Wednesday, September 7, 2011

बाबुरामले पार्टी छाडे पनि संगठन फुटाएनन्

मोहनविक्रम सिंमहामन्त्री, नेकपा मसाल
मलाई ठ्याक्कै मिति त याद भएन, तर डा.बाबुराम भट्टराईसँग भारतमा सम्पर्क भएको थियो । कानपुरमा विद्यार्थीहरूको सम्मेलन थियो । उहाँ अखिल भारत विद्यार्थी संघको अध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी संघले एउटा सेमिनारको आयोजना गरेको थियो । त्यसमा म सहभागी हुन गएको थिए त्यतिवेला नै उहाँसँग सम्पर्क भयो । कानपुरपछि उहाँसँग दिल्लीमा नियमित सम्पर्क भइरह्यो । उहाँले जेनयुबाट पिएचडी गर्दै हुनुहुन्थ्यो । म उहाँको कोठामा गइरहन्थेँ । त्यही दौरानमा नै उहाँ पार्टीमा प्रवेश गर्नुभयो । यो पञ्चायतीकालमा भएकोले मलाई थिति-मिति भने थाहा छैन ।
उहाँलाई मैले सुरुदेखि नै एउटा अत्यन्त इमानदार, काम जिम्मेवारीपूर्ण र लगनशील भएर गर्ने, बुद्धिजीवी अध्ययनशील पात्रका रूपमा पाएँ । त्यसको आधारमा हामीले उहाँलाई कैयौँ जिम्मेवारीहरू दिँदै गयाँै । उहाँले बुद्धिजीवी फाँटमा भारतमा लामो समय काम गर्नुभयो । पछि नेपालमा बुद्धिजीवीको नेतृत्व नभएको महसुस गर्‍यौँ र खासगरी काठमाडौंमा उहाँलाई पठायौँ । उहाँले त्यहाँ पनि दिएको जिम्मेवारी पूरा गर्नुभयो । पछि संयुक्त राष्ट्रिय जनआन्दोलनको दौरानमा संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालनका रूपमा उहाँले काम गर्नुभयो । उहाँले पार्टीले दिएका हरेक जिम्मेवारी क्षमतापूर्वक, इमानदारिताका साथ पूरा गर्नुहुन्थ्यो । उहाँको चारित्रिक मुख्य विशेषता भनेकै कुनै पनि कामलाई इमानदारिताका साथ लगनशील भएर गर्नु हो । 

०००
०४६ सालको जनआन्दोलनपछि संसदीय चुनावको कुरा आयो । ०४८ को संसदीय चुनावमा भाग लिने वा बहिस्कार गर्ने भन्नेमा पार्टीमा मतभेद भयो । हामीले बहिस्कार गर्नुपर्छ भन्यौँ । हाम्रो जोड संविधानसभाको चुनाव हुनुपर्छमा भन्ने थियो । संविधानसभाको चुनावमा जोड दिँदै संसदीय चुनाव बहिस्कार गर्नुपर्छ भन्ने थियो । हाम्रो पार्टीभित्र पनि मतभेद थियो कमरेड चित्रबहादुर केसीको चुनावमा भाग लिनुपर्छ भन्ने थियो हाम्रो बहिस्कार गर्नुपर्छ भन्ने थियो । त्यसवेला हामी अल्पमतमा पर्‍यौँ । केसीहरूको बहुमत भयो । पछि सम्मेलन भयो र त्यो सम्मेलनले चुनावको बहिस्कार गर्नुपर्छ भन्ने निर्णय लियो । त्यो सम्मेलनको वेला बाबुराम पनि हाम्रो बहुमतको पक्षमा हुनुहुन्थ्यो । 
त्यसवेला नेकपा एकता केन्द्रको गठन भइसकेको थियो । हामीबाट अलग भएर गइसकेका साथीहरू (प्रचण्ड, किरण)ले मोटो मशाल गठन गर्नुभएको थियो । उहाँहरूले नेकपा एकता केन्द्रमा काम गर्नुहुन्थ्यो । प्रचण्डजी, किरणजी त्यसमा हुनुहुन्नथ्यो । क्रमशः बाबुरामजीको विचार पनि परिवर्तन हुँदै गएछ । प्रचण्ड, किरणजीहरूसँग सम्पर्क बढ्दै गएछ । पछि ०४७ मा बाबुरामजी हामीसँग अलग हुनुभयो र एकता केन्द्रसँग जोडिनुभयो । 
बाबुरामजीहरूले पार्टी छाडेर जाँदा खास मतभेद थिएनन् । एकता केन्द्रमा काम गर्दा राम्रो हुन्छ भन्ने सोच्नुभएहोला उहाँहरूले । त्यसवेला कैयौँ बैठक पनि भएका थिए तै पनि खासै राजनीतिक/वैचारिक मदभेद थिएनन् हामीबीच । एकता केन्द्रका कार्यक्रम र योजनामा प्रभावित बन्नुभए जस्तो लाग्छ । राजनीतिक/वैचारिक मदभेदका आधारमा बाबुरामजीहरूले छाडेजस्तो लागेको थिएन । 
कुनै व्यक्ति पार्टीमा रहने/नरहने उसको सोचाइमा भरपर्ने कुरा हो । जुनसुकै साथी बाहिर जाँदा पार्टीलाई नोक्सान पुग्नु स्वभाविक हो । सामान्य साथी जाँदा पनि पार्टीलाई नोक्सान हुन्छ । बाहिर पनि प्रचार गरिन्छ । त्यसवेला बाबुरामजी जाँदा पनि नोक्सान पर्‍यो पार्टीलाई । तर, संगठनात्मक रूपमा त्यति ठूलो क्षति भएन । उहाँले धेरै साथीहरू लिएर जानुभएको थिएन । जबकी किरणजी र प्रचण्डजी फुटेर जाँदा पार्टीको एउटा ठूलो हिस्सा लिएर जानुभएको थियो । त्यसले पार्टीलाई ठूलो क्षति पुर्‍याएकै हो । तर, बाबुरामजी जाँदा त्यस्तो संगठनात्मक क्षति भएन । तैपनि त्यसले पार्टीलाई नोक्सान पुर्‍यायो । त्यतिखेर केन्द्रीय समितिमा पनि कोही हुनुहुन्थेन जस्तो लाग्छ मलाई । 
बाबुरामजीले पार्टीछाडेपछि जनयुद्ध सुरु हुनुपूर्व खास भेट भएन । तर, जनयुद्ध सुरु भइसकेपछि कतिपय वेला भेटघाट भयो । खासगरी एकपल्ट बाबुरामलाई कारबाही गर्ने कुरा उठेको थियो । प्रचण्ड-बाबुरामको बीचमा कैयौँ मतभेद देखापरेका थिए । त्यसवेला बाबुराम राजतन्त्रविरुद्ध लडेकोभन्दै हत्या गर्नेससम्मका कुरा बाहिर आएका थिए । त्योवेला हामी बाबुरामको पक्षमा लेख, वक्तव्य दिएर बाबुरामलाई कुनै कारबाही गर्नुहुँदैन भन्ने कुरामा जोड दिएका थियौँ । मतभेद जे भए पनि कारबाही र उहाँलाई हत्या गर्ने कुरा कुरा सही होइन भन्ने कुरामा हामीले वक्तव्य दियौँ । त्यो वेलामा बाबुरामसँग हामीले दिल्लीमा भेटघाट र कुराकानी पनि गर्‍यौँ । त्यसवेला उहाँको विषयमा हामीले धेरै कुरा जानकारी लिन पनि पायौँ । 
कम्युनिस्ट पार्टीहरूमा धेरै मदभेद हुन्छन् । मदभेद भए पनि हामीबीच व्यक्तिगत रूपमा भेटघाट र मैत्रीपूर्ण सम्बन्ध रहने गर्दछ । जस्तो निर्मल लामाजी हामीसँंग अलग भएर जानुभयो । तर, पनि व्यक्तिगत रूपमा उहाँसँग हाम्रो सम्बन्ध लगातार बनिरह्यो । त्यसैले पार्टीबाट कुनै साथी अलग हुँदैमा व्यक्तिगत सम्बन्ध हुँदैन भन्ने कुरा होइन । त्यसैले बाबुरामजीको जनयुद्धप्रतिको बेग्लै दृष्टिकोण थियो । हाम्रो बेग्लै थियो । मतभेद छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा भएकोले पनि व्यक्तिगत भेटघाटमा हामी त्यो कुरा गर्दैनथ्यौँ । खास गरेर उहाँको व्यक्तिगत समस्या के हुन्, उहाँलाई कारबाही हुनाका कारण के हो भन्ने विषयमा नै हामी मोटामोटी कुराकानी गरेका थियौँ । 
०००
उहाँसँग पछिल्लोपटक प्रधानमन्त्री निर्वाचनको एकदिनअघि भेट भयो । उहाँले म प्रधानमन्त्री चुनावमा उठेको छु, तपाईंहरूले सहयोग गर्नुपर्ने भयो भन्नुभयो । त्यतिवेलासम्म हाम्रो पार्टीले कुनै निर्णय गरेको थिएन । हामीले बाबुरामजीलाई अहिले ठूला क्रान्तिका कुरा, सशस्त्र जनयुद्ध र आन्दोलनका कुरा होइन शान्ति, संविधान र गणतन्त्रको पक्षमा जोड दिँदा राम्रो हुन्छ भन्यौँ । शान्ति र संविधान नै अहिलेको व्यवहारिक र राष्ट्रिय आवश्यकता हो । त्यसमा तपाईंले जोड दिँदा हुन्छ त्यसलाई हामीले सकारात्मक रूपमा लिन्छौँ भन्यौँ । हामी पार्टीमा छलफल गरेर निर्णय गर्छौं भनेँ । माओवादीमा शान्ति र संविधानको पक्षमा एकमत भएर जाने भन्ने निर्णय भइसकेको थियो । बाबुरामको सुरुदेखिको संघर्ष नै शान्ति र संविधान भएकाले उहाँलाई नै प्रधानमन्त्रीमा भोट हाल्ने निर्णय गर्‍यौँ । 
प्रधानमन्त्री भएकोमा हामीले बधाई दियौँ । उहाँप्रति शुभकामना प्रकट गरेका छौँ । उहाँसँग कैयौँ मतभेद भए पनि शान्ति, संविधान र गणतन्त्रमा एकठाउँ छौँ । हामी यो विषयमा रामवरण, गिरिजालगायतसँग त एक ठाउँमा भयौँ भने उहाँ त झन् चुनवाङ बैठकदेखि यो कुरा उठाउँदै आउनुभएको छ । उहाँकै कारण आज सम्पूर्ण पार्टी शान्ति र संविधानका पक्षमा आएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छाँै । उहाँले जुन पहलकदमी लिनुभएको छ त्यसका लागि पनि हामीले उहाँलाई जहिले पनि नजिकको भएको महसुस गर्दछौँ ।
०००
राष्ट्रिय कामहरू बाबुराम एक्लैले गर्ने कुरा होइन । उहाँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ । त्यसैले पार्टीले सही नीति र कार्यक्रम बनाएन भने उहाँलाई काम गर्न गाह्रो पर्छ । त्यसैले पहिला पार्टीभित्रै शान्ति र संविधान निर्माण गर्ने प्रतिबद्धताअनुसार हिडनुपर्छ । त्यसले यति त्यो भएन भने उहाँलाई आफ्नै संयन्त्रबाट काम गर्न अफ्ठयारो पर्दछ । जस्तै एमालेबाट झलनाथ खनाल प्रधानमन्त्री भए पनि उहाँले पार्टीलाई आफूसँगै लैजान सक्नुभएन र असफल भएर निस्कनुपर्‍यो । सबैभन्दा पहिले उहाँले माओवादीभित्र शान्ति र संविधानको पक्षमा जुन निर्णय भएको छ त्यसमा पार्टीभित्र ऐक्यबद्धता कायम गर्नु पहिलो आवश्यकता हुनजान्छ । 
यस्तै मधेसवादी दलहरूमा पनि समस्या छ । उनीहरू एक मधेस एक प्रदेश माग पूरा भएन भने हामी एक नेपाल हुन दिदैनाँै भन्दै आएका छन् । उनीहरू सिद्धान्तभन्दा पनि पदको लागि लडिरहेका छन् । मधेसवादीहरूमा देखापरेका यसखालका प्रवृत्तिलाई शान्त गर्न र त्यो समस्या समाधान गर्न प्रयत्न गर्नुपर्छ । यो काम बाबुरामले एक्लै गर्नसक्ने होइनन् । त्यसका लागि देशका सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एकजुट हुनुपर्छ । आज राष्ट्रिय राजनीतिक दलहरू एकजुट हुन नसक्दा त्यसको फाइदा मधेसवादी दलहरूले उठाइरहेका छन् । खेल्ने मौका पाइरहेका छन् । यो समाधान गर्न देशका सबै संविधानसभा पक्षधर, राष्ट्रवादी र गणतन्त्रवादी शक्तिहरू एकजुट हुनपर्छ । अहिले बहुमतीय आधारमा माओवादीको नेतृत्वमा सरकार बनेको छ । अब अन्य शक्तिहरूसँग पनि सहमति कायम गर्न कोसिस गर्नुपर्छ । पहिले राजतन्त्र फाल्न सबै दल एकजुट भएजस्तै अहिले पनि वैचारिक/सैद्धान्तिक मदभेद भए पनि शान्ति र संविधानको राष्ट्रिय कार्यभार पूरा गर्न दलहरू फेरि एक ठाउँमा आउनैपर्छ । यस्तै संघीयताको सवालमा हामीबीच गम्भीर मतभेद छन् । यदि यो विषयमा राम्रो समझदारी हुन सकेन भने यही कारणले संविधान बन्न सक्तैन । त्यसैले यो समस्यालाई पनि सही किसिमले समाधान गर्न सक्नुपर्छ । संघीयताले धेरै ठूलो घर जमाइसकेको छ । यसले गम्भीर अप्ठयारोमा पर्नसक्छ । यस्तै महँगी भ्रष्टाचार र दण्डहीनताका समस्या छन् ।  यी समस्यालाई दीर्घकालीन योजना बनाएर जानुपर्छ । 
from Naya Patrika नेत्र पन्थी

No comments:

Post a Comment