केहीबेरपछि धनकुमारी अर्थात् ठूली कोर्न हप्तौं भइसकेको कपाल र पाकेको टमाटरझैं आँखाको साथमा हातमा अम्खोरा लिएर निक्लिइन् । सरासर जुठ्यानमा गइन् । पखाल्नुपर्ने बन्चरोमा आँसु खन्याउन थाल्थिन् –अम्खोरा हातैमा राखेर । बाहिर आकाश पनि मलाम आएको थियो, समवेदनाको पानी खन्याउँदै ।
छानो फेर्न अबेर भइसकेको खरले छाएको ठूलीको एकतले घरसँगै जोडिएको थियो गोठ । आकाशको सिमसिमे आँसु घरको परेलीमा नअल्झिई सिधै झरिरहेथ्यो । तर कोरलगाउँका पाका लोग्नेमान्छे र स्वास्नीमान्छेका ‘खसखस’ भने भयले अड्किईअड्किई झरिरहेथ्यो –‘बरै नि ! ...फेरि यसपालि नि हिँबाट ...!’
ठूली ‘भरेभोलि भएको’ पेट असजिलोगरी सुम्सुम्याउँदै एकोहोरिई । बूढीहरुले ठूलीको छेवैमा बसी गुन्यूको फेरले आँसु पुछे । आकाशको आँसुले भिज्न थाले, आँगनमा, ‘आफन्तसँगका विछोड÷भयले निथु्रक्क भिजेका’ मलामी ।
पिँढीअगिल्तिर आँगनमा राखिएका थिए, छ÷सातवटा टपरी । दाहसंस्कारका सामान –छातीमा राख्ने मानो चामल, दूध, फूल, अक्षेता, धजा, धागो, धूप–बत्ती, कात्रो, जौ–कुश ...। हरियो बाँसका टुक्रासहित दाउरा ।