Wednesday, April 17, 2019

'पुरानो नाम बोकेर, कता जाने विप्लव दाइ?'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादी संसदीय खलकका माओवादीलाई समेट्दै नेकपा (माओवादी केन्द्र) गठन गरेको तीन महिनापछि सशस्त्र संघर्षको नारा दिइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पुरानै माओवादी ब्युँझाएका छन्।
विप्लव नेतृत्वको माओवादीको नाउँ ‘नेकपा माओवादी’बाट नेपालमा १० बर्ष लामो जनयुद्ध लडेको ‘लिगेसी’ बोकेको ‘नेकपा (माओवादी)’ भएको छ।



पहिलो संविधानसभा चुनावपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा (एकताकेन्द्र मसाल) भित्राएर प्रचण्डले एमाओवादी बनाएका थिए।
एमाओवादीमा नगई नेकपा (माओवादी)लाई मातृकाप्रसाद यादवले चर्चिरहेका थिए। यादव पनि मणि थापा, रामबहादुर थापा बादललगायका समूहसित माओवादी केन्द्रमा समाहित भएपछि उक्त नाम विप्लवले लिएका हुन्।
कम्युनिष्ट न्युक्लियस खोलेका पूर्व एमाओवादी नेता हेमन्तप्रकाश ओली, माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सन्देश पौडेल तथा मोहन बैद्य नेतृत्वको माओवादी केन्द्रीय सदस्य इस्लाम हवारीलाई मंगलबार विप्लवले आफ्नो पार्टीमा भित्राए।
माओवादीका नाममा ध्रुवीकरण चुलिन थालेको बेला घटित यी परिघटना संयोगमात्र होइनन्। माओवादी आन्दोलनको नेतृत्वमा आएको (संसद्वादी आँखाले हेर्दा ‘परिवर्तन’ र पुरानो माओवादी आँखाले हेर्दा ‘स्खलन’पछि) स्वाभाविक परिदृश्य हुन्।
चीनमा माओले प्रयोग गरेको दीर्घकालीन जनयुद्धलाई नेपालमा प्रयोग गर्न प्रचण्ड नेतृत्वमा नेकपा (माओवादी) गठन भएको थियो। दीर्घकालीन जनयुद्धको बाटो राजनीतिक लाइनको रुपमा तय गरेको चार बर्षपछि बल्ल माओवादी गठन गरेर औपचारिकरुपमा जनयुद्ध सुरु भएको थियो।
विद्रोह सुरु भएपछि कुनाकुनाका र थिचिएका मान्छेले आफ्नो ‘स्पेश’को सपना देखे। र, कति रहरले त कति करले विद्रोहमा होमिए।
भारतमा भएको १२ बुँदे सहमतिसँगै नेपालका पुराना संसदीय दलसित हात मिलाएर माओवादी काठमाडौं पस्यो। चुनावमा भाग लियो। क्रान्तिको रापतापसहितको माओवादी ठूलो दल भयो।
काठमाडौंबाट जाने कहाँ हो? २०४८ मा छिरेको उही संसदीय व्यवस्थामा हो कि अलि पर हो? माओवादीमा बहस चर्कियो। संसदलाई मियो बनाउने कि नबनाउने भन्ने बिषयमा चर्काचर्कीकै बीचमा खरिपाटी बैठकमा अंकगणितले देखायो– ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा १७-१७। आधा लागे मोहन बैद्यतिर भने १७ लागे प्रचण्डतिर। रामबहादुर थापा बादल बीचमा उभिए।
त्यसपछि प्रचण्ड झस्किए। त्यसपछि उनले नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मसाल मिसाए। आफू भारी बहुमतहुँदै माओवादी एमाओवादी बनाए।
१७-१७ को अंकगणित सकिएर प्रचण्ड भारी बहुमतमा आए। तर, बहस सकिएन। बाबुराम भट्टराईकै राजनीतिक लाइनमा हिँडेर शान्तिप्रक्रियामा छिरेका प्रचण्डलाई पार्टी आफ्नो अनुकूलतामा गुडाउन श्रेष्ठहरु पनि थपिएपछि सजिलो त भयो। तर, भनेजस्तो भएन।
यसको मूल कारण थियो, कार्यकर्ताका मन राख्न ‘विद्रोह’ र ‘क्रान्तिकारी’ पनि भाषणपिच्छै उच्चारण गर्नुपर्ने त अर्कोतिर कांग्रेस–एमालेसहित अन्तर्राष्ट्रिय शक्तिका ‘मन राख्न’ र आफूले रोजेको संसदीय बन्नुपर्ने बाध्यता प्रचण्डलाई आइलाग्यो।
झण्डै चार बर्ष लामो अन्तरसंघर्षपछि संसदीय दल भएको नरुचाउने अल्पमतका मोहन बैद्य समूह एमाओवादीबाट अलग्गियो। बन्यो, नेकपा–माओवादी।
संसदीय पार्टीमा परिणत हुने साइत गरेको चुनाङ बैठकपछि नै पार्टी छाड्ने सुरुवात रवीन्द्र श्रेष्ठ र मणि थापाले गरेका थिए। भलै त्यसको असर माओवादीलाई त्यति परेन।
बैद्य नेतृत्व माओवादी बनेपछि नेपाली राजनीतिक बजारमा नाम दिए, बीमाओवादी। यसको कारण थियो, एमाओवादी यसअघि नै थियो।
राजनीतिक बजारमा एमाओवादीलाई ‘क्यास’ माओवादी र बीमाओवादीलाई ‘ड्यास’ माओवादी पनि भने।
सडकमा अलपत्र छाडिएको क्रान्तिको झण्डा उठाउने भनेर एमाओवादीबाट टुक्रिएको ‘बीमाओवादी’बाट उही नारा लिएर नेत्रविक्रम चन्द विप्लव समूह अलग्गियो। खुल्यो, नेकपा माओवादी।
नेपाली राजनीतिक बजारमा विप्लव माओवादीलाई ‘सीमाओवादी’ पनि भने।
प्रचण्ड र बाबुराम नेतृत्वमा दुई सरकार चलाएपछि भएको संविधानसभा चुनावमा माओवादी मोटाउनुको बदला दुब्लाएर तेस्रो भयो।
बाबुरामले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाए।
बैद्यले छाडेपछि पटकपटक बाबुरामलाई नेतृत्व सुम्पने कपाली तमसुक गरेका प्रचण्डले पालना गरेनन्। एमाओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’को संज्ञा दिँदै माओवादी गोत्र नै त्यागे। पूर्व प्रशासक र पूर्व पुलिसअधिकारी तथा गैरमाओवादी नेता मिसाएर नयाँ शक्ति, नेपाल बनाए।
अब नेपाली राजनीतिक बजारमा माओवादीका तीन खलक छन्।
एक, प्रचण्ड नेतृत्वको सत्तारुढ माओवादी केन्द्र। दुई, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी। तीन, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)।

नाम नै माओवादी राखेकाले तीन खलक भनिएको हो। उसो त, माओवादी शव्द त्यागेको पूर्व माओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिलाई माओवादी खलकमा राख्ने वा नराख्ने विषय ‘तपसील’ नबनाए पनि हुन्थ्यो।

माओवादी क्रमशः ध्रुवीकरणको दिशामा बढ्दो छ। विप्लव माओवादी सबैभन्दा पुरानो माओवादीमा फर्केको छ भने बाबुराम माओवादी नाम त्यागेर टाढिएका छन्।
बल प्रयोगको राजनीतिक सिद्धान्त त्यागेर संसदीय पार्टी बनेका माओवादीले नाम छाडेर नयाँ शक्तिसम्म पुग्नु र बल प्रयोग आववश्यक भन्ने एक खलक पुरानो माओवादी हुनु संयोगमात्र होइन। पुरानोतिर फर्कनु र पुरानोबाट भाग्दै जानुमा राजनीतिक अर्थ पनि छ। भलै, बाबुरामबाहेकका माओवादी खलकमा अझै पनि माओवादी नाम छाड्न सकेका छैनन्। माओवादी नाम बालुवाटार ‘छिर्न’ र ‘अडिन’ अन्तर्राष्टिय बजार प्रतिकूल छ।
एमालेले अहिलेसम्म हँसिया हँथौडाअंकित झण्डा र पार्टीको नाम ‘नेकपा एमाले’ छाड्न नसक्नुका बाध्यताजस्तै प्रचण्ड नेतृत्वको बाध्यताको अनुहारमा फरक छैन। त्यसैले पुरानो माओवादीबाट एमाओवादी, माओवादी केन्द्रसम्म पुगेको माओवादी बाबुरामको नयाँ शक्तिसम्म हो कि गन्तव्य झन पर हो? अहिले नै भन्न बाँकी छ।
यसैगरी, सशस्त्र संघर्षको नारा दिएर पुरानो माओवादीमा फर्किएको विप्लव नेतृत्वको माओवादी पुग्ने कहाँ हो? अहिले नै आँकलन गर्न गाह्रो छ। जाने ‘यहाँ हो’ भन्ने यकिन भए पनि कसरी र कहिले भन्ने कुरामा अलमलमै छन् सायद। 
ठीक यसबेला उनका सुप्रिम कमाण्डर प्रचण्ड बालुवाटार ‘दोस्रो इनिङरत’ छन्। बाबुरामले बालुवाटारको स्वाद चाखेर नयाँ शक्तिसमेत खोलिसके। उनका प्रायः सहकर्मी तथा कनिष्ठले नै गाडीमा झण्डा हल्लाइसके।
रोल्पाको गोजाखोलादेखि ‘क्रान्ति’को ‘सपना’ पछ्याउन थालेका कमरेड विप्लवको ताल भने श्रवण मुकारुङले टिपेका गीतको फलमाा बयान गरेको मान्छेजस्तो।
मुकारुङको गीतले भन्छः
उँभो लागे बिगु गुम्बा उँधो लागे नीलो गंगा
जहाँ पुगे नि सुख छैन सपना देख्ने मान्छेलाई
पिरैपिरको भारी बोकी कहाँ जाने तामाङ दाइ?
विप्लव कतै प्रचण्डकै दोस्रो संस्करण हुने हो कि भनी आशंकारत उनकै कार्यकर्ताले मुकारुङको गीतमा आभासले दिएको संगीतको ताल समातेर सोध्दैछन्, ‘पुरानो नाम बोकेर कहाँ जाने विप्लव दाइ?’
    प्रकाशित ९ भदौ २०७३, बिहिबार | 2016-08-25 14:46:41

    No comments:

    Post a Comment