नवीन विभास
मुगुको आकाशले घरिघरि छेपारे रङ फेरिरह्यो। घाम लाग्यो कि यात्रु ग्वार्र दगुर्थे। कर्मचारीलाई सोध्थे। कर्मचारीले भन्थे, ‘नेपालगन्जको आकाश पनि त खुल्नु पर्यो नि।’
त्यसबेला त जहाज नभए पनि उनको जिउमा गजबको तागत थियो। एघार नम्बर गाडी नै काफी थियो, रारा उकालिन र बाँकेको चिसापानी ओरालिन।
जहाजमा उड्ने आफ्नो ‘पखेटा’लाई बाया हातमा लिएकी एउटी बूढी आमैका आँखा घरि गमगढी पुग्थे, घरि एक रुपैयाँको नोटमा टाँसिएको चङ्खेली लेकमा। एक रूपैयाँ नोटबाट उम्किएर आएको चङ्खेली उनकै अगाडि उभिएको थियो। बिहानदेखि हातमा लिएको पखेटा मैलिएको थियो।
उनका बूढी आँखा गमगढीले छेकेको कर्णाली नदीतिर पनि बेला न कुबेला हुत्तिन्थे।
आकाशतिर हेर्दाहेर्दा आँखा थाके पनि बेतालले बतास हिँड्दा निक्लेको आवाजलाई समेत जहाज ठानी यात्रुले चिहाउन भने हार खाएका थिएनन्। बादल घरि तल घरि माथि गर्थे। जाडो यामको पश्चिम नेपालतिर सुनिने ‘बादल भेना उता जाऊ, घाम नाना यता आऊ’ भन्ने नर्सरी राइम तिनै बादलसित अलप थियो।
माइती देशका वनखापा र खोलानाला हेर्न उनका आँखा अझै अघाएका थिएनन्। मन त झन के अघाउँथ्यो। माइतीगाउँ र माइती घर हेरेर कुन चेली थाक्नु?
‘एक महिना टपक्कै भयो,’ राराको रुमास्थित आफ्नो माइती गाउँ पुगेकी सत्तरी वर्षे साँवला बुढाले यति भनेर फेरि उनका आँखा ताल्चापारिका लेकतिर उकालिए, यति हतारमा कि मानौं उनले फेरि हेर्न पाउने छैनन्।
यसपालि पुग्दा उनको रारा साँच्ची फेरिएको थियो। घना जङ्गलले घेरिएको थियो। उनको कर्मघर रहेको रारा गाउँ कहाँनेर थियो? नामोनिसान थिएन। घरको झन् के कुरा!
यसअघि माइत गाउँ पुग्दा रारा ताललाई फन्को लाउँथिन्। पुराना याद बल्झाएर सुखम्दुखम्सित आफै पोखिन्थिन्। र, रारा किनारमा बसेर घर, गाउँ र आफ्ना साथीसँगी सम्झेर रुन्थिन्। मेलापात गरेका र देउडा गाएका पुरानै याममा फर्कन्थिन्। तर, यसपालि? रारालाई फन्को लाउने तागतसमेत बाटो लागिसकेको थियो।
रारा राष्ट्रिय निकुञ्ज बनाउने भएपछि उनको गाउँसहित रारा गाविसका ६ वटा वडा सरकारले उठायो–१, २ र ३ वडा रहेको रारा गाउँ अनि ४, ५ र ६ नम्बर वडा रहेको छाप्रु गाउँ। उनको माइती गाउँ रूमासहित बाँकी तीनवटा वडा रारामै रहे। २०३३ बाट सुरु भएको गाउँ उठाउने अभियान २०३५ सम्म चल्यो। तीन सय ६५ घर राराबाट उठाइए। ती बस्तीका ठकुरी, क्षेत्री (रोकाया, बुढा) र दलित समुदायलाई सुरुमा बर्दियाको ताराताल लगियो। तिनले विरोध गरे। त्यसपछि मोतीपुर। अन्तमा, बाँकेको चिसापानी।
‘जिमी भएको ठाउँ पूरै जङ्गल भएछ,’ उनले यति भनेर यसअघि माइत आउँदाका सम्झना गरिन्, ‘सुरुमा आउँदा घर राम्रै थिए। पछि भत्केका थिए।’
राराको तुलनामा चिसापानीमा पाएको जग्गा उब्जाउ योग्य थियो। बाटो थियो। यातायातका साधन थिए। तर, आफ्नो जन्म र कर्मथलो राराबाट उठाइएका राराबासीका मन भने कहिल्यै पनि चिसापानीमा जरा गाड्न सकेन। बाँकेको चिसापानीस्थित बनियाभार पुगेकी साँवलाले रारालाई सधैं मिस गरिन्।
‘राजा लागे,’ उनले उठीबास हुँदाखेरिको घटना सम्झदै भनिन्, ‘पालेका सबै वस्तुभाउ छाडा छाडेर रुवाबासी गर्दै बाटो लागिम्।’
लामो समय नेपालमा राजतन्त्र रहेकाले अहिले पनि गाउँमा सरकारका आँखा लाग्नुलाई राजा लागेको भन्छन्।
आफ्नो जन्म र कर्मथलो रारा छाडेर तराई लाग्दा उनी ३२ वर्षकी थिइन्। छोराछोरी अघिपछि लाउँदै उनी तराई पुग्न हप्तौँ लागेको थियो। त्यसबेलाका उनका ससाना चिचिला अहिले बाजेबज्यै भइसकेका थिए।
खासमा उनका रहर जति रारामै छुटे। छुटे उनका सँगीसाथी। र, तिनका सम्झना। उनको बंैस र बच्पनसित जोडिएका धेरै कहानी छुटे। बेलाबेलामा हिसाब पनि गर्छिन् कि तराई नझरेको भए कसरी अघाउन्जेल भात खान पाइदो हो र? कसरी गहुँ र मकैका रोटी पनि पेटभर खान पाइदो हो र? तर, जन्मथलोको एउटा कुराले भने उनलाई नेपालगन्जको उखरमाउलो गर्मीमा झन झस्काइरहन्छ। त्यो हो, राराको चिसो पानी।
‘अहिले पनि चिसो पानी सम्झिरहन्छु,’ आकाशबाट जहाज झरिहाल्छ कि भनी आँखा बिछ्याउँदै फेरि भनिन्, ‘पहिलेपहिले त साथीसँगी पनि सम्झिएँ।’
जहाज आउने ठेगान थिएन, दोस्रो दिनमा पनि। मुगुको आकाश दाहिना भएर मात्र के गर्नु? नेपालगन्जको आकाश पनि त दाहिना हुनुपथ्र्यो।
तर उनको लागि विशेष थियो। कत्ति पनि अलमल नगरी उनले जति सक्यो, उति माइती देशलाई हेरेर जानु थियो।
‘उहिले जहाज बस्ने गिरान बन्छ भन्थे। बूढो भएपछि चढ्न पाइम्,’ उनले जहाज चढ्ने पखेटा हेर्दै भनिन्।
त्यसबेला त जहाज नभए पनि उनको जिउमा गजबको तागत थियो। एघार नम्बर गाडी नै काफी थियो, रारा उकालिन र बाँकेको चिसापानी ओरालिन।
‘उहिले गति थियो, अहिले गति टुट्यो,’ उनले उकालीओराली गरेका पुराना दिन सम्झदै भनिन्।
यसपालि गाउँबाट एअरपोर्ट पुग्न उनलाई उनका दाजुले घोडामा चढाएर पु¥याएका थिए। बहिनीलाई एअरपोर्टमा छाडी गाउँ फर्केका दाजु पुगे कि पुगेनन् भनी उनको मन चहचह गरिरहेको थियो। घरि दाजु घर कतिखेर पुगे भनी चिन्ता व्यक्त गर्थिन् भने कतिखेर बनियाभारका लालाबाला कस्ता भए भन्दै। भलै, उनका नातिनतिनासमेत लाखापाखा लागिसकेका थिए। तैपनि ‘मान्छेको मन कहाँ हुक्छ र’ भन्दै उनी भुत्भुताइरहेकी थिइन्।
‘के कुरा गर्नु? पुराना कुरा गरिम्। सुखदुखका कुरा गरिम्,’ थोरै बचेका माइती गाउँका दौतरी, आफन्त र उनका दाजुसित फेरि भेट हुन्छ हुँदैन भन्ने दोधारमा बल्झिएर उनले सुनाइन्, ‘बसेर रोइम्।’
ताल्चा बिमानस्थलनजिकै रहेको सदरमुकाम गमगढीमा दुई दिनअघि मात्र ठूलो गाडीलाई स्वागत् गरिएको थियो। यसअघिजस्तो हप्तौं हिँड्नुपर्ने छैन माइती देश आउन। तैपनि उनको मनले हार खाइसकेको छ कि अर्कोपालि आउने कुरामा।
उनलाई कहिलीकसो त कर्ममै राजा लाग्ने लेखेको छ कि जस्तो पनि लाग्छ रे। रारा निकुन्जले खेदेर पठाएको ठाउँमा साँवलाको परिवार दुईवटा निकुन्जको चेपुवामा परेको छ। पूर्वमा बाँके राष्ट्रिय निकुन्ज छ पश्चिमा बर्दिया राष्टिय निकुन्ज।
‘कहाँ सुख छ र? दिनमा बाँदर आउँछन्, रातमा सुँगुर लाग्छन्,’ उनले सकस पोखिन्।
‘कहाँ सुख छ र? दिनमा बाँदर आउँछन्, रातमा सुँगुर लाग्छन्,’ उनले सकस पोखिन्।
सरकारले खेदेपछि चिसापानी पुग्नुको किस्सा साँवलाले सुनाइन्। रारामा जन्म र कर्मथलो बनाएका साँवलालगायतका गाउँले तराई पुगेपछि गर्मीमा आत्तिए। त्यसपछि तिनले चर्को विरोध जनाए। चिसो ठाउँका उनीहरूलाई सरकारले भन्यो, ‘चिसापानी जाने हो त?’
राराको चिसो पानी ‘मिस’ गरिरहेका राराबासीले ‘चिसोको तिर्खा’ले ‘हुन्छ’ भने। नपुग्दै सम्झेको चिसापानीको तातोले भने साँवलालाई अहिलेसम्म पनि पोलिरहेको छ।
‘चिसापानी भनेर मानिम् त्यसबेला। चिसापानी पुगेपछि थाहा भो, उस्तै गर्मी,’ उनले भनिन्।
अघिल्लो दिन ढाँटेको जहाज भोलिपल्ट दिउँसोपख मात्र ताल्चा एअरपोर्टमा ओर्ल्यो। यात्रुका अनुहार खुसीले फुले। तर, साँवलाको अनुहार? झन् बेचैन थियो। जाँगर नमानी बाया हातको पखेटा लिएर जहाजमा चढिन्। जहाजले पखेटा फटफटाउन थाल्यो। जति जोडले जहाजको पखेटा फन्कन थाल्यो उति नै गतिमा बूढीआमाको आँखा र मन बतासिन थाल्यो।
अब कहिल्यै माइती गाउँको आकाश र वनपाखालाई फेरि हेर्न पाइने छैनजसरी उनले आफ्ना दुई आँखालाई झ्यालबाहिर पठाइन्। चालिसेपछिका उनका आँखाले कति सजाउन भ्याए? कति दूरी नापे? रामजाने। तर, उनका आँखा जहाजले नेपालगन्जमा नओर्लंदासम्म झ्यालबाहिरै रहे।
यात्रुसँगै जहाजबाट ओर्लिइन्। लगेज आउने लाइनमा उनको ठूलो झोला पनि आइपुग्यो। झोला बोकिन्।
यात्रुसँगै जहाजबाट ओर्लिइन्। लगेज आउने लाइनमा उनको ठूलो झोला पनि आइपुग्यो। झोला बोकिन्।
माइती देश फर्कने रहरजति उतै छाडेर आएकी उनी झोला बोकेर फेरि एकपालि जहाज लाइन लागेर उभिएका चौरतिर हेरिन्। त्यसपछि यताउता नहेरी बाटो लागिन्।
‘माइतीलाई रिनको भारी बोकाउन मन छैन बाबू। अब रारा नगई मर्छु होला,’ यति वाक्य सकाएपछि उनका पाइलाका गति एकाएक बढे। त्यसभन्दा बढी उनी बोल्न सकिनन्।
उनका पाइला बनियाभार जाने गाडी भेट्न जति छिटो चले, उनलाई उति गह्रौ लाग्यो ठूलो रुक्स्याक झोला। जसमा थियो माइतीको पाहुर। जस्तोः केही किलो सिमी, केही सेर घिउ।
पाइला घरितर लागेपछि हिसाबकिताब पनि मनमनै गर्न थालिन्, दाजुले घोडामा चढाउँदा तिरेको पैसा, जहाजमा चढाउँदा किनेको पखेटा...। जताबाट हिसाब गरे जति उनी घरनजिक पुगिन् उति नै थला पर्न थालिन् भन्दै कि कति महङ्गो माइतीको तिर्खा!
प्रकाशित ७ साउन २०७३, शुक्रवार
| 2016-07-22 18:20:04
from nepalkhabar
No comments:
Post a Comment