Friday, September 14, 2012

प्रेमविवाह गरेका एमाले नेता

पीडीएफ मुद्रण इमेल
पछिल्लो समय मायाप्रेम नेपाली समाजमा पनि पच्न थालेको हो कि भन्ने लाग्छ । प्रेमविवाह गर्नेको संख्या ह्वात्तै बढेकाले पनि यस्तो अनुमान गर्न सकिन्छ । केही पहिलेसम्म भने प्रेमविवाह गर्नु फलामको चिउरा चपाएजस्तै हुन्थ्यो । तर, पनि त्यही समय एमालेका प्रायः नेताले प्रेमविवाह गरे । त्यो पनि पार्टीको स्वीकृति लिएर ।
नेपालमा कम्युनिस्ट पार्टीभित्र प्रेमविवाह २००७ सालपछि नै सुरु भएको देखिन्छ । संस्कृति र समाजसँगै जोडिएको विषय हो प्रेमविवाह पनि । यसका अतिरिक्त राजनीतिक-आर्थिक विकासको अवस्थासँग पनि प्रेमविवाह जोडिएको छ । आजभन्दा केही समयअघि पनि प्रेमविवाह गर्न समाजमा धेरै ठूलो विद्रोेह गर्नुपथ्र्यो । ००७ सालपछि कानुनी रूपले प्रेमविवाह गर्ने बाटो त खुल्यो तर सामाजिक अड्चन भने कायम नै थियो ।
सस्तो र तडकभडकरहित हुनुका साथै प्रेमविवाहले रूढिहरूलाई इन्कार गर्ने हुनाले कम्युनिस्टहरूमा बढी लोकपि्रय बन्यो र यसलाई उनीहरूले क्रान्तिकारी विवाह नै पनि भन्न थाले । तत्कालीन अवस्थामा सुरक्षा र क्रान्तिकारी जीवनका लागि पनि प्रेमविवाह गर्न पार्टीमा सोध्नुपर्ने अवस्था आयो । त्यसैले पनि प्रायले पार्टीमा सोधेर मात्र प्रेमविवाह गरे ।


वामदेव गौतम र तुलसा थापा

१७ मंसिर २०३१ मा वामदेव गौतम र तुलसा थापाको विवाह भयो । यी दुईको प्रेमविवाह भएको हो । 'हाम्रो जनवादी विवाह हो,' थापा भन्छिन्, 'विवाहको प्रस्ताव उहाँले राख्नुभयो, अनि हाम्रो विवाह भयो ।' गौतम आफ्नै मातहत पार्टीकै काम गररिहेकी तुलसी थापा मगरसँग मोहित भए । पार्टी कामकै सिलसिलामा उनीहरूबीच पहिलो भेट भारतको गोरखपुरमा भयो । ०३० फागुनमा वामदेवले राखेको प्रेमप्रस्ताव तुलसाले स्विकारेपछि ०३१ मंसिरमा उनीहरू पार्टी स्वीकृतिमा वैवाहिक बन्धनमा बाँधिए ।
थापाको बुबा भारत असाममा आर्मी थिए । थापा परिवार भारतमै बस्थ्यो । तुलसा भारतमै पढ्न थालिन् । तत्कालीन अवस्थामा मालेमा बसेर गोरखपुरमै पार्टीको काममा सक्रिय थापा र गौतमबीच सन् १९६९ तिर पहिलो भेट भएको थियो । त्यतिवेला तुलसा नौ कक्षामा पढ्थिन् । पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा गौतम र थापाको भेट भएको थियो । गौतम सम्मेलनमा भाग लिन पुगेका थिए, थापा भोलेन्टिएर । त्यहीवेला उनीहरूको चिनजान भयो र बिस्तारै मायाप्रेम गाँसियो । 'तत्कालीन अवस्थामा गोरखपुर पार्टी कार्यालयमा हाम्रो भेट भएको थियो,' थापाले भनिन्, 'त्यहीँबाट नजिक भइयो ।'

अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य

अर्कै मान्छेसँग सुपारी साटासाट भए पनि एमाले नेतृ अष्टलक्ष्मी शाक्यले सुपारी फिर्ता गरिदिएर जीवनमा नयाँ मोड रोजिन् । नरोजून् पनि किन, उनलाई तत्कालीन सरकारले टाउकाको मोल तोकिदिएका अमृतकुमार बोहोराले मन पराइसकेको थिए । 'सहरमा हुर्के पनि गाउँमा सजिलै घुलमिल हुनसक्ने' शाक्यको बानी मन पराएका बोहोराप्रति शाक्य पनि एकाएक प्रभावित भइन् । बोहोराको विचार र समर्पणभावबाट प्रभावित शाक्य र बोहोराले अन्ततः आफूहरूको बिहे गरिपाऔँ भनेर पार्टीमा निवेदन दिए । करिब १० महिना अनुसन्धान गरी विवाहका लागि पार्टीले स्वीकृति दियो ।
बोहोरासित विवाह गर्नुअघि अर्कै व्यक्तिसँग शाक्यको बिहेको दिन जुरिसकेको थियो । सुपारी पनि साटियो । तर, बिहे गर्न मानिनन् अष्टलक्ष्मीले । साटेको सुपारी पनि फिर्ता गरिन् । अन्ततः आरआर क्याम्पसको पढाइ र स्कुलको अध्यापन छाडेर भूमिगत बनिन्, पार्टीका लागि । एक रात उनले पार्टीका लागि काम गर्ने भन्दै सिरानीमा चिठी छाडेर कम्युनिस्ट आन्दोलनमा होमिइन् । र, यसबारे उनले बहिनीलाई जानकारी दिएकी थिइन् ।
कम्युनिस्ट पार्टीको तत्कालीन श्यामप्रसाद समूहमा आबद्ध केहीपछि शाक्य तत्कालीन मालेमा सामेल भइन् । बिस्तारै आफूभन्दा माथिल्लो तहका नेता अमृत बोहोरासँग चिनजान भयो । हिमचिम बढ्यो । बाँकी त्यही थियो, माया बस्यो । तर, उनीहरूबीचको मायाको उन्मादलाई कम्युनिस्ट पार्टीको कडा नियम र विधानले बाँधेको थियो । र, त भर्भराउँदो जोवनमा पनि उनीहरू अति इमानदार मायाको जोडी बनेर
बस्नुपर्‍यो । पार्टी -माले) ले उनलाई सिन्धुपाल्चोकको पिस्करमा भूमिगत रूपमै काम गर्ने गरी खटायो । काठमाडौंमा जन्मेर हुर्केकी शाक्यका लागि घरभन्दा टाढा बस्नुपर्दा सिन्धुपाल्चोकको एउटा अविकसित गाउँ पनि बिरानो भएन । उनको फरासिलो बानीब्यहोरा र शालीनता अनि सहयोगी भावनाले सिन्धुपाल्चोकस्थित बोहोराको परिवारलाई पनि प्रभावित पारेरै छाड्यो । र, उनलाई घुलमिल हुन पनि समस्या परेन ।
अन्ततः राजधानीका धनी र गन्यमान्य 'तामझामसाथ छोरीको बिहे गरिदिने' बाबुको तयारी चौपट पार्दै शाक्य पार्टीका लागि भूमिगत बनिन् । छोरीको यस्तो व्यवहारबाट असन्तुष्ट मात्रै नभएर आफ्नो इज्जत फालिदिएको भन्दै बावु आगो बनेर बसेका थिए । यसैबीच भूमिगत भएको एक वर्षमै ०३७ सालमा नरदेवीस्थित रविलक्ष्मी चित्रकार -झलनाथ खनालकी पत्नी) को घरको एउटा कोठामा कम्युनिस्ट पार्टीको झन्डामुनि शपथ ग्रहण गर्दै अमृत र अष्ट बिहेबारीमा बाँधिए । अमृत बोहोरा सिन्धुपाल्चोकको क्षेत्रीको छोरो अनि अष्टलक्ष्मी शाक्यचाहिँ काठमाडौंको नेवारकी छोरीबीच प्रेम विवाह भयो । उपस्थित थिए, माधव नेपाल, झलनाथ खनाल र पार्टीका अरू नेता पनि । अति गोप्य र कम खर्चमा बिहे फत्ते पारियो ।
बोहोरालाई त खास अप्ठ्यारो परेन । किनकि, शाक्य बिहेअघि नै परिवारमा गएर घुलमिल भइसकेकी थिइन् । तर, फसाद पर्‍यो शाक्यलाई । आफू सुत्ने सिरानीमा चिठी छाडेर हिँडेको १० वर्षसम्म पनि शाक्यका बाबुआमालाई छोरीको अत्तोपत्तो थिएन । उता छोरी भने बिहेबारी गर्दै पार्टी जिम्मेवारी र वैवाहिक जीवनलाई सन्तुलित रूपमा धान्दै आएकी थिइन् । एकैचोटि ०४६ सालमा शाक्यका बाबु छोरी भेट्न पुगे इलामको जेलमा । १० वर्षपछिको यो भेट शाक्यका बाबु-छोरीका लागि निकै पीडादायी भएको अष्टलक्ष्मी शाक्यको अनुभूति छ । त्यसपछि मात्रै माइतीको आँगन आफ्नो बन्यो अष्टका लागि । तर, यतिवेला सबै ठीकठाक भएको बताउँछिन्, अष्टलक्ष्मी शाक्य । श्रीमान अमृत बोहोराको आनिबानी र
साधारण जीवनशैलीका कारण आफ्ना बाबुसमेत प्रभावित बनेको उनको अनुभव छ । 'सुरुको १० वर्ष त मलाई मेरो माइतीघर अति अपि्रय बन्यो तर जब बुबाले मलाई जेलमा भेट्न जाने क्रममा अमृत कमरेडसँग पनि भेट भयो अनि उहाँको बोली र व्यवहारले बुबा त पग्लिनुभएछ,' शाक्यले सुनाइन् ।

अशोककुमार राई र सुशीला श्रेष्ठ

एमाले उपाध्यक्ष अशोक राईको पनि पार्टी कामकै सिलसिलामा सुशीला श्रेेष्ठसँग भेट भयो । त्यसले प्रेमको रूप लियो र पार्टी स्वीकृतिमा विवाह भयो ।
०३८ सालतिर राई भोजपुरस्थित पार्टीको जिम्मेवारी सम्हाल्दै भूमिगत थिए । ०३५ सालताका काठमाडौंमा विद्यार्थी छँदा चिनापर्ची भएकी सुशीला श्रेष्ठसँग विस्तारै आकर्षण बढ्यो । सलक्क जिउ भएका राई पनि सुशीलाका नजरमा सुन्दर र आकर्षक बने । दुईजनाबीच कुरो मिल्यो । दुवैजना तत्कालीन मालेको जिम्मेवारी सम्हाल्दै भूमिगत अवस्थामा संघर्षरत थिए । पार्टीमा बिहेको प्रस्ताव पुर्‍याए राईले । पार्टीबाट सामान्य हेरफेर भएपछि बिहेको निधो भयो । धार्मिक या परम्परागत लगन चाहिएन । पार्टीका नेताले अनुमति दिएपछि बिहेको तयारी एकैछिनमा भयो । अन्ततः ०३८ सालमा भोजपुरको छिन्नामखु
गाविसस्थित रिट्ठाकोटे गाउँकी लक्ष्मी राईको घरमा बिहेको सबै बन्दोबस्त मिलाइयो । र, सम्पन्न भयो बिहे अशोक राई र सुशीला श्रेष्ठबीच । अशोक राईका छोरा थिए तर सुशीला भने नेवार । तर, पार्टीको अनुमति भएपछि घरपरिवार, समाज, संस्कृति र धर्म कुनै पनि तत्त्वले छोएन राईको जोडीलाई । राई अझै पनि आफ्नो वैवाहिक अवस्था सुखी र खुसी भएको बताउँछन् । साथै, अर्को जात भएकै कारण ससुरालीमा अहिलेसम्म कुनै अप्ठ्यारो नपरेको अनुभव छ राईको । ससुरालीका अरू ज्वाइँजत्तिकै आफूले पनि सम्मान पाउँदै आएको उनको भनाइ छ ।

झलनाथ खनाल र रविलक्ष्मी चित्रकार

एमाले अध्यक्ष झलनाथ खनालको पनि प्रेमविवाह भएको हो । राजधानीमा अध्ययनरत खनाल बिस्तारै पार्टीमा भूमिगत बनेर काम गर्न थाले । र, उनको भूमिगतकालमै प्रेमविवाह भयो रविलक्ष्मी चित्रकारसँग । क्रान्तिलाई जीवन्त राख्न प्रेमविवाह गर्न पार्टीको स्वीकृति अनिवार्य थियो त्यसैले खनालले पार्टीबाट
स्वीकृति लिएर चित्रकारसँग विवाह गरे ।
खनाल र चित्रकारको विवाह जनवादी थियो । पार्टीको तत्कालीन 'हेडक्वार्टर' मा कार्यरत खनाल 'सेल्टर' मा आउने-जाने क्रममा चित्रकारको सौन्दर्यबाट मोहित भए । त्यो मोह धेरै दिन लुकाएर राख्ने कुरा थिएन, रविलक्ष्मीलाई हृदयमा झाँगिएको प्रेम व्यक्त गरे । खनालको प्रस्तावलाई रविलक्ष्मीले सहजै स्वीकार गरिन् । उनीहरूको प्रेम पार्टीको उपल्लो कमिटीमा विवाहको प्रस्तावका रूपमा पुग्यो । छानबिनपछि पार्टीले स्वीकृति दियो । र, उनीहरू पार्टी र क्रान्तिमा समर्पित हुने शपथ लिँदै दाम्पत्यमा बाँधिए । पार्टीका जिम्मेवार नेताहरूको रोहबरमा खनालले रविसँग बिहे गरे ।

ईश्वर पोखरेल र मिरा ध्वजू

एमाले महासचिव ईश्वर पोखरेलले पनि प्रेमविवाह नै गरे । उनले पनि भूमिगत अवस्थामै पार्टीका नेताहरूको उपस्थितिमा हिमचिम हुँदै आएकी मिरा ध्वजूसँग बिहे गरे । पोखरेल
तत्कालीन नेकपा मालेका केन्द्रीय सदस्य र पार्टीको मध्यदक्षण्िा क्षेत्रका प्रमुख थिए । प्रशिक्षणका सिलसिलामा ०३९ सालमा पहिलोपटक उनको ध्वजूसँग भेट भयो, जसले प्रेमको मुना पलाएको थियो र त्यसको एक वर्षमै उनीहरूले विवाह गरे, पार्टीको अनुमतिमा । राजनीतिक संघर्षको दौरानमै चिनजान भएकी मिरासँग ईश्वरले ०४० सालमा  बिहे गरेका हुन् ।

शंकर पोखरेल र सुजाता शाक्य

एमालेका सचिव अर्थात् दाङका शंकर पोखरेलले पनि प्रेम विवाह नै गरे । तर, भूमिगत अवस्थामा भने होइन । शंकर ०५४ सालमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा सुजाता शाक्य टिचिङस्थित नर्सिङ क्याम्पसकी स्ववियु सभापति थिइन् । विद्यार्थी संगठनकै क्रममा शंकर र सुजाताबीच बसको माया पछि विवाहमा परिणत भएको थियो । पार्टीका नेताहरूको उपस्थिति र पारिवारिक हिसाबमा पनि पोखरेलको बिहे भएको थियो ।

सुरेन्द्र पाण्डे र पूर्णशोभा चित्रकार

एमालेका अर्का नेता सुरेन्द्र पाण्डेको भूमिगत अवस्थामै प्रेमविवाह भयो । पूर्वअर्थमन्त्री पाण्डे लामो समय काठमाडौँमा भूमिगत थिए । त्यही सिलसिलामा उनको पूर्णशोभा चित्रकारसँग भेट भयो । भेटको क्रम बढेपछि उनीहरूबीच माया बस्यो र पार्टीको स्वीकृतिमा विवाह भयो, ०४२ सालको मंसिरमा । ललितपुरस्थित एउटा हलमा कार्यक्रम आयोजना भयो । आयोजक थियो तत्कालीन माले । कार्यक्रम थियो शुभविवाह । दुई पात्र थिए, दुलाहा थिए, सुरेन्द्र पाण्डे र दुलहीमा थिइन्, झलनाथ खनालकी साली पूर्णशोभा चित्रकार । ललितपुरको त्यो कार्यक्रममा जीवराज आश्रति, माधव नेपाल, झलनाथ खनाललगायत पार्टीका नेताहरू उपस्थित थिए । पार्टी नेताहरू भूमिगत नै थिए । विवाह प्रगतिशील थियो । तर, चित्रकार परिवार राजधानीमा प्रतिष्ठित र शिक्षित भएका कारण पनि पारिवारिक रूपमा खास समस्या परेन चित्रकारलाई ।

केपी ओली र राधिका शाक्य

केपी शर्मा ओलीले पनि प्रेमविवाह नै रोजे । उनको बिहे पनि भूमिगत अवस्थामै भयो । राधिका शाक्यसँग भूमिगत अवस्थामा उनको प्रेमविवाह भयो । झापाली परिवारका ओलीले पनि काठमाडौं उपत्यकाको नेवार परिवारकी राधिका शाक्यसँग विवाह गरे । नख्खु जेलमा थुनिएर सम्बन्ध गाढिएपछि उनीहरू वैवाहिक बन्धनमा बाँधिए । ०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेकी राधिका राष्ट्र बैंकको जागिरमा थिइन् । ०४४ असारमा केपी जेलबाट छुटे । राधिका पनि राजी भइन् र पार्टीले विवाह गरिदियो ।

गोकर्ण विष्ट र प्रतिमा श्रेष्ठ

एमालेका युवा नेता गोकर्ण विष्टले ०५० सालमा प्रेमविवाह गरे । असनकी प्रतिमा श्रेष्ठसँग गुल्मीका विष्टले ०५० सालमा काठमाडांैको म्हेपी मन्दिरमा बिहे गरे । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत, अनेरास्ववियुमा आबद्ध प्रतिमासँगको प्रेमलाई शंकरदेव क्याम्पसमा अध्ययनरत तथा विद्यार्थी नेता गोकर्ण विष्टले मागी विवाहमा रूपान्तरण गरेका थिए । प्रेम र मागी दुवैको सम्मिश्रणबाट भएको यस विवाहमा श्रेष्ठ र विष्ट दुवै परिवारको उपस्थिति थियो ।


मोहनचन्द्र अधिकारी र बालकुमारी खनाल

बहुदल आएर खुला राजनीतिमा आएपछि विवाहबन्धनमा बाँधिएका नेपालका नेल्सन मन्डेला भनिने मोहनचन्द्र अधिकारी र बालकुमारी खनालबीचको प्रेम जेलजीवनमै सुरु भएको थियो । स्नातकोत्तर गरेर अध्यापन पेसा अँगालेकी बालकुमारी ०४२ सालको शिक्षक आन्दोलनमा पक्राउ परिन् र भैरहवा जेलमा थुनिइन् । अड्डासार गर्दै भैरहवा पुर्‍याइएका मोहनचन्द्र पनि सोही जेलमा थिए । जेलकी एक मात्र महिला बन्दी बालकुमारीलाई जेलप्रशासनले तेस्रो श्रेणीको खाना दिएको देखेर मोहनचन्द्र भावुक बने । मोहनचन्द्रकै आग्रहमा बालकुमारीले पनि उनीहरूसँगै पहिलो श्रेेणीको खाना पाइन् । एउटै मेसमा खाँदाखाँदै उनीहरूको हृदयमा प्रेमको बीजारोपण भइसकेको थियो । २४ माघ ०४७ मा उनीहरूबीच ललितपुरको पुल्चोकस्थित भुपु सैनिक संगठनको प्रांगणमा एमालेले विवाह गरिदियो ।


मुकुन्द न्यौपाने र पवित्रा भट्टराई

एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि प्रेमविवाह नै रोजे । विवाह पार्टीकै आयोजनामा भयो । न्यौपाने तत्कालीन मालेको नारायणी अञ्चल इन्चार्ज थिए । त्यही समयमा पवित्रा भट्टराई वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्थिन् ।
पवित्रा अखिलको अञ्चल कमिटीमा थिइन् भने भूमिगत रूपमा महिलाको कमिटीमा थिइन् । राजनीतिक कामकै दौरानमा भेट भयो, दुवै जनाको । पछि कुराकानी भयो, मन मिल्यो र पार्टीमा जानकारी दिएर २०४१ साल वैशाखमा उनीहरूले विवाह गरे ।

मदन भण्डारी र विद्यादेवी पाण्डे

स्वर्गीय मदन भण्डारीले पनि एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीसँग प्रेम र जनवादी विवाह नै गरे । पार्टी कामको सिलसिलामा ०३६ सालमा भोजपुर पुगेका भण्डारी र पाण्डेबीच पहिलो भेट भएको थियो । त्यसपछि महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा अखिलको राजनीति गरिरहेकी विद्यालाई मदनले विवाहको प्रस्ताव राखे र उनीहरूबीच पार्टीले
विवाह गरिदियो ।

प्रदीप नेपाल र झुमा देवान

एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले पनि प्रेमविवाह नै गरे । मेची अञ्चलमा कार्यरत हुँदा नेपालको झुमा देवानसँग भेट भयो । झुमा त्यतिवेला विद्यार्थी कार्यकर्ता थिइन् । पार्टी नेताका हैसियतले प्रशिक्षणमा जाँदा प्रदीपले झुमालाई मन पराएका हुन् । पछि उनीहरूको प्रेम विवाहमा परिणत भयो ।

माधवकुमार नेपाल र गायत्री आचार्य
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गायत्री आचार्यबीचको प्रेमलाई पछि पार्टीले विवाहमा परिणत गरिदियो । गायत्री अनेरास्ववियुकी केन्द्रीय सदस्य थिइन् । माधव विद्यार्थी फाँटका इन्चार्ज थिए । त्यही सिलसिलामा उनीहरूको भेटघाट र परिचय भयो । प्रेमको कोपिला फक्रन पुग्यो । उनीहरूले पार्टीमा निवेदन दिए र पार्टी आयोजनामै ०३७ सालमा उनीहरूबीच विवाह भयो ।
प्रस्तुति : प्रेम गौतम from Naya Patrika

No comments:

Post a Comment