कृष्णज्वाला देवकोटा/पूर्वराजा ज्ञानेन्द्र शाह नवलपरासीबाट नेता बन्ने शैली सिक्दै छन् । यता, शीतलनिवासमा पूर्वनेता रामवरण यादव राजा बन्ने अभ्यास गर्दै छन् । नेपाली गणतन्त्रको यो 'मौलिक' अध्याय कुन दुर्घटनामा पुगेर टुंगिने हो, कसैसँग प्रस्ट जवाफ छैन ।
ज्ञानेन्द्र शाह र रामवरणका पृष्ठभूमि बेग्लै छन् । जीवनमा दुईपटक राजा भएका र हटेका ज्ञानेन्द्रलाई 'ह्याटि्रक' गर्न मन छ । नियतिले फेरि नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच सजिलै उनका टाउकामा पहिर्याउनेछ भन्ने भ्रम उनलाई छ । यति भ्रामक नभएका भए उनी 'देखिने र सुनिने राजा' बन्ने धुनमा सिंहासनसहित गायब हुने थिएनन् । पहिले राजा भएर नेता पनि बन्ने चक्करमा गद्धीच्यूत भएका उनी अब भने पहिले नेता भएर पछि राजा बन्ने चक्करमा छन् ।
यता रामवरण यादवलाई पनि संवैधानिक होइन, 'देखिने र सुनिने' राष्ट्रपति बन्न तीव्र इच्छा छ । विचित्र संयोगले मुलुकको प्रथम राष्ट्रपति भएका उनी १८ असोजपछिका ज्ञानेन्द्रको भाव, भाषा र मुद्रालाई हुबहु 'कपी' गरिरहेका छन् । ज्ञानेन्द्र शक्तिको चक्करमा राजाबाट प्रधानमन्त्रीको तहमा झरेका थिए, रामवरण राष्ट्रपतिबाट त्यही तहमा र्झन लालायित छन् । आफ्ना उत्तराधिकारीको आफ्नै तहको मूर्खता देखेर ज्ञानेन्द्रलाई पक्कै असजिलो लागेको होला ।
ज्ञानेन्द्रको महत्त्वाकांक्षालाई रमितेहरूको भीडले उक्साएको छ । भीडबारे विन्स्टन चर्चिलको चर्चित उक्ति उनले सायद सम्झेका छैनन् । एउटा सभामा एकदमै बाक्लो उपस्थिति देखेर चर्चिलको कुनै कार्यकर्ताले भनेछ, 'देख्नुभयो तपाईं कति लोकपि्रय हुनुहुन्छ ?' चर्चिलले जवाफ दिएछन्, 'यी रमिते हुन् । भोलि यही ठाउँमा मलाई फाँसी दिने हल्ला चलाउनोस्, त्यो हेर्न अझ धेरै रमिते जम्मा हुन्छन् ।'
यता रामवरणलाई राजा बन्न उक्साउनेहरूको संख्या पनि कम छैन । नेपाली राजनीतिका सबैभन्दा कुन्ठाग्रस्त अनुहारका लागि शीतलनिवास साँच्चैको शीतल छाया भएको छ । ती राष्ट्रपतिको काँधमा बन्दुक राखेर आफ्ना कुन्ठाको हिसाब लिन चाहन्छन् । राष्ट्रपति तिनलाई 'वातावरण बनाउन' आदेश दिन्छन् र ती थप हौसिन्छन् ।
ज्ञानेन्द्र र रामवरण दुवैलाई कुलीनहरूले 'उदार तानाशाह'को बिम्ब प्रक्षेपण गरेको उनकै लागि हो भन्ने भ्रम छ । राजनीतिक र वैधानिक अन्योललाई यी दुवैले निजी अवसर ठानेका छन् । ज्ञानेन्द्रका हकमा यो ठीकै हो किनभने यो परिवर्तन उनको सिंहासन खोसेर सुरु भएको हो । रामवरणले भने यसो नठान्नुपर्ने हो किनकि परिवर्तनको यही अध्यायले उनलाई कोइराला परिवारको पाल्तु महामन्त्रीबाट मुलुकको प्रथम राष्ट्रपति बनाएको हो ।
ज्ञानेन्द्रलाई भ्रम छ, तिर्खाएको जनताले फेरि एकपटक राजतन्त्रको हिलो पिउनेछ । त्यसका लागि उनी आफैँ मैदानमा ओर्लेका छन् । केटाकेटीका हातमा 'महाराजाधिराज' को तुल बोकाएर उनी शाही शासनको झझल्को त मेटाउन सक्छन् तर इतिहासको चिहानबाट फेरि मुकुट निकाल्न सक्दैनन् । उनका हात यति लामा छैनन् । उनी नेता बन्न सक्छन्, राजा होइन ।
र, राजा रामवरण पनि बन्न सक्दैनन् । उनी व्यक्ति होइन, संस्था हुन् । लोकतन्त्र संस्था र परम्पराका बलमा चल्छ । मुलुकको प्रथम राष्ट्रपति नै संस्था र परम्पराका बर्खिलाप चल्छ भने लोकतन्त्रको भविष्य स्वतः संकटमा हुन्छ । राष्ट्रपति दिल्लीदेखि सेनापतिसम्मलाई आफ्नो भूमिका खोजिदिन अनुनय गरिरहेका छन् । जबकि, उनले भूमिका खोज्ने संविधानमा हो, साउथब्लकमा होइन । राष्ट्रपति पक्ष होइन, 'सुपरग्लु' बन्नुपर्ने हो । रेप|mी नै मैदानमा ओर्लेपछि खेल स्वतः नियमहीन भइहाल्छ ।
अहिलेको राजनीतिक कलहको सारमा सत्ता भएजस्तो देखिन्छ । तर, यो सतही विश्लेषण हो । संविधानका आधारभूत प्रश्नमा सहमति जुटेको भए यो अन्योल देखिने नै थिएन । मानौँ, रामवरणले 'माघ १९' दोहोर्याए । त्यसपछि के हुन्छ ? जाति, क्षेत्र, लिंग, वर्ण र वर्गका पेचिला प्रश्नको उनीसँग के उत्तर छ ? यी प्रश्नको भार थेग्न उनका काँध निकै कमजोर छन् । आमराजनीतिक सहमति वा ताजा जनादेशबाट मात्र यिनको उत्तर खोज्न सकिन्छ ।
निर्वाचनसम्बन्धी अध्यादेशलाई पटक-पटक रद्दीको टोकरीमा मिल्काएका राष्ट्रपतिले प्रधानमन्त्रीसँग 'चुनाव किन गराइनस्' भनेर निहुँ खोज्नु पनि ब्वाँसोले पाठोलाई पानी किन धमिल्याइस् भनेजस्तै हो । एकादेशमा एउटा युवाले आफ्नै आमाको हत्या गरेछ । न्यायालयमा युवाले क्षमादानको अपिल गरेछ । न्यायाधीशले सोधे, 'किन क्षमादान ?' युवाले भनेछ, किनकि म टुहुरो भएको छु ।' राष्ट्रपति यो कथालाई राजनीतिमा बदल्न सक्दैनन् ।
ज्ञानेन्द्रलाई नेता बन्न मन छ भने उनलाई प्रेरित गरिनुपर्छ । आखिर गणतन्त्रका 'असली पिता' उनी नै हुन् । उनी जसरी राजा भए र त्यसपछि जसरी 'देखिने र सुनिने×' भए, गणतन्त्रको गाथा त्यसैले लेखेको हो । श्रीपेचबाहेकका ज्ञानेन्द्रमा कसैलाई आपत्ति हुनुहुँदैन र श्रीपेचसहितका रामवरण कसैलाई मान्य हुनुहुँदैन ।
from Republica
No comments:
Post a Comment