नयाँ पत्रिका/कैलाली .दुई भाइसमेत एकै परिवारमा मिलेर बस्न नसक्नेहरूका लागि कैलाली लालबोझी-५ का कालिराम चौधरीको परिवार उदाहरण हुनसक्छ । उनको परिवारमा ३७ जना एउटै छानामुनि बस्छन् । उनीहरू भान्छा पनि एउटै प्रयोग गर्छन् ।
कालिराम चौधरीका चार छोराका ३७ जना सन्तान एउटै छानामुनि छन् । चौधरीको जेठो छोरो रामलौटनले घरमुलीको कार्यभार सम्हालेका छन् । एक भाइ खेतीको काम सकेर रोजगारीका लागि भारत गएका छन् । अर्को भाइको औषधि पसल छ । बाँकी घरमा नै खेतिपातीको काम गर्छन् । 'सबै संयुक्त परिवारमा मिलेर बसेका छाँै, निकै रमाइलो भएको छ,' रामलौटनले भने, 'एउटै परिवारमा कहीलेकाहीँ झैझगडा हुनु सामान्य हो, त्यसलाई घरमै बसेर मिलाउने गरेका छाँै ।'
एक छाकमा दश किलोभन्दा बढी चामलको भात पकाउनुपर्छ । एक छाकमा १२ किलो मासु चाहिने रामलौटनले बताए । सामान खरिद गर्दादेखि परिवारका सदस्यलाई कुनै लुगाफाटो किन्दा पनि सबैको सल्लाहबमोजिम एकैपटक ३७ जनालाई खरिद गर्ने गरेको उनको भनाइ छ ।
छिन्नभिन्न हुँदै गएका एकल परिवारका लागि लालबोझीको चौधरी परिवार एक उदाहरण बनेको स्थानीयको भनाइ छ । उनीहरूको १३ बिघा जमिन छ । सबैजना मिलिजुली बराबर ढंगले काम गर्छन् । देशमा एकै थलोमा नबसेर सहमतीय राजनीति गर्न नसकेका दलहरूलाई चौधरी परिवारको कार्यविभाजन थप
प्रेरणा बन्न सक्छ ।
डेढ/डेढ महिनामा भान्सामा संयोजक विभाजन गर्ने परम्परा छ । 'हामी महिलाहरू पनि एकअर्काको कुनै रिसराग नगरी घरमुलीको कार्यविभाजन गरेअनुरूप नै काम गछौर्ं, आफ्नो पालोअनुसार सबै आफ्नो काममा लाग्छौँ,' जुखनीदेवी चौधरीले भनिन् ।
भावी सन्ततिलाई उच्चशिक्षा अध्ययनको वातावरण संयुक्त परिवारबाट नै मिलाउने उनको भनाइ छ । तर, संयुक्त परिवारको परम्परा भने नतोड्ने चौधरीले बताए । उनले भने, 'सबैले पढ्न पाएनौँ । तर, भावी पिँढीलाई राम्रो पढाउँछौँ र अन्यलाई भेदभाव गर्न दिँदैनौँ ।' कसैलाई पनि भेदभाव नगरेर सबै काम सामूहिक रूपमा र मुलीको सल्लाहमा हुने गरेको उनको भनाइ छ ।
from Nayapatrika
No comments:
Post a Comment