नवीन विभास
‘यो दुःखी मुलुकमा जो पीएम स्वयंले हल्का ‘थेरापी’ दिइरहेथे । ती रोमाञ्चक दिन बिलकुल गए।’ सरकारबाट माओवादी केन्द्रले हात झिकेपछि कवि स्वप्निल स्मृतिले फेसबुक स्टाटसमार्फत् प्रधानमन्त्री केपी ओलीको हालत परिलक्षण गरे। जनतालाई बाडुली लगाउने काम गर्ने वाचा बाँधेर बालुवाटार छिरेका ओलीले जनतालाई कति बाडुली लगाए? त्यसको लेखाजोखा हुँदै गर्ला । तर सत्य के हो भने राजनीतिले विपरीत ध्रुवमा उभिएका शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोही ‘दाहिना’ भएर हो, ‘सत्तामोह’ले हो या साँच्चै देश र जनताको मायाले हो, आज एउटै बुर्जामा ल्याइपुर्याएको छ।
विद्रोहको साइत गर्नुअघि २०५२ मा बाबुराम भट्टराईमार्फत् प्रचण्डले ४० बुँदे माग यिनै देउवालाई बुझाएका थिए। त्यसपछि नेपालमा द्वन्द्व सुरु भयो। विद्रोही पक्षको नेतृत्व प्रचण्डले गरे भने राज्य पक्षबाट (अधिकांश जटिल समयमा) देउवाले। द्वन्द्वकालभर देउवा र दाहालले अर्थात् देउदाहाले एकअर्कालाई खेदोमात्र खनेनन् देउवाले माओवादी नेताका टाउकाको मोलसमेत तोके। धरपकड र हत्याका शृंखला चुलियो। बदलामा माओवादीले देउवा सवार गाडी कैलालीमा एम्बुसमा पार्यो। भलै त्यसबेला देउवा प्रधानमन्त्री पदमा थिएनन्।
दुई धारमा क्रियाशील दुई ‘जानी–दुस्मन’ बीच गत वैशाख अन्ततिर भने झण्डै जोडी कसियो। तर, केपी शर्मा ओलीले देखाएको ‘ललिपप सहमती’ मा दाहाल भुलेपछि परेको गाँठो यसै चुँडियो। मंगलबार फेरि जोडियो।
दुई विपरित धारबाट आए पनि देउदाहाले गरेका काम र गर्ने काममा तात्विक अन्तर छैन। दल फरक छन्। दलका नाम र तिनका सैद्धान्तिक मान्यता भिन्न छन्। नेताका नाम फरक छन्। तर काम गर्ने शैली फरक छैन। देउदाहाले नेपाल र नेपालीलाई दिएका रहर वा कहरमा धेरै फरक छैन।
उसो भए, देउदाहा जोडीले नेपालको राजनीतिमा केही फरक ल्याउँदैनन्? हेर्न बाँकी नै छ। तर, दुवैजना परीक्षण भइसकेकाले अनुमान लाउन भने सकिन्छ।
देउदाहा जोडीले तिनका आफ्ना छोरा–नातिले मात्र नभई आमनेपालीले सम्झनेगरी गतिला काम गर्लान् भन्ने आसभन्दा पनि नराम्रा काम गर्लान् कि भन्ने त्रास पाल्ने धेरै छन्। देउदाहाले न आफ्नो पालामा कमाल गरे न त कमाल गर्न थालेको बेला गर्न दिएनन् भन्ने नजिर नै छाडे। भलै दाहाल नेपालमा गणतन्त्र आइसकेपछि बनेका पहिलो प्रधानमन्त्री हुन् भने देउवा देशको सबभन्दा बिकट समयमा कार्यकारी पद सम्हालेका प्रधानमन्त्री।
जो दाहिना भए पनि कसिएको छ, देउदाहा जोडी। ओली सरकारको राष्ट्रवादी जामाले छोपेको बेला देउदाहा जोडीले कसरी देशभक्तिको काम गर्ला? हेर्न बाँकी छ।
जो दाहिना भए पनि कसिएको छ, देउदाहा जोडी। ओली सरकारको राष्ट्रवादी जामाले छोपेको बेला देउदाहा जोडीले कसरी देशभक्तिको काम गर्ला? हेर्न बाँकी छ।
आउने चुनावका लागि प्रधानमन्त्रीको कुर्सी ताकेका यिनलाई एकअर्काले भरपूर उपयोग गर्न प्रयास गर्नेछन्। स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेस र एमालेले आफूलाई प्रतिष्पर्धी ठानेका छन्। कांग्रेसले कमजोर सत्रु (माओवादी) लाई साथमा लिएर एमालेसँग लड्न श्रेयष्कर ठानेको छ। माओवादीले पनि एउटै ‘स्पेस’ का लागि लडिरहेको एमालेसँग भन्दा कांग्रेससँग बसेर काम गर्दा नाफा हुने देखेको छ।
आमजनतालाई नयाँ गठबन्धन बनेको र पुरानो टुटेकोमा हौसिनुपर्ने वा हतास हुनुपर्ने कारण छैनन्। देउदाहा गठबन्धनले असन्तुष्ट मधेस, थारुलगायतका समूहको चासो सम्बोधन गरे मात्र पनि काफी हुनेछ।
द्वन्द्वमा सबभन्दा बढी मुछिएका यी दुई पात्रलाई सत्यनिरुपणले पनि तानेर जोडी बाँधिन सघाएको छ। कुनै शक्तिले जुराएर होस् या कुर्सी मोहले तिर्खाएर तिनका केही मिल्नैपर्ने कारणमध्ये सत्यनिरुपण पनि एक हो। उनीहरुले नै विद्रोहलाई नजिकबाट छामेका छन्। त्यसको गाम्भीर्यता थाहा छ। त्यसैले यो जोडीले शान्ति प्रक्रियालाई न्यायपूर्ण तरिकाले टुङ्ग्याए भने ठूलो उपलब्धि हुनेछ।
देउदाहा दुवैको समान विशेषता हो, सत्ताको लागि जोखिम मोल्नु। देउवामाथि प्रधानमन्त्रीको कुर्सी जोगाउन सुरासुन्दरी काण्ड रच्नेदेखि पजेरो संस्कृति नेपालमा भित्र्याएको आरोप छ। एमालेको आँखामा ‘आधा सच्चिएको प्रतिगमन’ का बेला टिके प्रधानमन्त्री उनै बने। प्रचण्डले पनि राजनीतिक र आदर्शको ‘रिस्क’ लिएरै विद्रोहबाट बालुवाटारसम्मको यात्रा तय गरेका हुन्। स्खलनको आरोप निरन्तर रुपमा झेलिरहेका छन् उनी।
देउवा र दाहाल अर्थात् देउदाहा जोडी निर्माणका अनुष्ठान, कडी र स्वार्थबारे पनि बहस हुँदै गर्ला। राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र हुँदैनन् भन्ने भनाई मियोमा राखेर अहिलेलाई यत्ति अपेक्षा गरौं, गतिलो केही हुन नसके पनि नराम्रो केही नहोस्। आमनेपालीका लागि ‘माने मान नमाने तेरा मेहमान’ मात्र नहोस्।

काठमाडौं असार २९
from Nepalkhabar
No comments:
Post a Comment