही लागेन । तर, भारतमा त्यसरी अचानकै समातिन्छु भन्ने मैले सोचेको थिइनँ । अस्पतालबाहिर निस्कनासाथ पुलिसको पक्राउमा परेपछि मैले व्यक्तिगत जीवनको भन्दा पनि नेपाली क्रान्ति र जारी जनयुद्धको भविष्यबारे सोच्न थालेँ । व्यक्तिगत रूपमा पनि जनयुद्धको प्रक्रियामा होमिएपछि देश र जनताका पक्षमा केही गर्नुपर्छ र गर्नसक्छु भन्ने मेरो इच्छा र सपना थियो । त्यो सपना अधुरै रहने पो हो कि भन्ने चिन्ता लाग्न थाल्यो । क्रान्ति कता जाला, के होला भन्ने प्रश्न मन एकाएक उठ्न थाले । अर्कोतिर आफू जेलमा परे पनि साथीहरूको ठूलो पंक्ति आन्दोलनमै छ, त्यसले क्रान्तिअगाडि बढाउँछ भन्ने विश्वासले मलाई ढाडस दियो ।
मेरो आँखामा समस्या देखिएपछि मैले अध्यक्ष कमरेड -प्रचण्ड)सँग उपचारका बारेमा सल्लाह गरेको थिएँ । अप्रेसन गर्नुभन्दा केही दिनअगाडि मैले 'के गरौँ ?' भनेर सोध्दा उहाँले 'त्यस्तो खतरा त के होला र ? विचार गर्नुस्,' भन्नुभएको थियो । पहिलेदेखि स्वाभाविक हिसाबले त्यहीँ बसिएको थियो । मैले पनि त्यस्तो घटना होला जस्तो खतरा महसुस गरेको थिइनँ । तर, जब पक्राउ परेँ, मलाई भित्रैदेखि लाग्न थाल्यो- म कसरी पक्राउ परेँ ? म यहाँ उपचार गर्दैछु भन्ने जानकारी कसरी भयो ? मेरो दिमाग केहीवेर चक्करायो । कसले दियो सूचना ? मलाई यो प्रश्नको उत्तर खोज्नै सबैभन्दा गाह्रो भयो । मेरो बारेमा सबैभन्दा बढी थाहा हुने पार्टीको आन्तरिक पंक्तिलाई हो । तर, पार्टीको आन्तरिक पंक्तिमा शंका गर्ने कुरा पनि भएन । मैले त्यस्तो अनुमान गरिनँ । बरु हिँड्दा-डुल्दा, आउँदा-जाँदा मलाई सरकारी प्रशासनले पछयाइरहेको पो थियो कि वा शंकाकै आधारमा पो समात्यो कि भन्ने अड्कल काटेँ । कसले यस्तो गर्यो भन्ने प्रश्नले मलाई दिनभरि धेरै पिरोल्यो तर त्यसको जवाफ आफैले भेट्टाउन सकिनँ ।
आफू पुलिसको फन्दामा परिसकेपछि मलाई अरु साथीहरूको पनि चिन्ता लाग्यो । तैपनि, म अस्पतालमा हुनाले अचानकको दुर्घटनाजस्तोमा परेँ, अरु साथीहरूको बसाइ सुरक्षित र व्यवस्थित भएकाले तत्काल पक्राउ पर्नुहुन्न भन्नेमै म विश्वस्त भएँ । म पक्राउ परेको घटनाबारे पार्टीलाई तुरुन्तै सूचना पुग्यो कि पुगेन भन्ने पनि मलाई थाहा भएन । म समातिएको सूचना पुगिदिए साथीहरू पनि सतर्क हुनुहुन्थ्यो भन्ने मनमा लागिरह्यो । तर, तत्कालै त्यहाँबाट कुनै सूचना पुग्ने/पुर्याउने कुरा असम्भव थियो । आइबी (इन्टिलिजेन्सी ब्युरो) ले नै कुनै माध्यमबाट पार्टीसम्म खबर पुर्याएको भए मलाई थाहा भएन । तर, त्यो दिनभरि मेरो न परिवारसँग कुनै सम्पर्क भयो, न पार्टीसँग । तीन दिनपछि मलाई प्रहरी थानामा पठाइयो । थानाबाट अर्को दिन अदालतमा पठाउँदा मेरो बारेमा बाहिर सूचना गयो । त्यतिवेलै पत्रकारहरूले मेरो फोटो खिचेका थिए । परिवारले पनि त्यसपछि मात्रै थाहा पायो ।
from Naya Patrika प्रस्तुतिः याम संगीतsangeet.srota@gmail.com
No comments:
Post a Comment