कुइनेटो
ससानादेखि मझौला कदका घर पाखाभरि छरिएका थिए। तिनका अनुहारका क्रिम (कुनैका गेरुले पोतिएका थिए त कुनैका कमेराले)कतिका उडिसकेका थिए भने कतिका उड्ने क्रममा। कुनै ढुंगाका त कुनै खर-छाने घरलाई जोड्ने बाटा यति कुपोषित थिए कि, खोल्साखोल्सीमा पुगेपछि ती एकाएक भूमिगत हुन्थे।
यत्रतत्र छरिएका २३ घरधुरी थिए।
त्यो पाखाबाट ढुंगा फाले गैरीगाउँ स्कुलको आँगनमा पुग्थ्यो त सुस्केरा हाले पाल्लोपट्टि डाँडामा उभिएका घरमा।
पाखाबस्तीको नाउँ गोर्जलेपाखा हो भने डाँडाबस्तीको नाउँ डाँडागाउँ। तर, गैरदलितले वल्लोपट्टिको पाखा बस्तीलाई ‘दमैडेरा’ भन्थे भने ठीक पाल्लोपट्टिको डाँडा बस्तीलाई ‘कामीडेरा।’
त्यो पाखामा उभिएको एउटा कोर्जाली ढुंगे-छाने घरबाट एक युवा बेलाबेलामा गैरीगाउँ झर्थे। कल्साउरो आर्यन अनुहारका अग्ला न अग्ला थिए। सेतो कमिज, कालो पाइन्ट, कालो इस्टकोट, टोपी र हरियो मिलिट्री जुत्ता लगाएका ती युवा भागिलाल छिनालकहाँ पुग्थे।
त्यसपछि ?
८/१० वटा पसल र स्कुललाई पहरा दिन उभिएका बैंसका बोटमुनि जिन्दगीका घामपानी फिँज्थे। बेलाबेलामा म पनि सामेलिन्थेँ। र, स्कुले मनसित लाखर र हुनाखोलासँगै बग्दै तलतल पुग्थेँ।
त्यस बेला रुकुमको चुनबाङस्थित गैरीगाउँको नेरामाविकै एउटा कोठामा मेरो डेरा थियो। साथमा थिए— जयन्द्र केसी, विवेक पुन, साँल्दाइसहित अमरसिंह घर्ती मगरका दाजुभाइ।
कक्षा १०, सेकेन्ड एअरमा पढ्दै थिएँ। पहिलो वर्ष रोल्पाको नुवागाउँमा कांग्रेससहितको पुलिस-माओवादी झडपमा ‘खेर’ गएको थियो।
तिनै युवा एक दिन लाखर पुलिसचौकीमा गए, ८४ वर्षीया आमा, पत्नी र १२ वर्षदेखि तलका पाँच छोराछोरीलाई ‘तारिख थामेर फर्कन्छु’ भनेर।
उनी फर्केनन्। तर, चुनबाङी ‘ज्वानौ’मार्फत किस्ताबन्दीमा उनका भाँतीभाँती समाचार भने फर्किरहे।
‘ज्वानौ’ थेगोवाल चुनबाङीलाई त्यस भेगमा ज्वानौ भनी बोलाउने चलन अहिले पनि छ।
संयोग, तीन वर्षअघि घर (रोल्पा) जाँदा बसमा तिनै युवाका जेठा दाजुका माइला छोरा विष्णुलाई भेटेँ। उनले सुनाए, ‘काइँलाबाइलाई गाडेको आठ महिनापछि पनि घडी चलिरहेको थियो।’
तिनका भाइ झुपी उर्फ कमरेड सुनील कान्छासित सामाजिक सञ्जालमा भेट भयो। कुवेत पुगेका कान्छासित जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जगत पुन उर्फ कमरेड गुरुङले भेट गराएका थिए।
सुनील ती युवाका भतिज त थिए नै, थिए शव उत्खनन गर्ने पनि।
तारिख थाम्न गएर घर नफर्केका युवा थिए, भैरम दमै। र, उनै भैरम घडीले तान्दैतान्दै आज तपार्इंकहाँ आइपुगेँ।
घडीलाई थाहा होला— भैरमलाई जिउँदै गाडिएको थियो कि मारेर ? मारेको भए गोली हानिएको थियो कि कुटेर ? र, कति बजेको थियो, भैरमले अन्तिम सास फेर्दा ? घडीसित हिसाब होला। घडी हिँडिरहेको थियो, भैरम बाटो लागे पनि।
साँझपखमात्र जिल्ला सदरमुकाम मुसीकोटबाट घर फर्केका थिए। खानेपानी उपभोक्ता समिति अध्यक्ष उनी ‘जरुरी छ’ भन्दै हतारमा घर पुगेका थिए।
केही दिनअघि मात्र माओवादीले वीरभान विष्टलाई मारेको थियो। स्थानीय कांग्रेस नेता विष्टकै घरमा पुलिसचौकी थियो।
घर पुग्दा छिमेकी ‘ठाट’ सुत्न जाने सुरसारमा थिए। ठाट सुत्ने घर नजिकै थियो।
रोल्पा-रुकुमतिर मृतकको घरमा सुत्न जानुलाई ठाट सुत्ने भन्छन्। यसरी परिवारको सदस्य गुमाएको घाउमा खाटा नबस्दासम्म अर्थात् महिनौं पनि छिमेकी मृतकको घरमा सुत्न जाने चलन छ भने अलि टाढाका गाउँले शुद्धो नहुँदासम्म।
भैरमको दाजु नाता लाग्ने तिलबहादुर छिनाल मरेका थिए।
त्यस बेला पुलिस जगजगीका कारण गाउँले एक ठाउँमा भेला हुनसमेत छाडेका थिए।
कुरा चल्यो, ‘अब के गर्ने ? ’
किरियापुत्रीसहित ठाट सुत्न गएका पनि जागाराम बस्ने चलन थियो।
गाउँका जान्ने/बुझ्ने र सबैभन्दा बढी पढेका उनै भैरम थिए। उनले ८ कक्षा पढेका थिए।
गाउँका दाजु नै मरेको बेला ठाट सुत्न नजानु नि कसरी ?
मृतकको घरमा पुलिस पुग्दा कोही सुखदुःख पोख्दै थिए त कोही रात कटाउन दैला खाने (तास) खेल्दै।
भैरम मारिएको १७ वर्षपछि सिमला गइन्, भैरमपत्नी एकजना जुम्लीको साथ लागेर। भैरम बन्दुक बोकेर हिँडेका थिएनन्। भैरम त पुलिसचौकीमा तारिख थाम्न गएका थिए।
त्यस बेला रातको ११ बजेको थियो।
‘मा... आतंककारी भैरम काँ छस्, निकल्।’
‘पुलिस आवाज’ले गाउँले छाङाबाट खसे।
‘याँ छु’ भनी भैरम निक्ले।
चन्द्रबहादुर छिनाल र खिमबहादुर छिनालसहित उनलाई पुलिसले लग्यो।
भोलिपल्ट तीनैजना फर्के। तर, यातनाले चिन्न पनि नसकिने भएर।
भैरमलाई भने भोलिपल्ट नै तारिख थियो।
सुन्निएर ‘अनचिनार’ भैरमलाई देखेर परिवार सदस्य र आफन्त झन् आतंकित भए।
त्यसपछि ?
घरकाले र आफन्तले नि ‘तारिख थाम्न नजा’ भने। भैरमलाई कालापार जान भने। दाङ गएर उपचार गर्न भने। र, थुनिकोटकी बहिनीकहाँ जान भने।
परिवार र आफन्तको निष्कर्ष थियो— तारिख थाम्न जान हुन्न।
‘आधा जीउ खाइसक्यो। बाँकी खाए खाला। मलई ता कतै जान नसक्ने गरी खजा पारिसको। इष्टमित्रले भनेजस्तो कसरी जान सक्छु र म’, भैरमले सम्झाउने कोसिस गरे, ‘मार्ने भए मा¥र्याल्थो। किन छार्थो र ? तारिख थामेर आन्छु।’
आँखा झिमिक्क नपारी भैरम दम्पतीको त्यस रात ढल्यो।
‘छारे आजै आइजान्छु। नछारे जैले तारिखमा छार्ला, उइली आम्ला’ भनेर भैरम मुस्किलले थामिने जीउलाई लौरोले घिसार्दै पुलिसचौकीमा तारिख थाम्न लाखर लागे।
बूढी आमासहित पत्नी थिइन्। ससाना चार छोरा र एक छोरी थिए।
यो थियो, २०५५ असोज २६ गते।
तारिख थाम्न गएका भैरम फर्केनन्।
भोलिपल्ट भैरममाता र पत्नी खाना लिएर पुलिसचौकी पुगे।
‘ए बूढी, तेरो छोरा त घर गइसक्यो’, पुलिसले भने।
‘मेर् छोरो घर पुगेको छैन, साप’, आमा-मनबाट आत्तिएको स्वर झर्दा आमा-आँखा र भैरमपत्नीका मन पुलिसचौकी वरपर घुमे।
‘जाँदै होला’, बेवास्तापूर्वक पुलिसले भने।
खाना हातमै बोकेर भैरममाता र पत्नी रोइकराइ गर्न थाले।
त्यसताका पुलिसले ‘सरकारी’ पार्टी र आफ्नो पनि ‘आँखी परेका’लाई तारिख लाउँथ्यो। अलिकति मात्र तलमाथि भए वा पुलिसको सनक चढे सर्वसाधारण गाउँले सीधै ‘माथि’ पु¥याइन्थे।
जगजगी हावाले गाउँले फुकीढल थिए।
पुलिसले ‘खाना नलिएपछि ‘मारेको’ शंका गरे। तर, कसरी पत्याउनु ?
कति गाउँलेले भैरमलाई खलंगा (मुसीकोट) लगेको भने।
त्यसपछि ?
आफ्नो गच्छेले पुग्ने ठाउँमा खोजे। मुसीकोट, दाङ, काठमाडौं।
गोर्जलेपाखा
भैरमपिता नरजित त्यस भेगका ‘बयान्नेका’ झाँक्री थिए। तीस वर्षअघि भैरमपिता झाँक्री मरे।
झाँक्री/धामीलाई खाल्डोमा बसेको अवस्थामा गाड्ने चलन छ। र, चिहानलाई गोर भन्छन्।
घरभन्दा केही पर भैरमपितालाई गाडे।
एक दिन भैरमपिताको गोर जल्यो।
‘गोर जल्यो’ भन्दाभन्दै ‘दमैडेरा’ गोर्जलेपाखा भयो। यद्यपि गैरदलितले भने ‘दमैडेरा’ भन्न छाडेका छैनन्।
चुनबाङमा सरकारी बन्दुकबाट ३६ जना मारिएथे भने माओवादीबाट चार। पुलिसचौकी उठेपछि आठजनाका शव भेटिए। तीमध्ये एउटा भैरमको थियो।
सरकारी सिकार भएका गोपी, तुलबहादुर र कलसिंह पनि भैरम परिवारकै थिए।
तुलबहादुरको शव भने अहिलेसम्म भेटिएको छैन।
पछिल्लो समय भैरम र उनका खलकले दमाई, नेपाली, परियारको बदला ‘छिनाल’ लेख्न थालेका थिए।
आउने असोज २६ गते २१ वर्ष लाग्दैछ भैरम मारिएको। भैरमजस्ता द्वन्द्वकालमा मारिएका, यातना पाएका, धनमाल लुटिएका ६० हजारभन्दा बढी पीडितका उजुरी दर्ता भएका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोगमा। न्यायको आश नभए पनि ‘पीडित जिज्ञासा’चाहिँ जीवितै छ।
पुलिसचौकी छेवैमा धुपीमा माओवादी झन्डा
गैरीगाउँमा लाखर र हुनाखोला भेट हुन्थे। पूर्वी भागबाट हुनाखोला झथ्र्यो भने पश्चिमबाट लाखर।
तिनै खोलाका धुनमा साइँला दाइ र चक्रराम बुढा मगरले मुरली मिसाउँथे भने मैले गीत।
त्यसपछि कहिले हुनाखोलाबाट उकालिन्थ्यौं भेरिडाँडा त कहिले लाखरखोलालाई मास्तिर पछ्याउँदै पुग्थ्यौं, लाखर।
‘चुनबाङ बैठक’ बसेको भेरिडाँडाबाट नै माओवादी ‘संसदीय बाटो’ लागेको थियो। ‘लाखरखोले लाम्पाते कक्कर’ परिचयमा लाखरले ‘माओवादी किल्ला’ पनि थपेको थियो।
गोर्जलेपाखा र लाखरबीच यस्तै १०/१५ मिनेटको पैदल दूरी थियो।
लाखरमा पुलिसचौकीसँगै स्कुल थियो। र, स्कुललाई छोएर हिँडेको बाटो। बारीको ढिकमा धुपी थियो। ६३ मिटर अग्लो।
त्यो धुपी जगत पुन उर्फ कमरेड गुरुङको थियो।
‘बाबैले बाजीको नाउँमा बिसौना बनाउँदा रोपेको धुपी हो गरे’, जगतपिता भीमबहादुर पुनलाई उद्धृत गर्दै स्थानीय शिक्षक भीमबहादुर विष्टले भने।
अठार मगरातका मगरले मृतकको नाउँमा रूख रोप्थे/रोप्छन्। भारी बिसाउने ठाउँ बनाउँछन्। यसलाई ‘बिसौना’ भन्छन्। चौपारी पनि भन्छन्।
सलक्क अग्लिएको धुपीको टुप्पो झुम्म थियो। र, त्यै टुप्पोमा थियो, रातो झन्डा।
पुलिसचौकी र धुपीबीचको दूरी बढीमा १५ मिटर थियो।
पुलिसचौकी छेवैमा ठिंग उभिएको धुपीमा रातो झन्डा फर्फराइरहेको थियो, युद्धको चर्को आँधीमा पनि।
पुलिसचौकी ‘क’ श्रेणीको थियो।
‘जनयुद्ध’ थालेपछि पनि माओवादीले धुपी टुप्पोमा झन्डा राख्न छाडेन। राति कतिखेर र कसरी राख्यो, माओवादीले ? पुलिस तीनछक्क थियो।
‘खर्सुको घाँस काटेका गाउँमा रूख चढ्ने एकसेएक थिए नि। तर, पुलिसले जति उर्दी लाए नि गाउँलेले झन्डा झिक्न मानेनन्’, धुपी उभिएको ठाउँबाट खोलातिर एकदमै अप्ठेरो भएको सम्झँदै स्थानीय कमानसिंह पुनले भने।
‘यतातिर कम्द (बारी) हेर्दा ‘हाम फालम्’जस्तो थियो भने खोलातिर हेर्दा ‘पिसाब फेरम्’जस्तो।’
पुनले नै पहिलोपालि धुपीको टुप्पोमा झन्डा राखेका थिए। उनका भाइबुहारी नै माओवादी नेता थिए। दुवै मारिए।
सुदूरपश्चिममा ‘माओवादी’ रोप्न गएका उनका भाइ सूर्यप्रकाश उर्फ सुन्दर र बुहारी परम्परा गौतमलाई सेनाले एक हप्ताको अन्तरमा मारेको थियो।
धुपीको जरा पुगेको ठाउँ अर्थात् खोलामा थिए, दुईवटा घट्ट। पुलिसचौकी र घट्टबीचको दूरी बढीमा ६० मिटर थियो।
पुलिसचौकी भाग्यो
घाम चर्केको बेला चुनबाङको आकाशमा हेलिकोप्टर उड्यो। त्यस बेला हेलिकोप्टर उड्नु साह्रै खतरनाक हुन्थ्यो। गाउँलेले अनुमान लगाए कि कहीँ ‘केही’ त भयो।
गाउँले कान चनाखिए। र, आ-आफ्नै तालले अड्कल काटे।
त्यो हेलिकोप्टर त लाखरमा बस्यो, जहाँ पुलिसचौकी थियो। छिनमै उड्यो। फेरि बस्यो। उड्यो। फेरि बस्यो। र, उड्यो।
त्यस दिन हेलिकोप्टरले लाखरमा तीन खेप उठबस ग¥यो।
केही घन्टामै गाउँमा फैलियो— लाखरबाट पुलिसचौकी भाग्यो। पुलिसचौकीमा शरण लिएका कांग्रेस स्थानीय नेता/कार्यकर्ता पनि उडे।
माओवादीले गाउँले भेला डाक्यो। अनुमोदन गराएर पुलिसचौकी बसेको घर जलायो।
त्यसपछि ?
माओवादीले प्रतीक्षालय र गेट बनायो।
लाखरबाट यस्तै २५ किलोमिटर टाढा रहेको रोल्पाको घर्तीगाउँ पुलिसचौकी माओवादीले फागुन ७ गते हानेको थियो। घर्तीगाउँबाट सीधै माओवादीचाहिँ चुनबाङ हान्न आउँदैछ भन्ने हल्ला फैलिएको थियो।
बलियो ‘फोर्टिफिकेसन’ मानिएको घर्तीगाउँ पुलिसचौकीसमेत माओवादीले कब्जा गरेलगत्तै गाउँका पुलिसचौकी जति सदरमुकाम गए।
भैरम शव
पुलिसचौकी उठेलगत्तै बेपत्ता परिवार र तिनका आफन्तका आँखा, कान र मन जुरुक्क उठे। सके ‘सास’ नभए ‘लास’को आशमा खोजतलास थाले।
लाखरका जंगल, बारी र खोल्साखाल्सी कतै बाँकी नराखी खोजे। खोलामा पो बगायो कि भनी तल तलसम्म पुगे।
भैरम, हर्कबहादुर बुढामगर र तुलबहादुर छिनालका शव भेटिएनन्। खोज्न बाँकी ठाउँ पहिल्याए।
एक थियो, वीरभान विष्टको घट्ट।
पुलिस उठेको ९ महिनापछि अर्थात् जेठ महिना अन्ततिरको एक दिन। आकाश सफा थियो। दुःखमा त आफन्त र गाउँले चाहिने हो भनेर गाउँले भेला भए। र, भैरम परिवार र आफन्तका गोडा यसै उचालिए।
भागिलाल छिनाल, भैरम पत्नी, भैरमको जेठा छोरा रमेश, भैरमका माइला दाजुको छोरा पञ्चराम र भैरमकै जेठा दाजुको छोरा सुनील पुगे, लाखर। पुग्दा यस्तै १० बज्दैथियो।
त्यस बेला बारीमा मकै बोट ससाना थिए।
पुलिसचौकी रहेको घर चोसेमोसे थियो। त्यसको वरपर हेरे। पुलिसचौकीको कुनाकानी खोज्न तिनका मन यसै हतारिए। र, ‘याँ छु है’ भन्ने पति-आवाज सुनिन्छ कि भनी भैरमपत्नीका पाइला र मनले कानलाई पछ्याए।
‘लुगा, जुत्ता, चप्पल छन् कि ? बन्दुकका गोली पो भेटिन्छ कि ? ’
तिनका आँखा र मन यसै चनाखिए।
गाउँलेले भन्थे, ‘धुपीनेर बन्दुक पड्कन्थ्यो।’
धुपी बोट छेउतिर भीर थियो। एकदमै अप्ठेरो। अलिकति लरकघरक भए सीधै खोला पुगिन्थ्यो, जहाँ दुईवटा घट्ट थिए। तीन वर्षअघि आएको बाढीले कुलो भत्काउँदा घट्ट भने बन्द थिए। र, दुवै घट्ट स्थानीय कांग्रेस नेता वीरभान विष्टका थिए।
माथ्लो घट्टको कुलोनेर विष्टलाई माओवादीले मारेको थियो।
भिरालो भागतिर कतै चिहानजस्तो वा पुरेजस्तो केही छ कि भनी खोजे।
भेटिएन।
घट्टको डुरनेर पनि खोजे।
के सम्झेर कुन्नि ?
एकजनाले भने, ‘घट्टमुनि गा¥या छ कि ? ’
घट्टको काठे डुर र पानीले फन्काउने भुनामुनि सुनील आँखा अल्झियो। त्यहाँ बालुवा र ढुंगा थियो, जुन अस्वाभाविक देखिन्थ्यो।
निहुरिएर आठ/दसपालि कुटोले खने। गोडाको हड्डी भेटे। लगत्तै सुनीलले देखे कालो रङको हाप्पेन्ट।
‘काइलाबाइ !’
सुनील चिच्याए।
कालापारबाट सुनीलले ल्याइदिएको पाइन्टलाई भैरमले हाप्पेन्ट बनाएका थिए।
त्यही हाप्पेन्ट देखेर सुनीलले भैरमलाई चिने।
हात भेटे।
‘काइँलाबाइको हात।’
सुनील फेरि चिच्याए।
लगत्तै देखियो, भैरममात्र होइन अर्काे मान्छे पनि छन्। देखियो, दुईजना मान्छेलाई खपाएर गाडिएको।
‘एउटाको टाउको र अर्को खुट्टालाई खपाएर गाडेको रहेछ’, सम्झँदै सुनील कान्छाले कुबेतबाट मेसेन्जरमा भने।
कान्छा जनमुक्ति सेनाको सेक्सन भीसी छाडेर २०६१ मा खाडी पसेका थिए। अहिले कुबेतमा छन्।
भैरमले सेतो धर्के कमिजमाथि कालो इस्टकोट लगाएका थिए।
खन्दाखन्दै सुनीलको मन र हातगोडा एकसाथ थर्थराए।
त्यसपछि ?
आक्रोशजस्तो न पिताको मायाजस्तो भएर सुनीलको आँखाबाट बग्न थाल्यो।
छेवैमा भैरमपत्नी भक्कानिएकी थिइन्।
केही समय सुस्ताएर फेरि खने।
टाउकाको आधा भाग भेटे। भैरमले कालो टोपी लगाएका थिए। हातमा उठाउन खोजे। टोपी त हातमा नआई खस्यो।
मासु, छाला र लुगा कुहिँदा गोली कतै झरेछ कि भनी खोजे।
भेटिएन।
‘गोली हानी मारे कि कुटीकुटी ? ’
मुखामुख गरेर एकअर्कालाई सोधे।
फेरि भने, ‘कि गोली यति नजिकबाट हान्यो होला कि गोली नै बाहिरियो।’
त्यसपछि ?
‘के यी दुवैलाई जिउँदै गाडियो !’
क्रूर आशंका व्यक्त गरेर उनीहरू आफैं आतंकित भए।
इस्टकोटको भित्री जेबमा सेतो प्लास्टिकको पोको देखे।
गाउँघरमा पानी पर्दा ओढ्ने पानी कागजजस्तो सेतो रङको थियो।
खोले।
एउटा पचास, दस अनि पाँचका गरी ८० रुपैयाँ थियो। साँचो थियो। र, एउटा घडी। ब्याट्रीवाल सिटिजन क्वार्ज नामक घडी।
हातमा लिएर हेरे। घडी त चलिरहेको थियो। ती सब छक्क परे।
भैरमको कम्मरमुनिको भाग र माथिको भाग सकुशलजस्तो देखिन्थ्यो। तर, उठाउँदा नआउने गरी गलिसकेको।
सास वा लास हेर्न आतुर भैरमपत्नी पतिको लास भेटेपछि आफूलाई सम्हाल्न सकिनन्। गलिसकेका लुगा, शरीरका टुक्रा सुम्सुम्याउँदै कहालिएर रुन थालिन्।
‘दुनियाँमा अरूका पोइले पनि बलिदान दिएका छन्’, उत्खनन गर्न गएकाका बगाले आवाज झर्न थाल्यो।
भैरमभन्दा भैरमपत्नी दुई वर्ष जेठी थिइन्। भैरम माघमा ३६ को घरमा पस्दै थिए।
‘जे नहुने भइसको। दुश्मनले खाइसको। उठाएर लिन सकिनम्। छोराछोरी छन्। तिनका मुख हेरी बस’, भैरमपत्नीको रुवाइ मत्थर पार्न झरेको सम्झाउने आवाज पनि बाक्लियो।
धुपीको जरा पुगेको ठाउँमा घट्ट थियो। र, घट्टमुनि गाडिएका थिए भैरम। धुपीको टुप्पोमा फर्फराइरहेथ्यो, रातो झन्डा।
खन्दाखन्दै तिनले झन्डा झन् निक्खर रातो देखे।
‘नाडीमा नबाँधी किन घडीलाई प्लास्टिकभित्र राखे ? ’
उत्खननमा सहभागी भैरम परिवार र आफन्त मनमा अनेक तर्कना छुटे।
‘हजार, पाँच सय र सयका नोट पनि थिए कि ? ’
अर्को आशंका पनि गरे।
सुरक्षित गर्न यसरी नै कुनै सामानलाई प्लास्टिकभित्र बेरेर राख्ने चलन थियो, गाउँघरमा।
घडीलाई छाडेर बाटो लागिसकेका थिए। भैरम हिँडेपछि उनका लुगा र जीउका मासु पनि हिँडे होलान्।
सायद त्यस बेला घडीलाई भने कि, ‘नरुक्नू। भैरमलाई चिनाउने तमी नै हौ।’
घडीलाई थाहा होला— भैरमलाई जिउँदै गाडिएको थियो कि मारेर ? मारेको भए गोली हानिएको थियो कि कुटेर ? र, कति बजेको थियो, भैरमले अन्तिम सास फेर्दा ?
घडीसित हिसाब होला।
घडी हिँडिरहेको थियो, भैरम बाटो लागे पनि।
पैसा, घडी र साँचोको विषयमा छलफल चल्यो।
‘घडी चल्दैछ। असी रुप्पे छ। लगम्। चेलीबेटीलाई दान-दक्षिणा गर्न हुन्छ।’ उत्खननमा सहभागीमध्ये केहीको प्रस्ताव।
भैरमको ‘मनको घडी’ थियो।
‘होइन, यो त उनको मनको घरी हो। नलगम्। उनैसत रहोस्।’
प्रस्तावको तत्काल विरोध।
‘घरमा पनि अर्को घरी छ। त्यसैलाई दान दिम्ला।’
अर्को प्रस्ताव।
घरमा भैरमको अर्को घडी थियो। पहिलोपालि किनेको। त्योचाहिँ दम दिने घडी थियो।
त्यस बेला त गोर्जलेपाखामा घडी बाँध्ने उनीसहित तीनजनामात्र थिए।
‘नाडीमा नबाँधेर भैरमले कि इस्टकोटको भित्री गोजीमा राखे ? ’
सायद भैरम मनले यसो पो भन्यो कि ‘मनको चिज लिएर हिँड्। के भर।’ ‘सङाती पो राखेथे कि ? ’
मृतकसित लाने चिजलाई रोल्पा/रुकुमतिर ‘सङाती’ भन्छन्।
‘घरी पनि हाल्दिम्, उन्को सङाती हवस्’, भैरमपत्नीको आँसुले भिजेको बोली झ¥यो।
घडी, असी रुपैयाँ र साँचो उसै गरी पानीकागजभित्र बेरेर राखे।
पतिको नाडीको घडी पानीकागजभित्र देखेर भैरमपत्नीको आँखाबाट पत्नी-मन एकनास झरिरह्यो।
शव भेटिएको ठाउँभन्दा चारपाँच मिटर पर अलिकति सम्म जस्तो ठाउँमा खाल्डो खने।
अलगअलग भएका भैरमका अंगलाई सुस्तरी झिके।
आधा बचेको खप्परको सिरानी बनाएर राखिदिए, सेतो प्लास्टिकभित्र घडी, असी रुपैयाँ र साँचो।
ढुंगामा जीउ पर्ला वा दुख्ला भनेर बचेका हड्डी र आधा खप्पर राख्ने ठाउँमा सम्म पारेका थिए।
गाड्नुअघि भैरमपत्नीले भक्कानिँदै भैरमका हड्डीलाई सुस्तरी सुम्सुम्याइन्।
‘गाउँघरको चलनअनुसार काइँलाबाइलाई अर्को ठाउँमा गाडेर हिँड्यौं’, सुनीलले भने।
भैरमसित खपाएको अर्को शव हर्कबहादुर बुढामगर, ४७ को थियो। उनी स्थानीय किसान थिए।
शव पाएपछि भैरमको सद्गत् गरे। र, दम दिने भैरमको घडी दान दिए।
भैरम परिवार
ढुंगाले छाएको पुरानो घर। बारेर बनाइएका कोठा। गाईभैंसी बाँध्ने तल्लो तलालाई गाउँघरमा भुङ भन्थे। भुङलाई पनि कोठा बनाइएको थियो।
बारेर बनाइएका माथ्लो तलाका दुई कोठा र तल्लो तलामा चिचिलासित भर्खरभर्खरै कुर्कुरे बैंस पार गरेका महिला थिए।
ती थिए, भैरमका बुहारी र नातिनातिना।
माथ्लो तलाको दुई कोठामा दुई र तल्लो तलामा एक परिवार बस्थे। एउटै घरमा तीन परिवार।
भैरमले चार छोराका लागि एकएकवटा घर बनाएर छाउन कोर्जाबाट ढुंगासमेत बोकाएका थिए। तर, घर नबनाउँदै मारिए। त्यसपछि ती ढुंगा छानो नबनी भुइँमै बिलाए।
पाँच दाजुभाइ र चार दिदीबहिनीमध्ये भैरम काइँला थिए। र, अब दुई दिदीबहिनीमात्र जीवित।
भैरमका जेठा छोरा रमेश उर्फ कमरेड बदला। ६ कक्षा पढेका उनी ‘बाबाको हत्या-बदला’ लिन जनमिलिसिया भए। त्यसपछि जनमुक्ति सेना।
खारा आक्रमणमा माइनको झिर्का लागेर रमेश घाइते भए।
६ वर्षे जनमुक्ति सेनाको जीवन त्यागेर उनी २०६१ मा खाडी पसे। खाडीबाट फर्केर आफ्नो परिवारसहित भारतको सिमला गए। सिमलामै मरेको पनि पाँच वर्ष भयो। उनका पत्नी र तीन छोरा भारतमै छन्।
तीन कक्षा पढेका माइला हरिबहादुर कतारमा छन्। उनका तीन छोरी छन्। दुई छोरा एक छोरीका पिता साइँला विनोद साउदीमा छन्। उनले पाँच कक्षासम्म पढे।
कान्छा हुकुमचाहिँ दुबईमा छन्। चार पढेका उनका एक छोरा छन्।
चारसम्म पढेकी छोरी सीतापति कतारमा छन्।
पति र जेठो छोराले पनि छाडेपछि भैरमपत्नी सुङर्नी झन ओरालिइन्। त्यसै बेला ‘गरिबी’ले पनि एकसाथ झम्ट्यो।
भैरमको चिहानमा आँखा गाडेर भैरमपत्नी टोलाउँथिन्। र, अन्य परिवारजनजस्तै भैरमपत्नी धुपीको टुप्पोमा फर्फराइरहेको झन्डा हेर्दै आफूलाई सम्हाल्थिन्।
पाँच सन्तानमध्ये कान्छालाई ‘भैरमको सरकारी राहत’ दिने सहमति भयो। तर, त्यसले परिवारमा ‘किचलो’ ल्यायो।
दलित र एकल महिला सुङर्नीबारे मेलापातमा कुरा काटिने क्रम बढ्यो। त्यसमा आफन्त र छिमेकी पनि सामेल भए।
गरिबीले एकसाथ कति धान्नु सम्झनाले !
लाग्यो, कहीँ गएर आँखाकान लुकाऊँ।
भैरम मारिएको १७ वर्षपछि सिमला गइन्, भैरमपत्नी एकजना जुम्लीको साथ लागेर। भैरम बन्दुक बोकेर हिँडेका थिएनन्। भैरम त पुलिसचौकीमा तारिख थाम्न गएका थिए।
अन्त
भैरमजस्ता द्वन्द्वकालमा मारिएका, यातना पाएका, धनमाल लुटिएकाका ६० हजार भन्दा बढी पीडितका उजुरी दर्ता भएका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोगमा। न्यायको आश नभए पनि ‘पीडित जिज्ञासा’चाहिँ जीवितै छ। भैरम परिवार यसबारे अनभिज्ञ छ।
आउने असोज २६ गते २१ वर्ष लाग्दैछ भैरम मारिएको। तर, उनका भतिज सुनीललाई भने लागिरहन्छ, त्यो घडी हिँडिरहेकै होला।
सम्झन्छन्, ‘त्यस बेला पौने ११ बजेको थियो।’ त्यसपछि आफैंलाई सोध्छन्, ‘१२ बजेपछि त समय फेरिन्छ। यतिखेर कति बजेको होला हँ ? ’
सुनीलको मन जिज्ञासिन्छ, बेलाबेलामा। र, भैरम सपनामा आएर सोध्छन्, ‘कान्छा, जा तो हेर, मेर् घरी चल्या’ छ कि छैन ? धुपीको रूखमा झन्डा फर्फराइरहेको छ ? ’
त्यसपछि ?
सुनील आँखामा फर्फराइरहन्छ धुपीको टुप्पोमा रातो झन्डा।
एक दिन ‘जनयुद्धकाल’को भन्दा फरक अनुहारको भिन्न आँधी चल्यो। धुपीभन्दा पनि त्यसको टुप्पो यसरी हल्लियो कि ! आखिरमा ठस्लक्क भाँच्चियो। र, फर्फराइरहेको झन्डा लत्रियो।
‘त्यति ठूलो आँधीमा समेत नभाँचिएको धुपीको टुप्पा एक दिन भाँचियो’, पहिलो पालि झन्डा राख्दाखेरिको याम सम्झेर भावुक हँुदै कमानसिंह पुनले भने।
डेढ वर्षअघि ‘रोल्पा सुइना’ बोकी चुनबाङको लाखर पुगेको थिएँ।
आफ्ना प्रियजन बेपत्ता पारिएका, मारिएका, घाइते र जीवनको सबैभन्दा सपनामय याम ‘जनयुद्ध’लाई चढाएका गाउँले-आँखा (तीनबैनी लेक उक्लँदा होस् ओर्लंदा) धुपीमै अल्झिएका थिए। तिर्खालु आँखाका घित्करो पाक्खै देखिन्थ्यो, ‘पलाउला धुपीको टुप्पो ? र, रातो झन्डा फर्फराउला ? ’
No comments:
Post a Comment