सुन्दर खनाल, भक्तपुर, असोज ३-
भूकम्पले क्षणभरमै घर भत्किएपछि उनीहरुले छेवैको पाटीमा रात काटे। अनिदो बिताउन घरसँग जोडिएका बाजेबराजुका कथा सम्झे। उज्यालो भएपछि खण्डहर हेर्न मान्छे आएकोआयै गरे, बेलिबिस्तार लगाउँदै दिन बित्यो। फेरि रात कहाँ बिताउने? सोमबार साँझसम्म ठेगान थिएन।
लक्ष्मीनारायण वासुकलाको परिवारले इतिहासै मान्थ्यो, भक्तपुर नगरपालिका-१० व्यासीस्थित घरलाई। ३० इन्च मोटो गारो भएको त्यो नेवारी परम्पराको संरचनाले नब्बे र पैँतालिस सालका भूकम्प थामेको थियो। 'हामीलाई कहिल्यै पुरानो लागेन यो घर, भावना जोडिएकाले होला,' लक्ष्मीनारायणका छोरा एमएस्सी जुलोजीको विद्यार्थी अविस्रापनजले भने।शिक्षक लक्ष्मीनारायण घर भत्केर बेहाल हुँदाहुँदै पनि एउटा संयोगले निकै धन्य छन्। चारतले घरको माथ्लो डेढ तला भूकम्पले शीरको टोपी झारेझैं खसाल्दा धन्न त्यहाँ कोही थिएन। त्यहाँ भान्सा थियो, जहाँ लक्ष्मीनारायणकी पत्नी सुभद्रा भूकम्पको केही सेकेण्डअघि खाना पकाएर तल झरेकी थिइन्।
करिब सय मिटर लामो जोडिएका घरहरूको लहरमा अन्तिम हो, वासुकला निवास। हरेक तलामा चुटुक्क बार्दली निकालिएको ३७ फिट लम्बाइ र ८ फिट चौडाइको घरलाई भक्तपुर नगरपालिकाका प्राविधिकले बस्न अयोग्य भनिसकेको अविस्रापनज बताउँछन्।
विज्ञानका विद्यार्थी भएर भूकम्पका वैज्ञानिक तथ्यसँग पनि जानकार अविस्रापनज घरसँग निकै भावुकता राख्छन्। 'अर्को वास पाइएला नपाइएला, तर यो घरमा जस्तो मिठो निद्रा नलाग्न सक्छ,' उनी भन्छन्।
वासुकला निवासको माथ्लो तला खसेर सँगैको अर्को एकतले घर पनि भत्कियो। 'भात पकाइरहेका मेरा भाइबुहारी कसो बेलैमा भागेर ज्यान जोगाए,' घरधनी हरिभक्त वासुकलाले भने।
भूकम्प विनाशका दृष्टिले सहरलाई उच्च जोखिमयुक्त भन्ने हरिभक्त २०४५ मा भएको बेहाल स्मरण गर्छन्। यसपाला बढी शक्तिशाली भूकम्प भए पनि कम विनाश भएको उनी बताउँछन्। यसबारे आफ्नै खाले उनको अनुमान पनि-'भूकम्पको चाल यसपाला फरक भएको हुनुपर्छ, शायद यसपाला होरिजेन्टल गयो, भर्टिकल भएको भए धेरै असर गर्थ्यो कि!'
भूकम्पले चरम भौतिक असर गरेको ठाउँमा पनि मान्छेको भाग्य बलियै रह्यो यहाँ। खौमास्थित सुभद्रा पाटीको घरको पश्चिम मोहोडा ह्वांगै हुने गरी भत्कियो।
'भाग्यले बचियो,' सुभद्राका एक मात्र छोरा कृष्णराम भन्छन्, 'घर बस्नै नहुने भएपछि कठिन छ हामीलाई।'
पाटी परिवारले घर भत्किएपछि आइतबार रात आडैको फर्निचर कारखानामा बिताए।
पाटी निवास रहेको सन्तनबहालस्थित मल्लकालीन समेतका अन्य घर भने भत्किएनन्। सुभद्राका हजुरबाले त्यो घर किनेका थिए। 'छोरी भागमा बाले मलाई दिनुभएको हो,' सुभद्राले भावुक हुँदै भनिन्।
रेडक्रसबाट तत्काल एउटा पाल र केही ओड्नेओछ्याउने पाएका वासुकला र पाटी परिवारको यो बिजोगमा अर्को पीडा थपिएको छ। दुवैले छुट्टाछुट्टै कमाइ गरिरहेको थोरै खेतका धान भूकम्पलगत्तैको हुरीबतासले ढालेको छ। 'घरको यस्तो बिजोग छ, के धान बाँध्न जानु!' लक्ष्मीनारायणले भने।
'तीन महिना खान खेतको धानले पुग्थ्यो, त्यो पनि नहोलाजस्तो छ,' कृष्णराम भन्छन्, 'घर त यो महँगीमा केले बनाउनु!'
अत्यधिक जनघनत्वको भक्तपुर सहरमा भूकम्पले चार घर भत्केका छन्। छिमेकी मध्यपुर नगरपालिकामा सूर्यमान मुस्याङको तीनतले पुरानो घर पूरै भत्कियो। 'बिहान हेर्दा चर्केको मात्र थियो। दिउसो भत्केछ,' घरधनी सूर्यमान मुस्याङले भने।
मुस्याङ परिवारले पाँच वर्षअघि नजिकै नयाँ घर बनाएपछि बाजेको पालाको घरलाई भाडामा लगाउँदै आएको थियो। 'बाजेको पालाको घर हो, माया लाग्दो रहेछ,' उनले भने।
उपत्यकाका विभिन्न ठाउँमा भूकम्पले भत्काएका दर्जन घर सबै कच्ची र पुराना पाइए। काठमाडौं स्युचाटारका चार र साँखुका एक तथा ललितपुर लेले र मंगलबजारका एक/एक घर कच्ची नै हुन्।
No comments:
Post a Comment