मेरा श्रीमान् (नेकपा मसालका महामन्त्री,
प्रचण्ड र बाबुरामका गुरु) मोहनविक्रम सिंह (एमबी) सानैदेखि राजनीति गर्ने ।
यही शिलशिलामा उहाँ १२ वर्षजति जेलमा बस्नुभयो । ०२८ सालमा उहाँ
छुट्नुभएको थियो । मलाई पनि राजनीति मनपर्थ्यो, उहाँको सहयोगले मैले पनि
राजनीति गर्न पाउँछु कि भन्ने आश गरेकी थिएँ ।
वि.सं. ०२९ सालमा प्युठानको ओखरकोट-१
निवासी मोहनविक्रम सिंहसँग मेरो विवाह भयो । त्यतिबेला पनि म प्युठानको
लुङस्थित धर्मोदय प्राविमा पढाउंथेँ । अनि अलि-अलि राजनीति पनि गर्थेँ ।
हाम्रो बुबाले दोस्रो बिबाह गरेकाले हामीसँग बस्नुहुदैन्थ्यो, उहाँ मेरो
विवाहमा पनि आउनुभएन आमाले नै मेरो विवाह गरिदिनुभएको हो । हाम्रो विवाहपछि
आमा (सासु) एक्लै बस्नुभयो, मलाई घर गर्न गाह्रो भएन । २२ जनाको परिवार भए
पनि सबै छुट्टइिकेका थिए । सबै अलग-अलग बस्थे । हाम्रो घर नभएकाले हामी
जेठीसासुसँगै बबस्थ्यौं । त्यसैले पनि काम गर्न त्यति गाह्रो भएन । मेरा
ससुरा खिमविक्रम र माहिली सासू ताराकुमारीको मृत्यु भइसकेको थियो । चारवटी
सासूहरु हुनुहुन्थ्यो । कान्छी सासू अझै हुनुहुन्छ, अरु बित्नुभयो । घरमा
बिहान चार बजे उठनुपथ्र्यो, घरदैलो लिपपोत गर्थे, पँधेरीबाट पानी ल्याउथेँ,
यसरी नै विवाहपछिको वर्षदिन बित्यो ।
वर्षदिनपछि हामी मच्छी, दमदमेमा सर्यौं ।
आमा पनि हामीसँगै बस्न थाल्नुभयो, सुखैसित दिनहरु बितिरहेका थिए, उहाँलाई
मान्छे अलि फरवार्ड भएको मनपथ्र्यो, मलाई पनि फरवार्ड बन्न भन्नुहुन्थ्यो ।
यसैवीच उहाँले भुमिगत हुने निर्णय
गर्नुभयो । ०३१ सालतिर भूमिगत हुनुभयो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी
मशालको महामन्त्री हुनुहुन्थ्यो, त्यतिबेलाको समय अलि जटिल थियो, त्यसैले
उहाँ भूमिगत हुनुपर्यो । उहाँ भूमिगत भएपछि मेरो जीवन संर्घषमा बित्न
थाल्यो ।
हामी दुबैजनाको सल्लाहले बर्दियाको
टीकापुरमा २ विगाह जग्गा किन्ने निधो भयो । त्यहीबेला आमा पनि बित्नुभयो ।
त्यतिबेलासम्म मैले छोरा समीरलाई जन्म दिइसकेकी थिएँ अनि हामी टीकापुरमै
बस्न थाल्यौं । मैले त्यहीँको स्कुल (हिमालय माध्यमिक विद्यालय) टीकापुर-५
मा पढाउने मौका पाएँ । त्यसपछि मलाई टीकापुरमा बस्न केही सजिलो भयो ।
टिकापुर सरेपछि छोरी पूर्वा जन्मिइन् ।
हाम्रो भेट चिठीपत्रमा भइरहन्थ्यो । उहाँ
भुमिगत भएपछि बाँच्न पनि मुस्किल थियो । उहाँकी श्रीमती भन्ने थाहा पाएपछि
जागिरसमेत पाइँदैनथ्यो । प्युठानको लुङमा एमवीकी श्रीमती भन्ने थाहा भएपछि
पाउँदा पाउँदैको जागिर पनि दिएनन् । ०३७ सालमा स्थायी भएपछि भने त्यो
चिन्ता हट्यो ।
उहाँ कहिलेकाँही घरमा आउनुहुन्थ्यो, अनि
कहिलेकाहिँ चिठी लेखेर भए पनि सम्झनुहुन्थ्यो । उहाँलाई सधैं मेरो चिन्ता
भइ नै रहन्थ्यो । चिन्ता नगर सब ठीक हुन्छ भन्दै मलाई सम्झाउने
गर्नुहुन्थ्यो ।
यहाँबाट मोडियो जीवनकथा
०३७ सालको कुरा हो । उहाँलाई भेट्न
इण्डिया गएँ । म पनि तपाईसँगै भनें । तर, उहाँले मान्नुभएन । यस्तो पेटमा
बच्चा भएको अवस्थामा अवस्थामा तिमी यहाँ बस्नु ठिक हुँदैन, पार्टीका लागि
भुमिगत भएको मान्छे, तिमीलाई लिएर म कहाँ हिँड्नु ? उहाँले सम्झाएपछि म
नेपाल फर्किएँ ।
नेपाल फर्केपछि पुनः टीकापुरमै बस्न थालें
। दुई छोराछोरीसँगै थिए । बषर्ाको समय । रातको १२ बजेको थियो । बाहिर झरी
परिरहेको थियो । छिमेकी महिलाको सहयोगमा जसोतसो तेस्रो छोरा त जन्मियो तर,
जन्मँदा जन्मँदै बितिहालेछ । मलाई उतिबेला अस्पताल लगेको भए सायद छोरा
बाँच्थ्यो होला । हुन त त्यो बेला अस्पताल जाने चलन थिएन । जाउँ भने पनि
रातको समय, अस्पताल टाढा थियो । सवारी साधन पनि थिएन ।
जसोतसो छोरो बितेको कुरा भुल्ने कोसिसमा
थिएँ, एक्कासी उहाँको चिठी आयो । चिठी पढ्दा त म छाँगाबाट खसेजस्तै भएँ,
पृथ्वी नै फनन घुमेजस्तो भो । मैले कहिल्यै पनि सोचेकी थिइँन्, जीवन यसरी
मोडिन्छ भनेर । एकै पटक दुईवटा पीडा मलाई सहनै गाह्र्रो भयो । त्यो क्षण
मेरो जीवनको सबैभन्दा पीडादायिक थियो । दुःख त मैले धेरै पाएँ, तर यो
घटनाको अगाडि मेरा अरु दुःख केही होइनन् ।
पछि थाहा पाएँ उहाँको विद्या ढकाल -जलजला)सँग सम्बन्ध रहेछ । उसको मृत्यु भएपछि उहाँले मलाई त्यस्तो चिठी लेखेको हुन सक्छ ।
टीकापुरको बसाइ निकै कष्ठपूर्ण थियो ।
अञ्जान ठाउँ कसैलाई चिनेको छैन । बस्नलाई निकै गाह्रो भयो, अहिले म
सम्झन्छु यस्तो ठाउँमा म कसरी बस्थेँ होला ? शिक्षण पेसा नभैदिएको भए सायद
मरिसक्थें होला । उतिबेलै, हरेक रात रोएरै बिते । मेरो घर एक्लै थियो,
गाउँदेखि अलि टाढा, खरले छाएको सानो झुपडीमा हामी बस्थ्यौं । साँझको समयमा
निकै डर लाग्थ्यो ।
वर्षातको समयमा झन घरभित्रै सर्प
मडारिन्थ्यो । एकपटक म खाना बनाउँदै थिएँ, बाबु र नानी खेलिरहेका थिए, घरको
ढोकानेरै सर्प नाचिरहेको देखेछन, मम्मी भन्दै कराउँदै आए । ठुलो हावाहुरी,
पानी पर्यो भने घरको छानो नै उडाइदिन्थ्यो । गाँउले खुब सहयोग गर्थे ।
उनीहरुको सहयोगले फेरि घर छाउथेँ ।
पुलिस घरमा आएर तेरो श्रीमान् खोई, कहाँ
लुकाएकीछस् ? छिटो निकाल भन्थे । ०४२ सालमा हामी घरमा बसिरहेका थियौँ,
रातको समयमा आएर पुरै घर घेरे प्रहरीले । घरभित्र आएर खोई तेरो श्रीमान
भनेर कराउन थाले । यहाँ हुनुहुन्न, हामीलाई थाहा छैन भनें । कहाँ हुनुहुन्छ
भनेर सोधे, मैले भनेको मानेनन् । त्यसपछि रिसको झोकमा प्रहरीले घरमा भएको
सामान पुरै छरपस्ट पारिदिए । आएपछि खबर गर् भनेर गए । म ढोका लगाएर रुन
थालेँ । यसैगरी कति दुःख दिए, दिए । स्कुलमा त्यस्तै आइरहन्थे ।
चिठी लेखेपछि पनि मलाई पटक-पटक भेटन्
बोलाइरहनुहुन्थ्यो । कहिले त मान्छे पठाउनुहुन्थ्यो । हामी टीकापुरको
सीमाक्षेत्र तिकुनियामा भेट्न जान्थ्यौँ । हाम्रो सम्वन्ध-विच्छेद भए पनि
पटक-पटक भेट भइरहन्थ्यो । छोराछोरीलाई असाध्यै माया गर्नुहुन्थ्यो ।
छोरालाई बनारसमा आफंैले राखेर पढाउनु पनि भएको हो । पैसा त उहाँले केको
पठाउने ? बरु म नै पठाउथें उहाँका लागि ।
०४५ सालमा उहाँले भेट्न बोलाउनुभयो । हामी
तिकुनियामा भेट्न गयौँ । मेरो अवस्था बारेमा उहाँलाई सबै थाहा थियो ।
उहाँले भेट भएका बेला केही भन्नुभएन । राम्रोसँग बस भन्नुभयो, अनि जानुभयो ।
हामी पनि फर्कियौँ ।
उहाँले कहिल्यै नराम्रो व्यवहार गर्नुभएन ।
कुटपिट त झन परको कुरा भयो, सायद कुटपिट गर्ने गरेको भए पनि यतिबेलासम्म
उहाँलाई बिर्सिसक्थें होला । छोराछोरीलाई औधी माया गर्नुहुन्थ्यो । छोरालाई
पीएचडीसम्म पढाउने उहाँको ईच्छा थियो । तर, उहाँको ईच्छा ईच्छामै सीमित
रहयो ।
०५७ सालमा उहाँले दुर्गा पौडेलसँग दोस्रो
बिहे गरेपछि छोराले उहाँले भनेको मानेन । अनि ०५८ सालमा बिनु केसीसँग
छोराको विवाह गरिदिएँ । पछि बुबासँग अंशवण्डा भयो ।
उहाँसँग अहिले नमस्कार आदान-प्रदानको
सम्बन्ध छ । कहिले काँही पार्टी कार्यालयमा आएका बेला भेट त हुन्छ । मैले
उहाँलाई नमस्कार गरेपछि उहाले पनि फर्काउनुहुन्छ । त्योभन्दा धेरै कुरा
हुँदैन । उहाँ भक्तपुरमा बस्नुहुन्छ, आफ्नो परिवारसँग । उहाँका दुई छोराहरु
छन् विश्वमोहन र दिव्यमोहन । दुर्गा जनमोर्चा नेपालको उपाध्यक्ष छिन् ।
मैले ०६५ सालमा शिक्षिका पेशाबाट अवकाश
लिएँ । अहिले छोराबुहारीसँगै काठमाडौको लाजिम्पाटमा बसिरहेकी छु । म पनि
नेकपा मसालको सदस्य छु । पार्टीमा संलग्न भएर बाँकी जीवन कटाउँदै छु ।
हरेक नारीका ईच्छा हुन्छन्, रहर हुन्छन् ।
श्रीमान्सँगै बसेर दुःख-सुख बाँड्ने । मेरो पनि त्यस्तै रहर थियो । तर,
मेरो भाग्य यस्तै रै’छ । त्यो सुख मेरो भाग्यमा परेन । तर, जस्तै भए पनि
उहाँ मेरो श्रीमान् हुनुहुन्छ, उहाँसँग एउटै आग्रह छ, घर आउने-जाने गरिदिए
हुन्थ्यो जस्तो लाग्छ । जे हुनु भइसक्यो, दोस्री श्रीमती (दुर्गा पौडेल)
बाट दुई छोरा छन् रे भन्ने सुनेकी छुँ । उनीहरुलाई पनि भेट्ने ईच्छा छ ।
(पुनम डीसीले गरेको कुराकानीमा आधारित. from मिरर न्युज मासिक।)
No comments:
Post a Comment