Tuesday, April 9, 2019

राडीजिउले रातो कामी

राडीजिउले रातो कामी
author-image
नवीन विभास
फुर्सद
 ०५ साउन २०७५ ०७:२८:००
  • change font
  • change font
  • change font

कुइनेटो

‘यखो खाप्चो (मुख) नि पाटिन्न ? एकसोरे बोल्या बोल्यै,’ खरछाने दुब्लो घरको पेटीमा बसेर कल्साउरी (साठी नजिककी) आमैले ‘माइक आवाज’प्रति फेरि प्रतिक्रिया जनाइन्।

‘हेर्न पनि गएको पनि छैन। दुई सय ५० लाग्छ भन्चन्। दाँत फुक्ले पछि जाने !’
छिनमै थाहा भयो, जारी राडीजिउला महोत्सवमा नाच हेर्न र गीत सुन्नलाई दुई सय ५० रुपैयाँ लाग्छ। माइकबाट गीत पुगेको उनको घर र महोत्सवस्थलबीच यस्तै दुई सय मिटर हुँदो हो।
लागेछ कि कोही निरन्तर बोलिरहेछ/गाइरहेछ। त्यसैले ‘किन थाक्दैन’ भनेर भुनभुनाएकी रहिछन्।
ती आमै बसेको घर राडीजिउला बजारको पल्लोछेउमा थियो। उनको घर छेवैबाट ठूलीभेरी सुसाउँदै सानीभेरी भेट्न रिम्नातिर लाग्दैथियो।के सम्झेर कुन्नि ? डोकोबाट चोयाको सानो टुक्रा हातमा लिइन्, सिन्का बनाएर दाँत कोट्याइन्। एकछिन बायाँ हातले छाता ओढाउँदै चिमचिम गरिन्। त्यसपछि माइकको आवाज आएतिर नजर फालिन्।
यस्तै सवा मिनेट भएको हुँदो हो, उनले उही छाता बनाएको हात चिउँदो अड्याउने खाँबो बनाइन् र फेरि माइक बजेको तिर हेरिन्।
आमैले कालो मखमल चोलो र हरियो भुइँमा छिर्बिरे बुट्टावाल साडीलाई गुन्यू बनाएकी थिइन् र गुन्यूलाई धराले बाँधेकी थिइन्।
पसिने साउने मूल बेला न कुबेला आमा–अनुहारमा रसाउँथ्यो र पाँच फिट जति अग्ली ती आमैले जाँगर नलाई नलाई हातैले पसिना पुछ्थिन्।
कुनै बेला पसल थापेजस्तो त्यस घरको छानोले पेटीको आधा भाग पनि छाया पारेको थिएन। तैपनि दुई महिला पेटीमा बसी पारि मञ्चबाट झरेका गीत सुन्न कान थाप्दै थिए।
सुखदुखका दुई चार वाक्य हाम्रामाझ झरेपछि थाहा भयो, ती दुई महिला आमाछोरी हुन्।
माइती गाउँ, पति र राडीजिउलाबारे उनका कुरा सुनेपछि आमैलाई नाम सोधेँ।
‘था पान्नँ,’ ती आमैले भनिन्।
‘पछि भुलेको हो कि पहिलेदेखि नै थाहा छैन,’ ठट्टा गर्दै सोधेँ।
‘पहिलेदेखि नै।’
छोटो उत्तर दिँदै छोरीलाई पुलुक्क हेरिन्। त्यसपछि सम्झेझैं गरी आँखा तर्दै स्वरको भोलुम पनि बढाइन्, ‘क्यान दिने नाम ? बिना कामै ! बलै !’
त्यसबेला रिसले उनका नाकका पोरा पनि फुलेका थिए। अनुमान लाउन सकिन्थ्यो कि ठूलीभेरी बगेको हेर्ने निहुँले उनका दुःख कोट्याउन सरकारी र गैरसरकारी मान्छे आइरहन्छन्। तर, उनको जीवनमा कुनै बदलाव आएको छैन।
०००
वैशाखे गर्मी। त्यसमाथि ‘स्थानीय चुनाव टिकट’ ताप थपिएर राडीजिउला छुनुमान थिएन। रातो कामी उर्फ कमरेड आर्टीलाई गैरदलित ‘माओवादी कमरेड’हरूले नस्विकार्ने भन्दै ‘मेयर’ टिकट नदिएपछि राडीजिउला यसै तातो थियो नै।
राडीजिउला सानैमा हो, सुनेको तर गीतमा।
रोल्पा–रुकुममा फुल्ने लोकगीतका गेडामा राडीजिउला आक्कलझुक्कल झुन्डिन्थ्यो।
घोराहीमा रुकुमेली गंगा बीसी दम्पती, दीर्घ विक, खम्बु चन्द र शशिराम ओलीसहितको दल मेरा साथी थिए। तीमध्ये ओली सबैभन्दा रसिला थिए। उनले गाउने सिंगारुमा कहीँ न कहीँबाट राडीजिउला टुप्लुकिन्थ्यो।
रुकुमस्थित सिम्लीमा मास्टरी गर्ने ओलीले एकदिन फेरि सिंगारु गीतकोे गेडामा राडीजिउला मेसेन्जरमा पठाएः
रमाई रमाई घुम्न जाउँला आठबीस राडीचौर
उराई लैजा उरान्याए साइँ (प्रेमी/प्रेमिका) बसने ठउर
आठबीसकोट रमाइलाग्दो जिउलीभरि धान
जिन्दगीमा धोका नपाऊ, मैले भन्या मान
गीतमा सुनेको राडीजिउलालाई र पढेको राडीजिउलालाई गएको वैशाखमा प्रत्यक्ष भेट्दा मन यसै फुलेको थियो।
डोल्पा भएर राडीजिउला पुगेको ठूलीभेरीले दुई कोतलाई वारिपारि राखेर बग्दैथियो। ती थिए, रुकुमको आठबीसकोट र जाजरकोटको खगेनकोट।
बालीनाली सप्रनेसम्म ठाउँलाई रोल्पा–रुकुमतिर जिउला भन्थे। गिजागाड र ठूलीभेरीको काखमा बसेको यो जिउलामा जुम्ली आउँथे र तिनले भेडा ऊनले बुनेका राडी बेच्थे।
बूढापाकाले भन्थे, ‘जुम्लीले राडी बेच्ने जिउला भन्दाभन्दै जिउला नै राडीजिउला भयो।’
राडीजिउला आसपासका रुकुम, जाजरकोट र डोल्पालीका राडीजिउला मुख्य व्यापारिक केन्द्र हो। वारिपारि ठिंग उभिएका पहाडले जिउलालाई पहरा दिएका थिए।२३ वर्षअघि राडीजिउलाचाहिँ लोकगीतको थुंगाबाट नेपालको राजनीतिमा पनि पुग्यो। कारण थियो, २०५२ फागुन १ गते माओवादीले जनयुद्ध थाल्दा आक्रमण गरेका रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलीगढीसहित राडीजिउला पुलिसचौकी पनि एक थियो।
०००
आमाछोरी बसेको घरबाट अलि पर देखिन्थे, एउटै अनुहारे १० वटा घर। (बाँकी बादीका त बास पनि थिएन।) हरियो टिनले छाएका ससाना एकतले घर।
त्यो थियो, बादीको सरकारी बास।
तिनलाई पनि गाँस, कपास र आसको जगजगी भने उस्तै थियो। घटेको टन्टा एउटै थियो। त्यो थियो, बास।
बारीविहीन राडीजिउले बादी गुजारा चलाउन जाल बुन्थे, मादल बनाउँथे। र, भेरीमा माछा मार्थे। अधिकांश बादीको जीविका अहिले पनि भेरीकै माछामा बल्झेको थियो।
१८ बादी युवा अरब उडेका थिए।
राडीजिउला नजिकै खदी र आठबीसकोटमा राजा थिए। तिनका परिवारजन र नातेदार कि नेपालगन्ज झरेका थिए कि त काठमाडौं।
२५० रुपैयाँ भए आमाछोरी काठमाडौंली कलाकार नाच र गीत हेर्न जान्थे कि ?      
यो खसखसचाहिँ नसुनेका आमाछोरीका नामसित उराले गएको थियो।
बादी बस्ती मास्तिर दुईचार दुकानजस्ता देखिन्थे, ती बन्द थिए। बन्द घरका पेटीमा कुम्लोकुटुरा बिसाएर दुई महिला थकाइ मारिरहेका थिए।
एउटीले हरियो टी–सर्ट लगाएकी थिइन् भने अर्कीले कलेजी रङको कुर्ता–सुरुवाल। गहुँगोरी तिनीहरू यस्तै ३५ वरपरका देखिन्थे।
आठबीसडाँडाको गोइरी नामक गाउँबाट ती दुई चेली दुई घन्टा पैदल हिँडेर तोरी पेल्न राडीजिउला ओर्लेका थिए।
‘सुक्खा–ताँती छ। मूल सुके। अहिले त खोलामा किम्ला (कमिला) हर्छन्,’ पानी नपरेकाले यसपालि तोरी नफलेको दुःखद् समाचार सुनाउँदै तिनले सञ्चोबेसञ्चो बिसाए।
पहिलेपहिले कालापार (भारत) जाने गाउँले जति अरब उडेका थिए त बचेकाले पनि पखेटा लाउन काठमाडौं पुगेका।
गोइरीकी कौशिला अग्री उर्फ कमरेड चुनौती कलिलैमा मारिएकी थिइन्। भालुबाङ आक्रमणमा ‘सहिद’ भएकी दलित कमरेडका जेठा दाजु र भाउजू दुवैजना उपचार खर्च जुटाउन नसकी हैरान थिए।
दलित बस्ती। दलितका ठूलो संख्या। हो, ती महिलाकै गाउँले थिए, रातो कामी उर्फ कमरेड आर्टी। त्यस वरपरको माओवादी नेता।
गणतन्त्रको घाम गाउँमा नपुग्दा तिनका अनुहार जमरा भएको थियो। ती त पर्खंदापर्खंदा हैरान थिए।
‘नइ नाउँ त दिन्नँ। कइन फकाइकन मार्ने हुन् कि,’ अघिल्ला आमाछोरीले जसरी ती दुई महिलाले नि नाम भनेनन्।
‘नाम फुकेर के भएको छ र,’ कुर्ता सुरुवालवालीले भनिन्, ‘हाँसीहाँसी लेखिकन धुरुधुरु रुन लगाउनलाई होला नि, नाम खोजेको।’
तिनका बोलीमा गुनासो थियो। आक्रोश थियो। रिस थियो। र, बदलाभाव पनि।
काठमाडौं र सरकारप्रतिको रिसको मात्रा बढ्दै थियो वा घट्दै ?      
तिनका अनुहार हेरेर अनुमान लाउन मुस्किल थिएन।
०००
ठूलीभेरी पुलतिर लाग्दा ठूलो काँटीको एउटा घर र त्यसको छेउमा ससाना घर भेटिए। ठूलो घरछेवैमा थियो, तन्नरिन थालेको आँपको बोट। बोटसित अडेसिएको थियो, धारो। आँपको छायाँमा बसी केही थान महिला शीत्तल हावा पर्खिरहेका थिए।
मौसम र चुनावका प्रसंग झरेपछि थाहा भयो, कांग्रेस मेयर दाबेदार धीरेन्द्र बटालाको घर हो त्यो।
आँप बोटमुनि बसेका महिलामध्ये एक थिइन्, धीरेन्द्रपत्नी नरकुमारी बटाला (४२)। र, अर्की थिइन्, बटालाकी जेठी छोरी रमिता कुसी। रमिता पति केही समयअघि मात्र अमेरिका पुगेका थिए। ट्रम्पले फर्काउला कि भन्ने चिन्तामा थिए।
बटाला परिवारले ११ वर्षे विस्थापित जीवन खलंगा र नेपालगन्जमा बिताएको थियो। शान्ति प्रक्रियापछि बनाएको त्यो घरमा एक वर्ष अघिमात्र फर्केका थिए।
गहुँगोरो अनुहार र मोटोघाटो जिउकी श्रीमती बटालाको मनमा माओवादीप्रतिको आक्रोश–मात्रा थोरै पनि घटेको थिएन।
‘फागुन १ गते पुलिसचौकी हाने, पसल लुटे। सामान जति भेरीमा बगाए। तल रिम्नासम्म पनि कपडा उतारे रे,’ नरकुमारीले जेठाजु लोकेन्द्रलाई पनि मारेको घटना सुनाएर विस्थापित हुँदाका दर्द पनि थपिन्।
‘हाम्रो घर जलाउने बेला कोही माओवादीको पछि लागे त कोही डरले भागे। कोही रहरले लागे त कोही करले। पछि त ढुंगामाटो नै माओवादी भए। हामी भने अहिलेसम्म नै कांगे्रस छाडेका छैनौं।’
पुलिसचौकी बसेको घर उनको जेठाजु लोकेन्द्र बटालाको थियो।धीरेन्द्र उनै लोकेन्द्रका भाइ थिए। र, यसपालि आठबीसकोट नगरपालिका मेयर उम्मेदवार बन्दैथिए।
धीरेन्द्रको घरबाट यस्तै सय मिटर पर देखिन्थ्यो, भेरी पुल र त्यसबेला माओवादीले हानेको पुलिसचौकी रहेको ठाउँ।
०००
ठूलीभेरी पुलमा पुग्दा बटुवा र भरिया ओहोरदोहोर बाक्लिँदै थियो भने वारिपारि ठडिएका पुलको खम्बामा राखिएका माओवादी र कांग्रेसी झन्डा अल्छी गरी हल्लदैथिए। र, पुलनेर नै भेटिएका थिए, तिलक बादी (२७)। उनी एकमात्र पुरुष भरिया थिए भने बाँकी महिला। भरिया कोही जाजरकोटका थिए त कोही रुकुमका। अधिकांश भने राडीजिउलाका स्थानीय।
छुवाछूतसहितका सामाजिक विभेद गणतन्त्रपछि पनि गाउँमा तन्नेरिन थालेका थिए। यथास्थितिबाट पनि समाजलाई पछिल्तिर धकेल्ने बासी चलन हराउला भन्दा झन् हल्कन थालेको देखेर तिलकको बादी अनुहार मलिनिँदै थियो। पुलको लहरा गाडिएको ठाउँनेरको मञ्चजस्तोमा बसी बादीले कहेका राडीजिउले अनुभव र अनुभूति त झन् कहाँ सम्झिसक्नु नि !
राडीजिउलाबाट नै थालिएको थियो, १० वर्ष लामो जनयुद्ध। तर पुष्पकमल दाहाल र बाबुराम भट्टराईका जसरी राडीजिउलाको आङमा परिवर्तनको घाम लागेको थिएन।
सम्झे जसरी उनले दाँया हातको औंलाले देखाउँदै भने, ‘त्यहीनेर त हो रे, माओवादीले हानेको।’
त्यसबेला पुलिसचौकी बसेनेर सेतो टिनले छाएको लामो घर थियो।
त्यै घर थियो बटालाको वा अर्को थियो वा बेचे वा भत्क्यो र अर्को बनाए ? थाहा भएन। तर, घरचाहिँ तन्नेरी थिएन।
लामो न लामो त्यो घरमा पसल नै पसल थिए।
लामो घरभन्दा अलि पर गेरु लगाएको घर थियो। र, झन् पर भेरीतिर फर्केको हरियो घर।
त्यही लामो घरलाई छोएर पुलसम्म बाटो पुगेको थियो।
पुलनेरको चहलपहल पुलिसचौकीसँगै मास्तिर उक्लेको थियो।
बादीलाई सुन्दै मञ्चजस्तोमा एकपालि उभिएँ।
त्यसपछि ?      
पुलको उही मञ्चजस्तोमा उभिए, गणेशमान पुन उर्फ कमरेड रश्मी। राडीजिउला आक्रमणका कमाण्डर।
त्यसपछि पुनःकथा आँखामा ‘रि प्ले’ भएः
पुल तर्नअघि पाइला राख्ने वरपर मञ्चजस्तो भाग। त्यसको दुई/चार मिटरको दूरीमा पुलिसचौकी। एक तलामाथि कैदी राख्ने ठाउँ र पुलिस निवास।
काँधमा भरुवा बन्दुक तेर्साएर उभिएका पुन। र, उनका वरपर बडीगार्ड।
आक्रमण नाउँ थियो, अपरेसन कमान (कमानसिंह बुढामगर)।
पुनको काँधमा तेर्सिएको त्यै बन्दुक थियो, लडाइँको मुख्य हतियार। जुन बन्दुक लोेकेन्द्र विष्टमगरको थियो। विष्ट भने जेलमा थिए।
रुकुमको चुनबाङ गाविस अध्यक्ष टेकबहादुर बुढामगरले विष्टलाई बिहेमा दिएको उपहार थियो, त्यो बन्दुक।
पुरै टिमसित जम्मा दुईवटा कटुवा पेस्तोल थिए। तर, एउटा चाहिँ नपड्कने। दुई/तीनवटा भरुवा बन्दुक थिए। र, बाँकी खुकुरी।
पुलको मञ्चजस्तोमा उभिएका पुनको कासन झरेथ्योः
राजतन्त्रात्मक संसदीय व्यवस्था फाली दुःखी–गरिब हाँसीखुसी बाँच्न पाउने गणतन्त्रात्मक व्यवस्था ल्याउन नेपालमा जनयुद्ध सुरु गरेका छौं।
प्रहरी दाजुभाइहरू, तपाईंहरूसित हाम्रो दुश्मनी छैन। दुश्मनी छ त राज्यसत्तासित। त्यसैले, हामीलाई हतियार बुझाएर सहयोग गर्नुस्।
कासन सकिनेबित्तिकै पुनको आदेश झरेको थियोः रेडी, गो, अट्याक अपरेसन कमान।
‘कमान’ शब्द झर्नेबित्तिकै पुलिसचौकीको ढोका फुट्यो। कमान्डर आदेश कुरेका लडाकु ढोका फोर्न झप्पल र घनका साथ तम्तयार थिए।
पुलिसचौकी क्षतिबिना नै कब्जा भयो। तर, हतियार ?      
संयोग ! असई स्टाफ मिटिङमा मुसीकोट थिए। हतियार जति पनि उनकै साथमा थिए। त्यसबेला असईसित रिभल्बर हुन्थ्यो। माओवादीसित सूचना थियो, पुलिचौकीमा थ्री नट थ्री र एउटा रिबल्बर छ।
११ जना दरबन्दी रहेको पुलिसचौकीमा ८/९ जना भेटिए। तिनलाई माओवादीले थुने। थुनुवा पुलिसलाई कमान्डर पुनले प्रशिक्षण दिए।
त्यसपछि ?      
तिनलाई कोठाभित्रै ताल्चा मारेर माओवादी टोली हिँड्यो।
माओवादीले डाइनामेट, डेटोनेटर, पुलिसका कागजात र सरकारी डे«स लिए। कागजात जति जलाए।
पुलिसचौकीसँगै रहेको स्थानीय कांग्रेस नेता बटालाको पसलका कपडा भेरीमा बगाए। माओवादीले केही कपडा साथमा लिएर हिँडे।
०००
राडीजिउले पुलिचौकीलाई माओवादीले छान्नुका पाँच कारण थिए :
एक, सरकार अलर्ट नभएकाले सर्पराइज दिन।
दुई, पुलिसको निशाना नभएकाले क्षति कम गर्न।
तीन, आठबीसकोट (मुसीकोट, रुकुमकोटजस्तै) भुरे–टाकुरे राजा बसेकाले फरक ‘मेसेज’ दिन।
चार, भौगोलिक हिसाबले सजिलो।
पाँच, माओवादी तारो स्थानीय कांग्रेस नेता लोकेन्द्र बटालाको घरमा पुलिसचौकी।
राडीजिउला आक्रमणका कमान्डर पुन थिए भने कमिसार हेमन्तप्रकाश ओलीउर्फ कमरेड सुदर्शन। ओली दुई सेल्टरअघि अर्थात् दुलीबाट फर्केका थिए। ओली अहिले विप्लव माओवादी स्थायी समिति सदस्य छन्।
राडीजिउला आक्रमणमा रुकुम, जाजरकोट र डोल्पाका गरी ४१ जना थिए। कीर्तिमान पुनको कमान्डमा रहेको सल्यानी टिम भने समयमा पुग्न सकेन।
त्यो सैन्य दस्तालाई ‘लडाकु दल’ नाम दिइएको थियो।
रुकुमबाट पुन पत्नी कमला रोका मगरसहित लालकुमारी रोकामगर उर्फ कमरेड आँधी र जनार्दन शर्माकी बहिनी नारायणी गरी तीन महिला सामेल थिए।
त्यो लडाकु दलसित आक्रमण गर्ने जोसमात्र थियो।
अब के गर्ने त ?      
कमान्डर पुनले माओका सैन्य रचनासहित पेरुको साइनिङ पाथले ‘कसरी ससाना बजार कब्जा गरे’ भन्ने बारेका सानाठूला सामग्री फेरि दोहोर्‍याए।
पुनले त जनयुद्ध थाल्नुअघि माओवादी अध्यक्ष प्रचण्डले दिएको बम बनाउने तालिमसमेत छुटाएका थिए।
पुनले गाउँमा पूर्वभारतीय/ब्रिटिस लाहुरेलाई भेटे। मागेअनुसार ती लाहुरेले उनलाई बुटी पनि दिए। तर, बुटीले काम गर्नलाई भने माओवादीसित हतियार नै थिएन।
जोसमात्र नै सही, कमान्डर पुनले रामबहादुर थापाउर्फ कमरेड बादल र कमिसार सुदर्शनको उपस्थितिमा लडाकु दललाई पाँच भाग लगाए।
त्यसपछि ?      
राडीजिउला पुलिसचौकी आक्रमण गरे।
तिलक जुरुक्क उठ्दा पो झल्यास्सिएँ। पुलको मञ्चजस्तो भागमा त कमान्डर पुन थिएनन्। तिलक बादी थिए। र, वरपर हिँडिरहेका बटुवा र भरिया।
दुईचार पालि ओहोरदोहोर गरेपछि तिलकले पुलको माझबाट भेरीमा नजर फाले। त्यसबेला पनि भेरी उसैगरी सुसाइरहेको थियो।
त्यसपछि उनले खाजा खाइरहेका महिला भरियाकहाँ लगे। र, एउटी अधबैंसे महिलालाई प्रेम–चोलासहित आफूलाई पनि भेरीमा लीन गराएको राडीजिउले चेली–कथा सुनाउन भने।
भरिया महिला ती चेलीका छिमेकी–आफन्त थिइन्।
कुरा थियो, २०६२ तिरको। गाउँगाउँबाट पुलिसचौकी उठ्न थालेका थिए। राडीजिउला पुलिसचौकी पनि उठ्ने भयो। यो कुरा एक कान दोकान हुँदै ती चेलीकहाँ पनि पुग्यो। राडीजिउला पुलिसचौकीमा कार्यरत एक पुलिससित ती चेलीको प्रेम थियो।
चेली– जहाँ जान्छौं मलाई नि लग। म तिमीबिना बाँच्न सक्तिनँ।
पुलिस प्रेमी– म हेली (हेलिकप्टर) मा जान्छु, तिमी हिँडेर आऊ।
७/८ कक्षामा पढ्ने चेली एक्लै हिँडेर कहाँ जाऊन् ! तिनका लागि जाने ठाउँ र हिँड्ने बाटो दुबै अनचिनार थिए।
द्वन्द्वकालीन पुलिस–तर्कमा पनि थोरतिनो दम थियो। कारण, पुलिस आफ्नी प्रेमिकासित हिँडेर जाने सम्भावना कम थियो।
चेली– एक्लै कसरी जान सक्छु र ? तिमी उडेर जाने, के म बगेर जाम् ?      
पुलिस प्रेमी– ...
चेली– म गारमा फाल हाल्छु।
पुलिस– ...
प्रेमीसँग सँगै जाने प्रयास विफल भएपछि ती चेलीले चारैतिर अँध्यारो देखिन्। हिँडेर जाने बाटो देखिनन्। बगेर जाने भेरीमात्र देखिन्।
‘झनचौरेको घरमा तिलहरी छाडिछन्,’ ती महिलाले सम्झदै भनिन्।
त्यसपछि ?      
दिउँसोपख ठूलीभेरी पुलमा पुगिन्।
‘पुलको बीच भागमा पुगेपछि ‘मेरो राजा’ भन्दै भेरीमा हाम फालिन्।’
कथा सुनाउँदा पनि ठूलीभेरी उसैगरी सुसाउँदै थियो भने समय पनि दिउँसोपख थियो।
‘लबर उरे पिलेनमा, लबर्नी बगिन् गारमा।’
द्वन्द्वमा सहिद प्रेमकहानी सुनाउँदा भरिया महिलाका अनुहारमा थप अनौठा तर हृदयविदारक कथा तलमाथि गरिरहेका थिए। ती कथा थिए, द्वन्द्वकालका प्रेम, खुसी, सपना, जीवन, रहर, वियोग, यातना र मृत्युका।
एक दिन ती चेलीका दाजु रोजीरोटीका लागि कारगिल पुगे। तर, कहिल्यै नफर्कने गरी कारगिलमै रहे।
‘द्वन्द्व–भेरी’मा कति प्रेम, जीवन, खुसी र सपना बगे होलान् हँ ?      
०००
२२ वर्षको अन्तरालमा के बदलाव आयो, राडीजिउलाको जीवनमा ? (राडीजिउलाबाट नै त थालिएको थियो, १० वर्ष लामो जनयुद्ध।)
पुष्पकमल दाहाल र बाबुराम भट्टराईका जसरी राडीजिउलाको आङमा परिवर्तनको घाम लागेको थिएन।
पाखा पारिएका समुदाय र गरिबका दिन ल्याउन युद्धमा सामेल राडीजिउला त कालापारबाट अरब पुगेको थियो। र, तिनका परिवारका महिला सदस्य भारी बोकेर घरी ठूलीभेरी पुलपारि पुग्थे त घरी वारि।
र, तिनलाई जिस्क्याउँदै सरकारी ‘समृद्धि गाडी’ चाउचाउ (कमसल), रक्सी (कमसल), म्याद नाघेका बिस्कुट र चामल लिएर तलमाथि गर्दैथिए। समृद्धि गाडीको धुलोमा स्थानीय नेताका डोजर पनि थपिएपछि गाउँका अबोध अनुहार दिनानुदिन अनचिनार हुँदैथिए।
भुरेटाकुरे राजा बसेको आठबीसकोट नगरपालिका ‘मेयर’मा रातो कामीको दाबी र विफलता राज–समाजशास्त्रको जटिलता कति परसम्म होला ? यसैमा अर्को घित्करो पनि रह्यो। त्यो थियो, राडीजिउलाले पर्खेको परिवर्तन रातो कामीहरूलाई मेयर टिकट दिलाउन या दिलाएर जिताउनसम्म पनि हो कि उम्मेदवारी दाबीसम्मलाई मात्र ?

No comments:

Post a Comment