गिरिजाप्रसाद र सेतो मोही
०४८ सालमा प्रधानमन्त्री भएलगत्तै भारत गएका गिरिजाप्रसाद कोइरालाले टनकपुरसन्धि गरेर आए । तर, उनले देशलाई भने, 'सन्धि होइन, सहमति भएको हो ।' गिरिजाप्रसादले टनकपुर बेचे भनेर एमालेलगायत हामी वाम दल आन्दोलनमा गयौँ । त्यहीवेला टनकपुर सन्धि हो कि सम्झौता हो भनेर प्रस्ट पार्न सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले प्रस्ट भनिदियो, 'टनकपुरसन्धि हो, सहमति भनेर देशलाई ढाँट्न पाइदैँन ।'यो जित देशको त हुँदै हो, हामी आन्दोलनकारीको पनि थियो, त्यसैले विजय जुलुस निकाल्यौँ, भद्रकालीमा सभा भयो । धेरै नेताले धेरै बोले, कसले के के बोले, उनीहरूलाई पनि खासै याद नहोला । तर, मैले चर्को भाषण नगरी एउटा कथा भने । कथा के भने हाम्रो गाउँ बाग्लुङमा एकजना सिकर्मी थिए । एक त गाउँको मजदुर, त्यसमाथि दलित । कथित माथिल्लो जातकाले हेप्ने नै भए । एकदिन कुनै 'बराजु'को घरमा उनी काम गर्न गएका थिए, दलितलाई मीठो खान दिने कुरै भएन । साहुनीले मोहीमा पानी ठोकेर दिइछन् । पानीजस्तो पातलो मोही देखेर सिकर्मीले दिक्क मान्दै भनेछन्, 'गर्नेसम्म गर्नुभएछ साहुनी । तर, सेतो मेट्न त सक्नुभएनछ नि ?'
एउटा दलित सिकर्मीले कति घतलाग्दो कुरा भनेछन् । वास्तवमा मोहीमा जति पानी हाले पनि सेतो मेटिँदैन । त्यस्तै, टनकपुरसन्धि लुकाउन गिरिजाप्रसादले जति पानी हाले पनि सेतो देखिएरै छाड्यो । झलनाथ खनाल पनि त्यही कार्यक्रममा थिए, अहिले पनि कार्यक्रममा भेट हुँदा वेलावेला भन्छन्, मोहीको सेतो त गजबै हुन्छ है, दाइ ।
नाडी हेर्ने वैद्यजस्तो एमाले
०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीविरुद्ध संकटकाल लगाए । कतिले संकटकालको समर्थन गरे, कतिले विरोध । तर, देशको प्रमुख प्रतिपक्षी दल एमाले बोल्दै बोल्दैन । एमालेका नेता सडकमा पनि भाषण गर्छन्, सदनमा पनि भाषण गर्छन् । तर, संकटकालको विषयमा बोल्दै बोल्दैनन् । मलाई ताजुब लाग्यो ।मैले संसद्मा एउटा कथा भनिदिएँ । गाउँमा एउटा वैद्य रहेछ, बिरामीको नाडी छामेपछि अब वैद्यले के भन्छ भनेर गाउँका सारा मान्छेले हेर्दा रहेछन् । तर, वैद्य केही पनि बोल्दैन । औँला फैलाएर हात नचाउँछ । यो भनेको के हो, बिरामीलाई सञ्चो हुन्छ कि हुन्न भनेर आफन्तले सोध्छन् । वैद्य मरे पनि बोल्दैन । नाडी हेर्छ, हात नचाउँछ, जान्छ । गाउँले आश्चर्यमा परे । तर, पछि बिरामी या त मर्छ या त निको हुन्छ । बिरामी मर्यो भने वैद्यले भन्दोरहेछ- बाँच्ने छाँट छैन भनेर मैले हात हल्लाएको थिएँ नि । बिरामी निको भयो भने केही हुँदैन भन्या थिए नि मैले, भन्दोरहेछ । संकटकालका वेलामा एमालेले ठ्याक्कै त्यही ताल देखायो । संकटकालले परिणाम झन् खराब भयो भने हामी त समर्थनमा थिएनौँ भन्ने, परिणाम सुधि्रयो भने हामीले विरोध गरेका थिएनौँ भनेर जस लिने । मैले यसो भनेको सबैभन्दा बढी घत ईश्वर पोखरेललाई परेछ । अहिले पनि के छ वैद्यको हालखबर भनेर कुरा गर्छन् ।
पानी छाम्ने माओवादी
माओवादीले हतियार उठाएको नयाँ जनवादी क्रान्ति गर्नलाई हो । अर्धसामन्ती र अर्धउपनिवेशिक अवस्थाबाट देशलाई पार लगाउन हो । लोकतन्त्र र संसद्का लागि त हुँदै होइन । तर, बाह्रबुँदे सम्झौता हुँदै माओवादी शान्ति सम्झौतामा आए । ०६३ साल माघमा त ८३ जना माओवादी नेताहरू सांसद भए । माओवादीले एमालेले बराबर सिट पायो । तर प्रचण्ड, बाबुराम, वैद्य र बादलजस्ता नेताहरू सांसद भएनन् । हामी सत्ताबाट टाढै बस्ने हो भन्दै प्रचण्ड र बाबुरामले भाषण गर्न थाले । बिहानको पत्रिकामा मैले यस विषयमा गिरिजाप्रसाद कोइरालाले चिन्ता गरेको समाचार पढेँ । माओवादीलाई शान्तिप्रक्रियामा ल्याइयो तर ठूला नेताहरू संसद्मा नगएपछि फेरि युद्धमा र्फकन्छन् कि भनेर गिरिजाप्रसाद डराएका रहेछन् । गिरिजाप्रसादको चिन्ता देखेर मलाई गाउँको प्रसंग याद आयो ।हाम्रो बाग्लुङका एक जोडी वृद्ध छोराछोरीबाट दिक्क भएर, समाजबाट वाक्क भएर कालीगण्डकीमा हाम्फाल्न गएछन् । माघको महिना रहेछ । बिहान झिसमिसेमै उनीहरू कालीगण्डकी किनारमा पुगेछन् । बूढा अलि माथि बसेर बूढीलाई भनेछन्- हेर बूढी, हाम्फाल्न त आइयो तर पानी कत्तिको चिसो छ, छामछाम । बूढी गएर पानी छामिछन्, माघको महिना एकाबिहानै पानी कति चिसो हुँदो हो ? बूढीले भनिछन्— आच्छु, पानी त धेरै चिसो छ, बूढा । जवाफमा बूढाले भनेछन्- पानी धेरै चिसो छ भने हाम्फाल्न सकिन्नँ, पानी तातेपछि आएर हाम्फालौँला ।
हो, त्यसैगरी माओवादी संसद्मा हाम्फाल्न त आए तर पानी कति चिसो छ भनेर मसिना नेतालाई छाम्न पठाएका हुन् । अहिले पानी चिसो छ, केही समयपछि पानी तात्छ । प्रचण्ड, बाबुरामहरू पनि हाम्फाल्न आउँछन् भनेर मैले ठोकुवा गरेँ । गिरिजाप्रसादलाई विश्वस्त बनाउन मैले यसो भनेको हुँ । बूढाले सित्तैमा चिन्ता गरेका थिए । वास्तवमा मैले भनेजस्तै पहिले कृष्णबहादुर महरा र अरू मसिना नेताले पानी छामे, पछि प्रचण्डहरू सबै संसद् छिरे ।
उप्रेतका गाई
माओवादीले ठूलो पार्टी बनाउने भनेर सबैतिरका मान्छे हुलेका छन् । तिनीहरूले भन्ने जनयुद्ध सुरु गर्नुअघि पनि एकता केन्द्र बनाएका थिए । अहिले एक/दुई वर्षअगाडि एकीकृत माओवादी बनाए । माओवादीमा हुलका हुल पार्टी र मान्छे छिरेको देख्दा मलाई उप्रेतका गाई याद आउँछ ।गाउँमा कोही मर्यो भने उप्रेतलाई गाई दान दिने चलन छ । गाउँमा जति मान्छे मर्छन्, उप्रेतका गोठमा त्यति गाई बढ्छन् । मान्छे त फरक-फरक गाउँमा मर्छन् । त्यसैले, उप्रेतको गोठमा पनि गाई फरक-फरक ठाउँबाट आउँछन् । फरक-फरक ठाउँबाट आएका गाईको बानीबेहोरा पनि फरक-फरक हुन्छ । कोही धानतिर दगुर्ने हुन्छ, कोही खरबारीतिर दगुर्ने हुन्छ, कोही भीरतिर कुद्ने हुन्छ । उप्रेतलाई गाई सम्हालिनसक्नु हुन्छ । माओवादीका प्रचण्डलाई पनि अहिले त्यस्तै सम्हालिनसक्नु भएको छ । अस्ति देख्नुभएन, भृकुटीमण्डपमा उप्रेतका गाईले कत्रो ताण्डव मच्चाए ?
उप्रेतका गाई जम्मा गर्ने प्रचण्डको पुरानो सोख हो । पहिले हाम्रो पार्टीबाट बाबुराम, टोपबहादुरलगायत मान्छे लगे । अझ केही समयपछि नारायणकाजीहरूलाई पनि मिसाए । तर, युद्ध गर्ने वेलामा नारायणकाजीहरू उप्रेतका गाईजस्तै भागे । पछि फेरि गोठमा फर्किए । मैले बाबुरामलाई पनि उप्रेतको गाई भनेको थिएँ । उनले मलाई उखाने नेता भनेर 'टाइटल' नै दिए ।
भैलो खेल्दै माओवादीमा
हाम्रो पार्टीबाट नवराज सुवेदी र डिलाराम आचार्यजस्ता नेताहरू पनि माओवादीमा गए । माओवादी युद्धमा हुन्जेल डिलाराम र नवराजले चर्को विरोध गरे । नवराज आफैँले त दैलेखमा भक्कु चुटाइ पनि खाए । तर, त्यो सबै अहिले बिर्सेर माओवादी बने । नवराज आफैँ पनि प्युठानबाट दुई-दुईपटक जनमोर्चाका तर्फबाट सांसद बने । डिलाराम अर्घाखाँचीबाट सांसद बने, जनमोर्चाको महासचिव पनि बने । अब माओवादी सत्तामा आयो, मौका लिने वेला यही हो भनेर उता गए । तिहारमा भैलो खेलिन्छ । एक घरमा नाचेर जति र्झछ, झारेपछि भैलेहरू अर्को घरमा जान्छन् । नवराज र डिलारामहरूले जनमोर्चाबाट झार्ने जति झारे, भैलो खेल्न माओवादीमा गएका छन् ।दाइको लाहुर भैरहवासम्म
पश्चिम पहाडबाट ठूलो मात्रामा युवाहरू लाहुर जान खोज्छन् । लाहुर भनेको गोरखपुर जाने, भारतीय सेनामा भर्ती हुने र तालिमका लागि देहरादुन, बम्बई, कोलकाता, मद्रास जाने हो । तर, कतिपय युवा बम्बई र कोलकाताको त कुरै पर, गोरखपुर पनि नपुगी र्फकन्छन् । त्यस्तालाई गाउँमा भन्ने गरिन्छ- दाइको लाहुर भैरहवासम्म । माओवादी पनि जनवादी गणतन्त्र स्थापना गर्ने भन्दै युद्धमा गयो । १५ हजार सहिद भए, हजारौँ घाइते भए । तर, घोषित उद्देश्य प्राप्त नभई संसद्मा फर्किए । दाइको लाहुर भैरहवासम्म भयो ।मोहनविक्रमको बिहे
हाम्रो पार्टीका नेता मोहनविक्रम सिंह र महिला नेतृ दुर्गा पौडेलबीच प्रेमसम्बन्ध भयो । त्यतिवेला मोहनविक्रम करिब ७० वर्ष पुग्न थाल्नुभएको थियो । दुर्गा ३० मात्र कट्नुभएको थियो । तर, उहाँहरूबीचको प्रेमसम्बन्ध यति गाढा भयो, बिहे नै गर्ने प्रस्ताव आयो ।मोहनविक्रम र दुर्गाको बिहे हुने प्रस्ताव हाम्रो पार्टीको केन्द्रीय समितिमा आयो । धेरै केन्द्रीय सदस्यले समर्थन गरे, मैलेचाहिँ समर्थन गर्न सकिनँ । एउटा ७० वर्ष पुग्न थालेको पुरुष, अर्को ३० भर्खर काटेकी महिला । उमेर असाध्यै अमिल्दो, त्यसैले मैले विरोध गरेँ ।
एउटा पुरुष र महिलाको बिहे संसारभरि सामान्य हो । तर, हाम्रो पार्टीमा आबद्ध भएकै कारणले मोहनविक्रम र दुर्गाको बिहे ठूलो बहस बन्यो । विरोध गर्ने म स्वतः अल्पमतमा परेँ । केन्द्रीय समितिले मोहनविक्रम र दुर्गाको बिहे-प्रस्ताव पारित गर्यो । बिहे भयो ।
पछि बिहेको समाचार आयो, नेपालमा यति अमिल्दो बिहे कानुनविपरीत हुन्थ्यो । कानुनी, सामाजिक र जैविक रूपमा पनि उहाँहरूबीचको बिहे अमिल्दो थियो । तपाईंजस्तै पत्रकारले मलाई सोधे- यो कस्तो बिहे हो ? मसँग अरू जवाफ थिएन, त्यसैले भनिदिएँ, 'लानेले लान्छु भन्यो, जानेले जान्छु भन्यो मैले के गर्ने ?'
प्रचण्ड र बाबुरामको भजन
जेठ १४ मा संविधानसभा भंग भएपछि तीन महिनासम्म माओवादीले कांग्रेस र एमालेलाई गाली गर्दै हिँड्यो । अहिले वार्ताको कुरा निकालेको छ । प्रचण्डले वार्ताका लागि बोलाउँछन् । झलनाथ, माधव र सुशील कोइराला खुरुखुरु जान्छन् । यो सब देख्दा गाउँका एक जोडी वृद्धको कथा याद आउँछ, मलाई ।गाउँमा एक जोडी वृद्धको घरमा प्रशस्त काँक्रा फलेका रहेछन् । तर, लोभी बूढाबूढीले काँक्रा कसैलाई पनि नदिने । रातभरि काँक्राको गोठालो बस्दा रहेछन् । तर, उनीहरूको एउटा कमजोरी के रहेछ भने भजन भनेपछि रातभरि सुन्ने, नाच्ने-गाउने । गाउँका युवा जम्मा भएर सल्लाह गरेछन्- दुई टोली बनाउनुपर्यो, एउटा टोलीले भजन गाउने, अर्को टोलीले काँक्रा उम्काउने ।
योजनाअनुसार एउटा टोली गएर भजन गाउन थालेछ, अर्को टोली काँक्राको झालमुनि तयार बसेछ । गाउने टोलीले भजन सुरु गरेछ-
कच्याङकुचुङ नगर
थाँक्रा पनि नभाँच
बूढाबूढी जागै छन्
हरि हरि...
बूढाबूढी बिचरा नयाँ खालको भजन आएछ भनेर त्यही तालमा नाच्न थालेछन् । बाहिर उभिएकाले बिस्तारैबिस्तारै काँक्रा टिप्न थालेछन् । अलिकति आवाज आउन थाल्यो कि भित्र फेरि भजन घन्कँदोरहेछ-
कच्याङकुचुङ नगर
थाँक्रा पनि नभाँच
बूढाबूढी जागै छन्
हरि हरि...
केहीबेरपछि भजन पनि खत्तम, काँक्रा पनि खत्तम । अब हेर्नुस्, भजनेहरूले लुकाएका त केही पनि थिएनन् । तर, बूढाबूढीले भजन होला भनेर थपडी पिटे । अहिले प्रचण्डले भजन गाएका छन् । उनले पनि केही लुकाएका छैनन् । वार्ता गरौँ, विवादित विषयमा सहमति गरेपछि मात्र सत्ता हस्तान्तरण हुन्छ । विवादित विषय भनेको के हो ? पहाडमा जातीय र तराईमा क्षेत्रीय राज्य दिने, केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति दिने । यो कुरा उनले त प्रस्ट भनेका छन् । तर सुशील, माधव र झलनाथले बुझेकै छैनन् । त्यसैले नयाँ भजन आएछ भन्दै थपडी पिट्न थालेका छन् । भित्र प्रचण्डको टोलीले कच्याङकुचुङ नगर भनिरहेका छन्, बाहिर बाबुरामको टोलीले काँक्रा सखाप पारिसके ।
म किन उखान भन्छु
धेरै कार्यक्रममा म जान्छु । तर, वक्ताले बोल्दा श्रोता हाई काढेर बसिरहेका हुन्छन् । आफ्नो पालोमा लामो बोल्नेले पनि अर्को बोल्दा हाई काढिरहेको हुन्छ । बोल्नेले खुब बोलेको छु भन्छ, सुन्नेले वास्तै गरेको हुन्न । किनकि, वक्ताले अरूले यो कुरा जानेकै छैनन् भनेर बोलिरहेको हुन्छ । तर, श्रोता त्यति बेबकुफ हुँदैनन् । आपै“mले जानेको कुरा अरूले बोल्दा कसलाई के चासो हुन्छ र ?मेरो मान्यता छ, श्रोताले घत मानेर सुनून् । अझ अब के बोल्छ है भनेर कान ठाडा पारून् । स्रोताको एटेन्सन लिन सकिएन भने बोलेको अर्थै भएन । धेरैजसो सभामा मैले उखानटुक्का मिलाएर, घटना-सन्दर्भ जुराएर बोल्छु । त्यसैले श्रोताले बडो रुचिपूर्वक सुन्छन् । कतिपय मान्छेले तपाईंको उखान र कथाको संग्रह निकाल्नुपर्यो पनि भन्छन् । तर, मैले त्यस्तो सोचेको छैन । उखानै बोल्नुपर्छ भनेर बोल्ने होइन, विषय बोल्दै जाँदा आफैँ आउँछ । मेरो बानी के छ भने सभामा वा प्रशिक्षणमा जाँदा केही पनि तयारी नगरी जान्छु । यो मेरो कमजोरी हो । तर, बोल्दै जाँदा धेरैजसो राम्रै हुन्छ ।
अरू नेताको कुरा गर्दा केपी ओलीले पनि रमाइलै कुरा गर्छन् भन्ने छ । तर, त्यति धेरै ध्यान दिएर मैले सुनेको छैन । अरू नेता ठीकै बोल्छन्, सुशील कोइरालाको बोली भने कम्तीकम्ती नै बुझ्छु ।
Dewan Rai sarhai ramro katha haru, lekhai jhanai ramro hai badda!
ReplyDeleteGajjap laagyo :D ! Jay hos Chitra Bahadur jyoo ko ;))
ReplyDeletehats off KC ji
ReplyDelete