Saturday, March 7, 2015

जेईबाबैका मनका कुरा

Jei n Babai [Dal Bahadur Pun, 80, Dilsari Pun, 80]
केही भोगेका केही सुनेका कति काम सकिए पुरा 
कति बाँकी रहे अधुरा, अनुभवका कुरा  
मनका कुरा मनका कुरा 

Thursday, March 5, 2015

कुशको लाश

केहीबेरपछि धनकुमारी अर्थात् ठूली कोर्न हप्तौं भइसकेको कपाल र पाकेको टमाटरझैं आँखाको साथमा हातमा अम्खोरा लिएर निक्लिइन् । सरासर जुठ्यानमा गइन् । पखाल्नुपर्ने बन्चरोमा आँसु खन्याउन थाल्थिन् –अम्खोरा हातैमा राखेर । बाहिर आकाश पनि मलाम आएको थियो, समवेदनाको पानी खन्याउँदै ।

छानो फेर्न अबेर भइसकेको खरले छाएको ठूलीको एकतले घरसँगै जोडिएको थियो गोठ । आकाशको सिमसिमे आँसु घरको परेलीमा नअल्झिई सिधै झरिरहेथ्यो । तर कोरलगाउँका पाका लोग्नेमान्छे र स्वास्नीमान्छेका ‘खसखस’ भने भयले अड्किईअड्किई झरिरहेथ्यो –‘बरै नि ! ...फेरि यसपालि नि हिँबाट ...!’
ठूली ‘भरेभोलि भएको’ पेट असजिलोगरी सुम्सुम्याउँदै एकोहोरिई । बूढीहरुले ठूलीको छेवैमा बसी गुन्यूको फेरले आँसु पुछे । आकाशको आँसुले भिज्न थाले, आँगनमा, ‘आफन्तसँगका विछोड÷भयले निथु्रक्क भिजेका’ मलामी ।
पिँढीअगिल्तिर आँगनमा राखिएका थिए, छ÷सातवटा टपरी । दाहसंस्कारका सामान –छातीमा राख्ने मानो चामल, दूध, फूल, अक्षेता, धजा, धागो, धूप–बत्ती, कात्रो, जौ–कुश ...। हरियो बाँसका टुक्रासहित दाउरा ।

गुगल सर्च

सन्च  हिर्ने  करणालीय  धम्की हिर्ने बबई
परानी  गैजाने रैछ मनको जस्तो नभई
मनकलाको कानमा बज्यो । यसो कान थापिन् । फेरि कहीँ पनि सुनिएन । आफ्नो पालामा रोल्पाका वनपाखामा फुल्ने यो स्यानीमाय गीत थियो । अहिले त वनपाखामा कहाँ फुल्नु यस्ता गीत !
‘कोजानी  कान भैयो  कि के हो’, उनले भनिन् ।
हाट  जाने र चाँखी पिस्ने चलनसँगै गाईबाख्रा लिएर बर्खामास लेकतिर उकालिने चलन हराएपछि यी गीत पनि बूढाबूढीसितै डाँडामाथि हात हल्लाइरहेका थिए । अनुहार फेरिँदै थियो गाउँको । फेरिँदै थियो वनपाखाको । गाउँबाट तन्नेरी सब कालापार र जनयुद्धमा लाग्ने याम सरेर साउदी अरब र मलेसिया पुगेपछि गाउँको जीवनशैली नै फेरिएको थियो ।
बारी पनि बाँझा थिए । बाँझा थिए्, आलु लाउने खोर्रे पनि ।
मनबारीका के कुरा ।

Saturday, February 28, 2015

काठमाडौंमा दम


‘देखो इमरान, यसके आगे ‘चौपाटी’ आता हैं । हर दिन यहाँ बहुत लोग आते है– भेलपुरी खाने, पाउभाजी खाने । मेरे ख्यालमे यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है, जिसको कमी महसुस होते है ।’
आमीर खान पत्नी किरण रावको फिल्म ‘धोबीघाट’मा यश्मिन नुर आफ्नो भाइ इमरानलाई भिडियो चिठी रेकर्ड गर्दैछे । नुर बोलेको ठाउँमा फेरि ‘पच’ गरी ‘रि’ गरें ।
तौलें ।
कहाँ मुम्बई । कहाँ काठमाडांै । कहाँ समुन्द्रको छेउ । कहाँ सगरमाथाको काख ।
यति आकाश पाताल भए पनि ‘ताजा हावाको अभाव’ भने मिल्दोरहेछ । जस्तो काठमाण्डौंमा अभाव छ, स्वच्छ हावाको । उस्तै मुम्बईमा पनि ।

कमरेड हिक्मत गोठालो

‘ठूलाबालाई कस्तो छ हँ,’ फोनमा सोधेछु, उदय जीएमलाई ।  

‘ठूलाबा त कालापार (भारत) पो जानुभएको छ त,’ उदयजीको जबाफ । 

रोजीरोटीको लागि कहिल्यै भारत जान नपरोस् भनेर ढुंगा मन्साएर जनयुद्धमा लागेका थिए, ठूलाबा । अचेल कालापारे संस्कृति तन्किएर साउदी अरब र मलेसिया पुगेको छ ।   

बूढ्यौलीले मुजा परेको ठूलाबाको अनुहारसित हजारौं निश्चल अनुहार आँखामा आए जो सपनाको याम आउनुअघि नै स्कुले झोला थन्क्याएर क्रान्तिमा लागेका थिए । ती अनुहार आए जो सुन्दर सपनाको पछि लागेका थिए, कोही बारी जोत्दाजोत्दै त कोही भारी बोक्दाबोक्दै । र, जिन्दगीको सिरीखुरी सुम्पेका थिए । तिनै इमान्दार माओवादी नेता र कार्यकर्ता ‘कहिल्यै फर्कन नपरोस्’ भनेर माया मारेका उही जिन्दगीमा फर्कन बाध्य थिए, ठूलाबाजस्तै । 

हिडिरहेका जेइबाबै

nabin bibhas

Nabin bibhas
छड्केधुरी उकालिदै गरेको एउटा बूढो जोडी । जस्तो कि मामाघर बजेनी जानलाई उकालिएका मेरा जेइबाबै । बस्, नबिसाई हिडिरहेका उकालोमा । देखेर तिनलाई खुशीले फुलेको एउटा युवक । जस्तो कि जेइबाबैको पछि–पछि हिडिरहेको म । खुशीले तन र मन झुलेको छ मेरो । जस्तो खुसी कि मैले पहिलो पाइला फाल्दा जेइबाबै यस्तै खुसी भए होलान् । तातेताते गरेको पहिलो दिनजस्तो ।
तौलन्छु, उस्तै खुसी म ।
हेर्छु, मन फुलेर रंगीन भएको छ ।

Wednesday, February 25, 2015

रोल्पा एक्सप्रेस

रोल्पा एक्सप्रेस
‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म चल्छ, आँधी ।’
बसबाहिर सुनिदैथियो ः
चालै नपाई
आफ्नै रगत
अरूले बेचेपछि
के थाहा
आफ्नै रगतको
मूल्य कति थियो ?

चालै नपाई
आफ्नै सपना
अरूले बेचेपछि
के थाहा
आफ्नै सपनाको
मूल्य कति थियो
चालै नपाई
आफ्नै बैँस
अरूले बेचेपछि
के थाहा
आफ्नै बैँसको
मूल्य कति थियो ?

...त्यसैले त भनिरहेछु
खबरदार ए जनताहरू
सहिदको रगत
रक्ती बनाई
खाइरहेछन्
तिम्रा देवताहरू
... ...
३१ वर्षीय लालधन रोका मगर उर्फ कमरेड हुरी पार्टी हेडक्वाटरले पूरा भयो भनेको राजनीतिक क्रान्ति रोल्पा नपुगी कहाँ अलमलियो ? खसोखास आफ्नै आँखाले हेर्न काठमाडौँ पुगे ।