Wednesday, April 17, 2019

छाउगोठ छाडी छापामार


छाउगोठ छाडी छापामार
author-image
नवीन विभास
फुर्सद
 ०५ माघ २०७५ ११:१९:००
  • change font
  • change font
  • change font

कुइनेटो

 ‘महाभारत’का विभिन्न ‘भर्सन’हरूमा सुन्दरी र प्रतिभाशाली कुन्तीलाई ‘स्मार्ट’ र ‘क्याल्कुलेटिभ’ पनि भनिएको छ। डँडेलधुरे कुन्ती भने कमरेड रेखा भएर ‘जनयुद्ध’ नाउँको ‘महाभारत’मा कमान्डर भएर लडाइँ लडिन्।

त्यस रात डँडेलधुरे बाहिरी सइन जेठको गर्मीले असिनपसिन थियो। र, त्यस रात पनि सालघारीका साल आफ्नै तालमा सुसाउँदै थिए।
रातको १२ बज्न लागेपछि उनी घरबाट निक्लिइन्।
ख्वाक्क खोकेको आवाज आयो।

‘कहाँ हिँडेकी’ भनी सोध्लान् कि भनी उनको मुटुले झन्डै ठाउँ छाडेको !
‘चाल मारेर’ फेरि पाइला चालिन्, यति सुस्तरी कि, के कुरा गर्नु !
घरबाट आँगनमा निक्लिइन्।
बिरालो गतिलाई बढाइन्। यति तीव्र र लामो पाइला त सायदै उनले यसअघि फालेकी थिइन्।
त्यो थियो, २०५८ जेठ १७ गते राति।
परशुराम नगरपालिकाको एउटा गाउँका एक जँड्याहालाई धम्क्याउनेमध्ये उनी पनि थिइन्। यसरी धम्क्याउनु पनि माओवादी भाषामा जनकार्बाही नै थियो। पक्कापक्कीजस्तै थियो, उनको नाउँमा सरकारी गोली वा सरकारी खोर दर्ज भयो। त्यसैले उनले सके जति चाँडो घर छाड्न थियो, जुन आमा–बासित सल्लाह गरेर सम्भव थिएन।
मध्यरात उकालिएका उनका पाइलामा मिसिए, थप दुई जोशी बाहुन चेली चित्रा र गोमाका पाइला पनि।
छाउगोठ छाडी छापामार
काठमाडौंबाट सुदूरपश्चिम (सुप) टाढा छ। भौतिक दूरीले मात्र होइन, भावनाले पनि। सन् १९९४­ मा कर्णाली नदीमा पुल उभिएपछि भौतिक दूरी अलिकति छोटियो। तर, ‘पूव्र्या’ले ‘विभेद’ र ‘शोषण’ गरेको भनी सुप ‘मनासिव गुनासो’ जहाँको तहीँ छ।
बालुवाटार पसेका लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवालाई देखाएर काठमाडौंले सुपलाई ‘लोकाचार’ पारेको पार्‍यै छ। जबकि, सेम (सेती–महाकाली) सर्वसाधारणसँग काठमाडौं दूरी दूरै नै छ।
राजधानीबाट धेरै टाढाको सुपमा माओवादी पस्यो। ‘सेती–महाकाली राष्ट्रिय मुक्ति मोर्चा’ बनायो। माओवादीले यस्ता मोर्चा जातीय र क्षेत्रीय विभेदमा पारिएकालाई ‘अधिकारसम्पन्न बनाउन’ लाई भन्थ्यो।
०००​
त्यस रात हिँडेका तीन जोशी बाहुन चेलीमध्ये कुन्ती जोशी कमरेड रेखा भइन्। चित्रा बनिन् उषा अनि गोमा भइन् निशा।
गाउँकै स्कुलमा १० कक्षा पढ्दापढ्दै रेखा छापामार भएकी थिइन्।
डँडेलधुरा आलिताल गाउँपालिका बाहिरी सइनमा आँप र सालघारी थिए। भित्री मधेसको त्यस गाउँमा करिब दुई सय घरधुरी थिए। क्षेत्री÷बाहुन बाहुल्य गाउँकी रेखाका दुई दाजु र दुई दिदी थिए।
माओवादी डरलाग्दा हुन्छन् भन्थे, सुपमा। मान्छेजस्ता हुँदैनन् भन्थे। सुपमा छरिएका तिनै माओवादी बिम्ब बोकेकी थिइन्, रेखाले पनि। उनको आँखाबाट त्यो बिम्ब त्यसबेला भत्क्यो, जब आफ्नै घरमा देखिन् माओवादीलाई।
उनका दाजुले चिनेका माओवादी थिए। ती थिए, जयराज भट्ट उर्फ कमरेड विनय। विनय उनको घर गइरहन्थे। पछि उनको घर बन्यो, माओवादी सेल्टर।
विनय रुकुमका सूर्यप्रकाश पुन ‘सुन्दर’सित बझाङको सैन्सुमा मारिए।
माओवादीले जाँडरक्सी, जुवातास, बहुबिहे र जातीय विभेदविरुद्ध कारबाही थाल्यो। क्रमशः सुप महिलाले आफूलाई घरमा वा छाउगोठमा सुरक्षित ठान्न थाले। छाउगोठमै बस्न नपरे कस्तो हुँदो हो ? सोच्न थाले।
‘जाँडरक्सी खाने र बहुबिहे गर्नेलाई माओवादीले कार्बाही गर्छन् भनेर लागेको हो। सिद्धान्त बुझेर लागेको होइन। हिँड्दै/बुझ्दै जाँदा परिवेशले परिपक्व बनायो,’ कुन्तीले आफू रेखा बन्नुको मुख्य कारण खुलाउँदै भनिन्।
रेखा भएपछि छाउगोठमुक्त भइन्। न उनलाई ‘छाउ भएको छ ? ’ भनेर बास बस्दा सोध्ने आँट कसैले गरे, न त उनले नै छाउ भएको जानकारी दिइन्। छाउ भए पनि, नभए पनि निर्धक्क घरभित्र पसिन्। अरूले खाएजसरी खाइन्। अरू बस जसरी बसिन्। अरू सुते जसरी सुतिन्। न छाउगोठको चिसोको डर, न त सर्पको भय, न त सर्पजस्ता पुरुष आतंक।
सुपमा महिनावारी हुनुलाई छाउ हुनु भन्छन्। महिनावारी भएपछि बस्न बनाइएको कटेरोलाई छाउगोठ।
‘सुप महिलाका लागि यो त छलाङ थियो,’ उनले भनिन्।
‘पानी बगेको बाटोमा छाउ महिला हिँडे, त्यस बाटोमा मान्छे हिँड्दैनथे,’ सुप महिलाका छाउकष्ट सुनाइन्, ‘छाउ भएकी महिलालाई घृणित आँखाले हेर्थे।’
सुपको जातीय विभेद कति चर्को भनी एउटा किस्सासमेत सुनाइन्, ‘दलितलाई दूध दिए भैंसी रूख चढ्छ भन्थे।’
जम्मै विभेद सुपमात्र थुप्रिएको छ ? त्यसो होइन।
सुपमात्र छ कि जसरी हेर्ने काठमाडौंको शासक हेराइप्रति रेखालाई रन्को छुट्छ। उनलाई लाग्छ, काठमाडौं झन रुढिग्रस्त छ। र, काठमाडौं सबैभन्दा ढोंगी छ। उनको सोधाइ छ, ‘छाउ भएको बेला पशुपति मन्दिर पनि गएँ। भन्नुस् त, काठमाडौं छाउको भएको बेला मन्दिर पसेको छ ? कोही छाउ महिला मन्दिर गएका छन् ? ’
महिला एलएमजी कमान्डर
कलाकारको रूपमा तीन महिना काम गरेपछि रेखा सेना भइन्। सेनामा भर्ती हुँदा चारपाँच महिला थिए। जसमा दुई थारू महिला थिए भने तीन पहाडी मूलका।
माओवादीले दाङ सदरमुकाम घोराही हान्दा रेखा भने दार्चुला गोकुलेश्वर पुलिसचौकी आक्रमण गर्न गएकी थिइन्। जुन आक्रमण उनको पहिलो पहिलो लडाइँ अनुभव थियो।
कमान्डर थिए, विशेषका कमरेड विकल्प। माओवादी आधार क्षेत्र रोल्पा, रुकुमलाई ‘विशेष’ भन्ने चलन थियो। सुपमा माओवादी बिस्तार गर्न विशेषबाट थुप्रै माओवादी सुप पुगेका थिए।
यो थियो, २०५८ मंसिर ८ गते।
रेखा सदस्यबाट एफजीएल भइन्। त्यसपछि क्रमशः सेक्सन सहकमान्डर, सेक्सन कमान्डर, प्लाटुन सहकमान्डर। उनी प्लाटुन सहकमान्डर हुँदाखेरि सुपका बाँकी पहाडी जिल्ला बझाङ, अछाम र बाजुराबाट पनि जनमुक्ति सेनामा महिला सामेल भए।
लडाइँमा माहिर रेखाको बढुवा हुने क्रमसँगै उनको हातमा हतियार अनुहार फेरिए। क्रमशः बन्दुकपछि राइफल, एसएलआर, एसएमजी। जसले सदस्य हुँदा लडाइँ गर्न आत्मबल बढायो त कमान्डर हुँदा कमान्ड गर्ने आँट।
‘गोरु जुध्दासमेत रुने सुप चेली म। परिस्थितिले लड्ने र कमान्ड गर्ने बनायो,’ आफ्नो गाउँको परिवेश र फेरिएको समय सम्झँदै उनले भनिन्।
अछाम सदरमुकाम मंगलसेन आक्रमणमा उनी ‘फस्ट असल्ट’बाट लड्नि। यो नै उनको पहिलो अनुभव थियो, फस्ट असल्टमा लडेको। फस्ट असल्टमा लडाकु पहिलो रोजाइका लडाकु हुन्, जो अग्रमोर्चाबाट लड्छन्।
त्यसपछि भने उनी लगातार लडाइँ लड्दै ‘खतरा लडाकु’ रूपमा सुप लडाकुमाझ परिचित भइन्।
रुकुम खारा आक्रमणमा घाइते भइन्। रोल्पाको गाम लडाइँमा कमान्डर रोशन पुन मारिए भने सँगसँगै लडेका कमान्डर विशाल जुम्ला आक्रमणमा।
‘लडाइँ लड्दा महिला हुनुको फरकपन भेटिनँ। मलाई त सकिँदैन भन्ने नै लागेन,’ लडेका थुप्र्रै लडाइँ लहरमा लहरिँदै उनले भनिन्।
०००​
गहुँगोरो आर्यन अनुहारकी पाँच फिट जति अग्ली। एसएमजीले थोरै लच्केको काँध र जिउमा कम्ब्याट। ती युवतीको पछिपछि विद्रोही सेनाको लस्कर। युवती कमान्डर भएको लस्करसँगै अन्य लस्कर पनि निद–भोक र सरकारी हेलिकप्टरले झारिरहेका बमगोलासँग लुकामारी खेल्दै पूर्व हान्निँदै थिए।
लस्कर थियो, महाकालीबाट राजधानी काठमाडौं कब्जा गर्न हिँडेको लस्कर। ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ माओवादी नारा फुलाउन हिँडेका माओवादी लडाकु लस्कर।
‘महाकालीबाट हिँडेका हामीले त सुर्खेत नकाट्दासम्म खान पाइनम्,’ झन्डै ७५ घण्टा भोकभोकै लडाइँ लड्दै पूर्वतिर लागेको भनेर हिसाब गर्दै रेखाले भनिन्।
फर्कने ठेगान थिएन। त्यसबेला पैदल हिँडेका ठाउँ अहिले पनि उनलाई कण्ठस्त छ– प्युठान, अर्घाखाँची, धरमपानी, पाल्पा, ...।
‘उमेर र परिस्थिति नै त्यस्तो होला। लडाइँमा लागेको लाग्यै भयो,’ भर्खरकी युवतीलाई कहिल्यै घर फर्कुं नलागेको बताउँदै रेखाले भनिन्, ‘आमा बा, गाउँघर, सब बिर्सियो नि।’
‘महाभारत’का विभिन्न ‘भर्सन’हरूमा सुन्दरी र प्रतिभाशाली कुन्तीलाई ‘स्मार्ट’ र ‘क्याल्कुलेटिभ’ पनि भनिएको छ। डँडेलधुरे कुन्ती भने कमरेड रेखा भएर ‘जनयुद्ध’ नाउँको ‘महाभारत’मा कमान्डर भएर लडाइँ लडिन्। गरिब, महिला, पिछडिएको सुपको अधिकार प्राप्तिको ‘महाभारत’ ठान्दै उनी आफैँ लडिन्। महिला कमान्डरका अनेकन चुनौतीसँग लडाइँका अन्तिमसम्म जुधिरहिन्।
‘म एक मात्र महिला कमान्डर थिएँ, एलएमजी कमान्डर,’ उनले भनिन्।
एलएमजी भुइँमा राखेर लामो दूरी मार हान्ने ठूलो हतियार हो।
अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणपछि कम्पनी कमान्डरमा बढुवा भइन्। बटालियन सहकमान्डरमा उक्लिएर उनी कालिकोट पिली आक्रमणमा भाग लिइन्। त्यसपछि बटालियन कमान्डर।
कुन्तीसहित तीन बाहुन चेली जनमुक्ति सेना भएपछि सुपमा जनमुक्ति सेनामा भर्ती हुने महिला संख्या बढ्यो।
‘लहर नै चल्यो नि, आफ्नै गाउँबाट ८÷१० महिला हिँडे,’ उनले भनिन्।
रेखा थिइन्, सुपबाट महिला जनमुक्ति सेनामा माथिल्लो तह पुग्ने पहिलो कमान्डर। रेखाका अनुसार जनयुद्धमा सुपबाट पाँच सयभन्दा बढी महिला जनमुक्ति सेना बने। त्यसमध्ये करिब ७० जना मारिए भने सयभन्दा बढी घाइते।
०००​
रेखाका दाजु शिक्षक थिए। उनको परिचय केही फराकिलो थियो। त्यसैले सानोमा दाजुजस्तै शिक्षक बन्ने सपना सजाएकी थिइन्।
माओवादी भएपछि सपनाको रङ पनि फेरियो।
खारा आक्रमणबाट फर्कंदा सल्यान कोटमौलामा रेखा–संघर्ष बिहे भयो। त्यसबेला रेखा १८ वर्षकी थिइन् भने संघर्ष २२ का।
त्यो थियो, २०५९ जेठ १९ गते।
बिहे हुँदा संघर्ष प्रतिरोध सांस्कृतिक परिवारका कलाकार थिए। यो परिवार माओवादी आधार क्षेत्र मानिने राप्ती क्षेत्रमा कार्यरत थियो।
रेखा–संघर्ष प्रेम त्यसबेला टुसाएथ्यो, जुनबेला संघर्ष माओवादी रोप्न डँडेलधुरा पुगेका थिए। विभिन्न टोलीमध्ये संघर्ष आफूजस्तै पाँच सल्यानी युवासित सुप गएथे– कोही जनमुक्ति सेना, कोही कलाकार त कोही संगठक।
यसरी माओवादी रोप्न सुप पुगेका धेरैजसो उतै मारिए। संघर्ष तिनै थोरै ‘भाग्यमानी’ थिए, जसले सुप पुगेर आफ्नो गाउँ फर्कन पाए।
सुप डँडेलधुरे जोशी बाहुन चेली र सल्यान चाँदेका दलित चेलाबीच बिहे आफैंमा क्रान्तिकारी थियो।
‘डेढ वर्ष लभ अफेयर चल्यो। लडाइँको चापाचापले बीचमा त भेट पनि भएन। एकदुईवटा चिठी आदानप्रदान भए,’ शान्तिप्रक्रियापछि रेखा–संघर्ष घरबार भत्केको समाचार सुनाउँदै रेखाले भनिन्, ‘हाम्रा जातबारे थाहा थियो, तर हामीलाई जातको मतलव नै थिएन।’
‘सांसद’ बन्ने ‘कल्पना’ नै नगरेकी रेखालाई माओवादी बनेपछि भने कहिलेकसो लाग्थ्यो, ‘जिन्दगी अलि फरक हुनेछ।’
धनगढी बस्ने रेखा (३३) डँडेलधुराबाट प्रत्यक्ष चुनाव जितेकी सुदूरपश्चिम प्रदेश सांसद् हुन्। सन्तानको रूपमा उनकी छोरी करुणा (११) छिन्।
०००​
लडाइँ बेला पुगेका कति ठाउँ अहिले नि जान मन छ। भेटेका कति मान्छेलाई भेट्न मन पनि।
‘विशेषगरी रोल्पाको थवाङ जान मन छ। युद्धकालमा गएको थवाङको अनुहार हेर्न मन छ,’ उनले भनिन्।
माओवादी बनेका सुरु दिन कुन्ती भनी बोलाउँदा कोही आफन्त आएजस्तो लाग्थ्यो। रेखाभन्दा को हो जस्तो। अहिले उनलाई ठीक उल्टो लाग्छ।
‘मेरो हैसियत रेखाले बनायो,’ माओवादीमा नलागेको भए के भइन्थ्यो होला भनेर गम्दै उनले भनिन्, ‘अहिले यो ठाउँ (सांसद) मा छु। माओवादी नभए घर वरिपरि त घुम्थेँ हुँला। कसरी हुनु जनयुद्धमा लागेर पश्चात्ताप !’

No comments:

Post a Comment