Wednesday, April 17, 2019

मुसहरलाई माटो


मुसहरलाई माटो
author-image
नवीन विभास
फुर्सद
 ०१ मङि्सर २०७५ १३:४४:००
  • change font
  • change font
  • change font

कुइनेटो

सिरहा गोलबजारबाट ६ किलोमिटर उत्तर लागे पुगिन्छ, मुसहर्निया। जुन गाउँ सिरहाको अन्तिम गाउँ हो। मुसहर्नियाको पुराण्डी टोल काटेर चुरे उक्ले त उदयपुर टेकिन्छ।

तीन सय १३ घरधुरी भएको मुसहर्नियामा तामाङपछि क्रमशः मुसहर, विश्वकर्मा, तेली र यादव छन्। मुसहर ५५ घरधुरी छन्। मुसहर्निया पाँचथरी टोलमा खरले छाएको एउटा घर छ भने बाँकी टाली र जस्ताले छाएका। तर, ती सबै घरका अनुहारले क्षयरोगीलाई बिर्साउँछन्।
पाँचथरी टोलकै ऐलानी पाँच धुरमा निर्मित ‘टाली छाने’ दुई कोठेघर छ। जसमा मुसहर (सदा) परिवार बस्छ। द्वरिकलाल साहुको घरमा हरुवाचरुवा बसेरै बिते भने सागैरदेवी अर्काको घरमा काम गर्दै। तिनका तीन छोरा र तीन छोरी छन्। जसका स्वप्नमय याम पनि साहुका गाईबाख्रासँग बिते। तीन छोरामध्ये कान्छा हुन्, अरुण सदा, ३५।
अरुण पिता मुसहरमध्ये ‘थोरै’ अपवाद थिए। त्यो थियो, साक्षरता। तिनले भारतमा काम गर्दा साँवा अक्षर छिचोलेका थिए। त्यसैले अरुणलाई घरमै अक्षरसँग हिमचिम बढाइदिए। ‘एकैचोटी ४ कक्षामा भर्ना भएँ,’ अरुणले स्कुले जीवनका सुरुआती याम सम्झिए। ४ कक्षामा पस्दा उनी १२/१३ वर्षका थिए।
अरुण स्कुल जान थालेपछि गाउँमा अचम्म के भयो भने, केही मुसहर बच्चा उनको पछि लागे।
०००
२०५० को झरी सुसाउने बर्खे बिहान बिलकुल चुपचाप थियो। कारण थियो, मकैबारीमा लडेको एउटा बूढो मान्छेको शव। सेतो धोती र सेतै कमिज लगाएका ती बूढा मकै बोटसँगै ढलेका थिए। ६० काटेका तिनले पुरानो साहु छाडेर नयाँ साहुकहाँ काम थालेको तीन दिन पुग्दैथियो। पुरानो साहुले मारेको ‘ओपन सेक्रेट’ थियो।
एक/डेढ घन्टापछि मकैबारीबाट शव बेपत्ता भयो। केही घन्टामै गाउँमा अर्को समाचार फैलियो– शव जल्यो। बुटको झिरिपझिरिप संगीतमा पुलिस मुसहर गाउँ पसे। गाउँले भागाभाग भए।
‘कसले मार्‍यो, बूढो मुसहरलाई ? शव कसले गायब पार्‍यो ? र, जलायो कसले ? ’उत्तर गर्भमै रहे।
‘पाँच हजारले हत्या सामसुम पारियो,’ आफू सात/आठ वर्षको हुँदाखेरिको घटना स्मरण गर्दै अरुणले भने।
किन भागे गाउँले ? जिज्ञासा मेटाउँदै उनका पिताले भने, ‘कोही बोले पुलिसले समात्छ। त्यसैले गाउँले भागे।’
पुलिसको त्यत्रो तागत ! उनको मनमा ‘पुलिस’ रसायो। उनको बालामनले भन्यो, ‘बा, म पुलिस बन्छु।’
बाले पुलुक्क छोराको अनुहार हेरे। त्यसपछि आफ्नो मुहार छामे। तत्काल उनको अनुहारले रङ बदल्यो। र, बर्खेझरी झर्दाझर्दै असिना खसेजसरी साँवा अक्षर छिचोलेको बा–मनबाट बोली खस्यो, ‘पुलिस बन्न त पढ्न पर्छ।’
‘पढ्न पर्छ ? ’
‘हो त।’
‘उसो भए पढ्छु।’
‘कसरी पढ्छस ? ’
‘स्कुल गएर।’
‘कसरी जान्छस् ? ’
‘हिँडेर।’
अरुण पिता छक्क परे।
सोचे/सम्झेजस्तो ‘स्कुल जान’ कहाँ सजिलो थियो र ? मुसहर जटिलता अरुण पिताले मात्र बुझ्थे।
मकैबारीमा लडेका बूढो शव उनकै माइला बाजेको थियो।
०००
पुलिस सपनाले उकालिएको अरुणको लेखपढ औपचारिक पढाइ बीएडमा पुग्यो।
घटना १. वनको पुछारमा उभिएको एउटा झुप्रो। झुप्रोभित्र बच्चासहित तीनदिने सुत्केरी। पुलिस पुगे। सुत्केरी आमा र बच्चालाई झुप्रोभित्र थुने। त्यसपछि झुप्रोमा आगो झोसे। कसुर थियो, सामुदायिक वनभित्र घर बनाउनु। घटना थियो, १२ वर्षअघि पूर्वी मधेस सिरहा गोविन्दुपरस्थित ढोर्ना टोरिगना।
घटना २. पाहुना आएकी प्रतिभानामक एक मधेसी दलित युवतीले इनार छोइन्। सजाय दिन गाउँ ठालु बैठक बस्यो। बैठकले निष्कर्ष निकाल्यो, ‘दोषी’लाई इनारमा डुबाउने।
प्रतिभा बचाउन पुलिस गुहारे। पुलिसले सुनेन। अरुण मनबाट यी दुई घटनाले पुलिसलाई यति खतरनाक पाराले लखेटे कि, पुलिस सपना नै कहिल्यै नफर्कने गरी बेपत्ता भयो।
नाउँमा माटो नभएका मुसहर बास कतिखेर उठाइने हो रु ठेगान हुन्न। काम हुँदा जिम्दारले मुसहरलाई राख्छन् त सकिएपछि ९प्रायः० मुसहर बास उठाइन्छ। यस्तो ‘जिम्दार चलन’ले मुसहर मन र बस्ती हरदम पीर सिलौटोमा पिसिन्छ। फलस्वरूप सुन्न–जान्नलायक आकारको सपना मुसहरले कहिल्यै सजाउन पाउँदैनन्।
माटोमा मुस्कुराउने मुसहर मुस्कान
मुसहर्नियाली मुसहर ५५ घरधुरी छन्। जसमध्ये दुई परिवार अन्य मुसहरभन्दा भिन्न अनुहारका छन्। कारण, ती दुई परिवारको आफ्नै नाउँमा माटो छ। आफ्नो नाउँमा माटो हुँदा/नहुँदा के फरक पर्छ र ? तर, मुसहरलाई आङको ताङ फरक पर्छ।
नाउँमा माटो नभएका मुसहर बास कतिखेर उठाइने हो ? ठेगान हुन्न। कसरी ? काम हुँदा जिम्दारले मुसहरलाई राख्छन् त सकिएपछि (प्रायः) मुसहर बास उठाइन्छ। यस्तो ‘जिम्दार चलन’ले मुसहर मन र बस्ती हरदम पीर सिलौटोमा पिसिन्छ। फलस्वरूप सुन्न–जान्नलायक आकारको सपना मुसहरले कहिल्यै सजाउन पाउँदैनन्।
किन ?
डर।
डर उठिबासको।
जग्गा भाउ उकालिन थालेपछि अचेल मुसहर उठिबास ‘डर’ दिन दुगुना र रात चौगुना बढ्दो छ। त्यसैमाथि नेताका डोजर गाउँ पसेपछि मुसहरले पाउने माटो काम पनि ‘एम्बुस’मा परेको छ। मुसहरले गर्ने काम जति डोजरले गरेपछि के काम पाउनु मुसहरले ?
‘मधेसमा लु या शीतलहरको याममा पनि कोही पोखरी खनिरहेका या खाल्डो पुरिरहेका तपार्इंले १० जना भेट्नुभयो भने सात त मुसहर हुन्छन्। शीतलहर या लुले मधेसमा १० जना मरे भनी सञ्चारमाध्यमले फुक्ने नाममा आठ त मुसहर नै हुन्छन्,’ लु र शीतलहरले भन्दा पनि गरिबीले कसरी मुसहर मर्छन् भन्ने तथ्य अरुणले सुनाए।
‘मुसहरले एकदमै न्यून ज्यालामा काम गर्छन्।’
शिक्षाको घाम देख्न पाएका छैनन् मुसहरले। त्यसैले तिनका हातमा प्राविधिक सीप छैन। फलस्वरूप थोरै मूल्यमा श्रम बेच्छन्। भारतका पञ्जाब र दिल्लीजस्ता सहर पस्छन्। काठमाडौंका इँटाभट्टा पुग्छन्। अरुणको पाँचथरी टोलबाट १० जना त अरब पनि उडेका छन्।
मधेस नछाडेका मुसहर खेत खन्छन्। धान रोप्छन्। धान काट्छन्। धान दाउँछन्। जिम्दारका बारी जोत्छन्। खाल्डो पुर्छन्। पोखरी खन्छन्। दाउरा बेच्छन्। घर बनाउँछन्। इँटा बनाउँछन्।
तर, जताबाट जसरी घुमाए पनि मुसहर मन माटोमै पुग्छ। मुसहर मुस्कान माटोमै मुस्कुराउँदै मौलाउँछ। जसले गर्दा माटो मोहले मुसहर माटोलाई पुज्छन्। ‘सबरी संकल्प’ समाजको नाउँबाट मुसहरले आठ बर्षयता ‘माटो दिवस’ मनाउँछन्। दिवसमा पुर्खालाई सम्झन्छन्। मुसहर संस्कृति र कला देखाउँछन्। माटो र मुसहर सम्बन्ध केलाउँछन्। मुसहर माटो छलफल गर्छन्।
मधेस गुल्जार बनाउने मुसहरको नै माटो आफ्नो छैन। नेपालको कानुनअनुसार कसरी लालपुर्जा जति पटवारी र जिम्दार हातमा सीमित भयो त ? माटो दिवसमा मुसहर विमर्श गर्छन्। छुवाछूत र विभेदविरुद्ध संघर्ष गर्ने संकल्प पनि गर्छन्।
मुसहर र माटोलाई अलग गर्न नमिले पनि माटो मायालु मुसहर नाउँमा भने माटो छैन। माटो मायामा मरिमेट्ने र माटोबिना नमौलिने मुसहरकै आफ्नो नाउँमा माटो छैन। तर, माटो र श्रमलाई हेला गर्ने जिम्दार, जग्गा दलाल, सामन्त, चोर, फटाहा, शोषक, नेता, प्रशासकका नाउँमा कसरी माटो नै माटो भयो ?
०००
अरुणकी जेठी दिदी सुत्केरी भइन्। खानेकुरा थिएन। ‘सुत्केरी भोक’ले मरिन्। त्यसबेला अरुण ८ कक्षामा थिए। २०७१ मा अरुणपत्नी हीरा मिजार इनार छोएको निहुँमा कुटिइन्।
गरिबी र भोकले उनकी दिदीजस्तै थुप्रै मुसहर ज्यान गएको देखे, अरुणले। उनले भोगेको र देखेको गरिबीसँगै विभेद र अपमान पहाड त झनै अग्लो थियो। जान्नेहरूले भन्छन्– असमानता, जातीय विभेद, गरिबी, सामाजिक बञ्चितीकरणको असली अनुहार मुसहरभन्दा अर्को छैन।
तीता अनुभव र अनुभूति तलासँगै अरुण उमेर पनि बढ्यो। सामाजिक न्यायको बाटोमा हिँड्न भोगेका अपमान, अवहेलना र उत्पीडनले उनलाई घच्घच्याए। उत्पीडन र विभेदविरुद्ध लाग्न झक्झकाए।
त्यसपछि माटो मोहमा मोहित मुसहरलाई माटो अधिकार दिलाउन अरुणले मन्थन थाले। मुसहर मुस्किलमा मुछिनुका कारण पहिल्याउन प्रयास गरे। र, स्थायी बसोबास नहुनुलाई मुसहरको मुख्य दुःख देखे। पत्ता लगाए कि, सदा (मुसहर) समुदायको कुल जनसंख्यामा मात्र ०.२ प्रतिशतसँग माटो स्वामित्व छ, जब कि माटोबिना मुसहर मन मुस्कुराउँदैन।
माटो नहुँदा मुसहर नागरिकता बनाउन मुस्किल छ। समयले मुसहरमा चेत–मसला थप्न थालेको छ भने शिक्षा र स्वास्थ्यमा मुसहर बामे सर्न थालेका छन्। तर, कहाँनेर १२ बज्यो त ? बजेको छ, मुसहर माटो स्वामित्वमा।
माटो जरुरी छ या अनिवार्य, मान्छेको जातलाई ? किन मरिमेटेका हुन्, मुसहर माटोको लागि ? के आफ्नै माटो जरुरी छ/अनिवार्य छ ?
‘आकाशमा उड्ने चरीलाई त गुँड चाहिन्छ भने हामी त मान्छे हौं। मान्छेलाई घर त चाहियो नि। घर बनाउनलाई आफ्नो माटो चाहियो,’ मुसहर भूमिअधिकारसम्बन्धी लडाइँको मैदानमा युद्धरत अरुणले भने। अरुणको ठहर छ कि, जग्गा भए मुसहर जीवनशैली र जीविकोपार्जन सहज हुन्थ्यो। किनकि, मुसहरसित अन्य पेसा गर्न पढाइलेखाइ छैन।
एक कट्ठा जग्गा किन्न अरबमा पाँच वर्ष बस्नुपर्छ। र, सबै मुसहर यसरी पैसाको पखेटा लगाएर अरब उड्न पनि सक्तैनन्। जीविकोपार्जनको नभई नहुने माटो आफ्नो नाउँमा पार्ने हैसियत मुसहरसँग छैन। जोबिना जसको जीवन जिइँदैन, उही जिनिस आफ्नो नहुँदा कति जटिल होला जिन्दगी ?
राजनीतिक परिवर्तनपछि त केही त फेरिएला नि भन्ने आसमा मुसहर आँखा वर्षौंदेखि बाटो हेर्दा/हेर्दा थाकेर अचेल त पहेँलिएका छन्। के आउने मुसहर दिन पनि यसैगरी पर्खेरै बित्लान् त ?
‘कम्तीमा दुई कट्ठा चाहिन्छ, एउटा मुसहर परिवारलाई,’ अरुणले भने, ‘बस्तुभाउ पनि पाल्छन्। खेती पनि गर्छन्।’
माटो मागेर नै होला त ?      
‘अहिले जति पनि जिम्दार बसेका छन्, ती सबका सब गुल्जार त मुसहरले नै गराएका हुन्,’ कसरी मुसहर सुकुमबासी भए त भन्ने व्याख्या गर्दै अरुणले भने, ‘लालपुर्जाचाहिँ जिम्दार र पटवारीले लिए। सरकार, सेना, पुलिस सबथोक नै तिनकै थियो त कसरी पाउनु मुसहरले ? त्यसपछि गुल्जार बनाउने भूमिपति मुसहर भूमिहीन भए।’
मुसहर्नियास्थित मुसहर समाजमा अरुण नै सबैभन्दा बढी पढेका व्यक्ति हुन्। उनकी बहिनी शान्तिले पनि स्नातक गर्दैछिन् भने पत्नीले एसएलसी। बाँकी मुसहरका औपचारिक शिक्षा ९/१० कक्षामै बिट मारिएका छन्।
अहिलेसम्म कुनै मुसहर सरकारी जागिरमा छैनन्। छैनन्, बन्दुक बोक्ने सेना र पुलिस पनि।
०००
नेपालमा सरकार छ। श्री ५ होस् वा श्री ३ वा अहिलेको श्री १। सेना छ। पुलिस छ। न्यायालय छ। प्रशासन छ। सञ्चारमाध्यम छन्। तर, आजको मितिसम्म मुसहरको ‘आफ्नो’ भन्ने कोही छैन। न सरकार छ आफ्नो न अरू नै। चुपचाप मुसहर चुपचाप मृत्युवरण गर्नेक्रम जारी छ, कागतमा ‘समाजवाद उन्मुख गणतन्त्रात्मक नेपाल’ भएपछि पनि।
यसरी कहिलेसम्म चुपचाप मृत्युवरण गर्छ, मुसहर ? अन्तिम सास जाने बेलामा त मान्छेले हातगोडा तान्छ भन्छन्। र, यसरी हातगोडा तन्काउँदा (थोरै सही) वरपर हलचल आउँछ भन्छन्।
के मुसहर माटो माग्दै, माटो मायामै यसरी ढल्दाखेरि हलचल आउने होइन ? आउँछ नै भने पनि आउला कुनै दिन भनी पर्खने कहिलेसम्म हो ?

No comments:

Post a Comment