Wednesday, April 17, 2019

बिना मगरसँग नाम मिल्दा शाही खोरमा

एक बिहान बिनाको ल्यान्डलाइन फोन बज्यो। उताबाट ‘हलो’ भन्ने आवाज महिलाको थियो। तर, कहिल्यै नसुने-नजानेको ‘अनचिनार’। तिनले भूमिका नबाँधी भनिन्, ‘मेरो कारणले तपाईंलाई दुःख भयो है दिदी!’
ठेलाटुप्पो ठम्याउन नसकेपछि बिनाले ‘किन’ र ‘को’ भनी सोधिन्।
उताबाट बोल्नेले पनि आफ्नै नाउँ ‘बिना’ भनेपछि भने झँल्यास्स भइन्।
देखभेट नभएकाले फोन गर्ने उनै बिना हुन् भन्ने ग्यारेन्टी त थिएन। उसो त उनै हुन् कि होइनन् भनी खसखस लाग्ने समयले नेटो काटिसकेको थियो। कारण, १० वर्ष लामो 'जनयुद्ध' अन्तपछि मुलुकमा शान्तिप्रक्रिया सुरु भइसकेको थियो।
त्यसैले ‘क्रसचेक’ नगरी उनले फोनमै भनिन्, ‘जे हुने भइहाल्यो बहिनी। यसमा हाम्रो के दोष छ र?’
फोनवार्ताले बिनालाई २०५९ को वैशाखमा पुर्‍यायो, जुनबेला देशमा संकटकाल ‘तन्नेरी’ थियो।
00
त्यस दिन बिना नेपाल मगर विद्यार्थी संघको काठमाडौंस्थित रत्न राज्य क्याम्पस इकाइको वनभोजमा सामेल हुन ककंनी हिँडेकी थिइन्। तीन वर्ष पनि नपुगेकी उनकी छोरी भाइबुहारीसित गाडीमा गएकी थिइन्। उनीचाहिँ पति रामबहादुर थापा मगरको बाइकमा।
बिनाका पति राम नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष थिए। र, मुख्य अतिथि भएर भोजमा जाँदैथिए।
वनभोजमा हिँडेका विद्यार्थीको चेकजाँच मुड्खुस्थित शाही नेपाली सेनाको ब्यारेक नपुग्दै सुरु भइसकेको थियो।
त्यसबेला यति त्रास थियो कि बिहान निस्केको मान्छे साँझ घर फर्कन्छ कि फर्कंदैन? ठेगान थिएन। पाइलैपिच्छे जोखिमैजोखिम।
संकटकाल ‘लक्का जवान’ भएको त्यो याममा मगर विद्यार्थीलाई शाही सेनाको चर्को ‘चेकजाँच’ हुनु स्वाभाविक थियो। राज्यका अंगमा पहुँच नभएका वर्ग र जातिमा बढी आशंकित संकटकालीन झरीले जसरीतसरी तिनैलाई भिजाउँथ्यो। दलित त किहलेकाहीँ आफ्नो थर छलेर त्यो झरीमा ओत लाग्थे। तर, आदिवासी जनजातिले ‘मंगोल अनुहार’लाई कहाँ लगी ओताउनु?
त्यसैले राम बाइकबाट ओर्लेर आफैँ लागे विद्यार्थीको चेकजाँचमा सहजीकरण गर्न।
ठीक त्यसैबेला बिनालाई सैनिकले सोधपुछ थाले।
नाम?
बिना राना मगर।
त्यसपछि?
बिनालाई सैनिकहरुले तलदेखि माथिसम्म नियाले, जसरी बाघले मृगलाई नियाल्छ।
‘कुरा छ आउनुस्’ सैनिकले भने।
नबिराउनु नडराउनु! बिना शाही सैनिकको पछि लागिन्।
त्यसबेला शाही सेनालाई ‘कुरासुरा थाहा छैन, मेरो काममा जान दिनुस्’ भन्ने ‘माइकालाल’ कहाँ पाउनु!
शाही सैनिकले उनलाई एउटा कोठाजस्तोमा लगे। 
त्यसलगत्तै गार्ड बसेका एक सैनिकले उनलाई ‘पक्राउ गरेको’ बताए।
उनको वरिपरि झुम्मिएका अरु सैनिकले भन्न थाले, ‘नानी पाउने बेलामा पनि माओवादीमा लाग्ने?’
त्यसपछि उनी छाँगाबाट खसिन्।
त्यसअघिसम्म उनलाई आफू पक्राउ परेको थाहा थिएन। उनी पक्राउ पर्नुपर्ने कारणै थिएन। न उनी माओवादीमा लागेकी थिइन् न त उनका कुनै नातेदार नै माओवादी थिए।
उनका पति राम कुनै राजनीतिक दलसित सम्बद्ध विद्यार्थी संगठनमा पनि थिएनन्।
त्यसैले जताबाट नापे पनि उनले आफू पक्राउ पर्ने कारण देखिनन्।
‘कति कुरेँ कति। लोग्ने नआउँदासम्म जान्न भनेँ। तर मानेन। ...मेरो आँखामा पट्टि बाँध्यो। हत्कडी लगायो। ‘हाम्रो नियम’ भन्यो।
‘मैले के अपराध गरेको छु र’ भनेँ। सुनेन। मलाई गाडीमा हाल्यो। कहाँ लग्यो कहाँ?’
२०७० को हिउँदमा वौद्धस्थित आफ्नै डेरामा शाही खोरको संस्मरण सुनाउँदा बिनाको गह पटकपटक भिज्यो। बाटो लागेका आँसुलाई छोरीहरुबाट छेक्न काँडेतार लाउन बल गरिन्। तर सफल भइनन्।
सैनिकले उनलाई गाडीमा हाले। उनले नदेखेको, नजानेको ठाउँमा लगे।
त्यसपछि उनलाई टेन्टमा राखे।
‘ल नानी पाउने आइमाई रहिछ। राम्ररी हेर है केटा हो। खानासाना दिनू।’ उनले सैनिकको आवाज भने सुनिन्।
‘खाना खाइनँ। रोइरहेँ,’ खोरकहानी सुनाउँदै उनले भनिन्।
आँखामा पट्टि र हातमा हत्कडी लाग्दा उनलाई ठूलै अपराध गरें कि जस्तो लाग्यो।
00
चेकजाँचपछि वनभोजका लागि गाडी ककनीतिर गुड्यो।
त्यसपछि रामले बाइक ‘स्टार्ट’ गरे। पछिल्तिर हेरे, पत्नी बिना त छैनन्।
सेनाको गेटनेर पुगे। 
पर्खिए। 
लामो समयपछि एक सैनिकले ‘सोधपुछ गर्नुछ, तपाईं जानुस्’ भने।
त्यसपछि राम एक्लै ककनीतिर लागे।
कार्यक्रमको अन्तमा मात्र मुख्य पाहुनाले भाषण गर्ने परम्पराविपरीत रामले सुरुमै बोले। वनभोज नबिथोलियोस् भनी ‘विशेष काम परेको’ भन्दै हिँडे।
हतारिँदै गुडेको रामको बाइक सैनिक क्याम्पमा पुगेर रोकियो। 
अन्टसन्ट भन्दै शाही सैनिकले हप्काए। थर्काए।
कुरेको लामो समयपछि कमान्डरजस्ता एकजना निक्लिए। उनको आदेश थियो, ‘तपाईंकी श्रीमती हाम्रो साथमा हुनुहुन्छ। आवश्यक सोधपुछ गरेर ल्याइदिन्छौँ। आज भेट्न पाउनु हुन्न।’
यति भनेपछि ती सैनिक अधिकारीले जानकारी दिए, ‘तपाईंकी पत्नी पुलिसकहाँ हुनुहन्छ।’
उनी हान्निएर सिधै हनुमानढोका पुगे। 
त्यहाँ ‘सेनाले बुझाएको छैन’ भनियो। त्यसपछि हान्निदै बालाजु गए। त्यहाँ पनि ‘छैन’ भनियो।
रामले सम्झिए पार्वती थापा मगरलाई। कारण थियो, उनी महिला सेल प्रमुख थिइन्। त्यसैले उनलाई पत्नीलाई राखेको कहाँ भन्ने कुरा थाहा हुन सक्थ्यो। उनले चिनेका डिआइजी थिए, गोविन्दप्रसाद थापा मगर।
तिनीहरुबाहेक चिनेजति सेनालाई पनि सम्पर्क गरे।
डेरामा आमा थिइन्। सासूससुरा थिए। डेरा त रुवाबासीले भरिएको थियो।
ल्यान्डलाइन फोन बेला न कुबेला बजिरह्योः
‘तपाईं रामबहादुर थापा मगर हो? तपाईंकी पत्नी बिना राना मगर हो?’
रामले ‘हो’ भनेपछि कोहीले बिनालाई लिन बसपार्कमा आइज भने त कोहीले शाही सेनाको क्याम्पमा छ आइज भने। अनि कहिले फोनमा भनियो, बालाजु पुलिसमा आइज।
राम यति आत्तिए कि राति नै महिला सेल प्रमुख पार्वतीकहाँ पुगे। पार्वतीले खोजबिन थालिन्। र, अन्तमा थाहा भयो, बिनालाई बालाजुस्थित शाही सेनाको बाहिनीमा राखिएको छ।
त्यसबेला परिवारका सदस्य यसरी रुनु र चिन्तित हुनु अस्वाभाविक थिएन। त्यो याममा त मानिस शाही सेनाको खोरबाट फर्कनु त बाघको मुखमा परेको मृग फर्कनुजस्तै थियो। पहुँचवालाबाहेकले फर्कने आस कमैले गर्थे।
माओवादीसित साइनो छ या छैन? ती सबै ‘तपशिल’का कुरा हुन्थे। शाही सेना वा पुलिसका अफिसरका ‘सनक’मा सर्वसाधारणका ‘सास’ अल्झिएका थिए।
भोलिपल्ट उनी पत्नीको खोजीमा शाही सेनाको बालाजु क्याम्पमा पुगे। घण्टौँ पर्खाएपछि उनलाई भनियो, ‘अलि सुरक्षित ठाउँमा बाइक पार्क गर्नुस्।’
यति सुनेपछि उनले मनमनै पक्का गरे कि पक्राउ परियो।
उनले बाइक ‘पार्क’ गरे। 
गेट काटेर सेन्ट्री उभिएको ठाउँमा के पुगेका थिए, उनलाई भनियो ‘हात यता ले।’
उनको हातमा हत्कडी लाग्यो। 
लगत्तै उनको अनुहार कपडाले छोपियो। 
अन्धकारमा डुबेको केही सेकेन्डमै छातीमा दुई लात्ता यसरी बज्रिए कि उनी सिधै भित्र पुगे।
00
खोरमा राखेको भोलिपल्ट बिनालाई अर्को चरणको सोधपुछ सुरु भयो।
‘नाम?’
‘बिना राना मगर।’
‘पढ्ने?’
‘आरआर।’
‘हाम्रा साथीहरुका दाँत झार्दिइछस् नि। त्यत्रो फुर्ती तेरो?’
त्यसपछि कमान्डरको आवाज एकाएक अक्कासियो।
यता बिना भने फेरि अर्को छाँगाबाट खसिन्।
कहिले? कहाँ? कसरी सेनाको दाँत झारेको?
यी प्रश्न उनको कल्पनाबाहिरका थिए।
‘मैले त्यस्तो गरेको देख्नुभएको छ र,’ उनले प्रतिवाद गर्न छोडिनन्।
त्यसपछि?
दुनियाँदार प्रश्न लाम लागेर आए।
‘खोरमा पुगेपछि थाहा पाएँ कि बिना भन्ने कोही अर्को पनि छिन् आरआरमा। र, तिनकै नाउँमा मलाई पक्रिएको छ। त्यो नाम सुनेकै थिइनँ भने उनलाई चिन्ने कुरै भएन,’ नाम मिल्दा आफू कसरी पक्राउ परेँ भन्ने कुरा बिनाले खुलाउँदै गइन्।
घटना यस्तो थियोः
स्ववियु चुनावमा बिना अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षमा उठेकी थिइन्।
माओवादी समाउने मौका यही हो भनी बिनालाई पक्रन शाही सेनाको हुल कलेजमै पुग्यो। उनीहरुलाई लात्ताले हानी बिना फुत्किइन्।
त्यसपछि कन्चनपुरकी बिना एकाएक शाही सेना क्याम्पमा ‘हाउगुजी’ भइन्।
अखिल क्रान्तिकारीकी आरआर सचिव ‘बिना’ साबित गर्न शाही सेनाका कमान्डर र सिपाही हरतरहले लागे।
त्यसका लागि पक्राउ परेका पुष्पराज बस्नेत (अहिले पनि बेपत्ता छन्) लाई ‘सचिव बिना’ यही हो भन्नलाई शाही सेनाले यातना दिए। तर, जति यातना पाए पनि सचिव बिना यिनी होइनन् भनेको धेरै पछि उनले थाहा पाइन्।
लात्ताले हानेर भाग्न सफल ती बिना पछि पक्राउ परिन्। लामो समय कसैलाई थाहा नदिईकन तिनलाई भैरवनाथ गणमा राखियो। पछि रिहा भइन्। त्यसपछि स्ववियु चुनावमा सरस्वती क्याम्पसबाट सभापतिमा निर्वाचित भइन्।
प्रधानमन्त्रीपुत्र प्रकाशसित सगरमाथा चढिन्। दुवै विवाहित जोडी विवादित भए। त्यसपछि प्रकाशसितै घरजम गरिन्।
पछिल्लो संविधानसभा चुनावमा कन्चनपुरबाट चुनाव लडिन्।
बस्, यत्ति हो, ती बिनाको कहानी।
चिनाजान त के, दुई बिनाले एकअर्काकाले नामसमेत सुनेका थिएनन्।
यी बिना बीए तेस्रो वर्षमा थिइन् भने ती बिना भर्खर आईएमा।
पर्वतबाट कपिलवस्तु झरेकी यी बिना छोरीलाई स्कुल पठाउँदै कलेज धाउने गृहिनी थिइन् भने कन्चनुपरकी ती बिना विद्यार्थी नेतृ।
दुई बिनाबीच नाम, थर र पढ्ने क्याम्पस चाहिँ समान थियो।
तर, खोरमा माओवादी बिना हो भनी साबित गर्न मानसिक यातना दिए। माओवादी अखिल नेता, कार्यकर्ताका नाम र फोन सोधिरहे। ‘लुकाउँछेस्’ भनी चर्को यातना दिइरहे।
थाहा भए पो भन्नु! त्यसपछि ‘तेरो बुढोलाई पनि ल्याएका छौं, तेरैसामु मार्दिन्छु’ भने।
उनले ‘बुढोलाई नमार, मार्छौ भने बरु मलाई मार’ भनिन्।
प्रायः कोटपाइन्ट लगाउने राम, पक्राउ पर्दा पनि कोटपाइन्टमै थिए। सेनालाई लागेछ कि, यस्तो लगाउने पढालेखा हुन्। त्यसैले बेलाबेलामा उनलाई सोधे, ‘कति पढेको छस्?’
भने, ‘एमए, बिएल।’
त्यसपछि आम्मामा भन्दै सैनिकले भन्थे, ‘यत्रो पढेको, के तेरो मति बिग्रेर माओवादी भइस्?’
तिनै सैनिकमध्ये कोहीले फेरि कुरा काट्दै भने, ‘थुक्क मु... पढेका त लागेका छन् नि माओवादीमा। त्यो बाबुरामले पीएचडी गरेको तँलाई थाहा छैन?’
बल्लबल्ल पिसाब फेर्न जान पाउँदा नानाथरी सुनाउँथे। 
‘यी साले आतंककारीलाई हगाउनु छ। मुताउनु छ। बाआमालाई यसरी सेवा गरे कति आशीर्वाद दिन्थे होला। यी मा...ले कहिले मार्ने हुन् थाहा छैन,’ पिसाब फेर्न जाँदा सैनिकका यी वाक्य नझरेको सायदै हुन्थ्यो।
यता बिनालाई खोरमा ‘तेरो बुढाले किन यति धेरै पढेको’ भनी सोधे। 
त्यसपछि ‘अबचाहिँ तँलाई पनि मार्छौं’ भने।
यति सुनाउँदासुनाउँदै बिना चुप लागिन्। वरपर हेरिन्। केही छुटेजस्तो, केही नपुगेजस्तो लाग्यो क्यार! पक्राउ परेका थुप्रै युवायुवतीका चित्कार कानमा गुञ्जिएको उनले सम्झिइन्।
ती मारिए वा रिहा भए?
नदेखेका ती अनुहार सम्झेर बिना साँच्ची भावुक भइन्।
00
एक दिन। 
खाना खाने बेला एक सैनिकले बिनालाई पति रामलाई पनि पक्रेको सुनाए। तर, भेट गराएनन्।
‘माओवादी चिनेको छैन भन्दा सैनिकले एक झापट हान्यो। त्यति हो मलाई कुटेको। बाँकी मानसिक यातना दियो। गर्भवती नभए त के गर्थ्यो कुन्नि,’ चर्को मानसिक यातना सम्झेर मलिन भएको उनको अनुहार झन् मलिन देखियो।
शाही सेनाले पक्रिएपछिका उनका दिनरात सपना र विपनाको दोभानमै बिते।
‘सबै याद आयो। अरु भन्दा पनि रोशनीको याद आयो,’ छेवैमा बसेर बाआमाका कुरा सुनिरहेकी ठूली छोरी रोशनीको कपाल मुसार्दै भनिन् बिनाले।
त्यसबेला तीन वर्ष पनि नपुगेकी रोशनी भर्खरै स्कुल जान थालेकी थिइन्। छोरीको सम्झनाले उनको मनमा हुरी चलिरह्यो।
एक दिन सैनिकले उनलाई सानो कोठा जस्तोमा लगे। अनुहारको पर्दा खोले। तर, सिधा नहेर्न, तलतिर मात्र हेर्न आदेश दिए।
शाही खोरमा बसुन्जेल उनले यस्तो अवसर दुईचोटि पाएकी थिइन्।
बाँकी समय त उनको अनुहार छोपिएकै हुन्थ्यो।
माओवादी बिना नै हो कि होइन भनी चिनाउन अनुहारको पर्दा खोलिएको उनको अनुमान छ।
मानसिक तनावले लखतरान उनले बेलाबेलामा भनिन्, ‘मेरा बुढालाई छोड, मलाई मार्ने भए मार ।’
त्यसपछि सैनिकले भन्थे, ‘यल्लाई करेन्ट लाइदिनुपर्छ।’
‘गल्ती भए मन यस्तो हुने थिएन होला। बिनाकारण हातमा हत्कडी र आँखामा पर्दा लाग्दा मन दुख्यो,’ यातना सम्झँदै उनले भनिन्।
‘दिनरात रोएँ। बुढा भएका आमाबालाई सम्झेर रोएँ। ...आँसु आइहाल्ने त्यत्तिकै के ! ...बोल्ने नबोल्ने बोले, के के नराम्रो भाषामा,’ शाही सेनाका अभद्र व्यवहार स्मरण गर्दै भनिन्।
उनी पक्राउ परेको छैठौँ दिन र पति रामलाई थुनेको पाँचौं दिन।
उनीहरुलाई एउटै बेन्चमा बसालियो। सैनिकले नै उनीहरुलाई एकअर्कासित टँसाए।
‘ऊ को हो?’ एकजना सैनिकले सोधे।
रामले भने, ‘मेरी बुढी। अरुलाई यसरी टँसाउने कुरै भएन नि।’
शाही सेनाका कमान्डरले भने, ‘तगडा रहेछ अनुसन्धान त।’
यति भनेपछि बिना दम्पतीको अनुहारको पर्दा खुल्यो।
अन्तमा सोधियो, ‘जाँदाजाँदै केही भन्नु छ?’
रामले भने, ‘भनेर के हुन्छ र?’
शाही सेनाका कमान्डरले भने, ‘तैपनि।’
बिनापति रामले भनेः
‘त्यसो भए तीनवटा कुरा नोट गर्नुस्।
एक, तपाईंहरुको अनुसन्धान प्रक्रिया गलत छ।
को बिना? आधी घण्टामै थाहा भइहाल्छ नि। सोलुबाट कन्चनपुर गएकी बिना हो, ऊ। मेरी बुढीको घर उदयपुर, माइत कपिलवस्तु हो।’
अनुसन्धान गतिलो नहुँदा सर्सावधारणले दुःख पाए। यसलाई सुधार्नुस्।
दुई, कानुनको विद्यार्थी भएकाले न्याय दिँदा दिएजस्तो देखिनुपर्छ भन्छन्। रिहा गरेर न्याय त दिनुभयो तर यतिका दिनसम्म यातना दिनुभयो, मार्छुसमेत भन्नुभयो।
तीन, अनुसन्धानमा त अभियोग लागेकाले स्वतन्त्रतापूर्वक आफ्नो कुरा राख्न पाउनुपर्ने हो। कि माओवाद हुँ भन् नत्र तेरै अगाडि तेरो पोइ या जोई मार्दिन्छु भन्नुभयो। यस्तो बेला त जसले पनि माओवादी हुँ भन्छ नि।
यी तीन कुरा नसच्याए कसरी माओवादी बढ्ने काम रोकिन्छ?’
अरुचीपूर्वक सुन्दै सैनिक अधिकारीले भने, ‘तपाईं त ठूलो मान्छे हुनुहुँदोरहेछ। ठूला मान्छेका फोन आए।’
के कारणले बिनालाई ६ दिनसम्म थुनियो र के कारणले बिनापति रामलाई पाँच दिन? के थियो तिनका कसुर? 
न बिनाले सोधिन् न बिनापति रामले। न त तिनलाई थुन्ने शाही सेनाका कमान्डरले जवाफ दिनु नै उचित ठाने। 
यत्तिचाहिँ सैनिक अधिकारीले भने, ‘निधारमा माओवादी लेखिएको हुँदैन।’
सर्वसाधारणका सास नै शाही सेना र पुलिसका मर्जीमा अल्झिएको बेला ‘माफी’को कुरा पल्लैछेउ थियो।
‘त्यतिबेला सनकको भरमा जो पायो तिनलाई पक्डेको थियो, बसका सहयोगीदेखि अस्पतालमा उपचाररत बिरामीसम्मलाई,’ आफू कसरी छुटेँ भन्ने कुराको बिट मार्नुअघि उनले भनिन्।
अचेल बिनाका दिन आफ्नै ट्राभल एजेन्सीमा बित्छन्।
अनाहकमा पाएको यातनाविरुद्ध सत्य निरुपण आयोगमा उजुरी नहाली म्यादसमेत बाटो लागेको उनले थाहा पाइनन्।
शाही खोरमा पाएको यातनाबारे दुई छोरीले पनि बेलाबेलामा जिज्ञासा राखे। तिनका अबोध प्रश्नले बिना दम्पतीलाई ऐठन पार्छ।

शाही सेनाका कमान्डरले ‘बुढाले बुढी बुझेको’ र ‘बुढीले बुढालाई बुझेको’ भनी सहीछाप गराए।
अनि?
कमान्डरले सोधे, ‘हामीले पुर्‍याऊँ कि आफैँ जानुहुन्छ?’
‘बाइकमा गइहाल्छु,’ बिनापति रामले भने।
‘लामो समयसम्म आँखा बन्द गरेकाले रिँगटा लाग्छ,’ सैनिक अधिकारीले भने।
‘त्यस्तो भएछ भने भनौंला,’ यति भन्दै बिना दम्पती खोरबाट निक्लिए।

गुहार माग्नलाई ती पुलिस अधिकारी नहुँदा हुन् त के गर्थे होला बिना दम्पतीले? बिनापति रामले दुईचार पुलिस अधिकारी चिनेका थिए र न फर्कने अवसर पाए। चिनजान नभएका कति ‘अभागी’ थिए होलान् जो सेना र पुलिस खोरबाटै गायब भए? कति होलान् हँ यस्ता बिना जसले शाही सेना र पुलिसका सनककै भरमा दुःख खेपे? कति होलान् हँ, नाम मिलेकै भरमा बेपत्ता पारिएका र मारिएकाहरु? होलान् कति यस्ता बिना जसको नाम न माओवादीको सहिद खातामा लेखियो न त सरकारी खातामा? 
ती ‘अभागी’ अनुहार सम्झेर बिना दम्पती अवाक् छन्।
‘त्यसबेला यो (बिनी) पेटमा थिई। आठ महिनाकी,’ बिनाकारण बिना दम्पतीले दुःख बेसाएको संकटकाले कहानी तिनका दुई छोरीले लोककथाजस्तै सुनिरहेका थिए।
२०५९ वैशाखमा त्यो दशा भोगेको अहिले १४ वर्ष पुग्यो। त्यसबेला पेटमै आठ महिनाकी बिनी अहिले ९ कक्षामा पुगिन्।
संयोग, शान्तिप्रक्रिया सुरु भएलगत्तैको ‘फोनभेट’पछि दुई बिनाको भेट दोहोरिएको छैन।
‘प्रधानमन्त्रीकी बुहारी भएपछि त भेट हुने कुरै भएन,’ ४४ वर्षीया बिनाले भनिन्।
बालापनमा भोगेका संकटकाल त रोशनी र बिनीले लोककथाजसरी सुने भने भोलिका नानीले कसरी सुन्लान् कुन्नि, संकटकाले कहानी?
    प्रकाशित २६ भदौ २०७३, आइतबार | 2016-09-11 21:04:28

    No comments:

    Post a Comment