Tuesday, April 9, 2019

पाटन गल्लीमा खिन्से रिम्पोछे


पाटन गल्लीमा खिन्से रिम्पोछे
author-image
नवीन विभास
फुर्सद
 १० कार्तिक २०७५ ११:३४:००
  • change font
  • change font
  • change font

कुइनेटो

भिक्षुजस्ता मान्छे र फिल्मी क्यामेराबीच के थियो साइनो ? र, पाटनका साँघुरा गल्लीमा हूलले के खोज्दैथियो ? त्यसैमा जब्बर जायज जिज्ञासा जरुर थियो– राजतन्त्र र बौद्ध मूल्यले तिनको फिल्मकारिता ‘मनखुसी’ फुल्न दिएको छ त ?

गहुँभन्दा गोरो मंगोल अनुहारका पौने ६ फिटे लाग्ने मान्छेको जिउमा टी–सर्ट, इस्टकोट र गोडामा लामो लुगा थियो। ती सब लुगा ‘एकवर्णे’ गाढा रातो अनुहारका थिए। कसक्क पारी टाउको छोपिएको कपडा चाहिँ हल्का नीलो थियो भने गोडामा खैरो जुत्ता। कम्मरमा सानो काँटीको झोला र वाकीटाकी राता पहरमा चमेरा जसरी तुर्लुंगिएका थिए। झट्ट हेर्दा तिनले ‘कुनै गुम्बाबाट पाटन घुम्न झरेका बौद्ध भिक्षु’ सम्झाउँथे।

उनैलाई पाटनका भित्री साँगुरा गल्लीमा पछ्याउँदै थियो, एउटा हूलले। हूलमा केही अधबैंसे थिए त केही तन्नेरी। केही थान महिला त केही थान पुरुष। त्यसमा केही नेपाली र विदेशी। नेपालको ‘सरकारी समृद्धि’ले ती विदेशीलाई अनुहारमा मास्क पहिर्‍याएर स्वागत गरेको थियो।
विपरीत दिशाबाट आएको अर्को कमिलालाई साइड दिँदा जसरी साँगुरा गल्लीमा हिँड्दाहिँड्दैै हूलका मान्छे घरीघरी टक्क अडिन्थे। त्यसपछि बाटो काट्थे। तिनले भूकम्प घाइते घरलाई ‘टेको’ लगाएका काठसँग कुनैबेला ‘जनयुद्धकालीन माओवादी कमरेड’ले जसरी हात मिलाउँथे भने कुनैबेला गम्लंग अँगालो मार्थे। ठाउँठाउँमा साँघुरा गल्ली यसरी पनि होचिन्थे कि, हिँड्दाहिँड्दै उनीहरू निहुरिन्थे।
थप फिल्मी कुरा थपिएको थियो, हूललाई पछ्याउँदै दौडिरहेको फिल्मी क्यामेरा।
भिक्षुजस्ता मान्छे र फिल्मी क्यामेराबीच के थियो साइनो ?  र, पाटनका साँघुरा गल्लीमा हूलले के खोज्दैथियो ?  त्यसैमा जब्बर जायज जिज्ञासा जरुर थियो– राजतन्त्र र बौद्ध मूल्यले तिनको फिल्मकारिता ‘मनखुसी’ फुल्न दिएको छ त ?

‘बौद्ध मूल्य ‘इन्टेन्सन’मा हुन्छ, ‘एक्सन’मा होइन,’ भुटानी राजतन्त्र र बौद्ध धर्मले ‘मन–चाह’ फिल्म बनाउन दिएको छ कि छैन भन्ने जिज्ञासालाई कूटनीतिक उत्तरले पन्छाउँदै उनी पाटने भित्री गल्लीभित्र पसे। तर, उनलाई प्रश्नले पछ्याउन छाडेन, ‘स्पष्ट भएन, व्याख्या गरिदिनुस्।’
‘टाउको दुखेको छ भने औषधि खानुस्। इन्टेन्सन टाउको दुखाइ ठीक हुनु हो,’ उनले भने।
गल्लीमा फेरि उही प्रश्न झर्‍यो, ‘मन खाएको फिल्म बनाउन पाउनुभएको छ त ?  सिधा उत्तर चाहियो।’
प्रश्नको सीधा जबाफ नदिई उनले पाटनका गल्लीभित्र हिँडाइ गति बढाए।
हूल स्तूपानेर पुग्यो। स्तूपा वरपरको खाली भागमा मान्छे छरिए। ती मान्छेमध्ये अर्ध–पाका लाग्ने एकजनालाई षट्कोण आर्टस्का म्याक्स दीपेश खत्रीले चिनाए, ‘मार्क लि पिङ बिङ ।’
हाइ प्रोफाइल सिनेम्याटोग्राफर ती ताइवानी मार्कले वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि क्यान्स फिल्म फेस्टिभलको ‘ग्रान्ड टेक्निकल प्राइज’ (२०००) पाएथे । उनकै ‘द असासियन’, ‘रेनोयर’, ‘फ्लाइट अफ रेड बलुन’ आदि चर्चित थिए।
तिनै खतरनाक मान्छेसित मिसिएर कहीँ हिँडेका भिक्षुजस्ताको पछि लागेको हूलले के खोज्दै थियो, पाटनका भित्री साँगुरा गल्लीमा ?
‘डाकिनी।’
अंग्रेजीमा ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’। बौद्ध धर्ममा योगिनीजस्तै। 
‘किन खोजेको ? ’
काठमाडौंमा क्याफे चलाउने तिब्बती मूलका एक युवाको ‘जीवन–म्याद’ एक साता मात्र छ। तिनले थाहा पाए कि, उनलाई बचाउने एकमात्र विकल्प डाकिनी हुन्। जादुमयी अद्भुत क्षमता भएकी डाकिनी। उनै डाकिनी खोजमा यो हूल पाटन गल्लीमा पसेको थियो। यसअघि यसैगरी पनौती गल्लीमा खोजेका थिए।
र, खोजीनायक थिए, रिम्पोछे। फिल्म निर्देशक र लेखक– जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) । बौद्ध धर्मबारे प्रवचनमा जस्तै चर्चित थिए, फिल्म निर्देशक र लेखकको रूपमा पनि।
पूर्वी भुटान खेन्पाजोङमा जन्मेका (तिब्बतियन मूलका) रिम्पोछेले भर्खरै ६० को आँगन टेके।
रिम्पोछे र काठमाडौं नाता धेरै पुरानो थियो । उनी काठमाडौंस्थित बौद्धमा पढेथे।
पाटन गल्लीमा डाकिनी खोज्दाखोज्दै उनले दायाँ हातको औंलाले देखाए, ‘नेपाल किन म्याजिकल छ ?  हेर्नु त, यै त हो नि म्याजिक भनेको।’
साँघुरो गल्ली हुँदै भित्र पसेको घरबाहिर सानो भाग पोतिएको ठाउँ देखाएका थिए, जुन भाग रातो माटोले पोतिएको थियो। पोतेको भागमा माटोको सानो प्याला थियो जसमा निभेको बत्ती र तेल बाँकी नै थियो।
‘आजको जमाना विज्ञान र तर्कतिर आकर्षित छ– जेमा पनि प्रमाण खोज्ने। कारण खोज्ने। तर, दुनियाँमा सबैको प्रमाण र कारण हुँदैन। मलाई लाग्छ, तर्क र कारणको दास हुनु जायज होइन । हाम्रो जीवनमा अनेकौं चमत्कार पनि भइरहेका हुन्छन् । जुन कुरा भन्नलाई काठमाडौंजस्तो आध्यात्मिक र सांस्कृतिक सहरभन्दा अर्को कुन ठाउँ उपयुक्त होला र,’ ‘डाकिनी’ पाटन र पनौतीमै खोज्नुका कारण खुलाउँदै रिम्पोछेले भने।
त्यसपछि एकछिन अडिए।
‘म त बुद्धको सेवक हुँ,’ गल्लीमा यताउति हेर्दै उनले थपे, ‘बुद्धको सेवक हुनु नेपालीको हुनु हो।’
०००
एक मानेमा सोच्ने हो भने त अनौठो नै थियो कि, ‘रिम्पोछे दिल’ कसरी बस्यो, फिल्ममा ! र, कसरी कहलिए उनी खतरनाक फिल्ममेकर ? !
‘फिल्मी क्षेत्रमा योजनाबद्ध रूपले आएको हुँ। म बुद्धको जीवनबारे फिल्म बनाउन चाहन्छु। अहिले जे गरिरहेछु ती सबै त्यसैका पूर्वतयारी हुन्। पूर्वाभ्यास हुन्,’ रिम्पोछे फिल्मी यात्रालाई ‘सामान्य’ मान्न आग्रह गर्दै उनले भने, ‘रिम्पोछे कसरी फिल्ममा’ भनेर अनौठो मान्नु नै गलत सोचाइ हो। किन त भने, फिल्म त भाषा हो। माध्यम हो।’
‘फिल्म अभिव्यक्तिको सबैभन्दा शक्तिशाली माध्यम हो । बौद्धहरूले आफ्ना कुरा भन्न जहिले नि माध्यमको प्रयोग गरेका छन्। चित्र र मूर्ति त्यस्तै माध्यम थिए । अहिले माध्यम फिल्म हो भने भोलि अरू नै आउला।’
नोर्बुकृत फिल्ममा उनको ‘पृष्ठभूमि’को प्रभाव कहीँ न कहीँ गज्जबले पथ्र्यो। तर, त्यो प्रभावलाई उनले ‘जानाजान’ नआएको दाबी गरे।
‘जन्मेको एक घन्टादेखि नै ममा बौद्ध संस्कृति भर्न सुरु भयो। र, मेरो मन–मस्तिष्क बौद्ध संस्कृतिले भरियो। त्यसैले मैले जे गरे पनि ती काममा ‘बौद्ध’ आइहाल्छ (घोटेर खुवाएको नै त्यै थियो त, आउने नै भयो)। भलै म ‘गुड प्राक्टिस्नर’ भने होइन। तर, बुद्धलाई विश्वास गर्छु,’ गुम्बामा झर्ने मन्त्रजस्तै सुस्तरी उनको बोली गल्लीमा झर्‍यो, ‘मेरा काम (फिल्म)मा बौद्ध जीवन÷व्यवहार आउला÷देखिएला। तर, जानाजान आएको होइन, आफसेआफ आएको हो।’
‘बौद्ध मेसेज नै आएछ भने राम्रै त हो।’
‘डाकिनी’ नेपाली कथा हो।
निर्देशक भुटानी नोर्बुको पाँचौं फिल्म ‘डाकिनी’मा छन्– कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँजस्ता नेपाली कलाकार पनि। फिल्मको भाषा छ, ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली। र, ‘डाकिनी’ बनाउँदैछ, नेपाली फिल्म निर्माण कम्पनी षट्कोण आर्टस्, नेपालले ।
नोर्बुको पहिलो फिल्म ‘द कप’ (१९९९)ले गुम्बाको कडा अनुशासनले आर्जेको जीवन र विश्वकपप्रतिको मोहबीचको सांस्कृतिक द्वन्द्व देखाएको छ। उक्त पहिलो फिल्म नै क्यान्सलगायत हङकङ, लन्डन, मस्को, बुसान, टोरन्टो फिल्म फेस्टिभल पुग्यो।
‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ (२००३)नोर्बुकृत दोस्रो सिनेमा चाहिँ ‘पहिलो भुटानी फिचर फिल्म’ हो। हिमाली भुटानमा प्रेम कथा सेट गरिएको यो फिल्म भेनिस, टोरन्टो, ताइपेइ, साउपाउलो, लन्डन, सिड्नी, मस्कोलगायतका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्यो भने तीन पुरस्कार हात पार्‍यो।
पाटनको स्तूपा देखाउँदै फिल्म निर्देशक जोङ्सार खिन्से रिम्पोछेले भने, ‘न स्तूपामा झ्याल छ, न ढोका छ, न त बाथरुम छ। तर, हामी प्रेम गर्छौं नि ! त्यसैले स्तूपा आउँछौं। फिल्म पनि यस्तै प्रेमले बनाउने हो !’ उनको आवाज कुनै गुम्बाबाट झरिरहेको मन्त्रजस्तै थियो।
तेस्रो फिल्म हो, ‘बराः अ ब्लेसिङ’ (२०१३) बंगाली लेखक सुनील गंगोपाध्यायको कथामा निर्मित यो चलचित्र थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्यो भने बेस्ट फिचर फिल्म अवार्ड जित्यो, त्रिवेका अनलाइन फिल्म फेस्टिभलमा।
चौथो फिल्म ‘हिमा हिमाः सिङ मी अ सङ ह्वाइल आई वेट’
(२०१६) थोरै बजेटमा भुटानको दुर्गम भागमा छायांकित सिनेमा थियो। लोकार्नो, बुसान, मलेसिया, सिंगापुर, लन्डन र टोरन्टो फिल्म फेस्टिभलमा पुगेको यसले अडियन्स च्वाइस अवार्ड जित्यो, मलेसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा।
‘वर्डस् अफ माइ पर्फेक्ट टिचर’ (२००३) नामक डकुमेन्ट्रीमा फिल्ममेकर रिम्पोछे थिए।
बौद्ध दुनियाँमा रिम्पोछेको रूपमा चिनिने नोर्बुका सिनेमाले बौद्ध दर्शनको बुझाइ र अभ्यास सम्झाउँछन्। र, तिनको व्याख्या गर्छन्।
रिम्पोछे, लेखक र फिल्ममेकरको रूपमा दुनियाँमा परिचित नोर्बुले सिक्किमे राजाको दरबार गुम्बामा बौद्ध परम्परागत तालिम लिए। राजपुर (भारत) को शाक्य कलेजमा पढे। लन्डनको स्कुल अफ वरिन्टल एन्ड अफ्रिकन स्टडिजमा अध्ययन गरे। र, इटालियन कवि, निर्देशक र स्क्रिन लेखक बर्नार्डो बर्तोलुसीसँग फिल्म मेकिङ सिके।
समकालीन विश्वमा बौद्ध पथबारे उनका थुप्रै किताब छापिए। जसमध्ये ‘ह्वाट मेक्स यु नट अ बुद्धिष्ट’ (२००७) बेस्ट सेलिङ पुस्तक हो।
रिम्पोछे निर्देशक नोर्बुको आँखामा भुटानी फिल्म ‘बच्चै’ छ। नेपाली र भुटानी दुवै फिल्मलाई लागेको एउटै साझा रोग देखेका छन्– बलिउडी नक्कल।
‘नेपाली र भुटानीले बलिउड नक्कल गर्छन् (बलिउडले हलिउडको नक्कल गर्छ)। फलस्वरूपः दिनानुदिन दुवै देशका फिल्म ओरालिँदैछ,’ समस्याको निदान सुझाउँदै उनले भने, ‘नेपाली र भुटानी फिल्ममेकरले ‘बलिउडी ग्रामर’ प्रयोग गर्न छाड्नुपर्छ।’
उसो भए, नेपाली र भुटानी फिल्म अन्तर्राष्ट्रिय बजार पुग्न ‘बज्नु बाह्र बजेकै’ हो ?  दुबै देशका फिल्म बजारको प्रसंग उप्काउँदै जवाफमा उनले भने, ‘हामीसँग बजार प्रशस्त छ। तर, हामी त आफ्नो बजार नबनाई नक्कल गर्नमै व्यस्त छौं। त्यो नै सबैभन्दा ठूलो गल्ती हो। म्याकडोनल खाएपछि दालभात भुल्छौं। दालभातलाई बजार दिन त म्याकडोलन छाड्न पर्‍यो नि।’
नयाँ अनुहार
‘डाकिनी’को मुख्य भूमिकामा छन्, छिरिङ तासी। उनी भियतनामबाट आएका हुन् भने अभिनेत्री तेन्जिङ कुन्सेल अमेरिकाबाट। भारतमा जन्मिएका दुवै तिब्बती मूलका हुन्। दुवैको पहिलो फिल्म। छिरिङ विज्ञापन र छोटा फिल्म निर्देशक हुन् भने कुन्सेल गायिका ।
यसअघिका नोर्बुकृत फिल्ममा पनि नयाँ अनुहार छन्।
‘फिल्ममा नयाँ अनुहार ‘आधिकारिकता’को लागि लिएका हुन् कि ‘प्रतिनिधित्व’को लागि ?  वा, कथाले व्यावसायिक कलाकारलाई नमागेर वा नपाएर ? ’
सुनेर रिम्पोछे निर्देशक मुस्कुराए।
अनि ?
भने, ‘मसित ‘च्वाइस’ छैन।’
कसरी ?
‘तपाईंलाई दिने पैसा मसित छैन। मैले राम्रो होटेल र पैसा दिन सक्तैनँ। तपाईंलाई खाना मात्र दिन सक्छु। मेरो फिल्ममा अभिनय गरिदिनुस्। (कारण, तपाईंले त धेरै पैसा कमाइसक्नु भयो। अब तपाईंहरूलाई पैसा खाँचो छैन।),’ उनले शाहरुख खान र विद्या बालनजस्ता भारतीय चर्चित कलाकारलाई आफ्नो फिल्ममा खेल्न गरेका अनुरोध स्मरण गरे।
चौथो फिल्म ‘हिमा हिमाः सिङ मी अ सङ ह्वाइल आई वेट’मा भने चर्चित चिनियाँ कलाकार आइन्।
स्तूपानेर उभिएकी एउटी युवतीलाई देखाउँदै ‘डाकिनी’ निर्माता दीपेश खत्रीले भने, ‘उनै त हुन् नि, चिनियाँ नामी कलाकार झाउ जुन।’
सानो झोला पछिल्तिर भिरेर नोर्बुसँगसँगै हिँडिरहेकी थिइन्, झाउ जुन। पाइन्ट र टि सर्ट लगाएकी। न गोडामा हिल जुत्ता थियो, न अ‍ोठमा लाली थियो, न कानमा बाली। न आधा शरीरमा लुगा, न त छोए मैलिएलाजस्तो जिउ।
‘ती नामुद हिरोइनलाई पानी मात्र दिन सकेँ। यो मैले जोक गरेको होइन। बरु उनले मलाई धेरै दिएर गइन्,’ निर्देशक नोर्बुले भने।
साँच्ची, निर्देशक नोर्बुलाई के जवाफ दिए हँ, शाहरुख र विद्या बालनहरूले ?
‘कसैले पनि जबाफ पठाएनन्,’ उनले भने।
तिनका जवाफ नआएकोमा उनको अनुहारमा कुनै अप्ठेरोपन देखिएन। बरु नयाँ अनुहारमा ‘नाफा’ र ‘बाध्यता’ सुनाए।
‘शाहरुख खान कहिले डाक्टर, कहिले इन्जिनियर त कहिले शिक्षक भूमिकामा हुन्छन्। उनी डाक्टर, शिक्षक, इन्जिनियर कहीँ देखिँदैनन्। सीधै शाहरुख खानमात्र देखिन्छन्। हो, त्यस्ता फिल्म व्यापारिक हिसाबले राम्रा होलान्। मेरो लागि भने राम्रो होइन। नयाँ अनुहार फिल्ममा ल्याउनु ‘ताजापन ल्याउन’ पनि हो। चरित्र आउनु पर्‍यो।’
यति भनेर उनले आफ्नो पहिलो फिल्म ‘द कप’ प्रसंग उप्काए। उक्त फिल्मका लागि व्यावसायिक फुटबलर र कलाकार पाउनु असम्भवजस्तै थियो।
उनले भने, ‘नयाँलाई खेलाउनु बाध्यता पनि हो।’
कस्ता फिल्म ?
‘एउटा फिल्ममेकरले सोच्दैन कि कसले हेर्ला मेरो फिल्म। र, यो मन पराउँलान् कि नाईं भनेर सोच्ने पनि होइन। बस्, राम्रो बनाउने हो।’
उनको यस्तो भनाइले ‘यो फिल्म यस्ता दर्शकका लागि हो भन्ने सोचिन्न र’ भन्ने प्रश्न जन्माउँथ्यो।
‘मैले सोच्दिनँ। यसमा यत्ति थप्छु कि, मेरा फिल्म चाहिँ व्यापारिक फ्लप हुन्। मैले बनाइरहेको फिल्म शाहरुख खान, सलमान खानका जस्ता हुँदैनन्। यसबाट त पैसा कमाउने ग्यारेन्टी हुँदैन। त्यसैले पैसाको हिसाबले फ्लप।’
न उनलाई फिल्मले मनग्य पैसा र नाम नकमाएकोमा चिन्ता थियो न त दुःख नै।
उसो भए ‘पैसा डुबाउन’लाई किन फिल्म बनाउने त ?
‘जहिले र जहाँसुकै पैसा मात्र महत्वपूर्ण हुँदैन। कहिलेकाहीँ तपाईंले अभिव्यक्त गर्न खोजेको कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। फिल्म त कलाप्रति प्रेम भएकाले बनाउने हो । यदि धेरै दर्शकले हेरे ‘यस्ता फिल्म’ अरू थपिन्छन्।...हो, सबै फिल्म त्यस्ता हुँदैनन् जो बलिउड र हलिउडी बजारमा छन्। जस्तो हेर्नुस्,’ स्तूपालाई देखाउँदै उनले भने, ‘न यहाँ (स्तूपा) झ्याल छ न ढोका छ न त बाथरुम छ। तर, हामी प्रेम गर्छौं नि। त्यसैले यहाँ (स्तूपा) आउँछौँ। फिल्म पनि यस्तै प्रेमले बनाउने हो।’
रिम्पोछेलाई कुनै दिन यस्तो पनि झोंक चल्ला कि, बनाइदिम् मया–पिरम र मारधार मिसिएको मसलेदार फिल्म ! प्रश्न सिल्ली नै सही, के कुनै रिम्पोछेले त्यस्तो मार्काका फिल्म बनाउलान् ?
‘कथा ठीक छ भने म त सिरियल किलरमाथि पनि फिल्म बनाउन हिच्किचाउँदैनँ। मुख्य कुरा चरित्र हो, मान्छे हुनुको कथा हुनुपर्‍यो,’ कुनै गुम्बाबाट झरिरहेको मन्त्र बिर्साउँदै निर्देशक रिम्पोछे बोली पाटनको साँगुरो गल्लीमा फेरि झर्‍यो, ‘तर, व्यापारिक फिल्ममा भने रुचि छैन।’

No comments:

Post a Comment