|
कृष्णज्वाला देवकोटा,सम्पादक,नयाँ पत्रिका दैनिक |
नेपालका राष्ट्रपतिले के गर्नुपर्छ
भनेर दिल्लीमा सेमिनार हुन्छ र हाम्रा नेता गौरवका साथ 'अतिथि' बनेर
जान्छन् । त्यही दिल्लीमा अखिलेश यादवले उत्तरप्रदेशमा के गर्नुपर्छ भनेरचाहिँ सेमिनार
हुँदैन । कुनै पूर्वभारतीय राजदूत नेपालमा छँदा गरेको ठेक्कापट्टाको कमिसन उठाउन आउँछ र हाम्रा नेता त्यसलाई
भेट्न तारे होटलका सुत्ने कोठामा पुग्छन् । दिल्लीमा उपेक्षित र दिक्क कुनै पनि पूर्वकूटनीतिज्ञलाई
चाकडीको भोक जाग्यो भने त्यो सीधै काठमाडौं आए हुन्छ । त्यस्तालाई नेपालका
राजनीतिज्ञको सधैँ न्यानो स्वागत छ ।
आकार, जनसंख्या, अर्थव्यवस्था, सैनिक
क्षमता र अन्तर्राष्ट्रिय
पहुँच सबै हिसाबले भारत दक्षिण एसियाको महाशक्ति हो । त्यसमाथि नेपालजस्तो एकढंगले भारतपरिवेष्ठित
देशमा उसको दबाब र प्रभाव बुझिने कुरा हो । तर, त्यही दबाब र प्रभाव पनि कूटनीतिको नीलो
आवरणमा गर्न नसकिने होइन । तर, व्यवहार हेर्दा यस्तो लाग्छ, या भैयाहरूले पढेको डिप्लोमेसी बाँकी विश्वका लागि हो, नेपालका लागि होइन । या भारतमा नेपालका लागि डिप्लोमेसीको
बेग्लै
पाठ्यक्रम छ ।
नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद
प्रधानमन्त्रीसँग औपचारिक भेट गर्न चप्पल र ट्रयाकसुटमा बालुवाटार पुग्थे । नेपाल
सरकारसँग परामर्श नै नगरी वा सुरक्षा दिन सक्दैनौँ भन्दाभन्दै पनि जिल्लातिर हिँडिदिन्थे र
अरू जिल्लाका सुरक्षाकर्मी
घटाएर उनको सवारी चलाउन पथ्र्यो । अहिलेका राजदूतको व्यवहार त्यति अशिष्ट छैन, तर लैनचौरको कार्यशैली खासै फेरिएको छैन । त्यतिखेर विधायक रहेका रामकुमार
शर्मालाई धम्क्याउने सुव्रत दासलाई स्वदेश फर्काएर जयन्तप्रसादले सकारात्मक सन्देश दिन सक्थे ।
त्यसो भएको भए पर्सामा उनका अर्का प्रतिनिधिले नेपाल टुक्रयाउन सुझाब दिने थिएनन्
। सायद भारतीय कूटनीतिज्ञलाई नेपाल भन्ने देश नै बाटोको मादलजस्तो लाग्छ, जसलाई जसले जहाँ जतिखेर पनि बजाए हुन्छ ।
भारतले नेपाललाई उपनिवेश नठानेकै भए
पनि नेपालका
नेताले ठानिसकेका छन् । कसैलाई मिर्गौला बिगि्रदिएर दिल्ली जान सजिलो भएको छ । तिनको
मिर्गौला हरेकपटक सरकार परिवर्तन हुनेवेलामा मात्र बल्झन्छ र दिल्ली जानुपर्छ । त्यो मिर्गौलाको
उपचार राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठीदेखि अहिले राष्ट्रपति भएका प्रणव
मुखर्जीसम्मले गर्छन् र बिरामी पात्र त्रिभुवन विमानस्थलमा ओर्लेर आफैँले
आफैँलाई प्रधानमन्त्री घोषणा गर्छ । त्यसो गर्ने, त्यो सुन्ने र त्यो हेर्ने यो देशमा कसैलाई लाज लाग्दैन ।
भारतीय आफूलाई 'संसारको सबैभन्दा ठूलो लोकतन्त्र'का रूपमा व्याख्या गर्न रुचाउँछन् । तर, भारतको कूटनीतिमा केवल बनियापन छ, लोकतन्त्रसँग त्यसको गोरु बेचेको पनि साइनो
छैन । म्यान्मार भुटानको तानाशाहीले सधैँ भारतको संरक्षण पायो । भुटानमा
नेपालीमूलको जातीय सफाइलाई उसले सहर्ष अनुमोदन गर्यो । बंगलादेशमा लगभग डेढ दशक
लामो सैनिकशासनमा पनि भारतको सहयोग र समर्थन थियो । नेपालमै पञ्चायतको पहिलो
दशकमा भारतीय सहयोग त्यसअघिभन्दा दुई सय सत्तरी गुना धेरै थियो । पाकिस्तानी सैनिक शासनले जुल्पिmकर अलि भुट्टोलाई झुन्ड्याउँदै थियो, त्यतिखेर भारतका प्रधानमन्त्री मोरारजी देसाईले फाँसी
नदिन अनुरोध गर्नसम्म अस्वीकार गरेका थिए ।
नेपालमा भारतको छवि एउटा यस्तो छिमेकीको छ, जसलाई न विश्वास गर्न सकिन्छ, न अविश्वास गर्न । जब कि नेपाल र भारतबीच जति समानता छ,
संसारका अरू कुनै पनि दुई देशबीच छैन ।
हाम्रा लिपिदेखि संस्कृतिसम्म, विधिशास्त्रदेखि वास्तुशास्त्रसम्म,
देवता, सामाजिक जीवन र तीर्थहरूसम्म अद्भूत समानता छ । भूगोल, इतिहास र सभ्यताका रेखाचित्रले यी दुई देशको
विशिष्ट सम्बन्ध निर्माण गरेका छन् । तर, आमनेपालीमाझ
भारतको छवि न विश्वसनीय छ, न
आत्मीय ।
लालकृष्ण आडवाणीले केहीअघि प्रकाशित
संस्मरणात्मक पुस्तक 'मेरो देश मेरो जीवन'मा लेखेका छन्, 'अमेरिकी विदेशनीति मिडिया र थिंक ट्यांक'ले तय गर्छन् ।' भारतको विदेशनीतिमा पनि तिनको प्रभाव पक्कै छ, तर तिनको नेपालप्रतिको दृष्टिकोण भ्रामक, आत्ममुग्ध र पक्षपाती छ । भारतीय अखबारहरू कहिले नेपालमा चीन र
भारतले संयुक्त नियन्त्रण कायम गर्नुपर्छ भन्छन्, कहिले पाकिस्तान त कहिले चीनको काल्पनिक डर देखाउँछन्
। नेपाल नीतिका लागि साउथ ब्लकभन्दा नर्थ ब्लक निणर्ायक भएको छ जुन हार्डलाइनर मानिन्छ ।
भारतले कुनै वेला आफूसमेत सहभागी भएर सूत्रबद्ध गरेको
पञ्चशील र गुटनिरपेक्षताको बाटो त्यागेको छ र क्षेत्रीय जर्नेलका रूपमा अमेरिकी
तबेलामा पुगेको छ । उसले संसारकै उदीयमान महाशक्तिका रूपमा एकपछि अर्काे प्रमाणपत्र थापिरहेको एक दशक हुन लाग्यो ।
ओबामादेखि क्यामरुन र हु जिन्ताओसम्मले संसारको नेतृत्व गर्न भारतलाई खुला आमन्त्रण गरेका छन्
। आफ्नो क्षमताको यति भव्य अन्तर्राष्ट्रिय स्वीकृतिले भारतलाई आत्ममुग्ध बनाउनु
स्वाभाविकै हो । भारतसँग संसारकै नेतृत्व गर्ने महत्त्वाकांक्षा छ र अर्थव्यवस्थाको विस्तारले उसको
महत्त्वाकांक्षालाई तार्किक आधार पनि दिएको छ । तर, विडम्बना, उदीयमान महाशक्तिका रूपमा भारतले आफ्नो कूटनीतिक र राजनीतिक योग्यताको सबैभन्दा
पहिलो परीक्षा आफ्नो आँगनमै अर्थात् दक्षिण एसियामै दिनुछ । नेपालमा पनि भारतको भूमिका केवल
नेपालसँग उसको सम्बन्ध होइन, क्षेत्रीय
र अन्तर्राष्ट्रिय मञ्चमा उसको नेतृत्वदायी क्षमताको पनि परीक्षा हुनेछ ।
नेपालमा भारतको छवि राम्रो छैन भन्ने
जानकारी पक्कै साउथ ब्लकलाई छ । नेपाल मात्र किन, दक्षिण एसियाका सबैजसो देशमा भारतविरोधी भावनाले आश्चर्यजनक रूपमा राष्ट्रवादको
प्रतिनिधित्व गर्छ । निश्चय नै यसका पछाडि बौद्धिक, भू-राजनीतिक, आर्थिक र सैनिक कुन्ठाको ठूलो भूमिका छ । तर, यसलाई यति सजिलै खारेज गर्न सकिन्न । पाकिस्तान त परको
कुरा, बंगलादेश, श्रीलंका र नेपालमा समेत ससाना आन्तरिक
समस्यामा पनि भारतलाई दोष दिइन्छ । दक्षिण एसियामा सबैलाई भारतसँग भय छ । कतिसम्म भने
भारतीय सेनाको सशस्त्र हस्तक्षेपछि बनेको, अर्को मानेमा भारतले निर्माण गरिदिएको बंगलादेशमा समेत भारतविरोधी भावना
राष्ट्रवादको पर्याय भएको छ । भारत यसलाई कुन्ठा भनेर पन्छाइरहन सक्दैन । निश्चय नै यीमध्ये कतिपय
प्रकरण हास्यास्पद पनि छन्, तर छिमेकमै छविको यति ठूलो
संकट हुँदासम्म भारतले 'संसारकै
नेतृत्व गर्ने' सपना कसरी
पत्यारिलो हुन सक्छ ?
भनिन्छ, कुनै पनि देशको क्षमता छिमेकीसँग उसको व्यवहारबाट व्यक्त हुन्छ । यस
क्षेत्रका अधिकांश देशको गुनासो छ, भारतले मित्र होइन, ठूल्दाइको
व्यवहार गर्छ । दुई सम्प्रभु देशका बीचमा दाइ र भाइको व्यवहार हुन सक्दैन, केवल बराबरीको व्यवहार हुनसक्छ । तर, सीमा विवाद, व्यपार असन्तुलन, राजनीतिक हस्तक्षेप, असमान सन्धिहरू र भूराजनीतिक विवशताले सबै जसो छिमेकीमा
भारतप्रति असन्तोष र कुन्ठालाई जन्म दिएको छ ।
नेपाल मामिलामा सामान्यतः तटस्थ चीन
अब दर्शकको कक्षबाट खेलाडीको कक्षमा अघि बढिसकेको छ भने त्यसमा पनि साउथ ब्लकको बनियाँ प्रवृत्तिको आत्ममुग्ध
र दम्भी ब्युरोक्रेसीेको अतिसक्रियता दोषी छ । भारतसँगका भूराजनीतिक बाध्यता र साउथ ब्लकको
हेपाहा व्यवहारले नेपालमा विवश राष्ट्रवादलाई जन्म दिएको छ । नेताहरूका दासतापूर्ण
व्यवहारले त्यो विवशतामा मट्टतिेल थपेको छ । भारत मामिलामा उत्तेजनापूर्ण वाक्युद्ध जति घातक छ, दासतापूर्ण याचना अझ घातक छ । भूअवस्थिति र
भूराजनीतिक बाध्यताले नेपालमा कसैलाई भारतविरोधी बन्न अनुमति छैन, तर नेपाली बन्न जरुरी छ । दिल्लीबाट फर्केपछि
चम्केका हरेक उज्याला अनुहार राष्ट्रिय सम्मानमाथि पोतिएका मोसो हुन् ।
from Naya Patrika
|
|
|
|
No comments:
Post a Comment